Blog

  • सल्यानमा डढेलो, दुई घर जले

    सल्यानमा डढेलो, दुई घर जले

    सल्यान । जिल्लाको काल्चे सल्लेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा दुई घर जलेर नष्ट भएको छ ।

    आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका वडा नं १ को काल्चे सल्लेरी सामुदायिक वनमा लागेको ढडेलो बस्तीमा फैलिदा दुई वटा घर जलेको वडाध्यक्ष प्रकाश हमालले जानकारी दिए । दिउँसो करिब १ बजेबाट सुरु भएको आगलागी अझै आगलागी नियन्त्रणमा आउन नसकेको जानकारी दिदै उनले गाउँका अन्य घरहरू समेत जल्न सक्ने भएकाले नियन्त्रणको प्रयास भइरहेको बताए ।

    आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय थारमारे तथा इप्रका दमाचौरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहनुभएको छ, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर रेशमबहादुर खत्रीले बताए ।

  • कर्णालीमा ८ वडा औलोको उच्च जोखिममा

    कर्णालीमा ८ वडा औलोको उच्च जोखिममा

    सुर्खेत । कर्णाली प्रदेशका कुल ७१८ वडामध्ये आठ वटा वडा औलोको जोखिममा रहेका पाइएको छ ।

    स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीको हुम्ला जिल्लाका तीन वटा वडा उच्च र मुगु तथा सुर्खेतका पाँच वटा वडा मध्य जोखिममा छन् । औलोको उच्च जोखिममा हुम्लाको ताँजाकोट गाउँपालिकाका–२, ३ र ४ रहेका छन् । यस्तै मुगुको खत्याड गाउँपालिका–८, सोरु गाउँपालिका–४ र ५ तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ र गुर्भाकोट नगरपालिका–३ रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यले कर्णालीमा हुम्ला, मुगु र सुर्खेतका आठ वटा वडा औलोको जोखिममा रहेका बताए । उनले हुम्लामा स्थानीय प्रजातिको औलो र अरू सबै बाहिरबाट आएको औलो भएको जनाए । यहाँका ४१० वटा वडा न्यून जोखिममा छन् भने २९८ वटा वडामा अहिलेसम्म औलोको कुनै केस देखा नपरेको उनले बताए ।

    कर्णालीमा चालु आवमा ३८ वटा औलोका केस छन् । तिनमा ३७ वटा भारततिरबाट आएका हुन् भने एउटा स्थानीय प्रजातिको औलो भएको उनले बताए। सन् २०३० भित्र नेपाललाई औलोमुक्त गराउने लक्ष्य पूरा गर्न औलो रणनीतिक योजना बनाएर काम थालिएको निर्देशनालयले जनाएको छ । सबै स्वास्थ्य संस्थामा औलो परीक्षण गर्ने व्यवस्था मिलाइएको, औलोको उपचार पद्धति बढाइएको, प्रत्येक पालिकामा परीक्षणका लागि माइक्रोस्कोपी सेन्टर बढाउने तथा पालिकाहरूले औलो मुक्त गराउने जस्ता काम यो अवधिमा गरिने छ । कर्णालीवासी कमाइ गर्न भारत जाँदा झुल लैजान पनि सुझाव दिने गरिएको छ । भारतबाट फर्केका कर्णालीवासीमा औलो देखिँदा सङ्ख्या बढेको भन्दै सुपरभाइजर आचार्यले आइसकेपछि तिनको परीक्षण गर्दा औलो देखिएमा उपचारमा संलग्न गराइएको बताए।

  • वडा तहमा ४० वर्ष मुनिका युवाको रोष्टर तयार पार्न एमालेको निर्देशन

    वडा तहमा ४० वर्ष मुनिका युवाको रोष्टर तयार पार्न एमालेको निर्देशन

    काठमाडौं। नेकपा (एमाले) ले वडा तहमा ४० वर्ष मुनिका युवाको रोष्टर तयार पार्न निर्देशन दिएको छ। आइतबार बसेको केन्द्रीय संगठन विभागको २२ औं बैठकले वडा तहका कमिटीहरूलाई आफ्नो गाउँ–ठाउँमा रहेका ४० वर्ष मुनिका युवाको सूची तयार पारी विवरणसहित पठाउन निर्देशन दिएको हो।

  • गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    काठमाडाैं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
    महामन्त्री थापाविरुद्ध आइतबार अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

    प्रवक्ता कुइँकेलका अनुसार अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दर्ता गराएका हुन् ।वैशाख ११ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायका ५२ जना पदाधिकारीको मुद्दामा मोलतोल गरिएको आरोप लगाएका थिए । थापाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै उनीहरू रिट दर्ता गराएका हुन् ।

    थापाले अदालतले डिल गरेको, झुलाएर राखेको, हेर्दाहेर्दैमा राखेको, नभ्याइनेमा राखेको जस्ता विषयले अदालतको विश्वसनीयतामा प्रश्न उठाएको टिप्पणी गरेका थिए ।

    ’आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्‍यो अब त्यसको विश्वसनीयता के रहन्छ ?,’ थापाले भनेका थिए, ‘दुई/तीन वर्षदेखि तलाईं हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ । कहिले भोलि हेर्ने भन्छ,  त्यसले अदालतको विश्वसनियतामा प्रश्न गराउँछ ।’

  • साक्षर जिल्ला घोषणाको तयारीमा

    हुम्ला । हिमाली जिल्ला हुम्ला साक्षर जिल्लाका रूपमा घोषणा हुने भएको छ । जिल्लाका सात वटै गाउँपालिका साक्षर घोषणा भइसकेका हुँदा अब जिल्लालाई नै साक्षर घोषणा गर्न लागिएको हो ।

    बिहीबार बसेको साक्षर अभियान जिल्ला समन्वय समितिको बैठकले हुम्ला जिल्लालाई औपचारिक रूपमा साक्षर घोषणा गर्ने निर्णय गरेको छ । घोषणा कार्यक्रम आगामी जेठ ९ गरिने बताइएको छ । सात वटै गाउँपालिका साक्षर घोषणा भइसकेका कारण समितिको बैठकले एक औपचारिक कार्यक्रम सञ्चालन गरेर घोषणा गर्ने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख योगेश आलेमगरले बताए । सबैभन्दा पहिले खार्पुनाथ गाउँपालिका २०७९ असार ३ गते साक्षर घोषणा भएको थियो भने सबभन्दा पछि नाम्खा गाउँपालिका २०८१ फागुन ११ गते साक्षर घोषणा भएको थियो ।

    जिल्लाको कुल साक्षरता दर ९६.०४ प्रतिशत रहेको बताउँदै उनले ९५ प्रतिशत साक्षर दर पुगेमा घोषणा गर्न सकिने कानुनी व्यवस्था रहेको बताए । १५ देखि ६० वर्ष उमेरको जनसङ्ख्या ३६ हजार ३५४ रहेकोमा त्यसमा ३३ हजार ९५४ जनसङ्ख्या साक्षर रहेको छ । गाउँपालिका अनुसार सात वटा गाउँपालिकाको साक्षरता दर उत्तरी नाम्खा गाउँपालिकामा ९६.१६ प्रतिशत रहेको छ भने सिमकोट गाउँपालिकामा ९५.६ प्रतिशत, खार्पुनाथमा ९५.५ प्रतिशत, सर्केगाड गाउँपालिकामा ९५.२५ प्रतिशत, चङ्खेली गाउँपालिकामा ९५.६४ प्रतिशत, अदानचुली गाउँपलिकामा ९५.२८ प्रतिशत र ताँजाकोट गाउँपालिकामा ९८.०४ प्रतिशत साक्षरता दर रहेको छ ।

    बैठक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको थियो भने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावललगायतको उपस्थिति थियो ।

  • कर्णाली प्रदेशको विकास बजेट कार्यान्वयन कमजोर

    कर्णाली प्रदेशको विकास बजेट कार्यान्वयन कमजोर

    सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना बिताइसकेको छ । तेस्रो त्रैमासिक अवधि सकिएको छ तर यो अवधिसम्म सरकारको कार्यसम्पादन भने कमजोर देखिएको छ ।

    त्यसो त प्रदेश सरकार आफैँले पनि अपेक्षित काम गर्न नसकेको स्वीकार गरेको छ । तेस्रो त्रैमासिक समीक्षाका क्रममा सरकार अझै द्रुत गतिमा अग्रसर हुन नसकेको निष्कर्ष निकालिएको हो । मुख्यमन्त्री यामलाल कँडेल स्वयम् कार्यसम्पादन कमजोर रहेको भन्दै असन्तुष्ट छन् । विकास बजेट कमजोर रहेको र मन्त्रीहरूले २०८१ साउनमा गरेको प्रतिबद्धता अनुसार काम नगरेको भन्दै मुख्यमन्त्री कँडेलले प्रभावकारी कार्यान्वयनका लागि निर्देशनसमेत दिएका छन् । सरकारले रणनीतिक योजना बनाएर बजेट कार्यान्वयन गर्ने जनाएको थियो तर उक्त योजना अनुरूप काम हुन सकेको छैन । सरकार विकास बजेट कार्यान्वयनमा नै कमजोर बनेको हो । त्यसैले मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनबारे चासो दिनुभएको छ । सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।

    चालु आवमा प्रदेश सरकारसँग १८ अर्ब ७५ करोड रुपियाँभन्दा बढी विकास बजेट छ । तेस्रो त्रैमासिक समीक्षासम्म आउँदा जम्मा २० प्रतिशत अर्थात् तीन अर्ब ९३ करोड २४ लाख ७६ हजार ९७२ रुपियाँ मात्र कार्यान्वयनमा आएको छ । सरकारसँग १४ अर्ब रुपियाँ बराबर विकास बजेट मौज्दात रहेको छ । मुख्यमन्त्री कँडेल विगतमा आफूले नै प्रमुखताका साथ उठाउँदै आएको विषयमा सोचे अनुरूप नतिजा नआउँदा चिन्तित बनेका हुन् । मुख्यमन्त्री भएपछि कँडेलको प्राथमिकताको विषय नै विकास बजेट कार्यान्वयनमा सुधार थियो तर सोचे अनुरूप हुन सकेको छैन । सुशासन र बजेट कार्यान्वयनमा अथक प्रयास गरे पनि सन्तुष्टि मिल्ने गरी प्रगति हासिल गर्न नसकिएको कँडेलले बताए । यसतर्फ मन्त्री तथा सचिवहरूको ध्यानाकर्षण पनि गराए । आफ्ना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय काम अलपत्र परेको कँडेलको भनाइ छ । उनले आयोजनाको काम परिणाममुखी नदेखिए ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।

    बजेट कार्यान्वयन जनमुखी र पारदर्शी बनाउन योजना पूर्ण रूपमा कार्यान्वयन गर्ने नीति सरकारले अवलम्बन गरिएको भए पनि त्यसको प्रतिफल भने न्यून रहेको छ । प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्ने पहिलो नीति अवलम्बन गरिएको छ । साउन मसान्तभित्र कार्ययोजना स्वीकृत गरिसक्नुपर्ने, पहिलो त्रैमासिकभित्रै कार्यविधि, मापदण्ड र निर्देशिका तर्जुमा, पहिलो चौमासिकभित्र ठेक्का व्यवस्थापनको काम सुरु, मन्त्रालय र योजना आयोगको सिफारिसमा मङ्सिरभित्र रकम बाँडफाँट र बहुवर्षीय आयोजनाको ठेक्का अवधि तीन वर्ष रहने उल्लेख छ ।

    योजनाको ठेक्का सम्झौता गर्दा एक चौथायी बजेट विनियोजन, छ महिनाभित्र बोलपत्र आह्वान नभए बहुवर्षीय आयोजना रद्द हुने, १५ लाखभन्दा कमका टुक्रे योजना कटौती गर्ने सरकारले जनाएको छ । मुख्यमन्त्री कँडेल साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी चालु वर्षको नयाँ योजना निर्माण गरिएको दाबी गर्छन्।  साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गरिएको प्रदेश सरकारले जनाएको छ । सरकारले विकास बजेट कार्यान्वयनका लागि अनेक विधि अवलम्बन गरेको भए पनि नतिजा भने कमजोर नै देखिएको छ ।

  • शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार कार्की घाइते

    शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार कार्की घाइते

     काठमाडौं। शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी  एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् । उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा खटिएकी थिइन् ।
    प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका प्रसारण निर्देशक राजु भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ। आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ।’

    उनका अनुसार पानीको फोहोराबाट घाइते भएकी उनलाई सुरूमा प्रहरीले बोकेर सिभिल अस्पताल लगेको थियो। सिभिलले ट्रमा सेन्ट्रर सिफारिस गरेको थियो । तर, आँखामा गम्भीर चोट भएका कारण उनलाई ट्रमाबाट अहिले सिनामंगलस्थित तिलगंगामा पुर्‍याइएको छ।

    शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुको २६ औं दिनको प्रदर्शनमा आज प्रहरीसँग झडप भएको थियो ।

    प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ । तर शिक्षक महासंघका नेताहरुले भने आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरेको तर सरकारले घुसपैठ गराएर झडपको स्थिति सिर्जना भएको आरोप लगाएको छ ।

  • गगनलाई ओलीको चुनौती : बेडरुमसम्म बिचौलियाको पहुँच प्रमाणित गर्न सकिन्छ ?

    गगनलाई ओलीको चुनौती : बेडरुमसम्म बिचौलियाको पहुँच प्रमाणित गर्न सकिन्छ ?

     

     

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीको यो चुनौती नेपाली कांग्रेसका महामन्त्री गगन थापा लक्षित छ ।

    कांग्रेस महामन्त्री थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका थिए । २ वैशाखमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गरेका थिए ।

    मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।

    देशमा एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको बताए ।

    ‘झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौं, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौं, हामीले कुनै अपराध गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘आजकल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्य राखेको छ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौं ।’

    कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको ओलीको टिप्पणी छ ।

    पार्टीभित्रको राजनीतिक हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुझाव दिए ।

    ‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’ उनले भने ।

  • अराजक बन्यो शिक्षक आन्दोलन, प्रहरीले हान्यो पानीको फोहरा

    अराजक बन्यो शिक्षक आन्दोलन, प्रहरीले हान्यो पानीको फोहरा

    काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलन अराजक बन्दै गएको छ ।

    आन्दोलनको आज २६ औँ दिनमा शिक्षकहरूको आन्दोलन अराजक तर्फ अघि बढेको हो ।

    शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेका छन् । शिक्षहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ ।

    शिक्षकहरू संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पानीको फोहरा हानेको हो ।

    आन्दोलनका क्रममा प्रहरीसँग झडप समेत भएको छ ।

    प्रहरीले बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा प्रहार गरेका छन् ।