Blog

  • अर्थतन्त्रका आसन्न संकट

    अर्थतन्त्रका आसन्न संकट

    हाल विश्व आर्थिक परिदृश्य उदेकलाग्दो हिसाबले विरोधाभासपूर्ण छ। प्रविधि र ऊर्जा क्षेत्रको नेतृत्वका कारण विश्व बजार एकातिर उच्च अल्पकालीन नाफाबाट उत्साहित भएको छ भने अर्काेतिर विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष गत महिना सम्पन्न वसन्त बैठकको मनस्थिति निश्चितरूपमा उदासलाग्दो थियो। सामान्यतया विनम्र हिसाबले प्रस्तुत हुने यी दुई अन्तर्राष्ट्रिय निकायले सो बैठकमा विश्वमा आर्थिक विखण्डनको बढ्दो जोखिमबारे कडा चेतावनी दिएका छन्।

    सार्वभौमसत्ता सम्पन्न विश्वका लगभग दुई सय राष्ट्रले भूराजनीतिक प्रणालीमा अन्तरनिर्भर रहेर विश्वव्यापी अर्थतन्त्रलाई अगाडि बढाउनु भनेको आफँैमा आदर्शवाद हो। यो अनौठो गठजोड सन् १९३० ताका पतन भएको थियो र यो विभाजन दोस्रो विश्वयुद्धको अन्त्य ताकासम्म जारी थियो। तर यो आदर्शवाद मरिसकेको थिएन।

    सुरुदेखि नै, सुरक्षा चासोलाई अर्थतन्त्रबाट सकेसम्म अलग राखिएको थियो तर विशेषगरी सन् १९९० को दशकमा विचारधाराका हिसाबले आमूलरूपमा भिन्न शासन व्यवस्था भएका देशहरू विश्वव्यापी अर्थतन्त्रमा एकीकृत हुन थालेपछि यो झन् महत्वपूर्ण बनेको थियो।

    आपसी सहमतिमा आधारित नियम, साझा अन्तर्राष्ट्रिय संस्था, पारस्परिक सहनशीलता र संकट व्यवस्थापनको आधारमा यसलाई त्यतिबेला पुनर्निर्माण गरिएको थियो। सुरुदेखि नै, सुरक्षा चासोलाई अर्थतन्त्रबाट सकेसम्म अलग राखिएको थियो तर विशेषगरी सन् १९९० को दशकमा विचारधाराका हिसाबले आमूलरूपमा भिन्न शासन व्यवस्था भएका देशहरू विश्वव्यापी अर्थतन्त्रमा एकीकृत हुन थालेपछि यो झन् महत्वपूर्ण बनेको थियो।

    त्यसो हुँदाहुँदै पनि अहिले यो प्रणालीको स्पष्टरूपमा क्षयीकरण हुँदैछ र विश्वव्यापी आर्थिक एकीकरण उल्टो दिशातर्फ उन्मुख छ। मुद्रा कोषकी पहिलो उपप्रबन्ध निर्देशक गीता गोपीनाथले हालै भनेझैँ आर्थिक खण्डीकरणले व्यापारमा दूरगामी प्रभाव पार्न सक्छ। विशेषगरी यसले दक्षता लाभमा ह्रास ल्याउने र बृहत् वित्तीय अस्थिरताको जोखिम बढाउने मानिन्छ। यसैगरी खण्डीकरणले ग्लोबल साउथमा पुँजी प्रवाह घटाउन सक्छ र जलवायु कार्यसहित विश्वव्यापी सार्वजनिक वस्तुहरूको प्रावधानलाई झन् कमजोर बनाउन सक्छ।

    भूमण्डलीकरण विस्तारै भएको परिघटना थियो तर सुरक्षा–प्रेरित चासोका कारण हाल भैरहेको विवैश्वीकरण प्रक्रियाले अन्ततः गम्भीर प्रणालीगत जोखिम निम्त्याउने प्रष्ट छ।

    यस सन्दर्भमा, यो प्रवृत्तिलाई पाँच प्रमुख कारक तत्वले विश्वलाई झन् खण्डीकरणतर्फ डोहोर्‍याइरहेको मान्न सकिन्छ। पहिलो, बढ्दो भूराजनीतिक जोखिमले आपसी अविश्वास बढाएको छ र प्रणालीगतरूपमा महत्वपूर्ण रहेका राष्ट्रहरूलाई एकापसमा सहकार्य गर्ने इच्छाशक्तिलाई कमजोर पारेको छ। नीतिनिर्माताहरूले यसलाई स्वीकार नगरे पनि ताइवान संकट र जारी चीन–अमेरिकी प्रतिद्वन्द्विताले विश्वव्यापी आर्थिक प्रणालीलाई नराम्रोसँग तल झार्न सक्छ।

    दोस्रो, विश्वका प्रमुख देशले सुरक्षा चासोलाई आर्थिक नीतिसँग जोड्न अनुमति दिइरहेका छन् र कतिपयले आफ्ना निवेश, पूर्वाधार र प्रविधिमा रहेको पहुँच सुरक्षित गर्न व्यापक कदम चाल्दैछन्। यो प्रवृत्तिलाई सजिलै बुझ्न सकिने भए तापनि यो विषयमा सम्बद्ध देशहरूले संयम अपनाउनुपर्ने देखिएको छ। भूमण्डलीकरण विस्तारै भएको परिघटना थियो तर सुरक्षा–प्रेरित चासोका कारण हाल भैरहेको विवैश्वीकरण प्रक्रियाले अन्ततः गम्भीर प्रणालीगत जोखिम निम्त्याउने प्रष्ट छ।

    तेस्रो कारक भनेको अन्तर्निहित आर्थिक खण्डीकरणका कारण ग्लोबल नर्थ र ग्लोबल साउथबीच गहिरो दरार उत्पन्न भएको छ। विश्वका धेरै देशले कोभिड–१९ महामारीको विरासतसँग लडिरहेका र जलवायु परिवर्तनसँग लडिरहेका बेला विकासशील अर्थतन्त्रका अत्यावश्यक सार्वजनिक र निजी क्षेत्रको समर्थनमा नाटकीय हिसाबले कमी आएको छ। दशकौँदेखि विकसित अर्थतन्त्रसँग भैरहेको अभिसरण प्रक्रिया हाल अवरुद्ध भएको देखिन्छ र ग्लोबल साउथमा असन्तुष्टि बढ्दै गएको छ।

    इतिहासमै पहिलोपटक आएका बाढी, जंगली आगो तथा खडेरी बढ्दै गएपछि, विश्वका कैयन् देशहरू आगामी केही वर्षमा अस्थिरताको जोखिममा धकेलिएका छन्। उनीहरूलाई विश्वव्यापी सुरक्षा सञ्जाल छैन।

    सन् २०२३ मा विकासोन्मुख देशहरूमा खुद वित्तीय प्रवाह नकारात्मक रहेको छ र सन् २०२४ मा यो प्रवृत्तिमा झन् ह्रास हुँदै गएको देखिएको छ। यही कारण धेरैजसो ग्लोबल साउथ देशहरू मुख्य भूराजनीतिक मुद्दामा पश्चिमलाई समर्थन गर्न अनिच्छुक वा अस्वीकार गरेको बुझ्न सकिन्छ। उदाहरणका लािग युक्रेनमा आक्रमण गरेका कारण रुसविरुद्धको प्रतिबन्धलाई लिन सकिन्छ।

    खण्डीकरणले जलवायु जोखिम र प्रकोपहरूको द्रुत वृद्धिलाई पनि प्रतिविम्बित गर्छ। इतिहासमै पहिलोपटक आएका बाढी, जंगली आगो तथा खडेरी बढ्दै गएपछि, विश्वका कैयन् देशहरू आगामी केही वर्षमा अस्थिरताको जोखिममा धकेलिएका छन्। उनीहरूलाई विश्वव्यापी सुरक्षा सञ्जाल छैन। यसैबीच, हार्वर्ड विश्वविद्यालयका ड्यानी रोड्रिगले औंल्याएझैं, विश्वका कतिपय देश जलवायु परिवर्तनको चुनौती सम्बोधन गर्ने दिशामा भएका प्रगतिलाई गति दिनुको सट्टा हरित प्रविधिमा प्रभुत्व जमाउन प्रतिस्पर्धा गरिरहेका छन्।

    जी–२० समूहको हालै अध्यक्षता गरेका इन्डोनेसियाली, भारतीय र ब्राजिलका अध्यक्षले भनेझैँ ग्लोबल साउथका राष्ट्र अन्तरनिर्भरता र विश्वव्यापी सुशासनका लागि प्रतिबद्ध रहेका छन्।

    अर्काे कारक तत्व भनेको कृत्रिम बौद्धिकता (एआई)को तीव्र विकास हो। यो प्रविधिको विकास र नियमनमा विश्वव्यापी सहयोग हुनुपर्नेमा राष्ट्रिय प्रतिस्पर्धा चर्काे छ। एमआइटीका डारोन एसमोग्लु र साइमन जोन्सनले उल्लेख गरेझैँ एआईले रोजगारी सिर्जना गर्छ भन्ने कुरा सुनिश्चित गर्न नियम, नीति र संस्था आवश्यक हुन्छन्।

    एआईका नियामक प्रयासमा ग्लोबल साउथको चासोलाई पनि समेट्नुपर्छ। विश्वव्यापी आर्थिक प्रणालीसँग अझै पनि लचिलो हुन सक्ने धेरै स्रोत र संभावना रहेका छन्।

    जी–२० समूहको हालै अध्यक्षता गरेका इन्डोनेसियाली, भारतीय र ब्राजिलका अध्यक्षले भनेझैँ ग्लोबल साउथका राष्ट्र अन्तरनिर्भरता र विश्वव्यापी सुशासनका लागि प्रतिबद्ध रहेका छन्। यसबाहेक, निजी क्षेत्र अझै पनि अन्तरनिर्भरतामा आधारित छ। हामीसँग अझै पनि समर्पित अन्तर्राष्ट्रिय संस्थाहरू छन्, विश्वव्यापी शिक्षा सञ्जाल छ र विश्वव्यापी नागरिक समाज छ। तर आगामी दिनमा आउन सक्ने खतरालाई कम आँक्नु हुँदैन।

    मानव अस्तित्वमा समेत देखिएको जोखिम सम्बोधन गर्ने क्षमता विकासमा त झन् उनीहरूको प्रतिबद्धता देखिँदैन। तर इतिहास, आर्थिक सिद्धान्त र विद्यमान प्रमाणले यो प्रवृत्ति गलत हो भनेर प्रष्ट संकेत गर्दछन्।

    आउने महिना र वर्षमा थप झट्का र संकटका शृंखला बढ्न सक्ने प्रबल संभावना छ। यो अवस्थामा विश्व नेतृत्वले प्रतिद्वन्द्वीलाई निस्तेज पार्न जस्तालाई त्यस्तै (टिट फर ट्याट) नीति अख्तियार गरेमा एकीकृत विश्वव्यापी अर्थतन्त्र झन् संकटमा धकेलिनेछ। यसले आर्थिक पीडासँगै आगामी दिनमा सामाजिक उथलपुथल हुन सक्ने र यसले साझा विश्वव्यापी नियमहरूको परित्यागको बाटो खुल्न सक्छ।

    हाल, जसरी विश्वका नेताहरू युद्ध, शक्ति संघर्ष, सामाजिक तनाव र राजनीतिक धुव्रीकरणतर्फ उद्यत छन्, उनीहरू एकीकृत विश्वव्यापी अर्थतन्त्रलाई बचाउनका लागि लगानी गर्न धेरै हदसम्म अनिच्छुक देखिन्छन्। मानव अस्तित्वमा समेत देखिएको जोखिम सम्बोधन गर्ने क्षमता विकासमा त झन् उनीहरूको प्रतिबद्धता देखिँदैन। तर इतिहास, आर्थिक सिद्धान्त र विद्यमान प्रमाणले यो प्रवृत्ति गलत हो भनेर प्रष्ट संकेत गर्दछन्। वैश्विक आर्थिक र वित्तीय प्रणाली आंशिकरूपमा मात्र पतन हुँदा पनि यसले ठूलो संकट निम्ताउनेछ। यसले वैश्वि क सार्वजनिक क्षेत्रमा हुने लगानीलाई पनि कमजोर बनाउनेछ।

    यो सहयोगले सामूहिक सुशासनको सुनिश्चतता, एआइले निम्त्याउने जोखिम न्यूनीकरण, जलवायु परिवर्तनलाई सम्बोधन तथा विश्वव्यापी आर्थिक प्रणालीलाई पतन हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

    आफ्नो देशमा बढ्दो आप्रवासका कारण चिन्तामा रहेका राजनीतिज्ञले हेक्का राख्नुपर्ने पक्ष के हो भने उनीहरूले जलवायु परिवर्तनसँग लड्न, मरुभूमीकरण रोक्न, गरिबी घटाउनमा प्राथमिकता दिनुपर्दछ। त्यसो नगरेमा भविष्यमा मेडिटेरियन सागर पार गर्न चाहने भीड लाखौँको हुन सक्छ। हो, राष्ट्रिय सुरक्षा प्राथमिकतामा पर्नुपर्दछ तर सँगसँगै विश्वव्यापी सार्वजनिक वस्तुमा लगानी बढाउन आवश्यक छ। यो विषयमा प्रतिद्वन्द्वी राष्ट्रका बीच पनि संवाद हुन आवश्यक छ।

    यही उद्देश्य हासिल गर्न विश्वका नेताहरूले जि–२० समूह तथा अन्य बहुपक्षीय निकायहरूको सहयोग लिन सक्छन्। यो सहयोगले सामूहिक सुशासनको सुनिश्चतता, एआइले निम्त्याउने जोखिम न्यूनीकरण, जलवायु परिवर्तनलाई सम्बोधन तथा विश्वव्यापी आर्थिक प्रणालीलाई पतन हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

    – बाड्रे विश्व बैंकका पूर्वप्रबन्ध निर्देशक हुन। तिबरघिन ब्रिटिस कोलम्बिया विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हुन्।

    (प्रोजेक्ट सिन्डिकेटबाट)

  • पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजदेखि

    पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजदेखि

    काठमाडौंमा आजदेखि सुरु हुने पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा भुटान र बंगालादेशका मन्त्री तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को वैज्ञानिक तथा प्राविधिक विषयका लागि परामर्श निकाय (एसबिएसटिए) का अध्यक्ष सहभागी हुने भएका छन्।

    यो सम्मेलनमा भाग लिन बंगालादेशका वातावरण, वन तथा जलवायुमन्त्री सबेर होसैन चौधरी र भुटानका कृषि तथा पशुपक्षीमन्त्री योन्तेन फुन्टसो सहभागी हुन नेपाल आइसकेका छन्। यसैगरी एसबिएसटिएका अध्यक्ष हेरी भिरुयल्सले पनि यो सम्मेलनमा भाग लिँदैछन्।

    सम्मेलनको पूर्वसन्ध्यामा हिजाे दुवै मन्त्री तथा एसबिएसटिएका अध्यक्ष भिरुयल्सले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। जेठ ९ र १० गते काठमाडौंको चन्द्रागिरिमा हुने तथा ‘इन्टरनेसनल डायलग अन माउन्टेन, पिपुल एन्ड क्लाइमेट’ नाम दिइएको यो संवादमा नेपाललगायत २५ देशका २०० प्रतिनिधि सहभागी हुनेछन्।

    जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे छलफल गर्ने, पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने उद्देश्य यो सम्मेलनको छ।

    जलवायु परिवर्तनले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा पारिरहेको नकारात्मक प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आवाज उठाउँदै आएको छ।

    गत वर्ष दुबईमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप- २८) ले पहिलोपटक पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई सम्बोधन गर्ने विषयमा पहल गर्ने निर्णय लिएको थियो।

    दुबई सम्मेलनले एसबिएसटिएको ६०औं बैठकमा पर्वत र जलवायु परिवर्तन विषयमा विज्ञ तहमा छलफल गर्न निर्देशन दिएको थियो। सो निर्देशनअनुरूप जुन पहिलो साता जर्मनीको बोनमा हुने लागेको बैठकको पूर्वसन्ध्यामा नेपालमा पर्वतीय संवाद हुन लागेको हो।

    नेपालमा आयोजित संवादको निष्कर्षलाई एसबिएएसटिएका अध्यक्ष भिरुयल्सलाई हस्तान्तरण गर्ने तयारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार उद्घाटन गर्ने यो संवाद जलवायु विज्ञान तथा पर्वतीय प्रमाण, पर्वतीय समाधान र साझा विषयवस्तु, पर्वतीय संसाधन र अवसरलगायत प्रमुख विषयमा केन्द्रित हुनेछ।

  • आठ वर्षमुनिका १४ लाखलाई पोलियो खोप

    आठ वर्षमुनिका १४ लाखलाई पोलियो खोप

    तपाईंका घरमा २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका छन् ? सो अवधिमा जन्मिएकामध्ये धेरैको पोलियोविरुद्धको खोप छुटेको हुन सक्छ।

    सरकारले त्यस्ता बालबालिकाका लागि जेठ १३ देखि दुई साता देशैभरि खोप अभियान सञ्चालन गर्दै छ। नजिकैको खोप केन्द्रबाट आफ्ना बालबालिकालाई खोप दिलाउन परिवार कल्याण महाशाखाको खोप शाखाले सम्बन्धित सबैलाई अपिल गरेको छ।

    जेठ १३ देखि २६ सम्म दुई साता चल्ने अभियानका क्रममा पहिला छुटेका आठ वर्षमुनिका बालबालिकालाई नछुटाउन अपिल गरिएको हो। ‘यो खोप अभियान छुटेकाहरूका लागि मात्र हो। कोही बालबालिका नछुटून् भन्ने उद्देश्य हो,’ परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले भने।

    खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार सरकारले २०७१ सालदेखि पोलियोविरुद्ध सुईबाट खोप दिन थालेको हो। यसअघि सुईका साथै मुखबाट पनि थोपाजन्य खोप दिइँदै आएको थियो। पोलियोबाट बच्न यी दुवैखाले खोप लगाउनुपर्ने डा. गौतमले बताए।

    २०७३ वैशाखदेखि २०७५ असोजभित्रको अवधिमा विश्वभरि मागअनुसार उत्पादन हुन नसकेपछि विश्वभरि खोप अभाव भएको थियो। सो अवधिमा खोप आपूर्ति हुन नसकेपछि नेपालले पनि सबै बालबालिकालाई पूरा खोप दिन सकेन नै। २०७४ सालमा एक जनाले पनि खोप लिन पाएनन्।

    सो अवधिमा जन्मिएका बालबालिका पोलियोको खोप लिनबाट छुटेकाले सरकारले ‘आइपिभी खोप अभियान- २०८१’ नै चलाएर योे छुटेकालाई दिने निर्णय गरेको हो। छुटेकालाई खोप दिन सरकारले २०७९ सालमै अन्तर्राष्ट्रिय खोप अभियान संस्था गाभीसँग पहल गरेको थियो। सरकारको २५ प्रतिशत र बाँकी ७५ प्रतिशत गाभीको लगानीमा खोप नेपाल आइपुगेको हो।

    नेपालमा सन् २०१० मा अन्तिम पटक महोत्तरीमा पोलियो देखिएको थियो। त्यसपछि नदेखिए पनि नेपालका छिमेकी राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र विश्वका अन्य मुलुकमा अहिले पनि पोलियो संक्रमण देखा परेकाले नेपालसमेत जोखिममा रहेको र विश्वभरिबाट उन्मूलन हुन नसकेकाले पोलियोे खोप नियमित रूपमा बालबालिकालाई दिइँदै आएको डा. गौतमले जानकारी दिए।

    तथ्यांकअनुसार पछिल्लो वर्ष पाकिस्तान र अफगानिस्तानमा पाँच÷पाँच जना पोलियो संक्रमित फेला परेका छन्। अफ्रिकी मुलुकमा ठुलो संख्यामा पोलियो भेटिएको छ। डा. गौतमका अनुसार एक देशबाट आवातजावात हुने क्रममा यो सर्ने जोखिम भएकाले नेपाल पनि यसको जोखिममा रहेको छ। ‘बिफरजस्तै विश्वबाट उन्मूलन नभएसम्म हामी पनि जोखिममा हुन्छौं,’ उनले भने।

    साढे १४ लाख बढीलाई खोप

    अभियानका क्रममा १६ लाख २४ हजार डोज खोप प्रयोग हुने खोप शाखाले जनाएकोे छ। गाभी र नेपाल सरकारको लगानीमा ३२ करोेड मूल्यमा खोप ल्याइएको हो। पोलियोविरुद्धको खोप अभियानमा १४ लाख ६२ हजार ७१२ जनालाई यो खोप दिने लक्ष्य सरकारले लिएको छ। नेपालभरिमा ८ हजार ५९० जना स्वयंसेवक, ५ हजार १८८ वटा खोप केन्द्र र ४० हजार २९५ स्वास्थ्यकर्मी खोप अभियानमा परिचालित हुनेछन्।

    यसरी सर्छ पोलियो

    चिकित्सकका अनुसार पोलियो भाइरसबाट सर्ने संक्रामक रोग हो। यो मानिसको दिसाबाट दूषित बनेको पानी तथा खानेकुराबाट सर्छ। संक्रमित व्यक्तिको दिसा वातावरणमा भए अरूलाई सजिलै पोलियो सर्ने सम्भावना हुन्छ।

    यो रोेग सर्ने जोखिम पाँच वर्षमुनिका बालबालिकामा बढी हुन्छ, तर जुनसुकै उमेरमा पनि यो रोग देखा पर्न सक्छ। यो रोग लागे पक्षाघात हुन्छ। यसको कुनै उपचार हुन्न। कतिपय अवस्थामा यो रोग लाग्नेको मृत्युसमेत हुन सक्छ।

  • असंसदीय आलाप

    असंसदीय आलाप

    गएको सोमबार नेपालको संसदीय राजनीतिका लागि सम्झनेबार बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मात्र होइन, विपक्षी सबै दलहरूले संसद्मै उभिएर विरोध गरिरहेका बेला मार्सलको बलमा जस्केलाको बाटो हुँदै विश्वासको मत लिएका छन्। संसदीय अंकगणितका दृष्टिले उनैले विश्वासको मत पाउनेमा कुनै संशय थिएन तर उनले विश्वासको मत लिन जुन संसदीय प्रक्रिया र मर्यादा उल्लंघन गरे, त्यो लोकतान्त्रिक संसदीय अभ्यासको प्रतिकूल थियो भन्नुमा कुनै ‘यदि र तर’को शंका छैन।

    संसदीय शासनव्यवस्थामा सरकार बहुमतको र संसद् विपक्षीको मानिन्छ। विपक्षीले उठाएका विषयलाई सम्बोधन गरेर मात्र संसद्को कारबाही अघि बढाउनुपर्ने मान्यता राखिन्छ। र, यही नै संसदीय शासन व्यवस्थाको सौन्दर्य ठानिन्छ। तर, सोमबारयता प्रतिनिधिसभा स्वयंले यस्तो लोकतन्त्रिक पद्धतिमा प्रश्न गर्ने ठाउँ दिइरहेको छ। यसको पृष्ठभूमिमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छ।

    हजारौं नागरिकले विभिन्न सहकारीमा बचत गरेको रकम दुरूपयोग भएको प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ। त्यसलाई निष्कर्षमा पुर्‍याउन मुलुकको कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्री दाहालले आवश्यक पहलकदमी लिनुपथ्र्यो। सभामुखले संसद् खुलाउने हरसम्भव यत्न गर्नुपथ्र्यो। तर, यसो गरिएन।

    सत्ता गठबन्धनले आफ्नै शर्तसहितको कार्यादेश मान्य भए मात्र संसदीय छानबिन समिति बनाइने प्रस्तावमा जोडबल गरिरहे जबकि यस्तो समितिको माग प्रतिपक्षको थियो। यसबारे पर्याप्त छलफलसमेत हुन नपाउँदै प्रधानमन्त्रीले जसरी हुन्छ विश्वासको मत लिएरै छाड्ने अड्डी कसे। परिणामः देशको इतिहासमै प्रधानमन्त्रीले पाउने विश्वासको मतमा संसद्मा जर्बजस्ती भयो, जसबाट प्रधानमन्त्रीले पाएको गणितीय विश्वासमाथि नै एकखाले अविश्वास उत्पन्न गरायो।

    संसद्मा भएको यो प्रहसनबाट प्रधानमन्त्री र सभामुख दुवैको नियतप्रति प्रशस्त आशंका उब्जाएको छ। कांग्रेससहित विपक्षी दलले सत्तापक्षमा निरंकुश मनोवृत्ति बढ्दै गएको र सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र बैठक सञ्चालन नियमावलीविपरीत यसलाई साथ दिएको निष्कर्ष निकालेको छ। तर, प्रधानमन्त्री र सत्ता गठबन्धनको प्रमुख दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विचारमा प्रधानमन्त्रीलाई विश्वासको मतसमेत लिन नदिएर कांग्रेस लगायतका दलहरूले घोर अलोकतान्त्रिक काम गरेको आरोप लगाएका छन्।

    विश्वासको मत हासिल गरिसकेपछि होहल्लाबीच संसद्मा बोल्दै प्रधानमन्त्रीले आक्रोशपूर्ण स्वरमा यो अवरोधको नेपाली कांग्रेसले ठुलो मूल्य चुकाउने दोहोर्‍याए। कांग्रेसको सोमबारको गतिविधि नेपालको इतिहासमा कलंकका रूपमा स्थापित हुने पनि उनको भनाइ थियो। तर, जवाफमा कांग्रेसले दाहाललाई गैरसंसदीय हिंसात्मक राजनीतिबाट कांग्रेसले नै शान्तिपूर्ण राजनीतिमा ल्याएकाले यसखाले अर्ती नदिन स्मरण गराएको छ।

    असल संसदीय अभ्यासको हुर्मत लिने काममा प्रधानमन्त्री मात्र छैनन्, उनका सहयात्री उपप्रधान तथा गृहमन्त्री लामिछाने पनि सक्रिय छन्। सहकारी ठगी प्रकरणमा कांग्रेसलगायतका दलले लगाएको आरोप र संसदीय छानबिन समितिबारे जवाफ दिन आइतबार संसद्मा बोल्दै लामिछाने असंयमित र असन्तुलित मात्र देखिएनन्, संसदीय मर्यादाबाट समेत च्युत देखिए। गृहमन्त्रीकै हैसियतमा विपक्षी नेताहरूविरुद्ध संसद्बाटै अप्रमाणित र अफवाहमिश्रित आरोप लगाइरहँदा उनमा ग्लानि होइन, अहंकार देखिन्थ्यो। र, प्रधानमन्त्रीकै शैलीमा उनी पनि नेताहरूलाई भ्रष्टाचारका मुद्दामा अनुसन्धान गर्ने धम्की दिइरहेका देखिन्थे। रोचक त के भने, लामिछानेले आफूलाई यस्तै रूपमा स्वीकार्न बरोबर निर्देशन दिइरहेका देखिन्थे, जस्तो उनी टेलिभिजन कार्यक्रमका प्रस्तोता थिए। लामिछानेले संसद्मा आफ्नो चरित्रचित्रणका लागि सिद्धिचरण श्रेष्ठको रचना र दीप श्रेष्ठको स्वर रहेको ‘आमा, तिनीहरूले जेसुकै भनून्, म बहुला होइन्’ भन्ने गीतको उद्धरण गरे पनि दम्भले भरिएको भाषण सुन्दा भने उनमा गिरीश खतिवडाको गीत ‘म यस्तो छु, म त्यस्तो छु, जस्तोसुकै भए पनि दामी छु, चारैतिर म नामी छु, तालपरेमा हरामी छु’ प्रतीत हुन्थ्यो।

    विगत जस्तोसुकै भए पनि जनप्रतिनिधि भइसकेपछि आफूलाई संसदीय प्रक्रिया र मर्यादामा ढाल्नुपर्छ। जनअपेक्षामा खरो उत्रनुपर्छ तर यसविपरीत लोकतन्त्र, यसका संस्थाहरू, विधि र प्रक्रियाहरूमाथि धावा बोल्ने यसखाले प्रवृत्ति स्वीकार्य हुनसक्तैन। कि भन्नुपर्छ– मलाई, मेरो दललाई यो व्यवस्था स्वीकार्य छैन, लोकतन्त्र मान्य छैन। नत्र यही व्यवस्थाको मानोचामल खाएर, जनताको करबाट पालिएर संसदीय व्यवस्थाकै पवित्रस्थल संसद्को गरिमामाथि धावा बोल्नु किमार्थ सह्य हुनसक्तैन। दलहरूले बुझ्नुपर्छ– संसद् तपाईंको प्रहसन स्थल होइन।

  • कोलकोत्ता चौंथोपटक फाइनलमा, पराजित हैदरावादसँग एक मौका बाँकी

    कोलकोत्ता चौंथोपटक फाइनलमा, पराजित हैदरावादसँग एक मौका बाँकी

    कोलकोत्ता नाइट राइडर्स १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइलनमा पुगेको छ।

    गयराति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकोत्ताले चौंथो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो।

    टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हैदरावादले खराब प्रदर्शन गर्दै निर्धारित ओभरमा १५९ रन मात्रै बनाउन सक्यो। १६० रनको लक्ष्यसहित मैदान उत्रेको कोलकोत्ताले १३.४ ओभर खेल्दै जम्मा २ विकेट गुमाएर जित हासिल गर्यो।

    जितसँगै कोलकोत्ता फाइनलमा पुग्ने पहिलो टोली बनेको छ भने पराजित हैदरावादसँग एउटा मौका अझै छ फाइनलमा पुग्ने। हैदरावादले एलिमिनेटरमा विजेता बनेको टोलीसँग फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ।

  • बुधबार ललितपुर महानगरमा स्थानीय बिदा

    बुधबार ललितपुर महानगरमा स्थानीय बिदा

    ललितपुर महानगरले बुधबार महानगरमा स्थानीय बिदा दिएको छ।

    महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा बुधबार नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिएको हो।

    महानगरको नगर कार्यपालिकाको वैशाख १८ गते बसेको बठैकले नरिवल खसाल्ने दिन बिदा दिने निर्णय गरेको थियो।

    महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठद्धारा मंगलबार जारी सूचनामा बुधबार बिदा दिने उल्लेख गरिएको छ।

    सूचनामा भनिएको छ, ‘महानगरपालिका मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथयात्रा रथ तान्ने क्रममा नरिवल खसाल्ने दिन उल्लेख्य भक्तजनको उपस्थिति हुने र धार्मिक महत्वको दिन भएकाले विदा दिने निर्णय भए बमोजिम ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिइएको छ।’

    रातो मच्छिन्द्र नाथको रथयात्रा वैशाख २९ गतेबाट सुरु भएको हो। रातो मच्छिन्द्रनाथ वर्षा र सहकालका देवता हुन्। अन्नका देवता, सहकालका देवता, लोकेश्वर लगायतका नामले रातो मच्छिन्द्रनाथ प्रख्यात छन्।

    पुल्चोबाट रथयात्रा सुरु भएपछि गाबहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई जात्रा सम्पन्न गरिन्छ। त्यसपछि मच्छिन्द्रनाथलाई बुडमती राखेर राखिन्छ। सुन्धाराबाट लगनखेल पुगेपछि नरिवल खसाल्ने परम्परा रहेको छ।

  • आँधीका कारण सिङ्गापुर एयरलाइन्सको विमानमा भीषण ‘टर्बुलेन्स’, एक जनाको मृत्यु, ३० घाइते

    आँधीका कारण सिङ्गापुर एयरलाइन्सको विमानमा भीषण ‘टर्बुलेन्स’, एक जनाको मृत्यु, ३० घाइते

    लन्डनबाट सिङ्गापुर तर्फ जाँदै गरेको सिङ्गापुर एयरलाइन्सको बोइङ ७७७ विमानमा भीषण ‘टर्बुलेन्स’ का कारण एक यात्रुको मृत्यु भएको छ।

    टर्बुलेन्सका कारण नियमित उडान सम्भव भएपछि विमानलाई बैङ्ककमा आपत्कालीन अवतरण गराइएको छ। विमानले लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेको थियाे। सिङ्गापुर एयरलाइन्सका अनुसार बाटोमा भीषण टर्बुलेन्सको सामना गर्नुपरेपछि विमानलाई आपत्कालीन अवतरण गराइएको हाे।

    ‘विमानमा कूल दुई सय ११ यात्रु र चालक दलका १८सदस्य सवार थिए। जस मध्य एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते छन्।’ घाइतेहरूको अवस्थाबारे केही उल्लेख नगरी एयरलाइन्सले विज्ञप्ति मार्फत भनेको छ, ‘१८ जनालाई अस्पतालमा भर्ना गरिएको छ, अन्य १२ जनाको उपचार भइरहेको छ।’

    एयरलाइन्सले यात्रु तथा चालक दलका सदस्यहरूले भोग्नुपरेको पीडादायी अनुभवका लागि क्षमायाचना गरेकाे छ।

    विमान अन्डमान सागरमाथि मात्र पाँच मिनेटमा एक हजार आठ सय मिटर (छ हजार फिट) देखि तल झरेको उडान ट्र्याकिङ डाटाबाट पत्ता लागेको छ।

    थाइल्यान्डमा वर्षा जारी रहेकाले केही भागमा आँधी आएको बेला यो घटना भएको बताइएको छ।

    ‘दिउँसो ३ः३५ बजे विमानस्थललाई सिङ्गापुर एयरलाइन्सको उडानबाट सङ्कटपूर्ण कल प्राप्त भयो, कलमा विमानमा यात्रु अशान्तिका कारण घाइते भएको र आपत्कालीन अवतरणका लागि अनुरोध गरिएको थियो’, सुवर्णभूमि विमानस्थलले विज्ञप्तिमा भनेको छ, ‘विमान विमानस्थलमा अवतरण भयो र सबै घाइतेको उपचारका लागि चिकित्सकीय टोली पठाइयो।’

    विमानस्थलको विज्ञप्तिमा मृतक विदेशी अर्थात् गैरथाई रहेको बताइएको छ। सिङ्गापुरका यातायातमन्त्री चि होङ ट्याटले फेसबुक पोस्टमा यस घटना दुखद भएको र मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण: निर्देशक विकल पौडेल दोषी ठहर, २ वर्ष कैद

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण: निर्देशक विकल पौडेल दोषी ठहर, २ वर्ष कैद

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दुई वर्ष कैद र २५ करोड ४७ लाख जरिवाना हुने भएको छ।

    विशेष अदालतले मंगलबार पौडेललाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर गर्दै सो जरिवाना तोकेको हो।

    न्यायाधीश द्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठले इजलासले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोडभन्दा बढी अनियमितता गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललगायतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    सो प्रकरणमा अदालतले ४ जनालाई कैद सजाय र जरिवाना तथा ५ जनालाई सफाइ दिइएको छ।

  • नेपालगन्जमा २४ घण्टा विद्युत् अवरुद्ध

    नेपालगन्जमा २४ घण्टा विद्युत् अवरुद्ध

    पश्चिमको प्रमुख औद्योगिक क्षेत्र नेपालगन्जमा हावाहुरीका कारण झन्डै दुई सय वटा विद्युत् पोलमा क्षति पुग्दा २४ घण्टा विद्युत् सेवा अवरुद्ध भएको छ।

    सोमबार साँझ आएको हावाहुरीका कारण ठाउँ ठाउँमा पोलहरु ढल्दा, भाँचिँदा र पोल तथा तारमा रुखहरु ढल्दा विद्युत् सेवा अवरुद्ध भएको हो। सोमबार साँझदेखि अवरुद्ध भएको विद्युत् मंगलबार साँझदेखि सुचारु भएको छ।

    हावाहुरीका कारण सबैभन्दा बढी खजुरामा रहेका विद्युत् पोलहरु ढलेका थिए। यहाँ ६५ भन्दा बढी विद्युत्का पोलहरु ढलेका नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।

    कर्णालीबाट बर्दियाको मैनापोखर हुँदै मानखोला–खजुरा–जानकी–नेपालगन्ज हुँदै नरैनापुरसम्म हावाको गति हुँदा यस क्षेत्रमा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र नेपालगन्जका प्रमुख जगननाथ लामिछानेले जानकारी दिए। नेपालगन्ज सहरी क्षेत्रभित्र मात्रै १५ वटा विद्युत् पोल ढलेका छन्।

    ‘सुरुमा कोहलपुरस्थित ट्रान्सफरमा क्षति पुग्यो,’ उनले भने, ‘त्यसपछि जताततै विद्युत् गयो। विद्युत् अवरुद्ध भएपछि विद्युत् पोलहरु ढले।’ ‘यदि कोहलपुरको ट्रान्सफरमा क्षति नभएको भए सहरी क्षेत्रभित्रको पोल ढल्दा धेरै क्षति हुनसक्थ्यो,’ उनी भन्छन्, ‘पहिला नै बत्ती अवरुद्ध हुँदा राम्रो भयो।’

    एयरपोर्ट र कारकाँदो क्षेत्रमा बुधबारसम्म विद्युत् लाइन सुचारु हुने उनले बताए। ‘ती ठाउँमा जति सकिन्छ छिटो विद्युत् लाइन सुचारु गर्न लागिरहेका छौं,’ उनले भने, ‘मंगलबार साँझसम्म नभए बुधबारसम्म सुचारु हुन्छ।’

    राप्तीरपारि भने एक÷दुई दिनसम्म विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।

    राप्ती नदीमा रहेका आठवटा पोल ढल्दा यस क्षेत्रमा विद्युत् अवरुद्ध छ। ‘नदी करिब दुई सय ५० मिटर चौडा छ,’ नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले भने, ‘त्यति लामो दुरीमा विद्युत् तार तन्काउन पनि समस्या छ। यस क्षेत्रमा बुधबारदेखि लाइन सुचारुको काम सुरु हुनेछ।’

    लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा उद्योग, व्यवसाय, अस्पताल, बैंकलगायतका क्षेत्र प्रभावित भएका थिए। अत्यधिक गर्मी हुने नेपालगन्जमा विद्युत् अवरुद्ध हुँदा सास्ती खेप्नु परेको नेपालगन्ज–१८, कारकाँदोका केपी बञ्जाडाले बताए।

    हावाहुरीका कारण बाँकेका के कति घरमा क्षति पुगेका त्यसको सूचना संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जनाए।

    उनका अनुसार हावाहुरीबाट आठजना घाइते भएका छन्। जसमध्ये एकजना गम्भीर घाइते छन्।

    ‘हावाहुरीका कारण कति घरमा कति क्षति भएको भन्नेबारे सूचना संकलन भइरहेको छ,’ उनी भन्छन्, ‘अझ बढी खेतीपातीमा क्षति पुगेको छ।’ टेलिफोनसमेत प्रभावित भएको उनी बताउँछन्।

  • माननीयको मनोमानी: विपन्नको अनुदानमा सम्पन्नको रजाइँ

    माननीयको मनोमानी: विपन्नको अनुदानमा सम्पन्नको रजाइँ

    कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्न परिवारका लागि भनेर पठाएको अनुदानमा सम्पन्न परिवारले रजाइँ गरेको तथ्य फेला परेको छ।

    कालीकोटका गरिब तथा विपन्न नागरिकको आर्थिक अवस्था सुधार गर्नका लागि दिइँदै आएको अनुदान ‘माननीयकै मनोमानी’ मा सम्पन्नको हातमा परेको हो।

    तीन महिनादेखि ६ महिनासम्मका लागि पुग्ने खाद्यान्न प्रदेश सरकारले अनुदान रुवरुप पठाउँदै आएको छ। यसरी पठाइने खाद्यान्न कार्यविधिमा भए बमोजिम नै पठाउनु पर्ने हुन्छ। तर कार्यविधि नै छलेर माननीय नै मनोमानी अनुसार खाद्यान्न वितरण हुँदै आइरहेकाे छ।

    कालिकोट निर्वाचन क्षेत्र (ख) का प्रदेश सभा सांसद हिक्मतबहादुर विष्टको सिफारिसमा सरकारले सो अनुदान गरिब परिवारका लागि पठाएको थियो।

    जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतका अनुसार विष्टले सो अनुदान वितरणको जिम्मा स्थानीय प्रेमबहादुर फडेरालाई दिएका थिए।

    फडेरा सांसद विष्टका नजिकका पात्र हुन्। साथै उनी नरहरिनाथ गाउँपालिका–५ का पूर्व वडाध्यक्ष गगनबहादुर फडेराको दाइ समेत हुन्।

    कृषि विकास कार्यालयका प्रमुख बस्नेत भन्छन् ‘जनप्रतिनिधिले सिफारिस गरेपछि कार्यालयले अनुदान रकमका लागि सम्झौता गर्ने गर्छ। प्रदेश सभा सदस्य हिक्मत विष्टको सिफारिसमा नरहरिनाथ गाउँपालिका–५ का पूर्व वडाध्यक्ष गगनबहादुर फडेरा (सिर्जन) का सहोदर दाइ प्रेमबहादुर फडेरालाई दिइएको छ।’

    प्राप्त अनुदान फडेराले वितरण गरेकाहरू मध्य अधिकांश विपन्न भने छैनन्। विपन्न लक्षित वर्ग विशेष कार्यक्रम संचालन समिति गठन गरि सिमी खेतीका लागि उक्त अनुदान रकम नजिकका पात्रहरूलाई दिइएको छ।

    गरिब तथा विपन्न परिवारलाई आएको रकम सम्पन्न परिवारलाई दिन नहुने नरहरिनाथ गाउँपालिकाका एक नेता बताउँछन्।

    ‘प्रेम फडेरा आफैमा सम्पन्न परिवारको सदस्य हुन्, अहिले पनि उनीसँग धेरै श्री सम्पत्ति छ। तर सरकारी अनुदान पनि उनैलाई दिनु गलत हो।’ उनले भने।

    नरहरिनाथ गाउँपालिका–५ का सम्पन्न परिवारको सदस्य प्रेम फडेराले अनुदान पाउनु नितान्त गलत भएको उनको भनाइ छ। ‘पावर र पहुँचको आधारमा गरिब तथा विपन्नका लागि आएको अनुदान रकम सम्पन्नले पाएका छन्। यो सरासर गलत हो।’ उनले भने।

    यता प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टले उनी खान लाउन नपुग्ने भएकाले नै छनोटमा पारेको दाबी गर्छन्। उनले कार्यविधि अनुसार नै छनोटमा परेको सुनाए।

    अनुदान पाउनेमा फडेराको अध्यक्षतामा १४ जना सम्पन्न परिवारका रहेका छन्। अहिले पनि कर्णालीका गरिब र विपन्न परिवारले विपन्नको रकम पाउन सकेका छैनन्। नेता तथा माननीयका आफन्तले अनुदानसहित सो रकम पाउने गरेका छन्।