‘निर्वाचनमा ट्राफिक पनि सक्रिय हुनेछ’

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतको प्रमुखका रुपमा मुकुन्दप्रसाद रिजालले पदीय जिम्मेवारी सम्हालेका छन् । पदबहालीपछि मंगलबार पत्रकारहरुसँग आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उनले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सभ्य र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ट्राफिक प्रहरी सक्रिय रुपमा लागिपरेको बताएका छन् ।
प्रमुख रिजालका अनुसार निर्वाचन अवधिमा सवारी चेकजाँचलाई थप व्यवस्थित बनाइनेछ । उनले पछिल्लो समय ट्राफिक नियम उल्लंघन बढ्दै गएको उल्लेख गर्दै त्यसकै कारण सडक दुर्घटनामा वृद्धि भई ठूलो जनधनको क्षति भइरहेको बताए । ‘ट्राफिक नियम अर्काका लागि होइन, आफ्नै सुरक्षाका लागि हो । सबै सवारी चालकले नियमको पालना गर्नैपर्छ,’ उनले भने, ‘हाम्रो मुख्य लक्ष्य पनि सबैलाई ट्राफिक नियमको पालना गराउने र दुर्घटना कम गर्ने नै हो, यसमा प्रहरी एक्लैले सम्भव छैन । सबै सरोकारवाला निकायको पनि साथ आवश्यक छ ।’
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले सवारी चालकहरुमा ट्राफिक सचेतनाको कमी र नियमलाई व्यवहारमा लागु नगर्ने प्रवृत्ति नै मुख्य समस्या रहेको धारणा राखे । उनले ट्राफिक सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै समुदायस्तरसम्म पु¥याउनुपर्ने आवश्यकता औंल्याए ।
सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र निर्वाचनका क्रममा सहज यातायात व्यवस्थापनका विषयमा सहकार्य गरेर अगाडि बढ्ने ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *