
हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर २ लिमी उपत्यकाका बासिन्दाहरु सामूहिक स्थानान्तरणको तयारीमा जुटेका छन् । जलवायु परिवर्तनजन्य विपद्को त्रासले पुख्र्यौली थलो छोडेर लिमीवासीहरु स्थानान्तरण हुन लागेका हुन् । लिमी छोडेर उनीहरुले टाक्ची गाउँमा जाने सहमति गरिसकेका छन् ।
केही दिनअघि मात्रै तीन गाउँहरुबिच स्थानान्तरण हुने सहमति भएको हो । स्थानीय समाजसेवी मंगल लामाकाअनुसार जाङ गाउँमा दुई घरधुरीसहित तिलमा १९ र हल्जीमा ९६ घरधुरी स्थानान्तरण हुने सहमतिमा पुगेका छन् । सबै बासिन्दा टाक्ची गाउँमा सर्ने सहमति भएको लामाले बताए । लामाले सीमा सुरक्षा र पर्यावरण संरक्षणको चिन्ता पनि व्यक्त गर्नुभयो । लिमीवासीहरूको यो बाध्यताले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर देखाउँछ भने सीमा सुरक्षा र सांस्कृतिक धरोहर संरक्षणमा नयाँ चुनौती थपिएको छ ।
विगतका वर्षहरुमा बारम्बारको बाढी र हिमताल विस्फोटको जोखिमले लिमीवासीहरुलाई बस्नै नसक्ने बनाएको छ । जाङ गाउँमा पहिले ६४ घरधुरी थिए, अहिले मात्र दुई बाँकी छन् । बाँकी परिवारहरु काठमाडौँ वा अन्यत्र बसाइँ सरेका छन् । हल्जीमा ९६ र तिलमा १९ घरधुरीका बासिन्दाहरुले पनि अब टाक्ची गाउँतर्फ सामूहिक स्थानान्तरणको सहमति गरेका छन् । ‘कृषि सुरु भएपछि मानिसहरु बिस्तारै तल सरे, अहिले बाढीले बस्न नसक्ने बनाएपछि तल्लो भेगमा खेती र माथिल्लो भेगमा पर्यटनको अवसर देखिएको छ,’ स्थानीय समाजसेवी लामाले भने, ‘कैलाश दर्शन गर्नेहरुका लागि माथि सांस्कृतिक घरहरु बनाएर कल्चर जोगाउन सकिन्छ ।”
उनीहरु आफू मात्र सरेका छैनन्, गाउँमा भएका सांस्कृतिक सम्पदा गुम्बाहरु पनि सँगै लगेका छन् । जलवायु परिवर्तनको विषय सबैको चासोको विषय भएको लामाले बताए । हुम्ला इतिहास र संस्कृतिको धरोहर भएकाले त्यहाँको गुम्बा लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको स्थानीयहरुको भनाइ छ । हुम्लाको नाम्खा गाउँपालिकाअन्तर्गत लिमी उपत्यकाका हल्जी, तिल र जाङ गाउँका बासिन्दाहरु जलवायु परिवर्तनको बढ्दो प्रभावले पुख्र्यौली थलो छोड्न बाध्य भएको नाम्खा वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ बताउँछन् ।
बारम्बारको बाढी, पहिरो र हिमताल विस्फोटको जोखिमले बस्नै नसक्ने अवस्था आएपछि उनीहरुले सामूहिक रुपमा टाक्ची गाउँतर्फ स्थानान्तरणको निर्णय लिएको उनको भनाइ छ । चीनको तिब्बतसँग जोडिएको यो संवेदनशील सीमावर्ती क्षेत्र कैलाश मानसरोवर दर्शनको प्रमुख मार्ग पनि हो । यो पलायनले राष्ट्रिय सुरक्षा, सांस्कृतिक संरक्षण र पर्यटनमा गम्भीर असर पार्ने देखिन्छ । लिमीवासीहरु जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको बताए । नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ भन्छन्, ‘हेलिकप्टर आउँछ, राहत ल्याउँछ भन्छन् तर एक दाना चामल पनि पुगेको छैन दुर्गम स्थानमा, हाम्रो पालिकामा बजेट नै पर्याप्त हुँदैन । जलवायु परिवर्तनले ठुलो क्षति गरिरहेको छ । पहिले हिउँ र हिउँ पहिरो मात्र समस्या थियो, अहिले तापक्रम बढेर नयाँ जोखिम थपिएको छ ।’
Leave a Reply