Blog

  • नागरिकले महसुस गर्नेगरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले महसुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।

    बुधबार मकवानपुरको हेटौँडामा बसेको बागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन्।

    उपप्रधान एवं गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महसुस गर्नेगरी व्यवस्थापन गर्न निर्देशन दिइएको बताए।

    उनले गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरुमा बढी जोड दिन पनि निर्देशन गरिएको बताए।

    उनले भने, ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरुका बारेमा पनि छलफल भएको छ। गृह मन्त्रालयले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन प्रबन्धनमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने लगायतका काम हुन्छन् । नागरिकले महसुस गर्नेगरी र नतिजामुखी भएर काम र सबै क्षेत्रमा सुधार गर्न उहाँले निर्देशन दिनुभएको छ।’

    उनले उपप्रधानमन्त्री लामिछानेले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन सम्बन्धमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्नेमा बढी जोड दिन आग्रह गरिएको बताए।

  • रइसीको मृत्युले इरानी राजनीतिमा हलचलः सत्तामा पुग्न हत्यादेखि बहिगर्मनसम्म

    यतिबेला मध्यपूर्वस्थित मुलुक ईरानमा राजनीतिक हलचल सुरु भएको छ। राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ईरानको राजनीतिक माहोल निकै तातिएको छ। ईरानको राजनीतिक ईतिहासमा दोस्रो पटक कुनै राष्ट्र प्रमुखको मृत्यु सत्तामा रहुँदै भएको हो। यसअघि राष्ट्रपति मोहम्मद अली राजईको बम विस्फोटमा परी मृत्यु भएको थियो। सन् १९८१ अगस्ट ३० मा भएको विस्फोटमा परी राष्ट्रपति राजईसहित तत्कालीन प्रधानमन्त्री मोहम्मद जवाद बहनारको पनि मृत्यु भएको थियो।

    घटना आइतवारको हो, जब राष्ट्रपति रईसी विदेशमन्त्री हुसैन अब्दुल्लिाहियानसहित अजरबैजानबाट ईरान फर्किदै गर्दा उनी सवार हेलिकप्टर दुर्घटनाग्रस्त बन्यो। अजरबैजान जाने क्रममा राष्ट्रपति रईसीसँगै थप २ वटा हेलिकप्टर पनि गएको थियो, उनको सुरक्षार्थ। तर, ती दुबै हेलिकप्टर सुरक्षित ईरान फर्कियो। जबकी राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो। यहि विषयले कतिपयलाई चिन्तित बनाएको छ र, ईरानको राजनीतिलाई तताएको छ।

    ईरानका सर्वोच्च नेता अयातुल्लाह खामनेईका उत्तराधिकारी मानिएका रईसीको मृत्युमाथि अब ईरान भित्र र बाहिर पनि राजनीति सुरु भएको छ। कतिपयले उनको मृत्युलाई शङ्काको दृष्टिले हेर्न थालेका छन् भने कपितयले यसलाई दुर्घटनाको रुपमा मात्रै लिइरहेका छन्। कारण, जुन अवस्थामा हेलिकप्टर दुर्घटनामा पर्यो त्यसमाथि प्रश्नहरू उठ्न थालेका छन्। केहीले हेलिकप्टर दुर्घटनामा इजराइलको संलग्नता रहेको बताइरहेको छ भने केहीले यसलाई सत्ता पछाडीको लडाई भन्न थालेका छन्। किनकी, रईसीको मृत्युले ईरानका केही व्यक्तिका लागि फाइदा हुने मानिएको छ।

    ईरानको संवैधानिक व्यवस्था अनुसार कुनैपनि अवस्थामा राष्ट्रपतिको निधन वा मृत्यु भयो भने सर्वोच्च नेताको अनुमतिमा उपराष्ट्रपति, संसदका सभामुख र चिफ अफ जस्टिसको एक आयोग बनाइन्छ र ५० दिनभित्र राष्ट्रपतिको निर्वाचन गराउनु पर्ने हुन्छ। नयाँ राष्ट्रपति नियुक्त नभएसम्म उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने छन्। रईसीको मृत्यु पछि ईरानमा नयाँ राष्ट्रपतिको निर्वाचन आगामी जुन २८ मा हुने भएको छ।

    ईरानका राष्ट्रपतिभन्दा पनि त्यहाँका सर्वोच्च नेता सबैभन्दा बढी शक्तिशाली हुन्छन्। ईरानका वर्तमान सर्वोच्च नेता अलि खामनेईका नजिक मानिएका रईसीको मृत्यु पछि राष्ट्रपतिका लागि विभिन्न नाम चर्चामा छन्। तर, सबैभन्दा ठूलो दावेदार मोहम्मद बागेर गालीबाफ मानिएका छन्। उनी हाल संसदका सभामुख हुन् भने अबको राष्ट्रपतिमा उनको नजर रहेको पनि चर्चा यसअघि हुँदै आएको थियो।

    गालीबाफ २०१७ र २०२१ मा रईसीका कारण राष्ट्रपतिको रेसबाट बाहिरिएका थिए। २०१७ मा रईसीलाई हसन रुहानीले पराजित गरिदिएका थिए भने २०२१ मा रईसीलाई सर्वोच्च नेता खामनेईले समर्थन गर्दै राष्ट्रपतिमा निर्वाचित गराएका थिए। त्यसकारण २०२१ मा गालीबाफ राष्ट्रपतिको रेसबाट बाहिरीएका थिए। तर, २०२५ मा हुने राष्ट्रपति निर्वाचनमा उनी रईसीविरुद्ध निर्वाचन लड्ने निश्चित थियो।

    यता, रईसीको मृत्युमा सर्वोच्च नेता खामनेईका छोराको संलग्नता हुन सक्ने पनि अनुमान गरिँदै छ। ८५ वर्षीय सर्वोच्च नेता खामनेई क्यान्सरले पीडित छन्। र, अब उनको उत्तराधिकारी पनि खोजी हुँदैछ। हालसम्म रईसीलाई खामनेईको उत्तराधिकारीको रुपमा लिइँदै थियो। रईसीलाई इस्लामिक रिभोलुसनरी गाड्र्स कप्सले पनि समर्थन गरिरहेका थिए। तर, रईसीको मृत्यु पछि खामनेईका छोरा मोजताबाको बाटो बनेको छ।

    ईरानका एकजना पत्रकार मसीह अलीनेदाले आफ्नो एक्समा लेखेकी छन्, ‘विभिन्न अनुमानका बीच यस दुर्घटनामा खामनेईका छोराको हात हुन सक्छ। ताकी पिता पछिको उत्तराधिकारी बन्ने उनको बाटो प्रष्ट रहोस्।’

    यता, रईसीको मृत्यु पछि अब ईरानमा सत्ताको लडाई सुरु हुने अनुमान पनि गरिएको छ। रईसीको मृत्यु पछि गालीबाफलाई अघिल्लो राष्ट्रपति बन्न सक्छन्। उनलाई राम्रो समर्थन पनि रहेको छ। त्यति मात्र होइन गालीबाफलाई जसले समर्थन गरिरहेका छन् उनले ईरानको अर्को सर्वोच्च नेताको रुपमा मोजताबाका लागि वकालत पनि गरिरहेका छन्। यस्तोमा दुबैबीच कुनै ठोस सम्झौता भएको हुन सक्ने पनि अनुमान गरिँदैछ।

    गालीबाफ लामो समयदेखि राष्ट्रपति बन्न चाहन्छन् भने मोजताबा सर्वोच्च नेताको कुर्सीमा बस्न चाहन्छन्। यदि त्यसो भएमा ईरानमा फेरि एकपटक इतिहास दोहोरिन्छ। सन् १९८९ मा रुहोल्ला खामनेईको मृत्यु पछि अयातुल्लाह अलि खामनेई र मौलवी अकबर हासमी रफसन्जानीबीच सम्झौता भएको थियो। जसमा अयातुल्लाह सर्वोच्च नेता बने भने हासमी राष्ट्रपति बने। राष्ट्रपतिको शक्ति बढाउन संविधान पनि संशोधन गरियो।

    तर, खामनेई झन् शक्तिशाली बन्दै जादा उनले आफ्ना प्रतिद्वन्द्वीलाई आफ्नो बाटोबाट हटाउन थाले। सन् २०१७ मा हासमीको मृत्यु भयो। जसलाई हालसम्म पनि आशङ्काको रुपमा लिइन्छ।

    यी सबका बाबजुद ईरानको राजनीति निकै चाख लाग्दो छ। ईरानको सर्वोच्च नेता नै सबै थोक हुन्। त्यहाँको सर्वोच्च नेता पहिलो शक्तिशाली व्यक्ति हुन्छ भने दोस्रोमा राष्ट्रपति हुन्छ। जसको शक्ति निकै सिमित हुने गर्छ।

    कुनै समय रईसीलाई खामनेई पछिको सर्वोच्च नेताको रुपमा लिन थालिएको थियो। तर, राष्ट्रपति बनेपछि उनको लोकप्रियता कम हुन थाल्यो। अब रईसीको मृत्यु पछि ईरानको भविष्य पनि तय हुने आँकलन गरिँदै छ। किनकी अब ईरानको राष्ट्रपति मात्रै चुनिँदै सर्वोच्च नेता खामनेई पछिको अर्को सर्वोच्च नेता को बन्छ त्यो पनि तय हुन्छ।

    यी सबका बीच ईरानमा वास्तविक सत्ताको लडाई खामनेईको मृत्यु पछि सुरु हुने अनुमान गरिएको छ।

    ईरानमा इस्लामी क्रान्ति पछि शासकको हत्या, बहिर्गमन र पतन

    इस्लामिक रिपब्लिक अफ ईरानको ४५ वर्षे इतिसाहमा वर्तमान सर्वोच्च नेता अली खामनेई बाहेक सबै राष्ट्राध्यक्षलाई कुनै न कुनै प्रकारको चुनौतीको सामना गर्नु परेको छ। सत्तामा रहँदै कसैको मृत्यु भयो भने कतिपयलाई रानजीतिक रुपले लक्षित गरियो। जबकी कतिपयलाई त दोहोर्याएर चुनाव लड्नबाट नै रोक लगाइयो।

    १९७९ मा इस्लामी क्रान्ति पछि सरकारको पहिलो अस्थायी प्रधानमन्त्री मेहदी बजारगानलाई सुरुआतदेखि नै बढी शक्ति चाहिएको थियो। तर, सत्तामा रहँदा उनलाई तेहरानमा अमेरिकी दूतावासमाथि कब्जासहित विभिन्न अवरोधको सामना गर्नुपर्यो र अन्ततः उनलाई पदबाट राजीनामा दिनु पर्यो।

    इस्लामिक रिपब्लिक अफ ईरानका पहिलो धर्मगुरु अयातुल्लाह रुहोल्लाह खÞुमैनीले देशको राष्ट्रपतिको रूपमा एक साधारण व्यक्ति अबुल हसन बनी सद्रलाई प्रत्याशी बनाए। र, उनले ७५% भन्दा बढी मत ल्याएर जित हासिल पनि गरे।

    उनले इराकसँग युद्धमा सेनाको भूमिकामाथि जोड दिए। तर, इस्लामिक रिपब्लिक पार्टी आईआरजीसी (रिपब्लिकन गार्ड्स) लाई ठूलो भूमिका चाहिएको थियो। त्यस समय सुप्रीम लीडर खुमैनीले सद्रमाथि विश्वास गर्दै संविधान उल्लङ्घन गरेर सामान्य सुरक्षा बलको पनि जिम्मेवारी सुम्पि दिए। अबुल हसन बनी सद्र र ईरानी मजलिस (संसद) मा बहुमत रहेको इस्लामिक रिपब्लिक पार्टीबीच उत्पन्न सङ्घर्षका कारण बनी सद्रलाई बर्खास्त गरियो। उनीमाथि महाभियोग लगाउँदै देश निकाला नै गरियो।

    सन् १९८९ मा अकबर हाशमी रफसन्जानी ईरानका राष्ट्रपति बने। उनको कार्यकालको शुरुआती चार वर्ष तनावपूर्ण रह्यो। हिजबुल्लाह जस्ता सङ्गठनले उनको सांस्कृतिक नीतिको विरोध गर्न थाल्यो।

    सन् १९९३ मा सुरु भएको रफसन्जानीको दोस्रो कार्यकालमा अयातुल्ला खामेनेईले मुक्त बाजार नीतिको खुलेरै विरोध गरे। रफसन्जानीलाई खुमैनी पछि ईरानको सत्ताको सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थ्यो। राजनीतिक उतारचढाव पछि ८ जनवरी २०१७ मा उनी स्वीमिङ्ग पुलमा मृत अवस्थामा फेला परेका थिए। जसलाई हालसम्म पनि आङ्काको रुपमा लिइन्छ।

    हसन रूहानीले २०१३ मा राष्ट्रपति चुनाव जितेका थिए। उनलाई सबैभन्दा सुरक्षित राजनीतिक व्यक्रिको रुपमा मानिन्छ। ऋाफ्नो कार्यकालको शुरुआतदेखि नै रूहानीले सर्वोच्च नेता अली खामेनेईको विश्वास जित्ने प्रयास गरे। तर, अमेरिकासँग कुराकानीको प्रयास र ‘संयुक्त व्यापक कार्य योजना’ (जेसीपीओए) नामक एक सम्झौताको तयारी गरेको भन्दै खामनेईको तर्फबाट उनको आलोचना भयो।

    हसन रूहानी र उनका नातेदारविरुद्ध विभिन्न आर्थिक अपराधको आरोप लगाइयो। र, अहिले उनी सत्तामा दोहोर्याएर आउन सक्ने अवस्था छैन।

    नेपाललाई पर्दैन ईरानी राजनीतिक उथलपुथलको फरक

    ईरानमा उत्पन्न राजनीतिक उथलपुथलले नेपाललाई खासै फरक नपर्ने जानकारहरू बताउँछन्। ईरानसँग नेपालको सिधा सम्बन्ध नभएका कारण नेपाललाई खासै फरक नपर्ने परराष्ट्र मामिलाका जानकार लोकराज बरालको भनाइ छ।

    उनले भने, ‘ईरानबाट भारत हुँदै नेपाल आउने इन्धन हो। यदि ईरानमा राजनीतिक उथलपुथल भयो भने पनि त्यसको प्रत्यक्ष असर नेपाललाई पर्दैन। त्यसैले हामीले धेरै चासो दिनु आवश्यक छैन।’

    उनले नेपालमा ईरानबाट सिधा सम्बन्ध र सम्पर्क नरहेका कारण चिन्ता गर्नु पर्दैन भन्दै भारतमा ईरानको राजनीतिले प्रभाव पारेमा नेपाललाई असर पर्न सक्ने उल्लेख गरे।

  • कान्तिपुर अध्यक्ष सिरोहियालाई हिरासत कक्षमा लगियो

    कान्तिपुर अध्यक्ष सिरोहियालाई हिरासत कक्षमा लगियो

    जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धान गर्न तीन दिनको म्याद थप अनुमति दिएसँगै उनलाई हिरासत कक्षमा लगिएको छ।

    हिरासत कक्षका छिर्नु अघि उनले जिल्ला प्रहरी कार्यलयको प्रहरी नायव उपरिक्षकको कार्यकक्षमा आफ्न्तसगँ भेटघाट गरेका थिए। उनलाई भेट्न उनका छोरी, बुहारी लगायत उपस्थित थिए।

    प्रहरी कार्यालयका अनुसार उनलाई आम नागरिकलाई राखिने हिरासत कक्षमै राखिएको छ। ‘उहाँलाई कुनै भिआइपी कक्ष नभई सामान्य, आम नागरिकलाई राखिने कक्षमै राखिएको छ।’ प्रहरी स्रोतले भन्यो।

    नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न आदेश दिएको हो।

    प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेका थिए।

    सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर धनुषा ल्याएको हो।

  • रोजेको मन्त्रालय नपाएपछि शपथ बहिष्कार गरेका विनाेद पुनः त्यही मन्त्रालय सम्हाल्दै

    रोजेको मन्त्रालय नपाएपछि शपथ बहिष्कार गरेका विनाेद पुनः त्यही मन्त्रालय सम्हाल्दै

    आफूले रोजेको मन्त्रालय नपाएपछि मन्त्रीको शपथ नै बहिष्कार गरेका नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुन मन्त्री नियुक्त भएका छन् ।

    मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए।

    शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए। तर बुधबार पुनः शाह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका हुन्।

  • भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम

    भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम

    चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ। औँद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबीच भगिनी सम्बन्ध कायम भएको हो।

    चीनको छुङ्गसछिङ्स नगरमा भएको कार्यक्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहाल र छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफाबीच सम्झौता भएको हो। सो अवसरमा ४७ देशका विभिन्न सहरका प्रमुख तथा उपप्रमुखको उपस्थिति थियो।

    सो अवसरमा अन्य देशका नगरसँग समेत छुङ्गसछिङ्ग सहरले भगिनी सम्बन्ध कायम गरेको छ। कार्यक्रममा सहभागी भरतपुर महानगरका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार दुई देशबीचको सम्बन्धलाई अझ नयाँ उचाईमा पुर्‍याउन भरतपुर र छुङ्गसछिङ्गका प्रमुख सहमत भएका छन्।

    दुई सहरका नागरिकस्तरको सम्बन्ध कायम गर्दै एकले अर्काको विकासमा सहयोग पुर्‍याउने बारेमा समेत छलफल भएको उनले बताए। सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिँदै भरतपुरको विकास र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न छुङ्गसछिङ्ग नगरका प्रमुख तथा त्यहाँका उद्योगपतिलाई आग्रह गरिन्।

    उनले छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफालाई भरतपुरको भ्रमण गर्न आग्रह गरिन्। भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ।

    कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, इन्जिनियर साकार लामा, सूचना तथा वैदेशिक समन्वय शाखा प्रमुख मेनुका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारीलगायतको सहभागिता रहेको थियो।

  • कान्तिपुर अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

    कान्तिपुर अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमती दिएको छ।

    जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको एकल इजलासले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

    धनुषा अदालतको पक्राउ पुर्जीमा मंगलबार प्रहरीले सिरोहियालाई पक्राउ गरेर जनकपुरधाम पुर्‍याएको थियो। त्यसपछि प्रहरीले बुधबार बिहान प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो।

    अदालतमा उपस्थित गराउँदा प्रहरीले अनुसन्धानका लागि पाँचदिनको समय मागेको थियो। तर, अदालतले तीनदिनको मात्रै समय दिएको छ।

  • झण्डै पाँचलाख रुसी सैनिक मारेको युक्रेनको दाबी

    झण्डै पाँचलाख रुसी सैनिक मारेको युक्रेनको दाबी

    आफ्नो भूमिमा आक्रमण गर्न आएका झण्डै पाँचलाख रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । रुसले २७ महिनाअघि (२४ फेब्रुअरी २०२२) मा पहिलोपटक युक्रेनमा सैन्य हमला गरेको थियो। त्यसयता चलेको युद्धमा बुधबार बिहानसम्म ४ लाख ९७ हजार ६७० जना रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको हो।

    जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३०० रुसी सैनिक मारिएको तथ्यांक छ। यस दौरानमा युक्रेनी सेनाले रुसका ३५४ सैन्य विमान, ३२६ हेलिकप्टर, ७ हजार ६१७ ट्यांक, १४ हजार ७४३ सैनिक गाडी, १२ हजार ८६१ तोप, १७ हजार ५०१ वटा सवारी साधान र इन्धन बोक्ने ट्यांकर, एकहजार मल्टिपल रकेल लन्चर ध्वस्त गरेको दाबी गरेको छ।

    यस्तै २७ वटा युद्धक पानीजहाज (वारसीप), एक पनडुब्बी (सबमरिन), ८१३ वटा एयर डिफेन्स सिस्टम, १० हजार ४०२ मानवरहित विमान (ड्रोन), दुई हजार ९५ स्पेशल इक्विपमेन्ट पनि ध्वस्त गरेको युक्रेनको दाबी छ।

    यस्तै रुसले युक्रेनी भूमिमा प्रहार गरेका दुईहजार २०९ वटा क्रुज मिसाइल पनि आकाशमै नष्ट गरेको युक्रेनले दाबी गरेको छ।

  • कांग्रेसले गृहमन्त्रीविरुद्ध सडक आन्दोलन गर्ने

    कांग्रेसले गृहमन्त्रीविरुद्ध सडक आन्दोलन गर्ने

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडक आन्दोलन गर्ने भएको छ।

    सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेशुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो।

    आवश्यकता अनुसार उपत्यका बाहिर पनि प्रदर्शन गर्ने निर्णय बैटकले गरेको छ।

  • सगरमाथा आरोहण गर्न गएका दुई आरोही बेपत्ता

    सगरमाथा आरोहण गर्न गएका दुई आरोही बेपत्ता

    विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्।

    मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय काड्यानियल पल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए।

    चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उनले बताए।

    दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

    शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए।

    वातावरण अनुकूल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ।

    बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

    बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ। -रासस

  • प्रधानमन्त्रीलाई पत्र लेख्दै सम्पादकहरूले भने: प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने काम भयो

    प्रधानमन्त्रीलाई पत्र लेख्दै सम्पादकहरूले भने: प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने काम भयो

    काठमाडौंबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिका तथा अनलाइनका सम्पादकहरुले राज्यपक्षबाट प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन् ।

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको एक दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र लेख्दै सम्पादकहरुले राज्‍यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनी दिएका छन् ।

    कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरिनु आपत्तिजनक भएको बताउँदै उनीहरुले कानुनविपरीत काम गरेको भए कानुनले तोकेबमोजिम सजाय भोग्न तयार रहेको बताइरहँदा समेत गिरफ्तारीको बाटोमा राज्य प्रस्तुत हुनु चिन्ताको विषयको भएको बताएका हुन् । कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएको उनीहरुको भनाइ छ ।

    प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनीहरुले भनेका छन्, ‘नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।’

    प्रधानमन्त्री दाहाललाई सम्पादकहरूले लेखेको पत्र:

    सम्माननीय प्रधानमन्त्रीज्यू,

    नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः

    १. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

    २. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

    ३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं — तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

    ४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।

    ५. नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।

    प्रतीक प्रधान – बाह्रखरी
    शिव गाउँले – अनलाइनखबर
    अमित ढकाल – सेतोपाटी
    किरण नेपाल – खोज पत्रकारिता केन्द्र
    युवराज घिमिरे – देशसञ्चार
    सुधीर शर्मा
    मदन लम्साल – अभियान
    विमल गौतम – लोकान्तर
    सागर पण्डित – नेपाल समाचारपत्र
    राजाराम गौतम –
    सुजित महत – उकालो
    पूर्णबहादुर बस्नेत – नेपाल खबर
    बसन्त बस्नेत – अनलाइनखबर
    हरिबहादुर थापा – बाह्रखरी
    उमेश चौहान- कान्तिपुर
    रामेश्वर बोहरा – उकालो
    कोषराज कोइराला – रिपब्लिका दैनिक
    गुणराज लुइँटेल – नागरिक दैनिक
    रूपेश श्रेष्ठ – कान्तिपुर टिभी
    अखण्ड भण्डारी – अन्नपूर्ण पोस्ट
    विश्वास बराल – द काठमाडौं पोस्ट
    सरोज मिश्र – राजधानी दैनिक
    अरूण बराल – खबरहब
    कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस
    प्रकाश रिमाल
    कसमस विश्वकर्मा
    सञ्जीव सतगैयां
    विजय पौडेल – कान्तिपुर टिभी
    रामप्रसाद दाहाल – रातोपाटी
    दुर्गा खनाल – इकान्तिपुर
    पुष्प दुलाल- क्लिकमाण्डु