Blog

  • काठमाडौँ विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरहरूको सूचीमा यथावत

    काठमाडौँ विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरहरूको सूचीमा यथावत

    काठमाडौँ अझैँपनि विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरहरूको सूचीमा कायमै रहेको छ। प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय सङ्गठन आईक्यू एयरका अनुसार काठमाडौँ विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरमा अझै कायमै छ।

    शुक्रवार दिउँसो १ बजे काठमाडौँको वायु प्रदूषणे स्तर १०७ मापन गरिएको छ। उक्त अङ्कसहित काठमाडौँ विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दशौँ स्थानमा रहेको छ।

    १०७ स्तर अर्थात् काठमाडौँको प्रदूषण अस्वस्थकर मानिएको छ।

    केही दिनदेखि काठमाडौँमा पानी पर्ने क्रम चलिरहेको र हुरीबतासका कारण पनि प्रदूषण्को स्तर घटेको देखिन्छ। तर, अझै प्रदूषण पूर्ण रुपले सफा हुन समय लाग्ने देखिएको छ।

    यस्तै विश्वको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये डेमोक्रेटिक रिपब्लिकाको किन्सासा पहिलो स्थानमा रहेको छ। किन्सासाको वायु प्रदूषणको स्तर १८७ मापन गरिएको छ भने इन्डोनेशियाको जाकार्ता दोस्रो स्थानमा रहेको छ। जाकार्ताको वायु प्रदूषण १६२ मापन गरिएको छ।

    पाकिस्तानको लाहोर १५९ अङ्कसहित विश्वको तेस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ भने चीनको वुहान १५६ अङ्कसहित विश्वको चौथो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। संयुक्त अबर इमिरेट्सको दुबई १५२ अङ्कसहित विश्वको पाँचौ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ भने भारतको राजधानी दिल्ली १५१ अङ्कसहित विश्वको छैटौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। युगान्डाको कम्पाला १४३ अङ्कसहित विश्वको सातौँ सबैभन्दा धेरै प्रदूषित सरह बनेको छ भने इराकको बगदाद ११७ अङ्कसहित विश्वको आठौँ र भारतको कोलकोत्ता ११४ अङ्कसहित विश्वको नवौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ।

  • रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

    रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

    निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ। यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो।

    बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने पुगेका पर्यटक पैदलमार्गमार्फत रिग ताल पुग्न थालेका छन्। निसीखोला– ६ मा पर्ने उक्त ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण, पूर्वाधार र प्रचारप्रसारमा पालिकाले जोड दिन थालेको गाउँपालिका कार्यालयले जनाएको छ।

    पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामार्फत पुग्न सकिने रिग तालमा हालै सडक सञ्जाल विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए। गोठथरीका रुपमा रहेको रिग ताल वरपरको क्षेत्र पर्यटकीय हिसाबले मनमोहक र रमणीय भए पनि यसअघि संरक्षण नहुँदा ओझेलमा परेको उनको भनाइ छ।

    पालिकाको सानो स्रोतबाट गत वर्षदेखि पूर्वाधारमा लगानी गरी पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्न थालिएको अध्यक्ष मगरले बताए। गत आवमा आठ लाख रुपैयाँ खर्च गरेर तालसम्म पुग्ने सडक विस्तार गरिएको थियो भने यस वर्ष ताल र रिग बराहथानको संरक्षण गरिएको उनले जानकारी दिए।

    ‘गोठथरीका रुपमा रहेको स्थानमा ताल छ, यो निकै पनि आकर्षक छ। मध्यपहाडी लोकमार्ग विस्तारपछि तालको प्रचारप्रसार हुन थालेको थियो’, अध्यक्ष मगरले भने, ‘पालिकाको सीमित स्रोतबाट सडक विस्तारलगायत पूर्वाधार विकासमा लागेका छौं। यस क्षेत्रको पर्यटन प्रवर्द्धन भएमा नागरिकको आयस्तारमा पनि वृद्धि हुने अपेक्षा गरेका छौं।’

    पूर्वाधार विकासमा गत वर्ष आठ लाख र चालु आवमा पाँच लाख लगानी भइसकेको उनले जानकारी दिए। ‘रिगमा पुग्ने पर्यटकलाई लक्षित गरी यहाँ ठूलो लगानी थप पर्यटकीय पूर्वाधार निर्माण गर्नु आवश्यक छ’, उनले भने, ‘तालसँगै नजिकै रहेको तालबराहलाई संरक्षण गरेका छौं। सडक, खानेपानी, शौचालय, सत्तललगायत पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेर विकास गर्ने योजना छ।’

    समुद्री सतहबाट करिब तीन हजार दुई सय मिटर उचाइमा रहेको तालको लम्बाइ एक सय, चौडाइ ६० र गहिराइ करिब १२ मिटर रहेको स्थानीय बताउँछन्। पछिल्लो समय पहाडबाट बगेर आउने भल जम्मा हुन थालेपछि ताल पुरिने सम्भावना बढसँगै पालिकाले पर्खाल निर्माण गरेको छ।

    रोल्पा, रुकुम, प्युठान, पर्वत र बागलुङको विभिन्न स्थानको अवलोकन गर्न सकिने र भेडाका बथान हेर्न पर्यटक यहाँ आउने गरेको स्थानीय लालसिंह बुढामगरले बताए। ‘पहिला गाईभैंसी, घोडा र भेँडालाई पानी खुवाउन तालको प्रयोग गरिन्थ्यो। हिमपात भएको समयमा ताल निकै मनमोहक देखिन्छ’, उनले भने।

    सडक सञ्जाल विस्तार भएसँगै आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको भन्दै यस क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नु जरुरी रहेको बुढामगरको भनाइ छ। बागलुङका विभिन्न स्थानबाट धेरै पर्यटक आउने गरेका भन्दै रोल्पा र रुकुमबाट केही कम आउने उनले बताए।

    ‘अहिले ताल हेर्न आउने पर्यटक बढेकाले पालिकाले संरक्षण गर्न थालेको छ’, उनले भने, ‘वरपरको हरियाली, भेडा बथान हेर्न तथा बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा आएका पर्यटकसमेत यहाँ आउन थालेका छन्। यहाँ ओत लाग्ने स्थान बनाउन आवश्यक छ।’

    पछिल्लो समय गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान गरी र विकास गर्न थालको छ। पालिकाले संरक्षण र प्रचारप्रसारलाई तीव्रता दिन थालेपछि धेरै आन्तरिक पर्यटकको आगमन हुन थालेको हो।

    ‘तालको नाम ‘रिग’ खासगरी मगर खाम भाषाबाट राखिएको हो। मगर खाम भाषामा ‘रि’ को अर्थ ‘पानी’ र ‘ग’ को अर्थ ‘जम्मा भएर रहेको’ भन्ने बुझाउँछ’, गाउँपालिका अध्यक्ष मगरले भने। –रासस

  • सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ः अध्यक्ष नेपाल

    सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ः अध्यक्ष नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन्। शुक्रवार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताएका हुन्।

    अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको र भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको उनको भनाइ छ। उनले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताए। देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने उनले सुनाए।

    उनले भने, ‘देशको योजना बनाउँदा हावादारी योजना बनाएर भएन। अहिले मैले बजेटको एउटा पक्ष देखेँ। कृषिको सन्दर्भमा ल्याइएका योजनाहरु मलाई साह्रो मन पर्‍यो। कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको देख्दा धन्यवाद दिन मन लाग्यो। राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्‍याएर चल्नुपर्दछ। सबै चिजलाई ध्यानमा राखेर चल्नुपर्छ। संवेदनशील भएर पनि चल्नुपर्छ। संवेदनशील भएर चल्न सक्यो भने संवेदनशीलताको कवच आवश्यकता पर्दछ।’

    अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याउन जरुरी रहेको र आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताए। नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ।

  • राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई सास्ती, बिहानैदेखि लाइन बसेपनि पालो आउँदैन

    राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई सास्ती, बिहानैदेखि लाइन बसेपनि पालो आउँदैन

    तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीवार बिहानै प्रशासन कार्यालय आइपुगे। राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन।

    बिहीवार घर फर्किएर शुक्रवार बिहानै ६ बजे उनी पुनः प्रशासन कार्यालय आए। शुक्रवार उनले बिहान १० बजे राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराए। उनले भने, ‘राष्ट्रिय परिचयपत्रका लागि निकै दुःख रहेछ। दुई दिनमा बल्ल बल्ल पालो आएर काम भयो।’ सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउँदा कार्यालयमा निकै भीड रहेको उनको भनाइ छ।

    व्यास नगरपालिका–९ माझफाँटकी मीठुमाया विकले दुई दिनको पालो कुरेपछि काम भएको बताइन्। उनले भनिन्, ‘बिहीबार बिहानै ६ बजेदेखि आएर बसेँ, दिनभर बस्दा पालो आएन। आज फेरि बिहानै आएर बसेपछि पालो आयो र काम बन्यो।’

    म्याग्दे गाउँपालिका–१ गुणादी निवासी लक्ष्मी खनालले प्रशासन कार्यालयमा कर्मचारीको अभावमा जनतालाई सास्ती भएको बताइन्। उनले दुःखेसो पोख्दै भनिन्, ‘यस्तो गर्मीमा पाउनु दुःख पाइयो। परिचयपत्र बनाउन आएको पालो आउँदैन। टन्टलापुर घामले टाउको दुखिसक्यो। बिहानैदेखि भोकभोकै छु।’

    आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने अनिवार्य गरिएपछि प्रशासन कार्यालयमा बिहानै ६ बजेदेखि भीड हुने गरेको छ। सोही भीडमा पालो कुर्दै गरेको अवस्थामा भेटिएकी उनले सहजरुपमा सेवा पाउने वातावरण बनाउन माग गरिन्। उनले भनिन्, ‘सरकारले जनतालाई कसरी हुन्छ सहजरुपमा सेवा दिनुपर्छ। यसरी दुःख दिएर भएन।’

    व्यास–१४ का देवबहादुर आलेले आमाको राष्ट्रिय परिचयपत्र बनाउन बिहान ७ बजेदेखि लाइनमा बसेको बताए। उनले भने, ‘पहिला वडा कार्यालयमा दर्ता गरेको, त्यतिबेलाको नम्बर अझै आएन। त्यही भएर प्रशासनमै गएर दर्ता गर्नुपर्छ भनेर बिहानैदेखि बसेको पालो नै आउँदैन।’

    यतिबेला राष्ट्रिय परिचयपत्र दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो लागेको छ। जिल्ला प्रशासन कार्यालयमा हाल दुई वटा विवरण दर्ता स्टेसनमार्फत परिचय पत्रको फारम भरिँदै आएको छ। उक्त दुई वटा दर्ता स्टेसनको दैनिक क्षमता करिब एक सय जना रहेकामा केही दिन यता राष्ट्रिय परिचयपत्रको लागि दैनिक चार सयसम्मको भीड लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

    परिचयपत्र बनाउन ज्येष्ठ नागरिक बिहान ६÷७ बजे नै जिल्ला प्रशासनमा लाइन लाग्न आइपुग्ने गरेको गौतमको भनाइ छ। सेवाग्राहीको अत्याधिक भीड बढेपछि कर्मचारीलाई अतिरिक्त भत्ता दिने गरी बिहान ७ देखि साँझ ७ बजेसम्म काममा लगाइएको प्रजिअ गौतमले बताए।

    उनले भने, ‘त्यतिा हुँदा पनि भीड थामिनसक्नुभएको छ। भीड बढेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशकसँग उपकरण सहितको थप तीनवटा दर्ता टोली थप गर्न अनुरोध गरेको छु।’ उपकरणसहित तीनवटा दर्ता टोली प्राप्त भएमा कर्मचारीको व्यवस्थापन गरी स्थानीय तहका वडाहरुमा नै राष्ट्रिय परिचयपत्रको फारम भर्ने व्यवस्था मिलाउन सकिने प्रजिअ गौतमको भनाइ छ।

    उनले भने, ‘८०÷९० वर्षका बुबाआमा पनि दिनभरि लाइनमा बस्न बाध्य हुनुभएको छ। तीनवटा स्टेसन थप भएमा सम्बन्धित वडामा नै गएर फारम भर्ने व्यवस्था मिलाउन सकिन्थ्यो।’ परिचयपत्र बनाउन सेवाग्राहीको भीड बढेपछि जेठ महिना लागेपछि परिचयपत्र वितरण कार्य पनि रोकिएको छ। त्यहाँ रहेका कर्मचारीले फारम भर्न नै नभ्याउने भएको कारण हाललाई परिचयपत्र वितरण कार्य रोकिएको प्रजिअ गौतमले बताए।

    स्थानीय तहहरुले पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेका छन्। जिल्लाका स्थानीय तहले सूचना प्रकाशित गरी आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने नयाँ लाभग्राही तथा भत्ताको नवीकरण गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका लाभग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेको छ। रासस

  • लागुऔषध दुर्व्यसनविरुद्ध कडा रुपले कारवाहीमा उत्रिँदै ताप्लेजुङ प्रहरी

    लागुऔषध दुर्व्यसनविरुद्ध कडा रुपले कारवाहीमा उत्रिँदै ताप्लेजुङ प्रहरी

    ताप्लेजुङ प्रहरी लागुऔषध दुर्व्यसन बिरुद्ध निर्मम रुपले कारवाहीमा उत्रिएको छ। पछिल्लो तीन साताको अवधिमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ८ जना लागुऔषध दुर्व्यसनमा रहेका व्यक्तिहरुलाई पक्राउ गरी कारवाही थालेको छ।

    जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले यहाँको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेयता लागुऔषध दुर्व्यसन बिरुद्ध आक्रामक शैली अपनाएका छन्। लागुऔषध खैरो हेरोइन सहितका लागुऔषध दुर्व्यसनमा संलग्नहरुको खोजी तीव्र बनाएको र यसलाई अभियानकै रुपमा अघि बढाउने डिएसपी रावलको भनाइ छ।

    सरकारले ट्रामाडोल र टापेन्टाडोललाई समेत अहिले मनोदीपक (लागुऔषध सरह) पदार्थको रुपमा तोक्ने निर्णय गरेको छ। उक्त दुई पदार्थ समेतको प्रयोग तथा आयातकर्तालाई समेत प्रहरीले पक्राउ गरी कारवाही थालेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

    प्रहरीले गाँजा प्रयोगकर्ता समेत फेला पारेकोले प्रहरीले प्राकृतिक रुपले उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान समेत तीव्र बनाएको छ।

    फुङलिङ नगरप्रमुख अमिर मादेनले लागुऔषध दुर्व्यसन बिरुद्धको प्रहरीको अभियानलाई आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘दुव्र्यसन बिरुद्ध प्रहरीले चलाएको अभियान सह्रानीय र स्वागतयोग्य कदम हो,यसमा हामी जनप्रतिनिधिको पूर्ण साथ र सहयोग रहन्छ’ नगर प्रमुख मादेनले भने।

    मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो। सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य,चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भनिन्छ। यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ।

    कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागुऔषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो। लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ‘३’ मा लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा,अफिम,तैयारीको अफिम, औषधोपयोगी अफिम,कोकाको झार र पात र अफिम तथा कोकाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थलाई लागुऔषधको रुपमा परिभाषित गरिएको छ।

  • कुशासन, भ्रष्टाचार र दण्डहीनता बढ्दा गणतन्त्रमाथि खतरा छ:  पहाडी

    कुशासन, भ्रष्टाचार र दण्डहीनता बढ्दा गणतन्त्रमाथि खतरा छ: पहाडी

    पहेँलो कुर्ता र धोतीमा देखिनु हुने कृष्ण पहाडीका विषयमा केही थाहा नहुने सामान्य मानिसले कुनै आध्यात्मिक सन्तका रूपमा बुझ्न सक्छ, तर उनी त्यसरी बुझेजस्तो धार्मिक सन्त होइनन्। उनी लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको आन्दोलनमा नथाक्ने योद्धाका रूपमा स्थापित छन्। नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नागरिक समाजका तर्फबाट पहाडीले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। पूर्वराजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि पहाडीलगायतले नागरिक समाजका तर्फबाट आन्दोलन सुरू गरेका थिए। राजनीतिक दलको आह्वानमा मानिस जम्मा नहुने समयमा नागरिक समाजले नै पूर्वराजाले प्रजातान्त्रिक हक, अधिकारमा लगाएका प्रतिबन्धका विरूद्धमा सडक संघर्षको नेतृत्व गरेको थियो। प्रस्तुत छ– लोकतान्त्रिक गणतन्त्र सत्रौं वर्षमा प्रवेश गर्दा यसमाथि मडारिन थालेका काला बादललगायतका विषयमा केन्द्रित रही राससका पूर्णप्रसाद मिश्रले नागरिक आन्दोलनका अगुवा पहाडीसँग गरेको कुराकानीको सम्पादित अंश :

    गणतन्त्र स्थापना भएको १७ वर्षपछि पनि केही फरक भएन भन्ने चर्चा चलिरहेको छ, गणतन्त्र स्थापनाका लागि नागरिक समाजका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेको नाताले यो अवस्थाप्रति तपाईंको भनाइ के छ ?

    गणतन्त्र स्थापना भएपछि पनि सुशासन हुन सकेन। असललाई जिम्मेवारी र खराबलाई दण्ड दिनुपर्नेमा त्यस्तो हुन सकेन। कुशासन र दण्डहीनताका कारण जनतामा वितृष्णा बढ्दै गएको छ। दुईपटकको संविधानसभाको निर्वाचनपछि २०७२ सालमा संविधान जारी भयो। २०७४ सालमा तीनै तहको निर्वाचन सम्पन्न भयो। तीनै तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्वका साथै सुशासनको प्रत्याभूतिसँगै आर्थिक सामाजिक रूपमा देशले फट्को मार्ने अपेक्षा नागरिकको थियो। तर सत्तासीनले नागरिकको अपेक्षाअनुरूप योगदान गर्न सकेनन्। उर्वर विचार र जनशक्तिको पुञ्ज लाखौं युवाको विदेश पलायनको सिलसिला रोकिएन। नागरिक सर्वोच्चता स्थापित हुनुपर्नेमा प्रमुख दलका शीर्ष नेताको सर्वोच्चता स्थापित हुन थालेको हो कि भन्ने आशंका बढ्दै गएको छ। गणतन्त्रपछि सबैतिर विधिको शासनको अनुभूति हुनुपर्नेमा अर्बौं भ्रष्टाचारका दर्जनौं घटना प्रकाशमा आउँदा पनि त्यसमा संलग्न कुनै पनि नेतामाथि कानुनी कारबाही भएन। सौदाबाजीको राजनीति, कुशासन र दण्डहीनताको कहालीलाग्दो शृंखलाका कारण नागरिकमा वितृष्णा एवं निराशा चुलिँदै गएको छ। त्यसका लागि जिम्मेवार नेताको राज्यसत्ता एवं संयन्त्रमा पकड तथा हालीमुहाली छ। यसैले यो व्यवस्थामाथि प्रश्न उठाउने र धावा बोल्नेको संख्या बढ्दै गएको देखिन्छ। अधिनायकवाद र एकाधिकारवादको पृष्ठपोषकको ऊर्जाको स्रोत पनि यिनै विकृति हुन्। लोकतान्त्रिक गणतन्त्रमाथि खतरा छ भने कुशासन, भ्रष्टाचार र दण्डहीनताका कारणले नै छ। यसका लागि प्रमुख दलका शीर्ष नेता जिम्मेवार छन्।

    विसं २०६२-६३ पछि जनआन्दोलनको राप र तापले लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान जारी भएका कारण अधिनायकवाद र एकाधिकारवादको भविष्य समाप्त भएको थियो। २४० वर्ष पुरानो राजतन्त्रको उन्मूलन हुनु अधिनायकवादको समाप्ति थियो भने संविधानसभाबाट नयाँ संविधान बनेपछि स्वतन्त्रताविहीन एकाधिकारवादी अर्थात साम्यवादी व्यवस्थाको स्थापनाको सम्भावना पनि अन्त्य भएको थियो। यो संविधान असफल सावित गरी यो व्यवस्थाको अन्त्य गर्न सके मात्र राजतन्त्रको पुनःस्थापना र साम्यवादी व्यवस्थाको स्थापनाको द्वार खुल्छ भन्ने रणनीतिले अहिले अधिनायकवाद र एकाधिकारवादका पृष्ठपोषकहरू अभियानरत रहेको देखिन्छ। यी दुवै तप्का बलियो हुनु भनेको लोकतान्त्रिक गणतन्त्र, स्वतन्त्रता र मानव अधिकार कमजोर हुनु हो।

    लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा देखिएका विकृति अन्त्य गर्न के गर्नुपर्ला ?

    संविधान गतिशील दस्तावेज हो। संविधान संशोधन निरन्तर हुने प्रक्रिया हो। संविधान कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरीलाई संशोधन गरी गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्छ। कुनै पनि संविधान आफैंमा पूर्ण र सर्वोत्कृष्ट हुँदैन। नेपालको संविधान पनि शैसव अवस्थामा छ। संविधान कमी कमजोरी मुक्त छैन। माग र आवश्यकताअनुसार संविधान संशोधन हुनुपर्छ। संविधान संशोधन गर्दा केन्द्रविन्दुमा नागरिक सर्वोच्चता रहेको लोकतान्त्रिक गणतन्त्रलाई राखिनुपर्छ, यसको प्राण हरण गर्न मिल्दैन। अमेरिकाको संविधानमा २७ र भारतको संविधानमा १०६ पटक संशोधन भइसकेको छ। नेपालमा संविधानसभाबाट संविधान बनिसकेपछिको मार्ग भनेको वैधानिक तवरले आवश्यकताअनुसार संविधान संशोधन मात्र हो, संविधानको हत्या होइन। विश्वमै उत्कृष्ट मानिएको नागरिक सर्वोच्चता र स्वतन्त्रताको प्रत्याभूतिसहितको लोकतान्त्रिक व्यवस्थाको विकल्पमा अधिनायकवाद र एकाधिकारवादको वकालत गर्नु भनेको आधुनिक सभ्यता र सुसंस्कृतिको मान्यताविपरीत नेपाललाई सयौं वर्ष पछाडि धकेल्ने दूषित चिन्तन मात्र हो।

    विद्यमान विकृतिको निदान नगर्ने हो भने उपलब्धि ओझेलमा पर्न सक्ने सम्भावनाका कारण मानवअधिकार तथा शान्ति समाज चिन्तित छ। असललाई जिम्मेवारी र खराबलाई दण्ड सुनिश्चित गर्न सके मात्र लोकतान्त्रिक गणतन्त्र दिगो हुन्छ। केही खराब नेताको आचरणका कारण अहिले व्यवस्थामाथि धावा बोल्नेको मनोबल बढ्न थालेको छ। आन्तरिक लोकतान्त्रिक अभ्यासबाटै खराबलाई दण्ड सुनिश्चित गर्न नसक्नुमा प्रमुख दलका नेता मात्र होइन, कार्यकर्ता पनि त्यत्तिकै जिम्मेवार छन्। खराब नेताका कारण लोकतन्त्रमाथि संकट आउने त होइन भन्ने आशंका बढ्दै जाँदा पनि खराब नेताकै सर्वोच्चता स्वीकार गर्नेहरू लोकतन्त्रवादी हुन सक्दैनन्। नेता र दलका कारण लोकतन्त्रलाई धरापमा पार्नु अपराध हो। यसैगरी लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नु भनेको अस्थिरता र अराजकताको दलदलमा मुलुकलाई धकेल्नु हो भन्ने सत्य सबैले बुझ्नुपर्छ।

    गणतन्त्र स्थापनाका लागि राजनीतिक दललाई दबाब दिने नागरिक समाज नै विभाजित भएकाले पनि अहिलेको व्यवस्थामाथि खतरा बढ्दै गयो भन्ने विश्लेषण पनि हुन थालेको छ नि ?

    राजनीतिक समाजमा जस्तै नागरिक समाजमा पनि विकृति व्याप्त छ भन्ने व्यापक आरोप छ। नेपालमा कार्यरत संघसंस्थाका थुप्रै कमीकमजोरी छन्। नागरिक समाज कहिले सुस्ताएको, कहिले हराएको त कहिले राजनीतिक समाजको भ्रातृ संस्थाजस्ते भएको गुनासो सुनिँदै आएको छ। यसैगरी नेपालका मानव अधिकारवादी संस्थाहरू डलरमुखी छन् भन्ने आरोप व्याप्त छ। म संस्थापक सभापति रहेको शान्ति समाजले भने अहिले नागरिक संवाद कार्यक्रममार्फत संस्थाकै बारेमा आलोचनात्मक टिप्पणी गर्ने सकिने व्यवस्था गरेको छ। लोकतन्त्रमा सबै संस्थाले यस्तो अभ्यासको व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ। यसले पनि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग गर्छ।

    भ्रष्टाचार र कुशासनका विरूद्ध नागरिक आन्दोलन किन हुन सकिरहेको छैन ?

    नागरिक समाज भनेको जागरूक नागरिकहरूको त्यस्तो समूह÷जमात हो, जसले नागरिक हक अधिकारको प्राप्ति, संरक्षणका लागि योगदान गर्छ। नागरिक समाज भनेको राष्ट्रको त्यस्तो बलियो किल्ला हो, जसले बृहत्तर राष्ट्रिय हितका लागि नागरिक दायित्व निर्वाह गर्नुका साथै कर्तव्य पनि स्मरण गराउँछ। लोकतन्त्रको प्राप्ति र रक्षा जस्ता सवालमा विभिन्न निकायसँग हातेमालो÷साझेदारी पनि गर्छ तर नागरिक समाजको मौलिकता र पवित्रता सदैव कायम राख्दै निश्चित सवालमा दूरी पनि कायम गर्छ। नागरिक समाजले राज्य र समाजबीचको कार्य क्षेत्रलाई दर्साउँछ, जुन नागरिक समूह, नागरिक समाज संगठनहरू र गैरसरकारी संस्थाहरू मिलेर बनेको हुन्छ। यी सबैले केही खास चासोहरूको प्रतिनिधित्व र प्रवद्र्धन गर्नुका साथै नागरिक कर्तव्य र राजनीतिक अधिकारहरूका बारेमा जनचेतना जगाउने काम गर्छन्। नागरिक समाजसँग सम्बन्धित संस्थाले बहुआयामिक भूमिका निर्वाह गर्छन्। राजनीतिक समाज, कर्मचारी समाज, सुरक्षा निकायलगायत केही खास संरचना बाहेकका जगत् र जीवनको रक्षा एवं सेवाका लागि समर्पित एवं क्रियाशील जमात नै नागरिक समाज हो, जुन मूलतः स्वयंसेवी र लाभ निरपेक्ष हुन्छ। नागरिक समाज भनेको स्वतःस्फूर्त होस् वा संगठित तबरमा क्रियाशील यस्तो निकाय हो, जसको उपस्थिति बोध हुन्छ र संकटका बेला सर्वाधिक चलायमान हुन्छ।

    नागरिकहरूको आवाज मुखरित गर्ने, नागरिक हकहितका लागि प्रतिबद्ध एवं क्रियाशील संस्था, जमात, संरचना, आन्दोलन नै नागरिक समाज हो। संगठित रूपमा रहेका नागरिक समाज आबद्ध संस्थाले अभियान गर्छन्। त्यस्तो अभियान नै कहिलेकाहीं आन्दोलन पनि बन्ने गर्छ। स्वतःस्फूर्त रूपमा बिना कुनै संरचना कहिलेकाहीं यस्ता आन्दोलन पनि उठ्छन्, जसले निकास दिन्छ, नयाँ इतिहास बनाउँछ र नागरिक समाजलाई उचाइमा पु¥याउँछ। त्यस्तो बेला राजनीतिक समाजलाई डो¥याउने काम पनि नागरिक समाजले गर्छ। जस्तो– नेपालमा २०६२-६३ को जनआन्दोलनको पृष्ठभूमि निर्माण गर्ने र आन्दोलनलाई उचाइमा पु¥याउने काम ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’ ले गरेको थियो।

    नागरिक समाज भनेको लोकतन्त्रको एउटा खम्बा हो। नागरिक समाजले लोकतन्त्र प्राप्तिका साथै रक्षाका लागि काम गर्छ। लोकतान्त्रिक संस्कृति निर्माण र सबलीकरणमा योगदान गर्छ। आधारभूत स्वतन्त्रता र मानव अधिकारको पक्षमा चट्टान जस्तो उभिन्छ। अहिंसात्मक धारालाई आत्मसात गर्छ। यिनै मान्यताका आधारमा शान्ति समाजकै नेतृत्वमा भ्रष्टाचार एवं कुशासनका विरूद्ध नागरिक आन्दोलनको तयारी पनि भइरहेको छ।

    लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि के गर्नुपर्छ ?

    पछिल्लो चरणमा अर्बौं घोटालाका दर्जनौं घटना प्रकाशमा आएका छन् र त्यस्ता घोटालामा प्रमुख दलका शीर्ष नेताको संलग्नताको तथ्य छताछुल्ल भएको छ, तर मूल दोषीमाथि कारबाही हुन सकेको छैन। सुशासनका लागि योगदान गर्नुपर्ने राज्यका संयन्त्रको चरम राजनीतीकरण भएको छ। सौदाबाजीको राजनीति उत्कर्षमा छ। राजनीति विकासमुखी हुन सकेको छैन। राज्य संयन्त्रहरू जुन मात्रामा सेवामुखी हुनुपथ्र्यो, हुन सकेका छैनन्। समग्र समाज उद्यममुखी बन्न सकेको छैन। लगानीमैत्री कानुन र वातावरणको अभाव छ। प्रविधिमैत्री सेवा संरचना निर्माण र विस्तारमा उदासीनता छ। राज्यका पुर्जापुर्जा भ्रष्टाचारले आक्रान्त छन्। दण्डहीनता संस्थागत भएको छ। यसले नागरिकमा निराशा र वितृष्णा बढ्दो छ। नागरिकका निराशा विस्फोटमा बदलिने सम्भावनालाई नकार्न सकिँदैन। तसर्थ, नागरिक निराशालाई आशामा बदल्न नागरिक समाजको सक्रियता अत्यावश्यक छ।

    सुशासन लोकतन्त्रको प्राण हो। कुशासन व्याप्त हुँदै गए लोकतन्त्र संकटमा पर्छ। भ्रष्टाचारका घटनालाई उदांगो पार्दै दोषीलाई कारबाही सुनिश्चित गरी किनारा लगाउन सके मात्र लोकतन्त्र सार्थक एवं जीवन्त हुन्छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा नागरिक समाजको महत्वपूर्ण योगदान छ। वर्तमान अवस्थामा लोकतान्त्रिक गणतन्त्र जोगाउन सुशासनको प्रत्याभूति हेतु भ्रष्टाचारविरूद्धको आन्दोलनलाई उचाइमा पु¥याउन आवश्यक छ। नागरिक समाजको अबको कार्यादेश भनेकै सुशासनका लागि शान्तिपूर्ण हस्तक्षेप हो। नागरिक समाजको अबको मार्ग भनेकै भ्रष्टाचारविरूद्धको बृहत् अभियान÷आन्दोलन हो। त्यस्तो आन्दोलन राजनीतिको शुद्धीकरणका लागि हुनुपर्छ। त्यस्तो आन्दोलनमा समाजको हरेक तह र तप्का जोडिनुपर्छ। त्यस्तो आन्दोलन लोकतन्त्रको विकल्प खोज्ने नभई लोकतन्त्रको जरालाई अझ गहिरो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। नागरिक समाजको त्यस्तो प्रयासले लोकतान्त्रिक गणतन्त्रलाई जोगाउँछ र दिगो बनाउँछ। –रासस

  • न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरु नै फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्:मेयर बालेन

    न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरु नै फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्:मेयर बालेन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेेहरु फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्।

    आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले, ‘सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’, प्रश्न गरेका छन्।

    दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा सडक विभागले बनाएको मापदण्ड हेर्न सुझाव दिँदै उनले त्यही मापदण्ड पालना गर्न फुटपाथ बढाएको आक्रोश व्यक्त गरेका छन्।

    उनले भनेका छन्, ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरुसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ। विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ।’

  • जस्तो सुकै भएपनि आफ्नै देश प्यारो लाग्ने रैछ : मनीषा तिमिल्सिना (भिडियोसहित)

    जस्तो सुकै भएपनि आफ्नै देश प्यारो लाग्ने रैछ : मनीषा तिमिल्सिना (भिडियोसहित)

    तनहुँ दुलेगौडाकी मनीषा तिमिल्सिना विगत नौं महिनादेखि क्यानडामा बस्दै आएकी छन् । उनी विद्यार्थी भिसामा त्यहाँ पुगेकी हुन् । क्यानडा बसाइका क्रममा उनले भोगेका र देखेका अनुभव यस्तो छः

    नमस्कार,

    मेरो नाम मनीषा तिमिल्सिना हो । म विगत ९ महिनादेखि क्यानडामा बसोबास गर्दै आएको छु । म विद्यार्थी भिसामा क्यानडा आएको हूँ । केही रहर र केही बाध्यताहरुलाई दुईवटा सुटकेसभित्र प्याक गरेर वैदेशिक यात्रा तय गर्नु भन्ने कुरा सजिलो थिएन । सजिलो नहुँदा नहुँदै पनि आफूले लिएको निर्णयलाई अगाडी बढाउँछु भन्ने आशाका साथ म सेप्टेम्बर इन्टेकमा क्यानडा आएको थिए ।

    यहाँ आउने वित्तिकै यहाँ चै गर्छु भन्दाभन्दै पनि अवसरहरु नपाउने अवस्था भइसकेको रहेछ । जब म यहाँ आएको थिए । मान्छेले म भाडा नै धुन्छु है, म ट्वाइलेट नै सफा गर्छु है भन्दा पनि नपाउने अवस्था थियो । नेपालमा चै एक विदेशमा ट्वाइलेट सफा गर्ने काम पाउछ रे, ए भाडा सफा गर्ने काम पाउछ रे भन्ने जस्तो होहल्ला थियो । त्यस्तो भने जस्तो कुनै पनि कुरा यहाँ छैन । एउटा संघर्ष गर्नुपर्छ ।

    संघर्ष गर्दैगर्दा पनि कहिँले काहीँ भाग्यले साथ दिँदैन । अहिलेको अवस्था राम्रो भएता पनि सुरुका दिनहरुमा फरक भाषा, फरक संस्कृति, फरक रीतिरिवाजसँग घुलमिल हुनु, यहाँको नीतिनियम थाहा पाउनु, यहाँ यस्तो हुदो रैछ भनेर बुझ्नलाई समय लाग्यो ।

    गाडी चढे पनि हराउने । केही किनेर खाउँ भने पनि मैले ल्याएको पैसा सकिने हो कि । भोलि जागिर नपाएर घरबाट मगाउनु पर्ने हो कि भन्ने एउटा पीरले सताउने । यस्ता धेरै कुराहरु थिए ।

    यस्ता धेरै स्ट्रेस हुँदाहुँदै पनि, फेरि एउटा विद्यार्थी भिसामा भएको मान्छेलाई पढाइको प्रेसर पनि एकठाउँमा छुट्टै नै हुने । अनि केही गर्न पाए त मेरो परिवारलाई मैले सपोर्ट गर्न सक्थें ।

    दुई रुपैयाँ नै किन नहोस् मेरो परिवारलाई मैले पढाउन पाए हुन्थ्यो भन्ने टेन्सन वा स्ट्रेसले सधैं सताइनै रहन्थ्यो । मन भुल्दैछ, जब खोज्दैछ केही गर्दैछ तर चाढपर्व आइदिने । यहीँबीचमा कोही झ्याप्प नेपाल गइदिने । अनि आफ्नो परिवारको याद आइदिने । नेपाल जाउँजाउँ हुने । जान पाए नि हुने भन्ने कुराहरु धेरै हुँदाहुँदै पनि, गाहे हुँदा हुँदै पनि मेहेनत गरेअनुसारको पेब्याक पाउँदा भने ओहो मैले गरे भने चै नेपालमा काम गर्दाभन्दा यहाँ धेरै पाउने रैछु ।

    यहाँ मेरो मेहनतको कदर हुने रैछ भन्ने भावना चै मेरो मनमा पैदा भएको छ । मैले नेपालमा पनि काम गर्थे । दिनरात भनेर नेपालमा दुई ठाउँमा काम गर्दा बल्लतल्ल २० २५ हजारभन्दा बढी कमाउन सक्दिन थिए । मैले चाहाना भएर पनि परिवारलाई दिन सक्दिन थिए ।

    यहाँ मैले एक दिनमात्र काम गरे भने पनि त्यति पैसा कमाउन सक्ने रैछु । महिनाभरी मैले काम गरे भने छब्बिसौ गुणा बढी कमाउन सक्ने रैछु है । मेरो मेहेनतको कदर हुने रैछ है । तैले घरको याद गरे पनि, नेपाल सम्झिए पनि तेरो भविष्य राम्रो हुँदै छ है । त मेहेनत गर्न आएको हो है भन्ने एउटा मोटिभेसन मलाई मिल्छ ।

    जति जे भए पनि आफ्नो देश, आफ्नो परिवार भन्ने कुरा मनमा हुन्छ । जति नै झुत्रेझाम्रे भएपनि आफ्नै आमा राम्रो लागेजस्तो आफ्नो नेपाल सधैं प्यारो लाग्छ ।

    कोही पनि वैदेशिक यात्रामा भएका मान्छेहरुले म यतै बस्तु, के छ र नेपालमा भन्ने सोच आउनु अगाडी नै मेरो देश राम्रो होस्, मेरो देश विकसित होस् भन्ने सोच पलाओस् ।

    धन्यवाद ।

  • चुनाव अघि सुरु भयो भारतीय प्रधानमन्त्री मोदीको ४५ घन्टे ध्यान

    चुनाव अघि सुरु भयो भारतीय प्रधानमन्त्री मोदीको ४५ घन्टे ध्यान

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ४५ घन्टे ध्यान सुरु भएको छ। लोकसभाको निर्वाचन अघि भारतीय प्रधानमन्त्री मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा गएर ध्यान सुरु गरेका हुन्।

    उनले बिहीवार स्थानीय समय अनुसार साँझ ६ः४५ बजे ध्यान सुरु गरेका हुन्। ध्यान अवधिभरी उनले मौनव्रत पनि राख्ने छन्।

    समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीको ध्यान भोलि जुन १ का दिन साँझसम्म जारी रहने छ।

    १३१ वर्ष अघि स्वामी विवेकानन्दले ध्यान गरेको शिलामा नै प्रधानमन्त्री मोदीले पनि ध्यान गरिरहेका छन्।

    ४५ घन्टामो ध्यानको क्रममा उनले तरल पदार्थको मात्रै सेवन गर्नेछन्। जसमा उनले नरिवलको पानी र अङ्गुरको जुस मात्रै पिउने बताइएको छ। ध्यानको क्रममा मौनव्रत राख्दै उनी ध्यान कक्षबाट बाहिर ननिस्कने पनि बताइएको छ।

    ध्यान अवधिलाई केन्द्रीत गरी प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। रक मेमोरियल शनिवारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ भने निजी डुङ्गामा पनि रोक लगाइएको छ।

    भोलि भारतमा अन्तिम चरणको लोकसभा निर्वाचनका लागि मतदान हुनेछ। अन्तिम चरणको चुनावमा भारतीय प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव लगायतका दिग्गजहरू मैदानमा रहने छन्।

    चुनाव आयोगका अनुसार भारतमा हुने अन्तिम चरणको निर्वाचनका लागि बिहीवारबाट मौन अवधि सुरु हुनेछ। चुनावी प्रचारप्रसार सकिएसँगै भारतीय प्रधानमन्त्री मोदी ध्यानका लागि कन्याकुमारी पुगेका हुन्।

    धर्ममा निकै विश्वास राख्ने भारतीय प्रधानमन्त्री मोदीले आफ्ना पछिल्लो निर्वाचन जस्तै यसपटक पनि धार्मिक यात्रा गर्दै ध्यान गरिरहेका छन्।

    यसअघि सन् २०१४ को निर्वाचनका बेला उनी शिवाजीको प्रतापगढ र २०१९ मा उत्तराखण्डस्थित केदारनाथ गुफा गएका थिए।

    भारतीय प्रधानमन्त्री मोदीले लोकसभा निर्वाचनका लागि उत्तर प्रदेशको वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दिएका छन्।

  • मधेस आन्दोलनमा ढलेको पूर्वप्रधानमन्त्री कोइरालाको सालिक फेरि ठडियो

    मधेस आन्दोलनमा ढलेको पूर्वप्रधानमन्त्री कोइरालाको सालिक फेरि ठडियो

    वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ।

    नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक निर्माण गरेर पुनःस्थापना गरिएको बताए।

    ‘मधेस आन्दोलनको क्रममा गिरिजाबाबुको सालिक भत्काए पनि उहाँको विचार र आदर्शलाई भत्काउन सकिँदैन’, उनले भने, ‘मधेस, पहाड र हिमालका जनताले पूर्वप्रम कोइरालले लोकतन्त्र स्थापनाका निम्ति गर्नुभएको योगदान नेपालीले नबिर्सने मेरो विश्वास छ।’ उनले सालिक निर्माण ११ लाख र अन्य पूर्वाधार निर्माणमा पाँच लाख खर्च भएको जानकारी दिए।

    ‘प्रदेश सरकारको करिब १६ लाख बजेटमा कोइरालाको पूर्णकदको सालिकसहितका अन्य संरचना तयार पारेका छौँ’, उनले भने, ‘कोइरालाको एक सय एकऔँ जन्मजयन्तीका अवसरमा सालिक अनावरण गर्ने कार्यक्रम छ।’

    आगामी असार १८ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायत नेताको उपस्थितिमा सालिक गरिने छ। श्री कोइरालाको नेतृत्वमा दशवर्षे सशस्त्र जनयुद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा समाहित गरिएको हो।-रासस