Blog

  • तनहुँमा अब ‘साइरन’ ले दिन्छ बाढीको पूर्व सूचना

    तनहुँमा अब ‘साइरन’ ले दिन्छ बाढीको पूर्व सूचना

    तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले बाढीको पूर्व सूचना दिन साइरन जडान गरेको छ।

    ऋषिङ गाउँपालिका–१ मा निर्माण भइरहेको जलविद्युत् आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १५ स्थानमा साइरन जडान गरेको हो।

    आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थल भन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारबाट घुमाउने क्षेत्रका समुदायलाई पूर्व सूचना दिन साइरन जडान गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

    उनले भने, ‘सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडानका लागि ठाउँ छनोट गरिएको थियो।’

    आयोजनाले केही दिनअघि मात्रै व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको छतमा साइरन जडान गरेको थियो। आयोजनाको विशेष अनुरोधमा क्याम्पसको छतमा साइरन जडान गर्न ठाउँ उपलब्ध गराइएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए।

    साइरन जडान पश्चात् व्यास–१, ३ र १३ को सेती नदी वरपरका बासिन्दालाई साइरन बज्दाको समय नदीभित्र वा नदी किनारबाट टाढा बस्न र किनार नजिक नजानका सचेत बनाउने उनले बताए। हड्खलेले भने, ‘समुदाय, आयोजना र क्याम्पसबीचको सहकार्यबाट साइरन जडान गरिएको हो। यो समुदायमा एउटा उदाहरणीय काम पनि हो।’

    बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात् आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका साइरन जडान गरिएको आयोजना कार्यालयले जनाएको छ।

    नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्नेलगायत काम गरिरहेका सर्वसाधारणलाई साइरनले पूर्वसूचित गर्ने आयोजनाका प्रमुख भण्डारीले बताए।

    तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीन वटा ठेक्का लगाएर अगाडि बढाइएको छ। चरण–१ अन्तर्गतको बाँध निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ। यसको ३२.५ प्रतिशत प्रगति भएको हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए।

    चरण–२ अन्तर्गतको विद्युत् गृह निर्माण सिनो हाइड्रोले गरिरहेको छ। यसको प्रगति ५५ प्रतिशत पुगेको छ। साथै चरण–३ अन्तरगतको प्रसारण लाइन निर्माण केइसी इन्टरनेशनल लिमिटेडले भारतले गरिरहेकामा यसको ७३.५ प्रतिशत प्रगति भएको जनाइएको छ।

    कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने जनाइएको छ।

    यसका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

  • तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

    तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

    मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    आज महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो।

    महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ।

    तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माङ्सपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको हो।

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का तथा सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ।

  • तराईको हपहपी गर्मी भुलाइदिने जलबिरे झरना

    तराईको हपहपी गर्मी भुलाइदिने जलबिरे झरना

    चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।

    प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्।

    यतिबेला तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेको छ। चितवनको तापक्रम पनि शनिबार ३९ डिग्रीसम्म पुग्यो। गर्मीले आत्तिएका तराईका मानिसलाई केही समय भए पनि गर्मी छल्ने माध्यम बनेको छ चितवनको जलबिरे झरना। युवायुवती झरनामा रमाउन, तस्बिर तथा भिडियो लिँदै मनोरञ्जन लिन यहाँ पुग्ने गरेका स्थानीय बताउँछन्।

    भीर, पहरा र छहराको संयोग, प्राकृतिक रुपले भरिपूर्ण जलबिरे झरना यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। पर्यटकहरु यहाँ झरना हेर्न, झरनामा पौडी खेल्न तथा गर्मी छल्न यहाँ आउने गरेका उनको भनाइ छ।

    ‘प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरणले तराईको हपहपी गर्मी भुलाइदिने गरेको छ’, अध्यक्ष गुरुङले भने, ‘गर्मीले उकुसमुकुस भएका पर्यटक यहाँ आउँदा सबै बिर्सिन्छन्।’

    गाउँपालिकाले यस वर्ष जलबिरे झरनामा सेल्फी जोन निर्माण, रङ्गरोगन, सिँढी मर्मतलगायत पूर्वाधार निर्माण गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिए।

    ‘झरनाको प्राकृतिक संरचना नबिग्रने गरी काम गरिएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दैछ’, उनले भने।

    अध्यक्ष गुरुङका अनुसार झरनामा आउने पर्यटकबाट लिने शुल्कबाट गाउँपालिकाले चालु आवको हालसम्म १७ लाख आम्दानी गरिसकेको छ। यहाँ प्रवेश शुल्क ५० लिने गरिएको छ। उनले झरनामा प्रदेश र सङ्घ सरकारको सहकार्यमा केही भौतिक संरचना निर्माण गरिएको जानकारी दिए।

    नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलबिरेको १०२ मिटरभन्दा लामो यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्दछ। सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुग्न सकिन्छ।

    झरनामा आएका काठमाडौँका सुरज ढुङ्गानाले झरनाको दृश्य र वातावरणले आफू साथीहरूसँग दोस्रो पटक पनि घुम्न आएको बताए। ‘पहिला आउँदा कम पर्यटक थिए। अहिले निकै धेरै घुम्न आउने गर्नुहुँदो रहेछ’, उनले भने, ‘झरना र वरपरको संरचनालाई केही व्यवस्थित बनाइएको रहेछ। यसले पर्यटकलाई थप सहज बनाएको छ।’ ढुङ्गानाले यहाँ आएर झरनामा नुहाउन पाउँदा निकै आनन्द लाग्ने गरेको अनुभूति सुनाए।

    झरनाको सुन्दरता र विशेषता सामाजिक सञ्जालमा देखेर घुम्न आएको भरतपुरकी गरिमा थापाले बताए। छ जनाको समूहमा पहिलो पटक यहाँ आएको भन्दै उनले यहाँ आइपुग्दा भरतपुरको गर्मी भुलेको बताए।

    जलबिरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङका अनुसार यहाँ बढी चितवन, नवलपुर, तनहुँ, मकवानपुर, पर्सा, पोखरा, काठमाडौंलगायत सहरबाट पर्यटक आउने गरेका छन्। प्रायः शनिबार तथा सार्वजनिक बिदाको दिन धेरै पर्यटन यहाँ आउने उनले बताए।

    शनिबार मात्रै पाँच सयभन्दा बढी पर्यटक यहाँ आउने गरेका गुरुङले जानकारी दिए। ‘जलबिरे झरनामा असोजसम्म पर्यटकको उत्तिकै सङ्ख्या रहन्छ’, उनले भने, ‘वडा, गाउँपालिका र समितिमार्फत सरसफाइ व्यवस्थापन र रेखदेखको काम भइरहेको छ।’

    विसं २०६९ देखि जलबिरे झरनामा पर्यटन विकास सुरु भएको गुरुङले बताए।

  • ‘सवारीचालकज्यूहरु, कृपया तगारो लगाउनुहोला, नत्र ५ सय जरिवाना तिर्नुपर्नेछ’

    ‘सवारीचालकज्यूहरु, कृपया तगारो लगाउनुहोला, नत्र ५ सय जरिवाना तिर्नुपर्नेछ’

    एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ। खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ। गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेर्स्याइएका दुई वटा फलामे तगारा पार गर्नुपर्छ। यो कास्कीको चिप्ली गाउँको अवस्था हो।

    तगाराको माथिपट्टि सानो सूचना पाटी राखिएको छ। सूचनामा लेखिएको छ, ‘सवारीचालकज्यूहरु, कृपया तगारो लगाउनुहोला। यदि तगारो नलगाएमा जरिवाना पाँच सय तिर्नुपर्नेछ। तपाईंलाई हेरालाले लुकेर हेरिरहनुभएको छ, धन्यवाद।’

    सोही सूचना हेरेर सवारीचालकले पहिले आफ्नो सवारीसाधन रोक्छन्, तगारो खोल्छन्, सवारीसाधन छिराउँछन् र तगारो लगाएर गन्तव्यतिर लाग्छन्। मादी गाउँपालिका–६ स्थित चिप्ली हुँदै मादी–१ को पर्यटकीय गाउँ सिक्लेस जोड्ने सडकमा गाउँलेहरुले तगारो लगाउने गरेका हुन्।

    बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए। ‘चिप्ली, सिक्लेसलगायत यहाँका अरु गाउँमा पनि तगारो लगाउने चलन छ’, उनले भने, ‘चरनमा छाडिएका गाईबस्तु गाउँ छिर्नबाट रोक्न तगारो लगाइन्छ।’

    सवारीसाधनको आवतजावतमा तगारोले समस्या उत्पन्न गरेकाले अर्को विकल्प खोज्नुपर्ने वडाध्यक्ष गुरुङले बताए। एउटै गाउँमा दुई पटकसम्म सवारीसाधन रोक्दै तगारो हटाएर यात्रा गर्नुपर्दा झन्झट हुने गरेको सवारी चालक बताउँछन्।

    ‘पर्यटकीय क्षेत्र पनि भएकाले सडकमा बाधा उत्पन्न हुँदा सकारात्मक सन्देश जाँदैन’, उनले भने, ‘तगारो लगाउनु स्थानीयवासीको बाध्यता भएपनि अब छुट्टै विकल्प खोज्नुपर्छ।’

    चिप्लीको सिद्ध युवा क्लबका अध्यक्ष नारायण गुरुङले आफैँले पनि गाउँ आवतजावत गर्दा सास्ती खेप्नुपरेको बताए। ‘प्रवेशद्वार वा अन्य कुनै सजिलो विकल्प खोज्नुपर्छ, हामीले गाउँमा पनि यस विषयमा छलफल गरिरहेका छौँ’, उनले भने, ‘यसको समाधानका लागि वडा कार्यालयले केही पहल गरोस् भन्ने हाम्रो माग छ।’

    पोखरा–सिक्लेस सडक स्तरोन्नतिसँगै सवारीसाधनको आवतजावत बढ्दै गएकाले तगारोले चालक र यात्रुलाई समस्या थपेको क्लबका अध्यक्ष गुरुङले बताए।

    ‘एकातिर समय खेर जाने, अर्कोतिर सवारी चालकलाई दुःख र झन्झट भइरहेको छ’, उनले भने, ‘परम्परागतरुपमा गाउँमा तगारो लगाउने चलन सडक आएपछि उपयुक्त देखिएको छैन, यसले दुर्घटनाको जोखिम पनि बढाएको छ।’ तगारो लगाउनु सडकको नियम विपरीतसमेत भएको उनको भनाइ छ।

    गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत काहुँखोला–सिक्लेस–दूधपोखरी सडकअन्तर्गत उक्त खण्ड पर्दछ। मादी–१ को कोरी र कपुचे तालको पदयात्रामा जाने पर्यटक पनि सोही सडक ओहोरदोहोर गर्छन्। विजयपुरखोलाबाट थाकसम्म १० किमी सडक कालोपत्र भएपछि सिक्लेस, चिप्लीलगायत मादीका पर्यटकीय गाउँको यात्रा थप सहज बनेको छ।

    थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्रका लागि ग्रेड र सब–बेस मिलाउने काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ।

    वडाध्यक्ष गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताए।

    ‘अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सक्छन्। कालोपत्र सडक सिक्लेससम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ’, उनले भने, ‘बाँकी सडक कालोपत्रका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ।’ पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ।

    प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्‍याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो।

    वडाध्यक्ष गुरुङले सडकले सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए। ‘सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्राउन सकिन्छ’, उनले भने।

  • दुई चारजना उटपट्याङ मान्छे सडकमा आउँदैमा गणतन्त्र खतरामा पर्दैन: सचिव पौडेल

    दुई चारजना उटपट्याङ मान्छे सडकमा आउँदैमा गणतन्त्र खतरामा पर्दैन: सचिव पौडेल

    नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले संघीय गणतन्त्र खतरामा नरहेको बताएका छन्।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्र खतरामा नभई आलोचनामा रहेको बताए। ७० वर्षसम्म नेपाली जनताले लडेर ल्याएको गणतन्त्र दुई चार जना उत्पट्याङ मान्छेहरू सडकमा आउँदैमा खतरामा नपर्ने उनकाे भनाइ थियाे।

    ‘यो संघीय गणतन्त्र खतरामा होइन। आलोचनामा छ। खतरामा आउँदैन। मलाई के विश्वास छ भने यति सजिलै ७० वर्षसम्म नेपाली जनताका छोराछोरीको लडाइँ लडेर ल्याएको यो प्रणाली, यो गणतन्त्र दुई चार जना उत्पट्याङ मान्छेहरू सडकमा आउँदैमा, दुई चार जना आलोचना गर्नेहरू हुँदैमा खतरामा पर्दैन। यो व्यवस्थालाई नै बेठिक छ भनेर अस्थिरता सिर्जना गर्न चाहन्छन्। व्यवस्थालाई अस्थिर बनाउन चाहनेहरुले यो व्यवस्था ल्याउनेहरु एक ठाउँमा उभिन्छन्। व्यवस्थाको बचाउका लागि अघि बढ्छन्। व्यवस्था खतरामा होइन, व्यवस्थामा आलोचना गरेर अघि बढाउने कुरामा हामी जानुपर्छ।’

    सचिव पौडेलले नेपालमा केही कुरा हुनै सक्दैन र सम्भावना नै छैन भन्ने कुरा आंशिक रुपमा सत्य भएपनि पूर्णरुपमा सत्य नभएको जिकिर गरे।

  • सरकार पेलेरै जान्छ भने कांग्रेस सहेर चाहिँ बस्दैन: सिटौला

    सरकार पेलेरै जान्छ भने कांग्रेस सहेर चाहिँ बस्दैन: सिटौला

    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेसले चुनौती सामना गर्न तयार रहेको बताएका छन्।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने उनको भनाइ थियो।

    उनले जनताका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गरे। प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्मा निरन्तर उठाउनुपर्ने बताए।

    उनले भने ‘प्रतिपक्षले जनताको आवाज, जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसद्मा निरन्तर उठाउनुपर्छ। प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो। सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो। प्रतिपक्षमा नेपाली कांग्रेस बाहेकका केही दलहरु पनि छन्। प्रतिपक्षले संसद्मा जनताका आवाज उठाइरहेको छ। आवाज बुलन्द गरेको छ। सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ।’

    उनले कांग्रेससहितका प्रतिपक्ष दलहरुले संसद्मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताए।

    सरकार पेलेर जाने हो भने कांग्रेस सहेर नबस्ने चेतावनी दिए। उनले कांग्रेसले आफू मात्रै अन्याय भएको महसुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको बताए।

    ‘सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतीलाई सामना गर्नेछौँ। हामीले भनेका पनि छौँ। सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने कांग्रेस तयार छ। कांग्रेस सहेर त बस्न सक्दैन। कांग्रेसले आफू मात्रै अन्याय भएको महसुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको छ।’ उनले भने।

    नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताए।

  • नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने

    नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने

    नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने भएको छ। नेपाल भलिबल संघले आइतबार केडिया ग्रुपसँग सम्झौता गर्दै सो बारे जानकारी दिएको हो ।

    संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र केडिया ग्रुपका प्रवन्ध निर्देशक विमलकुमार केडियाले हस्ताक्षर गरेको ७ वर्षे सम्झौता पत्रमा लिग सम्पन्न गर्न लाग्ने सम्पुर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्ने उल्लेख छ । यो बाहेक केडिया ग्रुपले भलिबल संघलाई हरेक वर्ष ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ।

    पहिलो संस्करण आगामी माघ अथवा फागुनमा गर्ने लक्ष्य रहेको सुनाउँदै संघका अध्यक्ष चन्दले लिगको पहिलो संस्करण काठमाण्डौमा हुने जानकारी दिए । अन्य संरकरणहरु होम एण्ड अवेका आधारमा अन्य सहरहरुमा समेत खेलाइने लक्ष्य संघको छ ।

    केडिया ग्रुपका प्रबन्ध निर्देशक केडियाले आगामी आर्थिक वर्षमा भलिबलका लागि कभर्डहल बनाउन सबै मिलेर पहल गर्नुपर्ने बताए।

  • कारोबार हुने साताको पहिलो दिन नै नेप्सेमा दोहोरो अंकको गिरावट

    कारोबार हुने साताको पहिलो दिन नै नेप्सेमा दोहोरो अंकको गिरावट

    कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा बन्द भएको छ।

    आज कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रूपैयाँको कारोबार भएकोमा आइतबार ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रूपैयाँको सेयर कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २४ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३१५ वटा धितोपत्रको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर किनबेच भएको हो। आइतबार २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    यसदिन कालिञ्चोक दर्शनको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २७ रूपैयाँ ४० पैसा कायम भएको छ।

    यस्तै, सिटी होटलको सेयरमूल्य ८.२४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६७० रूपैयाँ पुगेको छ।

    इन्फिनिटी लघुवित्तको मूल्य सर्वाधिक ६.३६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३८५ रूपैयाँ कायम भएको छ।

    यस्तै, विन नेपाल लघुवित्तको मूल्य ६.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४४६ रूपैयाँमा झरेको छ। आइतबार आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

    कम्पनीको प्रतिकित्ता ५६० रूपैयाँमा १५ करोड ६६ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.४१ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३४ रूपैयाँमा १५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।

  • रविलक्षित रामकुमारीको टिप्पणी: ‘सहकारीकाे रकम अपचलन गरेर अवस्था बदलिँदैन’

    रविलक्षित रामकुमारीको टिप्पणी: ‘सहकारीकाे रकम अपचलन गरेर अवस्था बदलिँदैन’

    नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताएकी छिन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन्।

    उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इङ्गित गर्दै अर्बौँ सहकारीमा जम्मा गरेका मानिसहरूको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने जिकिर गरिन्। मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने उनको भनाइ थियो।

    ‘ठगेर खाएर पुँजी हुँदैन। अर्बौँ सहकारीमा जम्मा गरेका मानिसहरूको पुँजीलाई अपचलन गरेर अवस्था बदलिँदैन, झनै खराब हुन्छ। मिडियामा आएर उफ्रिएर अवस्था बदलिँदैन।’ उनले भनिन्।

    शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताउँदै उनले व्यक्ति राज्यसँग लड्न नसक्ने हुँदा कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको दाबी गरिन्।

    उनले भनिन् ‘मिडियाले निरन्तर समाचार लेखे बापत गरिएको साँच्चै अपराधी, दोषीलाई कारबाही गर्न लिएको स्टेप हो की यो बदला हो ? सहज अनुमान छैन ?’

    उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगति गर्दै छानबिन गर्न दिएर आफूलाई निर्दोष प्रमाणित गर्ने अवसर अझै बाँकी रहेको सुनाइन्।

  • संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको आग्रह

    संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको आग्रह

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेको छ ।

    पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्‍मा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाएको हो।

    ध्यानाकर्षण पत्रमा संसद्को गतिरोध अन्त्यका लागि छलफल र सार्थक संवादको माध्यमबाट प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने, नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्नुपर्नेलगायत विषय उल्लेख छन्।

    ‘संसद् जनताका सबैप्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो। त्यसैले संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्रीले सार्थक संवाद तथा छलफलसहित विपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास हाम्रो पार्टीको विश्वास छ’, पत्रमा भनिएको छ।

    प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित अन्य प्रतिपक्षी दलसँग तत्काल सार्थक छलफल र वार्ताद्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउन आफूले पहल गरिरहेको र चाँडै संसद्का नियमित कामकारबाही अगाडि बढ्ने बताएको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले बताए।

    पार्टी अध्यक्ष नेपालले पनि संसद्को गतिरोध अन्त्य गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहलकदमीको अपेक्षा गर्दै पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सम्पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पार्टी उपाध्यक्ष हमालले जानकारी दिए।