कालीकोटका ७४ मतदानस्थल अति संवेदनशील

एउटा मात्र निर्वाचन क्षेत्र भएको कालीकोटमा कूल १ सय ४ मतदानस्थलका १ सय २७ मतदान केन्द्र छन् । निर्वाचनमा सुरक्षाका दृष्टिले ‘अति संवेदनशील’ जिल्लाको रुपमा चिनिँदै आएको कालीकोटका १ सय ४ मध्ये ७४ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रजिअ गोर्कणराज सुयलले बताए । उनका अनुसार २९ वटा मतदानस्थल संवेदनशील छन् भने सदरमुकाम मान्मीसथत कारागार र बालमन्दिर मतदानस्थल मात्र सामान्यमा राखिएको छ ।
विगतका निर्वाचनमा भएका हिंसा, भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चारको पहुँचलगायत सूचकको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरेर सुरक्षा रणनीति तय गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए । जिल्लामा ५ सय ९ जना नेपाल प्रहरी, ४ सय सेना, १ सय ८५ सशस्त्र प्रहरी, १ हजार १ सय दुई निर्वाचन प्रहरी गरी कूल २ हजार १ सय ९६ सुरक्षाकर्मी परिचालन गरिने छ ।
कालीकोटमा नेपाल प्रहरीको दरबन्दी ५ सय ९ भए पनि हाल जिल्लामा ३ सय ४८ जना मात्र छन् । अन्य विभन्नि जिल्लामा काजमा बसेका छन् । जिल्लाको सुरक्षा संवेदशीलता हेरर आवश्यकताअनुसार जुम्ला र सुर्खेतबाट थप सुरक्षाकर्मी पनि बोलाउन सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ । अति संवेदनशील मतदान केन्द्रमा १४ जना प्रहरीसहित, सशस्त्र, सेना र निर्वाचन प्रहरी परिचालनको योजना बनाइएको छ ।
फागुन २१ को चुनावमा हिमपात हुनसक्ने आँकलन गरेर जिल्लाभरका १४ मतदान केन्द्रलाई पनि अति संवेदनशीलमा राखिएको छ । यहाँको महादेव मावि फोइकोट, मालिका मावि बजेडीचौर, दुर्गा मावि रताडा, जनता मावि रुप्सा, दिपेन्द्र मावि, शिवालय मावि चिल्खायालगायतका मतदान केन्द्रलाई हिमपातका दृष्टिले अतिसंवेदनशील मानिएको छ । कालीकोटमा दुई स्वतन्त्रसहित १० उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *