Blog

  • चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन

    चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन

    काठमाडौं। नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ ।

    मंगलबार परिषद्ले विज्ञप्ति जारी गरेर २४ घण्टा भित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

    ‘आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लियरे काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

  • १२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने

    १२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ ।

    ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकालाई भन्ने । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

    सबै शिक्षक नभए पनि कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

    ‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानुहुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौं,’ शर्माले भने, ‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ । जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुनेगरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ ।’

    बाहिरी सुरक्षाका लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ । ‘शिक्षक केन्द्राध्यक्ष हुँदा पनि सुरक्षाका लागि प्रहरी परिचालन गरिने गरेको थियो,’ उनले भने ।

    यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ११ हजार छ । परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ ।

    यसअघि परीक्षा सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम हुने गरे पनि यसपटक शिक्षकहरु आन्दोलनमा भएकाले तालिम समेत भएको छैन ।

    शिक्षक महासंघले भने परीक्षा नै बहिस्कार गर्ने अडान कायम राखेको छ । ‘आज ९ गते भयो । दुई दिन बाँकी छ । यस्तो समयमा बोर्डले परीक्षा गर्ने निर्णय ग¥यो । हामी असहयोग गर्छौं । शैक्षिक हड्ताल कायमै छ,’ शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले भने ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

    आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि नहुने भन्ने अन्योल भएका बेला आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

  • कक्षा १२ को परीक्षाको निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

    कक्षा १२ को परीक्षाको निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

    काठमाडौँ । गत चैत २० गतेदेखि शिक्षकहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने-नहुने अन्योल भएको छ । यसैबीच राष्ट्रिय परीक्षा बोर्डले बोर्ड बैठक बोलाएको छ   ।

    परीक्षाको विषयमा छलफल गर्न बोर्डको बैठक अहिले बिहान ८ बजे बस्ने सदस्य सचिव जंग बहादुर अर्यालले बताए ।

    यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको नेपाल शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ ।

     

  • मुलुकमा देखापरेको संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड

    मुलुकमा देखापरेको संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखापरेको संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन्।

    मंगलवार लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा  शुभकामना सन्देश दिँदै उनले जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य भएको बताए।

    ‘महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरी शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको माक्र्सवादी सिद्धान्तको विकास गर्नुभयो। पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उनले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ। मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ,’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्।

    अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारणसामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य भएको उनले बताएका छन्।

  • जुम्लामा जलवायु असरबारे समुदायको आवाज

    जुम्लामा जलवायु असरबारे समुदायको आवाज

    कालीकोट । जलवायु परिवर्तनका असरले पारेको प्रभावका विषयमा छलफल गर्न हिमाली संवाद सुरु भएको छ ।

    नेपाल सरकारको २०८१ माघ ७ गतेको निर्णय अनुसार २०८२ जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हिमालका समस्यालाई केन्द्रित गर्न जुम्लामा हिमाली संवाद सुरु भएको हो । सरकारको उक्त निर्णयलाई स्वागत गर्दै सगरमाथा संवाद सचिवालयको समन्वयमा उच्च पर्वतीय क्षेत्रका पछाडि परेका तथा पारिएका वर्ग, विषेशगरी बालबालिका, युवा, महिला दलित, अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वमा समुदायमा जलवायु परिवर्तनले पारेको प्रभाव, उनीहरूको वास्तविक भोगाई, जलवायु सङ्कटलाई सामना गर्न गरिएका स्थानीय प्रयास तथा अभ्यासहरूलाई एकिन गर्न आयोजना गरिएको हिमाली संवाद वैशाख ९ र १० गतेसम्म चल्ने छ ।

    हिमाली संवादमा बोल्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य देवेन्द्रवहादुर शाहीले जलवायु परिवर्तनका नकारात्मक प्रभाव बढ्नुमा केही हिस्सामा हाम्रो पनि भएको बताए । विकसित मुलुकको बढि प्रभाव भए पनि हाम्रो पनि केही भूमिका रहेकाले हामी सबैले जलवायु अनुकूलन हुनका लागि सहजीकरण गर्नु पर्ने बताए । गैरसरकारी संस्थाले विद्यालयमा गरिने हरेक कार्यक्रममा अधिकारसँगै जलवायु परिवर्तनका असरबाट जोगिनका लागि पनि साझेदार गर्नुपर्ने बताए । अर्गानीक खाद्य बस्तुको प्रयोग गर्न सचेतीकरणका कार्यक्रम गर्दै प्रयोग भएका बस्तुको सहि तरिकाले व्यवस्थापन गर्ने खालका कार्यक्रम गैससले ल्याउन सकेमा हिमाली क्षेत्रको जलवायुका नकारात्मक असरलाई कम गर्न सकिने बताए । संवाद आयोजक समितिका प्रमुख कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले संवादले एकिन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तर्राष्ट्रिय स्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

    किर्डाक नेपालका अध्यक्ष सम्झना मल्ल शाहीको अध्यक्षतामा आयोजना गरिएको संवादमा जुम्ला जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दनाथ नगरपालिका प्रमुख राजु कठायत, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्ष नगिन्द्रबहादुर बिष्ट, तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रवहादुर शाही लगायतका स्थानीय तहका प्रमुखहरुको सहभागीता रहेको थियो । जलवायु परिवर्तनलाई बढवा दिने भूमिका नेपालको नभए पनि यसको प्रभाव भने सहनु परेको बताए । हिमाली संवादको सारांश सगरमाथा संवादमा राख्ने र त्यसको सारांश अन्तर्राष्ट्रिय सम्मेलनमा समेत बहसको विषय बनाएर नेपाल तथा हिमाली क्षेत्रका नागरिकले बेहोर्नु परेको समस्याका क्षतीपूर्ति माग गर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेशका बालबालिका, युवा, तथा पछाडि परेका समुदायहरूको सहभागिता रहने छ ।

    निर्देशक शाहीले जलवायु परिवर्तनका कारण विशेष गरी हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँ पग्लने दरमा वृद्धि, जैविक विविधता सङ्कट, तथा स्थानीय बासिन्दाको जीवनशैलीमा परेको प्रतिकूल असरलाई मध्यनजर गर्दै ‘हिमाली संवाद २०८२’ जुम्लामा आयोजना गरिएको बताए । उनले यस संवादको प्रमुख उद्देश्य बालबालिका र हिमाली समुदायको आवाज सगरमाथा संवादमा पुर्याउनु रहेको हो भने यहाँका नागरिकलाई जलवायु परिवर्तनका असरबारे चेतना फैलाउनु, स्थानीय अनुभव र समाधानका उपाय आदानप्रदान गर्नु, तथा दीर्घकालीन नीति निर्माणका लागि पैरवी प्रस्तुत गर्नु रहेको बताए । संवाद सहयोग निकाय सेभःद चिल्डेनका नेपाल र भुटानका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले बढ्दो जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि नेपालसहित विश्वका धेरै देशमा काम गर्दै आएको बताए । उनले नेपालको हिमाली क्षेत्रको समस्या समाधानमा आफ्नो पनि भूमिका जारी रहने बताए ।

    कार्यक्रममा वातावरण विज्ञ, नीति निर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहने छ । हिमाली संवादको आयोजना कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले गरेको छ । संवादलाई सम्पन्न गर्न सहयोग गर्ने निकायहरु नेपाल सरकारका विभिन्न निकायहरू, सगरमाथा संवाद, सेभःद चिल्डेन, वर्ल्डभिजन, पलान नेपाल लगायत छन् । संवादमा सांसद तथा स्थानीय सरकारका प्रमुखहरुको सहभागीता रहेको छ ।

  • जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालन

    जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालन

    जाजरकोट । जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ । भेरी नगरपालिका ४ बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले मङ्गलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यस अघि पेट्रोल पम्प नहुँदा फुटपाथमा ड्रम तथा जर्कीनबाट आपुर्ति हुँदै आएको थियो ।

    आज बिहान आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले उद्घाटन गरेपछि पम्प सञ्चालनमा आएको हो । समन्वय प्रमुख खत्रीले हालसम्म यस जिल्लामा पेट्रोल पम्प नहुँदा ग्राहकहरु निकै मर्कामा परिरहेकोमा अब पम्प सञ्चालनमा आएसँगै सहज हुने बताए । शुद्धता तथा आर्थिक भार समेत कम पर्न जाने हुँदा उपभोक्ताहरलई लाभ हुने प्रमुख खत्रीले भनाइ राखेका थिए।

    उद्घाटन कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जिल्लामै पहिलो पटक आइल निगमअन्तर्गतको पेट्रोल पम्प सञ्चालनमा आएकोमा सप्लायर्सलाई धन्यवाद व्यक्त गरे । पेट्रोल पम्प सञ्चालनसँगै जिल्लामा सरकारी तथा गैरसरकारी कार्यालय तथा वित्तीय संस्थाका सवारी साधनहरुलाई निकै सहजता हने प्रजिअ मग्रातीको भनाइ छ । यसैगरी, यातायात व्यवसायी भीमबहादुर बुढाले पेट्रोल पम्प सञ्चालनसँगै आफुहरुलाई सवारी साधनमा तेल भर्न निकै सहजहुने विश्वास व्यक्त गरे ।

    फुटफाटमा ड्रमको तेल प्रयोग गर्दा शुद्धता तथा महँगो मारमा परेका व्यवसायीहरुलाई निकै राहत पुग्ने बुढाको भनाइ छ । मुक्ती बस्नेत सप्लायर्सका सञ्चालक बीरबहादुर बस्नेतले आफुले १० वर्ष अगाडिदेखि थालनी गरेको प्रयास सबैको सहयोगमा सम्पन्न भई सञ्चालनमा ल्याउँदा निकै खुसी लागेको बताए ।

  • सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला एक लाख ९७ हजार

    सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला एक लाख ९७ हजार

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँ नजिक पुगेको छ । आज मंगलबार छापावाला सुनको भाउ एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको छ ।

    सोमबार प्रतितोला एक लाख ९१ हजार रहेको सुनको भाउ आज एकै दिन छ हजार नौ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, आज असली चाँदीको भाउ पनि बढेको छ ।

    सोमबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँका कारोबार भएको चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • कालिकोटमा सुत्केरी व्यथा, हेलिकोप्टरमार्फत उद्धार

    कालिकोटमा सुत्केरी व्यथा, हेलिकोप्टरमार्फत उद्धार

    कालिकोट । सोमबार बिहान ४ बजेदेखि सुत्केरी व्यथाले छटपटाएकी नरहरिनाथ गाउँपालिका–७ गुब्लागडा मालकोटकी घुमिसरा बुढा शाहीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

    ३० वर्षीया घुमिसरालाई दोस्रो सन्तान जन्माउने क्रममा अत्यधिक व्यथा लागेपछि स्थानीय स्वास्थ्य चौकी मालकोटले सिफारिस गरे अनुसार राष्ट्रपति महिला सुरक्षा कार्यक्रमबाट हेलिकोप्टरमा सुर्खेत लागिएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताएका छन् । गाउँमा सुत्केरी व्यथाले च्यापेपछि अवस्था जटिल भयो, उनले भने, पहल गरेर हेलिकोप्टरमा उद्धार सम्भव भयो ।

    स्वास्थ्यचौकी मालकोटका इञ्चार्ज अमरबहादुर बटालाले अवस्थालाई गम्भीर र जटिल बताउँदै तुरुन्तै उच्चस्तरीय उपचार आवश्यक रहेकोले रिफर गरिएको जानकारी दिए । एक वर्षको अवधिमा मात्र कालिकोटका ९ जना सुत्केरी आमाको उद्धार भएको जिल्ला प्रशासनले जनाएको छ ।

  • कक्षा १२ को परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक बस्दै

    कक्षा १२ को परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक बस्दै

    काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।
    बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।


    यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।
    शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन् ।

  • लागुऔषधसहित १२ जना पक्राउ

    लागुऔषधसहित १२ जना पक्राउ

    लागुऔषधसहित १२ जना पक्राउ
    काठमाडौं  । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन् ।

    मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ पिपलबोटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौँडा-४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की र मोरङको विराटनगर महानगरपालिका-१५ बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका-२ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले जनाएको छ ।

    चितवनको भरतपुर महानगरपालिका-२६ सिसुवारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल र गाँजा जस्तो देखिने पदार्थसहित भरतपुर-२६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।

    त्यस्तै, कैलालीको कैलारी गाउँपालिका-१ सडकपुरबाट कैलारी-८ दुधिया बस्ने २५ वर्षीय सञ्जुकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका-१ हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र ३५ वर्षीय रोहित शाही, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका-११ बस्ने २५ वर्षीय रामबहादुर विष्ट पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

    स्थायी प्रहरी पोष्ट गोठीकाँडाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ कटुकाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय अनिश नेपाली पक्राउ परेका हुन् ।

    सङ्खुवासभाको धर्मदेवी नगरपालिका-४ तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका-६ पुलुङ बस्ने ३८ वर्षीय देवेन्द्र थापालाई अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।