Blog

  • सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब

    सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब

    सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ।

    आज सार्वजनिक भएको महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ।

    प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ।

    त्यस्तै, अतिरिक्त लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम पाँच खर्ब १३ अर्ब ४० करोड ४३ लाख रहेको छ। यसरी अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख पुगेको हो।

    अद्यावधिक बेरुजुतर्फ सङ्घीय सरकारी कार्यालयको तीन खर्ब ४२ अर्ब ६६ करोड ९१ लाख, प्रदेश सरकारी कार्यालयको २८ अर्ब ४६ करोड ८४ लाख र स्थानीय तहको बेरुजु एक खर्ब ९३ अर्ब ४५ करोड ८३ लाख बराबर छ। अन्य संस्था तथा समितिहरूको अद्यावधिक बेरुजु रु एक खर्ब पाँच अर्ब २६ करोड ८१ लाख बराबर छ।

    कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकमतर्फ लेखा परीक्षण बक्यौता नौ अर्ब ८७ करोड ५५ लाख, राजस्व बक्यौता चार खर्ब ३५ अर्ब ४२ करोड ८२ लाख, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान १६ अर्ब नौ करोड ४५ लाख, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण पाँच अर्ब ५९ करोड ३४ लाख र जमानत बसी दिएको ऋणको भाखा नाँघेको साँवा ब्याज ४६ अर्ब ४१ करोड २७ लाख बराबर छ।

    यो वर्ष सङ्घीय मन्त्रालय तथा निकाय मातहतका तीन हजार दुई सय ७७ कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोड, प्रदेश मन्त्रालय तथा निकाय मातहतका एक हजार दुई सय ७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोड र सात सय ४६ वटा तहको ११ खर्ब ३९ अर्ब १९ करोड बराबरको लेखा परीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

    त्यस्तै, दुई सय १७ वटा समिति र अन्य संस्थाको दुई खर्ब ९६ अर्ब ८५ करोड तथा ९३ वटा सङ्गठित संस्थाको ३६ खर्ब ६१ अर्ब ११ करोड बराबरको लेखा परीक्षण भएको छ।

    यसरी आर्थिक वर्ष २०७९/८० मा भएको कुल लेखा परीक्षण रकम ७८ खर्ब ८१ अर्ब ६० करोड बराबर हो।

  • २०८४ सम्ममा हरिनगरमा आमूल परिवर्तन हुनेछ: अध्यक्ष अन्सारी (अन्तर्वार्ता)

    २०८४ सम्ममा हरिनगरमा आमूल परिवर्तन हुनेछ: अध्यक्ष अन्सारी (अन्तर्वार्ता)

    सुनसरीको हरिनगर गाउँपालिका पिछडिएको क्षेत्रमा पर्छ। यो गाउँपालिकामा २०७४ सालमा गफार अन्सारी निर्वाचित भएर पाँच वर्षे कार्यकाल सकेसँगै २०७९ पनि फेरि उनै अध्यक्ष निर्वाचित भएका छन्। उनले नेतृत्व सम्हालेपछि गरेका महत्त्वपूर्ण काम बारे नागरिक दैनिकका संवाददाता अमर खड्काले गरेको कुराकानी:

    तपाईँ २०७४ सालमा निर्वाचित भएर गाउँपालिकाको पहिलोपल्ट नेतृत्व गर्नुभयो र दोस्रो पटक फेरी तपाईँले नेतृत्व गरेर दुई वर्ष बिताइ सक्नुभएको छ। पहिलो कार्यकाल र अहिलेको दोस्रो कार्यकालमा के के महत्त्वपूर्ण कामहरू गर्नुभयो?

    सबै भन्दा पहिला यो दक्षिण क्षेत्र एकदमै बिग्रिएको क्षेत्र थियो। यो क्षेत्रबाट २०१५ सालमा वीपी कोइरालाले चुनाव लड्नुभएको थियो र ३० वर्ष पञ्चायतकालमा यही क्षेत्रबाट विभिन्न व्यक्तिहरू चुनाव जितेर जानुभयो। जस्तो दिलबहादुर श्रेष्ठ, श्याम प्रसाद गुप्तालगायतले पञ्चायत कालमा यही क्षेत्रबाट चुनाव जितेर जानुभएको थियो। २०४६ पछि २०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट चुनाव लड्नुभयो र जित्नु पनि भयो। २०६२(६३ को जनआन्दोलन अनि मधेस आन्दोलन भयो। मधेस आन्दोलनबाट मधेसका नेता उपेन्द्र यादव यही क्षेत्रबाट दुई पटक चुनाव जित्नुभयो। बिचमा एक पटक एमालेको जगदिस कुसियत पनि यही क्षेत्रबाट चुनाव जित्नुभएको थियो। यही क्षेत्रबाट डाक्टर खलिल सहाब पनि चुनाव जित्नुभयो । तर यो क्षेत्र भनेको पूर्व पश्चिम राजमार्ग देखि दक्षिणमा पर्छ।

    हरिनगर गाउँपालिका ८ किलोमिटर भारतीय सीमा क्षेत्रसँग जोडिएको छ। यहाँको जनतालाई सबै भन्दा कठिनाइ बाटोको थियो। कुनै पनि बाटोमा पिचको नामै थिएन। २०७४ सालमा जब संविधान सभाको चुनाव भएपछि संघीयता भयो। अनि पहिलो सङ्घीयताको पहिलो गाउँपालिकाको अध्यक्षमा म निर्वाचित भए। त्यसपछि मैले सबै भन्दा पहिला बाटो बनाउने सोच बनाए। मैले एकै पटक सात वटा बाटोको डिपिआर गरे। जुन ३२ किलोमिटर पर्छ। त्यो ३२ किलोमिटर पिच गर्नुपर्छ भन्ने किसिमको एउटा अवधारणा मैले ल्याए। सबै वडालाई जोड्ने बाटो निर्माणका लागि टेन्डर प्रक्रियाबाट अगाडि बढाए। ३२ किलोमिटर मैले २०७४ सालबाट सुरु गर्दा खेरी २०७९ सम्ममा पूरा गरे। त्यो बाटो पुरा भई सकेपछि त्यसमा पुलहरूको आवश्यकता प¥यो र त्यसमा नववटा पुल स्थापना गरिएको छ।

    सुरुवातमा यहाँको मान्छेहरुले एउटा वडाबाट अर्को हेल्थ पोस्ट जानको लागि बाटो थिएन्। विद्यार्थीलाई विद्यालय जान निकै समय लाग्थ्यो। किसानहरूलाई उत्पादित सामान विक्री गर्नका लागि बाटैका कारण सहज हुन पुग्यो। हरिनगर गाउँपालिकाको सबै वडामा वडा कार्यालयहरू पनि थिएन्। सात वटा वडा कार्यालयमध्ये पाँच वटा नयाँ निर्माण गरी सकिएको छ। त्यस्तै स्वास्थ्य चौकी एउटा नयाँ भवन बनाए। स्कुलहरूमा भवनहरु बनाए। हरिनगर गाउँपालिकामा २०७४ साल भन्दाअघि र पछि पुरै फेरिएको छ।

    दोस्रो पटक २०७९ मा निर्वाचित भएपछि चाहिँ के के काम गर्नुभयो?

    अब दोस्रो कार्यकाल २०७९ मा निर्वाचित भएपछि हामीले हामीसँग प्रशासनिक भवन थिएन्। हामीले प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ। २ वटा स्कुल, २ वटा वडा कार्यालय र प्रशासनिक भवनका लागि १ बिघा ३ कट्ठा जग्गा चन्दा दाताबाट प्राप्त गरी सकिएको छ। जस मध्ये गाउँपालिकाको मात्रै ९ कट्ठा जग्गा मैले प्रशासनिक भवनको लागि प्राप्त गरेर त्यो प्रक्रिया अगाडि बढाए। प्रशासनिक भवनको पहिलो तल्ला ढलान भइसकेको छ। शिक्षामा अहिले नयाँ विद्यालयका भवनहरु थप्नेछौँ। स्वास्थ्यको लागि २४ औँ घण्टा सेवा दिन हामीले व्यवस्थापन गरेका छौँ। दुई जना एमबिबिएस डाक्टरहरू राखेर बिरामीलाई सेवा दिई राखेका छौँ। विद्यालयमा विद्यार्थीको चापले गर्दा शिक्षकहरूको कमी थियो।

    शिक्षकहरूलाई गाउँपालिकाको बजेटबाट व्यवस्थापन गरेका छौँ। केही बाटोहरू पनि अहिले नयाँ रुपमा १५ किलोमिटर नाला सहित बन्ने क्रममा छ। यो वर्ष र आगामी वर्ष थप कालोपत्रे सडक बन्नेछ। संघीय सरकारले पैसाको पनि अहिले अभाव छ। देशको सङ्कट अवस्था छ। बजेट अहिले थोरै आइरहेको छ। पहिलाको तुलनामा बजेट कम भएको छ। त्यस कारण अब अहिले हामीले अबको किसानहरूका लागि मेसिन औजारहरू व्यवस्थापन गरेका छौँ। अनुदान उपलब्ध गराइ रहेका छौँ। किसानहरूका लागि बिउँ विजनहरू अनुदान दिएका छौँ। यो वर्ष देखि अब छात्रवृत्ति हामीले व्यवस्थापन गरेका छौँ। त्यसैगरी शिक्षामा पनि नयाँ किसिमको एउटा टे«निङ्ग दिने भन्ने सोच भएको छ।

    त्यस्तै स्वास्थ्यमा हामीले प्रत्येक वडामा अब हामीले स्वास्थ्य शिविर कायम गरेर जनताको हरेक बिरामीहरू घरघरमा गएर हाम्रो डाक्टरहरूले चेक गर्ने योजना छ। हामीले प्रशासनिक भवन पनि यो वर्ष तयारी गर्ने पोजिसनमा छौँ।

    यो दक्षिण क्षेत्र कृषिमा आधारित क्षेत्र भएको कारणले गर्दा खेरी कृषिमा केही काम भएको त बताउनु पनि भयो । अरु थप के के गर्ने योजना छ?

    यहाँका किसानहरूका लागि हामीले कोल्ड स्टोर व्यवस्थापन गर्नेछौँ। बजेटको कारणले गर्दा खेरी अलिकति अभाव भएको छ। २०८१ मा नै कोल्ड स्टोर सुरुवात गछौँ। यहाँ किसानहरूले जुन तरकारी उत्पादन गर्छन् , बाली उत्पादन गर्छन्। उनीहरुले राम्रो सँग बजार पाउँदैन र त्यो बजार नपाएर किसानहरूले घाटामा जान्छन् त्यसलाई पूर्ति गर्नका लागि कोल्ड स्टोरमा हामीले व्यवस्थापन गरेर जब बजारमा मालको अभाव हुन्छ, त्यतिखेर हाम्रो किसानहरूले त्यो कोल्ड स्टोरबाट न्यून पैसा तिरेर त्यो हामीले अब बजारमा उपलब्ध गराउँछौँ। त्यसो गर्दा किसानहरूले बढी भन्दा बढी लाभ लिन सक्छन्। किसानहरूका लागि अहिले पनि औजारहरू हामीले व्यवस्थापन गरेका छौँ। मेसिनहरू व्यवस्थापन गरेका छौँ। अब २०८१ बाट विद्युतीय प्रणालीबाट सिचाइ गर्ने किसानहरूका लागि हामीले योजना ल्याएको छु।

    शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि चाहिँ अरु के के काम गर्नुभएको छ?

    शिक्षामा हरिनगर बहुमुखी क्याम्पस स्थापना गरेका छौँ। क्याम्पस स्थापनाका लागि गाउँपालिकाले धरौटी रकम प्रदान गरेको छ। अब जग्गा दाता खोज्दैछौँ । जग्गा भेट्नासाथ कलेजको भवन पनि बनाउनेछौँ। शिक्षाको गुणस्तर बढाउन शिक्षकहरूलाई तालिम दिएका छौँ। कसरी अब नयाँ प्रविधिको हिसाबले शिक्षा अगाडि बढाउने सवालमा तालिम दिएका हौँ। प्रविधिको हिसाबले विद्यालयलाई अगाडि बढाउन ३२ वटा स्कुलहरूलाई सामान उपलब्ध गराएका छौँ।

    पहिलो पटक पुरा नभएका अधुरा कामहरू दोस्रो पटक पुरा गर्ने महत्त्वपूर्ण अवसर पनि हो। अब दोस्रो पटक नेतृत्व गरेर छाड्दा हरि नगरलाई कस्तो बनाउने योजना बनाउनुभएको छ र ती के के काम चाहिँ पुरा गरेर छाड्नु हुन्छ?

    मेरो लक्ष्य सबै बाटा निर्माण पुरा गर्ने छ। सबै वडामा वडा कार्यालय बन्नेछ। सात वटा वडामा ६ वटा वडाको हाम्रो स्वास्थ्य चौकी पुरा भइसकेको छ। एउटा वडाको बाँकी छ, त्यसलाई हामीले पुरा गर्ने लक्ष्य लिएका छौँ। आफ्नै गाउँपालिकाको प्रशासनिक भवन पनि पुरा गर्ने अठोटमा छौँ। त्यस्तै गरेर अब शिक्षालाई शिक्षाको कतिपय स्कुलहरूमा भवनको अभाव छ, तिनीहरूमा भवन बनाउने तयारीमा छौँ। त्यसैगरी१५ बेडको हस्पिटल बन्दैछ। बजेटको अभावले गर्दा खेरी बन्न सकेको छैन त्यो बजेट आयो भने पूर्ति गरेर सबै सुविधाहरू आँखा, कान, नाक, दाँतदेखि सबै डाक्टरहरू व्यवस्थापन गर्नेछौँ। अब कृषिमा हामीले अझै आमूल परिवर्तन गर्ने हाम्रो सोच छ। संघीय सरकार र प्रदेश सरकारले सोचे अनुसार बजेट उपलब्ध गराइ दियो भने हरिनगर गाउँपालिका २०८४ सम्म हराभरा र समृद्धि बनाएर जिम्मा लगाउनेछु भन्ने अठोट गरेको छु।

    प्रदेश र संघीय सरकारले अपेक्षा गरे अनुसार बजेट उपलब्ध गरायो भने प्रसङ्ग उठाउनु भयो संघीय सरकार र प्रदेश सरकारले अहिले सम्म अपेक्षा गरेअनुसार बजेट प्रदान गरेको छ? तपाई कतिको सन्तुष्ट हुनुहुन्छ?

    होइन। सन्तुष्टि छैन। किन भनेदेखि प्रदेश सरकार र संघीय सरकारले काम गर्ने ठाउँमा बजेटको अभाव हुन्छ। जहाँ काम गर्दैन, त्यहाँ बजेट थुपारेको हुन्छ। हामी काम गछौँ, हाम्रोमा अनुगमन गरियोस्। हामीले काम गरेको मूल्याङ्कनको आधारमा हामीलाई बजेट थपी दियोस्। हामी काम गरेर देखाउँछौँ। हरिनगर गाउँपालिकाको सम्पूर्ण काम गरिएको छ, बजेटको तुलना अनुसार मूल्याङ्कन होस्। त्यही भएर संघीय र प्रदेश सरकारसँग हामीलाई बजेट अझै थपी दिन आग्रह गर्दछु। हरिनगर गाउँपालिकाकाले २०७४ सालको पृष्ठभूमि र अहिले २०८० मा आएर हामी कुर्न अवस्थामा छौँ त्यो आएर मूल्याङ्कन गरियोस्। २०८४ सम्म हरिनगर भौतिक संरचनामा धेरै हामी अगाडि बढ्नेछ। करिब ५५(६० किलोमिटर सम्म सडक कालोपत्रे हुनेछ।

    अहिले कतिपय जनप्रतिनिधीहरुबीचमा कसले राम्रो काम ग¥यो भनेर तुलना पनि हुने गर्छ। अलिक बढी चर्चा चाहिँ काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र धरान उपहानगरपालिकाका मेयर हर्क सम्पाङ्गको चर्चा हुने गर्छ। तपाईँले यो चर्चाको विषयलाई कुन रुपमा लिनुहुन्छ?

    मसँग ५२ करोडको बजेट छ। काठमाडौँ महानगरपालिकाको ६ अर्ब ७ अर्ब बजेट छ। बजेटको तुलना गर्नुस् र विकासको तुलना गर्नुस्। अब हामी सँग मिडिया छैन। शहरी केन्द्रित जनता छैन। भिडियो अपलोड गरेर मिडियामार्फत मैले प्रचार गरेको छैन। त्यस कारण अब बालेन्द्र शाहको तुलना गर्नु भन्दा पनि हाम्रो कामको तुलना गर्नुहोस्। अब चर्चा मात्रै ल्याउने हो भने देखि रातदिन हामी खटिरहेका छौँ। जनताको काम गरिरहेको छौँ। जनताको सेवा गरिरहेका छौँ। विकास गरिरहेका छौँ। काठमाडौँ सहरमा पहिले देखि नै विकास भएको थियो, पहिले नै बाटोघाटो बनिएको थियो, तर यहाँ त केही थिएन। यहाँको तुलना काठमाडौँका मेयर बालेनसँग तुलना गर्दा खेरी त मलाई लाग्छ उचित हुदैँन्। एउटा मात्रै मिडियाले बढी भन्दा बढी फोकस गरेर त्यसलाई ठुलो काम गरेको छ।

    अब उहाँ पनि स्वतन्त्रबाट जित्नुभएको छ, हामी एउटा पार्टीबाट जितेको छु र हाम्रो पार्टीको पनि लाइन हुन्छ। पार्टीको सिस्टम पनि हुन्छ। पाटीको सबै कुरा हुन्छ, तर कामको तुलनामा मलाई लाग्छ काठमाडौँ र धरान मेयरको तुलनामा हामीले जति काम गरेका छौँ, त्यो तुलनामा उहाँहरू भन्दा बढी चर्चामा आउनुपर्ने हाम्रो हुनु पर्थ्यो। तर त्यो चर्चामा आएको छैन।

    अन्त्यमा हरिनगर गाउँपालिकाका जनतालाई के भन्न चाहनु हुन्छ ?

    हाम्रा हरिनगर गाउँपालिकाका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई र सम्पूर्ण पार्टीका जनप्रतिनिधीहरुलाई सबैलाई मिलाएर काम गरी राखेको छु। यहाँ हाम्रोमा मन्दिर , मस्जिद या कब्रस्थान, मसानघाट सबै कुरालाई मिलाएको छु। सबैलाई हामी एकरूपताका साथ सबै पार्टीका जिम्मेवार साथीहरूसँग सल्लाह बिचार गरेर काम गरिराखेको छु। मलाई आशा भरोसा छ, जसरी पनि यहाँ मलाई सहयोग गरी रहनुभएको छ यसरी सहयोग मलाई २०८४ सम्म सबैले गरी दिनुहोस्। म हरिनगर गाउँपालिकाको जो बाँकी कामहरू छन्, त्यसलाई पुरा गर्छु। मलाई विश्वास छ यहाँका जनताले मलाई साथ दिन्छन् र साथ दिइराखेको छन्।

  • अत्याधिक गर्मीले ढलेर रौतहटमा एक जनाको मृत्यु

    अत्याधिक गर्मीले ढलेर रौतहटमा एक जनाको मृत्यु

    रौतहटमा गर्मीले ढलेर एक बटुवाको मृत्यु भएको छ। अत्याधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको हो।

    साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेका यादव बकैया नदीको पुलमा ढलेको अवस्थामा फेला परेका थिए। साइकल रोकेर पुलमै छेउतिर ढलेकै अवस्थामा यादवको मृत्यु भएको थियो।

    घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय देवाहीगोनाहीको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले यादवको शवलाई प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको बताएका छन्।

    घटनाबारे अन्य किसिमले पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको भनाइ छ।

  • दुर्घटना रोक्न ट्राफिक सचेतना

    दुर्घटना रोक्न ट्राफिक सचेतना

    कर्णाली राजमार्ग तथा ग्रामीण सडकमा हुने दुर्घटना रोक्न ट्राफिक प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियम सम्बन्धी सचेतना अभियान सुरु गरेको छ।

    कर्णाली राजमार्ग तथा कालिकोटका ग्रामीण सडकमा चल्ने साना तथा ठूला सवारी साधनहरूलाई दुर्घटनाबाट रोक्न सुरक्षित कर्णाली अभियान अन्तर्गत ट्राफिक चेकजाँच गरिनुका साथै चालक,सहचालक र यात्रुहरूलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिँदै आएको हो।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयले कर्णाली राजमार्गमा चल्ने सवारी साधन,कर्णाली कोरिडोरमा चल्ने गाडी र गाडीमा सवार यात्रुहरूलाई सिट क्षमता भन्दा बढी यात्री नराख्ने,गाडीको यान्त्रिक क्षमता चेक जाँच गर्ने,गाडीको यान्त्रिक अवस्था चेक जाँच गरी सवारी चलाउन आग्रह गरेको छ।

    ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराका अनुसार अहिले कालिकोटमा ट्राफिक सचेतना,अभियान सुरु गरेको बताए। दुर्घटना कम गर्न के कस्ता कार्यक्रम गर्न सकिन्छ भनेर सचेतना दिने गरेको र चालकहरूलाई अहिले सवारी दुर्घटना रोक्नको लागि सचेत गर्ने गरेको बताए। उनले यात्रा गर्ने यात्रीहरूलाई पनि ट्राफिक नियमको बारेमा जानकारी गराइएको बताए।

    ग्रामीण भेगका सडकमा चल्ने गाडी चालक र स्थानीय नागरिकलाई पनि ट्राफिक नियम सम्बन्धी गाडीमा चढ्दा, झर्दा, र जेब्रा क्रसिङ गर्दा पनि ध्यान दिनुपर्ने जस्ता कुराहरूको बारेमा सचेत गराएको उनको भनाइ छ।

    ट्राफिक नियमको पालमा गरी ग्रमिण सडकमा गाडी चलाउँदा पनि केही दुर्घटना रोकिए बताए। सिट संख्या भन्दा बढी चढेको अवस्थामा यात्रुहरूले आफै ध्यान दिनुपर्ने प्रहरीको भनाई छ।

  • कांग्रेसलाई लगाइएको अलोकतान्त्रिक आरोप सैह्य छैन: विश्वप्रकाश शर्मा

    कांग्रेसलाई लगाइएको अलोकतान्त्रिक आरोप सैह्य छैन: विश्वप्रकाश शर्मा

    सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

    नेपाली कांग्रेस काठमाडौं महानगरपालिका विभिन्न वडाबाट आएको जुलुस प्रदर्शनी मार्गमा पुगेर आमसभामा परिणत भएको थियो।

    विरोध सभामा कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, कार्यकर्ता तथा भ्रातृ संस्थाका पदाधिकारी सहभागी थिए।

    सभामा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाबारे कांग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि कसैले प्रश्न नगर्न चेतावनी दिएका छन्। उनले भने,’कांग्रेसलाई लोकतान्त्रिक दल हो वा होइन भन्नु आमाको अघि उभिएर मावलीको बयान गरे जस्तै हो। कांग्रेसलाई लोकतन्त्रवादी र अलोकतान्त्रिक भनी प्रश्न गर्नेसँग हामी सहमत हुँदैनौँ।’

    अन्यायमा परेका निमुखा तथा श्रमजीवी नागरिकको मुद्दालाई पार्टीले गहन ढङ्गले उठाउँदै आएको बताउँदै उनले कांग्रेसमाथि लगाइएको अलोकतान्त्रिकको आरोप आफूहरुलाई सह्य नहुने प्रतिक्रिया दिए।

    महामन्त्री शर्माले भने,’सरकार प्रतिपक्षलाई हेर्ने अहिलेको व्यवहारबाट सच्चिनुपर्छ, सभामुख स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, सहकारी प्रकरणमा संलग्नमाथि निष्पक्ष संसदीय छानबिन हुनुपर्छ।’

    नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बाँनिया र काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलगायतले सहकारीको बचत अपचलनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पार्टीले उठाउँदै आएको संसदीय छानबिनको माग गरे।

  • मकैमा अमेरिकी फौजी किराको प्रकोप

    मकैमा अमेरिकी फौजी किराको प्रकोप

    इच्छा कामना गाउँपालिका –७ स्थित भालुमाराका हरिराम गुरुङले १२ कठ्ठा जग्गामा मकै खेती गरेका छन्। तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो।

    ‘हाम्रो तिर विगतका वर्षमा यस्तो प्रकोप थिएन। पन्ध्र सय बढीको औषधि(विषादी) लिएर हाल्दा पनि उस्तै छ,’ उनले भने ‘गत बर्ष खडेरीले मकै भएन अहिले फौजी किराले सखाप पार्ला जस्तो छ।’ सात जनाको परिवार रहेको गुरुङको प्रमुख पेसा कृषि हो। आफुले लगाएको खेतीपातीमा रोग लाग्दा लगानी समेत नउठ्ने उनले बताए। ‘मकै छर्दादेखि थन्काउँदासम्म ५० हजार रुपैयाँ लाग्छ, अहिले मकै छर्दा र गोड्दा ३५ हजार रुपैयाँ लाइसक्यो । मकै हुने नहुने थाहा छैन’–उनले भने।

    किराको प्रकोप हट्छ कि भनेर फिराडोन, थाइमेड लगायत गरी चार पटक मकैमा विषादी हालिसकेका छन्। त्यसले नभएपछि उनी गाउँपालिकाले सिफारिस गरेको विषादी प्रयोग गर्न सोचमा छन्। उनको जस्तै पीडा ६६ वर्षीय प्रेम बहादुर प्रजा, रामबहादुर गुरुङ लगायत इच्छा कामना गाउँपालिकाका सबै किसानको छ। किसानहरू आफ्नो बाली कसरी जोगाउने भन्ने अन्योलमा छन्। ‘रोग नलाग्दा खान पुग्थ्यो। यहीबाट नुन तेल समेत खरिद गर्दथ्यौँ। रोग लागेपछि के खाने कसो गर्ने भन्ने भएको छ’ प्रेम बहादुर चेपाङले भने ‘यसलाई कसरी निर्मूल गर्न सकिन्छ? हामीलाई उपचारको खाँचो छ।’

    अमेरिकी फौजी किराको प्रकोपले इच्छाकामनाका किसानहरू प्रताडित भएका छन्। मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा छन्। गतबर्ष खडेरीले मकै सुकेर किसान पीडित भएका थिए।

    मकै राम्रो उत्पादन हुने इच्छाकामनाको खेतबारी, भालुमारा, तमिन, पामडाँडा लगायतका सात वटै वडामा फौजी किरा देखिएको गाउँपालिकाका कृषि अधिकृत अशिष त्रिपाठीले जानकारी दिए। फौजी किरा देखिएपछि गाउँपालिकाले उपचार विधि सहित विषादी निःशुल्क प्रदान गर्न थालिएको उनले बताए। ‘हामीले इच्छा कामना वडा नम्बर २ को तमिन र पामडाँडा ७ नम्बर वडाको खेतबारी भालुमारामा विषादी वितरण गरिसेका छौँ। ६ नम्बर वडामा भोलि र पर्सि गर्दै छौँ,’उनले भने, ‘विषादीको समुचित प्रयोग सहित जैविक विषादीको प्रयोगका विषयमा समेत हामीले जानकारी दिएका छौँ।’

    अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो। यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो। यो राति चर्न मन पराउँछ। अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको थियो। सिफारिस नगरिएको रासायनिक विषादी प्रयोग गर्दा सही विषादी पनि प्रभावहीन हुन सक्ने किट विज्ञ बताउँछन्।

    फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ। मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ। यसलाई विषादीको प्रयोग गरेर नै हटाउनुपर्ने कृषि अधिकृत त्रिपाठीले जानकारी दिए। चितवन जिल्लामा वार्षिक २६ हजार मेट्रिकटनको हाराहारीमा मकै उत्पादन हुने गरेको छ। जिल्लामा रामपुर कम्पोजिट, सिपी र श्रेष्ठ जातका मकै लगाइँदै आएको छ।

  • संसारमा कुनै पनि त्यस्तो देश छैन जहाँ दुःख नहोस्ः युवराज कटुवाल, जापान (भिडियोसहित)

    संसारमा कुनै पनि त्यस्तो देश छैन जहाँ दुःख नहोस्ः युवराज कटुवाल, जापान (भिडियोसहित)

    मोरङका युवराज कटुवाल यो बेला जापानको हिरोसिमामा अध्ययन गरिरहेका छन् । सामान्य सोच र उद्देश्य बोकेर जापान पुगेका उनीसँग ठुला सपना र महत्वकांक्षा केही पनि छैन । उनको विदेश भोगाइ र सुझाव यस्तो छः

    नमस्कार,

    मेरो नाम युवराज कटुवाल । मेरो घर नेपाल, पथरी शनिश्चरे मोरङ हो । अहिले म जापानको हिरोसिमामा विद्यार्थी भिसामा आएको छु ।

    धेरै जसो विदेश आउने साथीहरुले विदेशलाई दुःखको बिम्बको रुपमा लिनुहुन्छ । मलाई भने त्यो हैन कि जस्तो लाग्छ । हाम्रो उद्देश्य के छ ? हामी किन आएका छौं ? कसरी आएका छौं ? भन्ने कुरा हामीले बुझ्यौं भने त्यो दुःखको बिम्बलाई हटाउनु हुन्छ जस्तो लाग्छ मलाई ।

    हामीले विदेश आउँदै पनि हाम्रो हातमा सीप र ओहो विदेश गएर म जोशजाँगर र उमंगका साथ काम गर्छु भनेर आयौं भने हामीलाई यहाँ सुख लाग्छ । हामी याहाँको मौसममा पनि भिज्न सक्छौं । यहाँको दुःख पनि त्यत्रो ठुलो दुःख हैन कि जस्तो लाग्छ ।

    नेपालबाट आउँदै ठूलो अपेक्षा बोकेर, ठुलो आशा बोकेर म यो गर्छु त्यो गर्छु भनेर आइयो भने चै जापानमा मात्रै हैन जुनसुकै देशमा पनि, आफ्नो देश छाडेर गइसकेपछि अरुको देशमा एकदमै दुःख लाग्न सक्छ । हामीले सोचेका कुरा भएन भने हामी बढी दुखित् हुन सक्छौं ।

    आफ्नो देश छाडेर जाँदा सामान्य जीवनयापन गर्न सक्छु र ठुला सपनाहरु लिएर नआउँदा चै जुनसुकै देश पनि एकदमै सहज हुन्छ जस्तो लाग्छ मलाई । संसारमा कुनै पनि एउटा देश छैन कि जहाँ दुःख नहोस्, जहाँ सुखले खान पाइयोस् ।

    मेरो आग्रह चै यी र यस्ता ठुला आशाहरु नबोकी विदेश आउनु होला अथवा जानु होला भन्ने सन्देश तपाईंलाई दिन चाहान्छु ।

  • महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन राष्ट्रपति समक्ष पेश

    महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन राष्ट्रपति समक्ष पेश

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेश गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीलत निवासमा आइतबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरेका हुन् ।

    सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानी नोक्सानी भए नभएको विषयमा अझै गहन रुपले परीक्षण हुने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘प्रतिवेदनमाा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने नै छ ।’

    राष्ट्रपति पौडेलले महालेखा परीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहिता, पारदर्शिता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

  • जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

    जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

    मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्कन बुहारीले निकै सङ्घर्ष गर्नुपर्छ। यसरी घुम्टोबाट बाहिर निस्किएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत भएकी छिन्।

    हरिवन नगरपालिका–४ गेल्हा निवासी ३२ वर्षीया निर्मलाकुमारी महतो मधेसकै एक उदाहरणीय महिला उद्यमी बनेकी छिन्। जुत्ता उद्योग सञ्चालन गरेकी उनी आफूलाई अब्बल व्यवसायीका रूपमा चिनाउने कोसिसमा छिन्। मधेसमा जन्मेकी उनका लागि एउटी बुहारी भएर जुत्ता सिलाउँछु, भन्नु पक्कै सजिलो थिएन। ‘प्लस टु’ सम्म अध्ययन गर्नुभएकी निर्मलाको माइतीघर घरदेखि केही मिनेटको दूरीमा छ। बुबा शिक्षक हुनुभएका कारण उनले पढ्ने अवसर पाइन्। त्यसपछि गाउँ नजिकैका मध्यमवर्गीय परिवारका उमेश महतोसँग सामाजिक परम्पराअनुसार विवाह भयो। विवाहपछि पढाइलाई निरन्तरता दिन पाइनन्। निर्मलाका ११ वर्षकी एक छोरी, नौ र छ वर्षका दुई छोरा छन्।

    ‘श्रीमान् खेतीपाती गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘खेतीबाट नगद आम्दानी कम हुन्थ्यो। अन्नपात वर्षभरि खानुपर्यो। समाजमा चलेको चलनअनुसार व्यवहार धान्नै चुनौती भयो।’ अरुले बच्चा बोर्डिङ स्कुलमा पढाएको देखेर आफूलाई पनि रहर लागेर भर्ना गरेको उनको भनाइ छ। पछि ‘बिल’ आउन थालेपछि समस्या हुन थाल्यो। श्रीमान्सँग सधैँ पैसा हुँदैन थियो। त्यसपछि कसरी पैसा तिर्ने भन्ने चिन्ताले सताउन थाल्यो।

    धेरथोर पढेलेखेको भएकाले केही जागिर गरेर कमाई हुन्थ्यो कि भनेर पनि सोच्नुभयो तर त्यस्तो हुन सकेन। गाउँमा आफूले चिनेको सरले जुत्ता सिलाउने तालिम खुलेको जानकारी पाएपछि सिक्न गइन्। सुरुमा घरमा सम्झाउन निकै समस्या भयो। बुहारी त्यसमा पनि जुत्ता सिलाउन गई, भनेर सासूससुराले गाली गरे। तर पछि सम्झाइबुझाइ गरेपछि उनीहरूले कुरा बुझे। ‘तीन महिना सीप सिकेर काम सुरु गरेको थिएँ। काम गरेको साहुले पसल बन्द गरेर हिँडे, त्यसपछि फेरि अलपत्र परियो, तालिमसमेत पूरा भएको थिएन’, उनले विगत सुनाइन्।

    तालिम आयोजकलाई फेरि अनुरोध गरेर केही दिनका तालिम थप्न लगाइन्। त्यसपश्चात् आफूले भने जस्तै सबै नाप र आकार प्रकारका जुत्ता बनाउनसक्ने भइन्। सीप त सिक्नुभयो तर काम गर्ने ठाउँ भएन। त्यसपछि निर्मला आफैँले गेल्हागाउँमै जुत्ता बनाएर बेच्न सुरु गरिन्।

    व्यवसायका लागि सुरुमा लगानी आवश्यक भयो। श्रीमान् खेतीकिसानी गर्ने मान्छे। सासूससुरा पहिलादेखि पेसाप्रति खुसी थिए। रु एक लाख ऋणका लागि हारगुहार गर्दा पनि पार लागेन। माइतीका दाजुलाई भनेर ससुरालाई सम्झाइबुझाइ गरी बरु अंश दिँदा घटाइदिनु भनेर रु एक लाख पैसा मागिदिन अनुरोध गरिन्। ससुराले रु एक लाख २० हजार दिए। ‘त्यसपछि घरमै जुत्ता कारखाना सुरु गरेँ’, निर्मलाले भनिन्, ‘सुरुमा गाउँमा अनेक कुरा गर्ने मानिस धेरै भए तर पछि विस्तारै आफ्नो छोराछोरीलाई सिकाइदिनुपर्यो भनेर आउने पनि निस्किए।’

    गाउँघरमा आजभोलि विवाहलगायत कार्यक्रममा निर्मलाले बनाएको जुत्ता धेरै बिक्री हुन्छ। बजार विस्तार हुँदै गएको छ। रामेछाप, सिन्धुली, विराटनगर, जनकपुर, चपुरलगायत ठाउँबाट जुत्ता माग आउने गरेको निर्मलाले बताइन्। विसं २०७१ तिर निर्मलाको श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। तर निर्मलाले ११ महिनामै श्रीमान्लाई घर फर्काइन्। अहिले उनको श्रीमान् उमेश पनि निर्मलासँगै काममा खटिएका छन्।

    उनले घर नजिकै रु १४ लाखमा आधुनिक उपकरणसहितको जुत्ता कारखाना सञ्चालन गरेकी छिन्। उद्योगमा चार जना कामदारसमेत छन्। एक जनाले दैनिक ५० जोर जुत्ता तयार गर्न सक्ने उनले बताइन्। यसरी निर्मलाको कारखानाबाट महिनामा छ हजार जोरसम्म जुत्ता उत्पादन भई बजारमा पुग्ने गरेको छ।

    ‘कमाइ राम्रो हुन्छ’, उनले भनिन्, ‘काम दिन सकिरहेका छैनौँ। अझै केही मेसिन किन्नुपर्ने छ, त्यो भए काम बढाउन सकिन्थ्यो। प्रयास गरिरहेको छु।’ पहिला मासिक रु तीन हजार पाँच सय कमाइहुन्छ भनेर सिकेको सीपले उद्यमी बनाएको उनको भनाइ छ। यही पेसाबाट वार्षिक रु आठदेखि १० लाखसम्म कमाउने गरेको उनले बताइन्। रासस

  • बालेन साहले लेखेको स्ट्याटसमा सत्यता छैन: रघुवीर महासेठ

    बालेन साहले लेखेको स्ट्याटसमा सत्यता छैन: रघुवीर महासेठ

    उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताएका छन्।

    आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताएका हुन्।

    उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन साहले फेसबुक स्ट्याटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि उल्लेख गरे।

    शनिबार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगन्जसम्म रिङरोड बिस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भनि लेखेका थिए।

    उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडी फोहोर राखिदिएको भिडियो हालेका थिए।

    यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए। उनले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए।