जेनजी आन्दोलनको क्रममा कर्णालीका विभिन्न कारागारबाट भागेका २९ जना कैदीबन्दी अझैं फरार रहेका छन् । जुम्ला र रुकुम पश्चिम कारागारबाट भदौ २४ गते भागेका कैदीमध्ये अझैं २९ कैदी फर्किएका छैनन् । उनीहरुलाई कारागार फर्काउने प्रयास भने प्रहरीले आफ्नो तर्फबाट गरिरहेको छ ।
भदौ २४ गते रुकुम पश्चिम कारागारबाट ८८ र जुम्ला कारागारबाट ३६ जना कैदीबन्दी भागेका थिए । फरार भएकामध्ये अधिकांश फौजदारी अभियोगमा कैद सजाय पाएकाहरु रहेका छन् । फरार अभियुक्तहरु जरबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना तथा लागुऔषध मुद्दाका भएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमस्थित कारागारबाट भागेका ८८ जना कैदीबन्दी मध्ये ६९ जना पक्राउ परेका छन् । त्यसमध्ये १६ जना अझै फरार रहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले बताए । जिल्ला प्रशासन कार्यालयले असोज १२ गते सार्वजनिक सूचना जारी गरी २० गतेभित्र कारागारमा फर्किन उनीहरुलाई आग्रह गरेको थियो । त्यसयता ५ जना मात्र फर्किएको प्रमुख जिल्ला अधिकारी थानीले जानकारी दिए ।
‘सबैजसो फरार कैदीबन्दी जघन्य अपराधमा संलग्न छन्, जसका कारण समाजमा थप अप्रिय घटना हुनसक्ने जोखिम छ,’ उनले भने, ‘सबैतिर खोजी तीव्र पारेका छौं, अब कैदीबन्दीलाई लुकाउने, छिपाउने र आश्रय दिने व्यक्तिलाई समेत कसुरदारी ठानी कानुनअनुसार कारबाहीको दायरामा ल्याईनेछ ।’ रुकुम पश्चिमबाट फरार भएकामध्ये केही रुकुम पूर्वका व्यक्ति छन् । रुकुम पूर्वमा कारागार नभएकाले उनीहरुलाई रुकुम पश्चिमको कारागारमा राखिएको थियो ।
हाल कारागारबाट भागेर फरार रहेका कैदीबन्दी जरबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका तथा सजाय भोगिरहेकाहरु रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । उनका अनुसार जुम्ला कारागारबाट भागेकामध्ये मुगुका ५, जुम्लाका ३ र हुम्लाका २ जना सम्पर्कमा आएका छैनन् ।
‘हुम्ला र मुगुमा कारागार नभएकाले सजाय भुक्तान गर्नुपर्ने कैदीलाई जुम्ला कारागारमा राख्ने गरिएको छ । ‘११ जना सम्पर्कमा नआएपछि १९ गते सार्वजनिक सूचना नै जारी गरेका थियौं, त्यसयता एक जना मात्र सम्पर्कमा आएपछि प्रहरीले पक्राउ गरेको छ,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘अन्य फरार भएकाहरुको पनि खोजी कार्य तिव्र बनाईएको छ ।’

Leave a Reply