Blog

  • बालिका बलात्कार गर्ने किशोरलाई आठ वर्ष कैद

    बालिका बलात्कार गर्ने किशोरलाई आठ वर्ष कैद

    सप्तरी जिल्ला अदालतले १५ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई आज आठ वर्षको कैद सजाय सुनाएको छ।

    सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले ५० हजार क्षतिपूर्ति, ३६ हजार तीन सय ३३ जरिवानाको फैसला गरेको हाे।

    विद्यालय पढ्न गएकी बालिका (परिवर्तित नाम १६५०) लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबीहोटलमा लगेर बलात्कार गरेका थिए।

    पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटेलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनः उजुरी दर्ता गरेको थियो।

    आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए। जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधार गृह वीरगन्ज पठाएको थियो।

  • नारायणघाटमा एनसेलको नयाँ सेन्टर

    नारायणघाटमा एनसेलको नयाँ सेन्टर

    एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणघाटमा नयाँ एनसेल सेन्टर खोलेको छ।

    ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको आज एनसेलले विज्ञप्ति जारी गरि बताएको हो।

    एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले आज एक कार्यक्रम गरी एनसेल सेन्टरको उद्घाटन गरेका हुन। यो सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने बताइएको छ।

    आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन्।

    यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।

    सेन्टर उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, ‘नारायणघाटमा खोलिएको नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौं । ‘हामी तपाईंकै लागि’ अर्थात नेपाल र नेपालीका लागि हौं र यही थिममा आधारित भई ग्राहक सेवाका लागि स्थानिय स्तरमा नै उपस्थिती जनाई ग्राहकहरुलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउनु हाम्रो उदेश्य रहेको छ।’

    उक्त अवसरमा कम्पनीको ‘सधैं अन’ योजनाका बारेमा बोल्दै उनले यो यस्तो प्रकारको नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिए पश्चात मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको बताए।

    ‘यसले प्रयोगकर्ताहरूलाई आफ्नो मेन ब्यालेन्स काटिने डर नराखी आफ्नो डेटा सधैं अन राख्न मद्दत गर्दछ किनकि आजको डिजिटल युगमा धेरै कार्यहरू अनलाइनमार्फत नै गरिने हुनाले उनीहरू सधैं अनलाइन रहनु पर्दछ,’ उनले भने।

    आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले पुल्चोक, नारायणघाटमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो।

    आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा भन्दा बढि एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ।

  • काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

    काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

    महोत्तरीको बर्दिबासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस दुर्घटनामा परेको छ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बाग्मती प्रदेश ०१०-०१-१७३२ नम्बरको बस सिन्धुलीको गोलन्जोर वडा नं-७ तल्लो बारा भन्ने स्थानमा बिहीबार अपराह्न दुर्घटनामा परेको हो।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन्। उनका अनुसार घाइते भएकाहरूको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

    बर्दिबास स्थित बैंकको तालिममा सहभागी भएर फर्कने क्रममा बस दुर्घटना भएको हो। घुमाउरो सडकमा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउँदा दुर्घटना भएको स्थानीयको अनुमान छ।

    बस सडकबाट करिब २५ मिटर तल खसेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

  • अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधि उपचारको सुविधा

    अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधि उपचारको सुविधा

    सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् । बिहिबार देखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोल प्रसाद अर्यालले औपचारिक घोषणा गरेका छन् ।

    यसअघि २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले जेठ १७ देखि लागू हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधिउपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको हो ।

    यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउने भएका छन् ।

    कोषले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई नै उपचार सुविधामा समेट्ने गरी तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र आज बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशक उत्तमराज नेपालले जानकारी दिए ।

    त्यस्तै, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समायावधिलाई नौ महिनाबाट घटाएर तीन महिनामा झारेको छ । यसअघि कोषमा योगदान गर्न थालेको नौ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्था रहेकोमा अबदेखि तीन महिनाको नियमित योगदानपछि नै योग्य हुने गरी कार्यविधि संशोधन गरिएको निर्देशक नेपालले जानकारी दिए ।

    ‘उपचार सुविधा पाउन योग्य हुने अवधि घटेको र परिवारमा समेत सुविधा विस्तार भएकाले नियमित योगदानका लागि थप अभिप्रेरित हुने विश्वास लिइएको छ,’ उनले भने ।

  • कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन: अर्थमन्त्री

    कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन: अर्थमन्त्री

    अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन्।

    करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन्।

    संघका अध्यक्ष साहिल अग्रवाल नेतृत्वमा गएका व्यवसायीले बजेटमा फलामे डण्डी निर्माणमा प्रयोग हुने स्पन्ज आइरनमा करका दर हेरफेर गर्दा आफूहरु मर्कामा परेको गुनासो गरेका थिए।

    जवाफमा मन्त्री पुनले कसैको मुख हेरेर नभई संसदीय समिति, आन्तरिक राजश्व विभागले गरेको अध्ययनको रिपोर्ट, विगतदेखि नै व्यवसायीले राख्दै आएका माग तथा राजनीतिक तहको सुझावसमेतलाई मध्यनजर गरी तथ्य परक रुपमा करका दरमा परिवर्तन गरिएको प्रष्टीकरण दिए।

    ‘मन्त्री र सचिवको स्वविवेकले वा कसैको मुख हरेर यो निर्णय भएको होइन’, मन्त्री पुनले भने, ‘धेरै छलफल गरेर मात्र निष्कर्षमा पुगेका हौं। हामी आफ्नो निर्णय सही र यथार्थपरक छ भन्नेमा छौं। यद्यपि सरकार तपाईंहरुलाई दबाउनुपर्छ। उद्योग बन्द गर्नुपर्छ भन्ने पक्षमा होइन भन्ने स्पष्ट गर्न चाहन्छु।’

    करको दर हेरफेरको निर्णयले उद्योगहरुलाई प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास उनको थियो।

    मन्त्री पुनले निर्णयमा अडिग रहे पनि व्यवसायीका जायज माग र गुनासा सुन्न तत्पर रहेको बताए। उनले संवाद गर्नुको अर्थ मन्त्रालय निर्णयबाट पछि हट्न खोजेको वा घोषणा गरिसकिएकाले अब पछि हट्नै सकिँदैन भन्ने रुपमा बुझ्न पनि नहुने स्पष्ट गरे।

    उनले करका दर हेरफेरको विषयलाई लिएर धेरै विवादको विषय बनाउन जरुरी नरहेको भन्दै तथ्यका आधारमा छलफल गरी निष्कर्षमा पुग्न व्यवसायीलाई आग्रह गरे।

    मन्त्री पुनले निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बजेटपूर्वका छलफलहरुमा दिएका अधिकांश सुझाव बजेटमा समेटिएको उल्लेख गरे।

    निजी क्षेत्रका तीनवटै छाता संगठनका तर्फबाट बजेट यथार्थपरक ढंगले आएको र आफूहरुका आवाज सम्बोधन भएको प्रतिक्रिया आएको भन्दै उनले त्यसका लागि धन्यवाद दिए।

    निजी क्षेत्रकै मागअनुसार बजेटमा आफूले अर्थतन्त्र शिथिलतामा रहेका कारण करका दर धेरै नचलाएको र नीतिगत निरन्तरताको पक्षमा रहेको सन्देश प्रवाह गरेको मन्त्री पुनले उल्लेख गरे।

    ‘अर्थतन्त्र शिथिलतामा रहेका बेला करका दरमा कम हेरफेर गर्नुपर्छ भन्ने लागेर धेरै चलाइएको छैन। वितरणमुखी बजेट आउँछ भन्ने हल्लाहरु चलाइएका थिए। कतै पनि वितरणको शीर्षकमा बजेट राखिएको छैन।

    मन्त्री पुनले भने, ‘गत वर्ष राजश्व संकलनको लक्ष्य ४१ प्रतिशत राखिएकामा यो वर्ष निकै कम लक्ष्य राखेका छौं। निजी क्षेत्रलाई कम दबाबमा राखेर स्पेश दिनुपर्छ भन्ने आधारमा नीति तय गरेका छौं। निजी क्षेत्रले दबाबमा बसेर काम गर्नुपर्दैन।’

  • सन्दीपले फेरि पनि पाएनन् भिसा

    सन्दीपले फेरि पनि पाएनन् भिसा

    क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ।

    बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो।

    लामिछानेले टी-२० विश्वकप क्रिकेट खेल्न दिएको आवेदन यसअघि पनि अस्वीकार भएको थियो। उनको भिसा अस्वीकार भएपछि खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले दूतावाससँग समन्वय गरिरहेको थियो। त्यसपछि दूतावासले आज लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो।

  • सांसद् विन्दवासिनी कंसाकारले चाँडो न्याय पाउनुहुन्छ: कानुनमन्त्री गिरी

    सांसद् विन्दवासिनी कंसाकारले चाँडो न्याय पाउनुहुन्छ: कानुनमन्त्री गिरी

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एसिड पीडित सांसद विन्दवासिनी कंसाकारले अदालतको फैसला बमोबिजम पाउनुपर्ने रकमको प्रक्रिया फाइल आगाडि बढेको बताएका छन्।

    सङ्घीय संसद् प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिमा आज बसेको छलफल कार्यक्रममा मन्त्री गिरीले एसिड पीडित सांसद कंसाकारले चाँडो न्याय पाउनुपर्ने बताए। नेपालमा एसिड आक्रमणबाट पीडितको क्षतिपूर्ति सम्बन्धमा गरिएको छलफल कार्यक्रममा उनले राज्यले यस्तो संवेदनशील विषयमा तुरुन्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए।

    उनले भने, ‘म यस विषयमा गम्भीर छु, जति सक्दो छिटो न्याय दिलाउन कोसिस गर्नेछु।’

    सांसद् विन्दवासिनीले पीडित भएको ११ वर्षसम्म पनि अदालतले फैसला गरेअनुसारको क्षतिपूर्ति पाउन नसकेको गुनासो गरिन्। उपचारका क्रममा परिवारले घरबारै बेचेको र आफ्नो परिवारको बिचल्ली भएको उल्लेख गरिन्। छलफलका क्रममा बैठकमा उपस्थित सांसदहरुले पीडितलाई क्षतिपूर्ति दिन ढिलासुस्ती गर्न नहुने बताए।

    सांसद शान्ति विकले कानुन बनाउने थलोमै भएर पनि पीडित सांसदले समयमै न्याय पाउन नसकेको गुनासो गरे।

    सांसद रोशन कार्कीले राज्यले पीडित सांसद विन्दवासिनीलाई क्षतिपूर्ति तुरुन्तै दिनुपर्ने बताए।

    अधिवक्ता यज्ञमणी न्यौपानेले एसिड घटनाका कानुनी पक्षबारे जानकारी गराए। फैसला कार्यान्वयन निर्देशनालय एवं पीडित राहत कोषका सदस्य सचिव सूर्यवंश शर्मा कँडेलले चालू आर्थिक वर्षमा कोषबाट ६९ पीडितले रु ९८ लाख २५ हजार क्षतिपूर्ति प्राप्त गरेको जानकारी दिए। कोषमा रकम अभाव भएको उनले बताए।

    महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले एसिड पीडित सांसदले चाँडो न्याय पाउनुपर्ने बताए।

  • चक्रीय अथतन्त्रबारे पत्रकार र विज्ञहरूबिच छलफल

    चक्रीय अथतन्त्रबारे पत्रकार र विज्ञहरूबिच छलफल

    नेपालमा बढ्दो जलवायु’ परिवर्तन र त्यसका असरसँग जुध्न चक्रीय अथतन्त्रको महत्त्व बुझाउन आयोजित दुई दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

    वन्यजन्तु संरक्षण संघ नेपालको आयोजनामा भएको सो तालिम सोमबार र मंगलबार काठमाडौँमा आयोजना भएको थियो। तालिमका क्रममा सहभागीहरूले देशमा चक्रीय अर्थतन्त्र पद्धति अपनाउनुपर्ने कुरामा जोड दिएका थिए।

    कार्यक्रममा सहभागी भएकाहरूले देशलाई चक्रीय अर्थतन्त्र पद्धतिमा लगेर वातावरण जोगाउने क्रियाकलाप गर्नुपर्ने बताए। वातावरण प्रदूषण हुने खालका सामग्रीहरू प्रयोग गर्न नहुँने, कुनै पनि नयाँ सामग्रीहरू उत्पादन गर्दा त्यसलाई पुन प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने, उद्योग सञ्चालकहरुले आफ्नो बस्तु उत्पादन गर्दा त्यहाँबाट निस्किने फोहोरहरु उनीहरुले नै व्यवस्थापन गर्नुपर्ने तथा सकेसम्म थोरै मात्रै फोहोर उत्पादन ह’ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिइएको थियो।

    कार्यक्रममा बाल्दै बन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले चक्रीय अर्थतन्त्र पद्धतिमा नेपालले आफूले सक्ने लक्ष्य मात्र राख्नुपर्ने बताए। उनले अहिले विश्वका अन्य देशहरू फेरि प्रकृतितर्फ फर्किएको भन्दै नेपालका प्राकृतिक सम्पदा जोगाउनुपर्नेमा जोड दिए। चक्रीय अर्थतन्त्र पद्धति लागू गर्न, व्यक्ति, घर, समाज, वडा, पालिका, प्रदेश सरकार र संघ सरकार सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

    वन्यजन्तु संरक्षण नेपालकी निर्देशक सजीवनी योञ्जन श्रेष्ठ विश्व चक्रीय अर्थतन्त्र पद्धतिमा गइरहेको बताउँदै नेपाल पनि सोही पद्धतिमा जानुपर्ने बताइन्। उनले उत्पादकता, नीति निर्माण कर्ताहरूले यो विषयमा ध्यान दिनुपर्ने बताइन्। उनले सकेसम्म फोहोर उत्पादन नगर्ने, उत्पादन भएपनि त्यसको प’न प्रयोग गर्ने वा त्यसलाई प’न प्रयोगमा ल्याउने र नभए मात्रै फोहोरका रुपमा विसर्जन गर्ने नीति नै चक्रीय अर्थतन्त्र भएको जानकारी दिइन्।

    तालिमका क्रममा वातावरण पत्रकारद्धय सुबोध गौतम र पीताम्बर सिग्देलले चक्रीय अर्थतन्त्रसँग सम्बन्धित समाचारको महत्त्व र समाचारका विषय तथा लेखन शैलीबारे सहभागीलाई तालिम दिएका थिए।

    नेपालमा चक्रीय अर्थतन्त्रसम्बन्धी युरोपियन युनियनको आर्थिक सहयोगमा वन्यजन्तु संरक्षण संघ र इम्प्याक्ट हबले नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्।

  • फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँः प्रधानमन्त्री

    फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्।

    बिहीवार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उनले उल्लेख गरे।

    समाजवादको निम्ति एकता आवश्यक रहेको पनि उनले बताए। उनले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको बताए। कृषिलाई आधार बनाएर र आईटीलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ्नसक्ने उनको भनाइ छ। समाजवादको सोच र रुपान्तरणको अभियान सांस्कृतिक रुपान्तरणको अभियान भएको उनले बताए।

  • काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

    काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

    काठमाडौं उपत्यकाको आजको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ३३ डिग्री सेल्सियस पुगेको हो।

    विगत केही दिनयतादेखि उपत्यकाको तापक्रम बढ्दै गइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज काठमाडौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो।अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ।