Blog

  • नेपाल एटिएफ यु–१२ टेनिसमा पराजित

    नेपाल एटिएफ यु–१२ टेनिसमा पराजित

    नेपाल घरेलु मैदानमा जारी एटिएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा पराजित भएको छ। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा मंगलबार नै नेपालको बोइज र गल्र्स टिम पराजित भएको हो।

    नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल बोइजमा पाकिस्तानसँग र गल्र्समा भारतसँग पराजित हुन पुग्यो। यसअघि पहिलो दिन पनि नेपालको बोइज टिम श्रीलंकासँग ३–० तथा गल्र्स टिम बंगलादेशसंग २–० ले पछि परेको थियो। दोस्रो दिन पनि नेपालले बोइजमा पाकिस्तानसँग ३–० को हार बेहोर्‍यो।

    सिंगल्समा नेपालका विश्वविशेष डल्लाकोटी रसिद अलीसँग ६–३ र ६–० पराजित भए। अर्को सिंगल्समा मुहम्मद सायनले नेपालका निश्चल ज्ञवालीलाई ६–१ र ६–१ को सोझो सेटमा हराए। डबल्समा सायन र जुनैद खान मुहम्मदको जोडीले नेपालका विश्व र साहनवाज आलमको जोडीलाई सीधा सेटमा ६–१ र ६–० ले हरायो। बोइजमै भारतले माल्दिभ्स तथा श्रीलंकाले भुटानलाई समान ३–० को नतिजामा पन्छाए ।

    भारतले गल्र्समा दोहोरो जित निकालेको थियो। यस क्रममा गल्र्समा भारतले नेपालमाथि ३–० को जित दर्ता गर्‍यो । सिंगल्समा सृष्टि किरणले नेपालकी आयुशा जिसीलाई ६–० र ६–० तथा खुसी कडियनले नेपालकी अनुश्री धोजुलाई ६–२ र ६–० को सोझो सेटमा पन्छाए। डबल्समा सरेना घलोट र सृष्टि किरणको जोडीले नेपालका अनुश्री ध्वजु र सारा पन्तको जोडीलाई ६–१ र ६–० ले पराजित गर्‍यो।

  • ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

    ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

    गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ।

    मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो।

    प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाहरूका लागि मङ्गलबार साँझ नै परिपत्र पठाइसकिएको जानकारी दिए।

    उनले लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई–मधेसका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको बताए। परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ।

    सन्देश बनाउँदा स्थानीय भाषा, स्थानीय कलाकार, स्थानीय लवज, स्थानीय पहिरन तथा आधिकारिक निकायका व्यक्तिलाई प्रयोग गर्न पनि भनिएको छ।

    एउटा सन्देश रेडियोको हकमा एक मिनेट र भिडियो हो भने दुई मिनेटभन्दा लामो नबनाउन, स्थानीय परिवेशअनुसार महत्त्वपूर्ण लागेका सन्देश धेरै जनालाई माध्यम बनाएर उत्पादन र प्रसारण गर्न, विपद् व्यवस्थापनमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाको सहायता लिएर उनीहरु स्वयंको सामाजिक सञ्जाल र प्रसारण माध्यमबाट पनि प्रचारप्रसार गर्न लगाउन पनि निर्देशन गरिएको छ।

    स्थानीय सञ्चारमाध्यममा दैनिक/साप्ताहिक/अर्धमासिक रूपमा बनाइरहेका कार्यक्रममा यी सन्देश प्रसारण गर्ने व्यवस्था मिलाउन पनि सबै जिल्लालाई परिपत्र पठाइएको प्राधिकरणले जनाएको छ।

    ‘लू’ र यसबाट बच्ने उपाय

    गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ। यो खासगरी देशको तराई क्षेत्रमा धेरै गर्मीको दिन तातो हावाको लहर ‘लू’ चल्न सक्छ। यसले स्वास्थ्यमा असर गर्छ। कहिलेकाहीँ मृत्युसमेत हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    शरीरमा कस्तो असर देखिन सक्छ ?

    चिकित्सकका अनुसार थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने। हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने हुन्छ। यस्तै मुटुको धड्कन बढ्ने, छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेँलो हुने, श्वास फेर्न गाह्रो हुने र रक्तचाप हुने हुन्छ।

    एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिने र पछि बिरामीको ज्यानसमेत जान सक्ने हुन्छ।

    लू लागेमा के गर्ने ?

    लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिनुपर्ने हुन्छ। बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको पेय पदार्थ, जाँड रक्सी नदिने, पङ्खाले हम्कने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने गर्नुपर्छ। यस्तै बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान भनिएको छ।

    आफू र अरुलाई कसरी जोगाउने ?

    चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने, खेतबारी वा बाहिरको काम बिहान वा दिउँसो ४ बजेपछि मात्रै गर्ने, चर्को घाममा नहिँड्ने वा काम गर्ने परे शीतल हुनेगरी बेलाबेला आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउने गर्नुपर्छ।

    पत्रु खाना (जङ्कफुड) नखाने, घरमै बनाएको ताजा खानेकुरा खाने, घरमा शीतल हुनेगरी पर्दा, पङ्खा, सिलिङ र झ्यालढोकाको प्रबन्ध गर्ने गर्नुपर्छ। यस्तै आफ्ना छोराछोरीलाई माथि भनिएका उपाय अपनाउन लगाउने, दिउँसोको चर्को घामम खेल्न जान नदिने, लूका कारण गाह्रो भएमा तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, ज्येष्ठ नागरिक र मुटु, फोक्सो, मिर्गौला रोग भएकालाई लूले छिटो असर गर्ने भएकाले उनीहरुलाई माथि भनिएका जोगिने उपाय सिकाउने गर्नुपर्छ। रासस

  • ज्योति विकास बैंकद्वारा स्वास्थ्य चौकीलाई बेबी वार्मर

    ज्योति विकास बैंकद्वारा स्वास्थ्य चौकीलाई बेबी वार्मर

    ज्योति विकास बैंकले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर मेसिन प्रदान गरेको छ।

    बैंकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका पाँच विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर मेसिन प्रदान गरेको हो। बैंकले जुम्ला, कालीकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई ती उपकरण उपलब्ध गराएको हो।

    हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिई जीवनरक्षा गर्न विभिन्न स्वास्थ्य चौकीहरूमा बैंकले ती मेसिन जडान गरेको जनाएको छ।

    हालसम्म विभिन्न चरणमा देशका विभिन्न ठाउँमा ४३ वटा बेबी वार्मर प्रदान गरिसकेको बैंकले यस चरणमा भौगोलिक रूपले विकट क्षेत्रहरूमा उपलब्ध गराएको हो।

  • जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

    जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

    मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ।

    तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो।

    राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न वि.सं. २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो।

    ठेकेदार कम्पन्नीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई किलोमिटर सडकमा कालोपत्र गर्न प्राइमकोट राखेको जानकारी दिए। ‘२ किलोमिटरमा प्राइमकोट राखिसकेका छौ,’ उनले भने, ‘पिप्स, बिटुमीन आयात र उपकरण व्यवस्थापन गरेका छौँ। सबबेस र बेस राख्ने काम सकिएको छ। चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा कालोपत्र सक्नेगरी तयारी गरेका छौं।’

    अठार महिनाको ठेक्का अवधिको भएको ठेकेदारलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुुई वर्षपछि कम्पनीले गत भदौदेखि काम थालेका थियो।

    आयोजना प्रमुख धुु्रवकुमार झाका अनुसार यसअघिनै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्याबिन पर्खाल, माटो कटिङ, फिलिङ, नाली निर्माणका लागि ठेक्का लगाइएको थियो।

    जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर सडकमध्ये छ वटाको ७५ किलोमिटरमा ग्राभेल भएको छ।

    पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डको ८५ प्रतिशत काम पूरा भएको छ। यो खण्डको स्तरोन्नति सकिएपछि जोमसोम–कोरला नाका जोड्ने सबै खण्ड ग्राभेल गरिने योजना प्रमुख झाले जानकारी दिए। रासस

  • मन्त्रिपरिषद्को सम्पत्ति विवरण : ‘धनी’ रघुवीर र ‘गरिब’ नारायणकाजी

    मन्त्रिपरिषद्को सम्पत्ति विवरण : ‘धनी’ रघुवीर र ‘गरिब’ नारायणकाजी

    अन्ततः सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा धनीमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र गरिब मन्त्री उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ देखिएका छन्।

    रघुवीरपछि क्रमशः शिक्षामन्त्री सुमना श्रेष्ठ, वनमन्त्री नवलकिशोर साह, सहरी विकासमन्त्री धनबहादुर बुढा, श्रममन्त्री डोलप्रसाद अर्याललगायत मन्त्रीहरू धनी देखिएका छन्। उनीहरूसँग काठमाडौंलगायत विभिन्न ठाउँमा प्रशस्त जग्गा, तीन÷चार ठाउँमा घर, झन्डै सय तोला सुन र करोडभन्दा माथि बैंक ब्यालेन्स रहेको विवरणमा उल्लेख छ।

    वनमन्त्री साहले त आफूसँग १२ बोरको एक थान बन्दुक (राइफल) समेत रहेको जनाएका छन्। उनले विभिन्न ठाउँमा नौवटा घर, १५ ठाउँमा जग्गा रहेको जनाएका छन्। उनले आफूसँग १ करोड ३५ लाख रूपैयाँ बराबरको सेयर, करिब १८० तोला सुन, करिब १ हजार ५०० तोला चाँदी रहेको विवरणमा उल्लेख गरेका छन्।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग एक सेट हीराको हार, ११ तोला सुन र १० तोला चाँदी रहेको मात्र जनाएकी छैनन्, विदेशी बैंकमा समेत करोडभन्दा बढी रकम रहेको जनाएकी छन्।

    सम्पत्ति विवरणमा उनले एक विदेशी नागरिकका नाममा १ करोड ५० लाख रूपैयाँ बराबरको युएस डलर तथा २ करोड ३४ लाख रूपैयाँ बराबर युरो डलर आफूसँग रहेको जनाएकी छन्। पावल स्वविन्सकी नाम गरेका ती विदेशी नागरिकसँग उनको नाता के पर्छ, त्यसबारे उनले सम्पत्ति विवरण फाराममा खुलाएकी छैनन्।

    सम्पत्ति विवरणमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति भने अरू मन्त्रीहरूको तुलनमा कम देखिएको छ। उनले आफूसँग गोरखाको सिरान चोकमा ३८ रोपनी जग्गा तथा बैंकमा १ लाख २२ हजार रूपैयाँ ब्यालेन्स रहेको जनाएका छन्।

    प्रधानमन्त्रीसँग २५ लाख बैंक मौज्दात

    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँग चितवनमा १५ कट्ठाको घरघडेरी, २५ लाख रुपैयाँ बैंक मौज्दात रहेको जनाएका छन्। उनले भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा तथा भरतपुर महानगरपालिका १२ मा एक कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको विवरणमा खुलाइएको छ।

    पत्नी सीता दाहालको नाममा रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको विवरणमा उल्लेख छ। दाहालले आफूसँग पाँच तोला सुन तथा एभरेस्ट बैंक लिमिटेड सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको जनाएका छन्।

    दोस्रोपटक प्रधानमन्त्री भएका बेला २०७३ सालमा सार्वजनिक गरिएको सम्पत्ति विवरणमा दाहालले आफूसँग एक कट्ठा जग्गा तथा तीन तोला सुन मात्र रहेको विवरण पेस गरेका थिए। तेस्रो पटक प्रधानमन्त्री भएको बेला सार्वजनिक गरिएको विवरणमा केही सम्पत्ति बढेको पाइएको छ।

    रघुवीरको सम्पत्ति कति ?

    उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ आफूसँग नगद मात्रै २ करोड २५ लाख तथा ३ करोड ५५ लाख रुपैयाँबराबरको सेयर रहेको देखाएका छन्। ललितपुरमा २ रोपनी १३ आना क्षेत्रफलमा तथा जनकपुरमा ४ हजार २ सय वर्ग मिटर क्षेत्रफल जग्गामा उनका घर छन् । सिन्धुली, धनुषा र ललितपुरमा उनको प्रशस्त जग्गा छ।

    धनुषामा मात्र उनीसँग सात बिघा तीन कट्ठा जग्गा छ। यसैगरी उनले ४३ तोला सुन र यसबाहेक विभिन्न गहना तथा १५० तोला चाँदी रहेको जनाएका छन्।

    यसैगरी सहरी विकासमन्त्री धनबहादुर बुढाले आफूसँग सातवटा घर भएको जनाएका छन। उनले चारवटा घर डोल्पा र तीनवटा घर काठमाडौंमा रहेको विवरणमा उल्लेख गरेका छन्। यसैगरी उनीसँग १५० तोला सुन, ३०० तोला चाँदी, ६० लाख रूपैयाँ बैंक ब्यालेन्स रहेको जनाइएको छ। काठमाडौमा मात्र उनीसँग ४४ आना जग्गा रहेको बताइएको छ।

    रविको जग्गा कति छ ?

    गृहमन्त्री लामिछानेले आफूसँग बुढानीकलकण्ठ नगरपालिका– ८ मा पाँच आना, भक्तपुरमा एक रोपनी एक आना तथा पत्नी निकिता पौडेलका नाममा काठमाडौंमा १० रोपनी जग्गा रहेको जनाएका छन्। यसैगरी उनले ८० तोला सुन भएको विवरणमा उल्लेख गरेका छन्।

    अर्थमन्त्रीसँग ३३ लाख रूपैयाँ

    अर्थमन्त्री वर्षमान पुनले आफूसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रूपैयाँ जम्मा रहेको जनाएका छन्। उनले रोल्पा माडीचौरमा ८२० वर्गमिटर बराबरको जग्गा पैतृक सम्पत्तिका रूपमा रहेको विवरणमा उल्लेख गरेका छन्।

    यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले आफूसँग १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हीरा रहेको जनाएका छन्। विभिन्न १२ ठाउँमा जग्गा रहेको उनले जनाएका छन्। उनले आफू र आफ्नो पत्नीको अम्बिका केसीका नाममा २ करोड बढी नगद बैंक तथा सहकारीमा रकम रहेको विवरण उल्लेख गरेका छन्।

    यस्तै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग सेयर मार्केटमा झन्डै १० करोड रूपैयाँ बराबरको लगानी रहेको विवरणमा उल्लेख छ। उनले आफूसँग १५ हजार ९०६ कित्ता सेयर रहेको जनाएका छन्।

    मंगलबार प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित २१ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानको भने सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन। यादव र खान मन्त्री भएको ६० दिन पुगेको छैन।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा प्रधानमन्त्री र मन्त्रीले पद बहाल भएको ६० दिनभित्र र त्यसपछि आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ।

    पछिल्लोपटक २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो। तर ओली प्रधानमन्त्री भएकै बेला थपिएका केही मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन्। त्यसपछि बनेका सरकारहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिएनन्।

  • सिरोहियालाई बिहानै जनकपुर ल्याइयो

    सिरोहियालाई बिहानै जनकपुर ल्याइयो

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहानै जनकपुर ल्याइएको छ।

    मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको हो। उनलाई धनुषा प्रहरीले हिरासतमा राखेको छ।

    मङ्गलवार जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो।

    सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।

  • असोजको पहिलो साता १०औं फर्निचर एक्स्पो

    असोजको पहिलो साता १०औं फर्निचर एक्स्पो

    आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा १०औं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ।

    ‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो।

    इभेन्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुला गरिएको उल्लेख गर्दै आयोजकले पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमै ५० प्रतिशत स्टल बुकिङ भएको जनाएको छ।

    यसैक्रममा हरेक वर्ष एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्रान्डका रूपमा स्थापित भएकाले लञ्चिङकै दिन स्टल बुकिङमा आकर्षण देखिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए।

    उनले नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको बताए।

  • कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

    कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ।

    बैठक बिहान ११ बजे बस्ने बताइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

  • म पनि गौशाला–२६

    म पनि गौशाला–२६

    अहिले सामाजिक सञ्जालमा धेरैले यो गौशाला–२६ भनेको को ? चिन्न पाए हुन्थ्यो भन्ने आशय राखेका पोस्ट धेरै देखिन्छ। नेपालको सामाजिक–आर्थिक परिवेशमा महिलासँग जोडिएका सवालले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा समाजमा बहसको ठाउँ पाउने भनेको पानीको फोको जस्तो लाग्छ मलाई। त्यसैले गौशाला–२६ सँग जोडिएका सवाल पनि स्वतः हराएर जानेछन्।

    अहिले केही दिन ‘राष्ट्रिय गहना’ले उन्मुक्ति पाएको उन्मादमा अरू धेरै त्यस्तै प्रकारका अपराध गर्नेहरू भित्र उन्मुक्ति पाइने भयो भनी जन्म ाएको प्रमादको स्थितिमा गौशाला–२६ को पीडा, उनलाई पर्ने प्रभाव अनि देशभर ‘यहाँ न्यायको अभाव छ’ भनी गएको सन्देश, त्यसबाट भोलि लाखौं बालबालिकामा पर्नसक्ने प्रभावका सम्बन्धमा हेक्का कसले पो राख्छ ? बरू गौशाला–२६ सँग जोडिएको फैसलाले मभित्र एउटा रिक्तता, तिक्तता अनि आफूभित्र सदियौंदेखि दबेर बसेको सत्यताले गहिरो गरी घच्घच्याएको महसुस गरेकी छु। अनि ती सबै गौशाला–२६ लाई चिन्न आतुर जमातलाई चिच्याएर भन्न मन लागेको छ–आऊ, म तिमीलाई मेरो आफ्नै अनुहारमा गौशाला–२६ को हुन् भनी देखाउँछु।

    म १२ वर्ष पुगेको पनि थिइनँ होला, बस्तीपुरमा रहेका मालिकका छोराहरूको बिगबिगीले हामीले पोखरीमा नुहाउन पसेका बेला भोगेका यौन दुव्र्यवहार अनि त्यसपछि फेरि ‘आफैँ उत्ताउला भएर पोखरीमा नुहाउन गएका हुन्’ भन्नेजस्ता विभिन्न उपमा सुन्दै, पूरै दोषको भारी बोक्दै घर फर्किएका ती दिन सम्झन्छु। म १३ वर्ष पनि पुगेकी थिइनँ। आफ्नै गाउँको एक सामन्त केटाले ‘यौनसम्पर्क राख्न देऊ’ भनी गरेको प्रस्ताव अनि मैले नमानेका कारण गाउँभर गरिएको बदनामी, ‘बारुलो’ भनी राखिएको उपनाम अनि त्यसपछि गाउँमा मलाई गरिने व्यवहार सम्झें।

    मेरै गाउँमा एक किशोरीलाई गाउँको मालिकको छोरोले बोकाएको गर्भ घरमै सुडेनी बोलाएर पतन गर्न लगाउँदा अत्यधिक रक्तश्राव भएर मृत्यु भएकी दौतरीलाई सम्झें। यतिले मात्रै नपुगेर तिनी दलित र गरिब भएका कारण मालिक पुत्रको कर्तुत जोगाउन भोलिपल्ट मालिक भनिनेहरूद्वारा उनका बुबालाई केही पैसा दिइ गाउँ कटाएको घटनाको साक्षी भएको क्षण सम्झें। त्यो स्थितिमा केही गर्न नसकेर छट्पटाहटका कारण मभित्र जन्मेको रिस, पीडा र विद्रोह सम्झें। ती घटना मभित्र गडेर बसेका कारण अहिलेसम्म पनि कहिलेकाहीँ मध्यरातमा खलखली पसिना आएर बिउँझिने स्थिति सम्झें अनि मैले मेरो आफ्नै अनुहारमा गौशाला–२६ को अनुहार देखें।

    म कलेज पढ्दै गरेकाबेला नमिता/सुमिता काण्ड भयो। उक्त काण्डमा दुवै किशोरीले मृत्यु स्वीकार्न बाध्य भएको हुनाले उनीहरूको परिचय लुकाउनुपरेन। तर मृत्युपछि पनि तिनकाबारे उछालिएका कुराले आफ्ना छोरीहरू गुमाएको पीडा खप्न बाध्य आमाबुबालाई बाँच्न भने सहज थिएन भन्ने उदाहरण हामीसँग प्रशस्तै छन्। उक्त घटना गराउने तत्कालीन अधिराजकुमारका अघि/पछि लाग्नेहरूले तिनै किशोरीहरूको दोष देखेका थिए र आफ्नो स्वार्थ पूरा गरेका थिए। यी सबै घटना देखेकी मलाई भन्न मन लाग्यो–‘के तिमीहरूलाई अझै देखाउन बाँकी छ र गौशाला–२६ को अनुहार ? खोइ, मेरो आँखा नै ठीक नहोला, त्यसैले त म यहाँ न्यायालयमा पैसासँग साटिएका सबै मुद्दामा गौशाला–२६ देख्छु। निर्मला पन्त, बिन्दु ठाकुरलगायत सयौं बालिकाको क्रन्दनमा देख्छु।

    मैले चिनेको एउटा परिवार छ, जहाँ सात भाइ छन्, ती सबै पढे/लेखेका छन्। दुईजना डाक्टर, दुईजना इन्जिनियर, एकजना न्यायाधीश, अर्को कृषि वैज्ञानिक त अर्को बैंकको म्यानेजर। तीमध्ये एकजनाले आफ्नै फुपूकी छोरीसँग, अर्कोले नजिकको नाता पर्ने दाइकी छोरीसँग सम्बन्ध राखेर ती महिलालाई मानसिक पीडाबाट गुज्रन बाध्य बनाए। अर्कोकी छोरीले बाबुले यौन शोषण गर्‍यो भन्ने मुद्दा हालेकै कारण विदेशमा काम गरिरहेको अवस्थामा छोरीलाई विदेशमै छाडी भागेर देश फर्कनुपर्‍यो भने अर्को, समाजमा प्रतिष्ठित नाम भएकै व्यक्तिकी छोरीले मलाई बाबुले यौन शोषण गर्‍यो भनिरहेकी छिन्। प्रमाणको अभाव, कानुनको अपर्याप्तता, समाजले उल्टै पीडित/प्रभावितलाई नै दोष दिनेजस्ता यावत् कुराले यी कुनै घटनामा पीडित/प्रभावितले न्याय पाएको अवस्था छैन। पीडित/प्रभावितहरू गुमनाम जीवन बिताउन बाध्य छन्। न्यायका लागि पहल गर्दा आफैँ अपमानित भएर भोगेका पीडाका साथमा बाँचिरहेका छन्।

    प्रभावितका लागि न्याय गर्न अघि बढेका उक्त घरका सबै महिला गम्भीर मानसिक पीडा र समस्याबाट आक्रान्त छन्। पुरुषहरू भने अर्को विवाह गरी खुसी जीवन बिताइरहेका छन्। ती पुरुषका धेरै साथीलाई त्यो घरभित्रका पुरुषले गरेको अपराधबारे थाहा छ तर उनीहरूमध्ये कसैले पनि ती पुरुषविरुद्ध बोल्न सकेका छैनन् किनभने तिनलाई भोलि आफ्नो पोल खुल्छ भन्ने डर छ। मलाई यी सबै घटनाका प्रभावित महिला पात्रहरूका अनुहार गौशाला–२६ लाग्छ भने यो घटनासँग संलग्न सबै पुरुष र केही पितृसत्तात्मक सोच भएका महिलासमेत गौशाला–२६लाई गौशाला–२६ बनाउने राष्ट्रिय गहना।

    त्यसैगरी, द्वन्द्वकालमा बिना कुनै अपराध यौन दुव्र्यवहार खप्नुपरेका महिला, तिनको बलिदानका कारण सत्तामा रमिरहेका नेता तथा सदनमै काम गर्ने सभामुखबाटै पीडित बनाइएकी भनिएकी तर पितृसत्ताको दबाबका कारण पटक–पटक बयान फेर्न बाध्य रोशनी हुन् वा डिआइजी श्रीमान्बाट टुक्रा–टुक्रा पारी काटिएर मर्न बाध्य महिला हुन्, सबैमा म गौशाला–२६ कै अनुहार देख्छु। अचम्म लाग्छ मलाई, यी सामाजिक सञ्जालमा छरपष्ट गौशाला–२६ को अनुहार हेर्न चाहने मानिस र अदालतले सफाइ दिएको व्यक्तिलाई ‘राष्ट्रिय गहना’ भन्दै बधाई दिने नेताहरूको बोली र व्यवहार देखेर। आखिर कहिले यिनले मैलेजस्तै पितृसत्ताको पीडाबाट दबाइएका आफ्ना आमा, दिदी, बहिनी, छोरीको अनुहार नै गौशाला–२६ को अनुहार हो भनी बुझ्ने ?

    मलाइ याद छ, मैले काम गर्ने क्रममा सर्वोच्चका एक प्रधानन्यायाधीशले मलाई बोलाएर भनेको–‘मेरो बैनीको पीडालाई मैले नेतृत्व गरिरहेको न्यायालयले न्याय दिन सकेन, प्रमाणमा विश्वास गर्ने प्रणाली, पैसा, पद र प्रलोभनको प्रभावमा पर्ने न्यायिक/अर्धन्यायिक प्रणालीले बैनीको न्यायका लागि गरेको पहललाई अघि बढ्न दिएको छैन। त्यसैले तपाईंहरूले बैनीलाई न्याय प्राप्त गर्ने बाटो बनाइदिनु पर्‍यो। सबै न्याय न्यायालयमा टुंगिदैन। न्यायालयमा टुंगिएका सबै घटनामा पीडितले न्याय प्राप्त गरेको अनुभव गर्छन् भन्ने पनि होइन। धेरै अवस्थामा सामाजिक न्यायको ठूलो भूमिका हुन्छ।’

    समग्रमा भन्नुपर्दा, गौशाला–२६ कुनै एक महिला होइनन्। यो पितृसत्ताले दिएको पीडाको रूप हो। अहिलेको समाजमा आफ्नो पीडा सुनाउँदा बाँच्नै कठिन हुने अवस्थाको उपज हो। पैसाले किन्न सक्ने केही न्यायाधीशले न्यायमाथि गरेको प्रहारको परिणाम हो। हाम्रो देश कस्ता व्यक्तिबाट शासित भैरहेको छ त ? भन्ने प्रश्न जायज छ भन्ने आधार हो यो। पैसा, पद , सिप जस्ता कुरा भएमा जस्तोसुकै ठुलो अपराध भए पनि उन्मुक्ति पाइन्छ भनी दिन खोजेको सन्देश हो। देशका राम्रा गहना भनिनेहरूको कुरूप अनुहारको ऐना हो भने सरकारद्वारा एकातिर महिला हिंसा अन्त्य गर्नुपर्छ भन्ने तर अर्कोतिर पीडकलाई प्रवद्र्धन गर्ने दोहोरो मापदण्ड बोकेको अवस्था हो।

    मलाई थाहा छ, यो लेख लेखेकै कारण म ट्रोलको शिकार पनि बन्नुपर्नेछ। डलरेको पगरी पनि गुथाइनेछ। मेरा जन्मदेखिका अवगुण खोजेर मेरो उछित्तो काढ्न पनि सुरु गरिनेछ। तर मलाई डर छैन किनभने मैले बुझेकी छु, आलोचना गर्नेहरूको धर्म नै त्यही हो। के पनि बुझेकी छु भने मैले भनिरहेको पितृसत्ताबाट आजित भएर कुनै पनि महिला न्यायका लागि आवाज उठाएकै कारण अझ पीडित बनाइनु हँुदैन भन्ने धेरैको आवाज छ। आवाजसँगै मलाई साथ पनि छ। अतः यस्ता पितृसत्ताविरुद्ध आवाज उठाउनु र गौशाला–२६ हरूलाई साथ दिनु यही नै मेरो धर्म हो।

  • प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर

    प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर

    तपाईंका बालबालिकामा पनि आँखाको क्यान्सर हुन सक्छ। तसर्थ शिशु उमेरका बालबालिकाको समयमै आँखा परीक्षण गर्नु उपयुक्त हुने चिकित्सकहरूले बताएका छन्। समयमै परीक्षण नगरे बालबालिकाको ज्यानै जान सक्छ। चिकित्सकका अनुसार नेपालमा प्रतिवर्ष ५० जना नयाँ बालबालिकामा क्यान्सर हुन्छ। हाल नेपालमा नयाँ र पुराना गरी २५० आँखाका क्यान्सरका बिरामी उपचाररत छन्।

    विकसित देशमा हरेक शिशुको जन्मिनेबित्तिकै आँखा परीक्षण हुने र नियमित परीक्षण गर्ने अभ्यासका कारण समयमै समस्या पहिचान भई उपचार हुन्छ। तर नेपाल र नेपालजस्ता विकासोन्मुख देशमा हरेक शिशुको आँखा परीक्षण गर्ने चलन नभएकाले आँखामा हुने क्यान्सरको कारण धेरै बालबालिका प्रभावित हुने गरेको तिलगंगा अस्पताल अकुलोब्लास्ट तथा अकुलर अन्कोलोजी विभाग प्रमुख डा. पूर्णिमा राजकर्णिकार स्थापितले बताइन्।

    विकसित देशमा जन्मेका हरेक शिशुको आँखा जाँच गर्ने नियमले यस्तो समस्या कम भइसको तर नेपालमा अहिले पनि उल्लेखनीय मात्रामा आँखाका क्यान्सर रोगी रहेको उनको भनाइ छ।

    विभागकी प्रमुख डा. स्थापितका अनुसार अँध्यारो कोठामा बालबालिकाको आँखा असामान्य रूपमा रातो हुनु, तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिनु, आँखा दुख्नु, आँखाको आकार ठुलो हुँदै जानु र बाहिरतिर आउनु, आँखामा डेढोपन हुनु र आँखा सुक्दै जानु रेटिनोब्लास्टोमाको लक्षण हुन सक्छ।

    यीमध्ये केही लक्षण देखिनेबित्तिकै तुरुन्त चिकित्सककहाँ पुगेमा आँखाको क्यान्सर निको हुन्छ। यो रोगको उपचार हाल नेपालमा शल्यक्रियासहित किमोथेरापीमार्फत हुने गरेको छ। रेडियोथेरापीका लागि भने भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल रेफर गर्ने गरेको अस्पतालले जनाएको छ।

    नेपालमा ढिला उपचारकै कारण हुने थप क्षतिबाट बचाउन तिलगंगा आँखा प्रतिष्ठानले ओपनआइज नेपालसँगको सहकार्यमा निःशुल्क बहिरंग सेवा र उपचार सेवाको व्यवस्था गरेको थियो। यो सुविधा जेठ ५ गतेसम्म लागु भयो। यो सेवा लिन १० जना रेटिनोब्लास्टोमाका बिरामी सहभागी भए।