Blog

  • गृहमन्त्रीमाथि अनुसन्धान अघि बढाऊ

    सम्माननीय प्रधानमन्त्रीज्यू, नेपालका प्रमुख सञ्चारमाध्यममा कार्यरत् हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः

    १. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

    २. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

    ३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं-तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

    ४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।

    ५. नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं । र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं ।

  • पाल्पामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

    पाल्पामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

    पौडी खेल्ने क्रममा खोलामा डुबेर एक किशोरको ज्यान गएको छ।

    पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा स्थित तिनाउ खोलामा पौडी खेल्न गएका रुपन्देही हिलपार्कका १७ वर्षीय राजिव लामाको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ।

    चार जना साथीहरु मिलेर खोलामा पौडी खेल्न गएकामध्ये राजिवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। उनका अनुसार पौडी खेलीरहेका चार जना मध्ये राजिव बेपत्ता भएका थिए।

    खोलामा बेपत्ता भएसँगै प्रहरीलाई खबर गरिएको थियो। झन्डै तिन घण्टा खोजी कार्य गर्दा उनको शव फेला परेको प्रहरीको भनाई छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

  • बुद्धकाे शिक्षामा विश्वास गरौँ: प्रधानमन्त्री

    बुद्धकाे शिक्षामा विश्वास गरौँ: प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन्।

    आज २५६८ औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा आज आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धका शाश्वत वाणी विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए।

    ‘बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ।’

    लुम्बिनी आउँदा आफूलाई सधैँ खुसी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए।

    उनले भने, ‘नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलका रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पटकपटक व्यक्त गरेको छ।’

    सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विशिष्ट कलाकारहरूको सृजनशीलता र जोस प्रेरणादायी भएको बताए।

    नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीनकालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे।

    ‘हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन’, प्रधानमन्त्री दाहालले भने, ‘यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ।’

    परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीनकालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री दाहालले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस–सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पारे।

    ‘हाम्रा जनताको आकाङ्क्षाअनुसार नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध छ’, प्रधानमन्त्री दाहालले भने, ‘उपलब्ध अवसरहरूका सन्दर्भमा विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारीका लागि बदलिँदो वास्तविकता र अवसरहरूलाई ध्यान दिनुपर्नेछ।’

  • प्रधानमन्त्रीले भने: सिरोहिया पक्राउको जिम्मेवारी लिन्छु, पक्राउ पुर्जी आएपछि रोक्न सकिनँ

    प्रधानमन्त्रीले भने: सिरोहिया पक्राउको जिम्मेवारी लिन्छु, पक्राउ पुर्जी आएपछि रोक्न सकिनँ

    प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको जिम्मेवारी लिएका छन्।

    मूलधारका सञ्चारमाध्यममा कार्यरत सम्पादकहरूको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री दाहालले अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको स्वीकार गरेका हुन्।

    ‘प्रधानमन्त्रीज्युले हामीसँग कुरा गर्दा पहिले कैलाशजीलाई अहिल्यै समाउने बेला नभएको भन्नेमा आफू रहेको भन्नुभयो,’ प्रधानमन्त्री दाहाललाई पत्र बुझाउन बालुवाटार पुगेका बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले भने,‘अदालतबाट पक्राउ पुर्जी नै जारी भइसकेपछि आफैले पक्राउ गर्न अनुमति दिएको उहाँले स्विकार्नुभयो।’ पक्राउ पुर्जी हुँदासम्म आफूलाई जानकारी नरहेको भन्ने आशय प्रधानमन्त्री दाहालबाट आएको उनले बताए।

    सिरोहियाको पक्राउलाई लिएर प्रेस स्वतन्त्रताविरुद्ध सरकार लागेको रुपमा नलिइदिन प्रधानमन्त्री दाहालले आग्रह पनि गरेका छन्। ‘उहाँ निर्दोष भए दुई तीन दिनमा छुटिहाल्नुहुन्छ। यसरी प्रेस स्वतन्त्रताविरुद्ध सरकार नै लागेको भाष्य निर्माण गरिदिनुभएन,’ प्रधानमन्त्री दाहालको कुरा उद्धृत गर्दै प्रधानले भने।

    यस्तै सम्पादकहरूले उठाएका मागमा भने आफू गम्भीर रहेको प्रधानमन्त्री दाहालले प्रतिक्रिया दिएका छन्।

    ‘हामीले विशेष गरी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे उठाएका मागमा उहाँले गम्भीर रहेको प्रतिक्रिया दिनुभएको छ,’ प्रधान सम्पादक प्रधानले भने,‘केही दिनमा नतिजा देखिने गरी काम गर्छु भन्नुभएको छ।’

    सिरोहियाको पक्राउपछि बुधबार मूलधारका सञ्चारमाध्यममा कार्यरत ३१ जना सम्पादकहरू बसेर गृहमन्त्री लामिछानेबाट सत्ताको दुरुपयोग भएको निष्कर्ष निकालेको थियो। उक्त भेलाबाट ५ बुँदे माग पत्र प्रधानमन्त्री दाहाललाई बुझाउने निर्णय भएको थियो।

  • राजनीतिको फोहोर सफा गर्दैछौं, नआत्तिनुहोस्: गृहमन्त्री

    राजनीतिको फोहोर सफा गर्दैछौं, नआत्तिनुहोस्: गृहमन्त्री

    उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको राजनीतिको फोहोर सफा गर्दै गरेकोले नआत्तिन कार्यकर्तालाई अनुरोध गरेका छन्।

    हेटौंडामा भएको बागमती प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन आएका बखत राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले हतास नहुन अनुरोध गरे।

    ‘फोहोराको डंगुर ठूलो भएकोले सफा गर्ने काम गर्दैछौं। एक दुई त्यान्दो निकाल्दैमा फोहोर सफा हुने अवस्था छैन’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले भने, ‘नेपालको राजनीति सफा थियो भने हामी राजनीतिमा आउन जरुरी नै थिएन। तपाईँहरू हतास नहुनुहोस् हामी इमानदारीका साथ काम गरिरहेका छौं।’

    राष्ट्रिय स्वतन्त्र पार्टीले निष्ठा र इमानदारीपूर्वक काम गरिरहेको उनको दाबी थियो। ‘सानोतिनो घटनामा उत्तेजित हुने, बहकिने, हतास हुने र हतोत्साहित हुने काम नगरौं’, कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘कुनै काम हुने बित्तिकै उत्साहित भएर ‘जय घण्टी’ भन्ने, केही काम नहुने बित्तिकै ‘गए घण्टी’ भन्न जरुरी छैन। तपाईँहरू पनि नआत्तिनुहोस्, पार्टी र नेताहरुलाई नअत्ताउनुहोस्।’

    पुराना दल धेरै घटनाक्रमको साक्षी बसेको, अनुभव बोकेको स्मरण गर्दै उनले आफ्नो पार्टीले त्यो पार गर्न बाँकी रहेको बताए। लामो समयको राजनीति नभएकोले राजनीतिक रुपमा प्रशिक्षित हुन भने बाँकी रहेको उनको स्वीकारोक्ति थियो। वर्षौँदेखि जगडिएका समस्या समाधान गर्न निरन्तर इमानदारिताका साथ लागिपरेको उनले दोहोर्‍याए।

    यता प्रदेश सुरक्षा समन्वय समितिको बैठकबाट बाहिरिने क्रममा भने उनले मिडिया फेस गर्नै चाहेनन्। हल बाहिर रहेका पत्रकारहरुलाई इन्कार गर्दै उनले आफ्नो कुनै प्रतिक्रिया नरहेको भन्दै गाडी चढेर गएका थिए।

    पत्रकारहरुले समसामयिक अवस्थाको विषयमा प्रतिक्रिया दिन अनुरोध गरेका थिए। ‘मेरो कुनै प्रतिक्रिया नै छैन’, लामिछानेले भने।

  • चितवनका तीन सहकारी झण्डै दुई अर्ब लिएर फरार, आन्दोलनमा उत्रिँदै पीडित

    चितवनका तीन सहकारी बचतकर्ताको एक अर्ब ९२ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका छन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, सनराईज बचत तथा ऋण सहकारी संस्था र साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था करिब चार हजार बचत कर्ताको सो रकम ठगी गरेर फरार भएका हुन्।

    यी सहकारीमध्ये सबैभन्दा बढी शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत कर्ताको रकम हिनामिना गरेको देखिन्छ। बचतकर्ताका अनुसार शिवशिखरका बचतकर्ताको ९८ करोड रुपैयाँ अपचलन गरेर सञ्चालक फरार छन्। त्यस्तै सनराईजको ९० करोड ८० लाख २० हजार र साहाराको ८५ करोड रुपैयाँ अपचलन गरेर फरार भएको साहारा बचत तथा ऋण सहकारीका पीडित संघर्ष समितिका संयोजक शालिक दुवाडीले जानकारी दिए।

    तर, जिल्ला प्रहरी कार्यालयमा भने तीन वटा सहकारीका तीन हजार ५५५ बचतकर्ताको एक अर्ब ६३ करोड १३ लाख ४३ हजार १८५ रुपैयाँ अपचलन गरेको उजुरी परेको छ। यद्यपि अझै उजुरी आउने क्रम जारी रहेकाले यो रकम बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए।

    ‘हामीले सबैको हिसाब गरेका छैनौँ। उजुरी आउने क्रम जारी छ’, भण्डारीले भन्छन् ‘अन्तिम फाइल भएपछि मुद्दा चलाउँछौँ।’ अहिलेसम्म प्रहरीले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब गरेर टुङ्गाएर सरकारी वकिल कार्यालयमा पेश गरेको छ। सो सहकारी संस्थाले एक हजार आठ सय ४२ जना बचत कर्ताबाट ६६ करोड चार लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

    सानो रकमका बचत कर्ताहरू उजुरी दिन नआएको प्रहरीको अनुमान छ। यस सहकारीका संस्थापक अध्यक्ष केदारनाथ शर्मा सहित १२ जना विरुद्ध उजुरी परेको छ। उजुरी परेका मध्ये संस्थापक अध्यक्ष शर्मा, निर्देशक गिता शर्मा, सदस्य पुस्कर मल्ल र अमिश राज भण्डारी पक्राउ परेका छन्। उनीहरु पूर्व पक्षका लागि थुनामा रहेको भण्डारीले जानकारी दिए।

    शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो। यसले देशका विभिन्न सहरमा ३५ बढी शाखा स्थापना गरेर ठगी गर्दै आएको बचतकर्ता बद्री अधिकारीले बताए। उनले प्रधानमन्त्री, गृहमन्त्री लगायतका निकायमा पुग्दा समेत न्याय पाउन नसकेको बताए।

    साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबहादुर राई (जिबी) बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन्। उनीमाथि बचतकर्ताको ८५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। तर, प्रहरी कार्यालयमा अहिलेसम्म ३२४ बचतकर्ताले ३८ करोड ७६ लाख ६३ हजार ८७६ अपचलन भएको भनेर उजुरी हालेका छन्।

    सो सहकारीबाट राईसमेत संलग्न अर्को संस्थालाई ४४ करोड रुपैयाँ बिना धितो दिएको जिल्ला प्रहरी कार्यालय चितवनले प्राप्त गरेको विवरणमा उल्लेख छ। उनी स्वयंको नाममा समेत एक करोड ७३ लाख चार हजार ६९१ रुपैयाँ बिना धितो झिकेको देखिन्छ।

    त्यस्तै राईसमेत संलग्न जिबी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रुपैयाँ सहकारीबाट लगेको देखिन्छ । यसअघि रवि लामिछाने आबद्ध गोरखा मिडिया नेटवर्कले पनि उक्त सहकारीबाट ११ करोड ९५ लाख ८० हजार रुपैयाँ बिना धितो ऋण लगेको देखिन्छ।

    त्यस्तै रिपिङ उड रेड स्टेटले १० करोड २८ हजार रुपैयाँ ऋण लगेको छ। चितवनमा नारायणगढ, टाँडी, पर्सामा उक्त सहकारीका कार्यालय छन्। पैसा डुबेपछि बचतकर्ताले २०७९ चैतमा संघर्ष समिति बनाएका थिए। संघर्ष समितिका संयोजक शालिकराम दुवाडी वडाध्यक्षदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, गृहमन्त्रीलाई भेटेर अपिल गर्दासमेत बचतकर्ताले आफ्नो रकम पाउन नसकेको बताए। ‘हामी थाकिसक्यौँ। तपाईँहरू राजनीति गर्नुहोस्, तर हाम्रो पैसा फिर्ता गराइदिनुहोस्,’–उनले भने।

    उनका अनुसार साहाराले दिएको ४५ करोड रुपैयाँ ऋण उठ्न बाँकी छ। त्यसमध्ये ४१ करोड रुपैयाँ जिबि राईसमेत संलग्न कम्पनीले लगेको छ। बचतकर्ता संघर्ष समितिको अगुवाइमा वडा कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, सहकारी विभाग, गृह मन्त्रालयमा पटक पटक पुगेका छन्।

    अनुसन्धानका लागि सहकारी विभागले २०८० साउन २४ गते राष्ट्रिय अनुसन्धान कार्यालयलाई अनुसन्धान गर्न पत्र काटेको छ। साहारा सहकारीको पुँजी रोक्का राखेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काम गरिरहेको दुवाडीले जानकारी दिए।

    यस सहकारीको रकम ठगी आरोपमा जिबि राईसहित १० जना विरुद्ध २०८० असोज ९ गते उजुरी परेको थियो। जिल्ला अदालत चितवनले गत असोज २९ गते जिबी राईसहित ११ जनाविरुद्ध पक्राउ गर्न आदेश दिइसकेको छ। जसमा सहकारीका सञ्चालक सदस्य, व्यवस्थापक समेत छन्।

    चितवनको चार स्थानमा कार्यालय राखेर कारोबार गर्दै आएको सनराइज बचत तथा ऋण सहकारी संस्थाका पनि करिब दुई वर्षदेखि फरार छ।

    जिल्ला प्रहरी कार्यालय चितवनमा परेको उजुरी अनुसार, १ हजार ३८९ जना बढी बचतकर्ताको ५७ करोड ९६ लाख ८ हजार ८०९ रुपैयाँ बढी रकम हिनामिना गरेर सञ्चालकहरू फरार छन् । यद्यपि बचत कर्ताले भने ९० लाख ८० हजार रुपैयाँ ठगी भएको बताएका छन् । उजुरी दिने क्रम जारी रहेकाले थप हुन सक्ने अनुमान छ । यसको कार्यालय लायन्सचोक, विकास चोक, चनौली र पावर्तीपुरमा यसको शाखा थियो।

    यसका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार रिमाल, उपाध्यक्ष सन्तोषी केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। अध्यक्ष रिमाल र सचिव पाण्डे नवलपरासीको कावासोतीबाट पक्राउ परेका छन्। कावासोती प्रहरीले बुधबार अदालतमा मुद्दा पेश गरेको छ।

    आन्दोलनमा उत्रिँदै चितवनका बचतकर्ता

    चितवनका सहकारी पीडितले जेठ ११ गते आन्दोलन समेत गर्ने भएका छन्। आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग राख्दै सडकमा उत्रिन लागेको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन्। शुक्रबार उनीहरुले भरतपुरको चौविकोठीबाट मेडिकल रोड, मालपोत चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा गएर कोणसभा गर्नेछन्।

  • श्रममन्त्रीले गरे टुँडिखेलकाे ‘सीप मेला’ अवलोकन

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन्।

    काठमाडौं महानगरपालिकाले गत वैशाख १९ गते बुधबारदेखि टुँडिखेलमा आयाेजना‍ गरेकाे सीप मेलाको बुधबार श्रम मन्त्री अर्यालले अवलोकन गरेका हुन्।

    उनले सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री अर्यालले ७५३ स्थानीय तहहरुले आवश्यकता अनुसारका मेलाहरू आयोजना गर्नुपर्ने बताए।

    उनले ७५३ स्थानीय तहहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातावरण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको जिकिर गरे।

    काठमाडौं महानगरपालिकाले गरेको प्रयास प्रशंसायोग्य रहेको उनको भनाइ थियो। मन्त्री अर्यालले मेयर बोलेन्द्र साहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको सुनाए।

    महानगरले नयाँ कामहरु गर्न खोजिरहेको र सबै स्थानीय तहले स्वदेशमा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्नेमा उनले जोड दिए।

    मन्त्रालयले सातै प्रदेशमा गर्न लागेको श्रमाधान मेला महानगरले गरेको सीपमेला भन्दा फरक मेला भएको उनको तर्क थियो।

    मन्त्री अर्यालले मन्त्रालयले नेपालमा कति रोजगारदाता कम्पनीहरु छ र कति रोजगारीको खोजीमामा रहेका छन् भनेर श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्न लागेको सुनाए।

  • ‘जे हिमालमा हुन्छ, त्यो त्यहाँमात्र सीमित हुँदैन’

    वुधबारदेखि चन्द्रागिरीमा सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद्मा अधिकांश सहभागीले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापीकरण गर्न सामूहिक प्रयास आवश्यक रहने बताएका छन् ।

    पर्वतीय क्षेत्रले विश्वका करोडौलाई स्वच्छ हावा, पानी र अन्य सेवा उपलव्ध गराएको सन्दर्भमा यो क्षेत्रमा पर्ने असर त्यहीमा मात्र सीमित नहुने भएकाले यसलाई समग्रतामा हेरिनुपर्ने उनीहरुको तर्क छ ।

    थोरै हिउँ पर्ने, भएका हिउँ पग्लने, हिउँ तालको सख्या बढने जस्ता प्रक्रियाले हिमालयका क्षेत्रको प्राकृतिक सन्तुलन विग्रेको र यसले जलवायुजन्य विपदहरु जोखीम लगायत अनेकन चूनौती थपेकोमा सबैले चिन्ता व्यक्त गरेका छन् । जलवायु संकटको गाम्भीर्यतामा विश्वका सरकार र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्नेमा पनि अधिकांशको जोड छ ।

    ‘जे हिमालमा हुन्छ, त्यो त्यहीँमात्र सीमित हुँदैन । जे बंगालादेशमा हुन्छ, त्यो त्यही मात्र रहँदैन, यसको व्यापक असर छ,’ संवादमा सहभागी रहेका बंगालादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री सबेर हुसैन चौधरीले भने । उद्घाटन सत्र र त्यसपछिको पहिलो प्लेनरीमा प्रभावकारी भनाइ राख्न सफल रहेका चौधरीले जलवायु परिवर्तनका क्षेत्रमा गरिएका हालसम्म सम्झौता र सहमतीहरु जलवायु कार्यमा रुपान्तरित नभएको बताए ।

    ‘राजनीतिक नेताहरुको सोच ५ वर्षको चूनावको सेरोफेरोमा हुन्छ, उनीहरु २०—२५ वर्षको अवधिको ख्याल गर्दैनन् । यस्तो अवस्थामा नागरिक ऐक्यवद्धताले राजनीतिक नेताको ध्यान आकर्षित गर्न सक्छ, उनले भने ।

    यो शताव्दीको अन्त्यसम्म विश्वका तापमानलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यलाई महत्वकाक्षी लक्ष्य मान्न नसकिने तर्क गर्र्र्दै उनले यो लक्ष्यलाई १ डिग्रीमा राख्न सकेको भएमात्र यो महत्वाकांक्षी हुने बताए ।

    विश्वका सरकारका बीच जलवायु परिवर्तनले निम्त्याएको चुनौतीलाई समाधान गर्न विश्वासको खाडल (ट्रस्ट ग्याप) रहेको उनको भनाइ छ ।

    ‘मानव अस्तित्वलाई समेत चूनौती ल्याएको यो विषयमा विश्वासको वातावरण बनाउन आवश्यक छ,’उनले भने ।

    विश्वका राष्ट्रले कार्बन उत्सर्जन कटौतीमा गरेका यसअघिका प्रतिवद्धता पूरा नगरेका कारण यो शताव्दीको अन्तसम्म सरदर तापक्रम २.६ डिग्रीसेल्सियसले बढ्ने वैज्ञानिक आकलन रहेको चर्चा गर्दै उनले यसले हिमालय क्षेत्र र तल्लो तटीय क्षेत्रमा गम्भीर प्रभाव पार्ने बताए ।

    भुटानका कृषि तथा पशुपक्षी मन्त्री योन्तेन फुङ्तसोले विश्वको पहिलो कार्बन तथस्ट राष्ट्र भूटान बनेको चर्चा गर्दै जलवायु परिवर्तनका चूनौती सम्वोधन गर्न एकल प्रयाश पर्याप्त नहुने र यसका लागि सवैको सहकार्य हुनुपर्ने बताए ।

    उद्घाटन सत्रमा भिडियो सन्देशमा सयुक्त राष्ट्रसंघका महासचिवका जलवायु कार्य र न्यायससंगत रुपान्तरण सल्लाहकार सेल्भिन चाल्र्स हार्टले पर्वतीय क्षेत्रमा भइरहेका परिवर्तन सो क्षेत्रमा मात्र सिमित नहुने वताउँदै पर्वतीय एजेन्डामा साझेदारीताको आवश्यक पर्ने बताए ।

    कार्बन न्यूनीकरणका लागि विश्वका देशलाई राजनीतिक दबाब सिर्जना गर्नुपर्ने र पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्नेमा सबै गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

    नेपालले विश्वव्यापीरुपमा पर्वतीय एजेन्डामा महत्वपुर्ण भूमिका निर्वाह गरेको चर्चा गदै उनले यो बिषयलाई आगामी दिनमा झन प्रभावकारीरुपमा पैरबी गर्न आवश्यक रहेको बताए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को वैज्ञानिक तथा प्राविधिक विषयमा परामर्श दिने सहायक निकाय (एसबिएसटिए)े अध्यक्ष हेरी भिरुयल्सले अबको २ सातामा जर्मनीको बोनमा हुन लागेको वैठकका लागि नेपालमा आयोजित संवादको सुझाव महत्वपुर्ण रहने बताए ।

    सम्मेलनमा बौल्दै नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले जलवायु संकट भूगोलमा सीमित विषय नरहेको बताउँदै यसका लागि तत्काल सामुहिक प्रयत्न आवश्यक रहेको उल्लेख गरे ।

    अन्तर्राष्ट्रिय संवादमा उठेका आवाज पर्वतीय राष्ट्रका आवाज हुने वन तथा वातावरण सचिव डा गोविन्दप्रसाद शर्माको भनाइ थियो ।

    काठमाडौंको चन्द्रागिरिमा जारी ‘इन्टरनेसनल डायलग अन माउन्टेन, पिपुल एन्ड क्लाइमेट’ नाम दिइएको यो संवादमा नेपाललगायत २५ देशका २ सय प्रतिनिधि सहभागी छन् ।जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे छलफल गर्ने, पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने उद्देश्य यो सम्मेलनको छ ।

  • गृहमन्त्रीविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा कुनै उजुरी र अभियोजन नरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिटमा अनुसन्धान गर्न आदेश दिएको छ।

    सर्वोच्चले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हाे।

    महान्यायाधिवक्ताको कार्यालयले २०८१ वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी/जाहेरी नरहेको पत्र दिएको थियो।

    सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध दर्ता गर्न लगिएको पत्र अस्वीकार गरिदिएपछि दर्ताका लागि आदेश दिएको हो।

    सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ। यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो।

  • ८ विद्यार्थीको मेडिकल सपना पूरा हुँदै

    बङ्गलादेश सरकारले आफ्नो सूचीबाट हटाएको ८ नेपाली विद्यार्थीको मेडिकल पढ्ने सपना पूरा हुने निश्चित भएको छ।

    बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर गरी बङ्गलादेश सरकारले सूचीबाट नाम हटाएका ८ विद्यार्थीको नामा पुनः समावेश गरी अध्ययनको बाटो खोलेपछि समस्या समाधान भएको हो।

    बङ्गलादेश सरकारले छुटेका ८ जनालाई पनि भर्ना दिने निर्णयको पत्र परराष्ट्र मन्त्रालयलाई बुधबार पठाएपछि समस्या समाधान भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बताएको छ। यसबाट बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समेत समाधान भएको छ।

    बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको शिक्षा मन्त्रीले बुधबार मन्त्रालयमै विद्यार्थीसँगको भेटमा बताइन्।

    बङ्गलादेशमा मेडिकल अध्ययन गरी सपना पुरा गर्ने अवसर पाउने ८ विद्यार्थीहरू राहुल सर्राफ, देवशंकर रौनियार,पारस कठायत,आर्शिरवाद झा,अमृता कुमारी,ललनकुमार दास, पूनम चुनारा र अनुकुमारी साह छन्। मन्त्री श्रेष्ठले अवसर पाउने सबै विद्यार्थीलाई बधाई पनि दिइन।

    बंगालदेश सरकारले वर्षेनी उपलब्ध गराउने मेडिकलको छात्रवृत्तिमा यस पटक मन्त्रालयले छनौट गरी नाम सिफारिस गरेको छात्रवृत्तिका २२ विद्यार्थीमध्ये १० लाई सूचिबाट हटाएर भर्नाको लागि पत्राचार गरेको थियो ।दुई विद्यार्थीले अनलाइन फारम भरेका थिएनन्।

    छात्रवृत्ति शाखा प्रमुख देवी उपाध्यायले दूतावासबाट समस्या समाधानसहितको पत्र परराष्ट्र मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै बङ्गलादेशले आफ्नो सूचीबाट हटाएको ८ नेपाली विद्यार्थीलाई भर्नाको स्वीकृति दिएसँगै समस्या समाधान भएको बताए।

    तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयले सिफारिस गरेका योग्य विद्यार्थीमध्ये १० लाई किन र कसरी हटाइयो बारे नेपालस्थित बंङ्गलादेशकालागि राजदूत श्री सलाहुद्दिन नोमान चौधरीसँग मन्त्रालयमा डाकेर छलफल गरेकी थिइन्। त्यस लगत्तै राजदूत चौधरीले समस्या समाधान बारे प्रतिबद्धता जनाएका थिए।

    बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो।

    तर, अन्तिम सूचिमा १२ जनाको मात्रै नाम आएको थियो। यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेको आधारमा यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ’कूटनीतिक नोट’ पठाएको थियो। त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको छ।

    शिक्षा मन्त्री सुमना श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीहरूमा अन्यौलता छाएकोमा सो समस्या समाधान गर्न अहोरात्र खटिने सबै जनाप्रति कृतज्ञता व्यक्त गरेकी छिन्। बुधबार नै सम्बन्धित विद्यार्थीहरूलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूसँग संवाद समेत गरिन।

    खुसी हुँदै मन्त्रालय पुगेका विद्यार्थीहरूलाई मन्त्री सुमनाले अध्ययन पुरा गर्न हौसला प्रदान गरिन् ‘नयाँ ठाउँमा नयाँ संस्कृतिमा घुलमिल हुन समय लाग्छ। आफ्नो स्वास्थ्य र मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला,’ मन्त्री श्रेष्ठले विद्यार्थीसँग भनिन्,‘ अध्ययन पछि सफल भएर स्वदेशको सेवा गर्न फर्केर आउनुहोला।’ मन्त्री श्रेष्ठले थपिन्,‘परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठज्यू, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूतज्यू, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूतज्यू र बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु। यो विषयलाई प्रमुखताका साथ उठाउनुहुने संघीय सदनका माननीय सदस्यज्यूहरूलाई पनि धन्यवाद छ।’ मन्त्री श्रेष्ठले विद्यार्थीहरूको गुनासो आएकै दिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीहरू प्रति आभार प्रकट गरिन्।