Blog

  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी कमलादीबाट पक्राउ परेका छन् ।

    रेशम चौधरीलाई हामीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पठाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    एसएसपी विश्व अधिकारीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन सिलसिलामा रेशम चौधरीलाई पक्राउ गरिएको बताए।

    जनमत पार्टी र नागरिक उन्मुक्तिबीच बुधबार एकता गर्ने तयारी थियो । त्यसकै लागि चौधरी कमलादी पुगेका थिए ।

  • युट्युबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने

    युट्युबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने

     

    युट्युबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ ।

    अनलाइन सञ्चार माध्यमको परिभाषामा युट्युबसमेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ ।

    सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ ।

    मंगलबार प्रतिनिधि सभाबाट पारित केही नेपाल ऐन संशोधन विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा संशोधन गरेर अनलाइन सञ्चार माध्यमको परिभाषालाई समेटेको छ ।

    प्रचलित ऐनको दफा २ को (च) मा पत्रपत्रिकाको परिभाषा छ । जहाँ पत्रपत्रिका भन्नाले समाचारपत्र, समाचारपत्रिका र अन्य पत्रपत्रिकालाई सम्झनुपर्ने भनेर परिभाषित गरिएको छ ।

    यो परिभाषाले अनलाइन सञ्चार माध्यमलाई समेट्दैन । यसकारण सरकारले प्रचलित ऐनमा नयाँ प्रावधान थपेको छ ।

    प्रचलित ऐनको दफा २ को (च) पछि (च१) थपेर अनलाइन सञ्चारमाध्यमको परिभाषा गरिएको छ ।

    जहाँ भनिएको छ, “अनलाइन सञ्चारमाध्यम’’ भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भई इन्टरनेटको माध्यमबाट संकेत, चिह्न, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्विर, श्रव्य, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने संस्था वा माध्यम सम्झनु पर्छ ।’

    यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।

    २६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । दफावार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो । समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ ।

    अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।

  • सुनको मूल्य घट्यो

    सुनको मूल्य घट्यो

    स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. ७०० ले घटेको छ ।

    मङ्गलबार प्रतितोला रु। एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु. एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रु. ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु। एक हजार ९७० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • गर्भवती किशोरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

    गर्भवती किशोरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

    सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

    सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज बिहान सदरमुकाम सिमकोटबाट जिल्लाबाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताइन् । आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले बताएकि छन् । प्रसवव्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनुपर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले जिल्लामा उपकरण, औजारलगायत दक्ष जनशक्ति अभावले जिल्लाबाहिर सुर्खेत उद्धार गरिएको हो । भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने अवस्था आएको हुनाले सुविधासम्पन्न अस्पताल सुर्खेत पठाइएको हो ।

    भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार गरिएको हो । हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पु¥याएलगत्तै उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान साबित हुँदै आएको छ ।

  • पत्रकार महासंघ सुर्खेतले मनायो ३४ औँ स्थापना दिवस

    पत्रकार महासंघ सुर्खेतले मनायो ३४ औँ स्थापना दिवस

    नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले ३४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । शाखाको स्थापना दिवसको अबसर पारि पहिलो दिन फुटवल प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै दास्रो दिन पत्रकारहरुलाई स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै मंगलबार आज प्रभातफेरी तथा शुभकामना आदान प्रदान तथा शाखाका संस्थापकहरुलाई सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।

    मंगलबार वीरेन्द्रनगरको मंगलगडी चौकबाट र्याली निकालेर महासंघको सभाहलमा परिणत गरिएको थियो । र्यालीमा सुर्खेतका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । स्थापना दिवसका अवसरमा शाखाका संस्थापक अध्यक्ष चिरञ्जिवी अर्याल लगायत संस्थापकहरु बालाराम शर्मा, पीताम्बर ढकाल, डा‍‍. दीपक गौतम, श्रीधर पौड्याल,कुमार ढकाल,भानुभक्त भारती,कमलराज रेग्मी,डील्लीराम पाठक, भरत ज्ञवाली,निरक केसीलाई सम्मान गरिएको छ भने संस्थापक स्व.जीवन कुमार शाक्यलाई मरनोपरान्त सम्मान गरिएको छ ।


    शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुशिलराज शर्माले संस्थाको स्थापना गर्ने महान व्यक्तिहरूको योगदानले मनोबल बढाउनुका साथै नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न पेसागत संगठनका प्रतितिधीहरुले शुभकामना मन्तव्य राखेको थिए ।

  • राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

    राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

    जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । उनको सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

    अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो । राउटे समुदायका तीन जना मुखिया हुन्छन् । राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्र मध्ये उनी कल्याल गोत्रबाट मुखिया भएका हुन् । सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए ।

    राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका-८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन् । अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । अब राउटेको संख्या घटेर १३५ पुगेको छ।

  • पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

    पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

    नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको ३४ औँ स्थापना दिवसका अवसरमा विभिन्न तिन दिने कार्यक्रम आयोजना गरिएको छ । जस अनुसार आइतबार फुटवल प्रतियोगिता सम्पन्न गरिएको थियो । भने सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । यस्तै मंगलबार प्रभातफेरी तथा शुभकामना आदानप्रदानको कार्यक्रमको आयोजना गरिएको छ ।

    यस्तै सोमबार नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजना र प्रदेश अस्पताल कालागाउँ सुर्खेतको प्राविधिक सहयोगमा सोमबार आयोजना गरिएको पत्रकारहरूको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।

    शिविरमा जनरल जाँच, आँखा, दाँत साथै सुगर, प्रेसर, मुटु, मिर्गौला, पाठेघरको मुखको क्यान्सर परीक्षण, कलेजोसँग सम्बन्धित रोगहरूको परीक्षण गरिएको र ७० भन्दा बढी पत्रकारले स्वास्थ्य जाँच गराएको छन् ।

    शिविरमा इन्टरनल मेडिसियन कन्सल्टेन्ट फिजिसियन डा. खेम नारायण चालिसे, नेरोगत्र विशेषज्ञ डा. शक्ति सुवेदी, दन्त रोग विशेषज्ञ डा. पूर्ण पौडेल, वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक भरत देवकोटा, ल्याब टेक्निसियनहरू विमला रावत, विकास गिरी, डिलमाया सोमै, अञ्जली बिक र अफ्थफाल्मिक असिस्टेण्ट आरूसा केसीले सेवा दिएका थिए ।

  • तोलामा १४ सय घट्यो सुन

    तोलामा १४ सय घट्यो सुन

    काठमाडौं । सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० मा झरेको छ ।