Blog

  • अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

    अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

    दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको उनले बतँए।

    दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन्। उनको नेपालगञ्जमा उपचार भइरहेको छ। रासस

  • १३ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालोसूचीमा

    १३ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।

    कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुने गरी १३ वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो।

    कार्यालयले कालोसूचीमा राखिएको अवधिभर ती निकायले कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि बताएको छ।

    यी हुन् कालोसूचीमा राखिएका १३ निर्माण व्यवसायी/आपूर्तिकर्ताः

  • रिडी–तम्घास सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द

    रिडी–तम्घास सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द

    रिडी–तम्घास सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै आजदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ।

    यस समय अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ।

    गत चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ भने सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका काम बाँकी छ।

    सवारी साधनको चाप बढेसँगै पुरानो बाटो साँघुरो भएकाले रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडकखण्ड विस्तार गरिँदै छ। सोही योजना अन्तर्गत पहिलो चरणमा रिडीदेखि राजासम्म २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको हो।

    २०७९ साल फागुन २८ गते सम्झौता भएको सडक विस्तारको काम २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ। १ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक बिस्तारको ठेक्का सम्झौता भएको छ।

  • बजेटमा खेलोफड्को चलिरहेको छ: खतिवडा

    बजेटमा खेलोफड्को चलिरहेको छ: खतिवडा

    सरकारले गत मंगलबार आगामी आर्थिक वर्षका लागि करिब साढे १८ खर्ब बराबर आयव्ययको अनुमानित विवरण सार्वजनिक गरेको छ। कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतलाई प्राथमिकतामा राख्दै सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहित बजेट सार्वजनिक गरेको हो।

    सरकारले आन्तरिक स्रोतबाट अपुग हुने देखिएको करिब साढे पाँच खर्बबराबरको रकम भने ऋणसहायताबाट पूर्ति गर्ने लक्ष्य लिएको छ। सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयन सम्भव छ? के बजेटले नेपालीको अपेक्षा सम्बोधन गर्न सक्छ? वित्तीय स्रोत व्यवस्थापनका लागि सरकारले कस्तो कदम चाल्नुपर्छ? लगायतका विषयमा पूर्वअर्थमन्त्री एवं अर्थविद् डा. युवराज खतिवडासँग नागरिककर्मी तेजेन्द्र काफ्लेले गरेको कुराकानीको सम्पादित अंशः

    सरकारले मंगलबार सार्वजनिक गरेको बजेट समग्रमा कस्तो लाग्यो?

    अहिलेको आर्थिक अवस्था जुन छ, राजस्व कम उठ्ने, वैदेशिक सहायता कम परिचालन हुने, आन्तरिक ऋण धेरै उठाउन नसकिने र विकासका आवश्यकता झन्झन् बढ्नै जाने अवस्थामा संयमता अपनाएर ल्याइएको केही महत्त्वाकांक्षी बजेट हो यो। पहिलो कुरा त दशक कार्यक्रम घोषणा गर्ने, पाँच वर्षे घोषणा गर्ने, विकासका पूर्वाधार मा ठुलाठुला आयोजना (निजगढ, बुढीगण्डकी, अहिले त्रिभुज) छोड्न पनि नसकिने तर अघि बढाउन पनि नसकिने, अन्य कतिपय पूर्वाधारका आयोजना, एयरपोर्टहरूका कुरा जुन छन् यी अझै पनि महत्त्वाकांक्षी नै छन्।

    बजेटले महलदेखि झुपडीसम्मका सबैको माग सम्बोधन गरेको छ त?

    पहिलो कुरा हामीले के बुझ्नुपर्छ भने यो संघीय सरकार हो। संघीय सरकार ठ्याक्कै जनताको घरदैलोमा पुग्ने भनेको दुईतीनवटा क्षेत्रबाट मात्रै हो। पहिलो भनेको संघ सरकारको करको दायराबाट हो।

    सरकारले आयकरका दरहरू बढायो भने सामान्य पाँच लाखभन्दा बढी आम्दानी हुने परिवार प्रभावित हुन्छ। अर्को प्रभावित हुने भनेको सामाजिक सुरक्षाबाट हो। पैसा दियो, भत्ता बढाइदियो, अन्य सामाजिक सुरक्षाको क्षेत्र बढाइदियो। स्वास्थ्य बिमा हो, जुन घरघरमै पुग्छ। शिक्षा सेवा पनि घरघरमै पुग्छ।

    केही कुरालाई छाडेर बाँकी कुरा भने संघले गर्न मिल्दैन पनि। त्यो गर्‍यो भने प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा अतिक्रमण हुन्छ। त्यसो हुनाले संघको सरकार नै घरघर जान चाह्यो भने त्यो अतिक्रमणीय हुन्छ र स्थानीय तह र प्रदेशले हामीले के गर्ने भन्ने दबाब सिर्जना हुन्छ। संघ सरकारले त वैधानिक रूपमा विकासका लागि राष्ट्रिय मार्ग पहिल्याइदिने हो।

    सेवा प्रवाहको आधारभूत काम तिमीहरूले गर्ने हो। त्यसका लागि पूर्वाधार निर्माण गर्ने र बाह्य स्रोत परिचालन गर्ने काम हाम्रो हो। करका दरहरूमार्फतबाट राजस्व बाँडफाँट गरेर पैसा दिने काम हाम्रो हो भनेर टुंग्याउने हो संघ सरकारले। त्यसो हुनाले घरदैलोमा संघ सरकार पुग्न खोज्यो भने यो सस्तो लोकप्रियता हुन्छ तथा प्रदेश र स्थानीय तहले संघीयताविरोधी भन्ने स्थिति आउँछ। त्यसमा सरकार अलिअलि सजग हुन खोजेको छ। तर कतिसम्म सजग भयो भन्ने कुरा चै विनियोजन विधेयक विस्तृतमा हेरेपछि थाहा हुन्छ।

    सानासाना र छरिएका कार्यक्रम कति राखिएका छन्? स्थानीय तहले गर्ने साना कार्यक्रममा पैसा राखिएको छ कि छैन ? त्यसले टुंगो लाग्छ कि लाग्दैन। तर एउटा कुरा के हो भने संघीय सरकारले स्वतः प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने कार्यक्रम वर्षौंदेखि झन्झन् घटाउँदै लैजानुपर्नेमा बढाउँदै लैजानुपर्ने भएको छ।

    जस्तो सहरी विकास मन्त्रालयको बजेट। पाँच वर्षमा दोब्बर भएको छ। सहरी विकासको काम अब यति भिडभाड भयो नि, गाउँपालिका र नगरपालिकाले गर्छ, काठमाडौंमा त उपत्यका विकास प्राधिकरण पनि छ अनि प्रदेश सरकार, संघको सरकार सबैले गर्छन्। संघको बजेट बढाएर लगिरहेका छौं।

    शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको कुरा गरिरहँदा भार चै संघले बोक्ने तर ससर्त अनुदानमा हस्तान्तरण गरेर तल दिनुपर्ने। सबै दायित्व जति आफू राख्ने अनि प्रदेश र स्थानीय तहले चै हामीलाई जिम्मेवारी भएन भनेर भनिराख्नु पर्ने स्थितिमा संघीयताको पूर्ण कार्यान्वयन गर्न अझै पछि परिएको छ कि? भन्ने कुरा पनि आउँछन्।

    अर्को कुरा, झोलुङे पुल त अहिले पनि बनिरहेकै छन्, तराई मधेस समृद्धि कार्यक्रम पनि चलिरहेकै छ, हुँदाहुँदा हिमाली क्षेत्र समृद्धि कार्यक्रम पनि सुरु भएको छ। त्यो त हिमाली क्षेत्रका प्रदेश र स्थानीय सरकारले गर्ने हो नि। ठिक हो, त्यसको पैसा ससर्त अनुदानमै जान्छ तर त्यो पहिला नै हामीले राजस्व बाँडफाँटबाट पैसा दिएर कार्यक्रम नै तल पठाए हुन्छ। ससर्तमा यसै पनि धेरै कार्यक्रम संघले राखेर प्रदेशमा पठाउनु हुँदैन भन्ने पनि छ। त्यसैले यस्ता कार्यक्रम नै बनाउनुपर्छ अब स्रोत मात्रै दिएर लु गर भन्ने स्थिति हुँदैन। त्यसैले यस्ता धेरै उदाहरण छन्, जुन वित्तीय संघीयताको पूर्णरूपले कार्यान्वयन गराउनमा अझै धेरै बाँकी छ है भन्ने देखाउँछ।

    १८ खर्ब ६० अर्बको आयव्यवको विवरण सार्वजनिक भएको छ। मुलुकको वर्तमान अवस्थामा यो आकार कत्तिको आवश्यक हो?

    देशको आवश्यकता योभन्दा बढी छ तर स्रोतको वास्तविकता यति नै पनि होइन। मलाई योभन्दा ठुलो आकारको बजेट आउँछ कि भन्न चिन्ता थियो, अघिल्ला केही वर्षहरूको जस्तो। अब वर्षमा एक खर्बभन्दा बढी त वैदेशिक ऋणको भुक्तानीमा खर्च गर्नु पर्‍यो सरकारले। यदि त्यस्तो हो भने साढे १७ खर्बको बजेटलाई १८ खर्ब ६० अर्ब पुर्‍याएको न हो। बढाइएको रकम त ऋण भुक्तानीमा थपिएको दायित्व पूरा गर्नलाई ल्याएको छ। त्यो हिसाबले यो बाध्यकारी हो। आर्थिक वृद्धि ६ प्रतिशतले पनि गर्नुछ।

    अर्कोतर्फ हरेक साल ६ प्रतशितले मूल्यवृद्धि पनि भइरहेको छ। यो वर्ष विकास खर्च सय रूपैयाँ गरिन्छ भने अर्को वर्ष १०६ रूपैयाँ गर्नुपर्ने भयो। त्यो ६ प्रतिशत त यसै पनि बजेटको आकार बढ्छ। त्यसैले यो बजेटको आकारमा चै धेरै दोष लगाउने ठाउँ छैन तर यसको वित्त व्यवस्थापनमा भने समस्या हुन्छन्। चालु खर्च धेरै घटाउन सकिँदैन। त्यसको मार भोलि गएर दुई ठाउँमा हुने देखेको छु, पुँजीगत खर्च एउटा तथा प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटबाट जाने रकम। त्यसमा चै राजस्वको प्रशासन धेरै बलियो बनाउन सकिएन भने राजस्व नपुग्ने डर चै मैले देखेको छु।

    त्यसो भए आगामी वर्ष पनि बजेटमा संशोधनको अवस्था आउन सक्छ?

    हैन बजेटमा त दुईतीन वर्षदेखि त खेलो नै भइरहेको छ नि। बजेट अनुमानको तुलनामा दुई अढाई खर्ब बजेटको अर्धवार्षिक समीक्षामा नै घटाइन्छ। अनि चालीस पचास अर्ब संशोधित अनुमानमा घटाइन्छ। अनि त्यसको यथार्थ आउँदा अर्को वर्ष १०/२० अर्ब घट्छ। त्यसो हुनाले साढे १७ खर्ब भनिएको बजेट साढे १४ खर्ब वा १५ खर्बमा अन्त्य हुने होला। १४ खर्ब २२ अर्ब उठाउँछु भनेको राजस्व ११ खर्ब उठ्ने होला। अनि यसैमा अहिलेको विषय के भइरहेको छ भने सरकारलाई चालु वर्षको बजेट संशोधित अनुमान देखाउनलाई कठिन छ। बजेटका अंग ठुलाठुला छन्। खर्च पनि भएको छ। ओभर ड्राफ्ट हुने स्थिति छ।

    वित्त व्यवस्थापनको स्रोत छैन। संशोधित अनुमानमा साढे १२ खर्ब राजस्व उठ्छ भनेर राखिदिएर चालु वर्षको असार मसान्तलाई क्लोज गर्न खोज्नुभएको छ। तर त्यसमा के हुन्छ भने करिब एक खर्ब राजस्व अहिले नै घट्छ। त्यो हुँदा राजस्वको आधार नै कम हुन्छ अनि अर्को वर्ष उठाउने राजस्वमा आधार नै तल भएपछि माथि उक्लन गाह्रो हुन्छ।

    यसै पनि बढी भन्सार लाग्ने वस्तु (विद्युतीय गाडी, पेट्रोलियम पदार्थलगायत)को आयात कम हुने भएकाले सरकारलाई राजस्वमा चुनौती छ। तथापि अहिलेको संशोधित अनुमानबाट जुन १३/१४ प्रतिशत वृद्धिको अनुमान गर्नुभएको छ त्यो भने ठिकै हो। सरकारले १४ खर्ब १९ अर्बको जुन राजस्व लक्ष्य लिएको छ त्यो भने राम्रो छ।

    सरकारले बजेटमा वित्तीय व्यवस्थापनका लागि पाँच खर्ब ४७ अर्ब ऋण लिने बताएको छ। ऋणै लिएर देश चलाउने अवस्थामा सरकार पुगेको हो?

    यसप्रति हामीले किन धेरै भ्रम पाल्ने? विश्वका विकासशील मुलुकहरू कुन छन्, जुन मुलुकले ऋण नलिएको होस्? हाम्रा कुनै पनि छिमेकी देश, दक्षिण एसियाली मुलुकको ऋण हाम्रो देशको भन्दा त माथि नै छ तर जिडिपीको अनुपातमा। हाम्रो विषय चै के हो भने ऋण हामीले कहाँ उपयोग गर्दै छौं? कसरी उपयोग गर्दै छौं? ऋण उपयोग गरेर तिर्ने क्षमताको विकास हामीले गरिरहेका छौं कि छैनौं? आम्दानी गरेर ऋण तिर्ने क्षमताको विकास गर्ने हो कि हैन? ऋण लिएर उपभोग पो गरिरहेका छौं कि? अन्यत्रै अनुत्पादक क्षेत्रमा खर्च पो गरिरहेका छौं कि? हाम्रो चिन्ता यहाँ हुनुपर्ने हो।

    अहिले २२० अर्बभन्दा पनि कमको बाह्य ऋण छ, मैले त हेर्दा यो पहिलाको तुलनामा घटेर गएको छ। एकडेढ प्रतिशत ब्याजमा पाउने ऋण लिएर, आर्थिक वृद्धि गरेर, ३०/३५ वर्षपछि तिर्नुपर्ने रकम बढी परिचालन गर्नुपर्ने बेला हो यो। यो प्रश्नलाई यसरी बुझौं कि, बाह्य ऋण धेरै लिनुपर्ने थियो र आन्तरिक ऋण कम लिएर लामो भुक्तानी अवधि ऋण, कम ब्याजदर भएको ऋण र केही न केही उत्पादनमूलक क्षेत्रमा नलगाई दातृनिकायसँग लिएको स्वीकृत नहुने ऋण, त्यो लिनुपर्नेमा अत्यन्तै लचिलो प्रकारले उच्च ब्याजदरको आन्तरिक ऋण लिएर काम गर्ने कुरा चै अलि अप्ठेरो कुरो हुन्छ।

    यो साढे पाँच खर्बको संरचनामा तीन खर्ब जतिको बाह्य र साढे दुई खर्ब जति चै आन्तरिक ऋण भइदिएको भए राम्रो हुने थियो। त्यो नभएर अहिले बाह्य स्रोतको प्रतिबद्धता पनि छ तर हामी खर्च गर्न सक्दैनौं। हामी दातृ निकायका सर्त पूरा गर्न सक्दैनौं भन्ने आधारबाट आफ्नो अकर्मण्यतालाई प्रष्ट देखिने गरी वैदेशिक स्रोत परिचालनमा यति धेरै तलको अंकमा आउनु पर्ने स्थिति थिएन।

    अहिले जति पनि योजनाहरू हामी गर्छौ भनिरहेका छौं, हाम्रो राजस्व बचतबाट त चालु खर्च धान्नै कठिन छ। अनि हामीलाई रेल पनि चाहिएको छ, सडकको स्तरोन्नति पनि गर्नुछ, हामीलाई हाम्रो आफ्नै पैसाले केही आयोजनाहरू पूरा गर्नुछ। यसका लागि पुँजीगत खर्च त चाहियो। अनि राजस्व बचतबाट हुँदैन। कि हामी आफ्नै पैसाले विकास गर्छौं। १० किलोमिटर सडक बन्छ भने बनोस् हामीलाई सय किलोमिटर सडक चाहिएन।

    हैन हामीलाई ६ लेनको सय किलोमिटर सडक चाहिन्छ भने बाह्य सहायता त चाहियो त। हामी दुवै हातमा लड्डु चै नखोजौं। बढेको ऋणले पुँजी निर्माण भयो भएन? आर्थिक वृद्धि भयो भएन ? राजस्वको माध्यमबाट ऋण तिर्ने क्षमता भयो भएन? बहस यसमा आवश्यक छ।

    मन्त्रालयगत रूपमा विनियोजन भएको रकम सन्तोषजनक मान्न सकिन्छ कि सकिन्न?

    सरकारका केही बाध्यता हुन्छन्। म अर्थमन्त्री हुँदा पाँच वर्षअघि र अहिलेको बजेटमा भएका कुरामा केही नोटिस गरेँ। तल हस्तान्तरित हुने कार्यक्रमको बोझ ४० अर्ब लगभगको बजेट ९० अर्बभन्दा माथिको लिएका छौं। त्यो प्रदेश र स्थानीय तहलाई दिएर शिक्षा र स्वास्थ्यको बजेट क्रमशः थोरै भए पनि वृद्धि गर्दै लैजानु पर्ने थियो।

    म अर्थमन्त्री हुँदा शिक्षको बजेट करिब ११ प्रतिशत थियो अहिले त्यो साढे ११ प्रतिशत पनि पुगेको छैन। स्वास्थ्यमा कोभिडबाहेक सधैं साढे चार प्रतिशतको हाराहारीमा हुन्छ। तर अझै पनि शिक्षा र स्वास्थ्यमा थप लगानी गर्नुपर्ने अवस्था छ। कृषि दशक मनाउने भनिए पनि लगानी गर्ने ठाउँ चै निजी क्षेत्रलाई मात्र खुला गरेका छौं। कृषिमा सरकारको लगानी भनेको धेरै रासायनिक मल (३० अर्ब अनुदान) मा हो।

    २०७६/७७ मा कुल बजेटमा कृषिको अंश डेढ प्रतिशतको हाराहारीमा हुन्थ्यो। यो अनुदान हटाउने हो भने अहिले पनि दुई प्रतिशतभन्दा तलै छ। त्यसैले जति नै कुरा गरे पनि बजेटका अंकको सीमा त एउटै हुने रहेछन्। त्यसो हुनाले महत्त्वाकांक्षी ठूला कुरा नगर्दा बजेटका अंकले समर्थन गर्ने थियो। नभए कुरालाई अंकले समर्थन गरेन भने अनि महत्त्वाकांक्षी भन्ने न हो।

    संघ सरकारले आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। सम्भव देख्नुहुन्छ?

    हेर्नुस् ६ प्रतिशतको आर्थिक वृद्धि भनेको सामान्य हो। हामीले २०७५/७६ पछिका केही आवको वृद्धि हेर्ने हो भने करिब ७ प्रतिशतको वृद्धि हासिल गरेकै हो। कोभिडका कारणले एक वर्ष नकारात्मक भयो। अर्को वर्ष ६ प्रतिशतको हासिल गर्यौ। अघिल्लो वर्ष दुई प्रतिशत पनि भएन र यो वर्ष चार प्रतिशतको लक्ष्य छ। चार प्रतिशतबाट ६ प्रतिशतमा जानु ठुलो कुरा भएन। यही वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि भएको भए अर्को वर्ष थप ६ प्रतिशत जान अलि गाह्रो हुने थियो।

    अहिले आधार नै तल भएको हुनाले चारबाट ६ प्रतिशतको आर्थिक वृद्धिमा सजिलै जान सकिन्छ। तर त्यसका लागि अहिले एक किसिमको आर्थिकमन्दीको अवस्था छ। सरकारले छिटोभन्दा छिटो व्यवसायीको विश्वास जितेर व्यवसायीको हितमा काम गर्छ है भन्ने प्रष्ट पारेर अघि बढ्नुपर्छ भन्ने मैले देख्छु। लगानी नभई त त्यो आर्थिकवृद्धि हुँदैन। लगानीकर्ताहरू अहिले पनि सबै खुशी भएजस्तो मलाई लागिरहेको छैन।

    तपाईंले त अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रबैंकलगायतको नेतृत्व गरिसक्नु भएको छ। बजेटमार्फत राम्रै योजना र कार्यक्रम पनि अघि सारिन्छन् तर कार्यान्वयन फितलो हुने गरेको छ। के रहेछन् कारण?

    एउटा चै लोकप्रिय बनाउँछु मेरो बजेट भन्ने अभिलाषा। मेरो बजेट सबैले वाहवाही गर्ने होस् भन्ने चाहाना अर्थमन्त्रीलाई हुने रैछ। दोस्रो भनेको सुझाव लियो। धेरैतिरबाट सुझाव आउछन्, ती परिपक्क पनि हुँदैनन्, परिस्कृत पनि हुँदैनन्, व्यावहारिक पनि हुँदैनन् र ठिकै छन् कि भनेर राखिदिने प्रवृति पनि हुन्छ। तेस्रो भने राजनीतिज्ञले बजेटमा राखिदिएका कार्यक्रम कर्मचारीतन्त्रले स्वीकार नगर्ने। कतिपय अवस्थामा त्यसलाई नजरअन्दाज नै गरिदिने।

    चौथो भनेको चै स्रोत नै नपुग्ने। पाँचौँ भनेको संघ, प्रदेश र स्थानीय तहमा केहीकेही विवादहरू भइरहने। मैले नै गोल्ड बैंकको कन्सेप्ट लिएर आएको थिए। त्यसको कानुन बनाउन नै समय लाग्यो। भूमि बैंकको कन्सेप्ट लिएर आएको थिए। कार्यान्वयन गर्न स्थानीय तहलाई दिएको, कसैकसैले कार्यान्वयन गरे। अधिकांशले अघि बढाउन नै सकेनन्।

    अब अहिले सोभरेन वेल्थ फन्ड भनेर ल्याइएको छ। त्यो राज्यको कोष हो, त्यसलाई विकास र लगानीमा लगाउने भनिएको छ। त्यो गर्नका लागि कति धेरै केके काम गर्नु पर्ने हुन्छ, जुन गाह्रो छ। अर्को गण्डकी त्रिभुजको कुरा छ। वीरगञ्ज पथलैया, विराटनगर इटहरी, बुटवल भैरहवा, कोहलपुर नेपालगञ्जको कोरिडोरलाई औद्योगिक क्षेत्र बनाउने भनेर हामीले पनि भन्यौं। बजेट थोरै हुन्छ।

    हामीले कोरिडोर बनाउने भनिरहदा, उद्योगहरू त्यहाँ जानका लागि हामीले धेरै दिने भनेको पानी, बिजुली र ढल हो। अरू त केही दिन सक्दैनौं। तर अहिले उद्योगलाई चाहिने सबैभन्दा ठुलो कुरा चै जमिन रहेछ। अनि जमिन दिन सकिँदैन भने यी कुराहरू हुँदैनन्। यो त्रिभुजमा के के गर्ने भन्नु भएको छ उहाँहरूले। यसको कार्यविधि बनाउँछ, निजी क्षेत्रसँग ढाँचा बनाउँदै वर्षदिन बित्छ।

    यस्ता थुप्रै आयोजना जुन अहिले घोषणा गरिएको छ, जसलाई कार्यान्वयन गर्न कार्यविधि बनाउँदैमा वर्ष दिन बित्छ। त्यसैले कर्मचारीतन्त्रले बजेटको भावना बुझेर काम नगर्दिंदा र त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र नहुँदा समस्या हुनछन्। संघीयतामा चै कतिपय कामको तल प्रदेश र स्थानीय तहमा काम गर्ने एकाइ नै छैन। सहरी विकास मन्त्रालय, महिला मन्त्रालय, वातावरण मन्त्रालय, वन मन्त्रालयको कार्यक्रम कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा संयन्त्र नै छैन। त्यसैले जति नै बल गरेपनि समस्या भइ नै रहन्छ।

    स्रोत व्यवस्थापन गर्दै बजेट कार्यान्वयनलाई सन्तोषजनक अवस्थामा पु¥याउन सरकारले तत्काल चाल्नुपर्ने कदम चै के हुन् त?

    बजेटले भनेको छ, असार मसान्तमा कार्यविधि र निर्देशिका बनाइसक्ने भनेर। साउनभरीमा अरू आवश्यक तयारी गरिसक्ने भनेर। मलाई लाग्दैन। असार मसान्त भनेको त चालु वर्षको बजेट रकमान्तर गरेर हुन्छ कि स्रोतान्तर गरेर हुन्छ कि सक्ने समय हो।

    डेढ महिनाको खेती भनेको चालु वर्षको बजेटको फर्ममेन्स अघि बढाउने हुन्छ। केही काम हुँदैन। कार्यक्रम योजना शाखाको मान्छेले बनाएर बसेको हुन्छ तर आयोजनाको टेन्डरको कागजपत्र तयार गरे पनि हुने हो, कार्यविधिहरू बनाएर लागु गरे पनि हुने हो।

    अहिलेसम्मको अनुभवबाट मैले केही गरेको पाएको छैन। त्यसैले अर्को वर्ष जादु नै हुन्छ भन्ने स्थितिमा म छैन। दशैंतिहार बिताएपछि बल्ल कर्मचारीहरूले नयाँ आयोजनाको फाइल खोल्ने हो। अनिमात्र टेन्डर डकुमेन्ट बनाउन लगाउने हो। अनि बोलपत्र गराउने हो, अनि फुर्सदमा खोल्ने हो। अनि माघबाट टेन्डर स्वीकृत हुने हो। फागुनबाट परिचालन हुने हो। यहीँ हो। त्यसैले भदौंबाट टेन्डरको काम सुरु गर्नुभयो भने चै बुझौं, यो वर्ष चै केही हुनेवाला छ भनेर।

    कर्मचारीहरूको इच्छाशक्तिको कुरा भयो?

    इच्छाशक्ति मात्र हैन कतिपय ठाउँमा क्षमताको कुरा पनि छ। जस्तो भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयमा इन्जिनियरको तथा स्वास्थ्य मन्त्रालयमा जति स्वास्थ्यकर्मीको अभाव छ नि तपाईंले चाहेर पनि आउटपुट निकाल्न सक्नु हुन्न।

    हामीले प्रशासनिक दरबन्दी धेरै खडा गरेका छौं तर प्राविधिक तहका दरबन्दी कम छन्। हजारौं आयोजना हुन्छ स्थानीय विकासको त्यो पूरा गर्नै गाह्रो छ। त्यही भएर आयोजनाहरू बाँडिनु पर्छ तलसम्म। प्रदेश र स्थानीय तहलाई पनि प्राविधिक नियुक्ति गर्ने अवसर दिनुपर्छ भन्ने गरेको हुँ। अनि थोरै आयोजना भयो भने संघले टेकअप गर्छ नत्र त्यसैको भारीमा थिचिरहेका हुन्छन् संघका विभागहरू।

    अन्त्यमा, धेरैले टिप्पणी गरिरहेका छन् कि देशको अर्थतन्त्र डामाडोलको अवस्थामा छ। तपाईंको बुझाइ र विश्लेषण के हो?

    अर्थतन्त्र अप्ठ्यारै स्थितिमा छ। अप्ठेरो भनेर संकटमा हैन। बजेटले नै स्वीकार गरेको अवस्था छ नि, मागमा कमी आयो, बैंकको ब्याजदर बढेर, तरलता बढ्दा पनि लगानी बढेन, आयात र निर्यात निरन्तर घटिरहेको छ।

    समग्रमा वैदेशि व्यापार २० प्रतिशतले घटेको छ। यी परिसूचक हेर्ने हो भने, बाह्य क्षेत्रमा पर्यटन र रेमिट्यान्सबाहेक अरू परिसूचक ठीक छैनन्। अनि त्यो त आर्थिक संकुचन त हो। चार प्रतिशतको आर्थिक वृद्धि त कृषिमा अलि राम्रो उत्पादन भएको र अन्य कतिपय क्षेत्रमा सामान्य वृद्धि भएको कारणले अलिकति सहयोग पुगेको हो।

    हाम्रो अर्थतन्त्रमा लगानीकर्ताको, व्यवसायीको मनोबल अहिले पनि तल छ। लगानी गर्न खोजिरहेका छैनन्। लगानीका नयाँ क्षेत्रहरू पनि भेटिरहेका छैनन्। र, हामी फेरि पनि बारम्बार त्यहीँ घरजग्गा, त्यही सेयर खुकुलो गरिदिए हुन्छ कि भनेर भनिरहेका छौं। लगानीको कुरामा हामी विविधीकरण गर्नेतर्फ गइरहेका छैनौं। त्यसैले ऊर्जा क्षेत्रमा केही आशलाग्दो किसिमले प्रगति भए पनि खासगरी उद्योग र निर्माण क्षेत्रमा जुन शिथिलता देख्छौं त्यसले अर्थतन्त्र ठिक ढंगले अघि बढेको छैन भन्ने प्रष्ट छ।

    सबैभन्दा धेरै श्रमप्रधान चै उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र हुन्, रोजगारी त्यहीँ पाइन्छ। रोजगारी दिने क्षेत्रको आर्थिक वृद्धि यो वर्ष नकारात्मक भइरहेको छ भने अर्थतन्त्र ठिक छ भन्न त मिलेन नि।

  • गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

    गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

    गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्।

    गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन्। यसअघि पनि उनी नै आयोगको उपाध्यक्ष थिए।

    दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस)मा आवद्ध छन्।

    उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका छन्। रासस

  • किम्फ: महिला फिल्ममेकरको उत्सव

    किम्फ: महिला फिल्ममेकरको उत्सव

    अमेरिकी राजदूतावासको सहप्रस्तुतिमा रहेको सो किम्फः महिला फिल्ममेकरको उत्सव सत्रको सुरुवातमा नेपालका लागि अमेरिकी राजदूतावासकी प्रवक्ता जेहरा नक्भीले आफ्नो धारणा राखेकी थिइन्।

    उनले भनिन्, ‘क्यामेरामा महिलाहरूको सहभागिता र अनुभवका कुराहरूलाई हामी सेलिब्रेट गरिरहेका छौं। अहिलेका यिनै महिला फिल्ममेकरहरू भविष्यका महिला फिल्ममेकरका लागि प्रोत्साहनका स्रोत हुन्।’

    उनले कथावाचनले मानिसको मनस्थिति र आवेगलाई प्रस्तुत गर्ने भएकाले कथा सशक्त माध्यम रहेको समेत बताइन्।

    पूजा पन्तले सहजीकरण गरेको अन्तक्रियामा निर्देशक तथा अभिनेत्री सरिता साहले भनिन्, ‘म जे महसुस गर्छु, जे अनुभूत गर्छु। त्यो भोगाइ र अनुभूति कोही अरूले भन्दा धेरै कुरा छुट्न सक्छ। त्यही कुरा मैले बढी प्रष्टसँग भनेर न्याय गर्न सक्छु जस्तो लाग्छ। मैले थप्ने भनेको त्यही छुटेका कुराहरू हुन्। मैले मेरो फिल्ममा स्वाभाविक रूपमा विकास हुने मित्रताको कथा देखाएको छु। फिल्ममा दलित र गैरदलित किशोरीको कथा छ। जातीय विभेदबारे बनेको फिल्मकै छायांकनमा दलित समुदायका कलाकारहरूलाई अभिनय गराएको भनेर हामीलाई विभेद गर्ने काम समुदायबाट भएको थियो।’

    फिल्मकर्मी आकांक्षा कार्कीले भनिन्, ‘महिलाले बढी संवेदनशील र समभावका साथ कथाहरू भन्छन् भन्ने लाग्छ। प्रोसेसमा उनीहरू बढी इमान्दार भए भने ससाना कुराहरूलाई प्राथमिकता दिने उनीहरूको नजरीयाले फिल्मलाई फरक बनाउन सक्छ।’

    दुई दशकदेखि फिल्म बनाइरहेकी डिना मुफ्तीले फिल्म क्षेत्रमा अनस्क्रिन महिला प्रतिनिधित्व बढिरहे पनि पर्दापछाडि अझै धेरै महिला फिल्ममेकरहरूको खाँचो रहेकोमा जोड दिइन्।

    उनले भनिन्, ‘प्राविधिक रूपमा दक्ष महिलाहरूको उपस्थिति बढाउन अझै बढी काम गर्नुपर्छ। महिला नेतृत्व पनि उत्तिकै शक्तिशाली हुन्छ भन्ने कुरा स्वीकार्न जरुरी छ। महिलाहरूको नजरबाट हेर्दा फिल्म क्षेत्रमा उनीहरूको भविष्य सकारात्मक छ।’

    सो अन्तक्र्रिया अघि विदुषी गिरीको ‘चिसो घर’, सरिता साहको ‘थ्रेसहोल्ड’ र आंकाक्षा कार्कीको ‘सनई’ प्रदर्शन भएको थियो।

    महोत्सवमा ‘कट कथा’ले स्टोरी पिचिङ गरिरहेको छ भने स्टोरी टेलर्सको सहकार्यमा निर्देशक मीन भाम, शिलशिला आचार्य र दावा याङ्जुङ शेर्पाले आआफ्नो कथा सुनाउँदै छन्। महोत्सवमा युवालाई लक्षित गरेर ब्रिटिस काउन्सिलको सहकार्यमा ‘च्याम्पिनिङ योङ फिल्म मेकर्स’ गर्दै छ। यसमा उनीहरूले फिल्म बनाउने आधारभूत शैली सिक्नेछन्।

    किम्फले यसअघि गरिरहेको फोटो प्रदर्शनीले यसपटक समेत निरन्तरता पाएको छ। महोत्सवमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुनेछन्। किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत डकुमेन्ट्री, कथानक, सर्ट तथा प्रयोगात्मक फिल्म समावेश छन्। त्यस्तै नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्जक फिल्महरू प्रस्तुत भइरहेका छन्।

  • अहंकारको अवसान

    अहंकारको अवसान

    २०७९ सालको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको शानदार सफलतापछि समाजिक सञ्जालमा नेपाली कांग्रेस, एमाले तथा माओवादी केन्द्र जस्ता पार्टीहरूलाई अब सच्चिने कि सक्किने हो भनेर खिसीटिउरी गर्ने तथा अर्थपूर्ण कडा प्रहार गर्ने कार्य भैरहेका छन्। कतिपयले त यहाँसम्म भन्ने गरेका छन्, बरु गधा गाई बन्न सक्ला तर पुराना ठूला पार्टी र पार्टीमा कब्जा जमाएर बसेका बूढा नेताहरू सुध्रिनेवाला छैनन्।

    आमनागरिक मात्र होइन, तत्तत् पार्टीका कतिपय कार्यकर्ता तथा युवा नेताहरूले समेत यस्तै आशय व्यक्त गरेका छन्। कांग्रेस नेता शेखर कोइराला तथा गगन थापा समूहले यही मौकामा जोडतोडका साथ पार्टी रूपन्तरणको मुद्दा उठाउँदै आएका छन् भने देउवा समूह भने मौन छ। मानौं, देउवा नेतृत्वको कुनै गल्ती तथा कमजोरी छैन, उनीभन्दा सक्षम नेता कांग्रेसमा अर्को छैन।

    देउवा, ओली तथा प्रचण्डहरू यस विषयमा मौन भए पनि माधव नेपालले भने अब पनि हामी सच्चिएनौं भने ठूलो मूल्य चुकाउनुपर्छ भनेका छन्। तर यो उनको ओठे गफ मात्र हो। त्यो किनभने स्वयं उनी नै प्रधानमन्त्रीको आशमा र्‍याल काढेर ढुकेका छन्। देउवा, ओली, प्रचण्ड तथा माधव जस्ता पटक पटक मन्त्री तथा प्रधानमन्त्री भएका कोही पनि नेता सच्चिनेवाला छैनन्। सच्चिन आवश्यक पनि ठान्दैनन्। देउवा पाँच–पाँच पटक प्रधानमन्त्री हुँदासमेत सच्चिएनन् भने अब कहिल्यै सच्चिएलान् ?

    कुनै पनि व्यक्तिले कार्य गर्दा आफ्नो गल्ती तथा कमी कमजोरी देख्यो भने पो सच्चिन्छ वा सच्चिने प्रयास गर्छ। मैले जे गरेको छु, ठीक गरेको छु, मभन्दा सक्षम व्यक्ति अर्को को छ भन्ने अहं छ भने व्यक्ति सच्चिने कुरै भएन। मनोविज्ञानको एक गहन विषय के हो भने प्रायः व्यक्तिले आफैं बनाएको अंहकारको पहाड आफैं भत्काउने साहस नै गर्दैन। यस्ता व्यक्तिमा के भ्रम हुन्छ कि यही अहं नै उसको सम्पत्ति हो। तर वास्तविकता भने के हो भने अंहकारको त्यो पहाड नभत्काएसम्म कसैले सच्चिने कल्पना नगरे पनि हुन्छ। सच्चिनुपर्ने व्यक्ति नसच्चिएसम्म सफलताको शिखरमा झण्डा गाड्न सक्ने सवालै भएन।

    समस्याको जड भनेको नै अंहकार हो। यही अंहकारका कारण नै ठूलाठूला नेता, पार्टी तथा साम्राज्यहरू गल्र्यामगुर्लुम ढलेका छन्। श्रीमद्भगवत् गीतामा श्रीकृष्णले दम्भ, घमण्ड, अभिमान तथा क्रोधलाई आसुरी सम्पदा भनेका छन्। यिनै दुर्गुणहरूले मानिसलाई अधोगतितिर लान्छ, मानिसको विनाश गर्छ भनेका छन्।

    मन्दोदरीले रावणसँग सीतालाई ससम्मान रामलाई फिर्ता दिई माफी माग्न हजार विन्ती गरेकी थिइन्। तर रावणले ठाडै अस्वीकार गरे। रावणमा विश्व विजेताको अहंकार थियो कि ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई हराउन सक्दैनन्। रावणको यही अहंकारका कारण लंका नै ध्वस्त भयो। रावणको पतन भयो।

    कृष्णले धृतराष्ट्रको दरबारमा दुर्योधनको उपस्थितिमा पाण्डवको तर्फबाट सन्धिको प्रस्ताव राखेका थिए। पाण्डवलाई पाँच गाउँ दिने हो भने युद्ध रोकिन्छ भनेका थिए। तर अहंकारी दुर्योधनले कृष्णको प्रस्ताव ठाडै अस्वीकार गरे। नतिजा महाभारत युद्ध भयो। कौरवको विनाश भयो।

    अहंकार यस्तो नकारात्मक मानवीय भावना हो जसका कारण मानिसले आफूलाई जीवनको हरक्षेत्रमा उत्कृष्ट मान्न थाल्छन्। अरूलाई निचो देखाउने प्रयास गर्छन् र अरूलाई निचो देखाएर नै अगाडि बढ्ने सोच्छन्। केही उचाइमा पुगेपछि उसको अहंकार झनै बढ्छ। अनि मदोन्मत्त हुन्छन्। अहंकारको मातमा मानिसले अरूको ज्ञान र अनुभव ठीकसँग उपयोग गर्न पाउँदैनन्। अंहकारकै कारण मानिसले पाप गर्छन्, अपराध गर्छन्। अहंकार कारण नै जीवनमा दुःखद घटनाहरू पैदा हुन्छन्। अहंको कारण नै मानिसको पतन हुन्छ। त्यसबेला उसलाई साथ दिने कोही हुँदैनन्। यसरी नै मानिसको व्यक्तित्व नष्ट हुन्छ। अनेक मानसिक समस्या पनि यही अहंकारका कारण नै पैदा हुन्छन्।

    सबैले बुझ्नुपर्ने कुरा के हो भने यस संसारका हरेक व्यक्ति चाहे शारीरिकरूपमा कति नै कमजोर तथा मानसिकरूपमा कति नै खराब किन नहोस्, उसमा कुनै न कुनै गुण अवश्य हुन्छ भने मानिस जति नै शक्तिशाली वा असल किन नहोस् उसमा कुनै न कुनै अवगुण अवश्य हुन्छ। भनिएको नै छ, गुण नभएका राक्षस हुँदैनन्, अवगुण नभएका देउता हुँदैनन्। त्यसैले अहंले मदोन्मत्त भएर कसैले कसैलाई अवमूल्यन गर्नुहुँदैन।

    अहंकारको जन्म आत्मप्रशांसाको बिजबाट पैदा हुन्छ। स्वयंको सर्वोच्चता मान्ने भावनाले पैदा हुन्छ। तर यो एक झुटो सत्य हो। त्यो किनभने जसलाई मानिसले आत्मविश्वास भन्छन्, त्यो एक झुट हो, जो मानिसले आफैँ निर्माण गरेको हुन्छ। वास्तवमा अहं मानिसको छायाँ जस्तै हो। जस्तो कि शरीर छ भने छायाँ पनि हुन्छ। छायाँ न राम्रो हुन्छ न नराम्रो। सूर्य माथि भयो भने छायाँ सानो हुन्छ, सूर्य ढल्दै जाँदा छायाँ अग्लो हुन्छ। यसरी हेर्दा अहंकारले मानिसलाई लक्ष्यको बाटोबाट भड्काउँछ।

  • सेना घटाउँदै बेलायती सरकार

    सेना घटाउँदै बेलायती सरकार

    आगामी वर्ष अर्थात सन् २०२५ भित्र बेलायतले ८२ हजार सेना घटाएर ७३ हजारमा सीमित गर्ने भएको छ। यो भनेको नेपोलियन युगयता सबैभन्दा कम आकारको सेना बनाउनु रहेको विज्ञले बताएका छन्।

    बेलायतले आफ्नो सेनाको आकार घटाउने निर्णय सार्वजनिक भएसँगै अमेरिकी सेनाका जनरलहरूले संसारकै उम्दा सेनाको आकार घटेसँगै यसले छरछिमेकबाट बेहोर्ने आक्रमण थेग्न नसक्ने चेतावनी दिएका छन्। भविष्यमा बेलायतले अमेरिकी सहयोग माग्नुपर्ने हुन सक्नेतर्फ सचेत गराइएको छ।

    अमेरिकी सेनाका अधिकारीले भविष्यमा रुसबाट कुनै सैन्य गतिविधि भएको अवस्थामा यसले प्रतिरोध गर्ने क्षमता गुमाउन सक्ने टिप्पणी गरेका छन्। फ्रान्ससँग यतिबेला एक लाख १० हजार सेना छन्। जर्मनीले आफ्नो सेनाको संख्या २ लाख ३ हजार पुर्‍याउने लक्ष्य राखेको छ। यस्तो अवस्थामा यतिबेला बेलायतसँग जम्मा एक लाख ५० हजार सेना छन्।

    जर्मनीले सन् २०२७ मा आफ्नो चार हजार सेना लिथुआनिया क्षेत्रमा पठाउने तयारी गरिरहेको छ। यो नाटोसँगको सम्झौताका आधारमा पठाउन लागिएको हो। बेलायतले भने इस्टोनियाका लागि आफ्ना सेना तैनाथ गर्नुपर्ने भए पनि त्यहाँ पठाएको छैन। मात्र उसले आफ्नो सेनालाई त्यहाँका लागि तयारीको अवस्थामा रहन आदेश दिएको छ।

    एक जना युरोपेली सेनाका जनरल नाम नबताउने सर्तमा भन्छन्, ‘बेलायतले सेना पठाउनेबारे खासै निर्णय नगरेकाले उसको क्षमतामाथि चासो व्यक्त गर्न थालिएको छ। खासगरी बेलायती सेनाले मानव स्रोतसाधनसँगै सामरिक हतियारको क्षमता प्राप्त गर्न सकिरहेको छैन। आगामी दिनमा उसले धेरै सेनाको संख्या घटाउँदै छ।’

    उनको भनाइमा संसारभर द्वन्द्व चर्किंदै गर्दा संख्या पनि बढाउनुपर्ने बाध्यता छ तर बेलायतले घटाउँदै गइरहेको छ। युक्रेनमा भइरहेको युद्धमा रुससँग भिड्ने सेनाको संख्या ठुलो भएकाले अहिलेसम्म उसले आफ्नो इज्जत जोगाइरहेको उनको भनाइ छ। ठुलो संख्यामा सेना नभएको भए यतिबेला युक्रेनले घुँडा टेकिसकेको हुने उनको टिप्पणी छ।

    पछिल्लो समय बेलायती रक्षा खर्च उल्लेख्य रूपमा घटेको छ। सन् २०१० सम्म जिडिपीको २.४७ प्रतिशत रक्षामा खर्च हुन्थ्यो। अहिले घटेर २.२८ मा झरेको छ। हुन त सन् २०३० भित्र प्रधानमन्त्री ऋषि सुनकले कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशत सैन्य खर्चमा जोड दिने बताइरहेका छन्।

    रक्षा खर्च बढाउनुपर्ने माग भए पनि बेलायती सेनाको आकार र खर्च क्रमशः खुम्चँदो छ। द टाइम्स पत्रिकाका अनुसार युरोपेली रक्षाका लागि बेलायतको भूमिका निकै महत्त्वपूर्ण छ किनभने योसँग परमाणु अस्त्र समेत छ।

    बेलायती रक्षा मन्त्रालयका अनुसार नाटो अभ्यासका क्रममा युरोपका विभिन्न स्थानमा १६ हजारभन्दा बढी सेना र हजारौं प्रतिरक्षा सवारी युरोपका विभिन्न ठाउँमा तैनाथ गरिएको छ। सो तैनाथी तालिम र अन्य कार्यका लागि मात्र नभएर तीव्र प्रतिरक्षा प्रणालीका लागि पठाइएको प्रस्टोक्ति छ।

  • आज यी प्रदेशमा आंशिक बदली भई वर्षा

    आज यी प्रदेशमा आंशिक बदली भई वर्षा

    मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिक बदली रहने बताएको छ। महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

    महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

    २०८१ जेठ १९ गते (शनिवार)

    दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी, मधेश, बागमती र गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०८१ जेठ २० गते (आइतवार)

    दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • कस्तो छ तपाईंको आजको राशिफल?

    कस्तो छ तपाईंको आजको राशिफल?

    मेष राशिः वाणी सफल हुने समय छ। छालासम्बन्धी समस्या देखिन सक्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यापार व्यवसायमा मध्यम फल प्राप्त हुने योग छ। अध्ययनमा सफलता मिल्ने छ।

    वृष राशिः स्वजनबाट नयाँ सामग्री आउने योग छ। व्यापार व्यवसायमा धन प्राप्तिको समय छ। उदर समस्या देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। प्राविधिक उद्योगमा लगानी गर्दा शुभ हुन्छ।

    मिथुन राशिः राजनीतिमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यवसायमा लगानी गरे कमलाभ प्राप्त हुनेछ। अध्यापनमा सफलता मिल्ने छ। धन ढिला प्राप्त हुनेछ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ।

    कर्कट राशिः पढाईमा कार्यसिद्धि योग रहेको छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। नयाँ कार्यमा लाभ हुने दिन छ। अरुको सहयोग लिएर कामनगरी आफै कार्य गर्नु होला। सामाजिक पद, सम्मान मिल्ने छ।

    सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नती प्रगति हुने दिन छ। नयाँ व्यक्तिको कार्यबाट सामान्य बाधा हुन सक्ने छ। व्यापारमा फल प्राप्त हुनेछ।

    कन्या राशिः राजनीतिमा सफलता मिल्नेछ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमिसम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ।

    तुला राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। यात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सामान्य विवाद हुने देखिएकाले सचेत रहनु नै उत्तम हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। वित्तीय क्षेत्रमा कम सफलता मिल्नेछ।

    वृश्चिक राशिः अग्रजलाई सामान्य समस्या देखा पर्न सक्नेछ। स्वदेश यात्राको योग छ। कार्यगर्दा बिचारपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ।

    धनु राशिः परिवारमा लगानी हुने दिन देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु होला। नयाँ कार्य सिद्धिमा अवरोध देखिनेछ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। आर्थिक लाभमा बाधा हुने छैन।

    मकर राशिः पुरानु धन प्राप्त हुने देखिन्छ। धार्मिक कार्य गर्नु शुभ छ। नयाँ पद प्राप्त हुने समय छ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। उन्नति हुने दिन छ।

    कुम्भ राशिः घर परिवारमा प्रेम सद्भाव रहने छ। व्यापार व्यवसाय गर्नेहरुलाई राम्रो छ। वैदेशिक यात्रामा दिन राम्रो छ। सामान्य उदर समस्या देखिन सक्छ। नयाँ काममा मतान्तर हुन सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ।

    मीन राशिः साथीसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापारमा यात्राको योग देखिन्छ। सामान्य उदर समस्या देखिन सक्छ। व्यवसायमा मतान्तरबाट जोगिनु होला ।मध्यमफल प्राप्तिको योग छ।