Blog

  • सांग्रिला साइकल र्‍यालीको रजिष्ट्रेसन खुला

    सांग्रिला साइकल र्‍यालीको रजिष्ट्रेसन खुला

    विश्व वातावरण दिवसका अवसरमा यही जेठ १९ गते सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गर्ने भएको छ।

    बैंकले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थासँगको सहकार्यमा सायकल र्‍याली हुने भएको हो। साइकल र्‍यालीमा सहभागी हुन चाहनेले यही १६ गतेसम्म अनलाइन निशुल्क दर्ता गर्न सकिने बैंकले जनाएको छ।

    साइकल र्‍यालीमा बैंकले वातावरण संरक्षणप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्‍याउन समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास छ।

  • कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति ?

    कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति ?

    सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्न भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ।

    बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ।

    सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरूबीच कार्यदेशमा सहमति जुट्न नसक्दा यसअघिका बैठकहरू निष्कर्षबिहीन बनेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएपछि सहमति हुन सकेको छैन।

    यसअघि मङ्गलवार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यदेशको मस्यौदा ल्याउन भनेको थियो। बैठकपछि कार्यदलका संयोजक एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कांग्रेस लचक बनेको भन्दै आगामी बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए। त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ।

    कार्यदलमा नेकपा एमालेबाट पदम गिरी र महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपा नेता शिशिर खनाल छन्।

  • झापाको भद्रपुरमा इन्भेष्टमेन्ट बैंकको शाखा

    झापाको भद्रपुरमा इन्भेष्टमेन्ट बैंकको शाखा

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले भद्रपुर नगरपालिका ५ मा भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो।

    बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले नयाँ शाखाको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए। नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको बैंकले जनाएको छ।

  • उपेन्द्र प्रतिपक्षी हुँदा सिके भए सत्तापक्षीय

    उपेन्द्र प्रतिपक्षी हुँदा सिके भए सत्तापक्षीय

    जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव प्रतिपक्षी हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउत भने सत्तापक्षीय भएका छन्। जनमत पार्टीका ६ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा विश्वासको मत दिएपछि उक्त पार्टी सोमबारदेखि सत्तपक्षीय भएको हो।

    सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने विषयमा सहमति जनाएपछि आफूहरू सत्तापक्षीय बनेको उक्त पार्टीका नेताहरूले बताएका छन्। तर उनीहरूले जे बताए पनि भित्री कारण भने अर्कै छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र प्रतिपक्षमा पुगेकाले जनमत पार्टीका अध्यक्ष राउत सत्तापक्षीय हुन राजी भएका हुन्।

    यी दुई नेताको सम्बन्ध २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनदेखि पानी बाराबारको अवस्थामा रहेकाले त्यस्तो अवस्था आएको हो। त्यति बेलादेखि यादव जुन ठाउँमा हुन्छन्, त्यो ठाउँमा राउत बस्न मान्दैनन्। सार्वजनिक कार्यक्रमहरूमा समेत यादव र राउत एकै ठाउँमा हत्तपत्त भेटिँदैनन्।

    २०७९ सालमा सम्पन्न निर्वाचनमा सप्तरी–२ मा राउतले यादवलाई पराजित गरेका थिए। २०८० वैशाखमा बारा २ मा सम्पन्न उपनिर्वाचनमा सत्तामा बसेका तत्कालीन सबै दलले यादवलाई साथ दिए पनि राउतले आफ्नै उम्मेदवार उठाए। जबकि त्यतिबेला राउतको पार्टी सत्ता गठबन्धनमा सामेल थियो। यादवलाई पराजित गर्न राउत एक महिना बारामै बसेका थिए। त्यतिबेला पनि यादव जनमत पार्टीका उम्मेदावरबाट झन्डै पराजित भइसकेका थिए।

    केन्द्रमा यादव र राउतबीच सम्बन्ध बिग्रेझैं मधेसमा पनि जसपा नेपाल र जनमत पार्टीका कार्यकर्ताहरूबीच सम्बन्ध राम्रो छैन। जसपा नेपालले नेतृत्व गरेको मधेस प्रदेश सरकारबाट ६ महिनाअघि नै जनमत पार्टी बाहिरिसकेको छ। मधेस प्रदेश सरकारले राजविराजमा निर्माण भएको कृषि विश्वविद्यालयको उद्घाटन जसपा नेपालका अध्यक्ष यादवबाट गराउन लगाए।

    त्यस कामप्रति असन्तुष्टि जनाउँदै जनमत सरकारबाट बाहिरिएको थियो। त्यतिबेला मधेस प्रदेश सरकारमा शिक्षामन्त्री जनमत पार्टीकै नेता थिए। प्रदेश सरकारका शिक्षामन्त्री अथवा सप्तरीबाट चुनाव जितेका राउतबाट विश्वविद्यालय उद्घाटन गराउनुपर्ने जनमत पार्टीका नेताहरूको माग थियो। तर यादवबाट उद्घाटन गराइएपछि आफूहरूको अपमान भएको बताउँदै जनमतका मन्त्रीहरू मधेस प्रदेश सरकारबाट बाहिरिएका थिए।

    कार्यकर्ता तहमा समेत त्यति बेलादेखि नै बिग्रेको सम्बन्धमा अझै सुधार आएको छैन। यद्यपि जनमत पार्टीका प्रवक्ता शरत्सिंह यादवले जसपा नेपाल प्रतिपक्षी भएको कारणबाटै आफूहरू सत्तपक्षीय भएको भन्ने चर्चा एकदमै गलत रहेको बताए। ‘उहाँ (यादव) आफ्नो हिसाबले राजनीति गर्नुहुन्छ, हामी आफ्नो हिसाबले गर्छौं। उहाँहरूसँग हाम्रो कुनै सरोकार छैन,’ यादवले भने।

    उनका अनुसार अब मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने विषयमा एमाले र माओवादी केन्द्रले सहमति जनाएका छन्। ‘हाम्रो बटम लाइन मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्नुपर्छ भन्ने हो। त्यसमा एमाले र माओवादी केन्द्रले सहमति जनाइसकेकाले केन्द्रमा हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौं,’ उनले भने।

    यादवका अनुसार अब जनमत पार्टी केन्द्र सरकारमा जान तयार छ। तर केन्द्र सरकारमा जनमत पार्टीलाई लैजान सरकारमा बसेका कुनै मन्त्रीलाई राजीनामा गराउनुपर्ने हुन्छ। किनभने अहिले सरकारमा मन्त्रीको कोटा भरिएको छ।

    स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि सोमबार बिहान प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष राउतबीच कुराकानी भएको थियो।

    यसैगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि राउतले कुराकानी गरेका थिए। जसपा नेपालको विभाजनपछि संसद्मा उक्त दलभन्दा जनमत पार्टी ठुलो भएको छ। संसद्मा जसपा नेपालमा पाँच र जनमतका ६ सांसद छन्।

  • सिटी एक्सप्रेसको ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग’ कार्यक्रम

    सिटी एक्सप्रेसको ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग’ कार्यक्रम

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस के–७ क्लबमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग’ सांगीतिक कार्यक्रम आयोजना गरेको छ।

    कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले गरेका थिए। टन्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्‍याएको बताए। उनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीको कमाइलाई सुरक्षित रूपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।

    सांगीतिक कार्यक्रममा ल मनि ट्रान्सफरका ब्रान्ड एम्बासडर जितु नेपाल, गायिका मिलन नेवार, शान्तिश्री परियार, गायक खेम सेन्चुरी लगायतका कलाकारले प्रस्तुति दिएका थिए।

  • देशभरका भूमेस्थानमा पूजा आराधना गरी उँभौली मनाइँदै

    देशभरका भूमेस्थानमा पूजा आराधना गरी उँभौली मनाइँदै

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

    बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।

    मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ। यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।

    किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ। राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ। खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन्। ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ।

    किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन्। उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन्। यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन्। यो पर्व किराँत राई समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको छ। रासस

  • १४ वर्षमुनिकालाई ‘मोबाइल निषेध’

    बेलायतको सेन्ट अल्बान्स शहरले १४ वर्षमुनिका बालबालिकाहरूलाई मोबाइल निषेध गरेको छ। यससँगै सेन्ट अल्बान्स बेलायतको पहिलो बालबालिकालाई मोबाइलमुक्त शहर बन्न पुगेको हो।

    सेन्ट अल्बान्स शहरका अधिकांश विद्यालयहरूले संयुक्त रूपमा बालबालिकाका अभिभावकहरूलाई पत्र लेख्दै उनीहरूलाई विद्यालय पठाउँदा मोबाइल नपठाउन आग्रह गरेका छन्। प्राइमरी स्कुल कन्सोर्टियमले लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई तिनको उमेर १४ वर्ष नपुगुञ्जेल स्मार्टफोन नदिन आग्रह गर्छौं। अति आवश्यक महसुस भएमा उनीहरूले स्मार्टफोनबाहेक कल र टेक्स्ट मात्र गर्न मिल्ने मोबाइल पठाउन सकिन्छ।’

    विद्यालयहरूले आफ्नो विद्यालय परिसरलाई मोबाइलमुक्त स्थल घोषित गरेका छन्। अन्य शहरलाई पनि आफ्नो यस अभियानलाई सघाउन आग्रह सेन्ट अल्बान्स शहरले आग्रह गरेको छ। बालबालिकाहरूलाई मोबाइलमुक्त गरे उनीहरूले सामान्य जीवन जिउनेमा आफूहरू विश्वस्त रहेको सेन्ट अल्बान्स टोलीको विश्वास छ।

    सेन्ट अल्बान्स शहरमा रहेका २४ मध्ये २० वटा विद्यालयले यस विषयमा सहमति जनाएका छन्। ‘स्मार्टफोन फ्रि चाइल्डहुड’ अभियानमा थप विद्यालयहरू पनि जोडिने तयारीमा छन्। यस अभियानलाई अभिभावकहरू डेजी ग्रीनवेल र क्लारा फर्नीहगले मूर्त रूप दिएका हुन्। उनीहरूले आफ्नो समूहमा रहेका ७० हजारभन्दा बढी सदस्य अभिभावकहरूलाई सक्रिय बनाएका छन्।

    मोबाइलका कारण बालबालिकाहरूको मानसिक स्वास्थ्य गम्भीर हुँदै जान थालेको र सो रोक्न अभियान चलाउन आवश्यक रहेको अभियन्ताहरू डेजी र क्लाराले बताएका छन्। शुरुमा एउटा ह्वाट्सएप समूहबाट यो अभियान शुरु भएको थियो। जब संख्या बढ्दै गयो, यसलाई अभियानको रूप दिइयो। हरबखत मोबाइलमा जोडिनु पछिल्लो समय समस्या र बोझ बन्न पुगेको भन्दै बालबालिकालाई त्यस्ता बोझबाट मुक्त गर्नुपर्ने अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।

  • उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यमः राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउने बताएका छन्।

    किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताए।

    ‘हाम्रा पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउँछ भन्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत् भने, ‘उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।’

    किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन्। जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ।

    वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस् भन्ने कामना गरेर तथा प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गरेर यो पर्व मनाउँदछन्।

    साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ। रासस

  • चार महिनादेखि प्रमुखविहीन पर्यटन बोर्ड

    नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सिइओ) विहीन भएको चार महिना भइसकेको छ। गत माघ १५ गते पूर्व सिइओ धनन्जय रेग्मी कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन भएको हो।

    पूर्व सिइओ रेग्मीको कार्यकाल सकिएपछि बोर्डले गत चैत २४ गते सिइओ पदका लागि दरखास्त आह्वान गरेको थियो। रिक्त कार्यकारी प्रमुख चयनका लागि कमल सापकोटा, ऋषि भण्डारी, राजेन्द्र तामाङ, मिलन देवकोटा र मदन आचार्य रहेको पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। त्यसपछि उपसमितिले कार्यकारी पदको लागि कार्यविधि तयार गरी दरखास्त आह्वान गर्दै नेतृत्व चयनको लागि प्रक्रिया बढाएको थियो।

    यसरी बोर्डको कार्यकारी प्रमुख पद महिनौंदेखि खाली हुँदा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा समग्र मुलुकको पर्यटन प्रवद्र्धनका काम अस्तव्यस्त भएको पर्यटन व्यवसायी बताउँछन्। ‘विस्तारै लयमा आइरहेको पर्यटन क्षेत्र नेतृत्वविहीन भएको छ। यसरी पर्यटनको विकास कसरी हुन्छ?’

    होटल एसोसिएसनका अध्यक्ष विनायक शाहले प्रश्न गरे, ‘जुन संस्थाले विश्वव्यापी प्रचारप्रसार गरेर पर्यटकहरू भिœयाउनुपर्ने हो त्यही संस्था प्रमुखविहीन बनाएर राखिएको छ।’

    यसले समग्र पर्यटन क्षेत्रलाई पछाडि धकेलिरहेको उनको धारणा छ। ‘निजी क्षेत्रसँगको सहकार्य गरेका कार्यक्रमहरू रोकिएका छन्। बजेट निकासा हुन नसक्दा खर्च हुन पाएको छैन’, उनले भने।

    यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समयमै सिइओ नियुक्ति गर्न नसक्नु संस्थाको नालायकिपन भएको र प्रधानमन्त्री, पर्यटन मन्त्रीले यसको पहल गरेर तत्काल कार्यकारी प्रमुख नियुक्ति गरी पुनः र्संरचनासहितको बोर्ड अगाडि बढाउनुपर्ने बताए।

    ‘बोर्डले गर्नुपर्ने सम्पूर्ण प्रचारप्रसार तथा प्रबद्र्धनको काम हामी निजी पर्यटन व्यवसायीले गर्नुपरेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘सरकारले ढिलो नगरी कार्यकारी नियुक्ति गरेर पुनः संरचनासहितको बोर्ड अगाडि बढाउनुप¥यो ।’

    यसरी कार्यकारी नियुक्त नगरी लफडा गरेर बसिरहँदा पर्यटन क्षेत्र मारमा परिरहेको उनको भनाइ छ।

    यसै क्रममा त्यो छनोट उपसमितिविरुद्ध पाटन उच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। उपसमितिमाथि वैधानिकताको प्रश्न उठाउँदै कुन्दन शर्मा मिश्रले मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयनसमेत गैरकानुनी भएकाले कार्यकारी प्रमुख छनोट उपसमितिविरुद्ध रिट निवेदन दर्ता गरेका थिए।

    गत वैशाख १२ गते उच्च अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले बोर्डको कार्यकारी प्रमुख छनौट प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। अदालतले दिएको यो आदेश अन्तिम भने होइन।

    अदातले आदेश दिनु अगाडि नै बोर्डको कार्यकारीका लागि पूर्व सिइओ रेग्मीसहित २० जनाले आवेदन दिइसकेका थिए। उपसमितिले अन्तिम १६ जना ‘सर्ट लिष्ट’मा छानेको थियो। पछिल्लो पटक उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले रोकेको कार्यकारी छनोट प्रक्रियाको टुंगो लाग्न नसकेको हो।

    बोर्ड कार्यकारी समितिका सदस्यहरू मिलन देवकोटा र मदन आचार्य दुवैलाई मन्त्रीस्तरीय बैठकबाट मनोनयन गरिएको थियो। यसको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालतमा रिट निवेदन परेको हो।

    २०६८ सालमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मीसहितको इजलासले नेपाल सरकार भन्नाले प्रधानमन्त्रीसहितको मन्त्रीपरिषद्लाई बुझ्नुपर्ने फैसला गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री प्रेम आलेको एकल निर्णयमा मिलन देवकोटा र मदन आचार्य मनोनित भएका थिए। त्यसलाई नै आधार मानेर उच्च अदालतमा रिट निवेदन परेको हो।

    नेपाल पर्यटन बोर्ड ऐन, २०५३ तथा पर्यटन बोर्ड नियमावली अनुसार बोर्डको कार्यकारी समितिले सिइओ चयन गर्छ। जसमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष मनोनित सदस्यहरूमध्ये बोर्डको सदस्यहरूले छानेका सदस्यमध्ये एक उपाध्यक्ष, अर्थ मन्त्रालयको सहसचिव, अध्यागमन विभागको महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशक, नेपाल सरकारले मनोनित गरेको कम्तिमा राजपत्र प्रथम श्रेणीको अधिकृत एकजना गरी सरकारी संयन्त्रतर्फ पाँच जना कार्यकारी समितिमा हुने व्यवस्था छ।

    यस्तै बाँकी पाँच जना निजी क्षेत्रबाट मनोनयन हुन्छन्। कानुन अनुसार निजी क्षेत्रबाट मनोनयन हुने पाँच जना सदस्यहरू पर्यटन प्रवद्र्धन गर्ने कार्यमा संलग्न पर्यटन व्यवसायी, पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरूमध्येबाट हुनुपर्ने व्यवस्था छ। जसलाई सरकाले छनोट गरी मनोनयन गर्छ र यिनै कार्यकारी समितिमा रहेका सदस्यद्वारा गठित उपसमितिले प्रमुख कार्यकारी छनोट गरी सिफारिस गर्छ।

    पर्यटन बोर्डका एक कर्मचारीका अनुसार विगत २५ वर्षदेखि नेपाल सरकारले मनोनयन गरेको सरकारी कर्मचारीबाहेक निजी क्षेत्रबाट मनोनयन हुँदै आएका छन्। बोर्ड सदस्यहरू पर्यटन मन्त्रालयबाट सिफारिस हुँदै आएका हुन्।

  • भारतसँग सिमाना जोडिएका पर्साका नाका आजदेखि बन्द

    भारतसँग सिमाना जोडिएका पर्साका नाका आजदेखि बन्द भएका छन्। बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो।

    वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द रहने उनले जानकारी दिए।

    ‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो’, उनले भने। पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। रासस