Blog

  • सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए।

    यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए।

    ‘प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ। सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने उनले बताए। हामी उत्साहित भएका छौँ’, तिमिल्सिनाले भने।

    आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट। यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मङ्गलबार साँझ पोखरा आएका हुन्। -रासस

  • हमासको कब्जामा अझै ७९ बन्धकहरू, विपिन पनि तीनैमध्य एक

    हमासको कब्जामा अझै ७९ बन्धकहरू, विपिन पनि तीनैमध्य एक

    हमासका लडाकूहरूले इजराइलमाथि आक्रमण गरी दुई सय ५१ मानिसलाई बन्धक बनाएको आठ महिनापछि गाजामा अझै पनि एक सय २० जनालाई राखिएको छ। यद्यपि कति मानिस अझै जीवित छन् भन्ने स्पष्ट छैन।

    ‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न प्यालेस्टिनी क्षेत्रमा ल्याउँदा मूल दुई सय ५१ मध्ये केही पहिला नै मरिसकेका थिए। अहिलेसम्म एक सय १२ बन्धकलाई जीवितै रिहा गरिएको छ।

    इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा नोभेम्बरमा एक साताको युद्धविरामका क्रममा अधिकांशलाई मुक्त गरिएको थियो।

    इजराइली सेनाले हमास लडाकू सम्झेर मारेका तीन बन्धकसहित १९ मृत बन्धकको शवलाई इजराइलले फिर्ता गरेको छ।

    इजराइली सेनाका अनुसार गाजामा पछिल्लो समय ४१ बन्धक मारिएका छन्। तीमध्ये अक्टोबर ७ को आक्रमणमा मारिएका २५ मानिस संलग्न छन्। उनीहरूको शवलाई ‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न गाजा पट्टी लगिएको इजराइलको भनाइ छ।

    यसले गाजामा अझै पनि ७९ बन्धक जीवित रहेको हुनसक्ने देखिन्छ। ती मध्ये ७२ इजराइली, ६ थाई नागरिक र एक नेपाली रहेका छन्। रासस

  • प्रधानमन्त्रीले भनेः जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न आजको दिनले थप उत्प्रेरित गर्छ

    प्रधानमन्त्रीले भनेः जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न आजको दिनले थप उत्प्रेरित गर्छ

    प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

    प्रधानमन्त्री दाहालले विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना दिँदै यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको बताए।

    प्रधानमन्त्री दाहालले मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको उल्लेख गरे।

    साथै, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री दाहालले बताए।

    ‘विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगण्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ, नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीलाई सामना गर्न सम्भव छ।’

    प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरुरी रहेको उल्लेख छ।

    यस वर्ष विश्वव्यापीरूपमा तय भएको नारा ‘हाम्रो भूमिः हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस देशव्यापीरूपमा मनाउन लागिएकामा सरोकारवाला निकाय, सङ्घसंस्था तथा आम नागरिकलाई राष्ट्रिय अभियानमा सरिक हुन प्रधानमन्त्री दाहालले आह्वान गरे। रासस

  • कन्याकुमारी साधनाबाट नयाँ सङ्कल्प

    कन्याकुमारी साधनाबाट नयाँ सङ्कल्प

    सन् २०२४ को लोकसभा निर्वाचन गत शनिवार सम्पन्न भयो। विभिन्न ७ चरणमा भएको निर्वाचनको मतपरिणाम आइतवार सार्वजनिक गरिएको छ। तर, अन्तिम चरणको निर्वाचन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी गएका थिए, ध्यान र साधनाका लागि। उनले ३० मे साँझ ६ बजे सुरु गरेको ध्यान १ जुनमा सम्पन्न् गरे गरेपछि व्यक्त गरेका भाव जस्ताको तस्तै नेपालीमा अनुवादितः

    मेरा भारतीय साथीहरू,

    प्रजातन्त्रकी जननीका रूपमा चिनिने हाम्रो राष्ट्रमा प्रजातन्त्रकै सबैभन्दा ठुलो उत्सव २०२४ को लोकसभाको चुनाव आज समापन हुँदैछ। कन्याकुमारीमा तीन दिनको आध्यात्मिक यात्रापछि भर्खरै दिल्लीका लागि विमान चढेको छु। काशीलगायत अन्य धेरै सिटमा दिनैभरि मतदान भइरहेको छ।

    थुप्रै अनुभव र भावनाले मेरो मन भरिएको छ। म आफैंभित्र ऊर्जाको असीम प्रवाह महसुस गर्छु।

    २०२४ को लोकसभा चुनाव अमृत कालमा पहिलो चुनाव हो। सन् १८५७ को पहिलो स्वतन्त्रता संग्रामको भूमि मेरठबाट मैले केही महिनाअघि अभियान सुरु गरेको थिएँ। त्यस बेलादेखि मैले हाम्रो महान् राष्ट्रको हरेक कुनाको यात्रा गरेको छु। यी चुनावको अन्तिम र्‍यालीले मलाई महान् गुरुहरूको भूमि र सन्त रविदासजीसँग जोडिएको भूमि पन्जाबको होसियारपुरमा लिएर गयो। त्यसपछि म कन्याकुमारीमा माँ भारतीको चरणमा आइपुगेँ।

    चुनावको जोस मेरो मन र मस्तिष्कमा गुन्जिनु स्वाभाविक हो। र्‍याली र सडकमा देखिएका भिडको अनुहार मेरा आँखा अगाडि नाचिरह्यो। हाम्रा नारी–शक्तिबाट प्राप्त आशीर्वाद, विश्वास, स्नेह, यी सबै अत्यन्तै सुखद अनुभव थियो। मेरा आँखा रसाएका थिए। म ‘साधना’ (ध्यान अवस्था) मा प्रवेश गरेँ र त्यसपछि, गरमागरम राजनीतिक बहस, आक्रमण र प्रत्याक्रमण, आरोपका शब्द र आवाजहरू जुन सबै चुनावका विशेषता हुन्, ती सबै शून्यमा हराए। मनमा वैराग्य भावना बढ्दै गयो। मन बाहिरी संसारबाट पूर्ण रूपमा अलग भयो।

    यति ठुलो जिम्मेवारीबीच ध्यान चुनौतीपूर्ण हुन्छ तर कन्याकुमारीको भूमि र स्वामी विवेकानन्दको प्रेरणाले यसलाई सहज बनायो । म आफैं उम्मेदवार भए पनि मैले मेरो अभियान काशीका प्रिय जनताको हातमा छोडेर यहाँ आएको हुँ।

    जन्मैदेखि यी मूल्यमान्यताहरू ममा बीजारोपण गरिदिनुभएकोमा म भगवान्प्रति पनि कृतज्ञ छु। यी मूल्यमान्यताहरूको म अत्यन्तै कदर गर्छु र सकेसम्म आत्मसात गर्ने प्रयास गरेको छु। कन्याकुमारीको यस स्थानमा स्वामी विवेकानन्दले ध्यान गर्दा के अनुभव गर्नभयो होला भनेर म सोचिरहेको थिएँ। मेरो ध्यानको एक अंश यस्तै खाले कुरा खेलाउँदै बित्यो।

    यो वैराग्यपन, शान्ति र मौनताबीच मेरो मन लगातार भारतको उज्ज्वल भविष्य, भारतका लक्ष्यहरूबारे सोचिरहेको थियो। कन्याकुमारीमा उदाउँदो सूर्यले मेरो विचारलाई नयाँ उचाइ दियो, सागरको विशालताले मेरो विचारलाई फराकिलो बनायो, क्षितिजको विस्तारले मलाई ब्रह्माण्डको गहिराइमा समाहित एकता, एकत्वको अनुभूति निरन्तर दिलाइराख्यो। दशकौं अघि हिमालयको काखमा गरेका अवलोकन र अनुभवहरू पुनर्जीवित भइरहेका छन् कि जस्तो पो लाग्यो।

    साथीहरू,

    कन्याकुमारी सधैं मेरो हृदयको धेरै नजिक रहेको छ। श्री एकनाथ रानाडेजीको नेतृत्वमा कन्याकुमारीमा विवेकानन्द शिला स्मारक निर्माण गरिएको थियो। एकनाथजीसँग धेरै यात्रा गर्ने अवसर मैले पाएको थिएँ। यो स्मारक निर्माणको क्रममा कन्याकुमारीमा पनि केही समय बिताउने मौका पाएँ।

    कश्मीरदेखि कन्याकुमारीसम्म, यो एउटा साझा पहिचान हो, जुन देशका हरेक नागरिकको हृदयमा गहिरो रूपमा बसेको छ। यो ‘शक्तिपीठ’ (शक्तिको आसन) हो जहाँ माँ शक्तिले कन्याकुमारीका रूपमा अवतार लिएकी थिइन्। यस दक्षिणी टुप्पोमा, माँ शक्तिले तपस्या गरी भारतको उत्तरी भागमा हिमालयमा बास गरिराख्नुभएको भगवान् शिवलाई पर्खेर बसेकी थिइन्।

    कन्याकुमारी संगमभूमि हो। हाम्रा देशका पवित्र नदीहरू विभिन्न समुद्रहरूमा बग्छन् र यहाँ ती समुद्रहरू एउटा विन्दुमा आएर मिल्छन्। यहाँ हामी अर्को ठुलो संगम देख्छौं– भारतको वैचारिक संगम! यहाँ, हामीले विवेकानन्द शिला स्मारक, सन्त तिरुवल्लुवरको भव्य प्रतिमा, गान्धी मण्डपम् र कामराजर मणि मण्डपम देख्न सक्छौं। यी दिग्गजहरूका विचारधारा यहाँ सम्मिलन भई राष्ट्रिय विचारको संगम बनाउँछन्। यसले राष्ट्र निर्माणका लागि ठुलो प्रेरणा दिने काम गर्छ। कन्याकुमारीको यो भूमिले एकताको अमेटनीय सन्देश दिन्छ, विशेष गरी ती व्यक्तिलाई जसले भारतको राष्ट्रियता र एकताको भावनामा शंका गर्ने गर्छ।

    कन्याकुमारीमा सन्त तिरुवल्लुवरको भव्य प्रतिमाले समुद्रबाट माँ भारतीको विस्तारलाई हेरिरहेको प्रतीत हुन्छ। सन्त तिरुवल्लुवरद्वारा रचित तिरुक्कुरलाई सुन्दर तमिल भाषाकै मुकुट रत्नहरूमध्येको एक मानिन्छ। यसले जीवनको हरेक पक्षलाई समेट्नुका साथै आफ्ना लागि र राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्छ। यस्ता महान् व्यक्तित्वलाई सम्मान गर्न पाउनु मेरो अहोभाग्य हो।

    साथीहरू,

    स्वामी विवेकानन्दले एकपटक भनेका थिए, ‘हरेक राष्ट्रसँग दिनका लागि एउटा सन्देश हुन्छ, पूरा गर्नका लागि एउटा मिसन हुन्छ र पुग्नका लागि एउटा नियति हुन्छ।’ हजारौं वर्षदेखि भारत यही सार्थक उद्देश्यको भावना लिएर अगाडि बढिरहेको छ। भारत हजारौं वर्षदेखि विचारको उद्गमस्थल रहेको छ। हामीले आर्जन गरेको कुरालाई हामीले कहिल्यै पनि आफ्नो व्यक्तिगत सम्पत्तिका रूपमा लिएका छैनौं, न त यसलाई आर्थिक वा भौतिक मापदण्डहरूद्वारा विशुद्ध रूपमा मापन गरेका छौं। तसर्थ, ‘इंद–न–मम’ (यो मेरो होइन) भारतको चरित्रको एउटा अन्तर्निहित र स्वाभाविक हिस्सा बन्न पुगेको छ।

    भारतको कल्याणले हाम्रो ग्रहको प्रगतिको यात्रालाई पनि फाइदा पुर्‍याउँछ। यसका लागि स्वतन्त्रता आन्दोलनलाई उदाहरणका रूपमा लिऔं। भारतले सन् १९४७ अगस्ट १५ मा स्वतन्त्रता प्राप्त ग¥यो । त्यसबेला विश्वका धेरै देश औपनिवेशिक शासनको अधीनमा थिए। भारतको स्वतन्त्रता यात्राले ती धेरै देशलाई आफ्नो स्वतन्त्रता प्राप्त गर्न प्रेरित र सशक्त बनायो । त्यही भावना दशकौंपछि फेरि एकपटक प्रकट भयो जब पूरै संसार शताब्दियौंमा एकपटक देखा पर्ने कोभिड–१९ महामारीसँग जुझिरहेको थियो। गरिब र विकासशील देशहरूबारे चिन्ता र चासो उठेको बेला भारतको सफल प्रयासले धेरै राष्ट्रहरूलाई साहस र सहयोग प्रदान गर्‍यो।

    आज, भारतको शासन मोडेल विश्वका धेरै देशहरूका लागि उदाहरण बनेको छ। मात्र दश वर्षमा २५ करोड मानिसलाई गरिबीबाट माथि उठ्न सशक्त बनाउनु अभूतपूर्व हो। आज विश्वभरि प्रो–पिपल गुड गभर्नेन्स, आकांक्षी जिल्लाहरू र आकांक्षी ब्लकहरू जस्ता नवीन अभ्यासबारे चर्चा भइरहेको छ। गरिबलाई सशक्त बनाउनुदेखि लिएर अन्तिम माइल डेलिभरि गर्नुसम्मका हाम्रा प्रयासहरूले समाजमा दयनीय अवस्थामा रहेका व्यक्तिहरूलाई प्राथमिकतामा राख्न विश्वलाई नै प्रेरित गरेको छ। गरिबहरूलाई सशक्त बनाउन, पारदर्शिता ल्याउन र उनीहरूको अधिकार सुनिश्चित गर्न हामी कसरी प्रविधिको प्रयोग गर्न सक्छौं भनी देखाउन भारतको डिजिटल इन्डिया अभियान अब सारा संसारका लागि एउटा उदाहरण बनेको छ। भारतमा सस्तो डाटा गरिबहरूमा सूचना र सेवाको पहुँच सुनिश्चित गर्दै सामाजिक समानताको माध्यम बनिरहेको छ। सारा विश्वले प्रविधिको लोकतन्त्रीकरण हेर्नुका साथै अध्ययन गरिरहेको छ र प्रमुख विश्वव्यापी संस्थानहरूले धेरै देशहरूलाई हाम्रो मोडलका तत्त्वहरू अपनाउन सल्लाह दिइरहेका छन्।

    आज, भारतको प्रगति र उदय केवल भारतका लागि मात्रै महत्त्वपूर्ण अवसर नभई विश्वभरका हाम्रा सबै साझेदार राष्ट्रहरूका लागि पनि ऐतिहासिक अवसर हो। जी–२० को सफलतापछि, विश्वले भारतका लागि ठुलो भूमिकाको परिकल्पना गरिरहेको छ। आज, भारतलाई ग्लोबल साउथको बलियो र महŒवपूर्ण आवाजका रूपमा चिनिन्छ। अफ्रिकी संघ भारतको पहलमा जी–२० समूहको हिस्सा बनेको छ। यो अफ्रिकी देशहरूको भविष्यका लागि एक महत्त्वपूर्ण उपलब्धि साबित हुनेछ।

    साथीहरू,

    भारतको विकास–पथले हामीलाई गर्व र गौरव महसुस गराउँछ। साथसाथै यसले १४० करोड नागरिकहरूलाई उनीहरूको जिम्मेवारी याद दिलाउँछ। अब, एक पल खेर नफाल्दै हामीले ठुलो कर्तव्य र ठुला लक्ष्यहरूतर्फ अघि बढ्नुपर्छ। हामीले नयाँ सपना देख्न, ती सपनालाई वास्तविकतामा परिणत गर्न र ती सपनाहरूमा बाँच्न जरुरी छ। हामीले भारतको विकासलाई विश्वव्यापी परिप्रेक्ष्यमा हेर्नुपर्छ र यसका लागि हामीले भारतको आन्तरिक क्षमतालाई बुझ्नुपर्छ। हामीले भारतको शक्तिलाई स्वीकार गर्नुपर्छ, तिनीहरूलाई पालनपोषण गर्नुपर्छ र विश्वको हितका लागि प्रयोग गर्नुपर्छ। आजको विश्वव्यापी परिदृश्यमा, युवा राष्ट्रका रूपमा भारतको शक्ति एउटा अवसर हो, जसबाट हामीले पछाडि फर्केर हेर्नुहुँदैन।

    २१ औं शताब्दीको विश्व धेरै आशा लिएर भारततर्फ हेरिरहेको छ र हामीले वैश्विक परिदृश्यमा अगाडि बढ्न धेरै परिवर्तनहरू गर्न आवश्यक छ। हामीले सुधारको सन्दर्भमा हाम्रो परम्परागत सोचलाई पनि परिवर्तन गर्न आवश्यक छ। भारतले सुधारलाई आर्थिक सुधारमा मात्र सीमित गर्न सक्दैन। हामीले जीवनका हरेक पक्षमा सुधारको दिशातर्फ अघि बढ्नुपर्छ। हाम्रा सुधारहरूलाई २०४७ सम्ममा ‘विकसित भारत’ को आकांक्षासँग पनि जोड्नुपर्छ।

    हामीले यो पनि बुझ्नुपर्छ कि सुधार कुनै पनि देशका लागि एक आयामिक प्रक्रिया हुन सक्दैन। त्यसैले देशको सुधार, प्रदर्शन र परिवर्तनको परिकल्पनाको बीज रोपेको छु। सुधारको जिम्मेवारी नेतृत्वको हो। त्यसैका आधारमा हाम्रो कर्मचारीतन्त्रले काम गर्छ। हामी परिवर्तन भइरहेको तब मात्र देख्छौं जब जनता जनभागीदारीको भावनामा जोडिन्छन् ।

    हामीले हाम्रो देशलाई ‘विकसित भारत’ बनाउनका लागि मौलिक सिद्धान्तलाई उत्कृष्टता बनाउनुपर्छ। हामीले चारै दिशामा छिटो काम गर्न आवश्यक छ: गति, मात्रा, दायरा र मानक। उत्पादनका साथसाथै हामीले गुणस्तरमा पनि ध्यान दिनुपर्छ र ‘शून्य दोष–शून्य प्रभाव’ को मन्त्रलाई पालना गर्नुपर्छ।

    साथीहरू,

    भगवान्ले हामीलाई भारतभूमिमा जन्म दिनुभएकोमा हामीले हरेक पल गर्व गर्नुपर्छ। भारतको सेवा गर्न र हाम्रो देशको उत्कृष्टतातर्फको यात्रामा हाम्रो भूमिका पूरा गर्न छान्नुभएको छ। हामीले पुरातन मूल्यमान्यतालाई आधुनिक परिवेशमा अँगाल्दै हाम्रा सम्पदालाई आधुनिक ढंगले परिभाषित गर्नुपर्छ।

    एक राष्ट्रका रूपमा, हामीले पुरानो सोच र मान्यताहरूको पुनर्मूल्यांकन गर्न आवश्यक छ। हामीले हाम्रो समाजलाई व्यावसायिक निराशावादीहरूको दबाबबाट मुक्त गर्न आवश्यक छ। हामीले याद गर्नैपर्छ कि नकारात्मकताबाट मुक्ति सफलता प्राप्त गर्नेतर्फको पहिलो पाइला हो। सकारात्मकताको काखमा सफलता फुल्ने गर्छ। भारतको असीम र अनन्त शक्तिमा मेरो आस्था, भक्ति र विश्वास दिन प्रतिदिन बढ्दै गएको छ। विगत १० वर्षमा मैले भारतको यो क्षमता अझ बढेको देखेको छु र प्रत्यक्ष अनुभव गरेको छु।

    जसरी हामीले २० औं शताब्दीको चौथो र पाँचौं दशक स्वतन्त्रता आन्दोलनलाई नयाँ गति दिन उपयोग गर्‍यौं, त्यसैगरी २१ औं शताब्दीका यी २५ वर्षमा हामीले ‘विकसित भारत’ का लागि आधारशिला राख्नुपर्छ। स्वतन्त्रता संग्राम एउटा यस्तो समय थियो, जसमा ठुलो बलिदानको आवश्यकता थियो। वर्तमान समयमा सबैका तर्फबाट ठुलो र दिगो योगदानको आवश्यकता देखिन्छ।

    स्वामी विवेकानन्दले सन् १८९७ मा भनेका थिए कि हामीले आगामी ५० वर्ष राष्ट्रका लागि मात्र समर्पित गर्नुपर्छ। यो आह्वानको ठिक ५० वर्षपछि सन् १९४७ मा भारतले स्वतन्त्रता प्राप्त गर्‍यो।

    आज हामीसँग त्यही सुनौलो अवसर छ। अबको २५ वर्ष राष्ट्रका लागि मात्रै समर्पित गरौं। हाम्रो प्रयासले भारतलाई नयाँ उचाइमा पु¥याउँदै आउने पुस्ता र आगामी शताब्दीका लागि बलियो जग निर्माण गर्नेछ। देशको ऊर्जा र उत्साहलाई हेर्दा अब लक्ष्य धेरै टाढा छैन भन्न सक्छु। आउनुहोस् छिटो कदम चाल्नुहोस्, आउनुहोस् हामी सबै मिलेर विकसित भारत बनाऔं।

    –मोदी भारतीय प्रधानमन्त्री हुन्।

  • कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज

    कर्णाली प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।

    आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्नेछन्।

    यसअघि सरकारले ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ।

  • पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न राष्ट्रपतिको आग्रह

    पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न राष्ट्रपतिको आग्रह

    राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न आग्रह गरेका छन्।

    विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना दिँदै उनले वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताए।

    राष्ट्रपति पौडेलले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ, त्यसलाई पुनःस्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।’

    विज्ञानको नवीनतम विकासको उदाहरणस्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको र विकास तथा वातावरण एकापसका प्रतिद्वन्द्वी नभई परिपूरक भएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।

    दिगो विकासको अवधारणाबमोजिम नै सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्बोेधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको उनले बताए।

    ‘नेपालले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘प्रकृतिमुखी जीवनशैलीका लागि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा वातावरण सुधारका गतिविधिहरू प्रवद्र्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरू एकजुट भई लाग्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।’

    वातावरणको संरक्षण तथा सम्वर्द्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालयहरू, प्रदेश तथा स्थानीय निकायहरू, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई राष्ट्रपति पौडेललले धन्यवाद दिएका छन्।

    राष्ट्रपति पौडेलले आजको दिन सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनको रूपमा लिएको सन्देशमा उल्लेख गरे।

    संयुक्त राष्ट्र सङ्घले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो। यस वर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ। रासस

  • दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

    दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

    जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्।

    जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ।

    एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन्।

    सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ। दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन्।

    जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ। यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ।

    जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन्। यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ। रासस

  • अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल

    अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल

    म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण-धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ।

    जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन्। एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनले बताए।

    अध्यक्ष पुनका अनुसार रु ४७ लाख ५० हजार चार सय ९६ को लागतमा पुल निर्माण भएको हो। ‘पुल निर्माणका लागि स्थानीयवासीले रु एक लाख १५ हजार दुई सय बराबरको ८५ दिन श्रमदान गरेका छन्’, उनले भने,’काम थालेको ८५ दिनमै पुल तयार गर्न सफल भएका छौँ।’ पुलबाट बाँसखर्क, मल्लाज, डाँडाकेटरी, वनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका स्थानीय नारायण पुनले बताए।

    बाँसखर्क डाँडाकेटेरी हुँदै मोहरेडाँडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल उपयोगी भएको उनले बताए। पुल बनेपछि घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको र यात्रा अवधि छोटो भएका छ। रासस

  • तीन वटा संसदीय समितिको बैठक बस्दै

    तीन वटा संसदीय समितिको बैठक बस्दै

    आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

    बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षाका सम्बन्धमा छलफल हुनेछ।

    बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय शतर्कता केन्द्रबाट भएका कामकारवाहीहरुको बारेमा छलफल हुनेछ। त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयन अवस्था लगायत विषयहरुका सम्बन्धमा छलफल हुनेछ।