Blog

  • कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच सम्झौता

    कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच सम्झौता

    कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलले व्यावसायिक सम्झौता गरेका छन्। दुबै कम्पनीबीच ‘वे टु लिसनिङ’ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो।

    सेवाअन्तर्गत हिमाल वाटर पार्क भिलेज होटललाई आइपिओ जारी गरी सूचीकरणको चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने भएको छ।

    यसैक्रममा वाटर पार्क भिलेज होटलका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

  • महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

    महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

    महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर नक्सालको नन्दी माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा दशका छात्र सन्तोषकुमार मण्डललाई अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

    बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित छात्रवृत्ति उनका छोरा तथा मनकामना दर्शन प्रालिका निर्देशक राजेश बाबु श्रेष्ठले विद्यालयका पदाधिकारी र बैंक व्यवस्थापनको रोहबरमा छात्र मण्डललाई हस्तान्तरण गरेका हुन्।

    अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले पचास हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

  • एसबिआई क्यापिटल र  नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच सम्झौता

    एसबिआई क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच सम्झौता

    एसबिआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच व्यावसायिक सम्झौता भएको छ।

    परियोजनामा लगानी र नेपालका व्यापारिक संघ संस्थासँग सहकार्य गरी विशिष्ट वित्तीय परामर्श सेवा प्रवाह गर्ने लक्ष्यसहित सम्झौता भएको हो।

    सम्झौता अनुसार स्वदेशमा रहेका विभिन्न परियोजनाको पहिचान, सञ्चालन र कार्यान्वयन, जलविद्युत् परियोजनालगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेका परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरूमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको जनाएको छ।

  • सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेश गरिने

    सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेश गरिने

    धनुषा प्रहीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आजै जिल्ला अदालत धनुषामा पेश गरिने भएको छ।

    मङ्गलवार काठमडाौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको थियो। उनलाई धनुषा प्रहरीले ११ बजे जिल्ला अदालत धनुषामा पेश गर्ने सम्ब्नधी आवश्यक कागजात तयार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    मङ्गलवार जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो।

    सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।

  • कैलालीमा आलु उत्पादन बढ्यो

    कैलालीमा आलु उत्पादन बढ्यो

    गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ प्रतिशतले बढेको छ। जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार एक सय ३० मेट्रिक टन उत्पादन भएको छ।

    गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन सय ७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए। ‘यस वर्ष थोरै क्षेत्रफल पनि बढेको छ। आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ। यसपटक हिउँदमा हुस्सु पनि लागेन’, उनले भने, ‘हुस्सुले आलुमा क्षति हुन्छ। मौसम पनि अनुकूल भयो। त्यसले पनि उत्पादन वृद्धि भएको हो।’

    ‘यसपटक धेरैजसो किसानले ‘चिप्स’ आलु लगाउनुभएको थियो’, उनले भने, ‘त्यसको उत्पादकत्व पनि बढी हुन्छ। त्यसले पनि उत्पादनमा वृद्धि भएको देखिन्छ।’ किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा पे्ररित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदै आएको सूचना अधिकारी जोशीले बताए। -रासस

  • कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा

    कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा

    कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उहाँ आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन्।

    ‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ’, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने। वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेको छन्।

    फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्।

    सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक छन्। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगे कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।

    सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी थिइन्।

    गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो। आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ। -रासस

  • कांग्रेस नेता जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ

    कांग्रेस नेता जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ

    कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ हुने भएको छ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलवार उनीविरुद्धको मुद्दाको पेशी तोकिए पनि सुनुवाइ हुन नसकेपछि हेर्दाहेर्दैमा राखिएको थियो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि सर्वोच्चमा जोशीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।

    अख्तियारले २०६० सालको पुस १८ गते पूर्वमन्त्री जोशीविरुद्ध ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट यो मुद्दा २०७० सालको साउन १५ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो । दर्ता भएको ११ वर्षपछि बल्ल सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु भएको हो।

    पूर्वमन्त्री जोशीको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो।

  • क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

    क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

    आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो।

    ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन र एडमन्टन सहरका प्रमुख, यात्रा व्यवस्थापन गर्ने कम्पनी, पत्रकार, पर्यटनमा मात्र केन्द्रित रहेर लेख्ने ‘ब्लगर’, गैरआवासीय नेपाली सङ्घका पदाधिकारीको उपस्थितिमा कार्यक्रम भएको थियो।

    त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले कला, संस्कृति, परम्परा, रहनसहन, प्राकृतिक सौन्दर्य, जैविक विविधता, विशाल हिमशृङ्खला र अतिथिको सधैँ सत्कारमा रमाउने नेपालीको देश हरेक उमेर समूहका लागि आकर्षकको केन्द्र भएको बताउँदै एकपटक नेपालको भ्रमण गर्न आह्वान गरेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ।

    राजदूत पौड्यालले गैरआवासीय सङ्घका पदाधिकारी एवं त्यहाँ रहेका अन्य नेपाली नागरिकले आफ्ना मित्रहरुलाई एकपटक नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै पत्रकार तथा यात्रा व्यवस्थापन गर्ने पर्यटन व्यवसायीलाई पनि नेपाल भ्रमणमा आफ्ना ग्राहक पठाउन अनुरोध गरे।

    अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतकले आफ्नो प्रान्तमा कार्यक्रम आयोजना गरेकामा नेपाली दूतावासप्रति कृतज्ञता व्यक्त गर्दै एडमन्टन सहर र नेपालबीच पर्यटनका क्षेत्रमा सहकार्य गर्ने प्रशस्त सम्भावना रहेको बताए। उनले कार्यक्रमका सहभागीलाई नेपाल भ्रमण गर्न आग्रह गरे।

    कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रहरूको भिडियो प्रस्तुतिका साथै नेपाली उत्पादन चिया, कफी, पस्मिना सल, हस्तकलाका सामग्री पनि प्रदर्शनीमा राखिएका थिए। नेपाली कलाकारको एक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो। -रासस

  • रातो मच्छिन्द्रनाथको रथयात्रा, आज ललितपुरमा सार्वजनिक विदा

    रातो मच्छिन्द्रनाथको रथयात्रा, आज ललितपुरमा सार्वजनिक विदा

    ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा हमज नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिएको हो।

    महानगरको नगर कार्यपालिकाको वैशाख १८ गते बसेको बठैकले नरिवल खसाल्ने दिन बिदा दिने निर्णय गरेको थियो।

    महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठद्धारा मंगलबार जारी सूचनामा आज बिदा दिने उल्लेख गरिएको छ।

    सूचनामा भनिएको छ, ‘महानगरपालिका मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथयात्रा रथ तान्ने क्रममा नरिवल खसाल्ने दिन उल्लेख्य भक्तजनको उपस्थिति हुने र धार्मिक महत्वको दिन भएकाले विदा दिने निर्णय भए बमोजिम ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिइएको छ।’

    रातो मच्छिन्द्र नाथको रथयात्रा वैशाख २९ गतेबाट सुरु भएको हो। रातो मच्छिन्द्रनाथ वर्षा र सहकालका देवता हुन्। अन्नका देवता, सहकालका देवता, लोकेश्वर लगायतका नामले रातो मच्छिन्द्रनाथ प्रख्यात छन्।

    पुल्चोबाट रथयात्रा सुरु भएपछि गाबहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई जात्रा सम्पन्न गरिन्छ। त्यसपछि मच्छिन्द्रनाथलाई बुडमती राखेर राखिन्छ। सुन्धाराबाट लगनखेल पुगेपछि नरिवल खसाल्ने परम्परा रहेको छ।

  • इजरायल–हामास वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घीय दूतको आग्रह

    इजरायल–हामास वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घीय दूतको आग्रह

    मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुन: वार्तासुरु गर्न आग्रह गरेका छन्।

    सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावका साथ टेबलमा फर्कनु वेन्नेसल्यान्डले संयुक्त राष्ट्र सुरक्षा परिषद्मार्फत आग्रह गरे।

    तुरुन्तै वार्ता पुनःसुरु नभए राफाहका सङ्कटग्रस्त र निरिह नागरिकका लागि, दुई सय २५ दिनभन्दा बढी अकल्पनीय अवस्थाका बन्धक तथा गाजा पट्टीकिनारको विस्तारित मानवीय कारबाहीका लागि सबैभन्दा खराबीको डर रहेको उनले बताए।

    दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे–९ मा कायरोमा भएको वार्ता सहमति बिनै समाप्त भएको उनले उल्लेख गरे।

    गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबिचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको बिचमा गाजामा अर्को बिनाशको सामना गर्नुपरेको उनको भनाइ छ।

    उनले राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसलगायत अन्य अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर नागरिकको विनाशकारी परिणामको स्पष्ट सङ्केतबीचमा राफाह सैन्य कारबाहीमा गम्भीर आपत्ति जनाए। रासस