प्रधानमन्त्रीले भने: सिरोहिया पक्राउको जिम्मेवारी लिन्छु, पक्राउ पुर्जी आएपछि रोक्न सकिनँ

प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको जिम्मेवारी लिएका छन्।

मूलधारका सञ्चारमाध्यममा कार्यरत सम्पादकहरूको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री दाहालले अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको स्वीकार गरेका हुन्।

‘प्रधानमन्त्रीज्युले हामीसँग कुरा गर्दा पहिले कैलाशजीलाई अहिल्यै समाउने बेला नभएको भन्नेमा आफू रहेको भन्नुभयो,’ प्रधानमन्त्री दाहाललाई पत्र बुझाउन बालुवाटार पुगेका बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले भने,‘अदालतबाट पक्राउ पुर्जी नै जारी भइसकेपछि आफैले पक्राउ गर्न अनुमति दिएको उहाँले स्विकार्नुभयो।’ पक्राउ पुर्जी हुँदासम्म आफूलाई जानकारी नरहेको भन्ने आशय प्रधानमन्त्री दाहालबाट आएको उनले बताए।

सिरोहियाको पक्राउलाई लिएर प्रेस स्वतन्त्रताविरुद्ध सरकार लागेको रुपमा नलिइदिन प्रधानमन्त्री दाहालले आग्रह पनि गरेका छन्। ‘उहाँ निर्दोष भए दुई तीन दिनमा छुटिहाल्नुहुन्छ। यसरी प्रेस स्वतन्त्रताविरुद्ध सरकार नै लागेको भाष्य निर्माण गरिदिनुभएन,’ प्रधानमन्त्री दाहालको कुरा उद्धृत गर्दै प्रधानले भने।

यस्तै सम्पादकहरूले उठाएका मागमा भने आफू गम्भीर रहेको प्रधानमन्त्री दाहालले प्रतिक्रिया दिएका छन्।

‘हामीले विशेष गरी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे उठाएका मागमा उहाँले गम्भीर रहेको प्रतिक्रिया दिनुभएको छ,’ प्रधान सम्पादक प्रधानले भने,‘केही दिनमा नतिजा देखिने गरी काम गर्छु भन्नुभएको छ।’

सिरोहियाको पक्राउपछि बुधबार मूलधारका सञ्चारमाध्यममा कार्यरत ३१ जना सम्पादकहरू बसेर गृहमन्त्री लामिछानेबाट सत्ताको दुरुपयोग भएको निष्कर्ष निकालेको थियो। उक्त भेलाबाट ५ बुँदे माग पत्र प्रधानमन्त्री दाहाललाई बुझाउने निर्णय भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *