Blog

  • ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ उत्पादनसँग जोडेर अघि बढाइँदै

    ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ उत्पादनसँग जोडेर अघि बढाइँदै

    सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लाई उत्पादनसँग जोड्ने भएको छ । उत्पादनसँग जोडेर कार्यान्वयन गर्दा प्रभावकारी हुने भएपछि सरकारले रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्ने भएको हो ।

    सरकारले नयाँ कार्यविधि निर्माण गरेर मुख्यमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जनसहित कार्यान्वयन गर्न लागेको छ । कर्णाली रोजगार कार्यक्रम कार्यविधि–२०८१ स्वीकृति भएको छ । गत शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो ।

    आर्थिक भार कम पर्ने तथा रोजगारीमा जोड्नका लागि कार्यक्रमलाई उत्पादनसँग जोड्न लागिएको हो । नयाँ निर्माण गरिएको कार्यविधि अनुसार कृषि तथा उद्यम विकासमा जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । यसअघि सञ्चालन गरिएको कार्यक्रम रोजगारी दिनेगरी कार्यान्वयन भइरहेको थियो । जसले गर्दा लागत धेरै तथा प्रतिफल न्यून आउने गरेको भन्दै सरकारले रोजगारी सिर्जना तथा आर्थिक लाभ लिने गरी कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ । सरकारले आर्थिक व्यायभार घटाउने तथा रोजगारीमा वृद्धि गर्ने लक्ष्य राखेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । कार्यक्रमको प्रभावकारिता बढाउन उत्पादनसँग जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालले बताए ।

    कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागु भएको छ । यसअघि १५ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षदेखि प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । प्रदेश सरकारले आव २०७६/७७ देखि मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरेको थियो । यो वर्ष एक हजार छ सय व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले राखेको छ । त्यसका लागि एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

  • कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद अनिश्चित, पूर्वाधार तयार तर आयोजनामा ढिलाइ

    कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद अनिश्चित, पूर्वाधार तयार तर आयोजनामा ढिलाइ

    सुर्खेत । सङ्घीय सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटकपटक सारिसकेको छ । आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा तय गरिएको नेपाली खेलकुदको महाकुम्भ अन्ततः नहुने भएको छ ।

    प्रतियोगिताको मिति सारिएको यो तेस्रोपटक हो । जेठ अघि मङ्सिर २ देखि ९ र चैत्र २३ देखि ३० गतेको मिति प्रस्ताव गरिएको थियो । साढे तीन वर्ष अघि गण्डकीको पोखरामा नवौँ राष्ट्रिय खेलकुद समापन हुँदा मङ्सिर २–९ गतेको मिति प्रस्ताव गरिएको थियो । पूर्वाधार तयारी अवस्थामा हुँदासमेत बारम्बार मिति सारिँदा प्रतियोगिताको समग्र व्यवस्थापनका साथै खेलाडी प्रशिक्षण लगायतका कामहरूमा असर पुगेको थियो । प्रतियोगिताको तयारीका लागि एक महिनाअघि वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशाला परिसर र काठमाडौँमा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको थियो । यद्यपि, सचिवालयबाट कुनै तयारीका कामहरू हुन सकेका थिएनन् । राखेपले दशौँ राष्ट्रिय खेलकुदका लागि लोगो र मस्कट डिजाइन गरिसकेको थियो ।

    दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सरकारले वीरेन्द्रनगर–८ मा प्रदेश सरकारको एक अर्ब ५९ करोड रुपियाँ लागतमा अत्याधुनिक रङ्गशाला निर्माण आयोजना अघि बढाएको थियो । त्यसको निर्माण कार्य करिब पूरा भइसकेको छ । नौ बिघा क्षेत्रफलमा रहेको रङ्गशालामा झन्डै दस हजार दर्शक अट्ने क्षमताको छ । प्रतियोगिता सञ्चालन गर्न वीरेन्द्रनगरमा चिसापानी फुटबल मैदान, कालिञ्चोक रग्बी मैदान र प्रदेश रङ्गशाला परिसरभित्र क्रिकेट मैदानको निर्माण गरिएको छ । प्रतियोगिताका लागि कर्णालीमा ३५ मध्ये २४ खेल खेलाउने गरी राखेपले कार्ययोजना बनाएको थियो । प्रदेश रङ्गशालामा मात्रै फुटबलसहित १६ खेल खेलाउनले प्रदेश सरकारको तयारी थियो । सरकारले प्रतियोगिताका लागि चालु आवमा ६० करोड रुपियाँ विनियोजन गरेको थियो ।

    प्रदेश रङ्गशाला दशौँ राष्ट्रिय खेलकुदको पखाईमा भएपनि सरकारको बेवास्ताका कारण फेरि राष्ट्रिय खेलकुद अनिश्चित हुँदा खेलप्रेमीहरू निराश भएका छन् । कर्णाली खेलकुद विकास परिषद्का निवर्तमान सदस्य सचिव विश्वामित्र सञ्ज्याल आफ्नो हातमा लगाम हुँदाहुँदै पनि प्रदेश सरकार पन्छिएको आरोप लगाउछन् । कर्णालीमा खेल पूर्वाधार सबै तयार भइसके, कहाँ कुन खेल खेलाउने भन्ने कार्ययोजना राखेपमा पेस गरिसकेका हौँ, उपसमितिहरू गठन गरेर धमाधम तयारी गर्नुपर्ने बेला विभिन्न बहाना बनाएर प्रतियोगिता सार्ने प्रयास भयो, उनले भने, सवाल राखेपको मात्रै होइन, राष्ट्रिय खेलकुदलाई अनिश्चिततातर्फ धकेल्ने काम मात्रै भयो । यता प्रदेश सरकारले भने सङ्घीय सरकारका कारण खेलकुद प्रभावित बनेको आरोप लगाएको छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सकारको नभई सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन् । कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको समेत बताएका हुन् । प्रतियोगिताको पटकपटक मिति सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरी काम गर्न सङ्घीय खेलकुद मन्त्रालयलाई सुझाव दिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताका लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको पनि मुख्यमन्त्री कँडेलको भनाइ छ ।

    पछिल्लो समय प्रतियोगिताका लागि सुर्खेतमा सचिवालय स्थापना भए पनि देखिने गरी काम नभएकोमा मुख्यमन्त्री कँडेलले असन्तुष्टि जनाँउदै आएका र्थिए । खेलकुद प्रतियोगिता कर्णालीमा हुने भए पनि त्यसको मुख्य आयोजक सङ्घीय सरकार भएकोले पूर्वाधारमा प्रदेशलाई सहयोगका लागि गरिएको आग्रहको समेत सुनुवाइ नभएको मुख्यमन्त्री कँडेलको गुनासो छ । उनले भने, विगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधारमा लागि करोडौं खर्च गर्ने सङ्घीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गर्नुपर्थ्यो तर पूर्वाधारमा कुनै पनि लगानी भएन । मुख्यमन्त्री कँडेलले प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारबाट कुनै कमि हुन नदिने पनि बताए ।

  • ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ: मन्त्री गुरूङ

    ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ: मन्त्री गुरूङ

    काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
  • छेडागाडमा बालबालिकाको आवाज

    छेडागाडमा बालबालिकाको आवाज

    जाजरकोट । स्थानीय सरकारसँग बालबालिकाले बाल कचहरीबाट समस्या राख्ने गरेका छन् । छेडागाड नगरपालिकाका बालबालिकाले बाल कचहरीका माध्यमबाट सरोकारवालासग खुलेर समस्या राख्ने गरेका हुन् ।

    सरोकारवाला निकायले बालबालिकाको मागको सुनुवाइ नगर्ने भएपछि बाल कचहरी गरी आफुमा परेको समस्यालाई समाधानका लागि पहल गर्नुपर्ने धारण बनाउन सुझाव दिने गरेका छन् । छेडागाड नगरपालिका १२ चन्द्रज्योति बाल कल्वका मदनप्रसाद आचार्यले गाउँ समाजमा बालविवाह, बालश्रम, तथा जातिय छुवाछुत कायम रहेकाले बालबालिकाले सञ्चानल गर्ने अभियानलाई साथ दिन आग्रह गरे । बालविवाह रोक्न प्रयास गरेपनि अभिभावक र सरोकारवाला निकायको साथ नपाएको, बालश्रम अन्त्यका लागि सरकारले पहल नगरेपछि बढदै गएको प्रति चिन्ता गरेको छन् ।

    बाल कल्वकी सदस्य रोजिन खत्रीले बालबालिकाको अपाङ्गता भएका बालबालिकाको बारेका सरोकारवाला निकायले बैठकमा आवाज उठाए पनि व्यवहारमा लागू नगर्दा समस्या परेको, महिला रजश्वला भएको बेला भैसी दुहुन हुने खाना नहुने, त्यतीवेला छुट्टै बसाल्नु पर्ने जस्ता रुढीबादी परम्परालाई जनचेतना फैलाएर अन्त्य गर्न आग्रह गरेका छन् । अर्का नवराज जैसीले जनकल्यान प्रावि नमुना बनेपनी खानेपानी नहुदाँ बालबालिकालाई समस्या हुने गरेपछि पानी व्यवस्थापन गरिदिन सुझाव दिए । बालबालिकाकामा प्रतिभा पहिचानक कार्यव्रmम सञ्चालन गर्नुपर्ने, बालविवाह, सामाजिक कुरिती अन्धविश्वास अन्त्य गर्न बालबालिकाले सशक्त आवाज उठाउदै आएकाले साथ दिनुपर्ने बताएका छन् ।

    छेडाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमकुमार ढकालले आगामी वर्षको नीति कार्यक्रम आउने समय भएकाले बालबालिकालाई मागलाई सम्बोधन गर्न सरोकारवालासग छलफल गर्ने बताए । वडा नम्बर ४ का वडा अध्यक्ष गणेशबहादुर थापाले बालबालिकाले दिएका सल्लाहसुझावलाई आत्मसाथ गरी कार्यपालिकाले निरन्तरता दिने बताए । समाज रुपान्तरमा बालबालिकाको आवश्यकतालाई ध्यान दिइ सरकार अघि बढ्ने बताए ।

  • जाजरकोटमा एनआरएनए अस्ट्रेलियाको सहयोगमा विद्यालय भवन निर्माण

    जाजरकोटमा एनआरएनए अस्ट्रेलियाको सहयोगमा विद्यालय भवन निर्माण

    जाजरकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित शंकर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज उद्घाटन एवं हस्तान्तरण गरिएको छ ।

    अस्ट्रेलियामा बस्ने नेपालीबाट संकलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । उक्त भवनको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज यहाँ उद्घाटन गरे । २०७९ सालमा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनःनिमार्णका लागि एनआरएन अस्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो ।

    अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिने बताए । अस्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरण समेत गरिएको थियो, उनले भने, पछि विद्यालय निर्माणका लागि पनि सहयोग संकलन गरिएको थियो । विद्यालय भवन निर्माण आठ महिनाअघि सुरु भएको हो । उक्त भवनमा चालु शैक्षिक सत्रबाट पठनपाठन पनि सुरु भइसकेको छ । यो सहयोगका लागि अस्ट्रेलियामा रहेको विभिन्न संघसंस्था र व्यक्तिहरुको योगदान छ, आगामी दिनमा पनि यस प्रकारको सहयोग जारी रहनेछ, अध्यक्ष पोखरेलले भने ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अस्ट्रेलियालाई धन्यवाद दिए । त्यस अवसरमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, एनआरएनए ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेललगायत विद्यार्थी र स्थानीयको उपस्थिति थियो ।

  • सरकारको आलोचना गर्ने समय बल्ल आउँदैछ– शंकर पोखरेल

    सरकारको आलोचना गर्ने समय बल्ल आउँदैछ– शंकर पोखरेल

    काठमाडाैं | नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपक्षी दलले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गर्ने समय बल्ल आउन लागेको बताएका छन् ।
    अहिलेसम्म माओवादी सम्मिलित सरकारले ल्याएको नीति कार्यक्रम र बजेट कार्यान्वयन गर्ने मात्र काम भएको उनको भनाइ छ ।
    एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै पोखरेलले सरकारको आलोचना गर्ने समय बल्ल आउन लागेको बताएका हुन् ।
    ‘सरकारले अहिलेसम्म के नराम्रो काम गर्‍यो र आलोचना गर्ने ? सरकारका नीति तथा कार्यक्रम आएपछि प्रतिपक्षले आलोचना गर्ने समय बल्ल आउँदैछ । अहिलेसम्म माओवादी सम्मिलित सरकारले ल्याएको कार्यक्रम कार्यान्वयन गरिराखेको छ,’ पोखरेलले भने ।
    एमालेको नेतृत्वलाई बदनाम गर्नको अनेकन तथ्यहीन कूप्रचार गरिएको पोखरेलले दावी गरे । ‘कम्बोडियाको टेलिकममा लगानी भनेर यति ज्यादा हल्ला मच्चाइयो । जबकि गभर्मेन्ट होल्डिङ कम्पनी हो, त्यहाँ कसरी लगानी अपारदर्शी हुन्छ ?,’ पोखरेलले भने, ‘त्यसको लगानीकर्ता नेपालको प्रधानमन्त्री भएको तथ्य फेला पारेको भए दुर्गा प्रसाईंले सार्वजनिक गर्नु पर्थ्यो ? सीएनन र बीबीसीको हेडलाइन बन्थ्यो नि !’

  • सरकारले फेरि शिक्षकलाई वार्तामा बोलायो

    सरकारले फेरि शिक्षकलाई वार्तामा बोलायो

     काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् ।

    यसैबीच दुई दिन अघिमात्रै नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोवस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ,’ उनले भने, ‘तसर्थ, शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछ,’ शिक्षामन्त्री रघुजी पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  • ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल

    ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल

     काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ ।

    ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले  भने, ‘हामीले पनि भिडियो हेर्‍यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’

    यसअघि अर्का एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ४ जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको छ । उनीहरुले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले चासो देखाएको थियो । त्यसक्रममा त्यो भिडियो केही महिना पुरानो भएको खुलेको थियो । त्यो घटनामा संलग्न ट्राफिक प्रहरीहरुमाथि छानबिन भइरहेका बेला अर्को घटना पनि सार्वजनिक भएको हो ।

  • प्रतिनिधिसभा बैठक बैशाखभर १० दिन बस्‍ने

    प्रतिनिधिसभा बैठक बैशाखभर १० दिन बस्‍ने

    सङ्घीय संसद् अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेको छ ।

    सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको समिति बैठकले यस महिनाभरको क्यालेण्डर पारित गरेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

    क्यालेण्डर अनुसार यस महिनाभर १० दिन प्रतिनिधिसभाको बैठक बस्नेछ । त्यस्तै १९ गते सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची पनि समितिले पारित गरेको छ ।

  • सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

    सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

    शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।

    आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।