Blog

  • स्वयंसेवाका नाममा सजाय

    स्वयंसेवाका नाममा सजाय

    उनको ज्याकेटमा ‘ट्राफिक भोलेन्टियर’ लेखिएको छ। तर उनको अनुहारमा स्वयंसेवकको आनन्द झल्किँदैन। ‘ओभरस्पिड’का कारण ट्राफिक कारबाहीमा परेका गोठाटारका सिजल दाहाल जेठको चर्को घामले भन्दा पनि अनावश्यक दुःखले बढी पोलेको सुनाउँछन्।

    ‘यहाँ आएर चर्को घाममा उभिनुबाहेक अरू केही सिकिएन,’ ट्राफिक नियम उल्लंघन गरेका कारण सिंहदरबार अगाडि उभिएका उनले भने, ‘यहाँ उभिएर केही सिक्नेभन्दा पनि यातना पाएको महसुस बढी भएको छ।’

    ओभरस्पिडमा चलाउनु आफ्नो गल्ती भए पनि यस्तो खाले सजाय पाउनु जायज नभएको उनको तर्क छ। ‘हामीलाई जरिवाना तिराइयो, सचेतना कक्षामा पनि सामेल गराइयो,’ उनले भने, ‘अनि फेरि यो चर्को घाममा किन उभ्याइयो?’

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार गणतन्त्र दिवसको शुभकामना दिँदै सामाजिक सञ्जालमा गरेको घोषणाले बुधबारबाट सयौं सवारी चालक जेठको घाममा अँध्यारो अनुहार लगाउँदै यसैगरी उभिन बाध्य बने।

    मंगलबार लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा काम गर्नुनपर्ने घोषणासँगै उनीहरूको स्थानमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाउने योजना रहेको जानकारी दिएका थिए।

    महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा काम गर्नुनपर्ने घोषणाको स्वागत भए पनि तिनको स्थानमा ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाउने योजनाको भने चौतर्फी आलोचना भइरहेको छ। उचित तयारी नगरी हचुवाका भरमा निर्णय लागु गर्दा जोकोहीले पनि कडा सजाय पाउन थालेका छन्। ‘निर्णय मंगलबार भएको तर एक महिना अगाडि गरेको गल्तीको पनि अहिले सजाय भोग्दैछु,’ साँखुका श्रीकृष्ण पौडेल भन्छन्, ‘जबर्जस्ती सजाय दिलाएको जस्तो लागिरहेको छ।’

    अगाडि सिटमा दुई यात्रु राखेका कारण चिट काटिएका पौडेल अहिले आएर उक्त गल्तीको सजाय भोग्नुपरेको सुनाउँछन्। ‘सचेतना कक्षा र जरिवानासम्म ठिकै हो,’ उनी भन्छन्, ‘तर यो घाममा हामीलाई किन उभ्याइएको हो, थाहा छैन ।’ उनी पनि घाममा उभिएर स्वयंसेवा गराएपछि जरिवाना तिराउन नहुने सुनाउँछन्।

    तर ट्राफिक प्रहरी भने जरिवाना र स्वयंसेवा फरक भएको बताउँछन्। उपत्यका ट्राफिक प्रहरी महाशाखाका एसएसपी श्रेष्ठले भने, ‘गल्ती गरेपछि जरिवाना तिर्नुप¥यो,’ उनले भने, ‘स्वयंसेवा फरक कुरा हो।’

    बुधबार यस्तो स्वयंसेवा गर्नेको संख्या १ हजार ३०२ रहेको श्रेष्ठले बताए। उनले यसो भने पनि फ्लोरिसेन्ट ज्याकेट लगाएर घाममा उभिएकाहरू स्वयंसेवा गरेको भन्दा पनि यातना भोगेको महसुस गर्छन्। ‘कक्षा सकिएपछि ल हिँड सडकमा भनेर ल्याइएको हो,’ सानु लामा भन्छन्, ‘थप कारबाहीमा परिएला भन्ने डरले हामी लुरुलुरु आएका हौं।’

    यसरी लुरुलुरु आउन बाध्य भएर होला, धेरैको अनुहार अँध्यारो देखिन्थ्यो। ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरूलाई प्रहरीले स्वयंसेवकका रूपमा सवारी व्यवस्थापनमा खटाउन थाले पनि उनीहरूले खासै केही गरेको देखिएन।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरूलाई एक घण्टा ट्राफिक स्वयंसेवकका रूपमा ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोकलगायत स्थानमा खटाउने गरेको छ।

    ट्राफिक विज्ञ आशिष गजुरेल स्वयंसेवाको कामका सैद्धान्तिक रूपमा राम्रो देखिए पनि कानुनी पक्षलाई बेवास्ता गर्न नमिल्ने सुनाउँछन्। ‘कारबाहीमा परेकाहरूले स्वतः स्फूर्त रूपमा म स्वयंसेवा गर्छु भने ठिकै छ,’ उनले भने, ‘तर नियम उल्लंघन गरेकै कारण कसैलाई जबर्जस्ती स्ययंसेवामा लगाउन मिल्दैन।’

    तर बिहीबार स्वयंसेवामा खटिएका अधिकांश आफूलाई स्वयंसेवकभन्दा पनि पीडित भएको बताए। ‘यो अनावश्यक दुःख हो,’ लेन क्रस गरेका कारण कारबाहीमा परेका भक्तपुरका योगेन्द्र शाक्य भन्छन्, ‘लेन क्रस गर्नेलाई कारबाही, नभएको नियम लगाएर कानुन क्रस गर्नेलाई खै कारबाही? नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयंसेवक बनाएर सडकमा खटाउने निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ।

    समितिका सभापति रामहरि खतिवडाले बिहीबार मानवअधिकारको हनन हुने गरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताए। ‘यो कानुनी राज्य हो। जे मन लाग्यो, त्यही निर्णय गर्ने होइन। यसमा हाम्रो चासो देखिएको छ,’ उनले भने, ‘यसबारे छलफल गर्नुपर्ने आवश्यकता ठानेका छौं।’

    खतिवडाले ट्राफिक स्वयंसेवकबारे राज्य व्यवस्था समितिले छिट्टै बैठक राख्ने जानकारी पनि दिए। हाल ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी चालकलाई कारबाही तथा जरिवाना गराउँदै आएको छ। ऐनमा कारबाहीमा परेकालाई अनिवार्य कक्षा लिने व्यवस्था पनि छैन। यस्तोमा उसले स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय लिएको हो।

    ट्राफिक प्रहरीका अनुसार अहिले उपत्यकामा १८ सय ट्राफिक प्रहरी सडक व्यवस्थापनमा खटिन्छन्। तीमध्ये कम्तीमा ३०० महिला प्रहरी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

    महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा काम गर्नुनपर्ने घोषणासँगै ट्राफिक कारबाहीमा परेका व्यक्तिलाई सडकमा ल्याएर काम गराउनु मानवअधिकारको हनन गर्नु रहेको कतिपयको बुझाइ छ। प्रहरीको संख्या कम भयो भन्दैमा यसरी सर्वसाधारणलाई दुख दिन नपाइने कतिपयको भनाइ छ। ‘यो शारीरिक दण्ड सजाय हो, यसरी जसलाई मन लाग्यो जतिबेला मन लाग्यो दिन मिल्दैन,’ अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्, ‘यस्तो सजाय असभ्य समाजमा मात्र कल्पना गर्न सकिन्छ।’

  • बिचौलिया किन घुस्छन् बीचबीचमा ?

    बिचौलिया किन घुस्छन् बीचबीचमा ?

    नेपालमा गल्ती गर्नेले खासै सजाय पाउँदैन किनकि उसले गल्तीसँगै त्यसबाट उन्मुक्ति पाउने मार्गसमेत अंगालिसकेको हुन्छ। विशेषगरी नेपालको कर्मचारीतन्त्रले यस्तो मार्गसँग निकै सामीप्यता राख्छ। कर्मचारी सर्वसाधारणको कुनै पनि काम गर्न घूस माग्छन्। तर यसरी घूस लिनेलाई कारबाही हुँदैन। कारण प्रष्ट छ–उनीहरू आफैँ घूस लिँदैनन्। बिचौलिया प्रयोग गर्छन्। त्यसैले घूसखोरी र प्रमाण नदीका दुई किनारा सावित हुँदै आएका छन् जसको मिलन कहिल्यै हुन्न।

    यतिबेला वैदेशिक रोजगारमा पठाइदिने बहानामा खुलेका म्यानपावर कम्पनीहरूले ठगीको यस्तै ‘बच्ने’ मेलो अपनाएका छन्। खासमा वैदेशिक रोजगारीमा जान चाहनेसँग कुरा गर्ने, उसलाई सबै कुरा प्रष्टसँग बताइदिने र सम्पूर्ण काम/कारबाहीको समेत जिम्मा लिने काम पठाउने म्यानपावर कम्पनीको हो। तर यतिबेला धेरै म्यानपावर कम्पनी यस्ता काममा आफू अघि सर्दैनन्। उनीहरूले अनौपचारिक अर्थात गैरकानुनीरूपमा नियुक्त एजेन्ट प्रयोग गर्न थालेका छन्। जसबाट पनि नेपालका म्यानपावर कम्पनीहरू वैधानिक मार्ग रुचाउँदैनन् भन्ने प्रष्ट हुन्छ।

    भनिएको ठाउँमा कामदार पठाउन सकिएन, भनेको जस्तो काम मिलेन, तलब र सुविधा फरक पर्‍यो तथा अन्य दायित्व आइपर्‍यो भने त्यस्ता समस्या समाधानबाट पन्छन् म्यानपावर व्यवसायीले यस्तो ‘जुक्ति’ निकालेका हुन्। यस्तो अवस्थामा कोही गुनासो/याचना लिएर आयो भने आफू पन्छने र जो एजेन्टमार्फत आएको हो, उसैसँग कुरा गर्नु भन्ने तयारी जवाफ दिन थालेका छन्। न एजेन्ट फेला पर्ने न पठाउने कम्पनीले नै जिम्मा लिने अवस्थाले वैदेशिक रोजगारीका नाममा ठगिनेहरू थप अन्यायमा परिरहेका छन्। तर पनि सबै पीडक भने सजाय त के अनुसन्धानको दायरामा समेत आउन नसक्नु दुःखद पक्ष बनेको छ।

    चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म वैदेशिक रोजगार विभागमा पाँच हजार आठ सय ८१ वटा उजुरी परेका थिए जसमध्ये पाँच हजार एक सय २९ वटा व्यक्तिविरुद्ध र म्यानपावर व्यवसायीविरुद्धचाहिँ सात सय ५२ वटा मात्र पर्नुले पनि ठगीमा संलग्न व्यवसायीहरू कसरी पानीमुनिको ओभानो बनिरहेका छन् भन्ने प्रष्ट हुन्छ। यसरी उजुरी हाल्नेमध्ये अधिकांशले आफू जोडिएको म्यानपावर कम्पनीको कार्यालय छ कि छैन, छ भने कहाँ छ, त्यसको जिम्मेवार व्यक्ति को हो भन्नेसमेत जानकारी राखेका हुँदैनन्। यस्तो अवस्थामा उनीहरूलाई कम्पनीविरुद्ध उजुरी हाल्नुपर्नेबारे थाहा हुँदैन। खासमा यस्तो अवस्था कम्पनीले नै जानाजान सिर्जना गरेका हुन् आफू बच्नलाई।

    वैदेशिक रोजगार ऐन २०६४ अनुसार म्यानपावर व्यवसायीले एजेन्ट राख्न पाउँदैनन्। तर एजेन्ट राख्ने क्रम विगतदेखि नै चल्दै आएको छ। वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई म्यानपावर कम्पनीसँग जोडिदिने र त्यसबापत केही कमिसन पाउने भएकाले एजेन्टहरू निकै सल्बलाउने गरेका छन्। कतिपय यस्ता एजेन्टले त खासगरी आफन्तलाई नै विभिन्न प्रलोभनमा पारेर ठगीको शिकार बनाउँदै आएका छन्। अनि कतिपयले चाहिँ अलि निर्धो र विपन्नलाई गुण्डागर्दी शैलीमा फसाउनेसमेत गरेका छन्। ठगिएको वा अन्यायमा परेको थाहा पाएपछि पनि कतिपयले उजुरी दिनसमेत नसक्नुको मुख्य कारण यही हो। यसरी हेर्दा अनौपचारिकरूपमा भए पनि वैदेशिक रोजगार क्षेत्रमा यो प्रवृत्ति ‘दिन दुईगुना, रात चौगुना’का दरले झांगिरहेकामा शंका छैन।

    कतिपय अवस्थामा एजेन्टहरू पीडितको कब्जामा परेका घटना पनि सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा कतिपय एजेन्टले म्यानपावर कम्पनीले नै यस्तो कुकर्म गर्न दबाब दिएको बताउने गरेका छन्। र, कतिपय एजेन्ट त आफूहरू पनि म्यानपावर कम्पनीद्वारा अन्यायमा पारिएको भन्दै पीडितसँगै न्यायको गुहार माग्न सम्बन्धित निकाय पुग्ने गरेका छन्। यसले देखाउँछ कि म्यानपावर कम्पनीहरू आफूहरू कानुनी चक्करबाट फुत्कन अनेक षडयन्त्र र जालझेलको बाटो अवलम्बन गरिरहेका छन्। जसले वैदेशिक रोजगार क्षेत्रलाई थप दूषित तुल्याउन मात्र मद्दत गरेको छ।

    बिचौलिया नेपालको निजामती कर्मचारीदेखि कृषक हुँदै वैदेशिक रोजगारका आकांक्षीहरूको समेत सामुहिक दुःख हो। यस्तो परिस्थितिका समयमै उपचार गरिएन भने त्यसले दिनुसम्म दुःख दिन्छ। यो वास्तविकतालाई आत्मसात गर्दै वैदेशिक रोजगारीको क्षेत्रमा मौलाइरहेको ‘एजेन्ट संस्कृति’ प्रति सरकारीतवरबाट कडा कदम चाल्न जरुरी छ। जहाँसम्म ठगिनेहरूको सवाल छ, उनीहरूका लागि विशेषगरी पालिकाहरूले अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ। दण्डहीनता नेपाली भूमिको सबैभन्दा ठूलो रोग भएकामा शंका छैन। त्यसैले ‘काँक्रो आफू चोर्ने तर बियाँचाहिँ अर्कैको मुखमा टाँसिदिएर उम्कन खोज्ने’ प्रवृत्तिविरुद्ध राज्य खरोरूपमा नउत्रिएसम्म ठग्ने मेसो मौलाइरहन्छ।

    वैदेशिक रोजगारीमा रोजगार अनुमति प्रणाली (इपिजी) जस्तो प्रभावकारी कार्यक्रम यही मुलुकमा चलेको छ। दक्षिण कोरियामा रोजगारीमा जान चाहनेले ठगिनु पर्दैन, पारदर्शी ढंगले काम हुन्छ र विदेशबाट फर्केर आउनेले राम्रो कमाइ गरेर जीवन सुधार पनि गरेका छन्। यस्तो सफल प्रणालीबाट सिकेर सबै ठाउँमा यसरी नै रोजगारीमा जाने व्यस्था गर्न किन सकिँदैन ? कर्मचारीतन्त्रले काम बिगार्न मात्र खोज्छ भने पनि राजनीतिक नेतृत्वले ध्यान पुर्‍याउन सक्नु पर्ने होइन ?

  • गर्मीमा अघोषित लोडसेडिङले हैरानी

    गर्मीमा अघोषित लोडसेडिङले हैरानी

    नेपालगन्जमा पछिल्ला दुई दिनयता दैनिक तापक्रम बढ्दो छ। ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको गर्मी समयमा अघोषित लोडसेडिङ हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।

    प्राविधिक समस्या र ट्रान्सफर्मर मर्मतका नाममा पटक-पटक विद्युत् लाइन काटिँदा हैरानी खेप्नु परेको यहाँका स्थानीयको भनाइ छ।

    गर्मी ४३ डिग्री भए पनि अघोषित लोडसेडिङ हुँदा ४७/४८ डिग्री सेल्सियससम्मको गर्मी महसुस हुने नेपालगन्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल अन्सारीले बताए।

    ‘अत्यधिक गर्मी छ। यस्तो अवस्थामा यहाँ एक मिनेट बत्ती जाँदा मान्छेलाई गाह्रो भइरहेको छ,’ उनले भने, ‘यस्तो समयमा विभिन्न बहानामा विद्युत् वितरणमा अनियमित गर्न पाइँदैन।’

    उपभोक्ताले महसुल तिरेर पनि विद्युत् सेवा पाउन नसकेको भन्दै उनले भने, ‘हामीले पैसा तिरेका छौं। पैसा तिरेपछि हामीले नियमित विद्युत् पाउनु पर्छ। त्यो हाम्रो अधिकार हो। विद्युत् प्राधिकरणले पनि नियमित विद्युत् दिनुपर्छ। उसको त्यो दायित्व हो। हामीले पैसा तिरेर विद्युत् जडान गरेका छौं। जुनसुकै बहानामा यसरी लाइन काट्न पाइँदैन। हामीलाई नियमित बत्ती चाहिन्छ।’

    साँझको समयमा विद्युत् अझ बढी जाने गरेको छ। विद्युत् आए पनि कम भोल्टेज आउँदा राम्रोसँग पंखा चल्न समस्या भएको नेपालगन्ज–१८ का स्थानीय केपी बञ्जाराले बताए।

    ‘दैनिक कयौंपटक आउने जाने भइरहन्छ,’ उनी भन्छन्, ‘विद्युत् कम भोल्टेज आउँदा राम्रोसँग पंखा समेत चल्दैन।’

    विद्युत् वितरण प्रणालीमा लापरबाही हुँदा सास्ती खेप्नु परेको उनको भनाइ छ। त्यस्तै नागरिक समाजका अगुवा कृष्ण श्रेष्ठले गर्मी समयमा विद्युत् समस्या हुन्छ भन्ने पूर्व जानकारी हुँदाहुँदै त्यसको पूर्व तयारी नगर्नुको सजाय भोगिरहेको बताए।

    ‘अहिले नेपालगन्जको प्रमुख समस्या नै झ्यापझ्याप बत्ती जाने आउने हो,’ उनी भन्छन्, ‘यो समस्या समाधान हुनुपर्छ।’ नेपालगन्जमा विद्युत् अनियमित हुनुको कारण लोडसेडिङ नभई सेटिङ भएको आरोप लगाए। यसमा स्थानीय सरकारले पनि चासो दिनुपर्ने उनले बताए।

    अनियमित भइरहेको यहाँको विद्युत्लाई नियमित गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको भनाइ छ। ‘नेपालको सबैभन्दा बढी विद्युत् समस्या नेपालगन्जमा छ,’ उनले भने, ‘यस्तो गर्मीमा जनतालाई सास्ती छ।’

    उनले अत्यावश्यक अवस्थामा विद्युत् लाइन मर्मत गर्नुपर्ने र सामान्य अवस्थामा मर्मतका नाममा विद्युत् कटौती नगर्न विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई निर्देशनसमेत दिए।

    नेपालगन्जमा विद्युत् समस्या नियतवश नभई प्राविधिक समस्याका कारण विद्युत् नियमित हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए।

    गर्मी समयमा मध्यनजर गरेर यसभन्दा अगाडि नै ट्रान्सफर्मर मर्मत नगरेको भए नेपालगन्जमा योभन्दा बढी विद्युत् समस्या हुन सक्थ्यो भन्दै उनले भने, ‘हामीले समयमै विद्युत् लाइन मर्मत गरिरहेका थियौ। त्यतिबेला मर्मत नगरी बसेको भए अहिलेको अवस्थाभन्दा जटिल स्थिति हुन्थ्यो।’ लोभरलोडका कारण पनि विद्युत् अनियमित हुने उनको भनाइ छ।

    साथै उनले पश्चिम नेपालमा करिब दुई सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजना नहुँदासम्म यहाँ यस्तै समस्या रही रहने बताए।

    लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसी (नमुना) ले उक्त प्रस्तावलाई गम्भीर रूपमा लिएर कार्य गर्ने बताइन्। ‘पश्चिममा जलविद्युत् आयोजनाका लागि सबै राजनीतिक दल मिलेर प्रयास गर्छैँ’ उनले भनिन्, ‘सरकार प्रमुखको हैसियतले यसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्छ।’

    कोहलपुर वितरण केन्द्रका प्रमुख माधव महरले सिस्टम अनियमित हुँदा नै विद्युत् वितरण प्रणालीमा समस्या भएको बताए।

    नेपालगन्जमा विद्युत् नियमित गर्न यहाँका उद्योग व्यवसायी र नागरिक समाजका अगुवाहरुले ध्यानाकर्षण गराइरहेका छन्।

    यसैबीच बाँके निर्वाचन क्षेत्र नम्बर-२ का सांसद डा. धवलशमशेर राणाले नेपाल विद्युत् प्राधिकरणका महानिर्देशन कुलमान घिसिङलाई नेपालगन्जको समस्याका विषयमा जानकारी गराएका छन्।

    बढ्दो तापक्रमका कारण केही दिनदेखि नेपालगन्जमा प्रभावित जनजीविका र डुडुवा गाउँपालिकाका केही गाउँमा विद्युत् प्रसारण लाइन अहिलेसम्म नपुगेको विषय जानकारी गराएको र दुवै विषय समस्या तत्काल समाधानका लागि छलफल भएको उनले बताए।

  • इलाम जिल्ला लीग: सेमिफाइनल भिड्ने टिम पक्का

    इलाम जिल्ला लीग: सेमिफाइनल भिड्ने टिम पक्का

    एन्फा इलाम जिल्ला लीगको सेमिफाइनल समीकरण पुरा भएको छ। बिहीबार लीग चरणको खेल सम्पन्न भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएका हुन्।

    शुक्रबार हुने सेमिफाइनल खेलमा रेडहर्स फुटबल क्लबले मिलिनय फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम तथा त्रिवेणी यूथ क्लबले फ्रेन्डसिप यूथ क्लब गोदकसँग खेल्नेछ।

    रेडहर्स टुँडिखेलमा सम्पन्न समूह ‘ए’ को विजेताको रुपमा र एमएफसी करफोक मैदानमा भएको खेलको समूह ‘बी’ विजेता सेमिफाइनल पुगेको हो।

    त्रिवेणी देउमाई नगरपालिकामा भएको समूह ‘बी’ को विजेताको रुपमा र फ्रेन्डसिप करफोकमा भएको समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल पुगेका हुन्।

    इलामको ठुलो टुँडिखेलमा सञ्चालित समूह ‘ए’ को खेलमा क्लब ओएसिस र रेडहर्स फुटबल क्लब विजयी भएका छन्।

    देउमाईको मंगलबारे स्थित छात्रावास खेलमैदानमा समूह ‘बी’ को खेलमा त्रिवेणी यूथ क्लब विजयी बन्यो। क्लब ओएसिसले हेल्लो जस्बिरे माथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ।

    त्यसैगरी रेडहर्सले देउराली स्र्पोटिङ क्लब माथि १–० गोल अन्तरको जित दर्ता गरेको छ। लीग चरणको खेल सम्पन्न भएसँगै समूह ‘ए’ बाट ३ जितका साथ ९ अंक बटुल्दै रेडहर्स सेमिफाइनल प्रवेश गरेको छ।

    एक जीत, एक बराबरी र एक पराजयसँगै ४ अंकका साथ क्लब ओएसिस दोस्रो बनेको छ। समान अंक भएपनि गोल अन्तरको आधारमा देउराली तेस्रो बनेको छ। समूह ‘ए’ बाट हेल्लो जस्बिरे रेलिगेसनमा परेको छ। देउरालीले रेलिगेसन जोगाउन शनिबार प्लेअफ खेल्नेछ।

    देउरालीले करफोक मैदानमा भएको प्रतियोगिताको एक टिमसँग रेलिगेसन जोगाउन खेल्ने कोशी प्रदेश फुटबल संघका उपमहासचिव पूर्ण फत्रले जानकारी दिए। उनले देउरालीको प्रतिद्धन्द्धीको बारेमा शुक्रबार टुङ्गो लाग्ने बताए।

    त्यसैगरी समूह ‘बी’ अन्तर्गत आजको खेलमा माईभ्याली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै त्रिवेणी ग्रुप च्याम्पियन भएर सेमिफाइनल प्रवेश गरेको हाे। सो समूहमा एक जित र एक पराजय भोगेका माईभ्याली ३ अंकका साथ दोस्रो स्थानमा छ। दुई खेलमा पराजित हेलिबोध एफसी रेलिगेसनमा परेको छ।

  • प्रधानमन्त्री कप ‘एनभिए भलिबल लिग’ को तयारी पूरा

    प्रधानमन्त्री कप ‘एनभिए भलिबल लिग’ को तयारी पूरा

    नेपाल भलिबल संघको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ।

    बिहीबार काठमाडौँको होटल क्राउन प्लाजामा सम्पन्न सामान्य प्राविधिक बैठकमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक तथा नेपाल भलिबल संघका उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए।

    उनले प्रतियोगितामा सहभागी सबै टिमलाई शुभकामना दिँदै अनुशासित भएर खेल खेल्न र आफ्नो कैसलता प्रस्तुत गर्न अनुरोध गरे।

    यस्तै रेफ्री संयोजक विजय केसीले प्रतियोगितालाई टेक्नीकल पक्षको विषयमा प्रस्ट पारेका थिए।

    प्रतियोगिता यहीँ जेठ १९ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा आयोजना हुनेछ। प्रतियोगिताको उद्घाटन खेल दिउँसो ३ बजे न्यू डायमन्ड स्पोर्ट्स क्लब र एपीएफ क्लबको महिला टोलीबीच हुनेछ।

    जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्ने छन्। लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ।

    यस्तै प्रतियोगिताको पहिलो दिन ४ पुरुष २ महिलाको गरि कुल ६ खेल हुनेछ।

  • महाराजगन्जका दुई फार्मेसीमा काठमाडौं महानगरको ताला

    महाराजगन्जका दुई फार्मेसीमा काठमाडौं महानगरको ताला

    काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगन्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।

    अस्पतालको कम्पाउण्डभित्र मापदण्ड विपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिए।

    उनले भने, ‘हामी अर्कै फार्मेसीविरुद्धको परेको उजुरी उपर अनुगमनका लागि त्यहाँ गएका थियौँ, टिचिङ हस्पिटलको कम्पाउण्डभित्रै निजी फार्मेसी सञ्चालन भएको र त्यसैमाथि मापदण्ड विपरीत भेटिएपछि ताला लगाएका छौँ।’

    भ्याक्सिनलाई उचित तापक्रममा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधि बेचिएको, औषधि स्टोरेज पनि मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ।

    ताला लगाइएका फार्मेसीलाई के कारबाही हुने भन्ने विषयमा अहिले अध्ययन भइरहेको निमित्त स्वास्थ्य विभाग प्रमुख महर्जनले बताए।

  • मधेसमा सरकार जोगाउन र ढाल्न कसरत

    मधेसमा सरकार जोगाउन र ढाल्न कसरत

    आफैं मुख्यमन्त्री लिने गरी वर्तमान मधेस प्रदेश सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्र प्रतिपक्षबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिन आइपुगेका सिके राउत नेतृत्वको जनमत पार्टीलाई दिने गरी बिहीबार सहमति गरेका छन्।

    एमाले, माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीका नेताले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै सहमति पत्र सार्वजनिक गरेका छन्।

    पाँच दलको सहमतिअनुसार अब जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने भनिएको छ।

    तर, सहमति पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको मात्रले हस्ताक्षर गरेका छन्।

    सहमति पत्रमा नयाँ सरकार निर्माणका लागि सहमत दलहरुबीचको आपसी सहमतिमा मन्त्रालयको बाँडफाँट गर्ने उल्लेख छ।

    माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले भने,‘हामी भोलि (शुक्रबार) प्रदेश प्रमुख समक्ष दाबी पेस गर्दै छौँ। जसपा नेतृत्वको सरकार ढल्छ र जनमत नेतृत्वको सरकार बन्छ।’

    जनमत पार्टीलाई मधेस प्रदेश सरकारको नेतृत्व दिने सहमति गरेका तीनै दलबाट जसपा नेतृत्वको सरोज यादवको सरकार ढाल्न संख्या पुग्दैन। यी तीन वटा दलको प्रदेश सभा सदस्य संख्या ४७ मात्र पुग्छ। जबकि सरकार बनाउन ५४ जना प्रदेश सदस्य चाहिन्छ।

    हुन त मधेस प्रदेशसभामा साना दल ‘निर्णायक’ हुँदा साथ लिनैपर्ने अवस्थाले सरकार गठनको विषय पेचिलो बन्दै आएको छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेस डेढ वर्षदेखि तेस्रो दल जसपा नेपाल नेतृत्वको सरकारमा सारथि बन्दै आएका छन्।

    पछिल्लो समय जसपा नेपालको विभाजनसँगै सत्ता समीकरण फेरिएपछि मधेसमा वर्तमान सरकार अल्पमतमा परेको छ। सरकार गठनमा ‘निर्णायक’ पोजिसनमा रहेका साना दल आफैं मुख्यमन्त्रीमा दाबी गर्न थालेपछि ठूला दल अनिर्णीत बन्दै आएका थिए।

    आफ्नो नेतृत्वमा सरकार बनाउन सबैजसो दलहरूको लबिङ गरिरहेका थिए। पहिलो र दोस्रो ठूला दल एमाले र कांग्रेस अलगअलग गठबन्धन निर्माण गरेर सरकार गठन गर्ने प्रयासमा थिए। तर पछिल्लो समय मधेस प्रदेशको सत्ता समीकरण रोचक बनेको छ।

    पुष्पकमल दाहाल नेतृत्वको संघीय सरकारलाई विश्वासिलो मत दिएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी मधेस प्रदेशमा जसपा नेतृत्वको सरोज यादव सरकारमा अझै छदैछ।

    संघीय सत्ता गठबन्धनअनुसार नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति पार्टीको कुल ५५ सांसद पुग्छन्। तर महन्थ ठाकुर नेतृत्वको लोसपा र एकीकृत समाजवादी यस गठबन्धनमा सहभागी नहुने संकेत दिएपछि मधेस सरकार ढाल्ने र जोगाउनेबीचको खेल रोमाञ्चक बन्न पुगेको छ।

    मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादव जेठ २३ गते पाचौं पटक प्रदेशसभामा विश्वासको मत लिँदै छन्।

    १०७ सदस्यीय मधेस प्रदेशसभामा १० दल सहभागी छन्। सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एसका ७ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १–१ सांसद छन्।

    मुख्यमन्त्री सरोज यादवले पाचौं पटक पनि विश्वासको मत पाउने दाबी गर्दै भने,‘ढुक्क हुनुस्, पाचौं पटक पनि मैले नै विश्वासको मत पाउँछु।’

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, लोसपा, एकीकृत समाजवादीसहित दलको विश्वासको मत दिएर यो सरकारले निरन्तरता पाउने उनको भनाइ छ। गत जेठ ७ गत्ते संघीय संसद्मा देखिएको समीकरणले हौसिएका एमाले, माओवादी लोसपा र एकीकृत समाजवादीको साथ नपाउँदा मधेस प्रदेशमा दाबी पेस गर्न सकिरहेको छैन।

    कांग्रेस, जसपा नेपाल र लोसपा र एकीकृत समाजवादी वर्तमान मुख्यमन्त्री सरोज यादवको पक्षमा हुँदा प्रदेशसभाबाट सहजै विश्वासको मत पाउने देखिन्छ। यसो हुँदा मुख्यमन्त्री यादवको पक्षमा ५७ प्रदेशसभा सदस्य पुग्छ।

    यो संख्या सरकार जोगाउन चाहिनेभन्दा तीन सिट बढी हुन्छ। मधेस प्रदेशमा एकएक सिट रहेको राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीले सरकार फेरबदलबारे बोलेका छैनन्।

  • सबैभन्दा बढी गर्मी नेपालगन्जमा, जनजीवन प्रभावित

    सबैभन्दा बढी गर्मी नेपालगन्जमा, जनजीवन प्रभावित

    बिहीबार दिउँसोसम्म ४३ डिग्री सेल्सियस कायम भएको नेपालगन्जको तापक्रम बेलुका भने ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। यो देशभरिमै सबैभन्दा बढी तापक्रम हो।

    पछिल्ला केही दिनयता नेपालगन्जको तापक्रम दैनिक उकालो लागिरहेको छ। बिहीबार साँझ ४४.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान महाशाखाले जानकारी दिएको छ।

    बुधबार ४२.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। बिहीबार नेपालगन्जसहित पश्चिम नेपालका चार सहरमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको छ।

    नेपालगन्ज र धनगढीमा ४४ डिग्रीभन्दा माथि तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।

    धनगढीको अधिकतम तापक्रम ४४.१ भने न्यूनतम ३०.२ डिग्री सेल्सियस छ। वीरेन्द्रनगरको ४१ र घोराहीको ४०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। भैरहवाको भने ३९.४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

    नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव हुँदा पश्चिम तराईका जिल्लामा बुधबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस भएको छ।

    ‘रेमल’ चक्रवातको प्रभाव कम हुँदै गएको र पानी पर्ने क्रम कम हुँदै गएका कारण पनि अत्यधिक गर्मी भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जनाए।

    गर्मी बढेसँगै नेपालगन्जलगायत पश्चिम क्षेत्रको जनजीवन प्रभावित भएको छ। शुक्रबार कोशी, मधेश, बागमती र गण्डकीलगायत पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमार्फत जानकारी दिएको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शुक्रबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • राष्ट्रपति पौडेलले स्विजरल्याण्ड र जर्मनीकाे भ्रमण गर्ने

    राष्ट्रपति पौडेलले स्विजरल्याण्ड र जर्मनीकाे भ्रमण गर्ने

    राष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो।

    जेठ ३१ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

  • मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै

    मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरमा आगामी शनिबार देखि सुरु हुने भएको छ। जनकपुरको उद्योग वाणिज्य संघमा सञ्चालन हुने मेलाको श्रममन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्नेछन्।

    मेलाको बारेमा जानकारी दिन आज बिहिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एंव मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए।

    त्यस्तै, मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।

    ‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ। यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ’, उनले भने।

    मधेस प्रदेशमा हुने मेलामा वेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिने पनि उनले बताए। सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत उनले आग्रह गरे।

    श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताएका छन्।

    मेलामा सहभागिताका लागि ३५ स्टल राखिनेछ। हालसम्म ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उनले जानकारी दिए।

    नेपाल उद्योग परिसंघ सिआइएनका मधेस प्रदेश संयोजक प्रमोद शाहले मेलाको उदेश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताए।

    ‘हाम्रा युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेर बस्नु परेको अवस्था छ । त्यो भिडभाडलाई कम गर्न मेला सहयोगी बन्नेछ। हामी अब नेपालमै रोजगारीको अवसर खोज्न सक्छौं। हामी उद्योगीहरूले पनि राम्रो तलब दिन सक्छौें,’ उनले भने । तर, सीपको अभावले श्रमिकले रोजगारी पाउन नसकेको उनले बताए।

    मेला जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै सुरू भइसकेको छ। मेला ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। मेला हरेक प्रदेशमा २ दिन चल्नेछ।

    मधेश प्रदेशको जनकपुमा जेठ १९ र २० गते सञ्चालन हुनेछ। गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ।