Blog

  • सात प्रदेशका छैसाठी कलाकार पुस्कृत

    सात प्रदेशका छैसाठी कलाकार पुस्कृत

    तीन दशकदेखि नेपाली ललितकला लेखनमा सक्रिय कलालेखक ज्ञानेन्द्र विवशलाई ६० हजार राशिको ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार’ प्रदान गरिएको छ। उनी नागरिक दैनिकका नियमित स्तम्भ लेखकसमेत हुन्।

    ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले विविध विधामा योगदान पुर्‍याउने सात प्रदेशका ६६ कलाकारलाई सो पुरस्कार प्रदान गरिएकाे थियाे।

    उक्त समारोहमा यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान पूर्व कुलपति किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गरिएकाे थियाे। पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ।

    यसैगरी एक लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरियो।

    पुरस्कार वितरण तथा प्रदर्शनी उद्घाटन समारोहमा प्रमुख अतिथि संस्कृति मन्त्री तामाङले नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ललिलकलाको संरक्षण, सम्वर्द्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएको बताए।

    प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष कार्यहरू गरेको धारणा पनि उनले राखे।

    प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन प्रतिष्ठानले काम गरिरहेको बताए। उनले यसबाट कला सिर्जनमा परिणाम देखिए तापनि गुणात्मक रूपमा अझै परिष्कृत हुन बाँकी रहेको धारणा राखे।

    प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रतिष्ठानको स्थापना कालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्त्व रहेको बताए।

    उनले प्रतिष्ठानको इतिहासलाई गर्वका साथ ग्रहण गर्ने र ललितकलाको उन्नयनका खातिर वर्तमान राम्रो र भविष्य अझै सुन्दर बनाउने कार्यमा प्रतिष्ठान लागेको बताए।

    ‘अनुसन्धानविना उत्कृष्ट सिर्जना हुँदैन। त्यसकारण प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानलाई आफ्नो रणनीति बनाई काम गरिरहेको छ। हामीले नेपाली मौलिक ज्ञान, परम्परा, कला, शिल्पलाई पुनर्जागरणको चरणमा ल्याउन काम गरिरहेका छौं, उनले भने।

    सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाली कलाको महाेत्सवका रूपमा लिइने यस प्रदर्शनी नेपाली ललितकलाको क्षेत्रलाई स्थानीय तहदेखि केन्द्रसम्मको गन्तव्यमा लैजान सफल भएको बताए।

    उनले सातै प्रदेशका १ हजार बढी कलाकारलाई ‘प्रादेशिक प्रदर्शनी २०८०’ मार्फत जोडेर गरिएको यस प्रदर्शनीले ललितकलाका क्षेत्रमा पुनर्जागरण ल्याएको धारणा राखे।

    प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी-२०८० मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ गरेको हो।

  • किसानलाई रोपाइँको चटारो

    किसानलाई रोपाइँको चटारो

    देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि बागलुङका किसानलाई रोपाइँको चटारो छ। सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ।

    जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ।

    जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठअन्तिमदेखि रोपाइँ हुने गरेको छ। मकै लगाएका किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन्।

    जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म रोपाइँ हुने गरेको छ। बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छ भने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ। -रासस

  • बजेटमा जलवायु सम्बन्धी प्रावधानहरु बिरोधाभाषपूर्ण: जलवायु विज्ञ

    बजेटमा जलवायु सम्बन्धी प्रावधानहरु बिरोधाभाषपूर्ण: जलवायु विज्ञ

    जलवायु विज्ञहरुले इनर्जी ट्रान्जिशनको मुद्दामा छलफल सुरु गरेका छन्। काठमाडौंमा ५० जना भन्दा बढी जलवायु विज्ञहरुले सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा उर्जा रुपान्तरणबारे ल्याएको योजना र प्राथमिकतामाथि छलफल सुरु गरेका हुन्।

    उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा सरकारले ल्याएको जलवायु सम्बन्धी प्रावधानहरु केही बिरोधाभाषपूर्ण रहेको बताएका छन्।

    उनीहरुले सरकारले पेट्रोलियम पाइपलाइन बनाउने, पेट्रोलियम अन्वेषण गर्ने जस्ता कार्यक्रमलाई निरन्तरता एकातिर दिने र अर्कोतिर जलविद्युतका आयोजनालाई पनि प्राथमिकतामा राख्नुले समस्या आउने बताए।

    जलवायु परिवर्ततका असर कम गर्न सरकारले लिएको दुई थरीको नीतिले नेट जिरो इमिसनको लक्ष्य प्राप्त गर्नका लागि समस्या हुने प्रकृति रिसोर्स सेन्टर संस्थाका निर्देशक प्रविनमान सिंहले बताए। उनले जलवायु परिवर्तनको सन्दर्भमा उर्जा रुपान्तरण अथवा इनर्जी ट्रान्जिशनको मुद्दा अहिले विश्वव्यापी रुपमा बहसको मुद्दा बनेको उल्लेख गरे।

    उनले जलवायु परिवर्तनको असर न्युनिकरणको उपाय खनिज इन्धनको प्रयोगलाई कम गर्दै नविकरणीय उर्जाको प्रयोगलाई बढाउनु रहेको र ५० जना भन्दा बढी विज्ञहरुको छलफलमा उर्जा रुपान्तरणबाट प्रभावित हुने समुदाय, व्यक्ति, परिवार अथवा व्यवसायहरुको हक हितको अधिकारको विषयमा पनि छलफल गरेको उनको भनाइ छ।

    उनले भने, ‘हामीले उर्जा रुपान्तरणको कुरा गर्दाखेरि त्यो रुपान्तरणबाट प्रभावित हुने समुदाय, व्यक्ति, परिवार अथवा व्यवसायहरुको हक हितको अधिकारको विषयमा हामीले आज छलफल गरेका छौँ। कसरी रुपान्तरणको मुद्दामा न्यायका कुराहरुलाई जोडेर लैजान सकिन्छ भन्ने कुराहरुको प्रमुख विषयवस्तु हो। नेपाल सरकारले यो वर्षको नीति तथा कार्यक्रममा र बजेट पनि ल्याइसकेको अवस्थामा यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा उर्जा रुपान्तरणसँग सम्बन्धित कस्ता खालका कार्यक्रम र प्राथमिकताहरु रहेका छन् भन्ने वस्तुमा आजको छलफल केन्द्रित थियो। नेपाल सरकारले जलवायु सम्मेलनमा प्रश्तुत गरेका रुपान्तरणका लक्ष्यहरु प्राप्त गर्नका लागि नीति तथा कार्यक्रम र बजेटले कस्तो भुमिका खेल्छ भन्ने बारेमा छलफल भएको छ।’

    उर्जा क्षेत्रका सम्बन्धमा सन् २०३० सम्म नेपालले थुप्रै लक्ष्यहरु लिएको तर उक्त लक्ष्य प्राप्त गर्न अझै ठूलो फड्को मार्न जरुरी रहेको विज्ञहरुको भनाइ छ।

    यस्तै,‘जलवायु परिवर्तनको सन्दर्भमा उर्जा रुपान्तरणका लागि सरकारले लिएका केही प्रावधानहरु बिरोधाभाषपूर्ण पनि छन्। जस्तो नेपाल सरकारले पेट्रोलियम पाइपलाइन बनाउने, पेट्रोलियम अन्वेषण गर्ने जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ, तरसँगै जलविद्युतका आयोजनालाई पनि प्राथमिकतामा राखेको छ । दुई थरीको नीतिले नेट जिरो इमिसनको लक्ष्य प्राप्त गर्नका लागि यस्तो नीतिले समस्या दिन्छ,’उनले भने।

    विज्ञहरुले उर्जा क्षेत्रमा नेपाल अहिले सही दिशामा अघि बढिरहेको र प्राथमिकताको दिशामा हिँडेको तर प्राप्त गर्नुपर्ने उपलब्धि प्राप्त गर्न अझै नसकेको उनीहरुको निस्कर्ष छ।

  • एनसिसिएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट: समूहचरणका खेल सम्पन्न

    एनसिसिएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट: समूहचरणका खेल सम्पन्न

    एनसिसिएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको समूहचरणका खेलहरू सम्पन्न भएका छन्।

    समूहचरणको अन्तिम खेलमा पुरुषतर्फ ग्रेट हिमालयले क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरलाई २१ रनले पराजित गरेसँगै समूहचरणका खेल सम्पन्न भएका हुन्। यससँगै सेमिफाइनलमा पुरुषतर्फ काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टर र भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर तथा ग्रेट हिमालय क्रिकेट एकेडेमी र भक्तपुर क्रिकेट सेन्टर भिड्नेछन्।

    ग्रेट हिमालयले क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरलाई पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। समूह ‘बी’ मा हिमालय दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा रह्यो। दुई अंक जोडेको क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुर भने समूह उपविजेता रह्यो।

    समूह ‘ए’ बाट काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौं दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगिसकेको छ। काठमाडौंसँगै अन्तिम चारमा पुगेको भक्तपुर क्रिकेट सेन्टरले भने समान खेलबाट दुई अंक जोड्न सफल भयो।

    ओएसिस क्रिकेट एकेडेमी र बल पार्क स्पोर्ट्स एन्ड इभेन्ट एकेडेमी जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिसकेका छन्।

    सेमिफाइनलका खेलहरू शुक्रबार हुनेछन्। समूहचरणको अन्तिम खेलमा हिमालयले दिएको १३९ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रन मात्रै बनाउन सक्यो।

    क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरका विपिन आचार्यले ४० बलमा सर्वाधिक ६० रन बनाए। स्वरूप श्रेष्ठ १५ र दिनेश सुवेदी ११ रनमा आउट भए। हिमालयका सन्दीप पराजुली, अभिषेक थापा र चन्द्रकान्त पौडेलले समान दुई विकेट लिए।

    त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको हिमालयले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। हिमालयका ईशान पाण्डेले २६ बलमा सर्वाधिक ३९ रन बनाए। दिनेश बुढामगर २१ र समीर कँडेल २० रनमा आउट भए। क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरका भूपेन्द्र चन्द र स्वरूप श्रेष्ठले समान दुई विकेट लिए।

    किरण चन्दको नाममा एक विकेट रह्यो। महिलातर्फ भने भक्तपुरलाई ४३ रनले पराजित गर्दै ललितपुर फाइनलमा पुगेको छ। महिलातर्फ यी दुई टोलीसँगै काठमाडौं जिल्ला पनि सहभागी थियो। काठमाडौं चार खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर उपाधिनजिक पुगिसकेको छ।

    समान खेलबाट दुई अंक जोडेको ललितपुर भने उपविजेता रह्यो। उपाधिका लागि यी दुई टोली शनिबार भिड्नेछन्। समान तीन अंक जोडेको भक्तपुर प्रतियोगिताबाट बाहिरिसकेको छ। समूहचरणको अन्तिम खेलमा ललितपुरले दिएको १२६ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८१ रन मात्रै बनाउन सक्यो।

    भक्तपुरकी सिर्जना घिमिरेले ३२ बल खेल्दै सर्वाधिक १६ रन बनाइन्। अलिशा खड्का ११ रनमा आउट भइन्। ललितपुरकी यशु पाण्डे र मनीषा उपाध्यायले समान दुई विकेट लिए। सविका यादवको नाममा एक विकेट रह्यो। त्यसअघि पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।

    ललितपुरकी यशु पाण्डेले २४ बलमा सर्वाधिक ३९ रन बनाइन्। सविका यादव ३० र मनीषा उपाध्याय १३ रनमा अविजित रहे। भक्तपुरकी अनुशा रोकाले सर्वाधिक दुई विकेट लिइन्। स्वेच्छा खड्काको नाममा १ विकेट रह्यो।

  • प्लाष्टिक, पर्यावरण र मानव स्वास्थ्य

    प्लाष्टिक, पर्यावरण र मानव स्वास्थ्य

    प्लाष्टिकको आविष्कार १८ औँं शताब्दीको उत्तराद्र्धमा बेलायती वैज्ञानिक अलेक्जेण्डर पार्केसले गरेका हुन्। उनको नाममा त्यस बेला प्लाष्टिकलाई पार्केजाइन भनिन्थ्यो। पार्केसले यसको आविष्कार नाइट्रोसेलुलोजद्वारा गरेका थिए। प्रारम्भिक प्लाष्टिक अत्यधिक कठोर थियो। यसलाई तेल र कपुर मिलाएर मुलायम बनाइयो।

    प्लाष्टिक शब्दको उत्पति ग्रीक भाषाको प्लाष्टिककोज शब्दद्वारा भएको हो। जसको अर्थ बनाउन या तयार गर्न भन्ने हुन्छ। प्लाष्टिक बनाउने व्यापारिक विधिका जन्मदाता भने लियो ह्यान्ड्रिकस आर्थर बेकलैण्ड हुन्। उनले प्लाष्टिकको निर्माण सन् १९१० मा फिनोल र फर्मल्डी हाइडको रासायनिक क्रिया गराएर बनाएका थिए। यसपछि प्लाष्टिक निर्माणका नयाँ नयाँ तरिकाहरू आउन थाले।

    इथाइलिनको बहुलिकरण गरेर पोलीइथाइलिनको निर्माण पनि हुन थाल्यो। आज यस्ता पदार्थहरूबाट प्लाष्टिक तयार गरिन्छ, जसको गुणवत्ता र उपयोग बहुमुखी छ। प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यामा पूर्ण–रुपेण घुलमील भइसकेको छ। यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरे पनि कमै हुन्छ।

    पोलेथिन व्यागदेखि लिएर खेलौना, भाँडाकुडा, पाइप, फर्निचर, बट्टा आदि अनेक उपयोगी वस्तुहरुको निर्माण प्लाष्टिकद्वारा हुने गर्छ। यसैले त प्लाष्टिक र शिशालाई आधुनिक रसायनको महत्वपूर्ण खोजको उपनाम दिइएको हो। यी दुई तत्वहरुलाई मात्र हाम्रो जीवनबाट हटाइदिने हो भने जीवन साँघुरो हुन जानेछ।

    यसरी एकातिर प्लाष्टिक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ, भने अर्कोतिर चाडो नगल्ने, नसड््ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयंकर खतरा सावित हुँदै गइरहेको छ।

    मौसम, पानी, किराफट्याङ्ग्रालगायत जीवाणु, विषाणु, लेउ, झ्याउ र ढुसी पनि यसलाई गलाउन असक्षम सावित भइसकेका छन्। अम्ल, क्षार, लवणलगायत अन्य रसायनहरूसँग क्रिया गराउँदा पनि प्लाष्टिकलाई गलाउन नसकिने हुँदा प्लाष्टिकको फोहोर हाम्रो वातावरणमा दिनप्रतिदिन बढिरहेको छ।

    समुन्द्रको तट होस् या हिमाल, मरुभूमि होस या घना जङ्गल, तालतलैया होस् या नदी–नाला लापरबाहिकपूर्वक फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य भएका यी प्राकृतिक संरचनालाई दिनप्रतिदिन कुरुप बनाउँदै गइरहेको छ।

    हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुको उत्पादनमा ईष्टर–थ्यालेट भन्ने तत्व हुन्छ। यो तत्व प्लाष्टिकजन्य वस्तुहरुलाई मुलायम, टिकाउ, दरिलो र वहुउपयोगि बनाउन प्रयोग गरिन्छ। तर प्लाष्टिक र ईष्टर–थ्यालेटको बीच कुनै पनि रासायनिक बन्धन नहुने हुँदा प्लाष्टिक पुरानो हुँदै गएपछि ईष्टर–थ्यालेटका धुलोहरू वातावरणमा फैलिने र श्वासनली, मुख, छाला आदि हुँदै शरीरभित्र प्रवेश गरी मिथोक्सि–एसीडिक–एसीड भन्ने अत्यन्त हानिकारक विष बनाउँछ। यो विषको अत्यन्त सूक्ष्म मात्रा पनि शरीरका विभिन्न अंगहरुका क्रियाशिल कोषहरुलाई मार्न सक्षम छन्।

    विशेषगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको बच्चा र अन्य छिट्टै विकसित हुने कोषहरूलाई मिथोक्सि–एसीडिक–एसीडले चाडै मार्छ। यी कोषहरुको मृत्यु पश्चातव्यक्तिमा नपुंषकता, बाँझोपन, हर्माेनहरूको गडबडी र गर्भ मै बच्चा मर्ने अथवा विकृत बच्चाहरु जन्मने समस्याहरू आउँछन्।

    ईष्टर–थ्यालेट र यसका स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरुमा हजारौँ अनुसन्धान भइरहेका छन् र यो तत्वलाई विभिन्न रोगहरूको कारकतत्वको रुपमा बुझिदै गईएको छ। आज फेरि उही प्रश्न उठ्दछ की, यो समस्याबाट मुक्ति कसरी पाउने ? अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक विसंर्जनले पर्यावरण प्रदूषित गर्नका साथै जनस्वस्थ्यमा ठूलो क्षति पुर्‍याईरहेको छ।

    प्रायःजसो हामी नगल्ने प्लाष्टिकबाट बच्नका लागि यसलाई जलाइदिन्छौ। तर, यसको जलनबाट वातावरणमा कार्बनडाइअक्साइड, कार्बनमनोअक्साइड र अन्य विषालु ग्यासको मात्रा बढ्न जाने हुँदा जनस्वस्थ्यका लागि झन् ठूलो समस्या श्रृजना गर्छ।

    अर्कोतर्फ यसको जलनाट उत्पन्न विशिष्ट उष्माधारीतावाला ग्यासको उत्पादनले पर्यावरण तातिदै जाने र ग्लोबल वार्मिन जस्तो भयावह समस्या उत्पन्न हुन गई जनस्वास्थ्य अझ विकाराल बन्न पुगेको छ। प्लास्टिक बिसर्जनको अर्को तरिका स्वरुप यसलाई हामी खाल्डो खनेर गाडिदिने गर्दछौँ।

    तर, यसो गर्दा प्लाष्टिक हाम्रो आँखाको सामुन्नेबाट केहि छिनको लागी त हट्छ तर सही स्थान र सहि तरिकाले नगाडेमा यसले ल्याउने जैव उत्पादकत्वसम्बन्धी समस्या झन विकाराल छन्। माटोको पत्र भन्दा मुनि प्लास्टिकले आफ्नै पत्र बनाउदा यसलाई छेडेर पानीको आदानप्रदान हुन सक्दैन फल स्वरुप त्यो ठाउँमा बिज अंकुरण हुननसकि जैब उत्पादकत्व घट्छ।

    अङ्कुरण भईहाले पनि जमीनमुनिको प्लास्टिक पत्रलाई छेडेर बिरुवाका जरा गहिराई सम्मपुग्न सक्दैनन्। प्लाष्टिकका गुण भन्दा अवगुण धेरै विभिन्न गुण प्लाष्टिकमा भए पनि नराम्रा पक्षहरू ज्यादा छन्।

    विशेषतः पर्यावरणीय समस्याका साथसाथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखा परिरहेका भयावह रोगहरुका कारण पनि प्लाष्टिकलाई नै मान्न थालिएको छ। यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरुले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरूलाई कडाइका साथ प्रतिबन्ध लगाउदै गएका छन्।

    हाम्रो देशमा पनि पोलिथिनको उपयोग र बिक्री वितरणलाई निरुत्साही गर्न विभिन्न कानुनको व्यवस्था छ। फोहरमैला व्यवस्थापन ऐन ०६८ अुनसार पोलिथनजन्य वस्तुहरूको उपयोग तथा बिक्री वितरण गर्नेलाई १५ हजार देखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । तर हालसम्म कसैमाथि पनि कारवाही हुन सकेको छैन।

    नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थ भन्दा पोलीथिन प्रयोगलाई मात्र निरुत्साही गर्ने खालको कानुन छ। तर प्लाष्टिक भनेको पोलोथिन मात्र हैन, पोलोथिनलाई मात्र निरुत्साही गरेर यस समस्याको समाधान हुँदैन।

    ढिलै भए पनि प्लाष्टिकजन्य पदार्थ र पोलिथिनको अव्यवस्थित बिसर्जनले ढल–निकासमा हुने जामको मर्मत गर्दागर्दा वाक्क भएको काठमाडौं महानगरपालिकाले यो समस्याबाट मुक्ति पाउन पोलिथिन ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यले जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै जाने निर्णय गरेको छ। तर, यसको कार्यान्वयन पक्ष कतिसम्म सफलिभुत हुन सक्छ त्यो त भविष्यले नै देखाउला।

    तथापि यसको प्रयोग गर्ने उपभोक्तालाई पाँच सय र बिक्रीकर्तालाई एक हजारसम्म जरिवाना गर्ने काठमाडौ महानगरपालिकाको नीति मात्र कार्यान्वयन भई दियो भने प्लाष्टिकको प्रयोग निकै हदसम्म नियन्त्रण हुनेछ। वास्तवमा प्लाष्टिक तथा प्लाष्टिकयुक्त वस्तुहरु वातावरण र जनस्वास्थ्यकालागि अत्यन्त हानिकारक तत्व भए पनि यसको उपयोग र बिक्री वितरण यथावत नै चलिरहेको छ।

    प्लाष्टिकबाट बनेका वस्तुका तात्कालिन फाइदा देखेर यसका जनस्वास्थ्यमा र वातावरणमा पर्ने दीर्घकालिन असरलाई आँखा चिम्लिदिने हो भने एक दिन जीव, जीवन र जगतले अपुरणीय क्षतिव्यहोर्नु पर्नेछ। यो दुर्घटनाबाट बच्ने एउटै उपाय भनेको यसको उत्पादनमा नै प्रतिबन्ध लगाउनु हो।

    (डा. हेमराज कोइरासँगको कुराकानीमा आधारित)

  • किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

    किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

    कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ। मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो।

    हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्रयाक्टर वितरण गरिएको हो।

    एउटा ट्रयाक्टरको मूल्य ५६ हजार परेको जसमा किसानले २८ हजार र बाँकी ज्ञान केन्द्रको अनुदान रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिए। सहकारी मार्फत अघिल्लो वर्ष भगवतीटार, ओझागाउँ र लिपेयानीका किसानलाई पाँचवटा ट्रयाक्टर वितरण गरिएको थियो।

    ‘सहकारीले उत्पादन जोड दिँदै आएको छ’, अध्यक्ष बरालले भने। खाद्य उत्पादन, मौसमी तथा बेमौसमी तरकारीखेती पशुपालनमा किसानलाई प्रेरित गर्दै आएको छ। कतिपय किसानले व्यावसायिक कृषिलाई आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका छन्।

    कार्यक्रममा असिना, हुरीबतासजस्ता प्राकृतिक प्रकोपबाट तरकारी र फलफूल जोगाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उपलव्ध गराइएको तीन थान एक सय ५० मिटर जाली पनि वितरण गरिएको थियो। जालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ। -रासस

  • अग्रिम आयकर लगाएकोमा दाल उद्योगी असन्तुष्ट

    अग्रिम आयकर लगाएकोमा दाल उद्योगी असन्तुष्ट

    सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा १०.५ प्रतिशत अग्रिम आयकर लगाउने घोषणा गरेपछि दाल उद्योगी असन्तुष्ट बनेका छन्।

    कच्चा पदार्थ आयातमा १०.५ प्रतिशत अग्रिम आयकर थपिँदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसक्ने नेपाल चामल तेल दाल उद्योग संघले जनाएको छ।

    मिलको कच्चा दाल र गेडागुडी आयातमा १०.५ प्रतिशत भन्सार महसुल बुझाउने व्यवस्था गरेको छ। यसरी करमाथि कर थपिँदा दाल गेडागुडी महँगो हुने संघले जनाएको छ।

    नेपालमा करिब ३५ ओटा दाल उद्योग सञ्चालनमा छन्। दाल उद्योगमा लगभग ३५ अर्बको लगानी छ भने प्रत्यक्ष र अप्रत्यक्ष करिब पाँच हजारले रोजगारी पाएका छन्।

    खुला सीमानाको फाइदा उठाइ अबैध आयातले प्रोत्साहन गर्न पाउने, अनधिकृत तबरबाट दाल भित्रिँदा सरकारको राजस्व गुम्ने, रोजगारीमा प्रत्यक्ष असर पर्ने, अर्बौंको स्वदेशी लगानी डुब्ने, स्वदेशी दाल उद्योग बन्द हुँदा आयातित दालमा भर पर्नुपर्ने र उपभोक्ताले गुणस्तरीय दाल खान नपाउने संघले जनाएको छ।

    स्वदेशी दाल उद्योगले १०.५ प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने हुँदा उद्योग बन्द हुने निश्चित छ। यसले देशको औद्योगिक क्षेत्रमा दीर्घकालीन असर पर्ने हुँदा कच्चा दालमा लागेको अग्रिम आयकर लिने व्यवस्था हटाउन संघका अध्यक्ष कुमुद दुगडले आग्रह गरे।

  • आरसी ३२ र पुल्चोकको बराबरीले बागमतीको शीर्षता यथावत्

    आरसी ३२ र पुल्चोकको बराबरीले बागमतीको शीर्षता यथावत्

    सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने होडमा रहेका आरसी ३२ र पुल्चोक स्पोर्ट्स क्लब बराबरीमा रोकिएका छन्।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलको दोस्रो हाफमा पुल्चोकले पुनरागमन गरेसँगै खेल २–२ गोलको बराबरीमा सकिएको हो।

    बराबरीसँगै दोस्रो स्थानमा रहेको आरसी ३२ ले ११ खेलबाट २३ अंक जोडेको छ। एक खेल कम खेल्दै समान २३ अंक जोडेको बागमती युवा क्लब भने गोलसंख्याका आधारमा शीर्ष स्थानमा यथावत् रहेको छ। ११ खेलबाट २१ अंक जोडेको पुल्चोक पनि तेस्रो स्थानमा यथावत् छ।

    खेलमा आरसी ३२ का किस्मत लिम्बू र आशिष लावतीले गोल गरेका थिए । स्यरब लो तामाङ र सञ्जय सुब्बाले गोल फर्काए। खेलको ३१ औं मिनेटमा किस्मतले गोल गर्दै आरसी ३२ लाई सुरुआती अग्रता दिलाएका थिए। उनले रुद्रबहादुर कार्कीको क्रसलाई हेडिङ गर्दै गोलमा परिणत गरे।

    पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा लिगमा चार गोल गरिसकेका सुजन बलम्पाकी मगरले मिलाइदिएको थ्रु पासमा सुमित मलाहलाई बिट गर्दै आशिषले डी बक्सभित्रबाट सुन्दर गोल गरे।

    तर, दोस्रो हाफमा पुल्चोक खेलमा फर्कियो। ४९औं मिनेटमा लामो पासबाट आएको बललाई स्यरबले नियन्त्रणमा लिँदै आरसी ३२ का डिफेन्डर धीरज विष्टलाई छक्काएर डी बक्स लाइनको माथिल्लो बारतर्फबाट गोल गरे।

    स्यरबको जारी प्रतियोगितामा यो नवौं गोल हो। उनलाई ७ गोल गरेका रोशन क्षत्रीले पछ्याइरहेका छन्। ६८‍औं मिनेटमा सुमित मलाहले सुमन श्रेष्ठका लागि मिलाइदिएको बल आरसी ३२ का डिफेन्डर सञ्जय सुब्बालाई लाग्दै गाेलमा परिणत भएको थियो।

  • हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते

    हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते

    बिहीवार राति आएको हावाहुरीसहितको वर्षाले पर्सामा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्।

    पर्साको विन्दवासिनी गाँउपालिका वडा नम्बर २ गर्दाैलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको हो।

    पर्सा प्रहरीका नायब उपरीक्षक केशर न्यौपानेका अनुसार बिहीवार राति आफ्नै घरको पिढीमा बसिरहेका बेला हुरीले छिमेकीको घरको जस्तापाताको छाना लागेर साह गम्भीर घाइते भएका थिए।

    घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको न्यौपानेले बताए।

    यस्तै बहुदरमाई नगरपालिकामा पनि हवाहुरीले क्षति पुर्‍याएको छ।

    हावाहुरीले वडा नम्बर ५ बर्वा टोलमा रहेको एक घरको छानो खसेको छ। छानोमा च्यापिएर ९ जना घाइते भएका छन्। घटनाबारे भने विस्तृत जानकारी प्राप्त भइनसकेको प्रहरीले जनाएको छ। यस्तै वडा नम्बर ७ भौराटारमा रहेको एनसेलको टावर पनि ढलेको छ।

    प्रहरीलाई प्राप्त विवरण अनुसार एनसेलको टावर ढलेर च्यापिदा एक पुरुष गम्भीर घाइते भएका छन्। उनको पहिचान भने खुलेको छैन। उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

    बिहीवार रातिको हावाहुरीले पर्सा जिल्लामा पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भईरहेको न्यौपानेले जानकारी दिए।

  • डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन

    डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन

    एनसेलका ग्राहकले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन्।

    आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात् अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले रोमिङ डेटा शुल्क घटाउँदै शुल्क परिमार्जन गरेको हो। एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाइएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्यान्ड रहेका छन्।

    परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागु भएको हो। कम्पनीका अनुसार सो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइन्छ र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यकता पर्दैन।