Blog

  • सदरमुकाममै छैन पक्की पुल

    सदरमुकाममै छैन पक्की पुल

    विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठे पुल निर्माण गरिएको छ। जिल्लाको मुटु मानिएको चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो।

    सडक विस्तार भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन्। दीर्घकालीन हुने गरी पक्की पुल नहुँदा बर्खा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन्। चामे १ तिमाङस्थित तिमाङखोलामा, चामे २ स्थित स्यार्कुखोला, चामे ४ स्थित दुईवटा घट्टेखोलामा काठेपुलबाट मात्रै आवतजावत गर्न सकिन्छ।

    चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बेसीँसहर चामे सडक आयोजनासँग पटकपटक समन्वय गर्दा पनि दीर्घकालीन रूपमा पक्की पुल निर्माण हुन नसकेको बताए। उनले भने, ‘बर्खा लागेको छ। यससँगै काठका पुल बाढीले बगाउँछ। आवतजावत नै रोकिने र समस्या फेरि दोहोरिने छ। एउटा काठेपुल निर्माणका लागि बर्सेनि पाँच-सात लाख लाग्छ, अन्य ठाउँमा उपयोग हुने बजेट काठेपुललाई छुट्याउन बाध्य छौँ।’

    आयमूलक क्षेत्रमा लगानी गर्नुको सट्टा काठेपुल निर्माणमा खर्चनुपर्ने बाध्यता रहेको अध्यक्ष घलेले बताए। सडक निर्माण आयोजना, संघीय तथा प्रदेश सरकारसँग छलफल गर्दा पनि यहाँ पुल निर्माण गर्न नसक्दा आम नागरिकको गुनासो पूरा गर्न नसकिएको उनको भनाइ छ।

    मनाङ पर्यटकीय क्षेत्र भएकाले मेरुदण्डका रूपमा रहेको यस सडकमा काठेपुल मात्र हुँदा सवारीसाधन तथा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको छ। जिल्लाको मुख्य सडकमा मात्र नौवटा काठेपुलको यात्रा गरेर माथिल्लो मनाङका तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने बाध्यता रहेको स्थनीय बताउँछन्। बाढी आउँदा झनै सास्ती हुने गरेको उनीहरुको भनाइ छ।

    प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सडक आयोजनासँग पुल निर्माणका विषयमा छलफल भइरहेको बताए। पर्यटकीय क्षेत्रमै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएको उनले बताए।

    प्रजिअ लामिछानेले भने, ‘सधैं काठेपुल सञ्चालन गर्न सम्भव छैन, हामीले सडक आयोजना कार्यलयसँग बोलाएर छलफल गर्‍यौं, तर काम भएको देखिँदैन। काठेपुल पनि जीर्ण हुँदै गएका छन्, केही ठाउँमा धान्न नसक्ने भएपछि खोलाबाट नै तर्नुपर्ने अवस्था आएको छ।’ पक्की पुल नहुँदा काठेपुलको यात्रा जोखिम बन्दै गएकाले सरकारको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए।

    जिल्लाका काठेपुल हटाउने गरी पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि सम्झौता भएको डुम्रे–बेसीँसहर–चामे आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए। ‘डिपिआर गर्न मात्रै सम्झौता भएको छ। बजेट अभाव अझै उस्तै छ’, उनले भने।

    अधिकारीका अनुसार यस सडक खण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको र बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम हुने छ। बोलपत्र आह्वान हुनासाथ निर्माण थालिने योजना रहेको उनले बताए।

    जिल्लाका विभिन्न क्षेत्रबाट आउने यात्रु, पर्यटक तथा सवारीसाधन पक्की पुल नहुँदा काठेपुलका भरमा सञ्चालित छन्। बर्खामा काठेपुलबाट आवतजावत गर्दा थप समस्या र जोखिम हुँदै आएको स्थानीय बताउँछन्। –रासस

  • दुर्लभ पाटे बाघ मृत भेटियो

    दुर्लभ पाटे बाघ मृत भेटियो

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ।

    बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए।

    ‘विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान बाट १०/१२ मिटर हिँडेपछि ढलेको अवस्थामा बाघ भेटिएको हामीलाई खबर आएको थियो’, उनले भने, ‘स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको हो।’

    बाघको पछिल्लो भागमा जङ्गली जनावरले टोकेको जस्तो चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।

    मृत बाघलाई घटनास्थलबाट सब डिभिजन वन कार्यालय दम्किबास लगिएको र आज परीक्षण गरिने उनले जानकारी दिए। बर्दघाट सुस्तापूर्वमा गत फागुनयता योसहित तीन वटा दुर्लभ पाटे बाघ मरेका छन्। रासस

  • कारको ठक्करबाट पैदल यात्रीको मृत्यु पछि रत्न राजमार्ग अवरुद्ध

    कारको ठक्करबाट पैदल यात्रीको मृत्यु पछि रत्न राजमार्ग अवरुद्ध

    वीरेन्द्रनगरको रत्न राजमार्ग अवरुद्ध बनेको छ। रत्न राजमार्ग घुस्रारोड चौकमा बुधवार राति पैदल यात्रीलाई कारले ठक्कर दिएको थियो।

    ठक्करबाट घाईते वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाहीको उपचारको क्रममा बुधवार राति नै प्रादेशिक अस्पतालमा मृत्यु भयो। मृत्युपछि आफन्तहरुले बुधवार रातिदेखि घुस्रारोड चौक (रत्न राजमार्ग) मा टायर बालेर सडक अवरुद्ध गरेका छन्।

    उनीहरुले घटनामा संलग्नहरुको खोजी गरी सार्वजनिक गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्। सडक अवरुद्ध हुँदा उक्त राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई समस्या भएको छ।

    प्रहरीले घटनामा संलग्न गाडीको खोजी कार्य भईरहेको बताएको छ। प्रहरी रातिदेखि नै गाडीको खोजीमा लागिरहेको र छिटटै घटनामा संलग्न गाडी पत्ता लाग्ने सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले बताए।

  • प्यालेस्टाइनलाई छुट्टै मुलुकको मान्यता दिने ३ युरोपिय राष्ट्रको निर्णय

    प्यालेस्टाइनलाई छुट्टै मुलुकको मान्यता दिने ३ युरोपिय राष्ट्रको निर्णय

    तीन युरोपिय देश नर्वे, स्पेन र आयरल्यान्डले प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिने घोषणा गरेका छन्।

    आगामी साता औपचारिक रूपले तीन वटै राष्ट्रले प्यालेस्टाइनलाई छुट्टै देशको रुपमा मान्यता दिइएको घोषणा गर्ने बीबीसीले जनाएको छ।

    नर्वेका प्रधानमन्त्री जोनस गार स्तोरले २८ मे मा प्यालेस्टाइनलाई छुट्टै देशको रुपमा मान्यता दिने बताए।

    त्यस्तै स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इजराइल इजराइलले प्यालेस्टाइनमाथि तय गरेको नीति दुःखद र तनावपूर्ण रहेको बताए।

    उनले प्यालेस्टाइनका नागरिकले सम्मानपूर्वक बाँच्न पाउने र आफ्नो अधिकारको उपभोग गर्न पाउनुपर्छ भन्दै यो निर्णय गरेको बताए।

    यस्तै आयरल्यान्डका प्रधानमन्त्री साइमन ह्यारिसले शान्तिका लागि प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिने निर्णय गरेको बताए।

    यता, इजराइलले युरोपिय तीन मुलुकको उक्त घोषणा पछि आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ।

    इजराइलका विदेश मन्त्री इजराइल काट्जले नर्वे, स्पेन र आयरल्यान्डको उक्त निर्णय कसैको हितमा नहुने बताए। उनले यसले त्यहाँका नागरिकलाई कुनै फाइदा नहुने भन्दै त्यसले सबैलाई नोक्सानी नै हुने प्रतिक्रिय दिएका छन्।

  • उन्नति बोहोरा शिलालाई राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान-२०८१

    उन्नति बोहोरा शिलालाई राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान-२०८१

    ह्यापी किड्स मन्टेश्वरी होम राइजिङ स्टारले साहित्यकार उन्नति बोहोरा शिलालाई राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान-२०८१ बाट सम्मान गरेकाे छ। ह्यापी किड्स मन्टेश्वरी होम राइजिङ स्टार स्कुलका प्रधानाध्यापक कृष्णकुमार बोहराको अध्यक्षता तथा बहुआयामिक व्यक्तित्व नवराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

    प्रमुख अतिथि नवराज कार्कीले दीप प्रज्वलन गरेर शुभारम्भ भएको कार्यक्रममा सम्मानित व्यक्तित्व शीलाको फर्की आऊ शान्ति तिमी स्वदेश गीतमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए।

    पहिलो नेपाली नारी नियात्राकार रञ्जुश्री पराजुली, गोपीकृष्ण प्रसाईं, जलेश्वरी श्रेष्ठ, निर्मला बराल, डा. छायादत्त न्यौपाने, सविना पोखरेल, विन्दु सुवेदीले बालसाहित्यबारे बोलेका थिए।

    कार्यक्रममा विद्यार्थीहरुले साहित्यकार लक्ष्मी उप्रेतीका कथासंग्रह डाँडाको सुरुङ कथासंग्रह र अंशु नङ नटोक्ने भइन् नाटकको समीक्षत्मक टिप्पणी गरेका थिए।

    उक्त कृतिमाथि जेनिश केसी, समृद्धि पन्त आदि विद्यार्थीले गहन समीक्षा गरेका थिए। अशु नङ नटोक्ने भइन् पुस्तकको समीक्षा गर्दै समृद्धि पन्तले नाटक सन्देशमूलक भएको बताए। उनले नाटकले नङ टोक्न र मोबाइल हेर्न नहुने सन्देश दिएको बताए।

    त्यस्तै कक्षा ४ का जेनिश केसीले नाटकले अभिभावकले गर्नु हुँदैन भनेको कुरा गर्दा दुख पाइने नाटकले सन्देश दिएको बताए। सरल र सजिलो शब्दले नाटक उत्कृष्ट भएको पनि उनले बताए।

    कक्षा ४ का सामाग्री दाहालले नाटकले फोहोर कुरा मुखमा हाले ठूलो रोग लाग्ने बताउँदै त्यस्तो कुरा मुखमा नहाल्न सन्देश दिएको बताए।

    कक्षा ५ का आरभ अर्यालले उप्रेतीको कथामा केही गाह्रो शब्द भए पनि पढ्दा निकै रमाइलो लागेको बताए। उनले जिद्दीवाल नहुन कथाले सुझाएको पनि बताए।

    कार्यक्रमका अध्यक्ष कृष्णकुमार बोहोराले विद्यार्थीहरूलाई ज्ञान दिने लेखक र विद्यार्थीबिच सम्बन्ध जोड्न बालसाहित्यकारहरूको भेला गरेको बताए। उनले विद्यार्थीलाई सुरुवाती घडीमै बालसाहित्य सम्बन्धी जानकारी दिएर अगाडि बढाउन पनि कार्यक्रमको आयोजना गरेको बताए।

    कार्यक्रममा प्रमुख अतिथि नवराज कार्कीले जयपृथ्वीबहादुर सिंहबारे बाेल्दै बालसाहित्यकारहरूका लागि यो सम्मान कार्यक्रम सुनौलो अवसर भएको बताए।

    सम्मानित स्रष्टा शिलाले राष्टिय विभूति जयपृथ्वीबहादुर सिंहको नामको पुरस्कारले आफूमा ऊर्जा थपेको छ बताउँदै विद्यालय परिवार र उपस्थित महानुभावप्रति आभार व्यक्त गरेकी थिइन्।

    कार्यक्रममा साहित्यकार जलेश्वरी श्रेष्ठले साहित्यकार प्राज्ञ लक्ष्मी उप्रेती आफू जस्ता धेरै लेखकको प्रेरणाको विन्दु रहेको बताइन्। उनले बालसाहित्य माग बढ्दै गएको पनि बताइन्।

    पहिलाे नेपाली नारी नियात्राकार तथा साहित्यकार रञ्जुश्री पराजुलीले जनतामाझ लोकप्रिय जयपृथ्वीबहादुर सिंह जस्तो व्यक्तिको नाउँमा विद्यालयले पुरस्कार स्थापना गरेर ऐतिहासिक काम गरेको बताइन्। उनले आफूले पाएको पुरस्कारले लेखनमा सधैं ऊर्जा थपिरहेको पनि बताइन्।

    त्यस्तै साहित्यकार विन्दु सुवेदीले स्रष्टा र बालबालिका बिच गरिएको यस्तो कार्यक्रमले विद्यार्थीलाई अगाडि बढ्न प्रेरणा मिल्ने बताए।

    साइनोका प्रवर्तक तथा बालसाहित्यकार डा. छायादत्त न्यौपानेले राजसी सुविधा चटक्कै छोडेर देशको पक्षमा उभिएका जयपृथ्वीबहादुर सिंहको नाममा विद्यालयले उल्लेख काम गरेको बताए। उनले आमाहरूले लेखेको बालसाहित्य बालबालिकाका लागि भरपर्दो खुराक हुने गरेको पनि बताए।

    साहित्यकार गोपीकृष्ण प्रसाईंले सत्यपथमा लागेका मानवतावादी राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहकाे नाममा स्थापना गरेको पुरस्कार उचित पात्रलाई दिएकाे भन्दै खुसी व्यक्त गरेका थिए।

    त्यस्तै कार्यक्रममा साहित्यकार निर्मला बरालले सम्मानित व्यक्तित्व उन्नति बोहोरा शिला बहुआयामिक शालीन, भद्र र कोमल भएको बताइन्।

    कार्यक्रममा बालसाहित्यकार श्रीराम राईले विद्यालयस्तरबाट गरिएका यस्ता कार्यक्रमले पठन संस्कृतिको विकास गराउनुकाे साथै बालबालिकाहरूलाई विविध क्षेत्रमा सक्रिय बनाउने बताए।

  • नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

    नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

    हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ। नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ।

    नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो।

    शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु दुई अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो। नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ। रासस

  • बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    २५६८ औं बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिँदै छ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन नेपालमा राष्ट्रिय पर्वको रूपमा गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनास्वरूप मनाउने गरिन्छ।

    बहुसंख्यक बौद्ध धर्मावलम्बीहरू रहेका चीन, श्रीलङ्का, भुटान, थाइल्यान्ड, म्यान्मार, कम्बोडिया, मङ्गोलियालगायत देशमा पनि बुद्ध जयन्ती विशेष उत्सवको रूपमा मनाउने गरिएको छ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा आज बुद्धजयन्ती विशेष समारोह एवं लुम्बिनी दिवस–२०८१ को प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। समारोहमा सहभागी हुन प्रधानमन्त्री बुधवारै लुम्बिनी पुगिसकेका छन्।

    अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा हुने मूल समारोहमा प्रधानमन्त्री दाहालसँगै संघीय मन्त्रीहरू, प्रदेश मुख्यमन्त्री, मन्त्री, सांसदहरूसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग र विदेशी पाहुनाको समेत सहभागिता रहने लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए।

    आज बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षुभिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा र बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा गरिएको छ। बुद्ध जयन्तीको अवसर पारेर आजै बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्नेगरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ समेत गरिएको उपाध्यक्ष लामाले जानकारी दिए।

    बुधवार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो भने हिजो साँझदेखि नै मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी छ।

    ४६ वर्षसम्म अधुरै छ लुम्बिनी गुरुयोजना

    ४६ वर्षअघि १९७८ सालमा लुम्बिनी गुरुयोजनाको काम सुरु भएको थियो। तत्कालीन समयमा लुम्बिनीका आठवटा गाउँ विस्थापित गरी तीन वर्ग माइल अर्थात् ११ सय ५० बिघा क्षेत्रमा विस्तारित लुम्बिनीको गुरुयोजना निर्माण भएको थियो। गुरुयोजनामा एक÷एक वर्ग माइलका तीनवटा क्षेत्र छन् । पवित्र उद्यान, विहार क्षेत्र र लुम्बिनी ग्राम। दक्षिणतर्फको पवित्र उद्यानमा बगैँचा, सुन्दर पोखरी, पुरातात्त्विक तथा ऐतिहासिक धरोहर छन्। उद्यानदेखि उत्तरतर्फ विहार क्षेत्र छ।

    १९७८ देखि सुरु भएको लुम्बिनी गुरुयोजनाको काम ८५ प्रतिशत सकिएको कोषले जनाएको छ। सरकारले लुम्बिनी गुरुयोजनालाई गौरवकै आयोजनामा राखे पनि बजेटमा प्राथमिकतामा नपारिएको कोषका पदाधिकारी र कर्मचारीको गुनासो छ।

    गुरुयोजना सम्पन्न गर्न पर्याप्त बजेट आवश्यक पर्ने भए पनि नेपाल सरकारको प्राथमिकतामा पर्न नसक्दा समयमै सम्पन्न गर्न चुनौती रहेको कोषका उपाध्यक्ष ल्हारक्याल लामा बताउँछन्। केही संरचना निर्माण सम्पन्नको चरणमा रहेको र बाँकी बहुवर्षे ठेक्का सम्झौतामा गइसकेकाले छिट्टै सम्पन्न हुने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए।

    बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक उत्खननको श्रेय खड्गशमशेर राणालाई जान्छ। १८९६/१८९७ मा खड्गशमशेरको नेतृत्वमा अंग्रेज भारतका अनुसन्धानकर्ता एलोइस फुहररले उत्खनन गरी लुम्बिनीमा अशोक स्तम्भ फेला पारेका थिए। त्यसपछि विभिन्न कालखण्डमा लुम्बिनीको उत्खनन गरियो। सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो।

    लुम्बिनीको बृहत्तर विकासको अभियान भने सन् १९६७ देखि सुरु भएको हो। बृहत्तर लुम्बिनीका अभियन्ता संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ. थान्त म्यानमारका नागरिक थिए। थान्त महासचिव हुँदा सन् १९६७ मा लुम्बिनीको भ्रमण गरे। उनले लुम्बिनी विश्वका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र बन्न सक्ने भन्दै बृहत्तर विकासमा राष्ट्रसंघले सहयोग गर्ने प्रस्ताव नेपाल सरकार (तत्कालीन राजा महेन्द्र) समक्ष पेस गरे।

    लुम्बिनी भ्रमणबाट फर्केपछि थान्तले अन्तर्राष्ट्रि कमिटी फर डेभलपमेन्ट अफ लुम्बिनी नामक कमिटी गठन गरी एक मिलियन डलर आर्थिक सहयोग उपलब्ध गराए। लगत्तै नेपाल सरकारले लुम्बिनी विकास समिति गठन ग¥यो। उ. थान्तकै सक्रियतामा सन् १९७२ मा जापानका बास्तुविद् प्रोफेसर केन्जो टाङ्गेलाई हायर गरी लुम्बिनीको व्यवस्थित विकासका लागि गुरुयोजना तयार गर्ने जिम्मा लगाइयो।

    टाङ्गेको बृहत् गुरुयोजना सन् १९७८ मा पारित भई सुरु भएको हो। ४६ वर्षअघि यो गुरुयोजना निर्माण गरिँदा ५५ मिलियन डलरको लागतमा १९५५मै सम्पन्न गर्ने लक्ष्य राखिएको कोषको अभिलेखमा पाइन्छ। तर पछिल्ला वर्षहरूमा कोषलाई राजनीतिक नियुक्तिको अखडा बनाउने परिपाटीका कारण लुम्बिनी गुरुयोजना सम्पन्न हुन नसकेको कोषका पूर्व पदाधिकारी तथा सदस्यहरू बताउँछन्। गुरुयोजना समयमै पूरा नहुँदा यसले लुम्बिनीको विकास र पर्यटन विस्तारमा सोचेअनुरूप प्रगति हुन सकेको छैन।

  • शाहरुख खान अस्पताल भर्ना

    शाहरुख खान अस्पताल भर्ना

    बलिवुडका किङ्ग शाहरुख खान अस्पताल भर्ना भएका छन्। मङ्गलवार अहमदावादमा आईपीएल म्याच हेर्न गएका उनलाई हि स्ट्रोक आएपछि अस्पताल भर्ना गरिएको हो।

    कोलकोत्ता नाइट राइडर्सका सेयरधनी समेत रहेका शाहरुख आफ्नो टिमको हौसला बढाउन छोराछोरीसहित अहमदावाद पुगेका थिए। जहाँ उनलाई हिट स्ट्रोक भएको थियो। अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्राको कमीले गर्दा उनलाई डिहाइड्रेसन भएपछि केडी अस्पतालमा भर्ना गरिएको थियो।

    कोलकोत्ताकी सेयरधनी रहेकी जुही चावला र शाहरुख खानकी पत्नी अस्पताल पुगेकी छिन्। शाहरुखलाई भेटे पछि जुही चावलाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै चिन्ताको विषय नरहेको बताइन्।

    उनले शाहरुखको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र उनी चाँडै स्वस्थ भएर फाइनल म्याचका लागि स्टेडियममै उपस्थित हुने पनि बताइन्।

    कोलकोत्ता नाइट राइडर्स जारी आईपीएलको फाइनलमा पुगिसकेको छ। अब उपाधिका लागि उसले सनराइजर्स हैदरावाद र राजस्थान रोयल्समध्येको विजेतासँग भिड्ने छ।

  • मुक्तिनाथ विकास बैंकको वृक्षरोपण

    मुक्तिनाथ विकास बैंकको वृक्षरोपण

    मुक्तिनाथ विकास बैंकले इलाम र महोत्तरीमा वृक्षरोपण कार्यक्रम गरेको छ।

    बैंकले इलाम जिल्लाको चियाबारी ७ र पाटेनागी १ मा करिब २५० वटा र महोत्तरीको किसननगर ६ मा सय वटा कागतीका विरुवा रोपेको हो। यस कार्यले वृक्षरोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्‍याएको बैंकको विश्वास छ।

  • चिकित्सकमाथि कुटपिट हुँदा ओपिडी सेवा बन्द

    चिकित्सकमाथि कुटपिट हुँदा ओपिडी सेवा बन्द

    मोरङको उर्लाबारी नगरपालिका– ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका स्वास्थ्यकर्मी ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। अस्पतालका स्वास्थ्यकर्मीमाथि पटकपटक अभद्र व्यवहार र हातपात भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

    अस्पतालका मेडिकल अफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका– १ का २५ वर्षीय डाक्टर ब्रोमिस बुढाथोकी र विराटनगरका डाक्टर अनिलकुमार यादवलाई स्थानीय युवाले हातपात गर्दै कुटपिट गरेपछि सुरक्षाको माग राख्दै आन्दोलनमा उत्रनुपरेको अस्पताल प्रशासनले जनाएको छ।

    चिकित्सक र स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण भएपछि अस्पताल प्रशासनले बुधबार एक घण्टाका लागि ओपिडी सेवा बन्द गरेको हो। स्वास्थ्यकर्मी र चिकित्सक असुरक्षित भएको र शान्तिसुरक्षाको माग गर्दै ओपिडी सेवा बन्द गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविकुमार साहले जानकारी दिए।

    चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही नगरेकाले दबाबस्वरूप ओपिडी सेवा बन्द गर्नुपरेको बताउँदै डाक्टर साहले भने, ‘आज १ घण्टा ओपिडी सेवा बन्द गर्‍यौं। त्यसपछि हातमा कालोपट्टी बाँधेर काम गर्ने छौं। जेठ ९ गतेदेखि माग पूरा नभएसम्मका लागि ओपिडी सेवा बन्द गरेर हुनेछ। प्रहरीमा शान्तिसुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दिइसकेका छौं। उजुरी दिए पनि प्रहरी प्रशासनले उनीहरूलाई कारबाही नगरेका कारण थप असुरक्षित महसुस भएपछि आन्दोलनमा उत्रनु परेको हो।’

    ओपिडीमा दैनिक पाँचदेखि सात सय जति बिरामीले सेवा लिँदै आएका छन्। जेठ ३ गते दिउँसो खाजा खाएर फर्किने क्रममा डाक्टर बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, शीतलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ।

    अस्पतालमा उपचारको विवाद भएपछि डाक्टर बुढाथोकीमाथि आक्रमण भएको बताइएको छ। जेठ ७ गते आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डाक्टर यादवलाई आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ।

    डाक्टरमाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भइसकेको बताउँदै मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘उजुरीमा नाम उल्लिखित व्यक्ति फरार छन्। उनीहरूको खोजी कार्य तीव्र पारेका छौं। अस्पतालमा सुरक्षा व्यवस्था मिलाइएको छ। फरार भएकै कारण उनीहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन सकेका छैनौं।’