Blog

  • मुग्लिन–पोखरा सडक विस्तारमा तीव्रता

    मुग्लिन–पोखरा सडक विस्तारमा तीव्रता

    पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ।

    पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक कालोपत्रे गरिएको छ।

    तनहुँको आँबुखैरेनी, डुम्रे, व्यास र म्याग्दे खण्डका विभिन्न स्थानमा कालोपत्रे गरिएको आयोजनाको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार यस खण्डमा ६० प्रतिशत भन्दबढी कार्य प्रगति भइसकेको छ।

    ‘वैशाख २ गतेदेखि एक सय ५५ दिन म्याद थप गरिएकाले थपिएको म्यादभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाएका छौँ’, इञ्जिनियर पाण्डेले भने। कोरोनाका समयमा निर्माण प्रभावित भएकाले सम्झौताअनुरुप काम सम्पन्न नभएपछि सरकारबाट म्याद थप गरिएको उनले सुनाए।

    इञ्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् भने दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीन वटा ठूला पुलको काम भइरहेको छ।

    मुग्लिन–पोखरा सडक विस्तारलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरी कामलाई तीव्रता दिइएको आयोजना कार्यालयले जनाएको छ।

    पश्चिम खण्डको ३८ दशमलव ८८ किलोमिटर सडक निर्माण भइरहेको भन्दै हालसम्म २५ प्रतिशत कार्यप्रगति भएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए।

    उनका अनुसार १५ किमीमा दुई लेनको सडक कालोपत्र भइसकेको छ। राजमार्गअन्तर्गत पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्य ११ निर्माण भइरहेका उनको भनाइ छ।

    ‘पश्चिम खण्डमा करिब दुई हजार दुई सय विद्युत्का खम्बा हटाइनेछ। हालसम्म राजमार्गको दायाँबायाँ रहेका ५० प्रतिशत भन्दाबढी पोल हटाएर काम भइरहेको छ’, इञ्जिनियर पौडेलले भने।

    उनका अनुसार तनहुँ खण्डको खैरेनीटारबाट कोत्रेबारीसम्म र कास्कीको कोत्रेपारिबाट तल्लो गगनगौँडासम्म पोल हटाउने काम भइरहेको छ।

  • सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेट

    सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेट

    प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन नेताबीच भेट भएको हो।

    भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले जानकारी दिए। भेटमा आइतबारबाट संसद्मा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको थियो।

    सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ।

    नेकपा एमालेले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई नेकपा एमालेले गम्भीरताका साथ लिएको छ।

    छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो।’

    यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरुको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको उल्लेख गरे।

    सिंहदरबारमा भएको तीन नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

  • नेपालको पूर्वी क्षेत्रबाट आागमी १० दिनमा मनसुन भित्रिने

    नेपालको पूर्वी क्षेत्रबाट आागमी १० दिनमा मनसुन भित्रिने

    नेपालमा आगामी दश दिनमा मनसुन भित्रिने भएको छ। नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ।

    मनसुनजन्य विपद्बाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरुले सरकारलाई आवश्यक तयारी जुट्न सुझाएका छन्।

    जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने जानकारी दिए।

    उनले यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाई तयारीमा जुट्न सरकार समक्ष आग्रह गरे। राज्यले कुन-कुन ठाउँमा कस्तो आपत्कालीन पूर्वतयारी गर्ने भन्ने बारेमा समयमै ध्यान दिनुपर्ने उनकाे भनाइ थियाे।

    डा. उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नहरुको संकलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताए।

    उनले गृह मन्त्रालय, आपत्कालीन अवस्थामा खटिने सुरक्षा निकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद् पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गरे।

    जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरेको छ।

    यता विपद् पूर्व तयारीमा जुट्न नेपाल रेडक्रस सोसाइटीले ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको छ।

  • भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु

    भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु

    चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु भएको भएको छ। नेपाल पोल्ट्री महासंघ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक संघको संयुक्त आयोजनामा शुक्रबारबाट एक्स्पो सुरु भएको हो। एक्सपो तीन दिनसम्म चल्ने छ।

    एक्सपोको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुरमै अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गरिएको प्रस्ट पारिन्।

    भरतपुर भ्रमण वर्ष २०२४ र अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गर्नु उद्देश्य यहाँको आर्थिक गतिविधि चलयामान बनाउनु रहेको प्रमुख दाहालको भनाइ छ।

    कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गरी भरतपुरमै एक्सपो गरिएको बताए। एक्सपोमा विशेषगरी कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिइने जानकारी दिए।

    एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहने र प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायललगायत देशका कम्पनीहरूको सहभागिता रहेको छ।

    विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न न सक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउन पाठशाला सञ्चालन गरिएको उनले बताए।

    एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिइने छ।

    एक्सपोमा कम लागतमा धेरै अन्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउनेबारे जानकारी दिइने छ। एक्सपोको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले अवलोकलन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

  • दुवै सदनमा आइतबार देखि बजेट माथि छलफल हुने

    दुवै सदनमा आइतबार देखि बजेट माथि छलफल हुने

    संघीय सदनको दुवै सदनमा आइतबार देखि बजेट माथि छलफल हुने भएको छ।

    आगामी आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियाे। माओवादीका सांसदलाई संसदीय दलको बैठक डाकेर प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन समेत दिइसकेका छन्।

    यसैगरी राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेर जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुंगाएका छन्। आज सार्वजनिक भएकाे राष्ट्रिय सभा बैठकको कार्यतालिका अनुसार जेठ २०, २१, २२, २८ र २९ बैठक बस्नेछ।

    सम्भावित कार्यसूची अनुसार जेठ २० गते राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने, लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० निर्माणार्थ प्रस्तुत हुने, मिडिया काउन्सिल विधेयक २०८० माथि सैद्धान्तिक छलफल हुने, सुरक्षित कारोबार विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत हुनेछन्।

    त्यसैगरी, जेठ २१ गते राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने, जेठ २२ गते राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल र छलफलमा उठेको प्रश्नमाथि अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ।

    जेठ २८ गतेको राष्ट्रिय सभाको बैठकमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल, मिडिया काउन्सिल विधेयक, २०८० लाई दफादार छलफलको लागि समितिमा पठाइने छ।

    जेठ २९ गते संवैधानिक निकायका प्रतिवेदन पेस हुने र सुरक्षित कारोबार विधेयक सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल हुने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।

  • माधव नेपाल मसँग सल्लाह गरेर नै कांग्रेसको बैठकमा जानुभएको होः प्रधानमन्त्री दाहाल

    माधव नेपाल मसँग सल्लाह गरेर नै कांग्रेसको बैठकमा जानुभएको होः प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तासमिकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन्।

    शुक्रवार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सत्ता समिकरण तलमाथि नहुने कुरामा ढुक्क हुन पार्टीका सांसदहरुलाई आग्रह गरेका हुन्।

    प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेर नै काँग्रेसको बैठकमा सहभागी भएको बैठकलाई जानकारी गराउनु भएको प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए।

    उनका अनुसार प्र्र्रधानमन्त्री दाहालले आफूले पनि काँग्रेस नेतृत्वसँग भेट्ने गरेको उल्लेख गर्दै त्यस्ता भेटहरुमा कुनै दोधार नहोस् भनेर आपसी छलफल गरेर मात्रै जाने गरेको बताए। प्रधानमन्त्री दाहालले नेताहरु प्रतिपक्षको कुरा सुन्न उनीहरुको बैठकमा जाने गरेको भएपनि वर्तमान सत्ता समिकरण तलमाथि नहुनेमा ढुक्क हुन पनि पार्टीका सांसदहरुलाई आश्वास्त पारेको प्रमुख सचेतक पाण्डेले बताए।

    उनले भने, ‘मिडियाहरुमा पनि आईरहेको सत्ता समिकरणमा नै भएका राजनीतिक दलहरु पनि प्रतिपक्ष दलको बैठकमा गएको भन्ने सनिएको छ। यो कुरा के हो ? भनेर माननीय सदस्यहरुले जिज्ञासा राख्नु भएको थियो। सम्माननीय प्रधानमन्त्रीज्युले बडो रमाईलो ढंगले के भन्नुभयो भने–यो समिकरणको नेतृत्व गरिरहेको म आफैं बुढानिलकण्ठ गएको तपाईहरुले थाहा पाउनु भएन र। म आफैँ पनि गएको थिएँ। यसकारणले कोही कतै जाँदा, सुन्दा ठिकै हुने हुन्छ। हाम्रो समिकरणमा अहिले कतै केही हुँदैन। काँही, केही हुँदैन। तपाईहरुको ढुक्कका साथ अगाडि बढ्नुहोला भनेर उहाँले यो जवाफ दिनुभयो। उहाँ जानु भन्दा अघि हामी राजनीतिक तहमा कहीँ कुरा गर्न जानुपर्‍यो भने कन्फ्युज नहोस् भनेर एक आपसमा सल्लाह गरेर नै जान्छौं। त्यहाँ सल्लाह भएर नै जानुहुन्छ। त्यसकारण समिकरणमा कहीँ त्यस्तो असजिलो आउने हो कि भन्ने जुन आशंका छ। त्यस्तो आशंका गर्नुपर्दैन भन्ने विषयवस्तु पनि राख्नुभयो। माधव नेपाल पनि सल्लाह गरेर नै जानुभएको हो।’

    बैठकमा प्रधानमन्त्री दाहालले वर्तमान सत्ता समिकरणमा असजिलो नआओेस् भन्ने कुरामा पनि आफूहरु सचेत रहेको बताएको पनि माओवादी केन्दले जनाएको छ।

  • सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

    सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

    झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ। कृषि ज्ञान केन्द्रले जिल्लाका सातवटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख अनुदान उपलब्ध गराएको हो।

    केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच लाखदेखि सात लाख ५० सम्म उपलब्ध गराएको जानकारी दिए।

    लाभग्राहीको २५ प्रतिशत र सरकारको ७५ प्रतिशत लागत सहभागितामा सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि अनुदान रकम उपलब्ध गराइएको निमित्त प्रमुख विष्टले बताए।

    मेसिनले प्रतिघन्टा चार सय केजी सुपारी प्रशोधन गर्न सक्ने छ। झापामा तीन हजार हेक्टरमा सुपारी खेती गरिएको छ भने वार्षिक १० हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ। –रासस

  • जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले हात पारे चौथो रारा ट्रेल रन उपाधि

    जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले हात पारे चौथो रारा ट्रेल रन उपाधि

    हिमाली मुगु जिल्लाको रारातालमा सुरु भएको चौथो रारा ट्रेल सेन्टरको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावल र मुगुका अक्कल बडुवालले हात पारेका छन्। पुरुषतर्फ बडुवाल र महिलातर्फ रावल विजयी बनेका हुन्।

    रारातालको सौन्दर्यको प्रचार–प्रसारका लागि नेपाली सेनाले चार वर्षदेखि रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ। हनुमानध्वज गुल्मका अनुसार रारा ट्रेल रनमा महिला र पुरुष गरेर एक सय ९४ जनाले सहभागिता जनाएका थिए।

    एक सय ६९ जना धावकलाई पछि पार्दै छायानाथ रारा नगरपालिका– १४ का अक्कल बडुवाल पहिलो बनेका हुन्। उनले १६ किलोमिटरको दुरी एक घन्टा २ मिनेट १० सेकेन्डमा पार गरे। जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढाले १ घन्टा २ मिनेट ११ सेकेन्ड दोस्रो र कनकासुन्दरी २ जुम्लाकै चन्द्र रावतले १ घन्टा २ मिनेट २१ सेकेनड लगाएर तृतीय स्थान हासिल गरेका थिए।

    ३५ जना धाविकालाई पछि पार्दै जुम्ला गुठिचौर गाउँपालिका– ३ गज्याङकोट गाउँकी राज्यलक्ष्मी रावल प्रथम भइन्। उनले निर्धारित दुरी १ घन्टा १४ मिनेट ३३ सेकेन्डमा पार गरिन्। जुम्ला पातारासी गाउँपालिका– २ पेरेकी कल्पना बुढाले १ घन्टा १४ मिनेट ५२ सेकेन्ड द्वितीय र जुम्लाकै समिता बुढाले १ घन्टा १६ मिनेट ३१ सेकेण्ड लगाएर तेस्रो स्थान पक्का गरिन्।

    ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीलाई जनही क्रमशः ५० हजार,४० हजार, ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ।

    मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायानाथ रारा नगरपालिकाका कार्यवाहक प्रमुख पदमराज मल्ल, जुम्ला हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही र नेपाली सेना उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए।

    रारा ट्रेल रनमा ५१ वर्षका राजाराम बुढा देखि १५ वर्षका दीपेन्द्र रावलसम्मले भाग लिएका थिए। प्रमुख जिल्ला अधिकारी केसीले रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई खेल पर्यटनका हिसाबले पनि अनुकुल भएको सन्देश फैलाइरहेकोमा जोड दिए।

  • हावाहुरीले कास्कीमा १४ घरमा क्षति

    हावाहुरीले कास्कीमा १४ घरमा क्षति

    हावाहुरीले कास्कीमा १४ वटा घर तथा अन्य संरचनामा क्षति पुगेको छ। कास्की प्रहरीका अनुसार बिहीबार बेलुकीको हावाहुरीले कास्कीका विभिन्न गाउँमा क्षति पुर्‍याएको छ।

    कास्की प्रहरीका अनुसार कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले बढी क्षति गरेको छ। मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार रुपा गाउँपालिका–१ च्यार्पे बस्ने नरमाया गुरुङको दुई तले कच्ची घरको टिनको छानो हावाले उडाएको छ। छाना उडेपछि घरभित्र राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति भएको छ।

    त्यस्तै रुपा–२ छापडाँडा बस्ने सोमबहादुर खड्काको घरको छानो उडाउँदा धनसारमा रहेको अन्नपात भिजेर नोक्सान भएको छ। रुपा–२ माझकोटका हर्कबहादुर गुरुङको घरको छाना पनि हावाले उडाएको छ।

    त्यस्तै रुपा–६ जामुने बस्ने चिजामाया गुरुङको बाख्राको खोर र शौचालयको टिनको छाना पनि हावाले उडाएको छ। जामनेकै कसिला गुरुङको घरको छाना पनि उडाएको छ।

    त्यही गाउँका प्रतिक अधिकारी, गंगा गुरुङ, राजकुमार तामाङ, अब्बस अलि मिया, अबदुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्णबहादुर थापा, तसबिरन मिया, जानकी गुरुङको घरमा पनि हावाहुरीले क्षति गरेको छ। त्यस्तै स्थानीय मन्दीरमा पनि क्षति पुगेको प्रहरीको भनाई छ।

  • जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड

    जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड

    जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै सकटमा परेको भन्दै सरोकारवालाहरूले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्।

    राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज आयोजित ‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं न्यूनीकरणका उपाय’ विषयक छलफलमा सहभागी वक्ताहरुले जलवायु परिवर्तनले निम्त्याएको संकटबाट हिमाल बचाउन पहल थाल्नुपर्नेमा जोड दिएका हुन्।

    समितिका सभापति सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको समस्या न्यूनीकरण गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले पहल थाल्नुपर्नेमा जोड दिए।

    ‘संयुक्त राष्ट्रसंघ (युएन) का महासचिव अन्टोनियो गुटेरेस हिमाली भेगका जनताले भोगिरहेका समस्यालाई नजिकबाट अवलोकन गर्दा भावुक भएर अन्तर्राष्ट्रियस्तरमा समेत हिमाली क्षेत्रका समस्या न्यूनीकरणका लागि आवाज उठाए’, उनले भने, ‘हिमाली क्षेत्रमा जलवायुले पारेको असरको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ। सबैले एकजुट भएर ‘हिमाल बचाउन अभियान’ थाल्नुपर्ने छ।’

    समितिका सभापति शेर्पाले जलवायु परिवर्तनको असरका कारण हिमाली क्षेत्रमा पेरका समस्या न्यूनीकरण गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिनुपर्ने भन्दै नीति निर्माण तहबाट यसको पहल थालिने जानकारी दिए।

    समितिका सदस्य मोेहम्मद खालिदले सगरमाथा नेपालसँगै विश्वकै चिनारी रहेको भन्दै जलवायु परिवर्तनले निम्त्याएका संकटबाट सगरमाथा जोगाउन हल हुनुपर्ने बताए।

    सदस्य इन्दिरादेवी पौडेलले राज्यका सबै निकायका सरकार तथा विश्वका अन्य हिमाली मुलुकबीच पनि समन्वय अगाडि बढाएर हिमाली क्षेत्रमा जलवायुले निम्ताएको समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

    खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासील्हमु शेर्पाले जलवायु परिवर्तनको असरका कारण पर्वतीय क्षेत्रमा हिउँ पग्लने, हिमताल फुट्ने जोखिम बढेको भन्दै समयमा सबै पक्ष सचेत रहन आवश्यक रहेकामा जोड दिए।

    ‘जलवायु परिवर्तनले ल्याएको समस्याका कारण प्राकृतिक विपद् निम्तने र यसले हिमाल चढ्न आउने पर्वतारोहीको ज्यान नै जोखिममा पर्न सक्छ’, उनले भने, ‘पर्वतारोहीको उद्धार गर्न उद्धार टोली तयारी अवस्थामा राख्न केन्द्रीय सरकारले पहल थाल्नुपर्छ, हामी सहकार्य गर्न तयार छौं।’

    उपाध्यक्ष शेर्पाले हिमाली क्षेत्रको विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न स्थानमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने माग राखे। उनले सगरमाथामा बढ्दै गइरहेको फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

    ‘पछिल्लो समय सगरमाथा आरोहीले सगरमाथा क्षेत्रमा प्लास्टिकजन्य तथा अन्य नकुइने र नसड्ने फोहरमैला थुप्रिएको छ। यसले सगरमाथा प्रदुषित हुँदै गएको छ’, उपाध्यक्ष शेर्पाले भने, ‘फोहरमैला व्यवस्थापनका लागि केही समय नेपाली सेना तथा अन्य संघसंस्था लागे पनि यसले निरन्तरता नपाउँदा प्रदूषण बढ्दै गएको छ।’ शेर्पाले जलवायु परिवर्तनको असर र समस्या समाधानका विषयमा स्थानीय स्तरमा क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ। –रासस