Blog

  • हुम्ला हुँदै पुगे ६ हजार विदेशी पर्यटक

    हुम्ला हुँदै पुगे ६ हजार विदेशी पर्यटक

    चीनसँग जोडिएको नेपालको हुम्ला–हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि ६ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका छन् । जेठदेखि असोजको पहिलो सातासम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने करिब ६ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रमुख शंकर पोखरेलका अनुसार अन्य देशका ४५० जनासहित हुम्लामा ६ हजार ४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन् ।
    मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको बाटो छोटो दुरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्म विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो । चीनले कोरोनापछि हिल्सा नाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको संख्या वृद्धि भएको सिमकोट विमानस्थलका प्रतिनिधि दीपेन्द्र भण्डारीले बताए ।
    सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क पनि उठाउँदै आएको छ । भारतीय तीर्थयात्रीबाट प्रतिव्यक्ति १ हजार १ सय रुपैयाँ शुल्क लिने गरिएको छ । अन्य देशका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय शुल्क लिने गरिएको छ ।
    यो बर्ष मात्र मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय ५ हजार ९५७ जना पर्यटकबाट ६५ लाख ५२ हजार रुपैयाँ शुल्क उठेको छ । अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार राजस्व सङ्कलन भएको छ ।
    यस बर्षका लागि हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने सिजन सकिएको छ । चिसो बढ्दै गएपछि विदेशी पर्यटकका लागि यस वर्षको मानसरोवर कैलाश यात्राको सिजन सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए ।
    काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर तीर्थयात्रीहरु मानसरोवर जाने गरेका छन् । कोरोनापछि भारतीय तीर्थयात्रीको धेरै संख्यामा हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् । जसका कारण सदरमुकाम सिमकोट र चीनसँगको सीमा नाका हिल्सामा रहेका होटलहरुको व्यवसाय वृद्धि भएको छ । विदेशी पर्यटकका लागि सिजन सकिएसँगै दिनभर व्यस्त रहने सिमकोट विमानस्थलको चापसमेत घटेको छ ।

  • इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

    इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

    इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।
    ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले बताए ।
    टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’ अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।
    अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
    सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।
    विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् । विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा प्रगति भने देखिएन ।

  • एक महिनासम्म पनि पालिकामा हाजिर भएनन् सरुवा भएका अधिकृत

    एक महिनासम्म पनि पालिकामा हाजिर भएनन् सरुवा भएका अधिकृत

    स्थानीय तहमा निमित्त प्रशासन प्रमुख नरहोस् भन्ने उद्देश्यका साथ गत भदौ १२ गते संघ सरकारले प्रमुख प्रशासकीय अधिकृतका रुपमा केही अधिकृतहरुलाई सरुवा गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासनल मनत्रालयले मन्त्रीस्तरबाट उक्त निर्णय गरेको हो । नर्णयबमोजिम केही स्थानीय तहमा अधिकृतहरु हाजिर भई कार्यभार सम्हालिरहेका छन् । कर्णालीमा भने कतिपय पालिकामा खटाईएका अधिकृतहरु हाजिर हुन आउन मानेका छैनन् । विशेषगरि साविकको कर्णालीका पालिकाहरुमा सरुवा गरिएका अधिकृतहरु हाजिर हुन नआएका हुन् ।
    सरकारले डोल्पाको जगदुल्ला गाउँपालिकामा विनय खड्का, काईके गाउँपालिकामा हरिप्रसाद देवकोटा, छार्काताङसोङ गाउँपालिकामा नारायण रायमाझी, ठूलीभेरी नगरपालिकामा लालबहादुर गुरुङलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरेको छ । जुम्लाका तिला गाउँपालिकामा सुरेश भट्टराई, हिमा गाउँपालिकामा टेकबहादुर बुढ्थापा, चन्दननाथ नगरपालिकामा पर्शुराम पोखरल, मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा भीमबहादुर शाहीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको थियो । उनीहरु हालसम्म पनि हाजिर हुन पुगेका छैनन् ।
    यस्तै हुम्लाको सिमिकोट गाउँपालिकामा त्रिशान श्रेष्ठ, खार्पुनाथ गाउँपालिकामा श्रीसम्शेर रानामगर, सर्केगाड गाउँपालिकामा दलबहादुर चन्द, चंखेली गाउँपालिकामा देवीप्रसाद पौडेल र अदानचुली गाउँपालिकामा दीपक पौडेललाई सरुवा गरिएको थियो । कालिकोटको सुभकालिका गाउँपालिकामा भलाराम पंगाली, नरहरिनाथ गाउँपालिकामा बालकृष्ण रानामगर, महाबै गाउँपालिकामा राजन पराजुली, खाँडाचक्र नगरपालिकामा पदमबहादुर बुढा क्षेत्री र रास्कोट नगरपालिकामा महेन्द्रजंग शाहीलाई प्रमुख प्रशासकीयका रुपमा सरुवा गरिएको थियो । उनीहरुले पनि संघीय सरकारको सरुवा निर्णयको अटेर गरेर हाजिर हुन आएका छैनन् । साविक कर्णालीबाहेकका प्रदेशका केही अरु पालिकामा पनि सरुवा भएका अधिकृत जिम्मेवारी सम्हाल्न आइपुगेका छैनन् ।
    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ (४) अनुसार स्थानीय तहमा खटिएका सबै प्रमुख प्रशासकीय अधिकृतहरुलाई रमाना लिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २१ गते पत्राचार गरेको थियो । सरुवा हुनुअघि उनीहरुले काम गरिरका विभिन्न मन्त्रालय, आयोग र निकायलाई निर्णयबमोजिम रमाना दिन सोही दिन मन्त्रालयले पत्राचार गरेको थियो ।
    पत्राचारको बेवास्ता गरी रमाना नलिएका प्रमुख प्रशासकीय अधिकृतलाई रमाना लिन र रमाना नदिएका निकायलाई रमाना दिन मन्त्रालयले असोज १२ गते पुनः ताकेता गरेको थियो ।
    निजामती सेवा नियमावली २०५० को नियम ४० अनुसार सरुवा भएको मितिले कुनै पनि कर्मचारीले सामान बरबुझारथ (आफूसँग वा आफ्नो मातहत भएका कार्यालयका सामान फिर्ता) का लागि २१ दिनको समय पाउँछन् । त्यसपछि सरुवा भएको स्थानमा हाजिर हुन बाटोका म्यादबाहेक सात दिन समय पाउँछन् । यदि बरबुझारथका लागि समय लाग्ने भए बढीमा एक महिना समय थप्न मिल्छ । अहिले सरुवा भएका ती अधिकृतहरुको नियमावलीले तोकेको समयसीमा नाघिसकेको छ । तैपनि दुर्गम पालिकाहरुमा गएर काम गर्न उनीहरुले अटेर गरिरहेका छन् ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र तोकिएको स्थानीय तहमा हाजिर हुन फेरि ताकेता गरेको छ । मन्त्रालयले यही असोज २१ गते मन्त्रालय, आयोग, सचिवालय, निकाय तथा प्रदेश सरकारलाई ताकेतासहित पत्राचार गरेको छ । स्थानीय तहमा सरुवा गरिएका केही अधिकृत हालसम्म पनि खटाईएको स्थानमा हाजिर नभएकाले स्थानीय तहको कामकाजमा समस्या भएको गुनासो आएपछि मन्त्रालयले फेरि एक सताभित्र हाजिर हुन ताकेता गरेको हो ।
    ‘मन्त्रालय, आयोग, सचिवालय, निकायअन्तर्गत कार्यरत रही यस मन्त्रालयको निर्णयबाट प्रमुख प्रशासकीय अधिकृतको पदमा कामकाज गर्न खटाईएका कर्मचारीहरुलाई निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० मा उल्लेख भएको प्रावधानबमोजिम यथाशिघ्र रमाना दिई पठाउनु हुन भनी मन्त्रालयको च.नं. ४५१, मिति २०८२÷०५÷३१ गतेको पत्रबाट पत्राचार गरिएकोमा अझै पनि केही स्थानीय तहमा खटाईएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नआएकोले स्थानीय तहको नियमित काम कारवाहीमा असर पर्नुका साथै प्राकृतिक विपत्तिका कारण सृजित अवस्थाको व्यवस्थापन गर्न समेत कठिनाई भएको भनी विभिन्न स्थानीय तहबाट गुनासो प्राप्त हुन आएकोले तहाँ मन्त्रालय, आयोग, सचिवालय, कार्यालय वा अन्तर्गतका निकायहरुबाट सरुवा भएका कामकाजमा खटाईएका कर्मचारीहरुलाई पत्र प्राप्त भएको मितिले ७ दिनभित्र रमाना दिई पठाउने व्यवस्था गर्नहुन पुनः अनुरोध छ,’ मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ ।

  • राउटे समुदायले मागे सुरक्षा

    राउटे समुदायले मागे सुरक्षा

    राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरुले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकवेशी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाहरुले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए । त्रास सिर्जना गर्ने युवकलाई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजंग बुढथापाले जानकारी दिए ।
    पछिल्लो समय बाह्य व्यक्तिहरुको अनाधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका जनाइएको छ । आफ्नै जीवन्त रीतिरिवाज र वेशभूषामा जंगलमा बस्दै आएका उनीहरुका बस्तीमा जथाभावी बाह्य व्यक्तिहरुको प्रवेशले असुरक्षित बन्न थालेका हुन् । विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको उनीहरुको भनाइ छ ।
    कर्णालीका विभिन्न ठाउँमा फिरन्ते रूपमा जीवन बिताउँदै आएका राउटे समुदाय माथि केही वर्ष अगाडि पनि अवाञ्छित काम गर्ने केही व्यक्तिलाई प्रहरीले कारबाही गरेको थियो । ‘बाहिरबाट बिनाकाममा बस्तीभित्र आउने गर्दा आफूहरुलाई असहजता बनाएको छ, रातिमा बस्तीभित्र बाहिरका मानिस आउन थालेपछि झनै असुरक्षित हुन थालेको छ, हामीलाई सुरक्षा चाहियो,’ राउटे समुदायका युवा दीपक शाही भन्छन्, ‘हिजोमात्र हाम्रो बस्तीमा रक्सी खाएर एक जना मान्छे आएर हल्ला गर्यो, अरु बेलामा पनि जथाभावी मानिसहरू आउँदा हामी त्रासमा छौं ।’

     

  • टासीले गरिन् आरोपको खण्डन

    टासीले गरिन् आरोपको खण्डन

    हुम्लाकी जलवायु अभियान्ता टासी ल्हान्जोमाले सामाजिक सञ्जालमा उनीमाथि लगाएका आरोपको खण्डन गरेकी छन् । आदीवासी जेन–जी कलेक्टिभ्सबाट आइतबार विज्ञप्ति सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपको खण्डन गरेकी हुन् । उनी आदिवासी जेन–जी कलेक्टिभ्समा सक्रिय सदस्य हुन् ।
    मन्त्री बन्ने चर्चासँगै उनीमाथि ‘विदेशी शक्तिद्वारा परिचालित, नक्कली नागरिकता लिएको’ आरोप लागेको थियो । उनले यी कुराहरुमा कुनै पनि सत्यता नरहेको बताएकी छन् । ‘यस्ता आरोप लगाउँदै मन्त्रीपरिषद् सदस्य बनाउँदा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतालाई आँच पुग्ने भनिएको छ, यी आरोप सत्य र तथ्यमा आधारित नभएको प्रष्ट पार्न चहान्छौं,’ उनले भनेकी छन् ।
    राष्ट्रिय पहिचान र सार्वजनिक जीवनबाट बारम्बार विमुख राख्ने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ । जसको कारण आदीवासी महिला तथा नागरिकहरुलाई जात–जातीयता, लिंग, भूगोल, भाषा, धर्म– संस्कृति वर्णका आधारमा राज्य र समाजमा अदृश्य बनाइएको र बनाउने कसरत जारी रहेको उनले विज्ञप्तिमार्फत बताएकी छन् ।

  • तोकियो कान्छो राष्ट्रिय निकुञ्जको चार किल्ला

    तोकियो कान्छो राष्ट्रिय निकुञ्जको चार किल्ला

    सरकारले ‘छायानाथ राष्ट्रिय निकुञ्ज’ को चार किल्ला तोकेर सार्वजनिक गरेको छ । भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले छायानाथ राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । सोही अनुसार वन तथा वातावरण मन्त्रालयले चार किल्ला सार्वजनिक गरेको हो । यो नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज बनेको छ ।
    मन्त्रालयका अनुसार मुगु जिल्लामा अवस्थित यो निकुञ्जको क्षेत्रफल ८ सय ४३ वर्गकिलोमिटर रहनेछ । पूर्वमा कान्जीरोवा हिमालको शिरदेखि उत्तरतर्फ हिमालको टुप्पैटुप्पो, नामलान नदी र खबुला खोलाको दोभान, मरुम डाँडा, याङ्ला लेक हुँदै यालाकान, याला भञ्ज्याङ र पलाचुङ हाम्दा हिमाल हुँदै चीनसँगको अन्तर्राष्ट्रिय सीमासम्म तोकिएको छ ।
    पश्चिममा दाभसल्ला डाँडादेखि उत्तरतर्फ टुप्पैटुप्पो हुँदै नाम्लाङ खोला समाती पश्चिमतर्फ नाम्लाङ र बेलुङ खोलासम्म, बेलुरुङ खोलालाई समाती शो चुलीको टुप्पैटुप्पो कुलदम डाँडा, नागपी डाँडा, छायरगोला भञ्ज्याङ, छिमीमारु डाँडा हुँदै नेपाल चीनबीचको अन्तर्राष्ट्रिय सीमासम्म तोकिएको छ । उत्तरमा नेपाल चीनबीचको अन्तर्राष्ट्रिय सीमानामा पर्ने कान्ति हिमालको शिर हुँदै पूर्वतिर चाँदी हुँदै पालचुनहुम्गा हिमाल हुँदै मुगु र डोल्पा जिल्लाको सीमानासम्म तय गरिएको छ । दक्षिणमा दाभसल्ला डाँडाबाट दक्षिण जुम्ला र मुगु जिल्लाको सीमाना हुँदै काँडेचुली हुँदै पातारासी हिमालको शिरदेखि कान्जीरोवा हिमालको शिरसम्मको भूभागलाई यस निकुञ्जको क्षेत्रमा समेटिएको छ ।
    यस निकुञ्जको मध्यवर्ती क्षेत्र भने १ सय ७७ वर्ग किलोमिटरमा फैलिएको छ । पूर्वमा दाभसल्ला डाँडाको टुप्पैटुप्पा उत्तरतर्फ नाम्लाङ खोला समाती पश्चिमतर्फ नाम्लाङ र बेलुङ खोलाको दोभानसम्म, बेलुङ खोलालाई समाती छायानाथ ठाकुरजी डाँडाको चुचुरोको शिर समाती शो चुलीको टुप्पैटुप्पा कल्दम डाँडा हुँदै नागपी डाँडा हुँदै छायारंगगोम भञ्ज्याङसम्म तोकिएको छ । पश्चिममा नादाई काँध लेकको टुप्पोबाट उत्तरतर्फ कान खोला पारी गरा लाप्चा डाँडाको शिरैशिर उत्तर ताका गाउँलाई भित्र पारी तिहार बगरसम्म, त्यहाँबाट मुगु कर्णाली हुँदै उत्तर सिरानचौरसम्मको क्षेत्र तय भएको छ ।
    उत्तरमा सिरानचौरदेखि छ्याम खोला हुँदै छ्यामगोला भञ्ज्याङसम्म तय भएको मन्त्रालयले जनाएको छ । दक्षिणमा नादाई काँध लेकको शिरैशिर दक्षिण मुगु र जुम्ला जिल्लाको सीमाना हुँदै काँक्रे काँध लेक हुँदै दाभसल्ला डाँडासम्म तोकिएको छ । मन्त्रिपरिषद्को सोही दिनको बैठकले शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको समेत चार किल्ला र मध्यवर्ती क्षेत्रको सीमाना हेरफेर गरी तोक्ने निर्णय गरेको थियो । मन्त्रालयले यो निकुञ्जको समेत नयाँ चार किल्ला सीमाना सार्वजनिक गरेको छ ।

  • दुई जिल्लाका २९ कैदी अझैं फरार

    दुई जिल्लाका २९ कैदी अझैं फरार

     

    जेनजी आन्दोलनको क्रममा कर्णालीका विभिन्न कारागारबाट भागेका २९ जना कैदीबन्दी अझैं फरार रहेका छन् । जुम्ला र रुकुम पश्चिम कारागारबाट भदौ २४ गते भागेका कैदीमध्ये अझैं २९ कैदी फर्किएका छैनन् । उनीहरुलाई कारागार फर्काउने प्रयास भने प्रहरीले आफ्नो तर्फबाट गरिरहेको छ ।
    भदौ २४ गते रुकुम पश्चिम कारागारबाट ८८ र जुम्ला कारागारबाट ३६ जना कैदीबन्दी भागेका थिए । फरार भएकामध्ये अधिकांश फौजदारी अभियोगमा कैद सजाय पाएकाहरु रहेका छन् । फरार अभियुक्तहरु जरबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना तथा लागुऔषध मुद्दाका भएको प्रहरीले जनाएको छ ।
    रुकुम पश्चिमस्थित कारागारबाट भागेका ८८ जना कैदीबन्दी मध्ये ६९ जना पक्राउ परेका छन् । त्यसमध्ये १६ जना अझै फरार रहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले बताए । जिल्ला प्रशासन कार्यालयले असोज १२ गते सार्वजनिक सूचना जारी गरी २० गतेभित्र कारागारमा फर्किन उनीहरुलाई आग्रह गरेको थियो । त्यसयता ५ जना मात्र फर्किएको प्रमुख जिल्ला अधिकारी थानीले जानकारी दिए ।
    ‘सबैजसो फरार कैदीबन्दी जघन्य अपराधमा संलग्न छन्, जसका कारण समाजमा थप अप्रिय घटना हुनसक्ने जोखिम छ,’ उनले भने, ‘सबैतिर खोजी तीव्र पारेका छौं, अब कैदीबन्दीलाई लुकाउने, छिपाउने र आश्रय दिने व्यक्तिलाई समेत कसुरदारी ठानी कानुनअनुसार कारबाहीको दायरामा ल्याईनेछ ।’ रुकुम पश्चिमबाट फरार भएकामध्ये केही रुकुम पूर्वका व्यक्ति छन् । रुकुम पूर्वमा कारागार नभएकाले उनीहरुलाई रुकुम पश्चिमको कारागारमा राखिएको थियो ।
    हाल कारागारबाट भागेर फरार रहेका कैदीबन्दी जरबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका तथा सजाय भोगिरहेकाहरु रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । उनका अनुसार जुम्ला कारागारबाट भागेकामध्ये मुगुका ५, जुम्लाका ३ र हुम्लाका २ जना सम्पर्कमा आएका छैनन् ।
    ‘हुम्ला र मुगुमा कारागार नभएकाले सजाय भुक्तान गर्नुपर्ने कैदीलाई जुम्ला कारागारमा राख्ने गरिएको छ । ‘११ जना सम्पर्कमा नआएपछि १९ गते सार्वजनिक सूचना नै जारी गरेका थियौं, त्यसयता एक जना मात्र सम्पर्कमा आएपछि प्रहरीले पक्राउ गरेको छ,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘अन्य फरार भएकाहरुको पनि खोजी कार्य तिव्र बनाईएको छ ।’

  • मध्यराति राउटे बस्ती पसेका युवक पक्राउ

    मध्यराति राउटे बस्ती पसेका युवक पक्राउ

    शुक्रबार राति साढे १२ सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे नजिकैको जंगलमा बस्दै राउटे समुदायमा मदिरा सेवन गरी पसेका एक युवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ । लेकवेशी–५ नेटाका राजु रजालीलाई राउटे युवाहरुले पक्राउ गरेर शनिबार बिहान प्रहरीको जिम्मा लगाएका हुन् । महिला एक्लै भएको छाप्रोमा प्रवेश गरेका उनलाई राउटे युवाह्रले नियन्त्रणमा लिएका थिए ।
    राउटे समुदायसँग काम गर्दै आएकी कर्मचारी दुर्गा खत्रीले मदिरा सेवन गरी बस्ती पसेका युवकले महिलामाथि जबर्जस्ती गर्न खोजेपछि राउटे युवाह्रले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताईन् । राउटे महिलाले नै आफूलाई जबरजस्ती गर्न खोजेको बताएपछि बस्तीकै युवाहरुले समातेर राखेका थिए ।
    जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले शनिबार बिहान बस्तीमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको बताए । पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनाबारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोली पनि बस्तीमा पुगेको थियो ।