Blog

  • माओवादी सांसदलाई प्रधानमन्त्रीको निर्देशन: ‘बजेट छलफलमा दमदार प्रस्तुति दिनू’

    माओवादी सांसदलाई प्रधानमन्त्रीको निर्देशन: ‘बजेट छलफलमा दमदार प्रस्तुति दिनू’

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना दलका सांसदहरूलाई बजेटको छलफलमा प्रभावकारी ढंगले सदनमा भाग लिन निर्देशन दिएका छन्।

    नेकपा (माओवादी केन्द्र) को आज बसेको संसदीय दलको बैठकमा उनले सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएको माओवादीका सांसद माधव सापकोटाले नागरिक न्युजलाई जानकारी दिए।

    सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद समेत रहेका अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षको लागि अघि सारेको बजेट सन्तुलित र सकारात्मक भएको दलका सांसदहलाई जानकारी गराएका थिए।

    बैठकमा बजेटको छलफलमा सदनमा कसरी भाग लिनेबारे पनि सांसदहरूले सुझाव सहितको धारणा राखेको सांसद सापकोटाले जानकारी दिए।

    प्रतिनिधिसभाको आउने बैठक जेठ २० गतेबाट बजेटमाथिको छलफल सुरु हुनेछ। आगामी आर्थिक वर्षका लागि जेठ १५ गते सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ।

  • काठमाडौं महानगरको नगर सभा अधिवेशन जेठ ३२ गते

    काठमाडौं महानगरको नगर सभा अधिवेशन जेठ ३२ गते

    काठमाडौं महानगरपालिकाको १५ औँ नगर सभा अधिवेशन जेठ ३२ गतेका लागि आव्हान गरिएको छ।

    आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो।

    बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बैठक शुभारम्भ गरेर सञ्चालनका लागि अध्यक्षलाई अनुरोध गरेपछि वडा नं- २२ का अध्यक्ष चिनीकाजी महर्जनले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नं-२२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषयमा धारणा माग गरेका थिए।

    यस विषयमा जवाफ दिँदै प्रमुख शाहले सडकभन्दा सडकपेटी उपभोक्ता धेरै हुने भएकोले पैदल मार्ग विस्तार गर्न लागिएको बताए।

    बैठकले शिक्षक दरबन्दी परिपूर्ति गर्न शिक्षा सेवा आयोगमा माग गर्ने निर्णय गरेको छ। यस सम्बन्धी प्रस्तावमा प्रवक्ता नवीन मानन्धरले रिक्त शिक्षक पदमा स्थानीयबाट पूर्ति गर्नुपर्ने बताए।

    बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्ताबेज सम्पादन एवं प्रकाशन कार्यविधि-२०८१’, ‘श्रम बैङ्क सञ्चालन कार्यविधि २०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि- २०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ।

    यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका- २०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि- २०८१’ संशोधनसहित पारित भएका छन्।

    ६० वर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वैच्छिक अवकाशमा जान चाहने स्वयमसेविकाहरुलाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ। यस्तै सहरी योजना आयोगको सदस्यमा इन्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ।

    बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, विधायन समितिका सदस्य सचिव वसन्त आचार्य र स्वास्थ्य तथा शिक्षा समितिका सदस्य सचिव गोविन्दप्रसाद शर्माले प्रस्ताव पेश गरेका थिए।

  • सत्ता समीकरणमा  फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल

    सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन्। सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गरे।

    वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भने, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।’

    आफूले पनि केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ नसुनाउँदै उनले दलका नेताहरुबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।

    प्रधानमन्त्री दाहालले अन्योलका बीचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसद्मा बजेट प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिए।

    ‘बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ। बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ’, प्रधानमन्त्री दाहाललको भनाइ उद्धृत गर्दै मुख्य सचेतक पाण्डेले भने।

    बैठकमा माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री दाहालले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसद्मा रहेका महत्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताएको उनले जानकारी दिए।

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तुबारे जानकारी गराएका थिए। उनले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकाङ्क्षा समेटिएको स्पष्ट पारेका थिए। बैठकमा १२ सांसदले बजेटका सम्बन्धमा टिप्पणी गरेका थिए। -रासस

  • जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हिमालको संरक्षण गर्नुपर्नेमा सांसदहरुको जोड

    जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हिमालको संरक्षण गर्नुपर्नेमा सांसदहरुको जोड

    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखा परेका असरहरुलाई न्यूनीकरण गर्नका लागि हिमालको संरक्षण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

    राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरुले जलवायु परिवर्तनको असर न्युनीकरण गर्न हिमालको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन्।

    उनीहरुले जलवायु परिवर्तनको असर हिमालहरुमा देखा पर्न थालेको र नजिकैको बस्तीको जनजीवनसमेत प्रभावित हुन थालेको भन्दै यसप्रति समयमै सचेत हुन सरकारलाई ध्यानाकर्षण समेत गराएका छन्।

    बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि हिमाललाई सफा राख्नुपर्नेमा जोड दिए। उनले हिमालको सरसफाई चुनौतीपूर्ण रहेको भन्दै नियमित रुपमा सरसफाइ गर्नका लागि स्थानीय सरकारलाई जिम्मेवारी दिनुपर्ने र हिमालमा भएका हिमतालहरु फुटेर जनजीवन जोखिममा पर्ने खतरा रहेकाे भन्दै अहिल्यै त्यसप्रति सरकारले योजना बनाएर काम गर्नुपर्ने बताए।

    उनले भने,‘हिमाली क्षेत्रमा सरसफाइको चुनौती हो कि भन्ने लाग्यो मलाई। बाहिरबाट गएर कुनै संघ, संस्थाले कुनै सामाजिक सञ्जालमा हालेर एकदिन गएर सफा गरेर हुँदैन। यसनिम्ति नियमित रुपमा योजना गरेर त्यहीँको स्थानीय सरकारलाई नै जिम्मा दिने। गाउँपालिकालाई जिम्मा दिने। त्यसले निश्चित संयन्त्र बनाएर जानुपर्छ भन्नेकुरा सुझाव राख्न चाहन्छु। त्यो स्थायी उपाय हो। हिउँ पग्लिरहेका छन्। हिउँ पग्लिदाँ त्यहाँ थुप्रै हिमताल छन्, ती फुट्दा त्यहाँको जनजिवन जोखिममा पर्ने चुनौती देखियो। त्यसका निम्ति तत्कालै सरकार गम्भीर भएर योजना बनाएर काम गर्नुपर्छ।’

    राष्ट्रिय सभा सदस्य ईन्दिरादेवी गौतमले विश्वका अन्य हिमाल भएका देशहरुले कसरी हिमालको संरक्षण र सरसफाइ गरिरहेका छन् भनेर सिक्न सकिने धारणा राखिन्। उनले हिमालमा रहेका बस्तीमा संकट ननिम्तियोस् भन्नका लागि बेलैमा सचेत हुनुपर्ने भन्दै ठोस योजना बनाइ अहिलेदेखि नै लागू गर्नुपर्ने बताइन्।

    उनले भने, ‘उहाँ (हिमाल) मा रहेका बस्तीहरुमा यहाँ रहेका मानव जातीहरुमा पनि संकट ननिम्त्याओस् भन्नका लागि हामीले बेलैमा सचेत हुन आवश्यक छ। पर्यटन, वन, कृषि मन्त्रालयसमेतलाई राखेर नीति नियमहरु केके बनेका छन् ? कति कार्यान्वयन भएका छन् र आगामी दिनमा पर्यावरणको क्षेत्रमा गर्नुपर्ने कामहरु, जिम्मेवारीहरु के हुन् भन्नेबारेमा ठोस योजना बनाएर अगाडि बढ्नुपर्छ। अन्तर्राष्ट्रिय जगतमा हिमालहरु भएका देशहरु पनि छन्। उनीहरुले त्यहाँको सुरक्षा कसरी गरिरहेका छन् ? त्यहाँको सरसफाइ कसरी गरेका छन् ? त्यहाँको व्यवस्थापन कस्तो छ ? ती कुराबाट पनि हामीले सिक्नुपर्छ। र गर्न सक्ने कुरा हामीले गर्नुपर्छ। त्यसबारे सोचौँ। हिमाली देशहरुबाट पनि हामीले सिकौँ।’

    यस्तै,राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले हिमाली क्षेत्रमा प्लास्टिक प्रयोगलाई वर्जित गर्नुपर्ने र प्लास्टिकको प्रयोग गर्नेलाई कडा कारबाही गर्ने नीति ल्याएर मात्रै नियन्त्रण गर्न सकिने बताइन्। उनलाई हिमाल संरक्षणका लागि आवश्यक उपायहरुको सम्बन्धमा छलफल गरेर सोही निष्कर्षका आधारमा अगाडी बढ्नुपर्ने पनि बताइन्।

    उनले भनिन्, ‘अन्य देशभन्दा नेपाल त जलवायुलाई फिल्टर गर्ने देश हो। फोहोरमैलाको कुरामा बाहिरबाट जानेहरुले प्लास्टिकजन्य कुराहरु अत्यन्त प्रदुषण रहेछ। जसले प्लास्टिक प्रयोग गर्छ त्यसलाई जरिवानाको रुपमा गर्नुपर्‍यो। जरिवाना तोकेनौँ भने छुटाउन सकौँला जस्तो लागेन। सबैभन्दा पहिला प्लास्टिकलाई व्यवस्थित गर्नुपर्‍यो। जथाभावी प्लास्टिक फाल्ने र प्रयोग गर्ने गर्नुभएन। हिमाललाई जोगाउनका लागि कस्ता–कस्ता खालका उपायहरु गर्न सकिन्छ, त्यसप्रति सबैजना संवेदनशील भएर छलफल गरेर अगाडी बढ्नुपर्छ।’

    यस्तै,राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले सरकारले सगरमाथा क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्ने बताए। उनले सगरमाथा क्षेत्रमा ध्यान केन्द्रित गरेर तीन तहको सरकारले एकीकृत योजना बनाएर लागू गर्नुपर्ने बताए।

    उनले भने,‘संघीय सरकारले सगरमाथा अवस्थित गाउँपालिकालाई महत्वको साथ लिनुपर्छ र ध्यान केन्द्रीत गर्नुपर्छ। त्यहाँ बनाउने योजना संघीय, प्रदेश र स्थानीय तहको सरकारहरुको एकीकृत साझेदारीमा योजनाहरु बनाएर लानुपर्छ। हाम्रो समितिले त्यो पहल गरौँ। तीनै तहको सरकारले त्यहाँ ध्यान केन्द्रित गरौँ।’

    राष्ट्रिय सभा सदस्य दुर्गाकुमारी गुरुङले जलवायु परिवर्तनमा असर पुर्‍याउने खालका मानविय क्रियाकलापहरुलाई रोक्नुपर्ने बताइन्। उनले विकसित मुलुकका कारण नेपाललाई मार परिरहेको भन्दै यो विषय अन्तर्राष्ट्रिय मञ्चहरुमा सशक्त ढंगले उठाउनुपर्ने बताइन्। जलवायु संकटको विषयमा देशका आम जनतालाई सुसुचित गराउनुपर्ने उनको भनाइ छ।

    उनले भनिन्,‘प्राकृतिक नियमलाई त हामी बदल्न सक्दैनौँ तर मानविय क्रियाकलापको कारण जलवायु परिवर्तनमा रहेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्न सकिन्छ। यो दिशातर्फ सरकारले योजनावद्ध ढंगले काम गर्नुपर्दछ र हाम्रो जस्तो मुलुक विकसित मुलुकको गतिविधिको कारण मारमा परिरहेको छ, यो विषयमा सशक्त ढंगले अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउनु पर्दछ। क्षतिपूर्तिको माग गर्नुपर्दछ। जलवायु परिवर्तन र त्यसले निम्त्याउने संकटको विषयमा देशका आम जनतालाई निरन्तर सुसुचित गराउने हिसावले र वातावरणीय सन्तुलन कायम गर्ने हिसाबले दीर्घकालिन योजना बनाएर कार्यान्वयन गर्ने तर्फपनि सरकारले पहल लिइरहनु पर्दछ।’

    राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले जलवायु परिवर्तनका असरस्वरुप कुनैपनि बेला अप्रत्याशित घटना हुन सक्ने भन्दै त्यस सम्बन्धमा बेलैमा सचेत हुनुपर्ने बताए। उनले यसका लागि समितिले विज्ञहरुसँग छलफल गरी सरकारलाई निर्देशन दिनुपर्ने धारणा राखे।

    उनले भने, ‘जुन वातावरणीय परिवर्तन भइरहेको छ, त्यसको प्रतिकुलता नेपालमा पनि देखिरहेका छौं। मेरो सुझाव के छ भने हिमाल क्षेत्रमा पर्यावरण जोगाउनका लागि कुन–कुन कार्य भइरहेको छ अहिले ? र राज्यबाट हामी के–के गर्न सक्छौं ? त्यो कुरामा ध्यान केन्द्रित गरेर समितिले विशेष निर्देशन दिनुपर्‍यो । यदि तालहरु फुट्छन्, अप्रत्यासित घटनाहरुको जोखिम हुन सक्छ । राज्यले अवश्य यसमा केही गरिरहेको होला । यससम्बन्धी विज्ञहरुलाई बोलाएर छलफल गरौँ । यससम्बन्धी के निर्देशन दिन सक्छौँ त्यसमा पहल गरौँ।’

  • गर्मीमा कपालको हेरचाह कसरी गर्ने ? (भिडियोसहित)

    गर्मीमा कपालको हेरचाह कसरी गर्ने ? (भिडियोसहित)

    गर्मी भन्ने बित्तिकै चर्को घाम लाग्ने मौसम हो । ठिक्कको घाम कपाललाई लाभदायक मानिन्छ । नरम घाममा ‘भिटामिन डी’ पाइन्छ । यो भिटामिनले कपालाको जरा वृद्धि गर्छ । तर लामो समय चर्को घामको सम्पर्कमा भए उल्टै कपालको जरा नष्ट गर्ने चिकित्सक बताउछन् ।

    चर्मरोेग बिशेषज्ञ डा. उपासना मानन्धरका अनुसार चर्को घाम, त्यसमा पनि प्रदूषण छ भने कपालको चिल्लोपना नष्ट गर्ने, सुख्खा हुने र टुक्रिने, कपालमा हाँगा आउने जस्ता समस्या आउछन् । गर्मीमा कपाललाई हुने जोखिमवाट बचाउन निम्न उपाय अनपाउन डा. मानन्धरको सुझाव छ ।

    १. लामो समय घाममा निस्कंदा छाता या क्यापको प्रयोग गर्ने

    २. धुलो धुवाँ बढी भएको ठाउँमा सलले कपाल छोप्ने

    ३. गुणस्तरीय स्याम्पुको प्रयोग गर्ने

    ४. कपाल पखालिसकेपछि गुणस्तरीय कण्डिसनर प्रयोग गर्ने

    ४. नुहाइसकेपछि हेयर सेरमको प्रयोेग गर्ने

    ५. तोरी या नरिवलको तेलले नियमित मसाज गर्ने

    ६. सातामा एक पटक डिप प्याक लगाउने

    ७.स्याम्पु लगाएको एक मिनेटभित्रै पखाल्ने

  • मुस्ताङी च्यांग्राको भुवा पश्मिनाका लागि उपयुक्त

    मुस्ताङी च्यांग्राको भुवा पश्मिनाका लागि उपयुक्त

    मुस्ताङमा पालिएका च्यांग्राको भुवा पश्मिना बनाउने कच्चा पदार्थका रुपमा प्रयोग गर्न उपयुक्त देखिएको छ।

    अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना संघ र च्यांग्रा पश्मिना किसान संघको समन्वयमा नेपालमा पहिलोपटक गरेको परीक्षणबाट मुस्ताङी च्यांग्राको भुवा गुणस्तरका हिसाबले पश्मिनाका लागि उपयुक्त भएको पुष्टि भएको हो।

    पश्मिना संघका अध्यक्ष धनप्रसाद लामिछानेले मंगोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा मुस्ताङी च्यांग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थका रुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको जानकारी दिए।

    ‘एक वर्षअघि विज्ञहरुको टोली यहाँ आएर लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट आठ सय च्यांग्राको भुवा नमुनाका रुपमा संकलन गरी गुणस्तर परीक्षणका लागि लगेका थिए’, उनले भने, ‘यसै साता कृषक र जनप्रतिनिधिलाई भेला गरी परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै भुवाको थप गुणस्तर सुधार र व्यावसायिक उत्पादनका लागि छलफल गरेका छौं।’

    चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच–पाँचवटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्यांग्राको शरीरबाट नमुनाका रुपमा भुवा संकलन गरी परीक्षण गरिएको लामिछानेले जानकारी दिए। परीक्षणपछि नेपालमा पश्मिना बनाउने कच्चा पदार्थका रुपमा प्रयोग गरिने भुवाको स्रोत रहेको अन्तर्राष्ट्रियस्तरमा सन्देश प्रवाह भएको भन्दै यसले च्यांग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको उनले बताए।

    संकलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाका साथै नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षण गरिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए। ‘च्याङ्ग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो। भेडा र चौंरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ’, उनले भने।

    प्रतिवेदन सार्वजनीकरणसँगै सुझावअनुसार कश्मिरका डा. खिलाल खान र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका प्राविधिक विशेषज्ञ प्रा.डा. सर्फराज वानीलाई ल्याएर कृषकलाई च्याङ्ग्रा पाल्ने गोठ, आहारा र नश्ल सुधारसम्बन्धी आधुनिक ज्ञान र सीप प्रदान गरिएको परामर्शदाता श्रेष्ठले जानकारी दिए। उनका अनुसार यही जेठ ९ देखि सुरु भएको स्थलगत तालिम १६ गते सम्पन्न भएको थियो।

    टोलीसँगै मुस्ताङ पुगेकी नेपालका लागि युरोपियन युनियन (इयु) का राजदूत भेरोनिक लोरेन्जोले लोमान्थाङ गाउँपालिकाका छिरिङ वाङ्दीले स्थापना गरेको ‘पश्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्म’ को उद्घाटन गरेकी थिइन्।

    मुस्ताङमा च्याङ्ग्राको पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा उच्च सम्भावना देखिएकाले यसको प्रवर्द्धन र व्यवस्थापनमा सघाउने राजदूत लोरेन्जोले बताइन्। विश्व बैंकको नेपालस्थित कार्यालयका प्रतिनिधिले पनि पश्मिनाको भुवा संकलन केन्द्रको अनुगमन गरेका थिए।

    पश्मिनाको गुणस्तर सुधारका लागि विदेशी प्रशिक्षकबाट पाएको ज्ञान, सीप र अनुभव उपभोगी बन्ने कृषक वाङ्दीले बताए। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले च्यांग्रापालनबाट कृषकलाई मासु बिक्रीका साथै पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताए। च्यांग्रापालनलाई थप व्यावसायिक, आधुनिकीकरण र संख्या वृद्धि गर्न पहल गर्ने उजको भनाइ छ।

    प्राकृतिक रुपमा कम उत्पादन हुने च्यांग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दै गएको छ। राम्रो गुणस्तरको च्यांग्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्यांग्रापालक कृषकले मनग्य आम्दानी गर्न सक्ने सम्भावना बढेको छ।

    नेपालबाट निर्यात हुने प्रमुख वस्तुका रुपमा रहेको पस्मिना बनाउन च्यांग्राको भुवा प्रशोधन गरेर निस्किएको धागो कच्चा पदार्थका रुपमा प्रयोग हुन्छ। नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ।

    विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्यांग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले बताए। उनका अनुसार संघले मुस्ताङबाट वार्षिक दुई मेट्रिकटन भुवा संकलन गरेर लैजाने गरेको छ।

    बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन्। भुवा शरीरबाटै झरेर खेर जाने गरेको थियो। तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो। नेपाल फाइबर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा संकलन र काठमाडौंमा प्रशोधन केन्द्र स्थापना गरेको छ।

    वैशाख र जेठ महिना च्यांग्राको शरीरबाट भुवा निकाल्ने याम हो। भुवा निकाल्ने सीपसँगै नयाँ प्रविधि हस्तान्तरण गरिएको छ। मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्यांग्रापालन गरेका छन्। भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा ५२ हजार च्यांग्रा पालिएका छन्। –रासस

  • काभ्रेका थर्कमान लामा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ

    काभ्रेका थर्कमान लामा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ

    काभ्रे तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय थर्कमान लामा ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । नेपाली कांग्रेसमा आबद्ध उनलाई कान्छामान भनेर चिनिने गरेको बताइन्छ।

    पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाउने क्रममा लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ।

    गतवर्ष साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गर्दा राजश्व अनुसन्धान विभागले ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो।पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको हो।

  • लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

    लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

    अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ। बर्खा लाग्न सुरु भएसँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन्। सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा। तालछेउको ठूलो चौर हजारौं सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिदा यहाँको सुन्दरता बयान गर्न नसकिने देखिन्छ।

    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही मास्तिरपट्टि रहेको तालको सुन्तरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाइदिएको छ। यही जेठ पहिलो सातादेखि नै बुकी उक्लिन थालेका भेडाका बथान अबको केही दिनमा रिग क्षेत्र छोडी सक्छन्।

    बागलुङ, रोल्पा र पूर्वी रुकुमका भेडापालक किसान गोठ छाउन चाहिने त्रिपाल, बर्खाभरि खाने खर्च र ओढ्ने ओछ्याउने विस्तारसहित यहाँ आइपुगेका हुन्। रिग ताल क्षेत्रमा बागलुङको निसीखोला गाउँपालिका–६ का किसानले काठ, ढुङ्गा र जस्तापाताले गोठ बनाएका छन्।

    बुकी नउक्लिदासम्म उनीहरू यही बस्ने गर्छ। यतिबेला थोरै मात्रै भेडापालक लेकमा पुगेका छन्। एक साताभित्र बेँसीमा रहेका सबै भेडाबाख्रा लेकमा पुग्छन्। तीन हजार दुई सय मिटरको उचाइमा रहेको रिग ताल क्षेत्रबाट चार हजार मिटरको उचाइसम्म पुग्ने तयारीमा यहाँ आइपुगेका गोठाला छन्। अहिले रिग ताल वरपर करिब पाँच हजारको हाराहारी भेडाबाख्रा छन्।

    यी भेडाबाख्रा त्यसभन्दा माथिल्लो क्षेत्र बुकीमा पुगे भने बेंसीमा रहेका अन्य गोठालाले आफ्ना पशुचौपाया रिग तालमा लैजान सुरु गर्छन्। एकै परिवारले पाँच सयदेखि तीन हजारसम्म भेडाबाख्रा पाल्ने हुँदा एकैपटक रिग क्षेत्रमा व्यवस्थापन गर्न सकिंदैन। त्यसले गर्दा पालैपालो लेक उक्लने गर्छन्। लेक चढ्ने याम सुरु भएको हुँदा अघिअघि भेडाबाख्रा पछिपछि गोठाला खर्चपर्च बोकेर हिंडिरहेका देखिन्छन्। जाडो र हिमपात छल्न गत मङ्सिरमा बेंसी झरेका भेडीगोठ जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका हन्। तल्लो क्षेत्रमा गर्मी बढेसँगै भेडीगोठ लेक सार्न थालेको निसीखोला गाउँपालिका–६ का भेडापालक लालसिंह घर्ती मगरले बताए।

    छ महिना बेँसीमा बस्दा घाँस सकिएपछि लेक चढ्न थालेको उनको भनाइ छ। यो सिजनमा बेँसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठ महिनादेखि नै लेक चढ्न सुरु गरेको घर्ती मगर बताउँछन्।

    अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैंतिहार बेला मात्रै बेँसी झर्ने उनको भनाइ छ। बेलाबेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने घर्ती मगरले बताए। लेकमा बस्दा निकै दुःख हुने भन्दै यो बाउबाजेको पालादेखि यो पेसा गर्दै आएको हुँदा आफू पनि यसैमा लागेको उनको भनाइ छ।

    घर्ती मगरले भने, “लेकबेंसी गर्ने चलन त यो हाम्रो पुर्खादेखि हुँदै आएको हो, एउटै घरमा एक हजारभन्दा धेरै वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै राख्न सकिंदैन, यतिका महिनासम्म गाउँघरमै राखेर पालियो, अब लेकतिर घाँस पलाउन थाले त्यही भएर माथि उक्लिन थालेका हौं, दुईचार दिनपछि यहाँ (रिग ताल) भन्दामाथि खानीखोलातिर लैजान्छौं, उतै चार महिना बित्छ, अब घर झर्ने त दसैँ मनाउन हो, कहिलेकाहीँ खर्च सकिएपछि र बिरामी भएपछि घर जान्छौं।”

    रोल्पाको तेलखोलाका सन्तोष घर्ती पनि सात सय भेडाबाख्रा लिएर रिग क्षेत्रमा आएका छन्। रोल्पाको माथिल्लो क्षेत्र हुँदा रिग क्षेत्रमा आएका उनी मङ्सिरमा मात्रै बेँसी झर्छन्। करिब तीन महिनाका लागि पुग्ने आटो, पिठो र नुन लिएर आएको सुनाउँदै तीज बेला एकपटक गाउँ झर्ने उनले सुनाए।

    यस वर्ष दुई सय भेडा बिक्रीका लागि तयार गरि रहेको भन्दै दसैँ बेला बजार जाने र फर्किएपछि गाउँ झर्ने उनको भनाइ छ। यस वर्ष लामो समय खडेरी पर्दा पहिलोको जस्तो लेकमा घाँस नपलाएको उनी बताउँछन्। बर्खाको घाँसले भेडाबाख्रा सप्रिने र दसैँमा राम्रो मूल्य पाइने उनले जानकारी दिए।

    “मैले भेडा पाल्न थालेको १८ वर्ष भयो, हाम्रो पालामा धेरै मान्छे भेडा पाल्न रुचाउँथे, नयाँ युवा पुस्ताले यसतर्फ खास्सै चासो नदिंदा पहिलेको जस्तो चहलपहल छैन, परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन्छ कि भन्ने डर छ, पहिले बुकीमा लाखको हाराहारीमा भेडाबाख्रा हुन्थे, अहिले केही छैन”, उनले भने, “यस वर्ष २०/२२ लाख आम्दानी हुने गरी भेडाबाख्रा तयारी छन्, चार सय भेडा ब्याउने छन्, पहिलेको जस्तो आम्दानी हुँदैन पहिले वार्षिक ४० लाख आम्दानी हुन्थ्यो, अबको एक हप्तामा सबैभन्दा माथिल्लो क्षेत्रमा पुग्छौ।”

  • तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

    तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

    तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ। हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

    उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्‍याएको छ। उनले भने, ‘हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ।’

    क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि केही स्थानमा पुगिसकेको प्रजिअ गौतमले बताए। हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्‍याएको र सबैभन्दा बढी व्यास नगरपालिकामा क्षति भएको जानकारी प्राप्त भएको उनको भनाइ छ।

    चट्याङ पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ। क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए।

    हावाहुरीसँगै आएको असिना पानीले विभिन्न किसानले लगाएको तरकारीमा क्षति पुर्‍याएको छ। फल लागेका आँप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्‍याएको छ।

    हावाहुरीले मानवीय क्षति नभएको प्रजिअ गौतमले बताए। यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युतका पोल ढल्दा अवरोध बनेको छ। विद्युत् पोल तथा तारमा भएको क्षतिले विद्युत् प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए। विद्युत् सेवा सुचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिएका छन्।

    कतिपय स्थानमा सडक अवरोधले गर्दा एम्बुलेन्स रोकिएको जानकारी पाएपछि राति १० बजेसम्म घटनास्थलमा पुगेर काम गरिरहेको केन्द्र प्रमुख रेग्मीले बताए।

    ठूला–ठूला रुख ढलेर तारमा लागेकाले पोलसमेत ढलेको रेग्मीले जानकारी दिए। व्यास नगरपालिका–१० को बैरेनी, वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर–१२ को छिर्कन, १३ को पोखरीभञ्ज्याङ, १४ नम्बरलगायतका दर्जनौँ स्थानमा विद्युत् पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ।

    हावाहुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका–१ भैँसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीयले जनाएका छन्। -रासस

  • पोलेको मकै बेचेर जीविकोपार्जन

    पोलेको मकै बेचेर जीविकोपार्जन

    दाङकाे घोराही उपमहानगरपालिका १८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आएकी छन्। जेठको चर्को घाममा पनि उनी मकै पोलेर बेच्न व्यस्त छिन्। उनले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आएकी छन्।

    हरेक वर्ष मकैको सिजन सुरु भएसँगै उनलाई पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ। घर्तीले मौसमी मकैभन्दा बेमौसमी बढी बिक्ने भएकाले गर्मीमा पनि असिनपसिन भएर मकै पोल्दै आएको बताइन्। ‘प्रतिगोटा २५ रुपैयाँका दरले बेच्दा १० रुपैयाँ फाइदा हुन्छ। खर्च कटाएर दैनिक चार-पाँच सयसम्म आम्दानी भइरहेको छ’, उनले भने। यही कामबाट भएको आम्दानीले आफूसहित पाँचजनाको जीविकोपार्जन भइरहेको उनले जानकारी दिइन्।

    घर्तीले भनिन्, ‘उमेरअनुसारको अन्य काम, पेसा व्यवसाय गर्न सकिँदैन त्यसकारण यही पेसालाई निरन्तरता दिँदै आएकी छु। मैले पोलेको मकै सबैले असाध्यै मन पराउने हुँदा खुसी लाग्छ।’ सानै भए पनि स्वरोजगार हुँदा आफूलाई आवश्यक परेमा दुई-चार हजारका लागि अरुसँग हात थाप्न नपर्ने उनको अनुभव छ।

    गर्मी समयमा केही समस्या भए पनि विगत लामो समयदेखि गर्दै आएको कामप्रति घर्ती सन्तुष्ट छिन्। उनी बिहानको समयमा देउखुरीका विभिन्न ठाउँमा हरियो मकै लिन जानुहुन्छ भने दिउँसो २ बजेपछि घोराही १५ को कृषिउपज बजार केन्द्रको अगाडितर्फ सडकछेउमा मकै पोलेर बेच्न व्यस्त छिन्। दैनिक १५ सयदेखि दुई हजार रुपैयाँसम्मको कारोबार हुने गरेको उनले बताइन्।

    घर्तीजस्तै घोराही १८ का मनकुमारी नेपालीको पनि मकै बेचेरै दैनिकी बित्ने गरेको छ। ५८ वर्षीया मनकुमारीले २१ वर्षदेखि मकै पालेर बेच्ने गरेको बताइन्। लामो समय भइसकेकाले आफूलाई यो पेसा सहज लाग्ने उनको भनाइ छ।

    ‘उमेर हुँदा पनि अरु जागीर गर्नको लागि पढाइ भएन। अहिले अरु काम गरेर खान पनि नसकिने अवस्था भएकाले मकै पोलेर बेच्ने गरेको छु। आफूले सक्दासम्म यो कामलाई निरन्तरता दिनेछु’, उनले भनिन्, ‘मकै लिन बिहान देउखुरी जान्छु, दिउँसोको समयमा पोल्ने र बेच्नेमा दिन बित्छ।’

    हिजोआज दाङमा अत्यधिक गर्मी बढेकाले केही समस्या भएको नेपालीले बताइन्। आफूले पोलेको मकै सहजरुपमा बिक्री हुँदा खुसी लाग्ने उनको अनुभव छ। दैनिक ६०-६५ गोटा मकै पोलेर बेच्ने गरेको बताउँदै उनले १५ सयदेखि दुई हजार रुपैयाँसम्मको कारोबार हुने जानकारी दिइन्।

    पार्वती घर्तीले मकै पोल्दै गरेको ठाउँमा भेटिनुभएका घोराही १५ का डम्मरी रावतले बजारका अन्य खाजा खानुभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भन्दै मकै नै खान आग्रह गरिन्। आफू पनि हरेक दिन खाजा खाने समयमा उनले पोल्दै गरेको ठाउँमा आएर मकै खाने गरेको उनले बताइन्। यति धेरै गर्मीको समयमा पनि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै आत्मविश्वासका लागि सबै महिलाले स्वरोजगार बन्नुपर्ने उनको भनाइ छ। –रासस