Blog

  • ८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड: मुख्यमन्त्री कार्की

    ८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड: मुख्यमन्त्री कार्की

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताएका छन्।

    बुधवार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको बताएका हुन्।

    अहिले हिउँ नदीहरु क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको उनले बताए। उनले आरोहणलाई नियमन गर्न र आरोहणको मापदण्ड व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गरे।

    उनले भने, ‘जलवायु परिवर्तनको चपेटामा आज हाम्रो देश पनि अछुतो रहेन। हामीले वन क्षेत्रको संरक्षणमा उल्लेख्य उपलब्धि हाँसिल गरेका छौँ। यसले हाम्रो पर्यावरणलाई धेरै हदसम्म राहत दिएको छ। तर हामीसँग भएका हिमालहरुका सन्दर्भमा जे जति पहलकदमी लिनुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौँ। फलस्वरुप अहिले हिउँ नदीहरु क्रमशः सुक्ने अवस्थामा छन्। हिमाल काला हुँदै गएका छन्। यसको संरक्षणमा धेरै उपाय होलान्। प्राकृतिक रुपमा जस्तो अवस्थामा छ, त्यस्तै कायम राख्ने हो भने एउटै मात्र उपाय हो आराम दिने, पूर्ण रुपमा प्रयोगमा ल्याउने, आरोहण बन्द गर्ने भनेको पनि होइन, आरोहणलाई नियमन गर्न जरुरी छ।’

    यस्तै,उनले ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाइ ८ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्नेमा जोड दिए।

    मुख्यमन्त्री कार्कीले ८ हजार माथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा चढ्न पाउने व्यवस्था गरेको खण्डमा मात्रै नियमन र आरोहणलाई व्यवस्थित बनाउनुका साथै जनताको अर्थिक अवस्थामा सुधार गर्न सकिने उल्लेख गरे।

  • युवामैत्री बजेट ल्याउने तयारीमा लुम्बिनी प्रदेश सरकार

    युवामैत्री बजेट ल्याउने तयारीमा लुम्बिनी प्रदेश सरकार

    लुम्बिनी प्रदेश सरकारले आगामी नीति कार्यक्रम र बजेटलाई युवामैत्री बनाउने तयारी गर्न थालेको छ। सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले प्रदेश सरकारले आगामी नीति कार्यक्रम र बजेट युवामैत्री बनाउने छलफल भइरहेको जानकारी दिए।

    मङ्गलबार नेपालगञ्जमा प्रदेश युवा परिषद् लुम्बिनीले आयोजना गरेको कार्यक्रममा उनले त्यसका लागि आफू गृहजिल्लाका युवाहरूसँग नीति र छलफलदेखि योजना तर्जुमा प्रक्रियामा युवाहरूको सहभागिता खोजेको उल्लेख गरे।

    लुम्बिनी प्रदेशको आगामी नीति युवामैत्री हुने र युवाले उठान गरेका सवाललाई समेट्ने आश्वासन दिँदै मन्त्री खत्रीले युवालाई देशमै सम्भावना छ र केही गर्न सकिन्छ भन्ने आशा जगाएर मानसिक रूपमा युवालाई तयार गर्नुपर्ने बेला भएको बताए। त्यसका लागि लुम्बिनी प्रदेश सरकारले सम्भावनाको खोजी गरेर नीति तथा कार्यक्रम, सोअनुसारको बजेट ल्याउने कुरामा सरकार प्रतिबद्ध भएको उनले बताए।

    मन्त्री खत्रीले गाउँका दूरदराजमा बालबालिका र वृद्धवृद्धा मात्र रहने संस्कृतिको अन्त्य गर्न प्रदेश सरकार सचेत रहेको जानकारी दिए। आगामी नीति तथा कार्यक्रममा थोरै विद्यालय धेरै विद्यार्थीको नीति ल्याउने र थोरै विद्यार्थी भएका विद्यालयलाई गाभ्ने गरी कार्यक्रम ल्याइने उनले जानकारी दिए।

    लुम्बिनी प्रादेशिक विश्वविद्यालयका उपकुलपति डा।विनोद ढकालले सम्भावना बोकेको लुम्बिनी प्रदेशको विकासका लागि सरकार गम्भीर हुनुपर्ने बताए।

    उनले शिक्षामा विश्वविद्यालयबाट दीक्षित भएलगत्तै मुलुक बाहिर जाने सोचको विकास हुनु गलत भएको उल्लेख गरे।

    सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश युवा परिषद्ले प्रदेश सरकारको नीति तथा कार्यक्रममा आफ्नो सहभागिताका लागि नेपालगञ्जमा कार्यशाला गरेर सवालहरू उठान गर्न खोजेको बताइएको छ।

    कार्यशालामा प्रदेश युवा परिषद् लुम्बिनीका कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्री, सदस्य रिया क्षेत्री, जिल्ला युवा समिति बाँकेका अध्यक्ष खेमराज शर्मा, गैसस महासङ्घ बाँकेका कार्यवाहक अध्यक्ष निर्मला सुनारलगायतले प्रदेश सरकारसँग आगामी नीति तथा कार्यक्रममा युवामैत्री कार्यक्रम र बजेट ल्याउन आग्रह गरे। रासस

  • गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

    गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

    कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ। दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।

    वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन्। ‘गर्मीले पढ्नै सकिँदैन’, उनले भने, ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ। बेञ्चमा बस्नै गाह्रो हुन्छ। डेक्स र बेञ्च पनि तातेका हुन्छन्।’

    दिउँसोको समयमा पटकपटक विजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ। टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउँछन्। ‘गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ’, उनले भने, ‘पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ।’

    यस्तै कक्षा ५ मा अध्यननरत रजनी सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताइन्। ‘टिनले छाएका कोठामा पढ्न दिउँसो गाह्रो हुन्छ’, उनले भनिन्, ‘अधिकांश साथीहरु बीचमै पढाइ छाडेर घर हिँड्छन्, केही साथीहरु गर्मीमा विद्यालय नियमित आउँदैनन्।’

    विक्रम थारू खडक स्मृति माविमा कक्षा ९ मा पढ्नुहुन्छ। उनको कक्षामा ९० विद्यार्थी अध्ययनरत छन्। ‘एउटै कक्षामा यतिधेरै विद्यार्थी बस्छौँ, भीडभाड हुँदा त्यसै गर्मी हुन्छ’, उनले भने। शिक्षकलाई पनि पढाउन गाह्रो हुने गरेको थारु बताउँछन्। कक्षा ८ का विद्यार्थी अशुं चौधरीको कक्षामा एक सय १३ विद्यार्थी छन्। एउटै बेञ्चमा सात सात जनासम्म कोच्चिएर बस्नुपर्छ। उनी भन्छन्, ‘गर्मी सहन नसकेर केही साथीहरु नियमित विद्यालय आउँदैनन्।’

    कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन्। जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन। दिउँसो बालबालिकालाई गर्मीले सताउँछ। केही विद्यालयमा टिनका छाना छन्। अझ बिजुली गएका बेला बस्नै कठिन छ। प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन्।

    ‘यस्तो बेलामा बिहानी कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ’, अभिभावक रमेश चौधरीले भने। अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन्। टिकापुर बाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ।

    टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन्। ‘विद्यालयको अवस्थाअनुसार सञ्चालन गर्न सकिन्छ’, उनले भने। रासस

  • मल कारखाना खोल्ने र किसान सूचीकरणको योजना समेटिएन

    मल कारखाना खोल्ने र किसान सूचीकरणको योजना समेटिएन

    सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा ५७ अर्ब २९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमार्फत सरकारले पाँच रूपान्तरकारी क्षेत्रका रूपमा कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि चालु आवको तुलनामा बजेट भने कटौती गरिएको छ।

    चालु आवको तुलनामा सरकारले झन्डै डेढ अर्ब रूपैयाँ कृषि क्षेत्र बजेट घटाएर ल्याएको हो। चालु आवमा सरकारले कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड रूपैयाँ बजेट छुट्याएको थियो। आगामी आर्थिक वर्षदेखि सरकारले कृषिलाई लगानी दशकका रूपमा मनाउने महत्वाकांक्षी योजना अघि बढाएको छ।

    कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न सरकारले बजेटमार्फत २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकका रूपमा मनाउने घोषणा गरेको छ। लगानी अभिवृद्धि गर्ने भने पनि बजेट घटाइएको छ। बजेटले कृषिमा आगामी दश वर्षभित्र कति लगानी गर्ने कुरा यकिन गर्न सकेको छैन।

    सरकारले रासायनिक मल आपूर्तिका लागि दिने रकमसमेत घटाएको छ। आगामी आवमा सरकारले अनुदानित रासायनिक मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोजन गरेको हो। जुन रकम चालु आवमा विनियोजन गरिएको रकमभन्दा दुई अर्ब बढीले कम हो। चालु आर्थिक वर्षमा सरकारले रासायनिक मल अनुदानका लागि ३० अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो।

    कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणका लागि महत्वपूर्ण मानिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पनि सरकारले बजेट कटौती गरेको छ। आगामी आवमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा दुई अर्ब ९८ करोड विनियोजन गरेको छ। चालु आवमा सो परियोजनामा तीन अर्ब २२ करोड रूपैयाँ विनियोजन भएको थियो।

    बजेटमा सरकारले कृषि उपजको उचित मूल्य र बजार सुनिश्चित गर्न सरकार, किसान र व्यवसायी सहभागी हुने गरी करार खेती प्रवद्र्धनमा जोड दिएको छ तर बजेट भने यकिन गरिएको छैन।

    सरकारले कृषि उपज संकलन, प्रशोधन र निर्यात गर्ने फर्मले स्थानीय कृषकलाई आवश्यक पर्ने मल, बीउ तथा अन्य सामग्री प्रदान गरी कृषि उत्पादन खरिद गर्ने सुनिश्चित गरेमा उत्पादित उपजको परिमाणको आधारमा मल, बीउ, कृषि प्रसार सेवा र कर्जामा व्याज अनुदान दिने बजेटमा उल्लेख गरेको छ।

    त्यस्तै बाँझो जमिन स्थानीय तहमा अभिलेखीकरण गरी कृषिबाली, फलफूल, तरकारी, घाँसेबाली, जडीबुटी, पशु-पन्छीपालन र मत्स्यपालनमा उपयोग गर्न सक्ने व्यवस्था मिलाउने कुरा बजेटमा उल्लेख गरिएको छ। सामूहिक खेती प्रवर्द्धन गर्न सरकारी जमिन लिजमा उपलब्ध गराउने व्यवस्था गर्ने भनिएको छ तर बाँझो जमिनको उपयोग गरेर आन्तरिक उत्पादन गर्ने कुरा बजेटमा समेटिएको छैन।

    हिमाल र पहाडमा ५० रोपनी र तराईमा १० बिघाभन्दा बढी जमिन एकीकरण र चक्लाबन्दी गरी व्यावसायिक रूपमा सामूहिक खेती, पशुपन्छी पालन एवं जडीबुटी खेती गर्ने व्यक्ति, फार्म तथा सहकारीलाई व्याज अनुदान, प्राविधिक सहयोग र मेसिनरी आयातमा कर छुट दिने कुरा बजेटमा समावेश गरिएको छ।

    कृषिका अधिकांश खुद्रे योजनाहरू बजेटमा समेटिए पनि महत्वपूर्ण र ठोस कार्यक्रमहरू छुटेका छन्। बजेटमा मसिनो तथा वासनादार धान, उखु, मकै, दूध, माछा, मासु, कफी, चिया, अदुवा, बेसार, अकवरे खुर्सानी, प्याज, आलु लगायतका कृषि बालीको उत्पादन प्रवर्द्धन गर्न उन्नत बीउ, सिँचाइ लगायतमा अनुदान उपलब्ध गराइ उत्पादित उपजको बजार सुनिश्चित गर्ने कुरा समेटिएको छ।

    त्यस्तै चैते धान र हिँउदे मकै विस्तारका साथै रैथाने बालीको उत्पादन तथा उपभोग प्रवर्द्धनमा जोड दिने कुरा बजेटमा समावेश गरिएको छ। त्यस्तै पहाडी र उच्च पहाडी क्षेत्रका दुई हजार हेक्टर जग्गामा फलफूल खेती विस्तार गर्न एक अर्ब ४४ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।

    जसबाट आगामी आर्थिक वर्ष फलफूलको कम्तीमा सात लाख गुणस्तरीय विरुवा उत्पादन गर्ने लक्ष्य लिइएको छ। त्यस्तै संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा मध्य पहाडमा राष्ट्रिय फल सुन्तला, हिमाल र उच्च पहाडमा स्याउ तथा तराई-मधेसमा आँप र केराको उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्‍चालन गर्ने बजेटमा उल्लेख छ।

    नयाँ कार्यक्रमको रूपमा आगामी आवमा कृषिको व्यवसायीकरणका लागि राजमार्ग केन्द्रित तीन सय उत्पादक संस्थालाई सुरुवाती पुँजी उपलब्ध गराउन एक अर्ब १२ करोड रूपैयाँ बजेट छुट्याइएको छ। जुन रकम अनुदानका रूपमा नेता, कार्यकर्ता र बिचौलियाको हातमा जाने जोखिम उत्तिकै छ।

    त्यस्तै कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाउने महत्वाकांक्षी योजनासमेत बजेटमा ल्याइएको छ।

    प्रदेश, स्थानीय तह र निजी क्षेत्र समेतको सहकार्यमा सबै प्रदेशमा गाई-भैंसी पालन स्रोत केन्द्रको विकास गरी स्वदेशमै बढी उत्पादन क्षमता भएका दुधालु पशु उत्पादन गर्न ३८ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।

    पशुपन्छीको महामारी रोग नियन्त्रणका लागि आगामी वर्ष पाँच करोड डोज खोप उत्पादन गर्ने लक्ष्य बजेटमार्फत लिइएको छ। खोप उत्पादन तथा सेवाका लागि ४० करोड रूपैयाँ समेत विनियोजन भएको छ।

    उखु खेती गर्ने किसानलाई प्रोत्साहन गर्न बजेटमार्फत दुई अर्ब २५ करोड विनियोजन गरिएको छ भने किसानको बाली तथा पशुपन्छी बिमाको प्रिमियममा अनुदान प्रदान गर्न एक अर्ब ६५ करोड छुट्याइएको छ।

    कृषि अनुसन्धान तथा विकासलाई भने बजेटले प्राथमिका दिएको छ। कृषि अनुसन्धान तथा विकासका लागि आगामी आवमा सरकारले तीन अर्ब ५२ करोड विनियोजन गरेको छ।

    त्यस्तै सरकारले गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाउने कुरा बजेटमा समावेश गरेको छ। चालु आवमा गाँजाको व्यावसायिक उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्ने कुरा बजेटमा समावेश गरिएको थियो।

    बजेटले स्याउ, च्याउ र आलु आयातमा लगाएको कर हटाएको छ। सरकारको सो कदमले आन्तरिक उत्पादन बढ्नुभन्दा आयातलाई उल्टै प्रश्रय दिएको कृषि विज्ञहरू बताउँछन्।

    सरकारले कृषिमा लगानी दशक घोषणा गरे पनि बजेट भने घटाएको राष्ट्रिय कृषक समूह महासंघका संस्थापक तथा अभियन्ता उद्धव अधिकारी बताउँछन्। ‘कृषिमा लगानी दशक भनेर सरकारले आफ्नो नीतिलाई उल्लंघन गर्‍यो’, उनले भने।

    सरकारको सबै दस्तावेजले समेटेको किसान सूचीकरण मुद्दालाई बजेटले समेट्न नसकेको उनको भनाइ छ। त्यस्तै रैथाने बिउबिजनको प्रवर्द्धन गर्ने कुरा बजेटले छुटाएको उनको भनाइ छ।

    ‘रैथाने बीउ, ब्याड प्रवर्द्धन गर्न विशेष बजेट छुट्याउनु पथ्र्यो तर त्यसो गरेको देखिएन। रासायनिक मल कारखाना खोल्ने कुरा अघिल्ला वर्षहरूमा आउँथ्यो। अहिलेको बजेटले भने त्यसलाई समेट्न सकेन’, उनको भनाइ छ।

    प्रांगारिक तथा जैविक मल प्रवर्द्धन गर्ने र बाँझो जमिनको उपयोग र उत्पादन वृद्धिसँग जोड्ने कुरालाई बजेटले समेट्न नसकेको उनको भनाइ छ।

  • प्रदेश सरकार गठनविरुद्ध कार्कीले दिएको रिटमा आज पेशी

    प्रदेश सरकार गठनविरुद्ध कार्कीले दिएको रिटमा आज पेशी

    कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज तोकिएको छ।

    गत वैशाख २६ मा केदार कार्कीलाई स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन्।

    कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीसँग जवाफ माग गरेको थियो। ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश दिएको थियो।

    २७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पतमा परेका थिए।

    २५ वैशाख २०८१ सम्म उनले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेर २७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त गरेका थिए।

  • स्वदेशी उत्पादनलाई प्रोत्साहन

    स्वदेशी उत्पादनलाई प्रोत्साहन

    सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेट भाषणमा औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धन गर्न ६ अर्ब ५५ करोड रूपैयाँ बजेट विनियोजन गरेका छन्।

    संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा आव २०८१-८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि सो रकम विनियोजन गरेको घोषणा गरेका हुन्।

    यसैक्रममा अर्थमन्त्री पुनले स्वदेशी उत्पादन प्रोत्साहन गरिने बताए। मन्त्री पुनले ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियानलाई प्रोत्साहन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने बताए। साथै उत्पादनमूलक उद्योग र पर्यटन उद्योग स्थलसम्म पहुँच मार्ग, प्रसारण लाइन, नियमित विद्युत् सेवा र इन्टरनेट सेवा लगायतका पूर्वाधार पुर्‍याउन सरकारबाट साझेदारी गरिने जानकारी दिए।

    यस्तै अर्थमन्त्री पुनले आन्तरिक उत्पादन बढाइ आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आवद्ध गराउन उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्‍चालन गरिने बताए।

    साथैे संघ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, सहकारी तथा समुदायको साझेदारीमा सञ्‍चालन हुने यस कार्यक्रममार्फत कृषिको उत्पादन र उत्पादकत्व बढाउन, कृषिमा आधारित उद्योगको विकास र विस्तार गर्न, ग्रामीण पर्यटन प्रवद्र्धन गर्न तथा सूचना–प्रविधिमा आधारित उद्यम स्थापना र सञ्‍चालन गर्न प्रोत्साहन गरिने जानकारी अर्थमन्त्री पुनले दिए। यस कार्यक्रमका लागि उनले सात अर्ब रूपैयाँ विनियोजन गरेको उनले बताए।

    मन्त्री पुनले घरेलु मदिराको उत्पादन, ब्रान्डिङ, बजारीकरण तथा बिक्री गर्न कानुनी व्यवस्था मिलाइने बताएका छन्। यसैक्रममा जनस्तरसम्म सार्वजनिक सेवा प्रवाह गर्न महत्वपूर्ण जिम्मेवारीमा रहेका स्थानीय तहलाई उत्पादन तथा रोजगारी केन्द्रका रूपमा विकास गरिने उल्लेख गर्दै मन्त्री पुनले स्थानीय पूर्वाधार विकास, सार्वजनिक निजी साझेदारीमा बृहत्स्तरका कृषि फर्म सञ्चालन, एक गाउँ एक उत्पादन, पर्यटन लगायतका कार्यक्रमबाट स्थानीयस्तरमा आय आर्जन वृद्धि गर्ने कार्यलाई तीव्रता दिइने जनाएका छन्।

    निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने र सोही अनुसार कोसीलाई उद्योग, मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हव बनाइने आव २०८०-८१ को बजेटमा उल्लेख गरेका छन्।

    उनले आर्थिक वृद्धिको सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणाअनुरूप नमुना विकास अभियान सञ्‍चालन गर्न भरतपुर–बुटवल-पोखरा-(मुग्लिङ) भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको बताएका छन्।

    यस्तै गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणघाट-बुटवल र मुग्लिङ-पोखरा सडक खण्डको विस्तार कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिने घोषणा गरेका छन्। उनले बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने, त्रिभुजका तीन वटै कोरिडरमा ‍औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल निर्माण गरिने बताए।

    यस्तै त्रिभुज परियोजना अन्तर्गत नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिङ–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा-बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेटलगायत घरायसी प्रयोगका वस्तु तथा सेवा सम्वद्ध उद्योगको केन्द्रको रूपमा विकास गरिने जानकारी दिए।

    परियोजना कार्यान्वयनका लागि भरतपुरकोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टीकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद, पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्च शिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधि सम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने अर्थमन्त्री पुनले बताए। यस परियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाको रूपमा विकास गरी कार्यान्वयन गर्न उनले दुई अर्ब विनियोजन गरेका छन्।

    यस्तै निजगढदेखि ढल्केबरसम्मको पूर्व–पश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैंचा कोरिडोरको रूपमा विकास गरिने र सार्वजनिक निकायले नेपालमा बनेको गलैंचा खरिद गर्नुपर्ने व्यवस्था गरिने बताए।

    प्रदेश तथा स्थानीयतहको सहकार्यमा सल्यान–रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि कोरिडोर, जुम्लाको हिमा नदी र तीला नदी आसपासको क्षेत्रलाई मार्सी धान कोरिडोर, बाराको कोल्बीदेखि सिम्रौनगढ सडक आसपास क्षेत्रलाई माछा कोरिडोरका रूपमा विकास गरिने छ।

    कञ्‍चनपुरको दैजी, बाँकेको नौवस्ता र रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु गरिने बताउँदै सरकारले मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोर लगायतका औद्योगिक क्षेत्र सार्वजनिक–निजी साझेदारीमा निर्माण तथा सञ्‍चालन गरिने बताएका छन्।

    साथै सरकारले उद्यममा युवा सहभागिता बढाउन स्टार्ट अप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गरिने बताएका छन्। यसका लागि बोर्ड गठन गरिने र एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको घोषणा सरकारले गरेको छ।

    युवाको उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजिनेस इन्क्युवेसन सेन्टर सञ्‍चालन गरिने, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने सरकारले बताएको छ।

    यस्तै महिला उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धनका लागि सार्वजनिक– निजीसाझेदारीमा काठमाडौंको चोभारमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गरिने, उनीहरूद्वारा उत्पादित वस्तु र सेवाको ब्रान्डिङ गर्न ट्रेड पोर्टलमा प्रविष्टि गर्ने व्यवस्था मिलाइने र उत्पादित वस्तुबिक्री गर्न कोसेली घरको स्थापना र सञ्‍चालन गरिने जानकारी सरकारले दिएको छ।

    यस्तै सरकारले बजारको मागअनुसार उत्पादक क्षेत्रको संलग्नतामा कार्यस्थलमा आधारित अप्रेन्टिशीप कार्यक्रम सञ्‍चालन गरी सप र रोजगारीलाई आवद्ध गरिने बताएको छ।

    साथै उद्योग र लगानीसँग सम्बन्धित कानुनमा परिमार्जन गरिने जनाउँदै सरकारले औद्योगिक व्यवसाय ऐन, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमित गर्ने) ऐन, दामासाही ऐन, श्रम ऐन, औद्योगिक क्षेत्र सञ्‍चालन तथा व्यवस्थापन नियमावली र हेजिङ नियमावलीमा समयानुकूल परिमार्जन गरिने बताएको छ।

    साथै डेरिभेटिभ सम्बन्धी कानुन तर्जुमा गरिने, वन ऐन र जग्‍गा प्राप्‍ति ऐनलाई समयानुकूल बनाइ लगानी सहजीकरण गरिने, कम्पनी ऐनमा संशोधन गरी दर्ता, नियमन र खारेजी प्रक्रिया लगायतका कार्यलाई सरलीकृत गरिने र बौद्धिक सम्पत्ति र उधारो कारोबारसम्बन्धी कानुन तर्जुमा गरिने बताएको छ।

  • सर्वोच्चको परमादेश पछि गण्डकीको मुख्यमन्त्रीमा आज पाण्डे नियुक्त हुँदै

    सर्वोच्चको परमादेश पछि गण्डकीको मुख्यमन्त्रीमा आज पाण्डे नियुक्त हुँदै

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुन लागेका छन्।

    सर्वोच्च अदालतको परमादेश अनुसार पाण्डे संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेताको हैसियतले आज मुख्यमन्त्री नियुक्त हुन लागेका हुन्।

    उनलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले गत सोमवार परमादेश जारी गरेको थियो। सर्वोच्चले दिएको समय अनुसार मुख्यमन्त्री नियुक्त गर्ने आज अन्तिम दिन हो।

    गण्डकी मुख्यमन्त्री खगराज अधिकारीले संविधानसम्मत विश्वासको मत नपाएको ठहर गर्दै सोमवार सर्वोच्चले उनको विश्वासको मत बदर गरिदिएको थियो।

    एमाले नेता खगराज अधिकारी संविधानको धारा १६८ उपधाार २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर मुख्यमन्त्री नियुक्त भएका थिए।

    उनलाई मुख्यमन्त्री नियुक्त गर्न एमालेका २२ जना, सभामुख कृष्णप्रसाद धितालसहित माओवादीका ८ जना र राजीव गुरूङ ‘दीपक मनाङे’ ले समर्थन गरेका थिए।

    अधिकारीले गत वैशाख २३ गते विश्वासको मत लिँदा ३० जना सांसदले मात्र समर्थन गरेका थिए। अधिकारीले पाएको ३० जना सांसदको समर्थनलाई सभामुख धितालले बहुमतले विश्वासको मत सम्बन्धी प्रस्ताव पारित भएको घोषणा गरेका थिए।

    कांग्रेस नेता पाण्डेले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    केन्द्रमा सत्ता परिवर्तन भएसँगै गण्डकीमा पनि त्यसको प्रभाव देखिएको थियो। जसको परिणामस्वरुप पाण्डेले मुख्यमन्त्री पद छोड्नु पर्यो।

  • अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा

    अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा

    दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

    नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको हो।

    इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए।

    दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो। गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

    विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन्। यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो। समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन्।रासस

  • फूलबारी क्रिकेट क्लबसँग एलिट पराजित

    फूलबारी क्रिकेट क्लबसँग एलिट पराजित

    प्रथम कोसी प्रदेश दिवारात्रिकालीन टी- १० क्रिकेट प्रतियोगितामा विराटनगरको फूलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ।

    विराटनगर- ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले हराउँदै फूलबारी विजयी भएको हो। जितसँगै फूलबारीले २ अंक जोडेको छ। एलिटले दिएको ९९ रनको लक्ष्य फूलबारीले ५.५ ओभरमा बिनाक्षति पूरा गर्‍यो।

    फूलबारीका ओपनर आलोक मञ्जयले अविजित १५ बलमा ४८ रन बनाए। उनले ७ छक्का र १ चौका प्रहार गरे। उनी खेलको प्लेर अफ द म्याच घोषित भए। खण्डक बोहराले २० बलमा ४८ रनको योगदान दिए। उनले ४ छक्का र ५ चौका हिर्काए।

    त्यसअघि पहिलो ब्याटिङ थालेको एलिटले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको थियो। अंकित गोस्वामीले १६ बलमा ३६ रन बनाए।

    सुशान्त मिश्रले १४ बलमा २४ रनको पारी खेल्दा अभिषेक पलले १३ बलमा २० रन जोडे। फूलबारीका बलर भुवन कार्की, दीपक राज र एमडी कैफले समान १-१ विकेट लिए।