Blog

  • शिक्षामा दुई खर्ब तीन अर्ब ६६ करोड बजेट

    शिक्षामा दुई खर्ब तीन अर्ब ६६ करोड बजेट

    सरकारले ‘समृद्धिको आधार : शिक्षामा गुणात्मक सुधार’ नारासहित आर्थिक वर्ष २०८१-८२ का लागि शिक्षा क्षेत्रतर्फ २ खर्ब ३ अर्ब ६६ करोडको बजेट छुट्याएको छ। सरकारले गत आवको भन्दा यो वर्ष ३९ अर्ब ३१ करोड बढी बजेट छुट्याएको हो। गत वर्ष शिक्षा क्षेत्रमा एक खर्ब ९७ अर्ब २९ करोड मात्र बजेट थियो।

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा आव २०८१-८२ को बजेट सार्वजनिक गर्दै यस वर्ष शिक्षा क्षेत्रमा कर्णाली क्षेत्रका कुपोषण ग्रसित बालबालिकाको शिक्षा र स्वास्थ्यलाई ख्याल गर्दै दिवाखाजाको रकम वृद्धि गरिएको बताएका छन्।

    उनले सार्वजनिक गरेको शिक्षाको बजेटमा कक्षा १ देखि ५ सम्म सञ्चालित दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन उपयोग गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ।

    ‘कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा दिइँदै आएको दिवा खाजा रकम वृद्धि गरेको छु’, अर्थमन्त्री पुनले भने, ‘आगामी वर्ष सातै प्रदेशका एक–एक स्थानीय तहमा एकीकृत भान्छाको अवधारणाअनुरूप मेघा किचन स्थापना गरिने छ।’

    उनले प्रारम्भिक बाल शिक्षादेखि कक्षा पाँचसम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने दिवाखाजाका लागि आठ अर्ब ३९ करोड विनियोजन गरेको जानकारी दिए।

    गत वर्ष भने यही दिवा खाजा शीर्षकमा ३२ लाख विद्यार्थीका लागि कुल आठ अर्ब ४५ लाख बजेट विनियोजन भएको थियो। तापनि यो रकम अपुग भएकाले कतिपयले खाजा कार्यक्रम सञ्चालन गरेनन् भने कतिपय पालिकाले आफैंले रकम थपेर कार्यक्रम सञ्चालन गरिरहेका छन्।

    तर शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार सरकारले सस्तो लोकप्रियताका लागि कनिका छरेजस्तै दिवाखाजा कार्यक्रम घोषणा गरे पनि पर्याप्त बजेट नहुँदा कार्यक्रम प्रभावकारी नभएको बताए।

    उनले भने, ‘सरकारसँग पैसा छैन भन्ने बुझेपछि भएको स्रोतसाधनमै व्यवस्थित तरिकाले कार्यक्रम तय गर्नुपथ्र्यो। अनि मात्र कार्यक्रमको अर्थ हुन्थ्यो। सरकारले खाजा कार्यक्रमको नाउँमा जनतालाई झुक्याएको महसुस भइरहेको छ।’

    यसैगरी बजेटले विपन्न वर्गको छात्रवृत्तिमा समेत वृद्धि गरेको छ। अतिविपन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ९ देखि १२ सम्म प्रदान गरिँदै आएको छात्रवृत्तिलाई कक्षा ६ देखि १२ सम्म विस्तार गर्न बजेट व्यवस्था गरिएको छ।

    यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने अर्थमन्त्री पुनको विश्वास छ। विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड विनियोजन बजेटले गरेको छ।

    गत वर्ष शैक्षिक कार्यक्रमका लागि दोहोरो बजेट भएको भन्दै एक अर्बको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम हटाइएको थियो। यो वर्ष पुनः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छुट्याइएको ८७ करोड बजेटलाई पनि शिक्षाविद् कोइरालाले सस्तो लोकप्रियताको संज्ञा दिएका छन्।

    त्यस्तै भूगोल र जनसांख्यिक परिवर्तन र विद्यालय संख्यालाई आधार मानी सबै विद्यालयको नक्साङ्कन गरी स्थानीय तहसँगको समन्वयमा शिक्षक दरबन्दी मिलान तथा तहगत समायोजन गरिने छ।

    पाँच सय विद्यालयमा खानेपानी र शौचालय निर्माण गरी अपाङ्गमैत्री, लैङ्गिक संवेदनशील र सुरक्षित एक हजार कक्षाकोठा निर्माणका लागि दुई अर्ब ५० करोड छुट्याइएको छ। प्राविधिक शिक्षातर्फ एक अर्ब ५९ करोड विनियोजन गरिएको छ।

    सरकारले उच्च शिक्षा व्यवस्थापनका लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको छ। विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापनमा एकरूपता कायम गर्न विश्वविद्यालय एकीकृत ऐन तर्जुमा गरिने भनिएको छ।

    विश्वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरी उच्च शिक्षामा समन्वय, अनुदान व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्य प्रभावकारी बनाउनले लक्ष्य बजेटले लिएको अर्का शिक्षाविद् बालचन्द्र लुइँटेलले बताए।

    मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र विदुषी योगमाया आर्युवेदलगायत विश्वविद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रूपमा कार्यान्वयन गरिने उल्लेख छ।

    ‘बजेट विनियोजन गरिए पनि मुख्य चुनौती कार्यन्वयनमा छ,’ शिक्षाविद् लुइँटेलले भने, ‘गुणस्तरीय शिक्षाको कुरा मात्र गर्ने तर शिक्षक दरबन्दी मिलान नगर्ने र आपूर्ति नगर्ने हो भने गुणस्तरीय शिक्षा नारामा मात्र सीमित हुन्छ।’

  • एमाले चितवनको अध्यक्षमा पाठक

    एमाले चितवनको अध्यक्षमा पाठक

    नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्। पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

    आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव ९खुला० मा मीनबहादुर परियार तथा उपसचिव ९महिला०तर्फ ज्वाला पुरी वन निर्वाचित भए।

    प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो।

    अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए। रासस

  • बदल्ने नेतृत्व हो व्यवस्था होइन

    बदल्ने नेतृत्व हो व्यवस्था होइन

    नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना २०६२/६३ को अभूतपूर्व, असाधारण र अहिंसात्मक जनआन्दोलनका कारण सम्भव भएको हो। जनआन्दोलन उत्कर्षमा पुग्दै जाँदा शाही सत्ता गलेको दिन अर्थात् २०६३ वैशाख ११ गते लोकतन्त्र दिवसका रूपमा मनाइन्छ। त्यसपछि सुरु भएको राजनीतिक एवं शान्ति प्रक्रियाकै क्रममा पहिलो संविधानसभाको निर्वाचनपश्चात २०६५ जेठ १५ गते विधिवत्रूपमा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। यसरी गणतन्त्र स्थापनासँगै २४० वर्ष शासनसत्तामा हालिमुहाली चलाएको राजतन्त्र उन्मूलन भएको थियो।

    २०६१ माघ १९ को शाही कदमको विरोधमा दलहरू सडकमा खुलेयाम उत्रने अवस्था थिएन। यस्तो अवस्थामा आमजनमानस रनभुल्लमा थियो। यस्तो अवस्थालाई चिर्दै मानव अधिकार तथा शान्ति समाज २०६१ माघ २८ गते सडकमा उत्रिएको थियो। यो त्यस्तो विरोध प्रदर्शन थियो जसले सन्नाटायुक्त वातावरणलाई चलायमान बनाएको थियो। दलहरूको हौसला बढाएको थियो भने उकुसमुकुसलाई तरंगित तुल्याएको थियो। आधारभूत स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायको प्रत्याभूतिसहितको लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि शाही शासनकै दौरान विशेष अभियान सञ्चालन गरेको इतिहासकै कारण लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ शान्ति समाजको योगदान महŒवपूर्ण रहेकामा शंका छैन। त्यसैले यो हाम्रा लागि गौरवको विषय पनि हो।

    २०६२/६३ को त्यो अभूतपूर्व आन्दोलनमा लाखौँ नागरिकको सहभागिता/योगदान थियो। तसर्थ लोकतान्त्रिक गणतन्त्रको अर्थात् यो व्यवस्थाको स्वामित्व नागरिकमा छ भन्न एकरत्ति पनि हिच्किचाउनु पर्दैन। आफूले ल्याएको व्यवस्था भएका कारण नागरिकमा यसको अपनत्व छ। तसर्थ यो व्यवस्थाको संरक्षकत्व पनि नागरिकमै निहीत छ। यो व्यवस्था कसैले बचाउँछ भने त्यो नागरिकले नै बचाउँछन् तर नागरिक निराश हुँदै जानु भने शुभ संकेत होइन। यो अवस्था सिर्जनाका कारण गणतन्त्र ल्याउन लागिपरेका व्यक्तिहरू नै जिम्मेवार छन्। जुन विडम्बनायुक्त पक्ष हो।

    लोकतन्त्रमा जतिसुकै शीर्ष किन नहोस्, नेताको विकल्प हुन्छ। खोज्नुपर्छ। विगतमा जतिसुकै योगदान गरेको दल किन नहोस्, लोकतन्त्रमा दलको पनि विकल्प हुन्छ। खोज्नुपर्छ। तर नागरिक सर्वोच्चता अर्थात् केन्द्रविन्दुमा नागरिक सर्वोच्चता भएको लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नुहुँदैन। खराब नेताहरूलाई दण्डित गर्न नसक्दा लोकतन्त्रकै विकल्प खोज्नुपर्छ भन्नेहरूको मनोबल बढ्दैछ। हामी कुनै पनि अवस्थामा कुनै पनि हैसियतमा हिंसालाई वकालत गर्दैनौँ र लोकतन्त्रको विकल्प खोज्दैनौँ। यस्ता विकृतिविरुद्धको निरन्तर अभियान लोकतन्त्र बचाउने आन्दोलनकै एक हिस्सा भएको सर्वविदितै छ।

    दुःखका साथ भन्नुपर्छ, यतिबेला कुशासन र दण्डहीनताका कारण आमजनमानसप्रति वितृष्णा बढ्दै गएको छ। त्यो पनि गणतन्त्र ल्याउन लागिपरेकाहरूबाटै। दुई पटकको संविधानसभाको निर्वाचनपश्चात २०७२ सालमा संविधान जारी भएपछि २०७४ सालमा तीनै तहको निर्वाचन सम्पन्न भएको थियो। त्यसपछि राजनीतिक स्थायित्वका साथै सुशासनको प्रत्याभूति एवं आर्थिक सामाजिकरूपमा देशले फड्को मार्ने अपेक्षा नागरिकमा थियो। तर सत्तासीनहरूले नागरिकको अपेक्षाअनुरूप योगदान गर्न सकेनन्। एकातिर ऊर्वर विचार र जनशक्तिको पुञ्ज लाखौँ युवाको विदेश पलायनको सिलसिला रोकिएन अर्कोतिर नागरिक सर्वोच्चता स्थापित हुनुपर्नेमा प्रमुख दलका शीर्ष नेताहरूको सर्वोच्चता स्थापित हुन थालेको हो कि भन्ने शंका बढ्दै गयो।

    झन् अर्कोतिर विधिको शासनको अनुभूति सर्वत्र हुनुपर्नेमा अबौँ भ्रष्टाचारका दर्जनौँ घटना बाहिर आउँदा पनि त्यसमा संलग्न कुनै पनि शीर्ष नेतृत्वमाथि कानुनी कारबाही भएन। सौदाबाजीको राजनीति, कुशासन र दण्डहीनताको कहालीलाग्दो शृंखलाका कारण एकातिर नागरिकमा वितृष्णा एवं निरासा चुलिँदैछ अर्कोतिर त्यसका लागि जिम्मेवार नेताहरूको राज्यसत्ता एवं संयन्त्रमा पकड एवं हालीमुहाली विद्यमान छ। त्यसैका कारण यो व्यवस्थामाथि प्रश्न उठाउने र धावा बोल्नेहरूको संख्या बढ्दै गएको देखिन्छ। अधिनायकवाद र एकाधिकारवादको पृष्ठपोषकहरूको ऊर्जाको स्रोत यिनै विकृति हुन्। तसर्थ लोकतान्त्रिक गणतन्त्रमाथि खतरा छ भने कुशासन, भ्रष्टाचार र दण्डहीनताका कारणले छ जसका लागि प्रमुख दलका शीर्ष नेताहरू जिम्मेवार छन्।

    जनआन्दोलनको राप र तापले लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान जारी भएका कारण अधिनायकवाद र एकाधिकारवादको भविष्य समाप्त भएको थियो । जस्तो राजतन्त्र उन्मूलन हुनु अधिनायकवादको समाप्ति थियो भने संविधानसभाबाट नयाँ संविधान बनेपछि स्वतन्त्रताबिहीन एकाधिकारवादी अर्थात् साम्यवादी व्यवस्था स्थापनाको संभावना पनि अन्त्य भएको थियो। यो संविधान असफल सावित गर्न सके मात्र राजतन्त्रको पुनस्र्थापना र साम्यवादी व्यवस्था स्थापनाको द्वार खुल्छ भन्ने रणनीतिले अहिले अधिनायकवाद र एकाधिकारवादका पृष्ठपोषकहरू अभियानरत् देखिन्छ । यी दुवै तप्का बलियो हुनु भनेको लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकार कमजोर हुनु हो । यसरी हेर्दा अधिनायकवाद र एकाधिकारवादको छटपटी पनि देखिन्छ मुलुकको राजनीतिक परिदृश्यमा ।

    संविधान गतिशील दस्ताबेज भएकाले यसमा संशोधन हुनु निरन्तर प्रक्रिया हो। कुनै पनि संविधान आफैँमा पूर्ण र सर्वोत्कृष्ट हुँदैन। नेपालको संविधान पनि शैशव अवस्थामा छ र कमजोरीमुक्त छैन। त्यसैले समयको माग र आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ र हुनु पनि पर्छ। तर संशोधन गर्दा केन्द्रविन्दुमा नागरिक सर्वोच्चता रहेको लोकतान्त्रिक गणतन्त्रको प्राण भने हरण गर्न मिल्दैन।

    यहाँनेर स्मरणीय पक्ष यो छ कि अमेरिकाको संविधानमा २७ पटक र भारतको संविधानमा १०६ पटक संशोधन भइसकेको छ। संविधानसभाबाट नेपालमा पनि संविधान बनिसकेपछि आगामी बाटो भनेको वैधानिक मार्गबाट आवश्यकताअनुसार संविधान संशोधन मात्र हो, संविधानको हत्या होइन। विश्वमै उत्कृष्ट मानिएको नागरिक सर्वोच्चता र स्वतन्त्रताको प्रत्याभूतिसहितकोे लोकतान्त्रिक व्यवस्थाको विकल्पमा अधिनायकवाद र एकाधिकारवादको वकालत गर्नु भनेको आधुनिक सभ्यता र सुसंस्कृति मान्यता विपरित नेपाललाई सयौँ वर्ष पछाडि धकेल्ने दूषित चिन्तन मात्र हो। त्यसैले यसलाई कतैबाट पनि स्वीकार गरिनु प्रत्यागमनतर्फको यात्रा हो।

    लोकतान्त्रिक गणतन्त्रको नेपाली मर्म ‘असललाई जिम्मेवारी र खराबलाई दण्ड’ मा आधारित हुनुपर्छ। वर्तमानमा विद्यमान विकृतिको निदान नगर्ने हो भने उपलब्धिहरू ओझेलमा पर्न सक्छन्। यो क्रम सुरु पनि भइसकेको छ। यो अवस्थाले हामी सबैलाई चिन्तित बनाउनु स्वाभाविक हो। असललाई जिम्मेवारी र खराबलाई दण्ड सुनिश्चित गर्न सकेमात्र लोकतान्त्रिक गणतन्त्र दिगो हुन्छ। केही खराब नेताको आचरणका कारण अहिले व्यवस्थामाथि धावा बोल्नेहरूको मनोबल बढ्न थालेको सत्य हो। आन्तरिक लोकतान्त्रिक अभ्यासबाटै खराबलाई दण्ड सुनिश्चित गर्न नसक्नुमा प्रमुख दलका नेता मात्र होइन, कार्यकर्ताहरू पनि त्यत्तिकै जिम्मेवार छन्। खराब नेताका कारण लोकतन्त्रमाथि संकट आउने त होइन ? भन्ने शंका बढ्दै जाँदा पनि खराब नेताहरूकै सर्वोच्चता स्वीकार गर्नेहरू लोकतन्त्रवादी हुन सक्दैनन्। नेता र दलका कारण लोकतन्त्र धरापमा पार्नु अपराध हो। यसैगरी लोकतन्त्रको विकल्प खोज्नु भनेको अस्थिरता र अराजकताको दलदलमा मुलुकलाई धकेल्नु हो भन्ने सत्य सबैले बुझ्नैपर्छ।

    –बराल मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति हुन्।

  • सगरमाथामा सय वर्षअघिको त्यो संघर्ष

    सगरमाथामा सय वर्षअघिको त्यो संघर्ष

    सन् १९५३ मे २९ मा आजकै दिन न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको सफल आरोहण गरे। त्यही ऐतिहासिक दिनलाई उत्सवमय बनाउन सरकारले हरेक मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउँदै आएको छ।

    यही दिवसलाई अझ विशेष र सान्दर्भिक बनाउने अभिप्रायका साथ काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा बुधबारदेखि २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आयोजना हुँदै छ।

    आफ्ना अघिल्ला संस्करणहरू अन्तर्राष्ट्रिय पर्वत दिवस (डिसेम्बर ११) को छेको पारेर गरिएको किम्फ यो वर्षदेखि भने सगरमाथा दिवसकै दिनदेखि मनाइने आयोजक किम्फ फाउन्डेसनले जनाएको छ। तर अहिले चर्चा गर्न लागिएको कुरा भने किम्फका अवसरमा देखाउन लागिएको सगरमाथा आरोहणको संघर्षको तस्बिर कथाबारे हो।

    त्यसो त सगरमाथामा पहिलोपटक पाइला टेकिएको ७१ वर्ष पुगे पनि यसको आरोहण इतिहास भने सय वर्ष लामो छ। सन् १९२१ मा जर्ज म्यालोरी र गे बुलकसहितको बेलायती टोलीले पहिलोपटक सगरमाथा आरोहणको यात्रा थालेको थियो।

    टोलीले नेपाली भरिया–कामदारसमेतको सहयोगमा दार्जिलिङ हुँदै तिब्बत क्षेत्रबाट पुमोरी हिमाल आरोहणको प्रयास गरेका थिए। त्यतिबेला उनले लाक्पाला हुँदै शिखरसम्म पुग्ने बाटो पत्ता लगाएका थिए। त्यो मार्ग रोङ्बुक ग्लेसियरबाट सुरु हुन्छ।

    त्यसपछि पूर्वी रोङबुक ग्लेसियरको कुनै नराम्रो उपत्यका हुँदै उत्तरी कोलको बरफको पूर्वी ढलानतर्फ सो मार्ग जान्छ। सन् १९२२ मा म्यालोरीसहितको बेलायती आरोहण टोलीले सगरमाथा आरोहणको दोस्रो अभियानमा भाग लिए, जसमा टोलीले पूरक अक्सिजन प्रयोग गरेर २७ हजार ३०० फिट (८,३२१ मिटर) उचाइ हासिल गरेको भनिन्छ।

    त्यसको दुई वर्षपछि १९२४ मा म्यालोरी र एन्ड्रियु इर्भिनले त्यतिबेलाकै सबैभन्दा अग्लो उचाइ ८,५७२.८ मिटरसम्म पुगेर कीर्तिमान कायम गरेका थिए। विडम्बना, यी दुई साहसी आरोही त्यही दिन (८ वा ९ जुन १९२४) हिउँमा हराए। कतै म्यालोरी र इर्भिन दुवैले वा एकले सगरमाथा चढेर फर्कने क्रममा त दुर्घटनामा भएको थिएन ? दशकौंसम्म यो जिज्ञासा चलिरह्यो। तर पुष्टि गर्न पर्याप्त प्रमाण भेटिएको छैन।

    सन् १९९९ मा बेलायती खोज टोलीले ८,१५६ मिटर उचाइमा एउटा हिउँले कंकाल बाँकी राखेको शव भेटियो। वैज्ञानिक जाँचपछि शव म्यालोरीको भएको पत्ता लाग्यो। इर्भिन भने अझै सगरमाथामै कतै भएको अनुमान छ।

    बेलायतीहरूले आफ्ना नागरिकहरूको यही आरोहण अनुभवलाई सगरमाथा आरोहणको सय वर्षका नाममा यो वर्ष विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन्। यही फेरोमा बेलायती आरोहीसमेत रहेका क्युरेटर इयान वालले अल्पाइन क्लब, एभरेस्ट एक्सपिडिसन र रोयल जियोग्राफिकल सोसाइटीको सहयोगमा सन् १९२१–२४ का दुर्लभ साहसलाई अभिलेखीकरण गर्ने कोसिस गरेका छन्।

    ‘द फाइट फर एभरेस्ट १९२४ु नाम दिएको यो प्रदर्शनी पहिलोपटक नेपाल पर्यटन बोर्डको कार्यालय परिसरमा बुधबारदेखि प्रदर्शन हुँदैछ। यही शीर्षक र विषयको वृत्तचित्रसमेत मञ्चन र छलफलसमेत हुँदै छ। प्रदर्शनीको उद्घाटन नेपालका लागि बेलायती राजदूत रब फेन र पर्यटन सचिव गणेशप्रसाद पाण्डेयले गर्नेछन्।

    ‘त्यतिबेला सगरमाथा आरोहण कसरी भयो ? आरोही को थिए ? गोर्खा सैनिकको भूमिका के थियो ? आरोहीले लेखेका चिठी, उनीहरूका डायरी, खानेकुरा, उनीहरूले प्रयोग गरेका सामान प्रदर्शनीमा देखाइनेछन्’, किम्फ फाउन्डेसनका सदस्य शेखर खरेलले भने।

    आज सगरमाथासँग विभिन्न प्रसंगका विश्व कीर्तिमान जोडिएर आउने तर उबेला सगरमाथा आरोहण परिकल्पना नै दुस्साहस रहेको बताउँदै उनी विभिन्न समयमा भएका ती आरोहणका प्रयासको प्रतिफल आज सगरमाथाको लोभलाग्दो ख्याति भएको बताउँछन्। ‘र, यी दस्तावेजहरूले हामीलाई यी सबैप्रति गर्व गर्न सिकाउनेछन्,’ खरेल भन्छन्।

  • कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा

    कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा

    आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभावसँगै बङ्गलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    यस्तै आज राति कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

    २०८१ जेठ १७ गते (बिहीवार)

    दिउँसोː कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरू र बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०८१ जेठ १८ गते (शुक्रवार)

    दिउँसोː कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • तपाईंको आजको राशिफल

    तपाईंको आजको राशिफल

    मेष राशिः यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, विवादमा नपर्नु नै उत्तम हुनेछ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

    वृष राशिः स्वदेश भ्रमणको योग रहेको छ। कार्यग र्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गरे मनग्गे लाभ मिल्नेछ। परिवारमा अर्थ आर्जन हुने योग पनि देखिन्छ।

    मिथुन राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने योग छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। हल्का कर्ण समस्या देखा पर्न सक्ने छ। रोजगारीको अबसर मिल्ने समय छ।

    कर्कट राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य समस्या देखा पर्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

    सिंह राशिः बिलासी खानपानमा रुची नगर्नु वेस हुन्छ। भूमिसम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ कम हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

    कन्या राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातु सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त नहुने छ। अध्ययन सफलता मिल्ने योग छ। धन प्राप्तीमा ढिला हुने समय छ।

    तुला राशिः कार्य सिद्धिमा सामान्य बाधा छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। नयाँ कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु राम्रो छ। व्यवसाय गर्नेहरुलाई दिन मध्यम छ।

    वृश्चिक राशिः परिवारमा सामान्य उदर रोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ।

    धनु राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुने दिन छ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाईमा कार्यसिद्धि योग छ।

    मकर राशिः स्वास्थ्यमा केही बिकार आउने देखिन्छ। उन्नती प्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीहरुका लागि पढाई मध्यम रहेको छ। केही व्यक्तिले सामान्य अर्थ व्यय गर्न सक्ने छन्। व्यापारमा कम फल प्राप्त हुनेछ।

    कुम्भ राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। हल्का उदर समस्या देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। टेक्निकल क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ। प्रेमिहरुका लागि दिन राम्रो छ।

    मीन राशिः पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। आय आर्जनको योग छ। आँखामा समस्या देखिन सक्छ। व्यापार व्यवसायमा फल प्राप्तिमा केही बाधा छ। बिलासी कार्य र यात्रामा बिचार पुर्याउनु होला।

  • आँधीसँगैको पहिरोमा परी २७ जनाको मृत्यु

    आँधीसँगैको पहिरोमा परी २७ जनाको मृत्यु

    भारतको मिजोरम राज्यमा आँधीसँगैको वर्षाका कारण गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ।

    बीबीसीका अनुसार मिजोरजमको राजधानी आइजोलमा रेमल आँधीका कारण मङ्गलवार पहिरो खस्दा ठूलो जनधनको क्षति भएको हो।

    मिजोरम सरकारको सूचना एवं जनसम्पर्क विभागका अनुसार पहिरोका कारण पानी र विद्युत सेवा ठप्प भएका छन्।

    मिजोरममा रेमल आँधीका कारण ठूलो वर्षा हुँदैछ।

    सरकारले आँधी र वर्षाको जोखिमलाई ध्यानमा राखी सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ।

  • चिन्ता चिनियाँ पर्यटकको

    चिन्ता चिनियाँ पर्यटकको

    नेपाल भूपरिवेष्ठिट मुलुक भएकाले रहस्यमयी डाँडाकाँडा, भिरपाखा र कुनाकन्दरा नै यहाँका प्राकृतिक देन हुन्। सगरमाथादेखि माछापुछ्रेसम्म सेफोक्सुन्डोदेखि रारासम्म अनि लुम्बिनीदेखि पोखरा हुँदै थुप्रै सम्पदाले सज्जित छ, नेपाल। यस अर्थमा नेपाल पर्यटकीय दृष्टिकोणबाट मनमोहक रहेकामा शंका छैन। एकाध घण्टामै मौसमको अकल्पनीय परिवर्तन, सयौँ जातजातिका रिवाज र संस्कृति अनि मान्छेभन्दा पनि बढी देवीदेवताका मन्दिर यहाँ पर्यटक लठ्याउन काफी छन्।

    तर विडम्बना, यो प्रचुर सम्भावनाको भरपुर उपयोग गर्न नेपाल चुकिरहेको छ। भर्खरै पोखरेली पर्यटन व्यवसायीले गरेका गुनासाले पनि हामी यस्तो अवसर गुमाइरहेका छौँ भन्ने पुष्टि हुन्छ। जनसंख्या वृद्धि, आम्दानीमा आइरहेको परिवर्तन र घुमफिरप्रति बढ्दो अभिरुचिका कारण पर्यटक प्रत्येक वर्ष बढ्नुपर्ने हो तर यो सामान्य प्रवृत्ति पनि पोखराको पर्यटकीय क्षेत्रमा भने लागु भएन। जसले पर्यटन व्यवसायीलाई चिन्तित तुल्याउनु स्वाभाविक हो। र, यो अवस्था पोखराका निम्ति मात्र होइन समग्र देशकै निम्ति हो।

    नेपाल यस्तो भाग्यमानी देश हो जसको उत्तरमा रहेको चीन र बाँकी तीन दिशामा भारत विकासको तीव्र गतिमा लम्किरहेका छन्। यी दुवै देशका जनसंख्या अर्बभन्दा माथि छ। आर्थिक हिसाबले यी मुलुक तीव्र गतिमा अगाडि बढिरहेका छन्। यी मुलुकमा आर्थिक गतिविधि बढेसँगै घुमक्कड मानिस पनि बढेका छन्। यी दुई यस्ता मुलुक हुन् जहाँका लाखौँ मानिस प्रत्येक दिन विश्व भ्रमणमा भइरहेका हुन्छन्। जसले विश्व पर्यटन व्यवसायमा ठूलै योगदान पुर्‍याइरहेका छन्।

    नेपाल सबैभन्दा नजिकको देश हो। कौतुकमय दृश्यले संसारलाई लोभ्याउने सामथ्र्य राख्छ। केही दिनमै मुख्य मुख्य थलोहरू घुम्न र दृश्यावलोकन गर्न सकिन्छ । तर पनि यहाँ यी दुई देशका अपेक्षा गरे जति पर्यटक आइरहेका छैनन् । अझ विशेषगरी केही वर्षमै विश्वकै पहिलो अर्थतन्त्र हुने प्रक्षेपण गरिएको चीनका नागरिक त बुद्ध भूमि भएका कारण पनि नेपाल घुम्न भनेपछि मरिहत्ते गर्छन् । तर पनि उनीहरूको उल्लेख्य भ्रमण हुन सकेको छैन । पहिलो कुरा त नेपाल आउने चिनियाँ संख्या बढ्न सकेको छैन । अझ त्यसमाथि नेपाल आउनेमध्ये पोखरा कति पुग्छन् भन्ने व्यवस्थित तथ्यांक पनि कतै छैन । यो अवस्थाले पोखराका पर्यटन व्यवसायीलाई चिन्तित तुल्याएको छ।

    कारण पनि पत्ता लगाएका छन् पोखरेलीले। चिनियाँहरू नेपाल आउन विमानमा जति भाडा तिर्नुपर्छ, त्यति भाडाले थाइल्यान्ड, भियतनाम, कम्बोडिया र श्रीलंका डुल्न पुग्दोरहेछ। अर्थात् नेपाल आउँदा विमानलाई मात्र तिर्नुपर्ने करिब एक लाख रुपियाँले अरू सबै मुलुक घुम्न पुग्ने भएपछि पर्यटकहरू त्यतै आकर्षित हुनु कुनै अनौठो विषय पनि रहेन। अझ अचम्म त काठमाडौँ आइसकेपछि पनि यहाँबाट पोखरा जान नेपालीका लागि भन्दा निकै बढी तिर्नुपर्छ। त्यसैले महँगो यात्रा रुचिमा नपर्नु कुनै अनौठो विषय भएन।

    पर्यटक आकर्षित गर्ने विभिन्न उपाय हुन्छन्। यो क्षेत्र आतिथ्यतासँग जोडिएकाले प्रत्येक गतिविधि निगरानीयोग्य हुने गर्छ। एउटा गाइडले बोल्ने शैलीदेखि होटलको रिसेप्सनमा बस्नेको मन्द मुस्कानसमेतले धेरै फरक पार्छ। त्यसैले पर्यटकलाई जति खुसी तुल्यायो र आकर्षित गर्न सक्यो उति उति उनीहरूको संख्या बढ्ने हो। जसमध्ये यात्रालाई सहज, सुविधाजनक र कम खर्चिलो तथा गुणस्तरीय बनाउनु पनि उत्तिकै आवश्यक छ। यसका लागि नेपालले चिनियाँ पर्यटकलाई लक्षित गरेर हवाई भाडामा पुनर्विचार गर्नु उत्तम उपाय हुनेछ।

    पर्यटन व्यवसायलाई केही व्यक्तिको नाफा/घाटासँग मात्र जोडेर हेर्नेहरू पनि धेरै छन्। खासमा यो रोजगारीको ठूलो क्षेत्र पनि हो। विश्वलाई आफ्नो मुलुक चिनाउने महŒवपूर्ण उद्योग हो। त्यसैगरी मुलुकको अर्थतन्त्रलाई दरिलो बनाउने माध्यमसमेत हो। यी यावत् पक्षलाई विचार गरी पर्यटकलाई, अझ विशेष गरेर चिनियाँ पर्यटकलाई आकर्षित गर्नेखालका प्याकेजहरू ल्याउनुपर्छ। अनि नेपाल आउने यस्ता पर्यटकलाई पोखरा, लुम्बिनीलगायतका प्रसिद्ध थलो घुम्न प्रेरित गर्नुपर्छ। स्मरणीय छ, चीन र भारतका एक÷एक प्रतिशत मात्र स्तरीय पर्यटक नेपाल आउनु भनेको दुई करोडभन्दा बढी स्तरीय पर्यटक आउनु हो। यस्तो अवस्था सिर्जना गर्न सकियो भने हामीले अरू पर्यटक भित्रिएनन् भनेर चिन्ता गर्नै पर्दैन।

  • लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते

    लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते

    लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

    मंगलरबार दिउँसो १२:४५ बजेको समयमा सदरमुकाम बेशीसहर नगरपालिका–७ स्थित तमु सङ्ग्रहालयको ओरालोबाट ब्रेक फेल भएको ग ३ च ५०७१ नम्बरको जिप क्याम्पस रोडमा रहेको एक घरभित्र पस्न पुगेको थियो।

    लमजुङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार सृजना श्रेष्ठको घरमा सञ्चालित आस्मी खाजा घरको सटरबाट जिप घरभित्र छिरेको हाे। सोही खाजा घरमा बसिरहेका तीन जना घाइते भएका हुन्।

    जिप दुर्घटनामा परी बेसीशहर नगरपालिका-९ पाखाथोक बस्ने ८० वर्षीय रत्न कुमारी राउत, क्याम्पस रोड बस्ने ६३ वर्षीय डम्बर कुमारी रोका मगर र ३८ वर्षीय सिर्जना श्रेष्ठ घाइते भएका छन्।

    दुर्घटनाबाट खाजा पसलको सटर र पसल भित्र रहेका अन्य सामानहरूमा ६ लाख बराबरको क्षति पुगेको प्रहरी निरीक्षक चपाईले जानकारी दिए।

    जिप चालक दूध पोखरी गाउँपालिका–४ नमार्खुका ४१ वर्षीय डिलप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • तिला नदीमा बगेर किशोर बेपत्ता

    तिला नदीमा बगेर किशोर बेपत्ता

    तिला नदीमा बगेर १४ वर्षीय किशोर बेपत्ता भएका छन्।

    मंगलबार दिउँसो २ बजे पौडी खेल्ने गएका तिलागुफा- ७ छाप्नेका हिक्मत बम नदीमा बगेर बेपत्ता भएका हुन्।

    जुविथा गाउँको सत्यदेवी माविमा ८ कक्षामा अध्ययनरत बम मंगलबार दिउँसो तिला नदिमा नुहाउन भनेर गएका थिए।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाका अनुसार उनकाे खाेजी कार्य तीव्र पारिएको छ। उनी गाल्जे बजार भन्दा तलको तिला नदी किनाराबाट बगेको आफन्तको भनाइ छ।

    गाल्जे बजारमा किशोरका आमा बुबाले होटल व्यवसाय गर्दै आएकी छन्।