Blog

  • भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड

    भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड

    संघीय सरकारले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ।

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पले क्षति भएका व्यक्तिका घर निर्माणका लागि उक्त रकम छुट्याइएको बताए।

    ‘जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा गएको भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरेर पुननिर्माणलाई तिब्रता दिइनेछ,’ बजेट भाषणमा उनले भने, ‘भूकम्पपछिको पुननिर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ।’

    यस्तै सरकारले कर्णाली र मधेश प्रदेशको पूर्वाधार विकासका लागि १ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ। राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडर्वक्स र विद्युत गृहको निर्माण गर्न २ अर्ब विनियोजन गरिएको बजेटमा उल्लेख छ। बजेट भाषणमा कर्णालीका १० वटै जिल्लामा सञ्चालन हुने गरेर एकीकृत कर्णाली सिंचाई विकास आयोजनाका लागि ८२ करोड विनियोजन गरिएको छ।

    सरकारले आगामी मंसिर महिनामा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि ६० करोड रुपैयाँ छुट्याएको छ। दशौं राष्ट्रिय प्रतियोगीता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुँदैछ। यस्तै सरकारले सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोर र जुम्लाको हिमा नदी र तीला नदी आसपासको क्षेत्रलाई मार्सी धान करिडोरका रुपमा विकास गर्ने गरेर बजेट विनियोजन गरेको जनाएको छ।

    सरकारले आगामी आर्थिक वर्षमा कर्णाली करिडोरमा पाँच वटा पुल र ५० किलोमिटर सडकको स्तरोन्नति गर्ने जनाएको छ। यस्तै रत्न राजमार्ग र कर्णाली राजमार्गको स्तरोन्नति गर्नुका साथै सुर्खेतको भेरीगंगा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक शहर बनाउन गुरुयोजना तर्जुमा गर्ने नीति सरकारले लिएको छ।

    सरकारले डोल्पाको धो, हुम्लाको लिमी उपत्यकालाई नमुना बस्ती निर्माण गरेर पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुका साथै कर्णालीलाई जडिबुटी केन्द्रको रुपमा विकास गर्ने जनाएको छ। यस्तै वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।

    साविकका कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा विद्यार्थीहरुका लागि दिइँदै आएको दिवा खाजा रकम बृद्धि गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताललाई पाँच सय शैयाको बनाउने बजेट भाषणमा उल्लेख छ।

  • विदेशमा रहेका नेपालीलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्छः उपमेयर डंगोल

    विदेशमा रहेका नेपालीलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्छः उपमेयर डंगोल

    काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्ने बताएकी छन्।

    नेपाली दूतावास लण्डनद्वारा मंगलबार आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले अबको समयको माग आर्थिक कनेक्सन रहेको बताइन्।

    ‘आर्थिक विकासको लागि उत्पादनमा जोड दिनु पर्छ। नेपाली उत्पादनलाई विश्वबजारमा लैजानको लागि काठमाण्डौं महानगरपालिका विदेशमा बस्ने नेपालीहरुसँग सहकार्य गर्न तयार छ,’ उनले भनिन्।

    उनले दोस्रो पुस्ताले नेपाली भाषा बोल्न छोडेको प्रति चिन्ता व्यक्त गर्दै विदेशमा नेपाली चिनाउन र नेपालीको पहिचान देखाउनको लागि नेपाली भाषा विद्यालयस्तरबाटै अध्ययन अध्यापन गर्ने व्यवस्था हुनु पर्नेमा जोड दिइन्।

    ‘संसारमा नेपालीहरु छरिएका छन्। बेलायतमा धेरै नेपालीपन भएको महशुस गरेकी छु। दशैं र बिस्केटजात्राले आफन्त र आफ्नोपन महशुस हुने गरेको छ। संसारका जुनसुकै कुनामा गए पनि नेपालीपन रहन्छ, ‘यो मन त नेपाली हो’ त्यसैले भनिएको हो,’ उनले भनिन्।

    उनले काठमाडौं महानगरपालिकाले वार्ड वार्डमा महिला संन्जाल स्थापना गरेर लैगिंक हिंसासम्बन्धी सुनुवाई गरि रहेको पनि बताइन्।

    उनले महानगरपालिकाले एक वार्ड एक नमुना कार्यक्रम साथसाथै उत्पादन, रोजगारी, शिक्षा, बुक फ्री फ्राइडे, सिप र शिक्षा, सिप र बजारसंग जोड्न तथा स्वास्थ्य क्षेत्रमा सुधारका कामको थालनि गरेको बताइन्।

    माटोको भाडा बनाउने, सुकुल बनाउने जस्ता मौलिक सिपलाई बजारीकरण गर्ने नीति लिइएको पनि उनले बताइन्।

    कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्रको जगमा नयाँ संविधान, लोकतान्त्रिक बहुदलिय गणतन्त्र, संघियता, प्रेसस्वन्त्रता, समावेशीता, मानवअधिकारको ग्यारेन्टी र आर्थिक सामाजिक लक्ष तय भएको विचार व्यक्त गरे।

    बहुभाषिक बहुसाँस्कृतिक मुलुक भएकोले संविधानले प्रत्याभूति गरेका लक्षहरु पुरा हुने उनले विश्वास व्यक्त गरे।

    दूतावासकी उपनियोग प्रमुख रोशन खनालले संचालन गरेको कार्यक्रममा राजदूत आचार्यले बेलायत र नेपालको पुरानो सम्बन्धमा भूपुगोर्खाहरुको उल्लेख्य योगदान रहेको चर्चा गर्दै बेलायतमा नेपाली डायसपोराले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

    कार्यक्रममा बेलायतस्थित विभिन्न समाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, विभिन्न पेशमा संलग्न व्यक्तित्व लगायतको बाक्लो उपस्थिति थियो।

    डंगोल मेन्चेस्टर शहरमा आयोजित ४ दिने ‘वुमन अफ दि वर्ल्ड’ विश्व महिला सम्मेलनमा भाग लिन बेलायत आएकी हुन्।

  • बजेट घटाएर पर्यटक आगमन बढाउने घोषणा

    बजेट घटाएर पर्यटक आगमन बढाउने घोषणा

    सरकारले बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको घोषणा गरे पनि पर्यटन क्षेत्रको बजेट भने घटाएको छ। सरकारले गत वर्ष (२०८०-८१) को तुलनामा यस वर्ष (२०८१-८२) पर्यटन क्षेत्रको बजेट घटाएको छ। गत वर्षको तुलनामा सरकारले यस वर्ष पाँच करोड रूपैयाँ लगानी घटाएको हो।

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आव २०८१-८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेका छन्।

    यसैक्रममा आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेका छन्। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्।

    यस्तै मंगलबार आर्थिक वर्ष २०८०-८१ को बजेट विनियोजनको क्रममा सरकारले पर्यटन पूर्वाधार विकासका लागि पाँच अर्ब ४६ करोड लगानी विनियोजन गर्दै नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने बताए। साथै पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने र पर्वतारोहण अनुमति प्रणालीसमेत स्वचालित प्रविधिमा आधारित बनाइने घोषणा गरेको छ।

    यस्तै पाँच रूपान्तणकारी क्षेत्रअन्तर्गत रहेको पर्यटन प्रवद्र्धनलाई विस्तार गर्न अर्थमन्त्री पुनले नेपाललाई वैवाहिक गन्तव्यको रूपमा विकास गर्ने बताएका छन्। नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई वैवाहिक गन्तव्यको रूपमा विकास गरिने बताए। अर्थमन्त्री पुनले जनकपुरलाई ‘वेडिङ हव’ र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई ‘बर्थिङ हव’को रूपमा प्रवद्र्धन गरिने बताए।

    यसैक्रममा अर्थमन्त्री पुनले पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्‍चालन गर्न ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गरिने जानकारी दिए। उनले प्रचलनमा रहेका पदमार्गको संरक्षण र सम्वद्र्धन गरिने, सम्भावित जोखिमयुक्त क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गरिने जानकारी दिएका छन्।

    पर्यटनलाई विस्तार गर्न छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख शहरमा पर्यटक लक्षित रोड सो, मेला, महोत्सवजस्ता पर्यटन प्रवर्द्धन कार्यक्रम गरिने बताएका छन्। यसैगरी सीमावर्ती जिल्लामा छिमेकी मुलुकका पर्यटक लक्षित पर्यटकीय स्थल, बजार र स्वास्थ्य सुविधा उपलब्ध गराउने पूर्वाधार विस्तार गरी सीमावर्ती पर्यटन प्रवर्द्धन गरिने बजेटले तय गरेको छ।

    यस्तै अर्थमन्त्री पुनले निजी क्षेत्रसँगको सहकार्यमा नेपाल भारत सीमा नाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शन यातायात सेवा सञ्‍चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिक स्थल दर्शन गर्ने व्यवस्था मिलाइने बताए।

    भौगोलिक रूपमा निकट रहेका तराई, पहाड र हिमाली क्षेत्रका पर्यटकीय स्थलमा परिपथ विकास गर्दै लगिने छ। साथै बुद्ध परिपथ, शिवपरिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवद्र्धन गर्न बजेट व्यवस्था गरेको जनाए।

    यस्तै सातै प्रदेश समेटिने गरी चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्यस्थलमा पर्यापर्यटन प्रवद्र्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्‍जन पूर्वाधारसहितका इको हिल स्टेसन निर्माण गरिने र मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा होटल स्थापना गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराइने जानकारी दिए।

    यसैक्रममा प्रदेश र स्थानीय तहसँगको सहकार्यमा त्यस्ता स्थानमा पहुँच मार्ग, विद्युत् सेवा, खानेपानी सेवा पुर्‍याउने व्यवस्था मिलाइने बताएका छन्।

    यस वर्षको बजेटले नेपालको हिमाली सभ्यता, जीवनशैली, स्रोत तथा सम्भावनाको पहिचान, अध्ययन-अनुसन्धान एवं पर्यटकका लागि सोकेस गर्न उपयोग हुने गरी हिमालयन रिसोर्स सेन्टरको स्थापना गरिनेमा पनि जोड दिएको छ। उपल्लो मुस्ताङ लगायतका सांस्कृतिक महत्वका स्थानमा मौलिक संरचना नबिग्रने गरी संरचना निर्माण गर्न पाइने व्यवस्थासमेत गरेको छ।

    सधैं झैं प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रूपमा मनाइने छ भने हिमाली पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्थालाई सम्मान गरिने पनि यस वर्षको बजेटले तय गरेको छ।

    यसैक्रममा उड्डयन क्षेत्रतर्फ पनि बजेट विनियोजन गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरू गरिने बताउँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्व तयारी कार्य सम्पन्न गरिने तय गरेको छ।

    यस्तै भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गरिने र सरकारले यसका लागि ३६ करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेको छ। सुर्खेत विमानस्थलको स्तरोन्नति गरिने, रोल्पाको बडाचौर, दाङको टरिगाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्‍ज विमानस्थलको स्तरोन्नति लगायत नागरिक उड्डयन पूर्वाधारतर्फ तीन अर्ब ७७ करोड रूपैयाँ बजेट विनियोजन गरेको सरकारले बताएको छ।

    यस्तै सरकारले सञ्‍चालनमा नरहेका बलेवा, लामीडाँडा, मनाङ, रुम्जाटार, बैतडी लगायतका आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा पाराग्लाइडिङ, प्यारासुट, स्काई ड्राइभिङ, अल्ट्रालाइट जस्ता मनोरञ्‍जनात्मक साहसिक पर्यटनका लागि उपयोग गरिने जानकारी दिए।

  • आज दुई वटा संसदीय समितिको बैठक बस्दै

    आज दुई वटा संसदीय समितिको बैठक बस्दै

    आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।

    बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ। त्यस्तै बिहान ११ बजेनै विधायन व्यवस्थापन समितिको बैठक बस्ने छ। बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने बताइएको छ।

  • ‘स्मार्ट’ ओखती

    ‘स्मार्ट’ ओखती

    सन् १९५० को दशकमा जेम्स वाटसन र फ्रान्सिस क्रिकले आनुवंशिक पदार्थ डिएनएको बनोट पत्ता लगाएपछि आयुर्विज्ञान अनुसन्धानमा नयाँ आयाम सुरु भयो। डिएनएको आकृतिका आधारमा आरएनए बन्ने अनि आरएनएको आदेशानुसार प्रोटिन तथा इन्जाइमहरू बन्ने यथार्थलाई बायोलोजिकल साइन्सको केन्द्रीय नीति मानिन्छ।

    सन् १९९० मा मानिसका जिन यकिन गर्ने उद्देश्यले ह्युमनजिनोम प्रोजेक्ट सुरु भयो। एक दशकपछि हजारौँ वैज्ञानिक संलग्न बृहत् योजना सम्पन्न भयो। अध्ययनले चार अर्ब एकाइले बनेको मानव डिएनएको केवल एक प्रतिशत आनुवंशिक पदार्थले मात्र प्रोटिन बनाउन भूमिका खेलेको देखियो। अथवा प्रोटिन बन्ने/बनाउने सवालमा हाम्रो डिएनएको ९९ प्रतिशत खण्ड औचित्यविहीन पाइयो। आखिर डिएनएको त्यत्रो ठूलो खण्डको औचित्य के हो त भन्ने प्रश्न उठ्छ नै।

    डिएनएबाट दुई चरित्रका आरएनए बन्छन्। प्रोटिन बनाउन भूमिका खेल्नेलाई कोडिङ आरएनए भनिन्छ भने इन्जाइम बनाउन नसक्ने आरएनएलाई ननकोडिङ भनियो। कोडिङ आरएनएले प्रोटिन बनाउने भएकाले त्यसको औचित्य पुष्टि भयो तर इन्जाइम बनाउन नसक्ने थारो आरएनएको गुह्य जान्न भने वैज्ञानिकले लामै समय कुर्नुपर्‍यो।

    समान चरित्र भएका दुई ननकोडिङ आरएनएहरू दुई चोयाले बनेको डोरी जस्तो गरी बाँधिएर बस्छन्। कोस (सेल) मा रहेका रासायनिक तत्त्वले डोरीरूपी आरएनएलाई काटेर खण्डित पार्छन्। उत्पादित आरएनएका ससाना खण्डले प्रोटिन बनाउन सक्ने तागत भएका आरएनएहरूलाई टुक्रा–टुक्रा पार्छन्।

    प्रोटिन बनाउन सक्ने क्षमता भएका आरएनए आफ्नो लक्ष्यमा नपुग्दै नासिन्छन्। आवश्यकताभन्दा अधिक र औचित्य नभएको अवस्थामा प्रोटिन नबनोस् भन्नका लागि प्रकृतिले यो बाटो रोजेको देखियो । वैज्ञानिक भाषामा उक्त विनासकारी तर सापेक्ष कार्यलाई आरएनए इन्टरफेरेन्स अथवा आरएनएआइ भनिन्छ। आरएनएआइको पथ प्रदर्शन गरेबापत सन् २००६ मा मेडिकल साइन्सको नोबल पुरस्कार पाए वैज्ञानिकद्वय एन्ड्रियु फाएर र क्रेग मेलोले।

    डिएनएबाट आरएनए अनि प्रोटिन बन्ने मार्ग ठम्याउन एक परिदृश्य हेरौँ। भात खाएपछि शरीरमा कार्बोहाइड्रेटको मात्रा रगतमा उकासिने भएकाले तुरुन्त इन्सुलिन बनाउने क्षमता भएको आरएनए बन्न थाल्छ। आरएनएबाट इन्सुलिन बनेपछि रगतमा भएको ग्लुकोज कोसमा पस्छ। रगतमा ग्लुकोजको मात्रा घटेपछि इन्सुलिनको आवश्यकता रहन्न। अनि इन्सुलिन बनाउने आरएनए औचित्यबिहीन भयो। परिणामस्वरूप आरएनएआइ विधिमार्फत् यो तत्त्व नासिन्छ।

    कदाचित आरएनए नष्ट नभए आवश्यकताभन्दा बढी इन्सुलिन बन्छ। त्यस्तो भएमा अत्यधिक इन्सुलिनका कारण व्यक्ति मर्न पनि सक्छ। स्वस्थ जीवन व्यतितका लागि प्रोटिन तथा इन्जाइमको सन्तुलनको आवश्यकता रहने अनि उक्त समीकरण कायम गर्नका लागि ननकोडिङ आरएनएको अहम् भूमिका देखियो। यसरी विगतमा प्रयोजनबिहीन ठानिएको वस्तुले इन्जाइमको घनत्वलाई हेरफेर गर्न सक्ने भएपछि वैज्ञानिकहरू ननकोडिङ आरएनएलाई केन्द्रमा राखी अनुसन्धान गर्न थाले। अनि विकास भएका उपचार विधिको आयुर्वैज्ञानिक चर्चा सान्दर्भिक देखियो।

    आरएनएआइमार्फत् कुनै पनि इन्जाइमको उत्पादन कसरी नियोजित गर्ने अनि आरएनएका के कस्ता खण्डले कोडिङ आरएनएलाई विनास गर्छ भन्ने कुरा पत्ता लागिसकेपछि वैज्ञानिकहरू प्रोटिनको उत्पादनमा प्रहार गरी रोग निको पार्ने योजनामा लागे। सैद्धान्तिक हिसाबले यो वैज्ञानिक विधिमार्फत् कुनै पनि प्रोटिनको उत्पादन न्यून गर्न सकिने देखियो।

    संसारका धेरै देशले आरएनएआई उपचार पद्धतिमा आधारित ओखती प्रयोगका लागि अनुमति दिएको भए पनि अमेरिकाको औषधि अनुगमन निकाय एफडिएले भने गत वर्षसम्म चार वटा ओखतीलाई मान्यता दिएको देखियो। अनि यो उपचार विधिमा आधारित धेरै रासायनिक पदार्थहरू क्लिनिकल परीक्षणको विभिन्न चरणमा छन्। ल्याब परीक्षण सकारात्मक दिशामा देखिएकाले आउँदा दिनमा आरएनएआईका धेरै ओखती बजारमा आउने निश्चित छ।

    मुटु तथा रक्तसञ्चार प्रणालीसँग सम्बन्धित रोगका कारण संसारमा बर्सेनि लाखौँ मानिस मर्छन्। संसारभर नै मुटु रोगको आयतन बढ्नुमा विश्वभर उच्च रक्तचाप तथा उच्च कोलेस्ट्रोलको लक्षण उकासिनु देखियो। रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रणमा लिने हो भने मुटु रोगका कारण हुने मृत्युको संख्या धेरै घटाउन सकिन्छ। तसर्थ, चिकित्सकले रक्तचाप तथा कोलेस्ट्रोलको समस्या देखिनेबित्तिकै ओखती सुरु गरिहाल्न सल्लाह दिन्छन्। यी लक्षणले हार्ट अट्याक तथा स्ट्रोकलाई उकास्ने भएकाले अविलम्ब उपचार आवश्यक पर्छ।

    प्रचलनमा रहेका कोलेस्ट्रोलका ओखतीहरू दिनैपिच्छे खानुपर्नेमा फर्मास्युटिकल कम्पनी नोभार्टिसले सन् २०२१ मा वर्षमा केबल दुई इन्जेक्सन लिए पुग्ने ओखती इन्क्लिसिरान बजारमा ल्यायो। आखिर दैनिक खानुपर्ने ओखतीको बदला के एउटा सुइको भरमा कोलेस्ट्रोल ६ महिनासम्म नियन्त्रणमा आउँछ त ? भन्ने प्रश्न उठ्छ नै।

    निष्कर्षमा पुग्न सर्वप्रथम कोलेस्ट्रोलको प्रशोधन प्रक्रिया हेरौँ। चिल्लो पदार्थ खाँदा रगतमा कोलेस्ट्रोलको मात्रा बढ्छ। लामो समयसम्म कोलेस्ट्रोलको मात्रा उकासिँदा रक्तनलीमा चिल्लो पदार्थ जम्छ अनि रगतका पाइपहरू साँघुरिँदै जान्छन्। नली खुम्चँदा रक्त प्रवाहमा रोकावट आउँछ। व्यक्ति उच्च रक्तचाप अनि मुटु रोगको सिकार बन्छ।

    खराब कोलेस्ट्रोल रगतबाट हटाउने दायित्व कलेजोको हो। तर लिभरमा पाइने पिसिएस के ९ प्रोटिन र कलेजोको कोलेस्ट्रोल प्रशोधन क्षमताका बीच विपरीतको सम्बन्ध देखियो। कदाचित पिसिएसके ९ को मात्रा उकासियो भने कलेजोले रगतबाट कोलेस्ट्रोल हटाउने क्षमता घट्छ अनि व्यक्ति उच्च कोलेस्ट्रोलको सिकार बन्छ। तसर्थ, कलेजोको रक्त प्रशोधन क्षमता प्रभावकारी हुनका लागि उक्त प्रोटिनको उत्पादन न्यून हुन आवश्यक देखियो। अब आरएनएआई विधिमा आधारित ओखती इन्क्लिसिरानले कसरी कोलेस्ट्रोल नियन्त्रण गर्छ त ?

    आरएनएआईमा आधारित ससाना आरएनएका खण्डहरूले बनेको यो दबाईले पिसिएसके ९ बनाउने आरएनएलाई निस्तेज पार्छ। आरएनएमा प्रहार भएपछि यो इन्जाइमको मात्रा घट्छ। विपरीतको सम्बन्ध रहेकाले इन्जाइमको मात्रा न्यून भएपछि कलेजो प्रभावकारिता बढ्छ अनि कोलेस्ट्रोलको मात्रा रगतमा न्यून बन्न पुग्छ। कोलेस्ट्रोलको घनत्व घटेपछि हार्ट डिजिजको सम्भाव्यता न्यून हुन्छ। परम्परागत ओखतीको तुलनामा लामो समय शरीर बाँच्न सक्ने भएकाले ओखतीको प्रभावकारिता दीर्घकालसम्म कायम रहन्छ।

    सबै मानिसको ब्लड प्रेसर किन तुलनायोग्य हुन्छ त भन्ने प्रश्न धेरैको मनमा हुन्छ नै। रक्तचाप सन्तुलनमा बस्नुमा कलेजोमा उत्पादन हुने प्रोटिन एन्जियोटेन्सिनोजिनले भूमिका खेल्छ। यो प्रोटिनको मात्रा बढदा रक्त नलीहरू संकुचन हुन्छन् अनि व्यक्तिको रक्तचाप बढ्छ। रक्तचाप उकासिन पुग्दा शरीरले यो प्रोटिनको उत्पादन नियन्त्रण गर्छ। परिणामस्वरूप रक्त नलीहरू खुकुलो बन्छन् अनि ब्लडप्रेसर घट्छ। उमेर पाको भएपछि कलेजोले आवश्यकताअनुसार एन्जियोटेन्सिनोजिनको मात्रा व्यवस्थापन गर्न सक्दैन बरु यो प्रोटिनको मात्रा उकासिन्छ।

    प्रोटिनको मात्रा उकासिएपछि व्यक्ति रक्तचापको सिकार बन्छ, ओखती खाने अवस्थामा पुग्छ। यो प्रोटिनको मात्रा व्यवस्थापन गरी रक्तचाप घटाउने उद्देश्यले फर्मास्युटिकल कम्पनी एलनाइलमले केबल वर्षको दुई पटक लिए पुग्ने जिल्बेसिरान इन्जेक्सन प्रयोगमा ल्यायो। कोलेस्ट्रोलको ओखतीझैँ आरएनएआई उपचार विधिमा आधारित यो रासायनिक तत्त्वले एन्जियोटेन्सिनोजिनको उत्पादन नियन्त्रण गर्ने भएकाले व्यक्तिले हाई ब्लड प्रेसरबाट मुक्ति पाउँछ। शरीरमा ६ महिनासम्म बाँच्न सक्ने रासायनिक आरएनएका कारण केबल एक मात्रा ओखतीले व्यक्तिलाई ६ महिनासम्म रक्तचाप नियन्त्रणमा मद्दत गर्छ।

    परम्परागत ओखतीहरू अल्पायु भएका साना अणुबाट बनेका हुन्थे अनि औषधिको दैनिक सेवन अपरिहार्य थियो। तर अहिलेको आरएनएआईमा प्रयोग हुने जटिल आकृतिका बायोमोलिक्युल लामो समयसम्म पनि शरीरमा सकुशल बाँच्न सक्ने भएकाले दिनैपिच्छे दबाई खानुपर्ने झन्झट रहेन। औषधि सेवनको आयामलाई आवधिक अनुसन्धानले रोगीमैत्री बनाउँदै लगेको देखियो।

    – पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।

  • आगामी केही दिन तराईमा तापक्रम बढ्ने, सतर्कता अपनाउन आग्रह

    आगामी केही दिन तराईमा तापक्रम बढ्ने, सतर्कता अपनाउन आग्रह

    मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

    महाशाखाले तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको हुनाले आवश्यक परेमा मात्रै सावधानी अपनाएर घरभन्दा बाहिर निस्कन आग्रह गरेको हो।

    महाशाखाले तराईका भू–भागहरूमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ।

    महाशाखाले धनगढी, नेपालगञ्ज लगायत पश्चिम तराईका अधिकांश स्थानमा ४० डिग्री तापक्रम मापन गरिएको र आगामी केही दिन सोभन्दा बढी तापक्रम बढ्ने भएकाले सावधानी अपनाउन भनेको हो।

    गर्मी बढ्न थालेपछि तराईका विभिन्न पालिकाले विद्यालय बन्द गरेका छन्।

    सम्भावित असर तथा सुझावहरूः

    तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ।

    बच्ने उपायहरूः

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी सम्पर्कमा नआउने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने।

  • महिनावारीमा बिदाको पहल गर्दै छु : मन्त्री चौधरी

    महिनावारीमा बिदाको पहल गर्दै छु : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउन राज्यले बिदाको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

    एक्स-पोज नेपालले १०औं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस उपलक्ष्यमा मंगलबार राजधानीमा गरेको साइकल र्‍यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले बिदाको व्यवस्था गर्न पहल गर्ने बताइन्।

    महिला हिंसा तथा महिनावारीसम्बन्धी काम गरिरहेको गैरसरकारी संस्था एक्स–पोज नेपालले हरेक वर्षझैं यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्‍याली गरेको छ। यस वर्ष ‘महिनावारीमैत्री विश्वव्यापी हातेमालो’ भन्ने नाराका साथ मनाइएको छ। यो हरेक वर्षको मे २८का दिन मनाइन्छ।

    आयोजक एक्स-पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात् सात वर्षपहिले गरेको पहिलो साइकल र्‍यालीमा जम्मा ७२ जना सहभागी भएकामा एक जना महिला सहभागी भएको बताए। उनले यस वर्ष चार सय ५० सहभागीमा ७५ प्रतिशत महिला र्‍यालीमा सहभागी भएको जानकारी दिए।

    युनिसेफका प्रतिनिधि जिहुनरले महिनावारी स्वच्छतामा मुख्य सरसफाइ नै रहेको बताए। उनले यसरी सहकार्य गर्न पाएकोमा खुसी लागेको पनि बताए। ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाको महिनावारीलाई कमजोरीका रूपमा हेर्न नहुने धारणा राखिन्।

    उनले कमजोरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताइन्। उनले यो अभियानमा ललितपुर महानगरपालिका पनि लागेको बताउँदै महानगरले प्रत्येक विद्यालयमा महिनावारी सम्बन्धी सहजीकरण कार्यक्रम गरिरहेको जानकारी दिइन्।

    राष्ट्रिय महिनावारी सञ्जालका संयोजक तथा सभापति गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाइसँग सम्बन्धित रहेकाले वातावरण प्रदूषित नहुने गरी महिनावारी मनाउनुपर्ने बताए।

    उनले अहिले बजारमा आएको महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकाले सकेसम्म घरेलु प्याड प्रयोग गरेर प्रदूषण घटाउनुपर्नेमा जोड दिए।

  • आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

    आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

    आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

    सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने सरकारले गरेको निर्णय अनुसार आज सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवस मनाउन लागिएको हो।

    सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ।

    यसैबीच आज मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ। सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्।

    पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्।

    यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाएकी छिन् भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान पनि बनेको छ।

    यसैबीच, दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन्।

    उनले विश्वभरिका साहसिक पर्यटकहरूलाई नेपालतर्फ ध्याकर्षण गराउने तथा नेपाल भित्र्याउनका लागि सगरमाथा दिवसले सहयोग पुग्ने बताए।

    उनले विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिामालहरू यसको असरको चपेटामा पर्दै गएको भन्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौतीलाई सामना गर्दै हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता रहेको उल्लेख गरे।

  • ‘देशमा समावेशी समाज निर्माण भएन’

    ‘देशमा समावेशी समाज निर्माण भएन’

    गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलनले देशमा समावेशी समाज निर्माण हुन नसकेको निष्कर्ष निकालेको छ। पोखरामा दुई दिनसम्म चलेको प्रदेशस्तरीय नागरिक सम्मेलनले सामाजिक न्यायसहितको समावेशी समाज निर्माण गर्ने चाहना रहे पनि त्यो हुन नसकेको निष्कर्ष निकालेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजक गैरसरकारी संस्था महासंघ (गैसस) ले जानकारी दिएको हो।

    सम्मेलनपछि जारी २१ बुँदे घोषणापत्रको ११औं बुँदामा भनिएको छ, ‘देशमा नागरिकको चाहना सामाजिक न्यायसहितको समावेशी समाज निर्माण गर्ने रहेको तर विभिन्न घटना क्रमले देशमा भ्रष्टाचार तथा असमानता झन् बढेको महसुस आम नागरिकमा देखिएको छ।’

    त्यसैले भ्रष्टाचार, दण्डहीनताजस्ता घटनामा स्वच्छ तथा पारदर्शी रूपमा छानविन गरी विधि र सुशासनको अवलम्बन कायम गर्न जोडदार माग गरिएको छ। गैरसरकारी संस्था महासंघ (गैसस महासंघ) की महिला तथा समावेशी विभाग संयोजक विना सिलवालले देशमा समावेशी सिद्धान्त लागु नै नभएको दाबी गरिन्। समावेशी सिद्धान्त अत्यन्त राम्रो छ,’ उनले भनिन्, ‘तर यसलाई विकृत बनाइएको छ। यो लागु गर्नुपर्छ।’

    सम्मेलनको एक अंग मानिएको गण्डकी प्रदेशस्तरीय महिला सम्मेलनले समावेशी सहभागितामा महिलाको संख्या बढे पनि ३३ प्रतिशत नपुगेको औंल्याएको छ। त्यसैले तीनै तहका सरकार, नागरिक संगठन, निजी क्षेत्र, राजनीतिक दल, संघसंस्थालगायतमा महिलाको सहभागिता कम्तीमा पनि ३३ प्रतिशत पुर्‍याउन माग गरिएको छ।

    साथै समानुपातिक सहभागितामा नातावाद, कृपावादबाट माथि उठेर योग्यता र क्षमताका आधारमा छनोट गर्ने अवस्था सुनिश्चत गर्न पनि माग गरिएको महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष केशु भुजेलले जानकारी दिइन्।

    नागरिक सम्मेलनले नागरिकका मौलिक अधिकारहरू शिक्षा र स्वास्थ्यलाई राज्यले पूर्ण जिम्मेवारी लिएर अनिवार्य र निःशुल्क गर्न माग गरेको छ। साथै स्वास्थ्य उपचार पूर्ण निःशुल्क गर्नका लागि लगानी बढाउन पनि आग्रह गरेको छ।

    सम्मेलनले दैनिक उपभोग्य तथा खाद्य सामग्रीको बजार भाउ अस्वाभाविक रूपमा बढेको, गुणस्तर कायम नभएको, अनुगमन नभएको भन्दै तत्काल बजार भाउ नियन्त्रण, अखाद्य पदार्थरहित गुणस्तरीय वस्तुको उपभोग गर्न र पोषणको अधिकारको सुनिश्चित गर्न तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ।

    सम्मेलनले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूको सामाजिक सुरक्षा हुन नसक्दा मजदुर वर्गमा निराशा बढेको र यही कारण पलायन हुने क्रम बढेको औंल्याएको छ। त्यसैले युवा जनशक्तिलाई देशमै उद्यमशीलताको र रोजगारीको ग्यारेन्टी गर्न माग गरेको गैसस महासंघ गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्काले जानकारी दिए।

    सम्मेलनले सबै किसिमका सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्दा सबैका लागि पहुँच सुनिश्चित गर्न र सरकारी कार्यालयले सूचना तथा सञ्चार प्रविधिका सम्बन्धित सामग्री तयार गर्दा अपांगता भएका व्यक्तिहरूको विद्युतीय पहुँचयुक्तताको व्यवस्था गर्न पनि माग गरेको छ।

    महिलामाथि हुने सबैखाले हत्या, हिंसा, बलात्कार, मानव बेचबिखन, बालबालिका ओसारपसार एवं बालबालिका, अपांगता, ज्येष्ठ नागरिक, एचआइभी संक्रमितलगायतमाथि हुने दुर्व्यवहार र विभेद, जातीय विभेद तथा छुवाछुतलगायत घटना दिनहुँ बढिरहेको तथ्य सार्वजनिक गर्दै त्यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न जनसमुदायमा व्यापक सचेतना अभिवृद्धि गर्ने खालका नीति तथा कार्यक्रम ल्याउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।

    नागरिक घोषणापत्रमा बैंक तथा वित्तीय संस्था एवं सहकारीहरूको नियमविपरीत बचत रकम अपचलन गर्ने, बचतकर्ताको रकम फिर्ता नदिनेलगायत वित्तीय नियमविपरीत कार्य गर्नेलाई कारबाहीको माग गरिएको छ।

    त्यस्तै, ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा संघसंस्थालाई विकासको साझेदारका रूपमा जोड्न, अन्तर्राष्ट्रिय सन्धि-सम्झौताबमोजिम निर्माण भएका ऐन, कानुन, नियमहरूको पूर्ण पालना तथा अन्य सबै ऐन, कानुन तथा नियमहरूलाई जनमैत्री बनाई कार्यान्वयनमा लैजान, जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रसहित देशभर देखिन थालेको भन्दै यसको न्यूनीकरणका लागि तीनै तहका सरकार, विकास साझेदार संस्थाहरू र विश्व समुदायलाई भरपर्दो स्रोतको व्यवस्थापन गरी जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्न पनि माग गरिएको छ।

    सम्मेलनले महिला, दलित, ज्येष्ठ नागरिक, बालबालिका, जनजाति, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यकको सहभागिता हुने गरी नीति कार्यक्रम तथा बजेट निर्माण गर्न र किसानमैत्री नीति तथा कार्यक्रम तर्जुमा गर्न माग गरेको छ। सम्मेलनले सशस्त्र द्वन्द्वपीडितले न्यायको प्रत्याभूत हुने गरी संक्रमणकालीन न्याय टुंग्याउन आग्रहसमेत गरेको छ।

  • स्वास्थ्यमा बजेट निरन्तर ओरालो

    स्वास्थ्यमा बजेट निरन्तर ओरालो

    सरकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन गरेको स्वास्थ्यतर्फको लक्षित बजेट करिब ५० प्रतिशत कम भएको स्वास्थ्यविज्ञहरूले औंल्याएका छन्। सरकारले चालु आवमा कुल बजेट १८ खर्ब, ६० अर्ब ३० करोड रहेकामा स्वास्थ्यतर्फ ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।

    विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुल बजेटको करिब १० प्रतिशत स्वास्थ्यमा बजेट हुनुपर्छ भन्ने मापदण्ड छ। विश्वका विकसित मुलुकले यो मान्यता अपनाएको भए पनि नेपालले अहिलेसम्म अपनाउन सकेको छैन। स्वास्थ्य अभियानकर्ताले स्वास्थ्यमा १० प्रतिशत बजेट हुनुपर्छ भन्ने मान्यता अघि सार्दै आएका छन्।

    यो वर्षको स्वास्थ्य क्षेत्रको बजेट गत वर्षको भन्दा पनि कम रहेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए। प्राप्त बजेटको ७० प्रतिशत स्वास्थ्यकर्मीको तलबभत्तामै सकिने हुनाले ३० प्रतिशतको भरमा स्वास्थ्य संस्था विकासमा लगानी हुने देखिन्छ।

    यति कम बजेटले ७७ जिल्लामा आवश्यक स्वास्थ्य पूर्वाधार तथा उपकरण जोहो गर्ने सम्भावना नै देखिँदैन। तलबभत्ताबाट बचेको करिब ३५ अर्ब बजेट ७७ जिल्लामा वितरण गर्दा ३०-३५ करोड मात्र पर्न आउँछ।

    कुनै पनि देशले स्वास्थ्यतर्फको बजेटका लागि सुत्केरी, नवजात शिशु, अपांगता र दुर्गम क्षेत्रलाई लक्षित गरेर कार्यक्रमलाई प्राथमिकता दिने र सो अनुसार बजेट विनियोजन गर्नु पर्नेमा यी पक्षलाई बजेटले बेवास्ता गरेको डा. मरासिनीले बताए। अहिले अघि सारेको उनका अनुसार नयाँ कार्यक्रमलाई सम्बोधन गर्न पनि बजेट अपुग देखिएको छ।

    धेरैजसो कार्यक्रम पुरानै रहेको र केही नयाँ भएका पनि कार्यान्वयनकै कारण फितलो हुने सम्भावना देखिएको छ। जनस्वास्य विज्ञ डा. झलक गौतमले यो वर्षको बजेट आजभन्दा ७७ वर्ष पहिलाको बजेटसरह प्राथमिकतामा परेको पाइएको बताए।

    २००३ सालमा तत्कालीन प्रधानमन्त्री पदमशमशेरको शासनकालमा पनि स्वास्थ्य क्षेत्रको बजेट ४.४२ प्रतिशत विनियोजन गरिएको थियो। यो वर्ष पनि ४.६४ प्रतिशत विनियोजन हुनुले स्वास्थ्य क्षेत्रको बजेटले फड्को मार्न नसकेको उनको भनाइ छ।

    गत वर्ष ४.७९ प्रतिशत बजेट रहेकामा यो वर्ष त्योभन्दा कम ४.६४ प्रतिशत रहेको छ। ‘बजेटले परम्पराबाट फड्को मार्न सकेन, हामीले सधैं स्वास्थ्यमा १० प्रतिशत बजेट हुनुपर्छ भन्दै आएका छौं,’ डा. गौतमले भने।

    धेरैैजसो कार्यक्रम गत वर्षकै निरन्तरता भएको भए पनि तीन सय शय्या भएका अस्पताललाई पाँच सय शय्यामा विस्तार गर्ने कार्यक्रम, प्रसूति अस्पतालमा विकंलाग शिशुको भ्रूण परीक्षण कार्यक्रम, कतिपय अस्पालकोे पूर्वाधार विकास कार्यक्रम, उपत्यकाबाहिर एमबिबिएस तथा नर्सिङ अध्यापन कार्यक्रम र सामाजिक सुरक्षाको दोहोरोेपना हटाउने कार्यक्रम गतिशील कार्यक्रम रहेको डा. गौतमले बताए।

    स्वास्थ्य बिमामा सबैलाई सामेल गराउने गरी बजेटमा कार्यक्रम आउनुपर्नेमा आउन नसकेको डा. गौतमको भनाइ छ। ‘प्रहरी, सेना, शिक्षक, कर्मचारी सबैलाई अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध हुने गरी कार्यक्रम आएको भए बिमा प्रभावकारी हुन्थ्यो,’ उनले भने।