Blog

  • नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

    नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

    आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो ।
    नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।
    १५ रनमै २ विकेट गएपछि बाबेट र कालिस मिलेर ७९ रनको साझेदारी गरेका थिए । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए । नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

     

  • काँग्रेसको प्रतिनिधिसभा उम्मेदवार सिफारिसः कर्णालीबाट को–को भए सिफारिस ?

    काँग्रेसको प्रतिनिधिसभा उम्मेदवार सिफारिसः कर्णालीबाट को–को भए सिफारिस ?

    प्रत्यक्षतर्फका १२ निर्वाचन क्षेत्रबाट ५६ जनाको नाम सिफारिस, हुम्लामा निर्णयविपरित

    वर्तमान सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै तिव्र पारेको उम्मेदवार सिफारिसको काम जिल्लाहरुबाट लगभग टुंगिएको छ । नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशन पनि पुस २६ देखि २८ गतेसम्म तोकेको छ । महाधिवेशनअघि काँग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने कामलाई तिव्रता दिएको थियो । यसअघिका निर्वाचनमा उम्मेदवार तोक्न सँधै अन्तिममा हुने काँग्रेसले यस पटक भने सुरुमा गर्न थालेको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन–२०८२ का लागि पार्टीले मंसिर १५ गत वैठक बसेर उम्मेदवार सिफारिस गर्न जिल्ला र प्रदेश समितिहरुलाई निर्देशन दिएको थियो । पार्टीले एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट मंसिर २६ गतेसम्म र दुई वटा निर्वाचन हुने जिल्लाबाट मंसिर २९ गतेभित्र उम्मेदवारका आकांक्षीहरुको नामा प्रदेश समितिमा पठाइसक्न भनेको थियो । पार्टीले हाल संसदमा रहेका पदाधिकारीलाई उम्मेदवारको रुपमा सिफारिस नगर्न पनि निर्देशन दिएको थियो ।
    कर्णाली प्रदेशका जिल्लाहरुबाट पनि उम्मेदवारका आकांक्षीहरुको सूची कर्णाली प्रदेश समितिलाई प्राप्त भइसकेको छ । कर्णालीमा दैलेख र सुर्खेतबाहेक ८ जिल्लामा एक–एक वटा प्रनिनिधि सभा निर्वाचन क्षेत्र छन् । प्रदेशका दश वटै जिल्लाबाट सोमबारसम्म उम्मेदवारका आकांक्षीको नाम सिफारिस भएर आएको नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीले जानकारी दिए । जिल्लाबाट सिफारिस भएको उम्मेदवार कसैले पनि आफ्नो नाम फिर्ता नलिएको उनले बताए । अब उनीहरुको नाम केन्द्र समितिमा पठाउने तयारी भईरहेको उनले बताए । ‘जिल्लाबाट सबै सूची आइसकेको छ, आज (मंगलबार) निर्णय गरी केन्द्रमा पठाउने कुरा थियो । पार्टी कार्यालय बन्द गर्ने निर्णय भएकाले पठाईएन,’ प्रवक्ता शाहीले भने, ‘अब यसपछि तत्काल निर्णय गरेर जस्ताको तस्तै केन्द्रमा सूची पठाउँछौं ।’ नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य अमोदप्रसाद उपाध्यायको निधनमा मंगलबार देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय भएको थियो ।
    कर्णालीका कुन जिल्लाबाट कसको नाम सिफारिस ?
    नेपाली काँग्रेसको उम्मेदवार सिफारिस तालिकाअनुसार कर्णाली प्रदेशका दशवटा जिल्लामध्ये सुर्खेत र डोल्पामा सबैभन्दा पहिले उम्मेदवारको नाम सिफारिस गरिएको थियो । सुर्खेत र डोल्पामा मंसिर २३ गते नै उम्मेदवार सिफारिस गरिएको थियो । प्रदेशका प्रत्यक्षतर्फका १२ निर्वाचन क्षेत्रबाट ५६ जनाको नाम उम्मेदवारका लागि सिफारि भएको छ ।
    प्रतिनिधि सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतको क्षेत्र न १ बाट कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का एकल सिफारिस भएका छन् । यो क्षेत्रबाट समानुपातिकतर्फ नरबहादुर सोनी र भिमा मल्लको नाम सिफारिस भएको छ । खड्का २०४८ यता यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन् । उनले २०७४ को प्रतिनिधि सभाव निर्वाचनबाहेक सबै निर्वाचनमा जितेका छन् । २०६४ मा भने उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत संसदमा गएका थिए । २०४८, २०५६ को आम निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
    यस्तै, सुर्खेत क्षेत्र नम्बर २ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य हृदयराम थानीसहित ६ जनाको नाम सिफारिस भएको छ । थानी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा उनी पराजित भए । २०७० सालको संविधान सभा निर्वाचन र २०५६ सालको आम निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । सुर्खेत २ बाट प्रत्यक्षतर्फ नारायण कोइराला, उपेन्द्र थापा, कलम खत्री, भिस्म हमाल र बसन्ती बस्नेत जिसीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ पनि पाँच जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ गंगा नेपाली बस्याल, पार्वती गिरी, धना बिष्ट, भिम शाही नेपाली र भगे कामीको नाम सिफारिस गरिएको छ ।
    नेपाली कांग्रेस कालीकोटले प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो नम्बरमा भुपेन्द्रजंग शाहीलाई सिफारिस गरेको छ । जिल्ला सभापति अम्बबहादुर शाही र महिलातर्फ सिता रावलको नाम सिफारिस प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको छ । समानुपातिकतर्फ खसआर्यमा कालीबहादुर सहकारी, महिलामा सुशिला शाही बम र दलितमा मनबहादुर नेपालीलाई सिफारिस गरिएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि टेकराज शाही र यशोधा शाहीको नाम उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।
    हुम्लाबाट प्रदेशसभा सदस्यसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई आगामी प्रतिनिधि समा निर्वाचनको उम्मेदवारका रुपमा सिफारिस गरिएको छ । जुन पार्टीको ‘बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने’ निर्णय र निर्देशनको विपरित छ । यस्तै जयपति रोकाया र रिता शाहीको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा सिफारिस गरिएको छ । हुम्लाबाट समानुपातिकतर्फ बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ ।
    जाजरकोटबाट प्रत्यक्षतर्फ कांग्रेसले पाँच जनाको नाम सिफारिस भएको छ । जसमा जिल्लाका कार्यवाहक सभापति खड्गबहादुर बुढा, मैना कार्की, मुक्तिप्रसाद आचार्य, महेन्द्रबहादुर शाह र रामजंग शाह रहेका छन् । समानुपातिकतर्फ जाजरकोटबाट रामछाया शाही, हजारी नेपाली बादी, भूमिलाल रोकाय, जनक बादी र विष्णु गिरीको नाम सिफारिस भएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि पूर्व पार्टी सभापति दीपकजंग शाह, खम्बजंग शाह र गीता नेपालीलाई उम्मेवार सिफारिस गरिएको छ ।
    प्रतिनिधिसभा प्रत्यक्षतर्फ सल्यानबाट ६ जनाको नाम सिफारिस भएको छ । जसमा केशरबहादुर विष्ट, सन्तोष केषी, एकराज डाँगी, मानबहादुर डाँगी, दीपेन्द्रकुमार खत्री र सुरेश चन्द छन् । यस्तै समानुपातिकतर्फ चक्र देवकोटा, प्रेमबहादुर डाँगी, बिरबहादुर सेजुवाल, गणेश चन्द, ध्रुवबहादुर मल्ल, शुभद्रा बस्नेत, सीता गिरी, विष्णुकुमारी शर्मा र चक्रबहादुर परियारको नाम सिफारिस भएको छ । राष्ट्रिय सभाको उम्मेदवारका रुपमा ध्रुवराज पुरीको एकल नाम सिफारिस भएको छ ।
    रुकुम पश्चिमबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रेमप्रकाश ओली, गोपाल जी गंग शाहको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस भएको कांग्रेस रुकुम पश्चिमले जनाएको छ । राष्ट्रियसभातर्फ वीरबहादुर ओलीको नाम सिफारिस भएको छ ।
    दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस भएको छ । खेमराज केसी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नरसिंह मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बासना थापा, भूपेन्द्र शाही, मणिराज रेग्मी, मनोजकुमार थापा र सुशील देउजाको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ कुलबहादुर विश्वकर्मा, दिपक सोनी, दुर्गा श्रेष्ठ, निर्मलाकुमारी थापा, मिनाकुमारी थापा र मोहनमाया प्याकुरेल र गणेशबहादुर बोगटीको नाम सिफारिस भएको छ । यस्तै राष्ट्रियसभातर्फ किशोरी केसी, रंगबहादुर शाही, खड्कबहादुर सिजापती, नगेन्द्रबहादुर खत्री, सीता ज्ञवाली र हिक्मतबहादुर विश्वकर्माको नाम सिफारिस भएको छ ।
    दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस भएको छ । जसमा निवर्तमान प्रत्यक्षतर्फको निवर्तमान प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाही र समानुपातिकतर्फ सीताकुमारी रानाको नाम अग्रपंक्तिमा छ । त्यसपछि मधुर विक्रम खनाल, रन्जनाकुमारी शाही, बखतबहादुर शाही, लोकेशप्रसाद आचार्य, चन्द्रबहादुर शाही, नारायणप्रसाद रेग्मी, एकेन्द्रबहादुर पन्तको नाम पनि उम्मेदवारका लागि सिफारिस भएको छ । यो क्षेत्रबाट ‎‎प्रतिनिधिसभा समानुपातिकतर्फ सूर्यबहादुर विक, शेरबहादुर शाही, जानकीकुमारी बिष्ट, पूर्णबहादुर थापा, सुमित्रा शाह, भगवती प्रसाद उपाध्याय, लिलाराम उपाध्यायको नाम सिफारिस भएको छ । ‎‎राष्ट्रिय सभातर्फ शिवराज जोशी, रंगबहादुर शाही, हिमबहादुर शाही, प्रेमप्रकाश शाही, राजेश शाही र खड्गबहादुर शाहीको नाम सिफारिस गरिएको छ ।
    नेपाली काँग्रेस जुम्लाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ जिल्ला सभापति कर्णबहादुर शाही, निर्वतमान सांसद कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्गबहादुर सेजुवाललाई सिफारिस गरेको छ । समानुपातिकतर्फ दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य, परेकलाल घर्ती, गोरखबहादुर सुनार, माया नेपाली, नेत्रकला शाही, कर्णजंग हमाल, नविना केसी बडुवाल, जयलक्ष्मी आचार्य, लालबहादुर जिसी र रज्जब अलिमनिहारको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभातर्फ काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, भिमनिधि हमाल र सुमन बुढा बस्नेतको नाम सिफारिस गरिएको छ ।
    मुगुबाट निवर्तमान वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसहित ३ जनाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ । पार्टीका पूर्व जिल्ला सभापति खडकबहादुर शाही, रमाइली रावलको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरिएको छ । मीन भाम, भीम तिरुवा र केशरकला मल्लको नाम समानुपातिकतर्फका उम्मेदवारका लागि जिल्लाले सिफारिस गरेको छ । राष्ट्रियसभातर्फ मुगुबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस भएको छ ।
    नेपाली कांग्रेस डोल्पाले प्रत्यक्षतर्फ कर्णबहादुर बुढाको एकल नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस भएको छ । जसमा टंकप्रसाद उपाध्याय, जयकुमारी शाही, रमादेवी न्यौपाने छन् । आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दुधकुमारी हमाल, राजीमान सार्की र जुना मिजारको नाम सिफारिस भएको छ ।

     

  • कँडेलले दिए सचिव पदमा उम्मेदवारी

    कँडेलले दिए सचिव पदमा उम्मेदवारी

    कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमालेका स्थानयी कमिटी सदस्य यामलाल कँडेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । भृकुटीमण्डमा जारी एमालेको ११औं महाधिवेशनबाट उनले पार्टीको सचिव पदका लागि उम्मेदवारी दिएका हुन् ।
    निर्वाचन कार्यतालिका अनुसार सोमबार कँडेलले सचिव पदमा मनोनयन दर्ता गराएका छन् । शनिबारदेखि जारी महाधिवेशनमा कँडेलले केन्द्रीय निर्वाचन आयोगमा पदाधिकारीका लागि मनोनयन दर्ता गराएका हुन् ।
    कँडेललको प्रस्तावकमा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणी देवकोटा समर्थक छन् । कँडेल २०७८ मंसिरमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि सचिव पदका दावेदार थिए । अन्तिममा कँडेल केन्द्रीय कमिटीको पदाधिकारीमा अटाएनन् । कँडेल कर्णालीमा पार्टीको संगठन निर्माणमा अब्बल र अनुभवी नेता हुन् ।

  • प्रतिनिधिसभा निर्वाचन २०८२ः सक्रिय बने राजनीतिक दलहरु

    प्रतिनिधिसभा निर्वाचन २०८२ः सक्रिय बने राजनीतिक दलहरु

    सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन आउन ७९ दिन बाँकी छन् । निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ । सरकारले पनि निर्वाचनको आवश्यक तयारी तिव्र पारेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनकै लागि सरकारले सेना परिचालनको स्वीकृतिसमेत पाइसकेको छ । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी भईरहेको सरकारले बेलाबेला भनिरहेको छ ।
    प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले पनि देशव्यापी निर्वाचन लक्षित आफ्ना गतिविधिलाई निरन्तरता दिईरहेका छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न नहुने आशंका बीच पनि दलहरुले निर्वाचन लक्षित राजनीतिक सभा तथा सम्मेलनलाई तीव्रता दिएका छन् । जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा पुनसर््थापनाको पक्षमा रहेका दलहरु एमाले र काँग्रेसले पनि आफ्ना गतिविधि निरन्तर गरेका छन् ।
    नेकपा एमालेले शनिबारबाट आफ्नो ११औं राष्ट्रिय महाधिवेशन जारी गरिरहेको छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छाँयाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको आफ्नो पार्टी चुनावबाट नभाग्ने उद्घोष गरेका छन् । उनले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गरिरहेका छन् । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ ।
    नेपाली कांग्रेस पनि देशव्यापी रुपमा चुनावको तयारीमा छ । कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । यसपछि यही पुसमा आफ्नो १५ औं महाधिवेशन गर्ने तयारी गरेको छ । काँग्रेसले प्रतिनिधि सभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत छनोट गरिरहेको छ ।
    जेनजी आन्दोलनपछि वाम घटकहरुबीच एकता भएर निर्माण भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सन्देशसभाको रुपमा देशव्यापी निर्वाचनकेन्द्रित गतिविधिलाई तिव्र बनाएको छ । नेकपाले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा यसअघि नै सन्देशसभा गरिसकेको नेपाली कम्युनिस्ट पार्टीले यही पुस ५ गते काठमाडौंमा सन्देशसभा आयोजना गर्दैछ । देशभर नै सन्देशसभा आयोजना गरेर निर्वाचनको पक्षमा उभ्याएको नेकपाको दावी छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सुर्खेतमा आयोजित सभामा निर्वाचन तोकिएको मितिमै सम्पन्न हुनुपर्ने बताउँदै त्यसका लागि आफ्नो पार्टी क्रियाशील भइसकेको बताइ सकेका छन् ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको रास्वपाले भेलामार्फत निर्वाचनकेन्द्रित गतिविधि गरिरहेको छ । रास्वपाले पनि शुक्रबार कर्णाली प्रदेशस्तरीय राजनीतिक प्रशिक्षणको आयोजना गरिसकेको छ । यस्तै, मधेस केन्द्रित दलहरु पनि निर्वाचन केन्द्रित राजनीतिक गतिविधिमा संलग्न हुँदै गएका छन् ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ११४ राजनीतिक दल सहभागी हुनेछन् । समानुपातिकतर्फ १०० राजनीतिक दल निर्वाचनमा सहभागि हुँदैछन् । निर्वाचन आयोगले जनसंख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिनेछन् । निर्वाचन आयोगले शुक्रबार १०० राजनीतिक दललाई निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । २१–२३ मंसिरसम्म तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिमरुपमा १०० वटा दल कायम भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कुल ९३ निर्वाचन चिह्न कायम गरिएको आयोगले जनाएको छ ।
    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि गठित पूर्वप्रधानन्यायधीस सुशीला कार्की नेतृत्वको अन्तरिमक सरकारलाई निर्वाचन गराउने प्रमुख म्याण्डेट छ । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध, भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने मागसहित जेनजी समूह सडकमा उत्रिएको थियो । आन्दोलनका कारण प्रधानमन्त्रीले राजिनामा दिएपछि भदौ २७ गते कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन । जेनजीको मागबमोजिम प्रधानमन्त्री भएकी कार्की नेतृत्वको मन्त्रिपरिषद पहिलो बैठकले नै निर्वाचनको मिति घोषणा गरेको थियो ।

  • निर्देशनविपरीत जीवन शाहीलाई उम्मेदवार सिफारिस

    निर्देशनविपरीत जीवन शाहीलाई उम्मेदवार सिफारिस

    नेपाली कांग्रेस हुम्लाले पार्टी केन्द्रको परिपत्र र निर्देशनविपरीत कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं वर्तमान प्रदेश सभा सदस्य जीवनबहादुर शाहीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । शाही अहिले प्रदेश सभा संसदीय दलका नेतासमेत हुन् ।
    कांग्रेस केन्द्रीय समितिले हाल पदमा रहेका सांसदहरुलाई उम्मेदवार सिफारिस नगर्न परिपत्र जारी गरे पनि हुम्ला जिल्ला कार्य समितिले त्यसलाई लत्याउँदै शाहीको नाम सर्वसम्मत सिफारिस गरेको हो । आगामी निर्वाचनका लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ शाहीसहित तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा जयपति रोकाया र रिताकुमारी शाही पनि छन् । सिफारिस गरिएकामध्ये जीवनबहादुर शाही र जयपति रोकाया संस्थापन (देउवा) पक्षका हुन् भने रिताकुमारी शाही संस्थापन इतर (शेखर) पक्षकी नेतृ हुन् ।
    पार्टीको केन्द्रीय परिपत्रमा बहालवाला सांसदलाई पुनः उम्मेदवारको रुपमा सिफारिस नगर्न स्पष्ट निर्देशन छ । तर उम्मेदवारको सूचीमा रहेकी रिताकुमारी शाहीले जीवनबहादुर शाही जिल्लाको ठुलो नेता भएको र स्थानीय कार्यकर्ताको भावनाको कदर गर्नुपर्ने भएकाले सम्मानस्वरुप नाम सिफारिस गरिएको बताइन् । केन्द्रको परिपत्र भए पनि जिल्लाको विशिष्ट परिस्थितिका कारण यो निर्णय लिइएको उनको भनाइ छ ।
    यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ हुम्लाबाट बलबहादुर लामा, तारा बहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ । यस्तै राष्ट्रिय सभा सदस्य खुलातर्फ पदमबहादुर लामाको नाम एकल सिफारिस गरिएको छ भने महिलातर्फ रंगमति शाही र सविता बुढाको नाम सिफारिस भएको छ ।

  • दलको नेता छलफलबाटै टुंग्याउन निर्देशन

    दलको नेता छलफलबाटै टुंग्याउन निर्देशन

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन् । शनिबार आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डसहित सहसंयोजक माधवकुमार नेपाल र नेता कालिबहादुर मल्लको उपस्थितिमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बसेको थियो ।
    उक्त बैठकमा संयोजक प्रचण्डले दलको नेता चयन र आगामी रणनीतिका विषयमा विशेष चासो राखेका हुन् । कर्णालीमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिच एकता भई ‘नेकपा’ मा रुपान्तरण भए पनि हालसम्म संसदीय दलका पदाधिकारी चयन हुन सकेका छैनन् । ‘पदाधिकारी चयनको विषय दलभित्रकै छलफल र सहमतिका आधारमा टुङ्ग्याउनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांसद कृष्णबहादुर जिसीले भने, ‘अब प्रतिपक्षमा रहँदा सोही अनुसारको भूमिकालाई प्रभावकारी बनाउन लाग्नुस् ।’
    प्रचण्डले सकेसम्म संसदीय दलको नेता र पदाधिकारीको चयन संसदीय दलकै छलफलबाट टुङ्गोमा पुर्याउन निर्देशन दिएका छन् । यदि सहमति नजुटेको खण्डमा प्रदेश पार्टी कमिटीले जिम्मेवारी लिएर निर्णय गर्ने उनको भनाइ छ । दलले तल्लो तहबाट जे निष्कर्ष निकाल्छ, त्यसैका आधारमा केन्द्रले धारणा बनाउने र माथिबाट छुट्टै लाद्ने वा अलग धारणा नबनाईने बताएको जिसीले जनकारी दिए ।
    बैठकमा सहभागी सहसंयोजक माधवकुमार नेपालले भने यसबारे कुनै औपचारिक धारणा राखेनन् । उनीसँग सांसदहरुको परिचयात्मक कार्यक्रममात्र भएको जिसीले जानकारी दिए । जिसीका अनुसार, पदाधिकारी चयनको विषयमा अब छिटै छलफल अघि बढाइने छ । दुई दलको एकतासँगै कर्णाली प्रदेश सभामा नेकपा दोस्रो शक्ति मै सीमित छ । यहाँ समाजवादीका जम्मा १ सांसद छन् भने माओवादीका १३ जना छन् । संसदीय दलको नेताका लागि सांसदहरु विन्दमान विष्ट, कृष्णबहादुर जिसी, मंगल शाही, महेन्द्र केसी र दुर्ग रावतलगायतले दाबी प्रस्तुत गरेका छन् ।