Blog

  • एकीकृत समाजवादी समीकरणभन्दा बाहिर जाँदैन: प्रधानमन्त्री

    एकीकृत समाजवादी समीकरणभन्दा बाहिर जाँदैन: प्रधानमन्त्री

    नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी समीकरणभन्दा बाहिर नजाने बताएका छन्।

    विराटनगरमा जारी दुई दिने श्रमाधान रोजगार मेलाको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले समाजवादी समीकरणभन्दा बाहिर जान नसक्ने बताएका हुन्।

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको विषयलाई लिएर उनले समाजवादी अहिलेको समीकरणभन्दा बाहिर जान नसक्ने बताउँदै, प्रधानमन्त्री दाहालले भने, ‘माधव जी पहिलेदेखि नै उता पनि र यता पनि दुवैतिर जोडिने जस्तो देखिएको थियो। आजै बिहान मात्रै मेरो कुरा हुँदा यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरामा उहाँले ‘क्लियर’ गर्नु भएको छ। मधेस प्रदेशमा अहिलेको समीकरणभन्दा बाहिर सरकार बन्दैन।’

    ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउँदै, प्रधानमन्त्री दाहालले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदै छ। उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ।’

    प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरिएको बताएका छन्। आवश्यकता एवं स्थिति अनुसार पर्याप्त बजेट र कार्यक्रम दिइए पनि कोशीलाई बजेट कम भयो भनेर गलत प्रचार गरिएको गुनासो गरे।

  • १६ लाख विदेशी पाहुना भित्र्याउने लक्ष्य निकै ‘पर’

    १६ लाख विदेशी पाहुना भित्र्याउने लक्ष्य निकै ‘पर’

    सरकारले आगामि आर्थिक वर्ष २०८१/८२ को बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरि पर्यटन प्रर्वद्धनका कार्यक्रम संचालन गर्ने उल्लेख गरेको छ। त्यसका लागि नयाँ गन्तव्यको पहिचान गर्ने बजेटमा उल्लेख छ। पर्यटक भित्र्याउनका लागि छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित रोड–सो, मेला, महोत्सव जस्ता पर्यटन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने पनि बजेटमा छ।

    कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र उकासिँदै जाने क्रममा नेपालमा सन् २०२३ मा १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक भित्रिएको सरकारी तथ्यांक छ। यी मध्ये ९ लाख १४ हजार २ सय ७० जना हवाईमाध्यम र १ लाख ६ सय १२ जना स्थलमार्गबाट भित्रिएको तथ्यांकमा उल्लेख छ।

    नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना र सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। सन् २०१९ को आगमन नै अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो। त्यसपछिका वर्षमा कोरोना भाइरस संक्रमणले गर्दा आगमन खस्केको थियो। कोरोना संक्रमणले गर्दा खस्केको आगमनमा सुधार हुँदै २०१३ मा १० लाख नाघेको थियो। यो आगमन २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ थियो।

    आगामि आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारी भनाई रहेपनि त्यो अनुसारको योजना भने कतैपनि नरहेको सरोकारवालाको भनाई छ। कोरोना अघिको आकारमा बल्लतल्ल आगमन हुँदै गर्दा सरकारको १६ लक्ष्य निकै नै पर रहेको उनीहरुको भनाई छ।

    ‘सरकारले बजेमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य त सार्वजनिक गरेको छ । तर, त्यो लक्ष्य निकै पर छ। किनकी हामी अझै कोरोना संक्रमण अघिको संख्यामा उक्लिन सकेका छैनौ, उक्लिने प्रयासमा मात्र छौ। यो वर्ष कोरोना संक्रमण अघि (२०१९) को हाराहारीमा आगमन हुनसक्छ,’ पर्यटनका एकजना जानकारले भने, ‘२०१९ कै लक्ष्य भेट्न कसरत भईरहेको बेला १६ लाख पुर्याउँछौ भन्नु महत्वाकांक्षा मात्र हो। यो वर्ष २०१९ कै हाराहारीमा (झन्डै १२ लाख) विदेशी पर्यटक भित्रिने अनुमान भने सहज हुन सक्छ।’

    हवाई मार्गबाट आउने पर्यटकको संख्या मात्र १६ लाख लक्ष्य पुरा गर्न सहज नभएको उनले बताए । स्थलमार्गबाट भित्रिने भारतीय पाहुनालाई पनि समेट्ने हो भने त त्यो आकार सहजै पुरा हुने नत्र हवाई माध्यमको संख्या भेट्न सहज नभएको ती जानकारले बताए। सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष र २०२३–२०३२ लाई पर्यटन दशक भनेर यसअघि नै भनेपनि अहिलेको बजेटमा ती कार्यक्रम ओझेलमा परेको पनि उनले बताए।

    पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइहालेमा पाहुना आगमन संख्या केही थपिन सक्ने भएपनि बजेटमा ती विमानस्थललाई कसरी संचालन गर्ने भन्ने बारे खासै योजना नरहेकोले आशावादी हुन नसकिने उनले बताए। ‘पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएर अन्तर्राष्ट्रिय उडान भईहालेमा केही आगमन थपिन सक्छ। नत्र सरकारी लक्ष्य पुरा हुँदैन,’ उनले भने।

    उनका अनुसार कोरोना संक्रमणपछि ओरालो लागेको विश्वको पर्यटन क्षेत्र २०२४ को अहिलेसम्म ९७ प्रतिशत रिकभर भईसकेको छ। नेपालको ९८ प्रतिशत नै रिकभर भईसकेको छ। तर, अहिले रिकभरको बाटोमा रहेको पर्यटन क्षेत्र एकाएक माथि उक्लिने आधार नरहेको उनले बताए।

    पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले पनि अहिलेकै हालतमा १६ लाखको लक्ष्य महत्वाकांक्षी रहेको बताए। सापकोटाले भने, ‘हामी १० लाखको हाराहारीमा छौ। एकवर्षभित्रै १६ लाख पुर्याउन सकिने कुनै आधार नै छैन। किनभने पहुँचमा समस्या छ। नेपालसम्मको हवाई भाडा महंगो छ। ध्वजाबाहक नेपाल वायुसेवाको पहुँच पनि कमजोर छ। नेपाल आउने पर्यटक महंगीका कारण अन्यत्र डाइभर्ट भएका छन। ती पर्यटकलाई नेपालतर्फ तान्न विशेष प्याकेज र आकर्षक प्याकेज दिन सकेका छैनौं।’

    अहिलेको आगमनलाई केही माथि उकास्न सकेपनि लक्ष्य पुरा गर्न सहज नभएको उनले बताए। ‘अन्तर्राष्ट्रिय बजारमा नेपाल प्रवद्र्धन गर्ने हो भने आगमन केही आकारमा बढाउन सकिन्छ। पर्यटन बोर्डले पनि अन्तर्राष्ट्रिय बजारमा पहुँच बिस्तार गर्नुपर्छ,’ उनले भने। सरकारले नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता नदिँदा लक्ष्य पुरा नहुने सापकोटाले बताए।

    नेपाललाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेकोले त्यसको भरमा मात्र सरकारी लक्ष्य पुरा नहुने उनले बताए। ‘पर्यटक भित्र्याउने अभियान छैनन, विदेशी पाहुनालाई तान्ने खालका छुट, प्याकेज र आकर्षण के दिने भन्नेमा टुंयो छैन,’ उनले भने, ‘संख्या तोक्दैमा पाहुना आउने होइनन। विगतको जस्तो आकर्षण पर्यटनमा छैन। त्यत्ति मात्र नभई व्यावसायीलाइ अहिलेको अप्ठेरोबाट बचाउने खालको योजना पनि छैन।’

    अहिले नेपाल आउने पर्यटक अन्यत्र मोडिएको उनले बताए। नेपालतर्फको गन्तव्य महंगो भएको छ। हवाई टिकटमा लागेको मुल्य अभिवृद्धि कर (भ्याट)ले गर्दा यात्रा झनै महंगो पर्ने भएकोले विदेशी पाहुना अन्यत्र मोडिएको उनले बताए। उनका अनुसार हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने प्रावधान नेपालमा मात्र रहेको र यसले नेपालसम्मको हवाई यात्रा महंगो बनाएको छ। ‘जहाज टिकट सस्तो बनाउने हो भने केही हुन्थ्यो। नेपालमा हवाई टिकटमा लागेको भ्याटले पनि यात्रा महंगो बनेको छ। यसले पर्यटकलाई आकर्षण थप्न सकेको छैन,’ सापकोटाले भने।

    पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पर्यटन आगमन बढाउनका लागि बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन थालिसकेकोले आगमन बढ्ने आधार रहेको बताउँछन। उनका अनुसार बोर्डले अहिले दुवई र चीनमा प्रवद्र्धनात्मक अभियान चलाईसकेको छ। केही समयमात्र हङकङमा पनि प्रर्वद्धनात्मक अभियान चलाउँदैछ।

    ‘कोरोनापछि सुस्ताएको प्रर्वद्धन गति लिएको छ। पछिल्लो समय व्यवासायीले पनि प्रर्वद्धन थालेकोले सरकारले बजेटमा भने झै पर्यटक आगमन बढाउन सकिन्छ,’ उनले भने, ‘सरकारले पनि भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भनेर बजेटमै उल्लेख गरेकोले पनि पाहुना आगमन बढ्ने अपेक्षा राख्न सकिन्छ।’

  • पूजाको पहिलो एक्सन मुभी ‘दान्भी’ को ट्रेलर सार्वजनिक

    पूजाको पहिलो एक्सन मुभी ‘दान्भी’ को ट्रेलर सार्वजनिक

    नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ।

    बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो। अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शीर्ष भूमिका रहेको छ।

    फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन भने देव मगर र अनुप गडाल निर्माता छन्। फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ।

    ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले सुटिङको भिडियो हेर्दा अहिले पनि हात काँप्ने बताइन्। उनले बाइक चलाएर मात्रै एक्सन हुन्छ भन्नेजस्ता शीर्षकमा समाचार सम्प्रेषण भइरहेकोप्रति आपत्ति जनाउँदै उनले चलचित्र हेरिसकेपछि मन लागेको शीर्षक राख्न तर एउटा मात्रै क्लिप हेरेर शीर्षक नराखिदिन आग्रह गरिन्।

    ‘अहिले पनि फिल्मको सुटिङ कसरी गर्न सकेँ, कसरी गरेँ भनेर हात काँप्छ। अब मलाई गरायो भने म सक्दिनँ होला। त्यो मेहनत अहिले सम्झिदा डर लाग्छ। अब कामले नै देखाउँछु भनेर अघि बढेको छ। बाइक चलाएर एक्सन हुन्छ भन्ने शीर्षकमा समाचार लेख्नुभएको थियो, पूरा फिल्म हरेपछि थाहा हुन्छ, केके छ भनेर त्यस्तो शीर्षक नलेखिदिनुहोला।’

    पूजाले दान्भीमा पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन्। चलचित्र आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदै छ।

    हेर्नुहोस् ट्रेलर :

  • खेलाडीका लागि मैदान आसपासमै होस्टल बनाउँछौँ: खेलकुदमन्त्री

    खेलाडीका लागि मैदान आसपासमै होस्टल बनाउँछौँ: खेलकुदमन्त्री

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताएका छन्।

    आज कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुगेका मन्त्री श्रेष्ठले यस्तो कुरा बताएका हुन। उनले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान) सँग आग्रह गर्ने बताए।

    यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उनको विश्वास छ। उनले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए।

    उनले संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको पनि जानकारी गराए।

    उनले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल सुरु गर्ने पनि धारणा राखे।

  • गणतन्त्रपछि मुलुकले विकासकाे गति लियाे: अध्यक्ष नेपाल

    गणतन्त्रपछि मुलुकले विकासकाे गति लियाे: अध्यक्ष नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताएका छन्।

    गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले मुलुकमा आर्थिक समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका हुन्।

    अध्यक्ष नेपालले गणतन्त्र स्थापनापछि नेपालमा ‘केही पनि भएको छैन’ भन्नेलाई फोटो प्रदर्शनीले गतिलो जवाफ दिएको बताए।

    उनले भने, ‘गणतन्त्रपछिको अवधिमा विकास निर्माणको कार्य उपलब्धिमूलक भएको छ, त्यसको झलक प्रदर्शित तस्बिरले सबै कुरा यथार्थ रूपमा बोलेको छ।’

    पूर्वप्रधानमन्त्री नेपालले गणतन्त्रका उपलब्धिलाई जनतामाझ लैजान र जनताको पक्षमा काम गर्न सबै जिम्मेवारीताकासाथ लाग्नुपर्नेमा जोड दिए।

    उनले गणतन्त्र प्राप्तिपछिका उपलब्धिलाई फोटोले सचित्र वर्णन गरेको पनि उल्लेख गरे।

  • गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

    गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

    तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन्। बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ। कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।

    बुधबार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ। मङ्गलबार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा सो डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिए।

    कैलालीमा बुधबार २८ वर्षपछि उच्च तापक्रम मापन भएको उनको भनाइ छ। गत वर्ष कैलालीमा ४१ डिग्री सेल्सियस उच्च तापक्रम रेकर्ड भएको थियो। गर्मी बढ्न थालेपछि स्थानीय तहले विद्यालय बन्द गर्न थालेको हो। कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाले आजदेखि २१ गते सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

    दैनिक रूपमा गर्मी बढिरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय पालिकाले जनाएका छन्। टीकापुरका संस्थागत विद्यालयले भने आजदेखि २६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरेका छन्।

    गर्मीले विद्यार्थी नियमित विद्यालयमा उपस्थित नहुने र बिरामी बढ्दै जान थालेकाले विद्यालय बन्द गर्नुपरेको टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले बताए। ‘विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थाल्यो, आएकाहरूमा पनि स्वास्थ्य समस्या देखिन थाल्यो’, थापाले भने, ‘थप स्वास्थ्य समस्या हुनुभन्दा विद्यालय बन्द गर्न उचित ठानेर नगरपालिकासँगको समन्वयमा बिदा दिएका हौँ।’

    टीकापुरका सामुदायिक विद्यालयमा जेठ २७ गतेदेखि बर्खे बिदाको तयारी गरिएको थियो। शिक्षक महासङ्घ टीकापुरका नगर अध्यक्ष रघुनाथ उपाध्याय भने सरकारले बिदा दिनुभन्दा विकल्प खोज्नुपर्ने सुझाव दिन्छन्। ‘विद्यालय सुविधासम्पन्न बनाउनुपर्छ, टिनका छाना हटाउने, हरेक कक्षाकोठामा पङ्खा, बिजुलीको सुविधा गर्नुपर्यो’, उनले भने, ‘बालबालिकाका लागि वातावरण अनुकूलित वातावरण बनाउनतर्फ ध्यान जानुपर्छ।’

    कैलालीको जानकी र जोशीपुर गाउँपालिकाका विद्यालय भने बिहान सञ्चालनमा छन्। भजनी नगरपालिकामा भने जसरी विद्यालय र विद्यार्थीलाई सहज हुन्छ त्यसैगरी विद्यालय सञ्चालन गर्न अनुरोध गरेकाले विद्यालयले वातावरण अनुकूल विद्यालय सञ्चालन गरिरहेका छन्। जानकी, जोशीपुर र भजनीका अभिभावक भने अझै केही दिन तातो हावा र गर्मी बढ्ने देखिएकाले विद्यालय बन्द गर्नुपर्ने माग गरिरहेका छन्। अभिभावक तेतरानी चौधरीले केही दिन गर्मी बिदा दिएर पछि बिदा मिलान गर्नुपर्ने सुझाव दिए।

  • कोरानको ‘केपी’ भेरियन्ट देखिएपछि थप १६ लाख खोप ल्याउँदै सरकार

    कोरानको ‘केपी’ भेरियन्ट देखिएपछि थप १६ लाख खोप ल्याउँदै सरकार

    सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोप ल्याउने ६ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप खोप ल्याउन लागिएको हो।

    स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिए।

    ‘कोरोनाविरुद्ध खोप नियमित दिइरहेका छौँ। अहिले रहेको खोपको मौज्दात पनि सकिन थालेको छ’, उनले भने, ‘महामारी भइसकेपछि पनि सधैँ तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। अहिले नयाँ भेरियन्ट पनि देखिएको छ। त्यसैले खोप ल्याउन थालेका हौँ’

    अहिले स्वास्थ्य विभागसँगै एक लाख मात्रा मात्र खोप मौज्दात रहेको छ। उनले ६–६ महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखिएको र खोप ल्याउने पहिलेकै तयारी रहेको जानकारी दिए।

    उनका अनुसार ग्लोबल एलाएन्स फर व्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले फाइजरको ‘मनोभ्यालेन्ट’ खोप अनुदानमा उपलब्ध गराउने छ।

    अहिले पनि विदेश जाने, ज्येष्ठ नागरिक र दीर्घरोगीले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउने गर्दछ। सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ।

  • नदीमा जलसतह बढेपछि भारततर्फ विद्युत् फेरि निर्यात

    नदीमा जलसतह बढेपछि भारततर्फ विद्युत् फेरि निर्यात

    खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ।

    नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ राति) देखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो।

    खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा चार सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको जानकारी दिए।

    ‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ। विगत सात÷आठ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकामा हाल बढेर चार÷साढे चार करोड युनिट पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भने।

    आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार दुई सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ। निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेको उनले बताए।

    द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब दुई सय मेगावाट विद्युत् बिक्री गर्न पावर ट्रेड कम्पनीसँग र करिब चार सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम एनभिभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गरे।

    केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित छ सय ५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ। कुल छ सय ५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरेक वर्ष जुनदेखि अक्टोबरसम्म पाँच वर्षका लागि एक सय १० मेगावाट विद्युत् एनभिभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको हो।

    एनभिभीएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ। नेपालले विद्युत् रियल टाइम मार्केटमा विद्युत् खरिद बिक्रीको पनि अनुमति पाएको छ। छ सय ५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट पाँच ८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

    कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेशनबाट परवानीपुर सबस्टेशनसम्मको करिब १८ किलोमिटर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार गर्न एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गरे।

    पिलुवा–परपानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटीएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ। एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्बाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगहरूमा आपूर्तिको समस्या छ।

    कन्डक्टर बदल्ने काम केही दिनमा सकिने विद्युत् प्राधिकरणले जनाएको छ। त्यसपछि हालको समस्या समाधान हुनेछ। दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर एक सय ३२ केभी प्रसारण लाइनका क्षमता दुई गुणा बढ्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। उनका अनुसार परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुनेछ।

    हिउँदमा १५ अर्बको विद्युत् आयात

    नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न रु १५ अर्ब २१ करोडको विद्युत् भारतबाट आयात गरेको छ। सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट आयात गरिएको हो। यस अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ।

    गत वर्षको जेठदेखि यस वर्षको हालसम्म रु १५ अर्ब ६२ करोड बराबरको विद्युत् प्राधिकरणले भारतर्फ निर्यात गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म रु १३ अर्ब ४७ करोडको विद्युत् निर्यात गरिएको छ। प्राधिकरणले चालु आवमा निर्यातभन्दा रु एक अर्ब ७४ करोडको बढी विद्युत् आयात गरेको हो। यस अवधिमा एक अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो।

    आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य नौ रुपैयाँ दुई पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य आठ रुपैयाँ ३८ पैसा रहेको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालू आवमा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए।

    ‘केही वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था थियो। पछिल्ला तीन वर्षदेखि भने विद्युत्को निर्यात सुरु गरेता पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो भने यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चालु आवमा निर्यातभन्दा आयात रु एक अर्ब ७४ करोडले बढी देखिएको छ।’

  • नेपाल र अमेरिकाबीच वार्म अप खेल आज राती

    नेपाल र अमेरिकाबीच वार्म अप खेल आज राती

    आइसिसी टि ट्वान्टी विश्वकपको वार्म अप अन्तर्गत दोस्रो तथा अन्तिम खेल आज राती हुदैछ।

    नेपालले घरेलु टोलीसंग अमेरिकाको डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राती ९:१५ बाट खेल खेल्नेछ।

    यस अघि सोमबार पहिलो वार्म अप म्याचमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको थियो। सोही मैदानमा‌‌ मंगलबारका‌ लागि तय अमेरिका र बंगलादेशबीचको‌ वार्म अप खेल भने बर्षाका कारण रद्द भएको थियो। डालास आउनुअघि ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा अमेरिकाले बंगलादेशलाई‌ २-१ ले हराएको थियो।

    जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ। यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन्।

  • अर्थतन्त्रको नाममा मुठीभर मान्छेलाई धनी बनाउन पाइँदैनः खगराज अधिकारी

    अर्थतन्त्रको नाममा मुठीभर मान्छेलाई धनी बनाउन पाइँदैनः खगराज अधिकारी

    नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले नवउदारवादी अर्थतन्त्रको नाममा मुठीभर मान्छेलाई धनी बनाउन प्रदेश मतियार बने प्रतिपक्षलाई स्वीकार्य नहुने चेतावनी दिएका छन्।

    गण्डकी प्रदेश सभामा विहीबार सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका अधिकारीले यस्तो चेतावनी दिएका हुन्। ‘संविधानले समाजवादको आधार बनाउन भनेको छ,’ उनले भने,‘तर कांग्रेस नेतृत्वको सरकार ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा काटेर अर्कै राख्छ। यसप्रति कटाक्ष गरेर सरकार अगाडि बढ्छ भने त्यो गम्भीर कुरा हो।’ उनले देश नवउदारवादी अर्थतन्त्रको नाममा अगाडि बढाउने, केहि मुठीभर मान्छे धनी हुने र प्रदेश त्यसको मतियार हुने भएमा प्रतिपक्षलाई स्वीकार्य नहुने बताए।

    नेता अधिकारीले गण्डकीका तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले समेत स्वीकार गरेको ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको कांग्रेस सरकारलाई अपाच्य हुनु अचम्मको विषय भएको बताए। उनले चेतावनीयुक्त भाषा प्रयोग गर्दै भने,‘बाटो फेर्नैपर्ने आकांक्षाले हामीलाई फरक पार्छ कि याद राख्नुहोला।’

    अधिकारीले आफु नेतृत्वको सरकारलाई कांग्रेसले असंवैधानिक भनेकोमा पनि आपत्ति जनाए। तत्कालीन प्रतिपक्षी र अहिलेको सत्तापक्ष कांग्रेसले आफु नेतृत्वको सरकारको बारेमा अफवाह फैलाएको गुनासो गर्दै उनले भने,‘अहिले जुन व्याख्या अनुसार कांग्रेस नेतृत्वमा सरकार बनेको छ। पहिले त्यहि डिभिजन बेञ्चले गरेको व्याख्या अनुसार नै मैलेपनि विश्वासको मत लिएको थिए। तर कांग्रेसले हाम्रो सरकारबिरुद्ध असंवैधानिक भनेर अफवाह फैलायो यसबारे कांग्रेसले समीक्षा गरोस्।’

    अधिकारीले आफु कांग्रेसले जस्तो हामी देखाई दिने भन्ने पक्षमा नरहेको बताए। ‘म आफु देखाउने हैसियतमा पनि छैन र धेरै भन्ने पक्षमा पनि छैन,’ उनले भने, ‘कसलाई देखाउने हो ? जनता हाम्रा अगाडि छन्। बाटो, पुल पुलेसा बन्या छैन। बेरोजगारी हटेको छैन। औद्योगिक क्षेत्र निर्माण भएको छैन। वित्तीय समानीकरण अनुदानमा संकट आईपरेको छ। त्यसैले यसबारेमा मेरो केहि भन्नु छैन। देखाउने हैसियतमा पनि छैन।’