अति विपन्न बालबालिकाको शिक्षामा केन्द्रित सामाजिक अभियन्ता

रोल्पा नगरपालिका-२ धनमुढाकी गौमती सुनारलाई नियमित घरव्यवहार चलाउन भ्याइनभ्याई हुन्छ। आर्थिक विपन्नताले मझेरी छोड्न नमान्दा दिक्क हुने उनलाई शैक्षिक सत्र फेरिने बेला थप हैरानीले गिजोल्छ।

लहरैका पाँच छोरीलाई विद्यालय पोसाक, झोला, कापी, किताब र कलमको जोहो गर्न नसक्ने अवस्थाकी उनीजस्ता धेरै आमा यतिबेला आँसुको सितनले छाक टार्ने गर्छिन्। सन्तानको माग अनि विपन्नताले जेलिएको दैनिकीबीच धेरै आमा मानसिक तनाव बोकेर बसिरहेका छन्।

चरम गरिबी, सामाजिक उपेक्षा, भेदभाव अनि बत्तीमुनिको अँध्यारो छ, दुर्गा भवानी टोल। दाङको घोराही बजारनजिकै अलि पर वडा नम्बर १३ सेवार खोला किनारको बादी बस्ती यतिखेर अभावको भुमरीमा छ। स्थानीय बादी समुदायका अनुसार गत निर्वाचनमा लस्कर लाएर भोट माग्न आउनेहरू त्यसपछि फर्केर आएका छैनन्। यहाँ जाडोमा चिसोको चिन्ता, गर्मीमा तातोको अनि वर्षामा बाढीको तनाव रहिरहन्छ।

बस्तीमा बिहान खाएपछिको एउटा मात्र उद्यम छ, बेलुकाको खाना जुटाउने तयारी। यहाँका अधिकांश घरमा दिनभर मजदुरी गर्न पाइएन भने साँझ चुल्हो जल्दैन। अशिक्षा रहर हैन बाध्यता हो। स्कुल जानलाई किताब, कापी र कलमको जोहो भयो भने पनि पोसाकले रोक्छ।

यहाँ सबैभन्दा बढी समस्या शिक्षामा छ। कति घरमा बत्ती छैन। ‘स्वास्थ्यका लागि उस्तै समस्या छ, चरम गरिबी छ,’ स्थानीय रन्जिता बादीले भनिन्, ‘पोषिला खाने कुरा कसरी खाने खै?’ विकास भनेको सडक र भौतिक पूर्वाधार मात्र हो भन्ने बुझाइका कारण विपन्न लक्षित गतिला कार्यक्रम बनेका छैनन्।

दाङका सामाजिक अभियन्ता विमला योगी, कल्पना न्यौपाने, विष्णु गिरीलगायतलाई भने फोन उठाउन भ्याइनभ्याई छ। विद्यालय जान चाहने तर आर्थिक अवस्थाका कारण भर्ना हुन नसक्नेको अपेक्षासहित फोन बजिरहन्छ।

अति विपन्न परिवारका सन्तानका अघोषित आमा बनेका उनीहरूलाई शैक्षिक सहयोगका लागि अनुरोध आउने गरेको हो। आधारभूत तथा मौलिक हक भनेर संविधानमै लेखिएको शिक्षाजस्तो संवेदनशील क्षेत्रमा तीन तहका सरकार मौनप्रायः भएपछि यतिबेला विभिन्न तरिकाले अति विपन्नका सन्तानहरू विद्यालयसम्म जान पाउने भएका छन्।

देशमा १० वर्ष माओवादी द्वन्द्व चलिरहँदा यहाँका विभिन्न गाउँमा सामूहिक हत्या भएका परिवारका बालबालिकालाई पढाउन सुरु गरेको अभियानलाई अघि बढाउनु यतिबेला विमला योगीको जिम्मेवारीजस्तै बनेको छ।

‘द्वन्द्वताका दाङका विभिन्न गाउँमा सामूहिक हत्यापछि महिला आयोगले त्यहाँको अवस्था बुझ्न अनुरोध गर्‍यो। ती गाउँहरूमा जाँदा मृतक परिवारका महिलाहरू भारत जाने तरखरमा थिए। भारत पुग्दै गर्दा छोरीहरू सुरक्षित नहुन सक्छन् भन्ने लागेर हामीले मृतकका सन्तानलाई विद्यालयमा भर्ना गर्न सहयोग गर्यौं,’ सामाजिक अभियन्ता योगी भन्छिन्, ‘राज्य र विद्रोही पक्षको गाउँमा उपस्थिति हिंसात्मक भएपछि हामीले फरक काम थालेका हौं। त्यो काम यतिबेला अभियानसँगै जिम्मेवारी बनेको छ।’

द्वन्द्वको समयमा राज्यले समेत नागरिकका मौलिक हकको समेत ख्याल नगरेकाले संस्थागत र व्यक्तिगत पहलमा महिलाले सुरु गरेको यो अभियानले व्यापक बन्दै गएको छ। भर्ना शुल्क र मासिक शुल्क मात्र नभएर शैक्षिक सामग्री अभावमा होस् या पोसाक अभावमा कुनै बालबालिका विद्यालयको पहुँचमा नछुटोस् भन्ने मनशाय बोकेर यतिबेला विमला योगी बालिका शिक्षा कार्यक्रम लोकप्रिय बनेको हो।

नेपाल महिला सामुदायिक सेवा केन्द्रको संस्थागत ४० लाख र योगीको व्यक्तिगत १० लाख गरी ५० लाख जम्मा गरेर अक्षयकोष कार्यान्वयनमा आए पनि सहयोग गर्नुपर्नेको संख्या धेरै भएकाले आर्थिक जोहो गर्न कठिन हुने गरेको छ।

यतिबेला यहाँ विपन्न परिवारका बालबालिकाले शैक्षिक सहयोग पाएर विद्यालय जान थालेपछि उनीहरूलाई आमाको संज्ञा दिन थालेका छन्। २०५० सालमा जिल्ला प्रशासन कार्यालय दाङमा विमला योगीको अध्यक्षतामा विधिवत् नेपाल महिला सामुदायिक सेवा केन्द्र दर्ता गरी महिला मात्रको अग्रसरतामा विभिन्न कार्यक्रम गर्दैगर्दा फरक जिम्मेवारी थपिएको हो।

विपन्न बच्चा पढाउने संस्थाका रूपमा पहिचान बनेसँगै हालसम्म करिब १५ सय विद्यार्थीले स्कुलस्तरको अध्ययन पूरा गरिसकेका छन्। बादी समुदाय, दलित र जनजाति समुदायका अति विपन्न बालबालिका सानो सहयोगले विद्यालय जान थालेका छन्।

रोल्पा नगरपालिका–२ का अध्यक्ष प्रकाश डाँगीले वडा कार्यालयमा बोलाएर गौमती सुनारका पाँच छोरीलाई झोला, पोसाक, कापी, कलमलगायत शैक्षिक सामग्री दिएपछि विद्यालय पढ्ने बिन्दु, भागेश्वरी, मीरा, भूमि र भाविका सुनारका अनुहार खुसीले चम्किएका थिए। नेपाल महिला सामुदायिक सेवा केन्द्रले सहयोग गरेको उक्त शैक्षिक सामग्रीले ठुलो राहत मिलेको भन्दै सुनार परिवारका छोरीले पढाइमा सजिलो हुने बताए।

तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीकी लक्ष्मी विश्वकर्मा एक दशकपहिला विद्यालय छाड्ने अवस्थामा पुगेकी थिइन्। शैक्षिक अभियन्ताको सहयोगमा उनले कक्षा ४ देखि स्टाफ नर्ससम्म निःशुल्क पढ्ने अवसर पाइन्। द्वन्द्वपीडित परिवारकी उनले नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई आमाको दर्जा दिने गर्छिन्।

घोराही–४ सुनपुरकी हिमा रिजाल बच्चा पढाउन गाह्रो भएपछि मावि डाँडागाउँ गोग्लीमा कक्षा ४ मा पढ्ने छोरी वर्षालाई डोर्‍याएर महिला सामुदायिक सेवा केन्द्रमा पुगिन्। गत वर्ष भर्ना शुल्क र शैक्षिक सामग्री पाउँदा छोरी पढाउन सहज भएपछि यो वर्ष पनि उनी सहयोगका लागि पुगेकी हुन्।

‘भोलि विद्यालय गएर भर्ना गरिदिन्छौं र किताब–कापी पनि त्यही दिन दिन्छौं भन्नुभएको छ,’ हिमाले भनिन्, ‘हामीले जन्माएर हुर्कायौं, पढाउने काम यहाँका आमाले गरिदिनुभाको छ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने करिब १५ सय बढी बच्चालाई पढाइसकेको र ६०० जति बालबालिकालाई नियमित शैक्षिक सहयोग गरिरहेको बताउँछिन्। हेल्प नेपाल काठमाडौं, प्रजातन्त्र तथा विकास केन्द्र काठमाडौं र नागरिक आवाज ललितपुरले पनि बालबालिका पढाउन समयसमयमा सहयोग गर्ने गरेकाले अभियान सफल भएको उनले बताइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *