विकटताभित्र सुसज्जित तिलिचो

पदयात्रा र पर्वतारोहणका लागि नेपाल विश्वकै चर्चित गन्तव्यमा पर्छ। नेपाली पहाड पर्वतमा सहासिक, रोमाञ्चक र अलौकिक यात्राको भरपुर आनन्द लिन सकिन्छ।

हिमालपारिको जिल्ला भनेर प्रसिद्धि कमाएको छ मनाङले। जसलाई चाँदीजस्ता चमचम चम्किरहने हिम शृङ्खलाको दृश्यले सिँगारेको छ। अद्भुत प्राकृतिक विविधताका बिम्बले झकिझकाउ बनाएको छ।

अन्नपूर्ण परिक्रमाको प्रसिद्ध र गतिलो गन्तव्य तिलिचो ताल मनाङमा नै पर्छ। प्रकृति प्रदत्त अति सुन्दर गहनारूपी यो ताल संसारको सबैभन्दा अग्लो उचाइ (४,९१९ मिटर)मा अवस्थित छ। जुन आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। दिनानुदिनको बढ्दो उपस्थिति यसैको बलियो प्रमाण हो।

अँगालोमा कसिन आतुरजस्तो तिलिचो चुली चाँदी भएर चम्किरहेको छ। सबैभन्दा नजिक र ठुलो आकारमा। तालको सिरानमा सेतो हिमाल उभिएको छ, हामीलाई नै पर्खिबसेझैं गरी। पहिलोपटक देखा परेको यो चुली धम्पुस हो। मुस्कुराइरहेका मुक्तिनाथ चुली, खाङसार हिमाल, नीलागिरि हिमालले समेत वातावरण सरस र उजिल्याउन सहयोग गरेको छ।

उत्तर र दक्षिण दिशा ४.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ तिलिचो ताल। यसको औसत लम्बाइ चार किलोमिटर र चौडाइ १.२ किलोमिटर छ भने गहिराइ ८५ मिटर छ। तर यतिबेला सेताम्मे हिउँले भरिएको ताल हलचल नगरी हिउँको विराट ढिक्काका रूपमा विचारशून्य भई लमतन्न परेर सुतेको छ। वरिपरि सेता हिमशृङ्खला र अग्ला पहाडसमेतको सौन्दर्यपानले भावशून्य भएका छन् पर्यटक।

आँखा आनन्दको अनुपम भावले चम्किरहेका छन्। गर्मीको थर्मोमिटरमा जस्तै मुहारमा खुसीको पारो ह्वात्तै बढेको छ। हृदयका नूतन लयहरूसित लहसिन पाउँदा सारा संसार बिर्सिएका छन्। तिलिचोलाई पृष्ठभूमिमा राख्दै, तिलिचोलाई नै चढाइएको पञ्चरंगी ध्वजासँगै तस्बिर खिच्नेहरूको लाइन लागेको छ, जीवनभरका लागि सुखद स्मृतिका रूपमा नासो बनाएर राखिराख्न।

गर्मी बढेपछि अर्थात् वैशाख अन्तिम हप्ताबाट मंसिर दोस्रो हप्तासम्म जमेको हिउँ पग्लेर निलो तालमा रूपान्तरित हुन्छ। झन्डै ८५ मिटर गहिराइमा स्वच्छ र सफा पानी भरिन्छ। त्यतिबेला ताल गाढा निलो रङमा सजिन्छ। आश्चर्यको कुरा के छ भने न त तालको मुहान स्रोत देखिन्छ न त देखिन्छ यसको पानी निकास भएको नै।

यातायात सुविधाले गर्दा तिलिचो ताल पुग्न सहज भएको छ अहिले। हिँड्न नसक्ने र समयाभाव भएकाहरू मनाङ (३,५४० मिटर)भन्दा माथि खाङसार (३,७४५ मिटर) भन्ने गाउँसम्म सवारी साधनबाट पुग्न सक्छन्। तर एकैचोटि यो उचाइसम्म आउँदा लेक लाग्ने प्रवल सम्भावना हुन्छ। त्यस्तै कमजोरी, श्वासप्रश्वास र शारीरिक अनेक समस्या आइलाग्न सक्छन्।

खाङसारबाट श्रीखर्क (३,९०० मिटर) पुग्न डेढ÷दुई घण्टाको पैदल दुरी पार गर्नुपर्छ। अधिकांश बाटो उकालो छ। थोरै मात्र तेर्सो छ। यहाँ एक रात नबिताएर तिलिचो आधार शिविर (४,१५० मिटर)सम्म पुग्न पनि सकिन्छ, साढे दुई/तीन घण्टामा। तर जोखिमपूर्ण पहिरो पार गर्नुपर्ने यो बाटो मध्याह्नपछि नहिँड्नु बुद्धिमानी हुन्छ किनभने दिन घर्केपछि वेगले चल्न थाल्छ बतास।

झर्नै लागेको अवस्थामा रहेका ढुंगा खसाल्न भूमिका खेल्छ यस्तो बतासले। जसबाट सम्भवतः पदयात्री बढी खतरा मोल्नुपर्ने हुन्छ। सानो ढुंगा नै किन नहोस् ! १२÷१५ सय मिटर माथिबाट बत्तिएर खस्दा गोलीझैं प्रबल र भयानक बन्छ।

तिलिचो आधारशिविरबाट तीनचार घण्टाको उकालो उक्लेपछि पुगिन्छ तिलिचो ताल। उचाइ नाप्दा बायाँतिर झन्झन् खुल्दै जाने तिलिचो चुलीले मन चोर्छ। जसको सौन्दर्यले जो कोहीलाई रोमाञ्चित मात्र पार्दैन, पारिदिन्छ आह्लादित पनि। थकान र उदासीनता मेटाएर नयाँ स्फूर्ति प्रदान गर्छ। तर एक घण्टाको उकालो काट्नासाथ भेटिने खतरापूर्ण पहिरोको बाटो सामना गर्नुपर्छ। ज्यान अत्यन्त जोखिमको दाउमा राखेर खस्दै गरेको ढुंगा हेर्दै छिचोल्नुपर्छ यो पहिरोको बाटो।

यही ठाउँमा हामीसँगै तिलिचो उक्लँदै गरेका १८ जना चिनियाँ समूहकी एक महिलाको थोरै असावधानीका कारण हेर्दाहेर्दै देव्रे खुट्टा भाँचियो। पहिरोबाट वेगले झरेको नौदश केजीको ढुंगा बजारिनाले।

प्रकृतिको यो रौद्रलीलालाई चुपचाप हेरिरहें धेरैबेर। लाखौं सम्पत्ति खर्चेर तिलिचोसँग साटिन नपाउँदै गम्भीर दुर्घटनामा परिन्। आनन्द र खुसीको पलबाट बञ्चित मात्र भइनन्, उल्टै आपतकालीन अवस्थामा फर्किन बाध्य भइन्। यही ठाउँमा लकडाउन अगाडि अकस्मात झरेको ढुंगो टाउकोमा बजारिएर एक इजरायली पर्यटक ठहरै भएका थिए।

मनमा हुटहुटी बोकेर ताल हेर्न जाने जोकसैले खुब होसियारीपूर्वक पैदल यात्रा गर्नुपर्छ, पहिरोभरिको बाटो। कुन बेला कत्रो ढुंगो कति माथिबाट विपत्ति बोकेर खस्ने हो, थाहै हुँदैन। यद्यपि प्रकृतिको प्रत्येक आयामबाट सुसज्जित मनाङ सुन्दर छ। भौगोलिक हिसाबले सानो छ तर सांस्कृतिक, जैविक र भौगोलिक विविधतामा फराकिलो र भरिपूर्ण छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *