Blog

  • ललितपुरको चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै

    ललितपुरको चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै

    ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा दुईवटा अपाङ्गतामैत्री आकाशे पुल निर्माण भइरहेका छन्।

    महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ।

    ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन्।

    आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकाशे पुल निर्माणकार्य जारी रहेका जानकारी दिए।

    उनका अनुसार निर्माण हुँदैगरेका ती आकाशे पुल अपाङ्गतामैत्रीसमेत हुने छन्।

    ओझाले भने, ‘महालक्ष्मीस्थान चोक र सानेपा चोकमा यात्रुको भीडभाड धेरै भएकाले स्थानीयको मागअनुसार आकाशे पुल निर्माण हुन लागिएको हो। यी दुवै पुल ह्विलचियरसमेत गुडाउन मिल्ने गरी अपाङ्गतामैत्री हुनेछन्।’

    पैदलयात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता विसं २०७५ मा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो। सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्नपर्ने छ।

    महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले भीडभाड हुने मुख्य चोकमा आकाशे पुल निर्माण भएमा पैदलयात्रुलाई निकै सहज हुने बताए।

    ‘यहाँ दैनिक सयौँ मान्छे आवतजावत गर्छन् तर आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम छ। आकाशे पुल निर्माणपछि धेरै सहज हुनेछ।’ उनले भने।

  • रौतहटमा भेटियो पुरुषको शव: हत्या गरिएको आशंका

    रौतहटमा भेटियो पुरुषको शव: हत्या गरिएको आशंका

    रौतहटमा एक पुरुषको शव भेटिएको छ।रौतहटको राजपुर नगरपालिका १ मा धारिलो हतियारले घाँटी रेटेको अवस्थामा शव भेटिएकोले हत्या भएको आशंका गरिएको छ।

    राजपुर नगरपालिका १ पिपरा भगवानपुर देखि पूर्वतर्फ शेख इद्रिस गेट छेउ हुलाकी सडक खण्ड नजिकै एउटा खेतमा करिब ४५ वर्षीय पुरुषको शव भेटिएको हो । हत्या भएको पुरुष भारतीय भएको अनुमान गरिएको छ।

    स्थानीय बासिन्दाहरूले पुरुषको शव देखेपछि जिल्ला प्रहरी कार्यालय रौतहटलाई जानकारी गराएका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुरुषलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

    मृतकको गोजीबाट भारत बिहार मोतीहारी जिल्लाको कागजपत्र प्राप्त भएको छ।हत्या गरिएका पुरुषको शवको छेउमै सिजे ०१–२५६८ नम्बरको भारतीय मोटरसाइकल बरामद भएको छ । मोटरसाइकल तथा कागजपत्रको आधारमा हत्या गरिएको पुरुष भारतको भएको अनुमान गरिएको छ ।

    शव भेटिएका पुरुषको हत्या शव रहेकै ठाउँमा गरिएको हो वा अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर फालेको हो भन्ने अझै खुल्न नसकेको र घटनाको बारेमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी गराएकी छन्।मृतक पुरुषको शव प्रादेशिक अस्पताल गौरमा राखेर सीमा पारी काउन्टर पार्टसका सुरक्षा अधिकारीलाई खबर गरिएको डिएसपी गिरीले बताएकी छन्।

  • नेपाली टिमलाई सन्दीपकाे शुभकामना: आम नेपालीलाई गौरवान्वित बनाउनु

    नेपाली टिमलाई सन्दीपकाे शुभकामना: आम नेपालीलाई गौरवान्वित बनाउनु

    क्रिकेटर सन्दीप लामिछानेले टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टोलीलाई बधाई दिएका छन्।

    मंगलबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले विश्वभरका सबै नेपालीहरूलाई गौरवान्वित बनाउन भनेका छन्।

    उनले नेपाली टोलीलाई आफ्नो उत्कृष्ट दिन पनि भनेका छन्। आगामी यात्राको लागि पनि लामिछानेले नेपाली टोलीलाई शुभकामना दिएका छन्।

    टी-२० विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेको भिसा दूतावासले अस्वीकार गरेको थियो। त्यसपछि दूतावाससँग अन्तर्वार्तामा बसेका लामिछानेको दोस्रो पटक पनि भिसा अस्वीकार भएको थियो। दूतावासले भिसा अस्वीकार गरेपछि लामिछाने टी-२० विश्वकप खेल्नबाट वञ्चित भएका छन्।

    १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ। समूह ‘डी’को पहिलो खेल नेपाली समय अनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।

  • प्लेयरर्स टु वाच–एसोसिएटकै उत्कृष्ट दीपेन्द्र

    प्लेयरर्स टु वाच–एसोसिएटकै उत्कृष्ट दीपेन्द्र

    अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेदरल्यान्ड्ससँगको खेलका लागि नेपालका भरपर्दा खेलाडी हुन् । उनी एसोसिएटकै उत्कृष्ट अलराउन्डर हुन्।

    आइसिसीको ट्वान्टी–२० वरीयताको अलराउन्डर सूचीमा नै उनी दसौँ नम्बर छन्, जुन एसोसिएट क्रिकेटरकै सबैभन्दा ठूलो सफलता पनि हो । दीपेन्द्रका नाममा केही विश्व कीर्तिमान पनि छ । उनले ९ बलमा नै अर्ध शतक पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । ६ बलमा ६ छक्का प्रहार गर्ने ब्याटरको सूचीमा पनि उनको नाम समावेश छ । ट्वान्टी–२० क्रिकेटमा उनी नेपालका सर्वाधिक ९१६२६ रन० रनकर्ता पनि हुन् । बलिङमा पनि दीपेन्द्र नाममा ३७ विकेट छ । फिल्डिङ पनि उनको उत्कृष्टता विपक्षी ब्याटरका लागि छोटो रन लिन सहज हुने छैन ।

    ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा राम्रो योगदान दिन सक्ने दीपेन्द्र नेपालको जितमा बलियो आधार बन्न सक्छन् । तर, उनले पछिल्ला चार अभ्यास खेलमा चोटका कारण गुमाएका थिए । अमेरिकासँगको अभ्यास खेलमा उनी प्लेइङमा ११ मा समावेश थिए । तर, वर्षा कारण खेल हुन सकेन । खेलअगाडि ग्रान्ड प्रेरी स्टेडियममा भएको अभ्यासमा दीपेन्द्र पूर्ण फिट देखिएका छन्, जुन सुखद पक्ष पनि हो । पछिल्ला केही खेलमा मैदान बाहिर रहेका दीपेन्द्रको परीक्षा सीधै विश्वकपको पहिलो खेलमा हुने भएको छ । तर, पनि अनुभवी दीपेन्द्र प्रभावकारी बन्ने सक्ने खेलाडी हुन् ।

  • एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरियो

    एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरियो

    नेकपा (एकीकृत समाजवादी) ले मधेस प्रदेश सरकार छाडेको छ।

    एकीकृत समाजवादीका २ मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेकाे थियाे।

    लगत्तै समाजवादीका मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर राजीनामा बुझाएका हुन्।

    एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेस सरकारकामा सहभागी थिए।

  • क्रिकेटको प्रत्यक्ष प्रदर्शन गरिने स्थलमा आवश्यक तयारी पूरा

    क्रिकेटको प्रत्यक्ष प्रदर्शन गरिने स्थलमा आवश्यक तयारी पूरा

    काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडिगाउँमा आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने तयारी पूरा भएको जनाएको छ।

    महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडिगाउँमा उक्त खेल हेर्न प्रत्यक्ष प्रदर्शनको तयारी गरेको हो।

    ओपन डोर्स इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले खेलकुद प्रेमीको मनोबल उच्च पार्न टी–ट्वान्टी विश्वकप क्रिकेटको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्न लागेको जानकारी दिए। यसका लागि ती ठाउँमा आवश्यक तयारी थालिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार आज टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रममा कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतको साङ्गीतिक प्रस्तुति रहने छ ।

    नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो खेल अमेरिकाको डालासमा आज राति ९ः१५ बजे सुरु हुने छ । उक्त खेल हेर्नका लागि राति टुँडिखेल खुला रहने अध्यक्ष श्रेष्ठले बताए ।

  • कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा गृहमन्त्री (तस्बिरहरू)

    कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा गृहमन्त्री (तस्बिरहरू)

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज दिनभर कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर काम गरेका छन्।

    गृहमन्त्री लामिछानेले नेपाली टोलीलाई प्रोत्साहन गर्न र विजयी सुरुवातको कामनाका साथ आज दिनभर कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर काम गरेका हुन्।

    लामिछाने कूटनीतिक भेटघाटका कार्यक्रममा पनि राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर नै सहभागी भएका छन्।

    आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्‍हरू पनि प्रतिनिधि सभाको बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर पुगेका थिए।

    सांसदहरू टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टिमको समर्थनमा जर्सी लगाएको बताएका थिए।

    १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ। समूह ‘डी’को पहिलो खेल नेपाली समय अनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।

  • सेवाग्राहीलाई नयाँ अवसरसँग जोड्न एनसेलले गर्‍यो नासा सेक्युरिटीजसँग सहकार्य

    सेवाग्राहीलाई नयाँ अवसरसँग जोड्न एनसेलले गर्‍यो नासा सेक्युरिटीजसँग सहकार्य

    एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

    यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । नासा सेक्युरिटिज नेपालकै एक अग्रणी सेयर ब्रोकरेज फर्म हो ।

    ‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नविकरणमा’ भन्ने नाराका साथ सुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाईन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए । एनसेल एपमा नासा सेक्युरिटिजलाई आवश्यक कामका लागि सम्पर्क गर्ने विकल्पहरु पनि छन । यस सहकार्यमा एनसेलले आफ्नो एप मार्फत नासा सेक्युरिटिजमा पहुँचमात्र सुनिश्चित गरेको हो ।

    समझदारीका अनुसार, एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरुले नासामा डिम्याट खाता खोल्दा र नविकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्छन् । पहिलो पटक डिम्याट खाता खोल्न १०० रूपैयाँ र मेरोसेयरमा दर्ता हुनका लागि ५० रूपैयाँ लाग्ने गरेको छ । यसरी कुल १५० रूपैयाँको काम ५५ प्रतिशत छुटले गर्दा ६७।५० रूपैयाँमा नै गर्न सकिन्छ ।

    एनसेल एपको माध्यमबाट ग्राहकहरुले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, शेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नविकरण गर्नेलगायत केही समस्या र जिज्ञासाहरु भए राख्न सक्नेछन् ।

    ‘हामी हाम्रा ग्राहकहरुलाई युज केसहरु अवसरको रुपमा प्रदान गरेर आर्थिक गतिविधिलाई बढाउँदै बजारलाई चलायमान बनाउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पुर्याउन तत्पर छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने । आम उपभोक्तालाई प्रविधिमा पहुँच सधैं सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान संचालन गरिरहेको बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरु उत्साहीत रहेको उनले बताए ।

    एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० बढी देशमा उपलब्ध रोमिङ सेवाको प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोली सेयरमा लगानी गर्न सक्नेछन् । यसले विदेशमा रहेका नेपालीको आम्दानीलाई स्वदेशमा नै लगानी गरि सकारात्मक आर्थिक प्रभाव सिर्जना गर्न ठूलो मद्दत गर्दछ ।

  • बर्दियामा करेन्ट लागेर बालकको मृत्यु

    बर्दियामा करेन्ट लागेर बालकको मृत्यु

    बर्दियामा करेन्ट लागेर एक बालको मृत्यु भएको छ। मधुवन नगरपालिका–७ का १४ वर्षीय आयुश कर्णको सोमबार मृत्यु भएको हो।

    घर पछाडि सिँचाई गर्नको लागि बोरिङमा मोटर जडान गरि नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कर्णको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

    ‘करेन्ट लागेर घाइते भएका बालकलाई उपचारको लागि बर्दिया अस्पताल पुर्‍याईएको थियो,’ डिएसपी अर्यालले भने,‘अस्पतालमा उपचारको क्रममा पौने ५ बजे बालको मृत्यु भएको हो।’

    घटना बारेमा थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए।

  • राजनीतिक अस्थिरता मुलुकको विकासका लागि घातक छ:मुख्यमन्त्री पाण्डे

    राजनीतिक अस्थिरता मुलुकको विकासका लागि घातक छ:मुख्यमन्त्री पाण्डे

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो राजनीतिक अस्थिरता मुलुकको विकास र जनताका लागि घातक बनिरहेको बताएका छन्।

    गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज आयोजित दिगो विकास लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्यसम्बन्धी अन्तर्क्रियामा उनले यस्तो कुरा बताएका हुन।

    मुख्यमन्त्री पाण्डेले नेपालमा लामो सयमदेखि भइरहेको राजनीतिक अस्थिरताले जनचाहनाअनुसार काम गर्न नसकिएको र यसले दलहरूप्रतिको विश्वसनीयता नै कम हुन थालेको बताए । ‘राजनीतिक अस्थिरताले सरकार बदलिरहेका छन्, जसले जनचाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरूप्रतिको विश्वास कम हुँदै गएको छ । प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको छ’, उनले भने, ‘प्रदेश सरकारप्रतिको नागरिक धारणालाई सकारात्मक बनाउन सबैले सामाजिक सेवा भावले काम गर्न आवश्यक छ, त्यसमा पनि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी भूमिका अझ बढी छ ।’

    गण्डकी प्रदेश सरकारले आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नहुने नीतिसहित शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको मुख्य मन्त्री पाण्डेले बताए । ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीका लागि केही सहुलियत दरमा उपचार गर्न योजना अगाडि ल्याउन लागिएको पनि उनको भनाइ थियो । ‘सङ्घ सरकारले न्यून बजेट दिएकाले चाहेअनुसार जनताको काम गर्न सकिएको छैन, छुट्टाएको बजेटसमेत घटाएर पठाउन थालिएको छ’, मुख्यमन्त्री पाण्डेले भने,‘प्रदेशभित्रका विपन्न वर्गको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाले मात्र नसकेमा सह लगानीकर्ताको खोजी गर्दै सेवा दिनुपर्छ भन्ने हाम्रो जोड छ ।’ स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सकेमा स्वास्थ्य क्षेत्रका केही समस्या समाधान हुने उनको भनाइ छ ।

    कार्यक्रममा सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका ऊर्जा तथा जलस्रोत मन्त्री विन्दुकुमार थापाले प्रदेशका स्वास्थ्य समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नु पर्ने बताए । उनले प्रदेश सरकारले यहाँका सबै जिल्लामा रहेका स्वास्थ्य संस्थाको विकास र सेवा प्रवाह सुधारका लागि काम गरिरहेको समेत बताए ।

    गण्डकी प्रदेशका ११ जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहभागी कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव विनोद विन्दु शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै दिगो विकास लक्ष्य हासिल गर्न प्राप्त उपलब्धिबारे प्रकाश पारेका थिए ।

    विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफ्नो जिल्लामा देखिएका स्वास्थ्य समस्या र बजेट अभावका कारण सर्वसाधारणले भोगको समस्याका साथै पछिल्ला समयमा भएका उपलब्धि, स्वास्थ्य बिमाले पारेको सकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए ।