कांग्रेस नेता जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ

कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलवार उनीविरुद्धको मुद्दाको पेशी तोकिए पनि सुनुवाइ हुन नसकेपछि हेर्दाहेर्दैमा राखिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि सर्वोच्चमा जोशीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।

अख्तियारले २०६० सालको पुस १८ गते पूर्वमन्त्री जोशीविरुद्ध ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट यो मुद्दा २०७० सालको साउन १५ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो । दर्ता भएको ११ वर्षपछि बल्ल सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु भएको हो।

पूर्वमन्त्री जोशीको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *