जुम्लामा तीन वर्षपछि हिमपात

जुम्लामा तीन वर्षपछि हिमपात हुँदा किसान उत्साहित भएका छन् । पछिल्लो समय लेकाली क्षेत्रमा सामान्य हिमपात भए पनि तल्लो क्षेत्रमा सामान्य बर्षा भइरहेको हुन्थ्यो । तर यो पटक जिल्लाभर हिउँ परेकोले किसानलाई बाली सप्रने आशा लागेको छ । शनिबार बिहानदेखि परेको हिउँ दिउँसोसम्म पनि रोकिएको छैन । चिसोले भने जनजीवन प्रभावित बनेको छ । पशुबस्तुलाई किसानले गोठमै राखेर घास पानी दिइरहेका छन् । सदरमुकामतिर झण्डै आधा फिट र लेकाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
कर्णाली राजमार्गलगायत अन्य सडकमा सवारी साधन गुड्न सकेका छैनन् । हिमपातले हवाईसेवा समेत प्रभावित बनेको छ । तर हिउँदेबालीको रुपमा रहेको जौं, गहुँ खेती सप्रने किसानहरुको भनाइ छ । सिंजा २ का गोपाल रोकायाले यो पटक हिउँदेबाली सप्रने भन्दै खुसी छन् । उनले भने, ‘कहिले खडेरी त कहिले असिनापानीले आजित जुम्लाबासी यो पटकको हिमपातले उत्साहित छन् । मंसिर÷पुसमै हिउँ पर्नुपर्ने हो तर माघ महिनामा हिउँ परे पनि किसानलाई फाइदा नै छ । भर्खर व्यवस्थापन गरिएको बगैंचामा चिस्यान थपेको छ । सिँचाइ व्यवस्थापन भएको छ ।’
यही मौकामा किसानले मलखादको उचित व्यवस्थापन गर्नसकेमा यो पटक जुम्ली किसानहरुले चिन्ता मान्नुपर्ने देखिँदैन । जिल्लाको आठै वटा स्थानीय तहका ६० वडामै हिमपात भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भारी हिमपात भइरहेकोले उच्च सतकर्ता अपनाउनको लागि हार्दिक अपिल गरेको छ । स्याउमा कालो तुसारो नलाग्नेदेखि रोकिराको संक्रमण अत्यन्तै कम हुने कृषि विज्ञहरुले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *