Blog

  • स्थानान्तरण हुँदै लिमीवासी

    स्थानान्तरण हुँदै लिमीवासी

    हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर २ लिमी उपत्यकाका बासिन्दाहरु सामूहिक स्थानान्तरणको तयारीमा जुटेका छन् । जलवायु परिवर्तनजन्य विपद्को त्रासले पुख्र्यौली थलो छोडेर लिमीवासीहरु स्थानान्तरण हुन लागेका हुन् । लिमी छोडेर उनीहरुले टाक्ची गाउँमा जाने सहमति गरिसकेका छन् ।
    केही दिनअघि मात्रै तीन गाउँहरुबिच स्थानान्तरण हुने सहमति भएको हो । स्थानीय समाजसेवी मंगल लामाकाअनुसार जाङ गाउँमा दुई घरधुरीसहित तिलमा १९ र हल्जीमा ९६ घरधुरी स्थानान्तरण हुने सहमतिमा पुगेका छन् । सबै बासिन्दा टाक्ची गाउँमा सर्ने सहमति भएको लामाले बताए । लामाले सीमा सुरक्षा र पर्यावरण संरक्षणको चिन्ता पनि व्यक्त गर्नुभयो । लिमीवासीहरूको यो बाध्यताले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर देखाउँछ भने सीमा सुरक्षा र सांस्कृतिक धरोहर संरक्षणमा नयाँ चुनौती थपिएको छ ।
    विगतका वर्षहरुमा बारम्बारको बाढी र हिमताल विस्फोटको जोखिमले लिमीवासीहरुलाई बस्नै नसक्ने बनाएको छ । जाङ गाउँमा पहिले ६४ घरधुरी थिए, अहिले मात्र दुई बाँकी छन् । बाँकी परिवारहरु काठमाडौँ वा अन्यत्र बसाइँ सरेका छन् । हल्जीमा ९६ र तिलमा १९ घरधुरीका बासिन्दाहरुले पनि अब टाक्ची गाउँतर्फ सामूहिक स्थानान्तरणको सहमति गरेका छन् । ‘कृषि सुरु भएपछि मानिसहरु बिस्तारै तल सरे, अहिले बाढीले बस्न नसक्ने बनाएपछि तल्लो भेगमा खेती र माथिल्लो भेगमा पर्यटनको अवसर देखिएको छ,’ स्थानीय समाजसेवी लामाले भने, ‘कैलाश दर्शन गर्नेहरुका लागि माथि सांस्कृतिक घरहरु बनाएर कल्चर जोगाउन सकिन्छ ।”
    उनीहरु आफू मात्र सरेका छैनन्, गाउँमा भएका सांस्कृतिक सम्पदा गुम्बाहरु पनि सँगै लगेका छन् । जलवायु परिवर्तनको विषय सबैको चासोको विषय भएको लामाले बताए । हुम्ला इतिहास र संस्कृतिको धरोहर भएकाले त्यहाँको गुम्बा लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको स्थानीयहरुको भनाइ छ । हुम्लाको नाम्खा गाउँपालिकाअन्तर्गत लिमी उपत्यकाका हल्जी, तिल र जाङ गाउँका बासिन्दाहरु जलवायु परिवर्तनको बढ्दो प्रभावले पुख्र्यौली थलो छोड्न बाध्य भएको नाम्खा वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ बताउँछन् ।
    बारम्बारको बाढी, पहिरो र हिमताल विस्फोटको जोखिमले बस्नै नसक्ने अवस्था आएपछि उनीहरुले सामूहिक रुपमा टाक्ची गाउँतर्फ स्थानान्तरणको निर्णय लिएको उनको भनाइ छ । चीनको तिब्बतसँग जोडिएको यो संवेदनशील सीमावर्ती क्षेत्र कैलाश मानसरोवर दर्शनको प्रमुख मार्ग पनि हो । यो पलायनले राष्ट्रिय सुरक्षा, सांस्कृतिक संरक्षण र पर्यटनमा गम्भीर असर पार्ने देखिन्छ । लिमीवासीहरु जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको बताए । नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ भन्छन्, ‘हेलिकप्टर आउँछ, राहत ल्याउँछ भन्छन् तर एक दाना चामल पनि पुगेको छैन दुर्गम स्थानमा, हाम्रो पालिकामा बजेट नै पर्याप्त हुँदैन । जलवायु परिवर्तनले ठुलो क्षति गरिरहेको छ । पहिले हिउँ र हिउँ पहिरो मात्र समस्या थियो, अहिले तापक्रम बढेर नयाँ जोखिम थपिएको छ ।’

  • जुम्लामा तीन वर्षपछि हिमपात

    जुम्लामा तीन वर्षपछि हिमपात

    जुम्लामा तीन वर्षपछि हिमपात हुँदा किसान उत्साहित भएका छन् । पछिल्लो समय लेकाली क्षेत्रमा सामान्य हिमपात भए पनि तल्लो क्षेत्रमा सामान्य बर्षा भइरहेको हुन्थ्यो । तर यो पटक जिल्लाभर हिउँ परेकोले किसानलाई बाली सप्रने आशा लागेको छ । शनिबार बिहानदेखि परेको हिउँ दिउँसोसम्म पनि रोकिएको छैन । चिसोले भने जनजीवन प्रभावित बनेको छ । पशुबस्तुलाई किसानले गोठमै राखेर घास पानी दिइरहेका छन् । सदरमुकामतिर झण्डै आधा फिट र लेकाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
    कर्णाली राजमार्गलगायत अन्य सडकमा सवारी साधन गुड्न सकेका छैनन् । हिमपातले हवाईसेवा समेत प्रभावित बनेको छ । तर हिउँदेबालीको रुपमा रहेको जौं, गहुँ खेती सप्रने किसानहरुको भनाइ छ । सिंजा २ का गोपाल रोकायाले यो पटक हिउँदेबाली सप्रने भन्दै खुसी छन् । उनले भने, ‘कहिले खडेरी त कहिले असिनापानीले आजित जुम्लाबासी यो पटकको हिमपातले उत्साहित छन् । मंसिर÷पुसमै हिउँ पर्नुपर्ने हो तर माघ महिनामा हिउँ परे पनि किसानलाई फाइदा नै छ । भर्खर व्यवस्थापन गरिएको बगैंचामा चिस्यान थपेको छ । सिँचाइ व्यवस्थापन भएको छ ।’
    यही मौकामा किसानले मलखादको उचित व्यवस्थापन गर्नसकेमा यो पटक जुम्ली किसानहरुले चिन्ता मान्नुपर्ने देखिँदैन । जिल्लाको आठै वटा स्थानीय तहका ६० वडामै हिमपात भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भारी हिमपात भइरहेकोले उच्च सतकर्ता अपनाउनको लागि हार्दिक अपिल गरेको छ । स्याउमा कालो तुसारो नलाग्नेदेखि रोकिराको संक्रमण अत्यन्तै कम हुने कृषि विज्ञहरुले बताएका छन् ।

  • प्रतिनिधि सभा निर्वाचन–२०८२ः कर्णालीमा गत निर्वाचनको अङ्क गणित

    प्रतिनिधि सभा निर्वाचन–२०८२ः कर्णालीमा गत निर्वाचनको अङ्क गणित

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णालीबाट पुराना र नयाँ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले निर्वाचनमा भाग लिंदैछन् । जेन–जी आन्दोलपछि विकसित राजनीतिक परिस्थितिले २०८४ मा हुनुपर्ने यो निर्वाचन अहिले हुँदैछ । अहिलेको निर्वाचनको नतिजा कस्तो आउँछ भन्ने आम चासो छ ।
    विगतका निर्वाचनहरुमा चुनावी गठबन्धन गरी दल र उम्मेदवारलाइ पाखा लगाउने परिस्थिति यो चुनावमा छैन । अहिले दलहरु एक्लाएक्लै चुनवाी प्रतिस्पर्धामा उत्रिएकाले विगतका भन्दा नतिजा फरक आउने देखिन्छ । कर्णालीको सन्दर्भमा भने विगतका निर्वाचनमा जस्तो प्रमुख राजनीतिक दलमध्ये एउटा दल शून्य अवस्थामा पुग्ने परिस्थिति अहिलेको चुनावमा नहुन सक्छ । कर्णालीमा विशेष गरी कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसपटक रास्वपाले पनि पुराना दललाई चुनौती दिन सक्ने अड्कल गरिएको छ । अहिलेको निर्वाचनलाई यसअघिका निर्वाचनको अङ्क गणितलाइ आधार मानेर हेर्दा काँग्रेस, एमाले र नेकपा (साविक माओवादी केन्द्र) का उम्मेदवारहरु मिश्रित रुपमा चुनिने देखिन्छ ।
    २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेस मिलेर बनेको गठवन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भएको थियो । गठवन्धनका कारण एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फका कर्णालीका १२ वटै सिट गुमाउनुपरेको थियो । २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीचको चुनावी गठवन्धनका कारण नेपाली कांग्रेसले १२ वटै सिट गुमाएको थियो ।
    तर, यस पटक भने यीनै दलहरु एक्लाएक्लै चुनावी मैदानमा छन् । कर्णालीमा दुई चुनावमा फरक–फरक दलबीच गठवन्धन भएर कुनै एक दल सून्य हुने अवस्था यस पटक नआउने देखिन्छ । विगतका दुई निर्वाचनमा गठबन्धन गरेका यी दलले योपटक आ–आफ्ना स्पष्ट जनाधार प्रस्तुत गर्नेछन् । अहिले वाम एकतापछि चुनावमा होमिएको नेपाली कम्युनिष्ट पार्टीभित्रको घटक साविक नेकपा माओवादी केन्द्रले कर्णालीलाई आफ्नो जनाधार ठान्छ । यो निर्वाचनमा अघिल्लो निर्वाचनबाट प्रतिनिधिसभातर्फ एक सिट प्रत्यक्ष जितेको राप्रपा र समानुपातिकतर्फ एक सिट पाएको रास्वापा पनि चुनावी मैदानमा उत्रिएका छन् ।
    यस्तो थियो गत निर्वाचनको अङ्क गणित
    २०७९ मा कांग्रेस–माओवादी र समाजवादीबीचको गठवन्धनका तर्फबाट उम्मेदवार बनेका प्रकाश ज्वाला सल्यानबाट विजयी भएका थिए । तत्कालिन समाजवादीका उनले ३५ हजार ७०७ मत प्राप्त गरेका थिए । उतिबेला पुतली चिन्हबाट स्वतन्त्र चुनाव लडेका राजेन्द्रबहादुर शाहले १९ हजार ७९२ मत ल्याउँदा एमालेका राजेन्द्रवीर रायले १ हजार ३३९ मत पाएका थिए । डोल्पामा कांग्रेस–माओवादीको गठवन्धनबाट उम्मेदवार बनेका साविक नेकपा (एस) का उम्मेदवार धनबहादुर बुढाले ११ हजार २९२ मत प्राप्त गरी विजयी हुँदा एमालेका गणेशबहादुर शाहीले ५ हजार ५०५ मत ल्याएर पराजित भएका थिए । मुगुबाट कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गर्दा एमालेका राजबहादुर कार्कीले १० हजार सात १० मत प्राप्त गरी पराजित भएका थिए ।
    गठवन्धनमा माओवादीको भागमा परेको हुम्लाबाट छिरिङ डम्डुल लामाले १४ हजार ३७१ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वि एमालेका दल रावलले ९ हजार ५१६ मत प्राप्त गरेका थिए । २०७९को चुनावमा गठवन्धनलाई चुनौति दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) दोब्बर मतान्तरले विजयी भएका थिए । उनले गठवन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीकी गोमा गौतम कँुवरलाई हराएका थिए । कँुवरले ११ हजार ९५९ मत प्राप्त गर्दा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेका थिए । शाही यस पटकको निर्वाचनमा पनि राप्रपाका तर्फबाट जुम्लामा उम्मेदवार छन् । कालीकोटबाट २३ हजार ७२७ मत ल्याएर गठवन्धनका तर्फबाट माओवादीका मेहन्द्रबहादुर शाही विजयी हुँदा एमालेका नगिन्द्र शाहीले १६ हजार ७१८ मत प्राप्त गरेका थिए । यी दुवै जना अहिलेको निर्वाचनमा पनि प्रतिस्पर्धीका रुपमा उभिएका छन् ।
    दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ बाट कांग्रेसका दिक्पालकुमार शाही २० हजार १८३ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वि एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत प्राप्त गरेका थिए । यस पटक पनि शाही र पोखरेल चुनावी मैदानमा छन् । यस्तै, दैलेख–२ बाट समाजवादीका अम्मरबहादुर थापा १८ हजार २९७ मतले विजयी हुँदा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४४५ मत प्राप्त गरी पराजित भएका थिए । थापा र शर्मा पनि आगामी निर्वाचनमा उम्मेदवार छन् ।
    जाजरकोटमा गठवन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका शक्तिबहादुर बस्नेतले ३४ हजार १५१ मत ल्याएर विजयी हुँदा एमालेका निरजप्रसाद आचार्यले २५ हजार १२० मत प्राप्त गरेका थिए । बस्नेत पुनः उम्मेदवार बनेका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका खडक बहादुर बुढा र एमालेका डम्बर सिंह छन् । रुकुम पश्चिमबाट तत्कालिन माओवादीबाट जनार्दन शर्मा निर्वाचित भएका थिए । शर्माले ३९ हजार ५४९ मत प्राप्त गरी विजयी हुँदा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत प्राप्त गरेका थिए ।
    यस्तै, दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट गठवन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका पूर्णबहादुर खड्का विजयी भएका थिए । उनले ४२ हजार ६०७ मत प्राप्त गर्दा एमालेका ध्रुवकुुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरी पराजित बनेका थिए । शाही यस पटक पनि आगामी निर्वाचनमा उम्मेदवार बनेका छन् । शाहीसँग अहिले पूर्णबहादुरका भाई विष्णु बहादुर खड्का काँग्रेसबाट उम्मेदवार छन् ।
    विगतका गठबन्धनसहितको नतिजालाई छोडेर यो पटक कर्णालीमा ठूला दलहरुको एकल प्रतिस्पर्धालाई २०७० सालसम्मको नतिजासँग तुलना गर्न सकिन्छ । यसरी तुलना गर्दा अहिलेको निर्वाचनमा रुकुम पश्चिम, जाजरकोट, कालीकोटमा नेकपाका उम्मेदवार प्रतिनिधि सभा सदस्य चुनिन सक्छन् । किन भने यी जिल्लामा साविक माओवादी केन्द्रले पकड राखेको क्षेत्र छन् । दैलेखका दुई निर्वाचन क्षेत्र, सल्यान, डोल्पा र मुगुमा एमालेका उम्मेदवार चुनिन सक्छन् । सुर्खेतका दुइ निर्वाचन क्षेत्र, जुम्ला, हुम्लामा काँग्रेसका उम्मेदवार चुनिन सक्छन् । यद्यपि विगतका चुनावको आधारमा यकिन आँकडा भने निकाल्न सकिँदैन ।

  • ४९ जनाले लिए नाम फिर्ता

    ४९ जनाले लिए नाम फिर्ता

    निर्वाचन आयोगले ४९ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ताको विवरण सार्वजनिक गरेका हुन् ।
    निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसो १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । शुक्रबार नै आयोगले उम्मेदवारहश्रलाई निर्वाचन चिह्न पनि प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवारले आयोगले प्रदान गर्ने चिह्न प्राप्त गर्नेछन् भने दलीय उम्मेदवारहरुले दलको चिह्न पाउनेछन् ।
    फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता भएको थियो । आयोगका अनुसार ३ हजार ९० पुरूष, ३ सय ९६ महिला र १ अन्य गरी ३ हजार ४ सय ८७ जनाले मनोनयनपत्र दर्ता गरेका थिए ।

  • स्याउ बगैंचा व्यवस्थापनमा जुटे किसान

    स्याउ बगैंचा व्यवस्थापनमा जुटे किसान

    जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन् । गुणस्तरीय स्याउ उत्पादन गर्न उनीहरु बगैँचा व्यवस्थापनमा लागेका हुन् । विशेषगरी यो याममा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा किसान व्यस्त रहने गरेको तिला गाउँपालिका–१ का पदम बुढाले जानकारी दिए । जिल्लामा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । गुणस्तरीय स्याउ उत्पादन गर्ने र किसानलाई स्याउका बिरुवा काँटछाँट तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
    बोटका फल टिपेलगत्तै यो समयमा काँटछाँट अत्यन्त महत्वपूर्ण मानिएको छ । प्रमुख अधिकारीले भने, ‘यतिबेला स्याउका बिरुवा सुषुप्त अवस्थामा हुने भएकाले काँटछाँट गर्न उपयुक्त हुन्छ ।’ यसै कारण अहिले किसानको बगैँचामै पुगेर स्याउका बगैँचा व्यवस्थापनका विषयमा जानकारी दिने उद्देश्यले अभियान सुरु गरिएको उनको भनाइ छ ।
    अहिले काँटछाँट, सिँचाइ र मलखादको मात्रा मिलाउन सके उत्पादन राम्रो हुन्छ । स्याउमा लाग्ने रोग नियन्त्रणका लागि नीलोतुथो र चुनाको प्रयोग गर्न यहाँका किसानलाई अहिले सिकाउने काम भइरहेको छ । कार्यालयले यहाँका आठवटै स्थानीय तहका ६० वडामध्ये ३० वडामा पुगेर बगैँचा व्यवस्थापनको तालिम स्याउ किसानलाई दिने तयारी रहेको प्रमुख अधिकारीले बताए । स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन । यतिबेलाको समयमा स्याउको स्याहार नगरे गुणस्तर फल दिँदैन । रोगसमेत लाग्ने डर हुन्छ । जसका कारण समयमै स्याउ काँटछाँट गर्न लागेको तातोपानी गाउँपालिका–४ का प्रेम पाण्डेले जानकारी दिए ।
    जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको गुनासो आएपछि यो वर्षदेखि किसानका बगैँचामै कृषि प्राविधिक खटाएर काम गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । जिल्लामा चार हजार ४४५ हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको छ । यसै वर्ष मात्रै १७ हजार ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । जुम्लाबाट मात्रै यस वर्ष रु ३१ करोड २९ लाख ८० हजारको स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

  • प्रदेश सभा अधिवेशन बोलाउन सिफारिस

    प्रदेश सभा अधिवेशन बोलाउन सिफारिस

     

    कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको वैठकले १८ गते दिउँसो १ बजे प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाइ सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
    प्रदेश सभाको दोस्रो कार्यकालको छैठौ अर्थान् वर्खे अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो ।
    जेनजी आन्दोलनका क्रममा कर्णाली प्रदेश सभाको हल पूर्णरुपमा जलेर नष्ट भएको छ । यसको मर्मत कार्य सुरु भएको छैन । वैठक बस्नका लागि अस्थायी रुपमा हल तयार गरिएको छ ।

  • उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

    उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

    प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ ।

    देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

    प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।

  • केएन हेल्थ फाउण्डेशनद्वारा स्वास्थ्य शिविर

    केएन हेल्थ फाउण्डेशनद्वारा स्वास्थ्य शिविर

    केएन हेल्थ फाउण्डेशनले नसर्ने रोगसम्बन्धि एक दिने शिविर सञ्चालन गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको सालकोट स्वास्थ्य चौकीसँग समन्वय गरी फाउण्डेशनले सुगर, प्रेसरलगायतका नसर्ने रोगसम्बन्धि एक दिने शिविर सञ्चालन गरेको हो ।
    उक्त शिविरमा तीन सय भन्दा बढी बिरामीहरुले चेकजाँच गराएको केएन हेल्थ फाउण्डेशनका सल्लाहकार वरिष्ठ फिजिसियन डा. केएन पौडेलले जानकारी दिए । उक्त शिविरमा केही बिरामीहरुलाइ निशुल्क औषधि पनि वितरण गरिएको उनले बताए ।
    केएन फाउण्डेशनको आयोजनामा भएको उक्त शिविरमा कर्णाली प्रदेश अस्पतालले सहकार्य गरेको थियो । शिविरमा पक्षघात (ब्लड प्रेसर) सम्बन्धि जनचेतना बढाउने हेतुले सालकोट स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ अभिमुखीकरण पनि गरिएको थियो । यस्तै सेवाग्राहीलाइ पक्षघातसम्बन्धित जनचेतनामुलक भिडियो सन्देश प्रदर्शन गरिएको डा. पौडेलले बताए । उक्त शिविरमा वरिष्ठ फिजिसिएन पौडेल, कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत मदन बम, स्वास्थ्यकर्मीहरु भरत देवकोटा र कृष्ण कँडेलले सहजीकरण गरेका थिए ।

  • निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल

    निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल

    निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ ।
    कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउनेलगायत विषयमा छलफल भएको थियो । साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवं शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवं सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बनमा छलफल केन्द्रित थियो ।

    छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका साथै निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति थियो ।