Blog

  • यी प्रदेशमा आजपनि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    यी प्रदेशमा आजपनि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    आज पनि देशका अधिकांश भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

    महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश, लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार कोशी, मधेश,कर्णाली र लुम्बीनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

    २०८१ जेठ २४ गते (बिहवार)

    दिउँसोː कोशी, मधेश, बागमती, लुम्बीनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती, लुम्बीनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम,कर्णाली र लुम्बीनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०८१ जेठ २५ गते (शुक्रवार)

    दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, कर्णाली र लुम्बीनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    रातिː कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • वैदेशिक अनुदान लिन सरकार असफल : ५० अर्ब लक्ष्य ३ अर्ब प्राप्त

    वैदेशिक अनुदान लिन सरकार असफल : ५० अर्ब लक्ष्य ३ अर्ब प्राप्त

    मुलुकको विकास निर्माणका लागि स्रोतको अभाव भइरहेका बेला सरकार विदेशी दाताहरूबाट अनुदान लिन पनि असफल देखिएको छ। सरकारले चालु आर्थिक वर्ष २०८०-८१ मा ४९ अर्ब ९४ करोड ३० लाख रूपैयाँ विदेशी अनुदान लिने लक्ष्य राखेकोमा साढे १० महिनामा लक्ष्यको साढे ५ प्रतिशत मात्र अनुदान आएको छ।

    चालु आवको जेठ २१ गतेसम्म २ अर्ब ७५ करोड ८० लाख रूपैयाँ मात्र अनुदान आएको अर्थ मन्त्रालयले जनाएको छ। विकास निर्माणका काममा ढिलासुस्ती, प्रक्रियागत झन्झट, खर्च गर्ने कमजोर क्षमता, महत्वाकांक्षी लक्ष्यका कारण सरकारले वैदेशिक अनुदान लिन नसकेको हो। सरकारले लक्ष्यअनुसार अनुदान लिन नसक्नु चिन्ताको विषय हो।

    विकास परियोजनाहरू निर्धारित समयमा सम्पन्न नहुँदा अनुदान नआएको राष्ट्रिय योजना आयोगका सदस्य डा. शिवराज अधिकारीले बताए। ‘प्रक्रियागत झन्झट र नीतिगत समस्याका कारण लक्ष्यअनुसार अनुदान आउन सकेको छैन,’ उनले भने, ‘वैदेशिक अनुदान प्राप्त गर्न चुनौती देखिएको छ।’

    सरकारले बजेट बनाउँदा राजस्व, आन्तरिक ऋण, वैदेशिक ऋण र वैदेशिक अनुदानलाई स्रोतको रूपमा लिन्छ। सरकारले महŒवाकांक्षी लक्ष्य लिएका कारण वैदेशिक अनुदान लक्ष्यअनुसार नआएको अर्थविद् डा. पोषराज पाण्डे बताउँछन्। नेपाल कम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुने तयारीमा रहेकाले पनि कम अनुदान आएको पाण्डे बताउँछन्।

    ‘विकाशील राष्ट्रमा स्तरोन्नति हुन लागेकाले दाताहरूले अनुदानभन्दा ऋण दिन्छन्,’ उनले भने। सरकारले ठुलो आकारको बजेट बनाउने र स्रोत अभाव भएपछि अनुदान देखाउने गरेको पाण्डे बताउँछन्।

    सरकारले अनुदान मात्र नभएर वैदेशिक ऋण पनि लिने गरेको छ। चालु आवमा वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान छ। चालु आर्थिक वर्षका लागि खर्च स्रोतमध्ये आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब बेहोरिने अनुमान रहेकोमा सरकारले वैशाख मसान्तसम्म १ खर्ब ९१ अर्ब रूपैयाँ ऋण लिएको छ।

    चालु आवको १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रूपैयाँको बजेटमा १४ खर्ब २२ अर्ब ५४ करोड रूपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखिएको भए पनि मध्यावधि समीक्षामार्फत संशोधन गरिएको थियो। अहिलेसम्म राजस्व ८ खर्ब ७५ अर्ब ६८ करोड रूपैयाँ मात्र संकलन भएको छ।

    आगामी आर्थिक वर्ष २०८१-८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेटमा ५२ अर्ब ३३ करोड रूपैयाँ वैदेशिक अनुदानबाट जुटाउने लक्ष्य छ। चालु आवमा करिब ५ अर्ब रूपैयाँ पनि वैदेशिक अनुदान प्राप्त गर्न नसकेको अवस्थामा अर्थमन्त्री वर्षमान पुनले निकै महŒवाकांक्षी लक्ष्य राखेर बजेट बनाएको देखिन्छ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड बेहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने छ।

    यो न्यून रकम पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ। राजस्व परिचालन तथा वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट बेहोरिने बजेटमा उल्लेख छ।

  • भारतमा भाजपालाई नसोचेको धक्का

    भारतमा भाजपालाई नसोचेको धक्का

    भारतको लोकसभा निर्वाचनमा प्रतिपक्षी इन्डिया गठबन्धनले सत्तारूढ एनडिए गठबन्धनलाई कडा टक्कर दिएको छ। एक्लै पूर्ण बहुमत ल्याउनेमा ढुक्क रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई चुनावी नतिजाले कडा झट्का दिएको छ।

    सन् २०१९ को चुनावमा एक्लैले ३०३ सिट हात पारेको भाजपाले यसपटक २४० को हाराहारीमै चित्त बुझाउनुपर्ने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ। यसबाट सरकार गठनका लागि एक्लै बहुमत जुटाउन भाजपा असफल देखिएको छ।

    भारतीय लोकसभाका कुल ५४३ सिटमध्ये मंगलबार मध्यरातिसम्म सत्तारूढ एनडिएले २९१ र इन्डिया गठबन्धनले २३१ सिटमा जितेका छन् । सन् २०१९ को आम निर्वाचनमा एनडिएले ३५३ सिटमा विजय हासिल गरेको थियो।

    सरकार बनाउन २७२ सदस्य चाहिने भएकाले यसपटक पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले साझेदार दलसँग मिलेर सरकार बनाउन सक्ने देखिएको छ। गठबन्धनको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने लगभग निश्चित बनेको छ।

    तर केही भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालअनुसार सत्तारूढ एनडिएमा सहभागी केही दलले प्रतिपक्षी इन्डिया गठबन्धनलाई सहयोग गरे मोदीले प्रधानमन्त्रीमा ह्याट्रिक गर्ने अवसर गुमाउनेछन्।

    विशेषगरी नितिश कुमारले नेतृत्व गरेको बिहारको जनता दल युनाइटेड (जेडियु) र आन्ध्र प्रदेशको तलेगु देशम पाटी (टिडिपी) चन्द्रबाबु नायडुले आगामी सरकार गठनमा ‘किङ्मेकर’को भूमिका खेल्न सक्ने देखिएको छ।

    जेडियुले १२ सिट र टिडिपीले १६ सिटमा जित निकालेका छन् । यही कारण गठबन्धनको हिसाबले बहुमतको आँकडा पार गरेर सरकार गठनको सुविधा पाउँदासमेत गठबन्धन एकतालाई अक्षुण्ण राख्न भाजपा प्रयासरत देखिन्छ।

    विपक्षी इन्डिया गठबन्धन पनि यी दुई दललाई आफूतिर तानेर एनडिएलाई तेस्रो पटक सरकार बनाउनबाट रोक्न चाहन्छ। यसका लागि उनीहरूलाई विभिन्न आकर्षक प्रस्ताव गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    विशेषगरी राजनीतिक पक्षधरता अदलबदल गरिरहने नितिस कुमारको यसअघिका गतिविधिका कारण पनि यस्तो संशय उत्पन्न भएको हो।

    राममन्दिरको जादु चलेन

    लोकसभामा सिट संख्याका हिसाबले धेरै सांसदको प्रतिनिधित्व हुने तथा नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा भारतीय जनता पार्टीले ठुलो क्षति बेहोरेको छ। हिन्दु बाहुल्य उत्तर प्रदेशको अयोध्यामा राममन्दिर उद्घाटनपछि यसले हिन्दुभाषी राज्यहरूमा भाजपालाई राजनीतिक फाइदा पुग्ने विश्लेषण गरिएको थियो।

    मतगणनाअनुसार उत्तर प्रदेशका ८० सिटमध्ये अखिलेश यादवले नेतृत्व गरेको क्षेत्रीय दल समाजवादी पार्टी (एसपी) ले ४३ र र भाजपाले ३७ सिटमा अग्रता लिएका छन्। प्रारम्भिक नतिजाको रुझानअनुसर सन् २०१९ को तुलनामा भाजपाले यो प्रदेशबाट दुई दर्जनभन्दा बढी सिट गुमाउने देखिएको छ।

    केन्द्र सरकार निर्माणमा उत्तर प्रदेशको भूमिका अहं रहँदै आएको छ। यसबाहेक हिन्दुभाषी बाहुल्य विहार, राजस्थान, हरियाणालगायतका राज्यमासमेत भाजपा अपेक्षित नतिजा हासिल गर्न असफल देखिएको छ।

    लोकसभा चुनाव मिति घोषणा हुनुअघि र अन्तिम चरणको मतदान हुँदासम्म राम मन्दिरलाई लिएर निकै चर्चा हुने गरेको थियो। प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भाजपाका सबै ठुला नेताले हरेकजसो चुनावी भाषणमा राम मन्दिरको चर्चा गरेका थिए।

    राम मन्दिरको उद्घाटनसँगै उत्तर प्रदेशमा मात्र नभई अन्य राज्यमा पनि राजनीतिक फाइदा हुने आशामा भाजपा थियो। भाजपाले एक्लै बहुमत ल्याउन नसक्नुमा सिट संख्याका हिसाबले सबैभन्दा ठुलो राज्य उत्तर प्रदेशमा उसको कमजोर प्रदर्शन हो।

    गत जनवरी २२ मा राम मन्दिरको उद्घाटनपछि भाजपाले उत्तर प्रदेशसहित देशभरि आफ्नो पक्षमा चुनावी लहर सिर्जना हुने अपेक्षा गरेको थियो। प्रधानमन्त्री मोदीले आफ्नो निर्वाचन क्षेत्र बाराणासीसहित उत्तर प्रदेशका विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसारमा निकै समय खर्चिएका थिए।

    लोकसभा निर्वाचनको नतिजा आउन सुरु हुनुभन्दा अघि सार्वजनिक सबै एक्जिट पोलले एनडिए गठबन्धनले झन्डै चार सय सिटमा विजय पाउने प्रक्षेपण गरेका थिए। तर चुनावी नतिजाको सही प्रक्षेपण गर्न एक्जिट पोल असफल देखिएका छन्।

    चुनावी नतिजा अनुकूल आउँदै गर्दा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले देशले मोदी र अमित शाहको नेतृत्व नचाहेको बताएका छन्। यसैगरी मंगलबार साँझ नै भाजपा मुख्यालयामा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले सन् २०६२ यता पहिलोपटक लगातार तीनचोटी एनडिएले सरकार गठन गर्ने बताएका छन्।

  • तपाईंको आजको राशिफल कस्तो छ?

    तपाईंको आजको राशिफल कस्तो छ?

    मेष राशिः विद्यार्थीका लागि शैक्षिक यात्राको योग छ। जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ। पारिवारिक सदस्यबीच शुभ सम्बन्ध रहने छ। कार्यमा रुचि बढ्ने देखिन्छ।

    वृष राशिः पारिवारिक सदस्यबाज ग्गासम्बन्धी कार्य नगर्नु राम्रो हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। उदर रोग देखा पर्न सक्ने छ। अध्ययन गर्नेहरुका लागि दिन राम्रो छ।

    मिथुन राशिः साथीसँग यात्राको योग छ। विद्यार्थीका लागि पढाईमा केही बाधा देखिन्छ। व्यापार व्यवसायबाट लाभ छ। स्वास्थमा बाधा आउन सक्छ। भूमि क्रय र गृह निर्माणको योग छ।

    कर्कट राशिः मित्रहरुबाट कार्यसिद्धि हुने समय छ। तर काम गर्दा विचार पु¥याएर गर्नु पर्ने छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। सवारीसाधन किन्ने योग छ।

    सिंह राशिः नवीन कार्यमा हात नहाल्नु राम्रो छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्ने छ। धन खर्च हुने दिन छ। स्वास्थ्यमा सामान्य बिकार आउने देखिन्छ। भ्रातृत्व प्रेम सद्भाव रहने छ। अध्ययनमा रुचि बढ्ने छ।

    कन्या राशिः व्यवसायमा भएको लगानीबाट फल प्राप्त नहुन सक्छ। धार्मिक कार्यमा दिन शुभ छ। मित्रहरुबाट कार्यसिद्धिको योग छ। यात्रामा शुभफल प्राप्त हुनेछ। प्रतिष्ठा र सम्मान मिल्ने दिन छ। समाजिक क्षेत्रमा सफलता छ।

    तुला राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। त्यसमा धन खर्च हुने योग देखिन्छ। आफन्तहरुसँग शुभ भेटघाट र कार्यमा सम्मान मिल्नेछ। कला र साहित्य क्षेत्रमा रुचि बढ्ने छ।

    वृश्चिक राशिः राजनीतिक पद, जिम्मेवारी प्राप्त हुने योग छ। मित्रहरुबाट धन प्राप्त हुने दिन छ। हिम्मत गरे कार्यसिद्धि हुने समय छ। अध्ययनमा सफलता मिल्ने छ। वाणी प्रभाव वढ्ने योग छ।

    धनु राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। वाणी सफल हुने योग छ। व्यापारमा आर्थिक लगानी प्राप्त हुने देखिन्छ। कार्यमा प्रभुत्व बढाउन सफल भइने छ। राजनीतिमा सफलता मिल्ने छ।

    मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी नगर्नु नै उत्तम हुनेछ। अग्रजमा रोगहरणको समय छ। स्वदेश तथा विदेश यात्राको मध्यम योग रहेको छ।

    कुम्भ राशिः उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने छ। श्रीमान् श्रीमतीबीच सुमधुर सम्बन्ध देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि मेहनत गरेअनुसार फल प्राप्त नहुन सक्छ।

    मीन राशिः व्यापारमा शुभफल प्राप्त हुनेछ। स्वास्थ्यमा केही खर्च हुने समय छ। राजनीतिमा सामान्य शत्रु बाधा हुन सक्नेछ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला।

  • सधैंको संक्रमणकाल

    सधैंको संक्रमणकाल

    संसद्मा दर्ता संक्रमणकालीन न्याय विधेयकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई एकै ठाउँमा उभ्याउने प्रयास गरेका छन्। गएको सोमबार सत्ता गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एकैसाथ भेटे तर सहमति जुट्न भने सकेन। २०७९ चैत ५ गते दाहाल नेतृत्वकै सरकारले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद्मा पेस गरेकी थिइन्। प्रस्तुत विधेयक सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मान्यताअनुसार ल्याइएको दाबी गरिए पनि सत्ता गठबन्धन परिवर्तनको संकेत पाएसँगै त्योबेला सत्तासीन कांग्रेसले संसदीय समितिबाट पास गर्नबाट रोकेको थियो।

    प्रमुख तीन दलहरूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा निर्णय लिन आफ्ना दलका नेताहरूलाई प्राधिकार दिए पनि उनीहरू निष्कर्षमा पुग्न सकेका छैनन्। सदाझैं यो विधेयक टुंग्याउन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाललाई हतारो सहजै बुझ्न सकिन्छ। तर, बाँकी दुई दलका लागि यो विधेयक खासगरी माओवादी केन्द्रका लागि सत्ता–स्वार्थको ‘सौदाबाजी’ बनिरहेको देखिन्छ। एमाले र कांग्रेस दुवैले व्यवहारबाटै यसको पुष्टि गरिसकेका छन्। ओली र देउवासँगको पछिल्लो भेटमा पनि दाहालले यही संकेत पाएका छन्। देउवाले पहिले यस विषयमा सत्ता गठबन्धनभित्र कुरा मिलाउन गरेको आग्रहबाट कांग्रेसले प्रस्ट सन्देश नदिएको अर्थमा बुझ्न सकिन्छ।

    दलहरूबीचको यसखाले अनिर्णयको सिकार बनिरहेको यो विधेयकमा बेपत्ता छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका लागि सरकारले बनाएको सिफारिस समितिमा राष्ट्रिय मानवअधिकार आयोगको सर्त पनि सहायक बनिरहेको छ। आयोगले संसद्मा अल्झेको विधेयक पारित भएपछि मात्र सदस्य पठाउने जानकारी सरकारलाई पठाएको छ। यी दुई आयोग २०७९ साउनदेखि पदाधिकारीविहीन छन् । झन्डै दुई वर्षदेखि रिक्त पदाधिकारी नियुक्तिका लागि सरकारले गत चैत अन्तिम साता पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सर्वोच्चका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, पूर्वराजदूत अर्जुनकुमार कार्की, स्टेला तामाङ र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा आयोगले तोकेका सदस्य रहने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। तर, मानवअधिकार आयोगले भने सदस्य पठाएको छैन। मानव अधिकार आयोगको यस्तो सर्तमा द्वन्द्वपीडितको आवाज पनि जोडिएको छ। संसद्बाट संशोधनसहित विधेयक पारित नभईकन दुई आयोगमा पदाधिकारी चयन नगर्न द्वन्द्वपीडितले आह्वान गरिसकेका छन्। ऐन पारित नभई पहिलेजस्तै सदस्य मात्रै पठाएर गल्ती नगर्ने आयोगको निष्कर्ष छ। सिफारिस समितिका लागि आयोगले सदस्य पठाउनुपर्ने कानुनमै लेखिएको छ।

    सर्वोच्च अदालतले एक महिनाभित्र दुई आयोगका पदाधिकारी सिफारिस गर्न परमादेश जारी गरेपछि सरकारले समिति बनाएको थियो। समितिले बनेको दुई महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन। तर सशस्त्र द्वन्द्वका पीडितहरूले सिफारिस समिति संसद्मा रहेको ऐन संशोधन गरेपछि बनाउनुपर्ने माग गर्दै आएका छन्। पृष्ठभूमि के छ भने संसद्मा दर्ता विधेयकले अपराधको परिभाषा खुम्चाएको र अपराधलाई वर्गीकरण गरेको भन्दै द्वन्द्वपीडित, अन्तर्राष्ट्रिय समुदाय र सरोकारवालाले चर्को विरोध गर्दै आएका छन् । विधेयकमा ‘क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको’, ‘जबर्जस्तीकरणी’, ‘जबर्जस्ती व्यक्ति बेपत्ता पार्ने कार्य’ र ‘अमानवीय र क्रूरतापूर्वक दिएको यातना’ चार प्रकृतिका अपराधलाई मात्रै गम्भीर मानवअधिकार उल्लंघनमा राखिएका छन्, जसलाई क्षमा दिन नसकिने अपराध भनिएको छ। हत्या र यातनाजस्ता अपराधलाई क्षमा दिन अयोग्य प्रमाणित क्रूर, अमानवीयता, निर्ममतालाई पुष्टि गर्नुपर्ने प्रावधान राखिएका छन्। जुन द्वन्द्वपीडितकै शब्दमा ‘उदेकलाग्दो मात्र नभई अन्तर्राष्ट्रिय कानुन, सिद्धान्त विपरीत अमिल्दो छ।’ मुद्दा चलाउने निर्णय भएपछि महान्यायाधिवक्ता वा निजबाट अधिकारप्राप्त सरकारी वकिलले विशेष अदालतमा मुद्दा दर्ता गर्नुपर्ने व्यवस्था छ।

    वास्तवमा सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई चाँडै टुंगोमा पुर्‍याउन खोज्नुलाई सबैले सुखद मान्नुपर्छ। यसबाट द्वन्द्वपीडितले न्याय महसुस गर्न सक्थे, जुन उनीहरूका लागि जीवनसरह हो। तर, यतिका वर्षसम्म घस्रिएको यो प्रक्रिया एकाएक दौडाउन खोज्नुको अभीष्ट पारदर्शी हुनुपर्छ, पीडितअनुकूल हुनुपर्छ।

    संक्रमणकालीन न्यायको प्रक्रियामा दलीय स्वार्थ, सहमति र भागबन्डामा अपराध चोख्याउने प्रपञ्च सर्वथा गलत हुनेछ। न्यायको प्रक्रिया पीडित केन्द्रित पारदर्शी र सहभागितामूलक हुनुपर्छ। पीडितहरूको आकांक्षा सत्य, न्याय, परिपूरण हो। साथै भविष्यमा त्यस्तो खालको घटना पुनरावृत्ति नगर्ने आश्वस्त पार्नु हो। पीडितलाई न्यायबिनाका कुनै पनि कुत्सित प्रयास र मोडल कदापि स्वीकार्य हुनसक्तैन। त्यसैले यो कानुन बनाइँदा अन्तर्राष्ट्रिय मानवअधिकार र कानुन, द्वन्द्वपीडितको माग, सर्वोच्चको आदेश नजरअन्दान गर्ने भुल गरिनुहुन्न, जसले संक्रमणकालीन न्यायको नाममा अन्याय थोपरोस्।

  • टी २० विश्वकप क्रिकेटः नेदरल्यान्ड्ससंग नेपाल पराजित

    टी २० विश्वकप क्रिकेटः नेदरल्यान्ड्ससंग नेपाल पराजित

    टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ।

    मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्ड्ससंग ६ विकेटले पराजित भएको हो ।

    यस अघि नेपालले कमजोर प्रदर्शन गर्दै १९ दशमलब २ ओभरमा १०६ रन बनाउँदा सबै बिकेट गुमाएको थियो ।

    जवाफमा नेदरल्याण्ड्सले १८ दशमलब ४ ओभरमा विजयी लक्ष्य पुरा गर्यो ।

  • नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

    नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

    आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ।

    मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।

    नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए। विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे। साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए।

    नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए।

    यस अघि नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गरेको नेपालले ४ बल खेल्न बाँकी छदा १०६ रनमै अलआउट भएको थियो।

    नेपालले ब्याटिङमा पनि सोचे जस्तो प्रदर्शन गर्न सकेन। नेपालका चार खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके।

    नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए। उनले ५ चौका प्रहार गरे।

    करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन बनाए। गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे।

    नेपालका लागि सोमपाल कामी भने शुन्यमा आउट भए। अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन्।

    नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए।

    प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो। यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।

  • नेदरल्यान्ड्सको दोश्रो विकेट गयो

    नेदरल्यान्ड्सको दोश्रो विकेट गयो

    टी २० विश्वकप क्रिकेटमा नेपाल विरुद्ध १०७ रनको लक्ष्य सहित मैदानमा उत्रेको नेदरल्याण्ड्सले दुई विकेट गुमाएको छ । नेदरल्याड्सको दोश्रो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका हुन।

    यस अघि नेदरल्यान्ड्सका शुरुवाती व्याटरलाई नेपालका सोमपाल कामीले दोश्रो ओभरको पहिलो बलमै आउट गरेर दवाबमा राखेका भए पनि दोश्रो विकेट भने ८ दशमलब २ ओभरमा ४३ रन बनाउँदा गुमाएको हो ।

  • नेदरल्यान्ड्सको पहिलो विकेट सोमपालले लिए

    नेदरल्यान्ड्सको पहिलो विकेट सोमपालले लिए

    टी २० विश्वकप क्रिकेटमा नेपाल विरुद्ध १०७ रनको लक्ष्य सहित मैदानमा उत्रेको नेदरल्याण्ड्सले दोश्रो ओभरमै पहिलो विकेट गुमाएको छ।

    नेदरल्यान्ड्स शुरुवाती व्याटरलाई नेपालका सोमपाल कामीले दोश्रो ओभरको पहिलो बलमै आउट गरेर दवाबमा राखेको छ।नेदरल्यान्ड्सले ३ रन बनाउँदा पहिलो विकेट गुमाएको हो।

    यस आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हारे पहिला ब्याटिङ गर्दै १९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो।

    नेपालका लागि सबै भन्दा वढि कप्तान रोहित पौडेल ३५ रन बनाए।नेपालका कुशल भुर्तेलले ७, आशिफ शेख ४ अनिल शाह११ ,करण केसीले १६ ,गुलशन झाले १४कुशल मल्ल ९ , दिपेन्द्र सिंह ऐरी १ र सोमपाल कामीे ० रन बनाएर आउट भए ।

  • नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ अलआउट भयो

    नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ अलआउट भयो

    टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले १०६ रन बनाएको छ ।

    आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हारे पहिला ब्याटिङ गर्दै १९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।

    नेपालका लागि सबै भन्दा वढि कप्तान रोहित पौडेल ३५ रन बनाए।नेपालका कुशल भुर्तेलले ७, आशिफ शेख ४ अनिल शाह ११ ,करण केसीले १६ , गुलशन झाले १४ कुशल मल्ल ९ , दिपेन्द्र सिंह ऐरी १ र सोमपाल कामीे ० रन बनाएर आउट भए ।