Blog

  • गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु

    गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु

    भारतमा अत्यधिक गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहार, झारखण्ड र ओडिशामा बिहीवार २७ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो। गर्मीका कारण २० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन्।

    बिहारका विभिन्न स्थानमा बिहीवार ४४ डिग्री सेल्यिस तापक्रम मापन गरिएको छ भने ३ जिल्लामा गरी २० जनाको लू लागेका कराण मृत्यु भएको छ।

    यस्तै झारखण्डको पलामू जिल्लामा ५ जनाको मृत्यु भएको छ भने ओडिशा राज्यमा १० जनाको गर्मीका कारण मृत्यु भएको छ।

    भारतको विभिन्न राज्यमा पछिल्लो केहीदिन यता तापक्रम उच्च स्तरमा पुगेको छ। जसका कारण विभिन्न राज्यमा रेड अलर्ट जारी गरिएको छ भने बाहिर काम गर्ने मजदुरहरूलाई गर्मीमा काम नगर्न निर्देशन दिइएको छ।

    झारखण्डको पलामूमा बिहीवार ४७ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ। यस्तै राजधानी दिल्लीमा पनि बुधवार ४२ डिग्री तापक्रम मापन गरिएको थियो भने गुजरातमा ४५ देखि ४६ डिग्री तापक्रम मापन गरिएको छ।

    राजस्थानमा गत साता मात्रै ४२ डिग्री तापक्रम पुग्दा गर्मीका कारण ५ जनाको मृत्यु भएको थियो।

    भारतीय मौसम विभागका अनुसार आगामी केही दिन अझै बिहारसहित देशका विभिन्न भागमा तापक्रमको स्तर बढ्ने छ। त्यसकारण अनावश्यक घरभन्दा बाहिर ननिस्कन र सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

    अत्यधिक गर्मीकै कारण भारतका विभिन्न राज्यमा विद्यालय, कलेज तथा कार्यालयहरू पनि बन्द गरिएका छन्।

  • सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिता

    सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिता

    सिटिजन्स बैंकले आफ्ना ग्राहकसँगको संलग्नता बढाउन ‘पार्टनर फर प्रोग्रेस’ नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ। व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने व्यक्ति वा संघ संस्थालाई सबैमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको हो।

    कुनै पनि व्यक्तिको वास्तविक जीवनको सफलताको कथा अरूलाई प्रेरणाको स्रोत बन्न सक्ने भएकाले भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। भिडियोलाई मोबाइल भिडियो वा फेसबुक रिलको रूप दिएर प्रतियोगितामा समावेश हुन सकिनेछ।

    एक मिनेटसम्मको भिडियो बनाएर फेसबुकमा अपलोड गरी बैंकको फेसबुक पेज ट्याग गरेर भिडियो सार्वजनिक गर्नुपर्ने बैंकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय भिडियोलाई सम्मान स्वरूप नगद पुरस्कार क्रमशः ५० हजार, ३० हजार र २० हजार रूपैयाँ पाउने र प्रतियोगिता जेठ महिनाभर सञ्चालन हुने बैंकले जनाएको छ।

  • सिद्धार्थ बैंकले वित्तीय व्यवस्थापन कर्जा सुविधा दिने

    सिद्धार्थ बैंकले वित्तीय व्यवस्थापन कर्जा सुविधा दिने

    सिद्धार्थ बैंकले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रोद्वारा प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङ ल्हामु गाँउपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले संयुक्त रूपमा सम्झौतामा हस्ताक्षर गरेका छन्।

    सम्झौता अनुसार नेपाल सरकार वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने सो आयोजनामा सिदार्थ बैंकले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा सहयोग प्राप्त हुने च्यालेन्ज फन्ड प्रवाह गर्नको लागि साझेदार बैंकको रूपमा भूमिका निर्वाह गर्नेछ।

  • बेलायतमा गँड्यौला चिन्ता

    बेलायतमा गँड्यौला चिन्ता

    बेलायती गँड्यौलाहरू दिनदिनै मर्न थालेको भन्दै वैज्ञानिकहरू चिन्तित हुन थालेका छन्। गँड्यौला किन दिनदिनै सखाप हुन थाले भन्नेबारे गम्भीर अध्ययन आवश्यक रहेको भन्दै सरकारसँग यसका लागि वैज्ञानिक समुदायले आग्रह गरेका छन्। बेलायतको जमिनमुनि बस्ने गँड्यौला २५ वर्षमा एक तिहाईको संख्याले घट्न थालेको विज्ञहरूको राय छ। यसले माटोको स्वास्थ्यमा गम्भीर हुनुपर्ने देखिएको मात्र नभई अन्न उब्जनीमा समेत प्रभाव पार्ने बताइएको छ।

    गँड्यौलामाथि गत वर्षदेखि मात्र अनुसन्धान थालिएको हो। प्लोस वन जर्नलमा अध्ययन गर्दै अध्येताहरूले प्रतिवर्ष २.१ प्रतिशतले गँड्यौला घट्दै गइरहेको बताइएको थियो। सो हिसाबले प्रत्येक २५ वर्षमा एक तिहाई गँड्यौलाको संख्या सखाप भएको अनुमान गरिएको हो। सो अध्ययनपछि पनि सरकारले कुनै कार्यक्रम नल्याइएको माटो वैज्ञानिक ज्याकी स्ट्राउड बताउँछिन्। उनको भनाइमा बेलायतमा लामो समयदेखि माटोको अध्ययन गरिएको छैन। जसका कारण वातावरणीय नीतिमा दशकदेखि कुनै परिवर्तन अएको छैन। अध्ययनको कमीका कारण तथ्यांकपरक नीतिनिर्माण तथा निर्णय हुन नसकिरहेकोतर्फ उनले ध्यानाकर्षण गराएकी छन्।

    गँड्यौला अध्ययनका प्रमुख तथा क्याम्ब्रिज विश्वविद्यालयकी प्राणीविज्ञ जेम्स पियर्स हिगिन्स भन्छन्, ‘हाम्रो अध्ययनले अवस्था गम्भीर भएको देखाइरहेको छ। गँड्यौला हाम्रो पर्यावरणको महत्त्वपूर्ण हिस्सा हो। बिरुवाको पोषणका लागि ती नभई नहुने र माटोका लागि अमृतदायक प्राणी हुन्।

    गँड्यौलाकै कारण भुइँमा झरेका पातहरू उसको भोजन हुन गई त्यो मलमा परिणत हुन्छ। त्यसलाई सुनौलो मल पनि भनिन्छ। गँड्यौलाको कमीसँगै त्यस्ता सुनौला मलको पनि अभाव हुन गई उत्पादनमा ठूलो कमी हुने वैज्ञानिकहरू बताउँछन्।

    केही वैज्ञानिक भने गँड्यौलाको संख्या घटेकातर्फ उति गम्भीर छैनन्।

    गँड्यौला घटे पनि कुन र कति संख्या भनी निक्र्यौल गर्न नसकिएकाले यसमा अझै अध्ययन बाँकी रहेको लंकासायर विश्वविद्यालयका प्राध्यापक तथा अर्थवर्म रिसर्च ग्रुपका सहसंस्थापक केभिन बट बताउँछन्।

  • आज चार वटा संसदीय समितिको बैठक बस्दै

    आज चार वटा संसदीय समितिको बैठक बस्दै

    आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने छ।

    आजको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ।

    त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपंछी विकास मन्त्रालयसँग छलफल हुनेछ।

    त्यसअघि बिहान साढे १० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्युनिकरणका उपायहरु, सगरमाथा क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसर एवं आगामी कार्यदिशाका बारेमा छलफल हुनेछ।

    त्यस्तै दिउँसो साढे १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरुका सम्बन्धमा छलफल हुनेछ।

  • बजेटले अर्थतन्त्र चलायमान बनाउने देखिएन: परिसंघ

    बजेटले अर्थतन्त्र चलायमान बनाउने देखिएन: परिसंघ

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट सन्तुलित देखिए पनि अर्थतन्त्रलाई चलायमान बनाउने नदेखिएको टिप्पणी नेपाल उद्योग परिसंघले गरेको छ। परिसंघले दिएका कतिपय सुझाव बजेटमा समेटिए पनि सार्वजनिक गरिएको बजेटले विद्यमान चुनौतीको समना गर्न नसक्ने जनाएको छ।

    बजेटका धेरै पक्षहरू राम्रा हुँदाहुँदै पनि कतिपय सम्बोधन गर्नैपर्ने विषय छुटेको बताएको छ। ‘विद्यमान शिथिल अर्थतन्त्रलाई माथि उकास्न ‘स्टिमुलस प्याकेज’ आउने विश्वास हामीले गरेको थियौं तर आउन सकेन’ संघले जारी अर्थतन्त्र चलायमान नहुँदा सरकारले अपेक्षा गरेको राजस्व संकलन हुन गाह्रो हुन सक्छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक ऋण ३७.५ प्रतिशतले बढेको छ। यसले लगानी योग्य रकममा दबाब सिर्जना गर्ने हो कि भन्ने परिसंघको आशंका छ।’

    ऋण लिनु सरकारको बाध्यता होला तर ऋणको दायित्वका कारण पुँजीगत खर्च घटाउनुपर्ने अवस्था नआओस् भन्नेतर्फ सचेत बन्न परिसंघले आग्रह गरेको छ।

    आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक गर्ने व्यवस्थाका लागि परिसंघले पुनः आग्रह गरेको छ। विगतका बजेटमा समेत समेटिएको तर कार्यान्वयन नभएका परियोजना यसपटकको बजेटमा पनि परेको परिसंघले जनाएको छ।

    बजेटमार्फत लिइएको ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन आगामी मौद्रिक नीति खुकुलो र विस्तारकारी हुनुपर्ने ठहर परिसंघको छ। ‘विनियोजन गरिएको पुँजीगत लगानी गर्न बजेटको प्रभावकारी कार्यान्वयन अति आवश्यक छ,’ परिसंघले भनेको छ, ‘बजेटको सफल कार्यान्वयनका लागि बजेट कार्यान्वयनको समय अगावै स्पष्ट खाकासहित सम्बन्धित निकायलाई थप जिम्मेवार एवं उत्तरदायी बनाउन परिसंघ आग्रह गर्दछ।’

    बजेटको सफल कार्यान्वयनका लागि परिसंघले विगतमा जस्तै आगामी दिनमा पनि रचनात्मक भूमिका निर्वाह गर्ने बताएको छ। आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि परिसंघले सुरु गरेको ‘बजेट वाच’ कार्यक्रममार्फत सरोकारवाला निकायहरूसँगको छलफललाई निरन्तरता दिने जनाएको छ।

    परिसंघले दोस्रो चरणको आर्थिक सुधारमा जानुपर्छ भन्ने विषय राख्दै आएको र बजेटले यो विषय सम्बोधन गर्नु सकारात्मक भएको बताएको छ । बजेटले आर्थिक सुधारका लागि संरचनागत सुधार र व्यावसायिक वातावरण सुधारलाई प्राथमिकतामा राखेको हुँदा प्रभावकारी कार्यान्वयन हुनेमा परिसंघ विश्वस्त रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    कृषि, ऊर्जा, सूचना प्रविधि विकास, पर्यटन, उद्यमशीलता र औद्योगिक विकासलाई रूपान्तरणकारी क्षेत्र तोक्दै बजेटका प्राथमिकता क्षेत्र तोकिनुलाई राम्रो पक्षका रूपमा परिसंघले लिएको छ।

    परिसंघले समृद्ध अर्थतन्त्र निर्माणका लागि उद्योग र लगानीसँग सम्बन्धित कानूनमा सुधार अपरिहार्य रहेको भन्दै अध्ययनसहित सुझाव नै दिएको थियो। बजेटले औद्योगिक व्यवसाय ऐन, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमित गर्ने) ऐन, दामासाही ऐन, श्रम ऐन, औद्योगिक क्षेत्र सञ्‍चालन तथा व्यवस्थापन नियमावली र हेजिङ नियमावलीमा समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ।

    डेरिभेटिभसम्बन्धी कानून तर्जुमा गर्ने, वन ऐन र जग्‍गाप्राप्ति ऐनलाई समयानुकूल बनाइ लगानी सहजीकरण गर्ने, कम्पनी ऐनमा संशोधन गरी दर्ता, नियमन र खारेजी प्रक्रिया लगायतका कार्यलाई सरलीकृत गरिने भनिएको छ।

    बजेटले परिसंघले धेरै अगाडिदेखि उठाउँदै आएको बौद्धिक सम्पत्ति र उधारो कारोबारसम्बन्धी कानून ल्याउनुपर्ने विषयलाई सम्बोधन गर्दै यी कानून ल्याउने भनिएको छ, जसको परिसंघले स्वागत गरेको छ।

  • ‘हश मनी’ मामिलामा ट्रम्प दोषी, ११ जुलाईमा सजाय सुनाइने

    ‘हश मनी’ मामिलामा ट्रम्प दोषी, ११ जुलाईमा सजाय सुनाइने

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ‘हश मनी’ मामिलामा दोषी ठहरिएका छन्। न्यूयोर्कको एक अदालतले उनलाई हश मनी मामिलामा दोषी ठहर्‍याएको हो।

    बीबीसीका अनुसार दोषि ठहरिएका ट्रम्पलाई ११ जुलाईका दिन सजाय सुनाइने छ।

    अमेरिकाको इतिहासमा पहिलोपटक कुनै पूर्व राष्ट्रपतिविरुद्ध आपराधिक मामिलामा सुनुवाई भएको र दोषी हठरिएका छन्।

    अमेरिकाका राष्ट्रपति जो बाइडनले कोही पनि व्यक्ति कानूनभन्दा माथि नरहेको प्रक्रिया दिएका छन्।

    ट्रम्प यसैवर्ष हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार छन्।

    ट्रम्पमाथि २०१६ मा भएको राष्ट्रपति चुनावभन्दा पहिले पोर्न स्टार स्टर्मी डेनियल्सलाई केही नबोल्नका लागि रकम दिएको विषय लुकाएको र आफ्नो व्यावसायीक रेकर्डमा हेरफेर गरेको ३४ आरोप लगाइएको थियो।

    के हो हश मनी?

    हश मनी शब्दको प्रयोग घुस र ब्ल्याकमेल जस्ता कार्यका लागि गरिन्छ। त्यसबाहेक केही विशेष परिस्थितिमा पनि यसको प्रयोग गरिन्छ। जस्तैः आफ्नो कुनैपनि अनैतिक वा गैरकानूनी कामलाई लुकाउनका लागि कसैलाई दिइएको रकम हश मनी हो।

  • महिला अधिकारको अर्थ

    महिला अधिकारको अर्थ

    मे २८ तारिख विश्वभर महिला अधिकारवादीले महिला स्वास्थ्यका लागि काम गर्ने दिनको रूपमा मनाउँछन्। अहिले छोटकरीमा यो दिनलाई ‘महिला स्वास्थ्य अधिकार दिवस’ भन्ने गरिन्छ।

    सन् १९८७ मा दक्षिण अमेरिकाको कोष्टादरिकामा यौन तथा प्रजनन अधिकारका लागि विश्व महिला सञ्जाल (डब्लुजिएनआरआर) को बैठकमा उपस्थित सदस्यहरूद्वारा यो दिनलाई महिला स्वास्थ्यका लागि काम गर्ने दिनका रूपमा सुरु गर्ने निर्णय गरी महिलाको प्रजनन तथा यौन स्वास्थ्य अधिकारका लागि अभियानका रूपमा विश्वभर नै सुरु गरे। महिलावादीहरूकै प्रयासले सन् १९९९ मा दक्षिण अफ्रिकी सरकारद्वारा यो दिवसलाई सरकारी मान्यता दिइयो। त्यसपछि बिस्तारै संसारभर यो दिवस फैलिँदै गयो।

    हाम्रो देशमा पनि यो दिवस मनाउन थालिएको २० वर्षभन्दा बढी भइसकेको छ। गणतन्त्र प्राप्तिपछि नेपालका लागि यो दिवस अझ विशेष बनेको छ। यो दिवस हाम्रो गणतन्त्र दिवसकै दिन पर्छ। स्वास्थ्य अधिकारको मागसँगै पहिलो गणतन्त्र प्राप्तिको हर्षोल्लास का साथ महिलाहरूद्वारा बानेश्वरमा यो दिवस मनाएको स्मृतिपटलमा अझै ताजा छ। यस वर्ष यो दिवसको नारा ‘चुनौती र अवसरले भरिएको यो कठिन समयमा परिचालन’ रहेको थियो।

    नेपाली महिला अधिकारकर्मीको नाताले मलाई यो नारा अत्यन्तै सान्दर्भिक लागेको छ। नेपालको हालको आन्तरिक राजनीति, भूराजनीतिक स्थिति, अन्तर्राष्ट्रिय प्रभाव सबैलाई हेर्दा अहिले महिलाको प्रजनन तथा यौन स्वास्थ्य अधिकारका साथै देशको गणतन्त्र नै खतरामा परेको हो कि ? भनी भान दिलाउने स्थिति छ। तर यो स्थितिलाई संवेदनशील तरिकाले विश्लेषण गरी प्रतिबद्ध भएर काम गर्ने नेतृत्व, सरकार तथा महिला अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिहरू हुने हो भने यो स्थितिले धेरै मौका पनि सिर्जना गर्न सक्छ भन्ने लाग्छ।

    यसका लागि जति राजनीतिक नेताहरूमा गणतन्त्रको बारेमा सही विश्लेषण गर्ने क्षमता तथा त्यसलाई जोगाउने प्रतिबद्धता छ, त्यति नै महिला अधिकारका लागि क्रियाशील व्यक्तिहरूमा महिला स्वास्थ्यका मुद्दाहरू विशेषतः यौन तथा प्रजनन स्वास्थ्यका मुद्दाहरूलाई सही विश्लेषण गर्ने, बुझ्ने क्षमता एवं त्यसका लागि काम गर्ने प्रतिबद्धता छ।

    हरेक प्रदेशको पहिचानलाई पहिलेदेखि स्थापित सोच र शासकीय पद्धतिले पछाडि पार्न खोज्यो भने नागरिकको आत्मनिर्णयको अधिकार कुण्ठित गर्न खोज्यो भने गणतन्त्र धराशायी हुन्छ। त्यसैगरी, महिलाको यौन तथा प्रजनन अधिकारको सुनिश्चितता सदियौँदेखि स्थापित विभेदकारी मूल्य/मान्यता प्रयोग गरी महिलाको शरीर र यौनिकतामाथि नियन्त्रण गर्ने परिपाटीको अन्त्य नभएसम्म हुन सक्दैन। यसका लागि महिलाको स्वतन्त्र पहिचान तथा आफ्नो शरीरमाथिको आफ्नो अधिकार हुने स्थिति बन्नु आवश्यक हुन्छ।

    अहिले संसारभर धार्मिक अतिवादी, अतिवादी पहिचानवादी, अतिवादी राष्ट्रवादी, अतिवादी लैङ्गिक अधिकारवादी आदि इत्यादिको नाम र रूपमा जडसूत्रवाद फैलँदो क्रममा छ। यस्ता वादहरूले देशको अस्तित्वलाई खतरामा पुर्‍याउँछन्। त्यसको प्रत्यक्ष असर महिलाको पहिचान र शरीरमा पर्छ।

    उदाहरणका रूपमा अहिले भइरहेको इजरायल र प्यालेस्टाइनको युद्ध, अफगानिस्तानको तालिबानीकरण, बढ्दो धार्मिक अतिवादीहरूका कारण संयुक्त राष्ट्रल सङ्घभित्र हुने छलफल, त्यहाँभित्र भइरहेको ध्रुवीकरणलाई हेर्न सकिन्छ। यी सबै अवस्थामा सबैभन्दा बढी प्रभावित देशका सीमान्तकृत, गरिब नागरिक हुन्छन्। तीभित्र पनि प्रमुखरूपमा महिलाहरू प्रभावित हुन्छन्। यस्तो स्थितिमा सैन्यवाद बलियो हुन्छ अनि पितृसत्ता झनै बलियो हुन्छ।

    पितृसत्ता बलियो हुनु भनेको महिलाको पहिचान, श्रम र शरीरमा भइरहेको नियन्त्रण अझै बलियो हुने स्थिति हो। सैन्यवाद बलियो हुनु भनेको बलले अर्काको पहिचानलाई नियन्त्रण गर्न सकिन्छ भन्ने सोच बलियो हुनु हो। अहिलेसम्मका सबै परिणामले यही पुष्टि गरेका छन्। नेपालमा हामीले गत जेठ १५ गते १७ औँ गणतन्त्र दिवस मनायौँ।

    महिनैपिच्छे जस्तो फेरिने प्रदेश सरकार, पटकैपिच्छे विश्वासको मत लिनुपर्ने बाध्यातालाई आफ्नो पौरख देख्ने प्रधानमन्त्री, जस्तोसुकै हत्कण्डा प्रयोग गरेर भए पनि आफ्नो पद जोगाउने मन्त्रीहरू, आफ्नो हठ र अहंकार पुष्टि गर्न सदनलाई नै पटक–पटक बन्धक बनाउने विपक्षी, राजनीतिक पार्टीका कार्यकर्ताहरूको भर्तीस्थलका रूपमा रहेका संवैधानिक आयोग भएको स्थितिमा गणतन्त्र, लोकतन्त्र खतरामा पर्छ नै। र, परेकै पनि छ।

    त्यसैगरी, पार्टीगतरूपमा विभाजित मानव अधिकारकर्मीहरू, दातृसंस्थामुखी कार्यहरू, सोच, गन्तव्य र राजनीति नभएको आन्दोलन, महिला अधिकारलाई परियोजनामा सीमित गरी हेर्नुपर्ने बाध्यात्मक स्थिति जस्ता विभिन्न कारणले अहिले महिला अधिकार पनि खतरामा परेको छ।

    यस्तो स्थितिमा अहिले महिला स्वास्थ्य अधिकारका लागि गरिने पहलहरू गणतन्त्र, लोकतन्त्र सुदृढीकरणको पहलसँगै जानुको अर्को विकल्प छैन। पितृसत्तात्मक संरचनाका साथै माथि उल्लिखित विश्व राजनीतिक परिवेशमा यो त्यति सजिलो नभए पनि असम्भव भने छैन।

    महिला स्वास्थ्य अधिकारका लागि पहिलो सर्त हो, अहिलेसम्म स्थापित सबैखाले संरचनात्मक विभेदको अन्त्य। गणतन्त्रका लागि पनि त्यही आवश्यरक छ। यसका लागि संवेदनशीलताको आवश्यक पर्छ, त्यो हो गणतन्त्र बलियो होस् भन्ने उद्देश्य्ले गरिने सबै कार्यक्रमहरू लैङ्गिक दृष्टिकोणबाट गर्नुपर्छ भने महिला अधिकारका लागि गरिने सबै कार्यक्रमले लोकतन्त्र, गणतन्त्रलाई बलियो बनाएको छ भनी सुनिश्चित गर्नुपर्छ। जसरी हरेक प्रदेश, समूहलाई आफ्नो पहिचान आवश्यक छ, त्यसरी नै महिलालाई आफ्नो स्वतन्त्र पहिचान आवश्यक छ।

    गणतन्त्रमा यी दुवै समूहको अधिकार हो। जसरी हरेक प्रदेश, पालिकालाई आफ्नो निर्णय आफैँले गर्न पाउने, आफ्नो आन्तरिक र बाह्य स्रोतको परिचालन आफैँ गर्न पाउने अधिकार आवश्यक छ त्यसरी नै माहिलालाई पनि आफ्नो आन्तरिक र बाह्य स्रोतमाथिको आफ्नै नियन्त्रण गर्न सक्ने अधिकार आवश्यक छ।

    दुर्भाग्य, अहिलेको हाम्रो सबैखाले नेतृत्वले यो बुझेर पनि बुझ पचाएको आवस्था छ। पहिलेदेखि आफू शक्तिमा रहेका समूह हुन् वा लिंग हुन् कसैले आफ्नो आधिपत्य छाड्न चाहेका छैनन्। त्यसैले नै छिमेकी हुन् वा टाढाका, सबैले आफ्नो प्रभावमा राखेर देशमा अस्थिरता सिर्जना गर्ने स्थिति बनाइरहेका छन्। महिलाको सन्दर्भमा हेर्ने हो भने समाज, परिवार, राज्यलगायतका सबै संरचनामा महिलाको स्वतन्त्र अस्तित्व स्वीकार नगरिएकै कारण देशभर हिंसा बढेको छ। पारपाचुके बढेको छ। देशको समग्र प्रगति रोकिएको छ। प्रत्यक्ष असर परिवारलाई परेको छ। बालबालिका प्रभावित छन्।

    त्यसैले यसपालिको महिला अधिकार दिवसमा भन्न मन लागेको छ–अहिलेको आवश्यकता भनेको महिला अधिकारलाई राजनीतिकरण गर्दै गरिने परिचालन हो। यो वर्ष महिला स्वास्थ्य विशेष गरी प्रजनन तथा स्वास्थ्य अधिकारका सवालमा काम गर्नेहरूका लागि ठूलाठूला मौका आउँदैछ। तीमध्ये, बेइजिङ ३० जनसङ्ख्या सम्मेलन जसलाई हामी आइसिपिडी कार्ययोजना पनि भन्छौं, त्यसको समीक्षा तथा भविष्यको शिखर सम्मेलन (द समिट अफ द फ्युचर) हरू महत्त्वपूर्ण छन्।

    यी सबै सम्मेलनमा एकातिर संसारभर रहेका विभिन्नखाले जडसूत्रवादी देशहरू हाबी हुने अवस्था छ भने अर्कोतिर सामाजिक न्याय र समानतामा विश्वास राख्ने, मानव अधिकार सम्वर्धन गर्नुपर्छ भन्ने देशहरू। यस्तो अवस्थामा नेपाल जस्तो सङ्घीय लोकतान्त्रिक देशले कस्तो निर्णय गर्छ ? कसलाई सहयोग गर्छ ? भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त्यसकै आधारमा नेपाल सरकार कुरामा मात्रै प्रगतिशील, लोकतान्त्रिक गणतन्त्रवादी हो वा गराइमा पनि हो भन्ने संसारलाई विश्लेषण गर्ने मौका मिल्छ। यसले पक्कै पनि आउँदा दिनमा देशलाई संसारले हेर्ने दृष्टिकोण र दिने सहयोग प्रभावित हुन्छ। यस्ता अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना कुरा स्पष्ट राख्न देशभित्र सरकारले लिएको योजना, बनाएको कार्यान्वयनका संयन्त्र, अवलम्बन गरिएका नीतिहरूले मद्दत गर्दछन्। यिनीहरू स्पष्ट भएका खण्डमा नेपाल सरकारको भित्री र बाहिरी रूप एउटै छ भन्ने सन्देश जान्छ।

    अहिले देशभित्र त्यसो गर्ने मौका पनि छ। भर्खरै सरकारको नीति र कार्यक्रम सार्वजनिक भएको छ। सोह्रौ आवधिक योजना बनेको छ। सरकारले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्न सूचकाङ्कहरू तयार गरेको छ। त्यसको आधारमा भिएनआर प्रतिवेदन तयार हुँदैछ। यस्तो सकारात्मक परिवेशलाई गणतन्त्रको आधारका रूपमा रहेको समानता, स्वतन्त्र पहिचान, सामाजिक न्याय र नागरिकहरूको आफ्नो स्रोतमाथिको आफ्नो नियन्त्रण हुन सक्ने स्थितिको ढाँचामा राख्दै अहिलेसम्म भएका कार्यक्रमहरूको विश्लेषण गरी सुधार र सुदृढीकरण गर्नुपर्ने क्षेत्र पहिचान गरी योजना र कार्यान्वयनका संयन्त्र बनाउन सके अहिले देखिएको गणतन्त्र र महिला अधिकार दुवै क्षेत्रमा रहेका चुनौतीलाई अवसरमा परिणत गर्न सकिनेछ।

    त्यसैले अहिलेको आवश्यकता भनेको राजनीतिक नेतृत्व, सरकार, संवैधानिक आयोग सबै तहमा भित्रैदेखि समानता, सामाजिक न्याय र स्रोतमाथिको आफ्नो नियन्त्रणसहितको गणतन्त्र जोगाउने प्रतिबद्धता हो। त्यसैगरी महिला स्वास्थ्य अधिकारमा क्रियाशील समूह तथा व्यक्तिहरूभित्र महिला अधिकार एक राजनीतिक अधिकार हो, यो राजनीतिक चेतबाट विश्लेषण गरिनुपर्छ भन्ने बुझाइ स्थापित हुनुका साथै सोहीअनुसार काम गर्ने प्रतिबद्धता आवश्यक छ।

    महिला अधिकारका लागि महिलाको पहिचान, उत्पादन तथा आफ्नो शरीरमाथिको नियन्त्रण आवश्यक छ भन्ने बुझाइसहितको समुदाय तहदेखि नै आन्दोलनको परिचलान गर्नुपर्छ। यति गर्न सके मात्र महिला अधिकार दिवसको नाराको सार्थकता हुनेछ भने गणतन्त्र बलियो हुने वातावरण बन्न सक्छ। त्यसका लागि सबै तह र तप्काको स्पष्टतासहित प्रतिबद्धता एवं परिचालन आवश्यक छ।

  • महिनावारीमा सफाइ नपुगे यौन रोग

    महिनावारीमा सफाइ नपुगे यौन रोग

    अहिले पनि कतिपय समाजमा महिलामा हुने महिनावारी (रजस्वला) लाई अपवित्र अवस्थाको रूपमा लिइन्छ र सोहीअनुसार व्यवहार गरिन्छ। महिनावारी नियमित र यस्तो बेला योनीको सफाइ नभएमा विभिन्न रोग लाग्छ। महिनावारीका बेला गरिने विभेद र अपमानले कतिपय महिला मृत्युको मुखमा समेत पुग्नुुपरेको महिनावारी स्वच्छता अभियन्ताले औंल्याएका छन्।

    विभिन्न सचेतनामूलक कार्यक्रमसहित बुधबार ‘विश्व महिनावारी सफाइ दिवस’ मनाइएको छ। यस दिवसका अवसरमा आयोजित कार्यक्रममा महिनावारी स्वच्छता अभियन्ताहरूले महिनावारीका बेला सफाइ र सम्मानपूर्ण व्यवहार भए मात्र स्वस्थ महिलाको परिकल्पना गर्न सकिने बताएका छन्।

    महिनावारी प्राकृतिक तर मर्यादित स्थिति रहेकाले योसँग जोडिएर आएका विभेद र यसको व्यवस्थापनमा सबैको ध्यान पुग्नुपर्ने अभियन्ताहरू बताउँछन्। अहिले पनि महिनावारीका बेला नेपालमा सहर र गाउँ दुवै ठाउँमा महिलाप्रति अपमानजन व्यवहार विभेद हुने गरेको महिनावारी स्वच्छतासम्बन्धी काम गर्दै आएको संस्था ग्रिन तारा नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक सलिता गुरुङले बताइन्।

    ‘विकट गाउँमा अहिले पनि छाउपडी प्रथाको अभ्यास कायमै छ, सहरमा पनि महिनावारी भएका महिलालाई पूजापाठ, भान्सामा प्रवेश र चाडपर्व मनाउनबाट वञ्चित गरिन्छ,’ उनले भनिन्।

    महिनावारी प्राकृतिक अवस्था भएकाले विभेदका आँखाले हेर्नु आवश्यक नभएको उनले बताइन्। महिनावारीका बेला गरिने विभेदका कारण विगत तीन वर्षमा चारजनाको छाउगोठमा ज्यान गएको जानकारी उनले दिइन्। ‘महिनावारीका बेला हुने विभेदमा केही सुधार आए पनि पूरै हट्न नसकेको गुरुङ बताउँछिन्।

    ‘हाम्रो अभियानको लक्ष्य नयाँ पुस्ता मात्र हैन, पुरानो पुस्तालाई पनि महिनावारी पाप होइन, नियमित प्राकृतिक प्रक्रिया भएको विषयमा शिक्षा दिनु हो,’ उनले भनिन्।

    महिनावारीमा हुने विभेद अन्त्यका लागि यो विषयमा हरेक व्यक्ति खुलेर बोल्नसक्ने वातावरण निर्माण गर्नुपर्ने बियोन्ड बेइजिङ कमिटीकी कार्यकारी निर्देशक डा. शर्मिला श्रेष्ठ बताउँछिन्। ‘समाजलाई महिनावारी प्राकृतिक प्रक्रिया हो भनेर स्वीकार गर्न सक्ने बनाउन खोजिरहेका छौं,’ उनले भनिन्।

    कतिपय महिलाले लाजका कारण महिनवारीका बेला कष्ट झेलिरहेको समेत उनले बताइन्। ‘कतिलाई जटिल काममा लगाइन्छ, कतिलाई सरसफाइ पुगेको हुँदैन,’ उनले भनिन्।

    महिनावारीको बखत सफाइ नपुग्दा यौनरोग, पाठेघरको रोग लाग्ने र बाँझोपनसमेत हुने जोखिम रहेको बियोन्ड बेइजिङ कमिटीकी उपाध्यक्ष डा. लक्ष्मी तामाङले बताइन्। तामाङका अनुसार महिनावारीका बेला सफाइ नपुग्दा महिलामा ‘लिकोरिया’ नामक रोग लाग्छ। यो रोग लागेमा योनी चिलाउने, योनीबाट सेतो पानी बग्नेजस्ता समस्या निम्तिन्छन्। त्यसपछि विभिन्न खालको यौनरोग लाग्छ। महिनावारीका समयमा सफाइ नपुगेमा कलाइमेडिया भन्ने संक्रमण हुन्छ। यसले पाठेघरको डिम्बवाहिनी नलीमा क्षति पुर्‍याउँछ।

    महिनावारीका बेला सफाइ नपुगेमा गोनोरिया, धातुरोगलगायत जटिल यौन रोेग पनि लाग्छन्। यी रोग लागेका बेला यौन सम्पर्क भएमा अरूलाई पनि सर्छ। संक्रमितले लगाएका भित्री कपडा अरूले लगाएमा पनि यौन रोग सर्छ। गोनोरियाको समस्या छ भने गर्भको बच्चा महिना नपुगी जन्मिने, जन्मेको बच्चामा दृष्टि समस्या हुने जस्ता जटिलता देखापर्ने तामाङले बताइन्।

    महिनावारीमा बेला विभिन्न संक्रमणबाट जोगिन सफा प्याड प्रयोग गर्ने, त्यसलाई तीन/चार घण्टाको अन्तरमा बदल्ने, भित्री लुगा राम्रोसँग घाममा सुकाएर प्रयोग गर्ने जस्ता सावधानी अपनाउन सकिने तामाङ बताउँछिन्।

    कार्यक्रममा महिनावारी सचेतना बढाउन देशभरिबाट विभिन्न निकायका प्रतिनिधि, किशोरी, अभिभावक, महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक सहभागी थिए। उनीहरूले महिनावारीका बेला झेल्नुपरेको विभेद र अप्ठेरो पनि साटासाट गरे।

    नेपाल तथा विश्वभरि कायम महिनावारीसँग सम्बन्धित सबै प्रकारका विभेद र लाञ्छना अन्त्य गर्ने उद्देश्य यो दिवसको रहेको ‘राइट हेयर, राइट नाउ’का राष्ट्रिय संयोजक राजेन्द्र महर्जनले बताए।

  • निजामति कर्मचारी अस्पतालद्वारा १२८ कर्मचारीको आवेदन माग

    निजामति कर्मचारी अस्पतालद्वारा १२८ कर्मचारीको आवेदन माग

    निजामति कर्मचारी अस्पतालले विभिन्न तहका लागि १२८ जना कर्मचारी माग गरेको छ।

    अस्पतालले आज सूचना जारी गर्दै अस्पतालमा रिक्त रहेका नवौंदेखि चौथो तहसम्मका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि १२८ जनाका लागि दरखास्त आह्वान गरेको हो।

    अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायक लगायत पदहरूमा विभिन्न सङ्ख्यामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।

    इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म अस्पतालको वेभसाइटमार्फ अनलाइन दरखास्त दिन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।

    विज्ञापनसहितः