Blog

  • सांसदहरूलाई ओलीले भने- ढुक्क रहनू, हाम्रा सबै नीति सही छन्

    सांसदहरूलाई ओलीले भने- ढुक्क रहनू, हाम्रा सबै नीति सही छन्

     प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् ।

    सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    ‘माननीय सदस्यहरूका लागि के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् । ढुक्कले सहि छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ,’ ओलीले भने, ‘विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैन ।’

    साथै, उनले विपक्षीले भनेको कुरामा सत्यता छ कि भनेर धेरै घोत्लिन पनि आवश्यक नरहेको पनि बताए ।

    ‘सही कुराको विरोध गर्न उहाँहरू बाध्य हुनुहुन्छ । जुन उहाँहरूका निम्ति भविष्यमा नराम्रा रेकर्डको रुपमा रहनेछन् । हाम्रो पुस्ताभन्दा बढी बेलामा सम्म पनि त्यो रेकर्ड रहनेछ,’ ओलीले भनेका छन् ।

    सरकारले हिजो मात्रै ल्याएको नीति तथा कार्यक्रमको छलफलमा अध्ययन राम्रो बनाएर प्रस्तुत हुन ओलीले सांसदहरूलाई निर्देशन दिए ।

    ‘माननीयजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस्,’ ओलीले भनेका छन् ।

  • सरकारको नीति तथा कार्यक्रमले देशलाई निकास दिन सक्दैन: साह

    सरकारको नीति तथा कार्यक्रमले देशलाई निकास दिन सक्दैन: साह

     आजपाका अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताएका छन् ।
    सरकारको नीति तथा कार्यक्रम पेस भएपछि शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै साहले उत्साह जगाउने कुनै कार्यक्रम आउन नसकेको प्रतिक्रिया दिएका हुन् । ‘आज प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी एवं निराशाजनक छ’, उनले भने, ‘यो गत सालको कपी पेस्टमात्र हो ।’ यस्तो नीति तथा कार्यक्रमले देशलाई निकास दिन नसक्ने उनको भनाइ छ ।
    उनले भने, ‘यो क्यान्सरको रोगीलाई टीबीको औषधी भनेजस्तै हो । कुनै अर्थ छैन ।’
    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
  • १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने

    १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने

     सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने बताए ।

    दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउने भएको छ ।

    जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    ‘दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाइने छ । यस्तै, जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने छ,’ राष्ट्रपति पौडेलले भने ।
  • केआईआईटीमा नेपाली छात्राको शङ्कास्पद मृत्यु : घटनाको छानबिन गर्ने भारत सरकारको प्रतिबद्धता

    केआईआईटीमा नेपाली छात्राको शङ्कास्पद मृत्यु : घटनाको छानबिन गर्ने भारत सरकारको प्रतिबद्धता

    भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी​ (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्राको निधनप्रति भारत सरकारले शोक व्यक्त गरेको छ ।
    भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे जानकारी प्राप्त भएदेखि नै ओडिशा राज्य सरकारसँग समन्वय गरिरहेको जनाएको छ ।

    ओडिशा सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र ओडिशा प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।विदेश मन्त्रालयले विदेशी विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकता दिएको बताउँदै नेपाल सरकार, ओडिशा सरकार र केआईआईटी विश्वविद्यालयसँग निरन्तर सम्पर्कमा रहेर वास्तविक समयमा सूचना आदानप्रदान र समन्वय गरिरहेको जनाएको छ ।

    कम्प्युटर साइन्स विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत प्रिसा साहले आत्महत्या गरेको आशंकासहितको सूचना बिहीबार साँझ ८ः१० बजे स्थानीय प्रहरीले दिएसँगै छानबिन थालिएको राज्य सरकारको भनाइ छ ।

    साह बिहीबार मृत फेला परेकी थिइन् । ​

    यसैबीच भारतीय दूतावास काठमाडौंले पनि विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ । ​

    भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको दूतावासले जनाएको छ ।

  • कालिकोटमा असिनाले अन्न र फलफूलमा क्षति

    कालिकोटमा असिनाले अन्न र फलफूलमा क्षति

    कालिकोटमा बिहीबार बेलुकी परेको असिनाले यहाँको महाबै गाउँपालिका र तिलागुफा नगरपालिकासहित आसपासका क्षेत्रमा पाकेको अन्नबाली र फुलेर फल लाग्न सुरु भएको स्याउ, ओखर, नास्पातीमा ठूलो क्षति पुर्‍याएको छ ।

    पाकेर काट्न लागेको जौ, गहुलगायतको अन्न र स्याउ, ओखर, नास्पाती लगायतका फलफूलमा क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । असिना त अन्य क्षेत्रमा पनि परेको छ, कृषि विकास अधिकृत चन्द्रबहादुर शाहीले भने, अन्यत्र बाली भित्र्याइसकेकाले क्षति भएन । महाबै र तिलागुफा जाडो ठाउँ भएकाले ढिलो पाकेको बाली ५० प्रतिशत क्षति पुगेको प्रारम्भिक अनुमान छ । महाबैको डिल्लीकोट, नकु विष्टबाडा, कतम्पुर लगायतका ठाउँमा पाकेको जौ, गहुँ र फलफूल पूरै असिनाले सखाप पारेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिएका  छन् ।

    तिलागुफा नगरपालिकाका वडा नं ९,१० र ११ का सबै बस्तीमा असिनाले पाकेको अन्नबाली र भर्खर फुलेर फल लागेका स्याउ, ओखर, नास्पाती लगायतमा ६० प्रतिशत क्षति पुगेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार नगरका अन्य वडामा असिना परे पनि आंशिक क्षति मात्र भएको छ ।

  • रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

    रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

     सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

    रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

    प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

    मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

    दफा ८६ मा राष्ट्र सेवकलाई मद्दत दिन इन्कार गर्न नहुने उल्लेख छ । कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य पालन गर्दा यस्तो काममा मद्दत दिनपर्ने कानुनी कर्तव्य भएको व्यक्तिले त्यस बमोजिम मद्दत दिन इन्कार गर्न हुँदैन ।

    यस्तो कसुर गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

    त्यसैगरी दफा २७६ मा कीर्ते गर्न नुहने छ । उनले कीर्ते गरेर दुरुपयोग गरी अनधिकृत पत्र लखेको आरोप छ । जसअनुसार अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई ८ वर्षसम्म कैद र ८० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

    अहिले प्रहरी हिरासतमा रहेका विष्टले अनधिकृत पत्र लेख्दै रेशमलाई पक्राउ गर्न भन्दै उनी आफैं गत बुधबार प्रहरी परिसर पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको थियो । पत्र अनधिकृत भएको खुलेपछि पाँच घण्टामै रेशम रिहा भएका थिए भने विष्ट पक्राउ परेका थिए ।

  • कक्षा १२ को परीक्षा निर्धारित समयमा हुने राष्ट्रिय परीक्षा बोर्डको जिकिर

    कक्षा १२ को परीक्षा निर्धारित समयमा हुने राष्ट्रिय परीक्षा बोर्डको जिकिर

    राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

    परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको हो ।

    यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।

    पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ ।

    बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचनामार्फत आग्रह गरेको छ ।

  • कालिकोटमाअखिल नेपाल महिला संघ क्रान्तिकारीकाे नेतृत्व चयन

    कालिकोटमाअखिल नेपाल महिला संघ क्रान्तिकारीकाे नेतृत्व चयन

    कालिकोट जिल्लामा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी कालिकोटको तेस्रो जिल्ला भेलाबाट सलिना खड्काको संयोजकत्वमा १०१ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

    लैंगिक असमानताविरुद्ध क्रान्तिकारी महिला, सुशासन र समावेशीकरणको पक्षमा तेस्रो जिल्ला भेला भन्ने नाराका साथ बिहीबार आयोजित भेलाले सहसंयोजकमा सृजना शाही र सचिवमा अलैपुरा हमाललाई सर्वसम्मत चयन गरेको महिला नेतृ मनशोभा बुढाले बताइन् । संगठनका केन्द्रीय उपाध्यक्ष टीका बुढाको प्रमुख आतिथ्यतामा उदघाटन् भएको भेलाले जिल्लाभर संगठन विस्तार तथा परिचालन, उद्यमशीलता विकास, क्षमता अभिवृद्धिसहितको कार्ययोजना बनाएको छ ।

    भेलाले स्थानीय तहको चुनावमा माओवादीको तर्फबाट निर्वाचित भएका पूर्व र वर्तमान गाउँपालिका उपाध्यक्ष तथा नगर उपप्रमुखलाई सम्मान पनि गरेको महिला नेतृ गंगा खड्काले जानकारी दिइन् । प्रहरीले गाउँमा गएर दुःख दिएपछि कालिकोटको मालकोटका महिलाले ०५४ मा प्रहरीको हतियार खोसेर माओवादीलाई बुझाएका थिए ।

  • तने बोडीमा भेटियो ९५ प्रतिशत  विषादी

    तने बोडीमा भेटियो ९५ प्रतिशत  विषादी

     कालीमाटीमा बिक्रीका लागि ल्याइएको तने बोडीमा ९५ प्रतिशतभन्दा बढी विषादी भेटिएको छ । सर्लाहीबाट बिक्रीका लागि ल्याइएको उक्त बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
    विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले शुक्रबार १८ वटा स्टलका १८ वटा तरकारी तथा फलफूलको विषादी जाँच गरेको थियो । त्यसमध्ये तने बोडीमा उक्त प्रतिशतमा विषादी फेला परेको हो ।

    बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।