Blog

  • स्पष्ट योजनासहित काम गर्न सहिचवहरुलाई मुख्यमन्त्रीको निर्देशन

    स्पष्ट योजनासहित काम गर्न सहिचवहरुलाई मुख्यमन्त्रीको निर्देशन

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्पष्ट योजनासहित काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । शनिबार प्रमुख सचिव र अन्य मन्त्रालयका सचिवहरुसँग भेटघाट गरी उनले जेनजी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न निर्देशन दिएका हुन् ।
    मुख्यमन्त्री कँडेलले सुधारलाई व्यवहारमा रूपान्तरण गर्न आग्रह गरे । अहिले जनताले सेवामा पारदर्शिता, जवाफदेहिता र सहजता अपेक्षा गरेकोले सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्नेमा उनले बताए । ‘कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्छ, कागजपत्रमा मात्र होइन, व्यवहारमा पनि पारदर्शिता देखिनुपर्छ,’ उनले भने, ‘हामीले हिजोका कमजोरी सुधारका उपाय पनि खोज्नु जरुरी छ ।’
    विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैली अपनाएर काममा गति दिन मुख्यमन्त्री कँडेलले निर्देशन दिएका छन् । सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उनले बताए । वर्तमान संघीय सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्न, तालिम, भ्रमण, गोष्ठी र आवश्यक नभएका योजनाबाट खर्च कटाउने प्रस्ताव, फजुल खर्च रोक्ने नीति र योजना ल्याउन पहल गर्न उनले सचिवहरुलाई निर्देशन दिएका छन् ।
    प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न पनि मुख्यमन्त्री कँडेलले निर्देशन दिए । उनले सेवाप्रवाहमा सरलता ल्याउन, ढिलाई हुने प्रवृत्तिलाई अन्त्य गर्न र जनतामुखी प्रशासनिक सुधारमा जोड दिनुपर्ने बताए ।

  • कर्णालीमा कस्तो छ मानसिक स्वास्थ्य अवस्था?

    कर्णालीमा कस्तो छ मानसिक स्वास्थ्य अवस्था?

    आत्महत्याको कारणमध्येको एक, कर्णालीमा प्रतिलाखमा ४ प्रतिशत आत्महत्या

    नेपालमा २०७२÷०७३ यताको आत्महत्याको अवस्था डरलाग्दो देखिन्छ । स्वास्थ्यसँग सम्बन्धित निकायको तथ्याङ्ककलाई आधार मान्ने हो भने आर्थिक बर्ष ०७२÷ ७३ देखि ०८१÷८२ सम्म नेपालमा ६२ हजार ३९६ जनाले आत्महत्या गरेको देखिन्छ । आर्थिक बर्ष ०८०÷८१ मा सबैभन्दा धेरै ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । आर्थिक बर्ष ०८१÷८२ मा मात्र ७ हजार ५५ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । यी १० आर्थिक बर्षको आत्महत्याको तथ्याङ्क हेर्दा यसको दर बढ्दो क्रममा देखिएको छ ।
    नेपालमा देखिएको आत्महत्याको डरलाग्दो तथ्याङ्कले मानसिक स्वास्थ्यको समस्या पनि डरलाग्दो अवस्थामा देखाउँछ । किन भने मानसिक स्वास्थ्य समस्यालाई व्यक्तिको आत्महत्याको प्रमुख कारणमध्येमा मानिन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले ‘१५–२९ बर्षका युवाहरुमा मृत्युको दोस्रो कारण आत्महत्या हो र यसको कारणमध्येको एक मानसिक स्वास्थ्य समस्या पनि हो’ भनेको छ । यही प्रतिवेदनले १५–१९ बर्ष उमेर समूहका युवाहरुको मृत्युको चौथो कारण ‘आत्महत्या’ हो भनेको छ ।
    आत्महत्या र मानसिक स्वास्थ्यलाई सँगसँगै राखेर कर्णालीको अवस्था हेरौं । विश्व मानसिक स्वास्थ्य दिनवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा मनोचिकित्सक डा. सुशिल समदर्शीले गरेको एउटा प्रस्तुतिअनुसार कर्णालीमा प्रति एक लाखमध्ये ४ प्रतिशत औसत आत्महत्या दर देखिन्छ । यो दर अन्य प्रदेशको तुलनामा भने न्युन हो । यो दर सबैभन्दा धेरै कोशी प्रदेशमा २१ प्रतिशत देखिएको छ । उनका अनुसार राष्ट्रिय औसतका आधारमा हेर्दा कर्णालीमा ७.२ प्रतिशत वयस्कमा आत्महत्या सम्बन्धी बिचार आउने गरेको देखिन्छ ।
    राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० अनुसार कर्णालीमाका १३–१७ बर्ष उमेर समूहका किशोरकिशोरीमध्ये ४.९ प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक विकास (मेन्टल डिसअर्डर) देखिएको डा. समदर्शीले बताए । यो उमेर समूहका किशोरकिशोरीलाई नसा तथा तनावसम्बन्धि विकार (डिसअर्डर) बढी देखिएको सर्वेक्षणले देखाएको छ । कर्णालीका ४०–४९ बर्ष उमेर समूहका व्यक्तिमा मानसिक स्वास्थ्य समस्या बढी भएको पाईएको छ ।
    राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० अनुसार कर्णालीमा १८ बर्षमाथिका वयस्कमा हुने मानसिक समस्यामध्ये ११.७ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको मानसिक रोगसँग सम्बन्धित आजीवन प्रचलन देखिएको छ । कर्णाली प्रदेशमा वयस्क जनसंख्याको झण्डै १२ प्रतिशत ले आफ्नो जीवनमा कुनै न कुनै मानसिक रोगको अनुभाव गरेको यही सर्वेक्षणले देखाएको छ । यस्तो समस्याबाट पीडित ती व्यक्तिहरुमा डिप्रेसन, तनाव र माधक पदार्थ सेवनसम्बन्धी प्रमुख समस्या देखिएको छ ।
    कर्णाली प्रदेशको पछिल्लो दुई आर्थिक बर्षको तथ्याङ्क हेर्दा मानसिक स्वास्थ्य समस्या भोगेकामध्ये धेरैमा ‘एन्जाइटी’को समस्या देखिएको छ । आर्थिक बर्ष २०८१÷०८२ को तथ्याङ्कअनुसार मानसिक स्वास्थ्य समस्यामा भोगेका कर्णाली प्रदेशका ७ हजार ४२१ जनामा एन्जाइटीको समस्या देखिएको छ । यस्तै २ हजार ७७९ जनामा डिप्रेसन, १२० जनामा आत्महत्याको प्रयास, ९७४ जनामा मिर्गी, ६६० जनामा मनोविकृति, ३६४ जनामा भावनात्मक तथा व्यावहारिक डिसअर्डरको समस्या देखिएको डा. समदर्शीले बताए ।
    नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यको विद्यमान अवस्था हेर्दा १५–४९ बर्ष उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० अनुसार नेपालमा १० प्रतिशत वयस्कहरुले आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाईएको छ । मानसिक समस्याकै कारण २.३ प्रतिशत वयस्क र ०.६ प्रतिशत किशोरकिशोरीमा उदासिनताको समस्या रहेको छ । मानसिक स्वास्थ्य समस्यामा रहेका ६.५ प्रतिशत वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच देखिएको छ । नेपालमा १.१ प्रतिशत वयस्क र ०.७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको देखिन्छ ।
    विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यसम्बन्धी प्रतिवेदनअनुसार विश्वमा कुल नसर्ने रोगहरुको भारमध्ये १८ प्रतिशत भार मानसिक रोगको छ । यस्तै अपाङ्गता गराउने प्रमुख १० वटा कारणमध्येमा ५ वटा कारण मानसिक स्वास्थ्य समस्या हो । विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोरकिशोरीमा भावनात्मक, व्यवहारिक र अन्य खालको मानसिक स्वास्थ्य समस्या रहेको प्रतिवेदनले देखाउँछ । विश्वमा ८ जनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या हुने गरेको छ भने१४ प्रतिशत मानसिक स्वास्थ्य समस्या १० देखि १९ बर्ष उमेरमा देखा पर्छ ।
    उक्त प्रतिवेदनअनुसार ५८ प्रतिशत आत्महत्या ५० बर्ष उमेरभन्दा पहिला नै भएको हुन्छ । जटिल प्रकारका मानसिक स्वास्थ्य समस्या हुँदा पनि उपचार नपाएका व्यक्तिहरुको मृत्यु सरदर आयुभन्दा १०–२० बर्ष अगाडि नै हुने सम्भावना हुन्छ । १५–२९ बर्षका युवाहरुमा मृत्युको दोस्रो कारण आत्महत्या हो, यसको एक कारण मानसिक स्वास्थ्य समस्या पनि हो । १५–१९ बर्ष उमेर समूहका युवाहरुको मृत्युको चौथो कारण आत्महत्या रहेको छ । यसमा ५२.४ प्रतिशत महिला र ४७.६ प्रतिशत पुरुष रहेका छन् । अधिकांश मानसिक समस्याहरुको सुरुआत जीवनको २४ बर्षभन्दा कम उमेरमा देखिने गरेको प्रतिवेदनले भनेको छ । खासगरि मुटुरोग, दम वा मधुमेह भएका बिरामीलाई मानसिक स्वास्थ्य समस्याको सम्भावना ३ गुणसम्म बढी हुने अध्ययनले देखाएको छ ।
    नेपालमा मानसिक स्वास्थ्यका चुनौती
    नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार, परामर्श तथा रोकथाममा थुप्रै चुनौती रहेको देखिन्छ । मनोचिकित्सक डा. समदर्शीका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन तथा बजेट विनियोजन न्युन भएकाले लक्षित वर्ग, जोखिममा रहेका समूहका व्यक्ति तथा समुदायलाई पूर्णरुपमा समेट्न सकिएको छैन । मानसिक स्वास्थ्य समस्यामा रहेको व्यक्ति तथा परिवारका सदस्यप्रति सामाजिक लाञ्छना, अवहेलना, विभेद लगायतका अवस्था रोक्ने खालको कार्यक्रम बनाएर कार्यान्वयन ल्याउन नसकिनु चुनौती रहेको उनले बताए ।
    मानसिक स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई पूर्ति गरी समुदायस्तरमा सेवाको पहुँच स्थापना गर्न नसकिएको उनले बताए । हाल नेपालमा १ हजार ५८८ जना मात्र मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने जनशक्ति रहेको छ । जसमा २४० जना मनोचिकित्सक, ३८ जना चिकित्सक मनोविद, ९० जना साइक्याट्रिक, २२० जना मनोविद र १ हजार जना तालिमप्राप्त मनोपरामर्शकर्ता कार्यरत छन् । यसबाहेक केही संख्यामा तालिमप्राप्त मनोसामाजिक कार्यकर्ता रहेका छन् ।
    व्याप्त अन्धविश्वास, भ्रम, गलत धारणाको अन्त्य गर्न नसक्नु, पुनस्र्थापनाका लागि कार्यक्रमको संस्थागत विस्तार गर्न नसक्नु पनि मानसिक स्वास्थ्यका क्षेत्रमा चुनौती रहेको छ । बालबालिका तथा किशोरकिशोरीमा हुन सक्ने भावनात्मक, व्यावहारिक र सिकाइजन्य समस्यालाई समयमै पहिचान गरी सम्बोधन गर्न नसक्नु यस क्षेत्रको अर्को चुनौती रहेको छ ।

  • विश्वकप छनोट : नेपाल र जापान खेल्दै

    विश्वकप छनोट : नेपाल र जापान खेल्दै

    आइसिसी टि–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालल आज समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा जापानसग खेल्दै छ।
    खेल शुक्रबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ।
    नेपालले पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित निकालेको थियो। नेपालले एक खेल अगाडि नै सुपर सिक्समा स्थान पक्का गरिसकेको छ।
    नेपाल आज जापानलाई पराजित गरेर समूह विजेता बने लक्ष्यसहित मैदानमा आउने छ। टी–२० अन्तर्राष्ट्रिय क्रीकेटमा नेपाल र जापान पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्।

  • हुम्ला जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु

    हुम्ला जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु

     

    हुम्लाको चंखेली गाउँपालिका–४ देशीखोला नजिक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप शुक्रबार दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
    मेल्छाम प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहका अनुसार दुर्घटनामा चंखेली गाउँपालिका–६ की बसन्ती बुढाका आमा–छोरा र सोही वडाका मानवीर बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
    दुर्घटनामा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र विमला बुढा घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ ।

  • मंसिरमा महाधिवेशन गर्न नसकिने कांग्रेस संस्थापनको निचोड

    मंसिरमा महाधिवेशन गर्न नसकिने कांग्रेस संस्थापनको निचोड

    नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको मिति र प्रक्रियाका बारेमा अन्योलता कायमै रहने गरी नेताहरूको अभिव्यक्ति आएका छन् । बिहीबारबाट पार्टी मुख्यालय सानेपामा सुरु पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा पनि नेताहरू विभाजित देखिएका छन्, महाधिवेशन कहिले भनेर ।
    पार्टीका प्रवक्ता प्रकाशशरण महत महाधिवेशन गराउन वर्तमान कार्यसमितिको म्याद थपेर जानुपर्ने पक्षमा छन् । उनले भनेका छन्, ‘पार्टीभित्र केही समय म्याद थप गरेर जानुपर्छ भन्ने मत पनि छ ।’ अहिले पार्टिसँग क्रियाशील सदस्यताको विवरण नै नभएको र नयाँ सदस्यता वितरणसमेत नभएको अवस्थामा आवश्यक समय सर्वसम्मतिबाट थपेर नियमित महाधिवेशनको कार्यातालिका पारित गर्दै प्रक्रिया सुरु गर्नुपर्ने उनको भनाइ छ ।
    मंसिरमा महाधिवेशन गरेर जान समय नपुग्ने धारणा अन्य नेताहरूको पनि छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, उमाकान्त चौधरीले मंसिरमा हचुवामा भरमा महाधिवेशन गर्न नसकिने बताएका छन् । फागुनको आम चुनाव फेस गरेर मात्र पार्टी निर्वाचन गर्नुपर्ने धारणा राख्नेहरू संस्थापन समूहमा छन् ।
    ‘चुनावपछि महाधिवेशन गरेर जान सकिन्छ । बाहिर हल्ला आयो भन्दैमा हामी घर फुटाउन लाग्नु हुँदैन । अहिले अन्तरिम सरकारको नेतृत्व पनि ७० काटेकै व्यक्तिले गर्नुभएको छ ।’ उनीहरूको भनाइ उद्धृत गर्दै अर्का पदाधिकारीले भने, ‘उहाँहरू त निर्वाचन फेस गरेर मात्र महाधिवेशन गरौँ भन्ने पक्षमा हुनुहुन्छ । उहाँहरूभन्दा पनि संस्थापन पक्षको यो लाइन छ ।’
    बैठकमा कार्यकारी तोकेर महाधिवेशनसम्म जाने कि देउवा नै सभापति रहेर महाधिवेशन गर्ने भन्नेबारे निर्णय गर्न देउवालाई नै छाड्नुपर्ने कुरा उठेको थियो । यो कुरा उठेपछि महामन्त्रीद्वय, उपसभापति गुरुङलगायतले अहिले कार्यकारी तोकेर जानेभन्दा पनि विशेष महाधिवेशनमा नै जोड दिनुपर्ने कुरा राखे ।
    संस्थापन इतर समूहका नेताहरुले नियमित महाधिवेशन गर्न समय अपुग हुने भएकाले आगामी मंसिरमा १५ औं महाधिवेशन गर्न नसकिने बताएका थिए । सहमहामन्त्री उमाकान्त चौधरीले अर्को वर्षको वैशाखमा महाधिवेशन गर्नुपर्ने बताएका छन् । ‘हामीसँग आवश्यक तयारी भएको छैन । यसैबीचमा चुनाव छ, आगामी वैशाखमा महाधिवेशन गर्नुपर्छ भन्ने मत उहाँको थियो,’ कांग्रेसका एक पदाधिकारीले भने । यस्तै मत अर्का सहमहामन्त्री महेन्द्र यादवको पनि मत यस्तै छ ।
    संस्थापन समूहबाट महाधिवेशन पर धकेल्ने र वर्तमान कार्यसमितिको म्याद थप गर्नुपर्ने भनिरहँदा महामन्त्री गगन थापाले भने म्याद थप नगर्ने पक्षमा आफू रहेको बताएका छन् । ‘२६ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा म यो केन्द्रीय समितिको म्याद थप गर्ने प्रस्ताव ल्याउँदिनँ । सभापतिको मात्र होइन, म आफैँ महामन्त्री छु, मेरै म्याद पनि नथप्ने पक्षमा म छु,’ महामन्त्री थापाले भने, ‘मंसिरमा यो कार्यसमितिको कार्यकाल सकिन्छ, अब नियमित महाधिवेशन गरौं । नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन हुन्छ ।’ (शिलापत्र)

  • जीप दुर्घटना, १२ जना घाइते

    जीप दुर्घटना, १२ जना घाइते

    हुम्लाको चंखेली गाउँपालिका–४ देशीखोलामा जीप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जीप शुक्रबार बिहान करिब ११ बजे पिप्लाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।
    जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

  • गुठीचौर ‘प्याराग्लाइडिङ महोत्सव’ ले दिएको सन्देशः व्यावसायिक उडानका लागि सम्भावना धेरै, राजस्व संकलन हुने प्रमुख स्रोत

    गुठीचौर ‘प्याराग्लाइडिङ महोत्सव’ ले दिएको सन्देशः व्यावसायिक उडानका लागि सम्भावना धेरै, राजस्व संकलन हुने प्रमुख स्रोत

    यस बर्ष जुम्लाको गुठीचौर गाउँपालिकाले दोस्रो पटक ‘प्याराग्लाइडिङ महोत्सव’ आयोजना गरेको छ । प्रचारप्रसारका रुपमा भदौ २४ गतेबाटै महोत्सवको उद्घाटन गरिएपछि औपचारिक उडानका कार्यक्रम भने असोज ५ गतेदेखि सुरु गरिएको थियो । असोज ११ गतेसम्म एक साता गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव चल्यो । गत बर्ष पनि गाउँपालिकाले यो महोत्सवको आयोजना गरेको थियो । यो बर्ष पनि पालिका आफै आयोजकका रुपमा थियो ।
    आन्तरिक राजस्व संकलन गर्ने, गुठीचौर क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, स्थानीयलाई समेत साहसिक उडानका रुपमा मनोरञ्जन दिने लगायतका उद्देश्यका साथ गाउँपालिकाले २०८१ सालबाटै ‘प्याराग्लाइडिङ महोत्सव’ सुरु गरेको हो । यो महोत्सवबाट ‘हिमाली क्षेत्रमा पनि प्याराग्लाइडिङ अर्थात साहसिक पर्यटनलाई व्यावसायिक गराउन सकिन्छ’ भन्ने सन्देश दिनु अर्को उद्देश्य थियो ।
    अहिलेको महोत्सवले स्थानीय तहको राजस्व संकलन, व्यावसाय प्रवद्र्धन, हिमाली क्षेत्रमा प्याराग्लाइडिङको व्यावसायिक सफलताको सन्देश फैलाएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा बताउँछन् । गाउँपालिकाको आन्तरिक राजस्व संकलनसँगै अन्य पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको उनी बताउँछन् । उनका अनुसार यो महोत्सवबाट गाउँपालिकाको ९ ला रुपैयाँ राजस्व संकलन भएको छ । ‘हामीले ५–७ करोड रुपैयाँ बजेट परिचालन गर्दा पनि यो तहको राजस्व उठ्न मुस्किल हुन्छ, महोत्सवबाट थोरै खर्चमा राम्रो राजस्व उठेको छ,’ अध्यक्ष बुढाले भने, ‘यसले पर्यटन व्यवसायलाई माथी उठाउन पनि हौसला पुगेको महसुश गरेका छौं ।’
    गाउँपालिकाले २०८० सालमा पनि गुठीचौरमा प्याराग्लाइडिङको परीक्षण उडान गरेको थियो । महोत्सव गर्ने उद्देश्यका साथ गरिएको परीक्षण सफल भएपछि गत बर्ष २०८१ मा प्रथम महोत्सव सञ्चालन गरिएको थियो । ‘गत बर्ष हामीले बढी भन्दा बढी प्रचारप्रसार गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरेका थियौं, त्यो महोत्सव बढी खर्चिलो भएको थियो,’ अध्यक्ष बुढाले भने, ‘यो बर्ष हामीले थोरै खर्चमा महोत्सव सक्नेगरि लाग्दा साढे १२ लाख जति मात्र खर्च भयो, खर्चबाहेकको राजस्व नौ लाख संकलन भएको छ ।’
    गुठीचौरले आयोजना गरेको प्याराग्लाइडिङ महोत्सव र परीक्षण नै कर्णालीका हिमाली क्षेत्रमा गरिएको पहिलो प्याराग्लाइडिङ हो । गुठीचौर जस्तै भौगोलिक रुपमा सम्भावना भएका क्षेत्रमा प्याराग्लाइडिङलाई व्यावसायिक बनाउन सकिने सन्देश यसबाट मिलेको अध्यक्ष बुढाको भनाई छ । ‘साहसिक पर्यटनमा मानिसको रुची रहिरहँदा अरु यस्ता सम्भावित भूगोल भएको क्षेत्रमा पनि प्याराग्लाइडिङ गर्न सकिन्छ, यसले व्यवसायसँगै अन्य पर्यटनमा पनि प्रवद्र्धन गर्न सक्ने रहेछ ।’ उनले भने ।
    आगामी बर्ष पनि गुठीचौर गाउँपालिकाले प्याराग्लाइडिङ महोत्सवलाई निरन्तरता दिने उनले बताए । महोत्सवसँगै गुठीचौरमा व्यावसायिक प्याराग्लाइडिङलाई प्रोत्साहन गर्ने प्रयास भइरहेको उनले बताए । तत्काल स्थानीय स्तरमा जनशक्ति नभएकाले व्यावसायिक हुन नसकेपनि बढीमा दुई बर्षभित्र गुठीचौरमा व्यावासायिक प्याराग्लाइडिङ सुरु हुने अध्यक्ष बुढाले बताए । जनशक्ति उत्पादनका लागि भनेर नै गाउँपालिकाले आर्थिक बर्ष २०८२÷८३ मा २० लाख बजेट विनियोजन गरेको छ । ‘हामीले स्थानीय स्तरको प्याराग्लाइडिङ उडाउने पाइलट उत्पादन गर्नका लागि बजेट विनियोजन गरिसकेका छौं, अहिले यसको कार्यविधि बन्दैछ, यसपछि हामी सिक्न पठाउँछौं ।’ उनले भने । प्याराग्लाइडिङ पाइलट (जनशक्ति) उत्पादनका लागि बन्दै गरेको कार्यविधि अन्तिम चरणमा पुगेको बुढाले बताए । कार्यविधि पारित भएलगत्तै केही युवालाई प्याराग्लाइडिङ उडान सिक्नका लागि स्याङ्जा पठाउने योजना रहेको उनले बताए ।
    गुठीचौरमा बर्षेनी भइरहेको प्याराग्लाइडिङ महोत्सव र आगामी दिनमा हुने व्यावसायिक उडानले जुम्ला जिल्लालाई नै चिनाउने अपेक्षा पालिकाको छ । गुठीचौरमा प्याराग्लाइडिङको व्यावसायिक उडानले जुम्लाको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरिएको अध्यक्ष बुढाले बताए ।
    भूगोल र मौसमका हिसाबले गुठीचौरमा व्यावसायिक प्याराग्लाइडिङका लागि धेरै सम्भाना भएको पाइलट मोहन सुनुवार बताउँछन् । महोत्सवका बेला उनी पनि गुठीचौर पुगेका थिए । सुनुवार प्रशिक्षक पाइलट हुन् । उनले सुर्खेतमा पनि प्याराग्लाइडिङका लागि प्रशिक्षण गरिरहेका छन् । ‘हावापानी गजब छ, ठाउँ पनि मिलेको छ, यस हिसाबले गुठीचौर प्याराग्लाइडिङका लागि निकै सम्भावना भएको ठाउँ हो,’ उनले भने, ‘जनशक्ति करार गरी लिँदा व्यावसायिक सफलता हुँदैन, व्यावसायिक रुपमा त्यहाँ प्याराग्लाइडिङ गर्न स्थानीय जनशक्ति उत्पादन गर्नु महत्वपूर्ण छ ।’
    यो बर्षको महोत्सवमा देशभरका पर्यटक गुठीचौर पुगेका थिए । प्याराग्लाइडिङका लागि पोखरा, स्याङ्जा र सुर्खेतबाट १२ जना चालक गुठिचौर गएका थिए । गत बर्षको महोत्सव २३४ वटा उडान गरिएकोमा यो बर्ष केही उडान बढेको गाउँपालिका अध्यक्ष बुढाले बताए । प्याराग्लाइडिङ गर्ने पर्यटकहरुले स्याउ बगैंचाहरु, पाटन लगायतका भौगोलिक सुन्दरता, मौलिक बस्तीहरुको अवलोकन गर्न पाएको उनले बताए ।
    एक जनाले गुठिचौरको आकाशमा न्यूनतम २० देखि अधिकतम ३० मिनेटसम्म उडान गर्न पाउने तोकिएको थियो । महोत्सवमा स्थानीयका लागि ३ हजार ५ सय र बाह्य पर्यटकका लागि ४ हजार रुपैयाँ शुल्क तोकिएको थियो ।

  • माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

    माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

    माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।
    जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
    जेन–जीका विभिन्न समूहहरू माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए ।
    अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।