Blog

  • कैलाश सिरोहिया पुगे सर्वोच्च अदालत

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सर्वोच्च अदालत पुगेका छन्।

    धनुषा प्रहरीबाट पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि सिरोहिया सर्वोच्च अदालत पुगेका हुन्।

    सिरोहियाले आफूलाई पक्राउ नगर्न आदेश माग्दै सर्वोच्च अदालत पुगेका हुन्। सिरोहियाले निवेदनमा गृह मन्त्रालय र धनुषा प्रहरीलाई विपक्षी बनाएका छन्।

    सिरोहियाको नागरिकता नम्बरको विषयमा विवाद उठिरहेको छ। यसै विषयमा उनलाई धनुषाबाट पक्राउ पूर्जी जारी गरिएको हो। सिरोहियाले यस अघि पनि छानबिन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। सर्वोच्च अदालतले त्यस विषयमा वैशाख २५ मा कारण देखाउ आदेश जारी गरेको थियो।

    सर्वोच्चमा यस अघि दर्ता भएको मुद्दा विचाराधीन रहेकाले मुद्दाको टुंगो नलाग्दासम्म धनुषाबाट पक्राउ जुन पक्राउ पूर्जी बदरको माग गर्दै सर्वोच्चमा निवेदन पेश गरेका हुन्। ‘निवेदन आएको छ। हामी अध्ययन गर्देछौं। दर्ता हुने नहुने विषयमा भोलि टुंगो लाग्नेछ’ सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले बताए।

  • अर्थमन्त्री पुनको सम्पत्ति: ३३ लाख नगद, रोल्पामा जग्गा

    अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात रहेको छ।

    त्यस्तै उनले जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्।

    यस्तो छ विवरण:

  • टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँः आरजु राणा

    नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छिन्।

    मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन्।

    उनले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन्। उनले पत्रकारहरुलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरिन्।

    सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताइन्। उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताइन्।

    उनले भनिन्, ‘टिकापुरको जमिन तपाईहरु आफै गएर हेर्न जानुस्। ५० हजार रुपैयाँमा किनेको हो। त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । मैले किनेको ०५३ सालमा हो। यो घोटाला भएको चाहीँ २०६८ सालपछि हो। त्यो कुराहरु पनि तपाईहरु गएर हेर्नुहोस्। तपाईहरु सबै खोज पत्रकारिता गरिरहनु भएको छ। तपाईहरुलाई गएर हेरिदिनुस् भन्छु। कागजात खोलेर हेर्नुहोला तपाईहरु कृपया। गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न। समिति नै नबन्नु चाहीँ कहाँको कुरा हो? यो प्रजातन्त्र हो नि। यो हुकुमी शासन हो र? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ। अहिले पनि हामी गर्ने नै छौँ। सहकारी पीडितहरु रोइरहेका छन्। न्यायोचित छानबिन होस्। यो गर्ने सदनको काम होइन? यो पनि नगरे के गर्ने त सदनमा?’

  • वनमन्त्री नवलकिशोरको सम्पत्ति: १२ बोरको बन्दूक, ९ वटा घर

    वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

    उनले सार्वजनिक गरेको विवरण अनुसार साहको साथमा १२ बोरको एक थान बन्दूक (राइफल) रहेको छ।

    त्यस्तै उनले आफूसंग ९ वटा घर रहेको उल्लेख गरेका छन्। उनले पेश गरेको विवरणमा १५ ठाउँ जग्गा देखाइएको छ।

    यस्तो छ विवरण:

  • विधि मिचेर ‘विश्वास’

    संसदीय शासन व्यवस्थामा सरकार बहुमतको र संसद् विपक्षीको भनिन्छ। विपक्षीले उठाएको विषयलाई सम्बोधन गरेर मात्र संसद्को कारबाही अघि बढाउनुपर्ने र संसदीय शासन व्यवस्थाको सुन्दरता त्यही भएको पूर्वसभामुख दमनाथ ढुंगानाले बताउने गरेका छन्।

    तर सोमबार प्रतिनिधिसभाको बैठकमा ठिक उल्टो भयो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मात्र होइन, विपक्षी सबै राजनीतिक दल उभिएकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका छन्।

    २०७९ मंसिरमा भएको निर्वाचनपछि पुस १० गते तेस्रो पटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालले सोमबार चौथो पटक प्रतिनिधिसभाबाट विश्वासको मत पाएका हुन्। यसबीचमा तीनपटक समीकरण परिवर्तन गरेर उनले चौथो पटक विश्वासको मत लिएका हुन्।

    २०७९ पुसमा पहिलो पटक विश्वासको मत लिँदा जम्मा दुई मत मात्र दाहालको विपक्षमा परेको थियो। त्यसयता उनको विपक्षमा सांसदको मत संख्या बढ्दै गएको थियो। चौथो पटकको विश्वसासको मत भने मर्यादापालकको घेराका बीचमा लिनुपर्ने अवस्थामा दाहाल पुगेका छन्।

    हजारौं नागरिकले विभिन्न सहकारीमा बचत गरेको रकम दुरूपयोगमा उपप्रधान तथा गृहमन्त्री जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। संसदीय छानबिन समिति गठनको मागसहित कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ।

    त्यसलाई निष्कर्षमा पुर्‍याउन मुलुकको कार्यकारी प्रमुखको हैसियतमा दाहालले पहलकदमी लिनुपथ्र्यो। त्यसको कुनै टुंगो नलाग्दै प्रधानमन्त्री दाहालले विश्वासको मत लिने बाटो रोजे। विपक्षी दलहरू त्यसको विपक्षमा उभिँदा संसदीय शासन व्यवस्था र अभ्यासमाथि नै प्रश्न उठ्न थालेको छ।

    विपक्षी राजनीतिक दलको बैठकले सोमबारको प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले नियमावलीको धज्जी उडाउने काम गरेको आरोप लगाएको छ। सभामुख संसदीय मर्यादा र बैठक सञ्चालन नियमावलीविपरीत अघि बढेको निष्कर्ष निकालिएको छ।

    कांग्रेससहित विपक्षी दलले सत्तापक्षमा निरंकुशताको मनोवृत्ति बढ्दै गएको निष्कर्ष निकालेको छ। यसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र अनुदार भएको ठहर गरेको छ। सभामुख घिमिरेको भूमिका पनि पदीय गरिमाअनुकूल नभएको ठहर उनीहरूको छ।

    संसद्मा सोमबार देखिएको गतिविधि र सहकारी ठगी प्रकरणमा सदन र सडकसम्म लिएर जाने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए। सभामुखको भूमिका एमाले कार्यकर्ताको जस्तो देखिएको जनाउँदै शाहीले सहकारी ठगीबारे छानबिन समिति नबनेसम्म संसद्भित्रको लडाइँ जारी राख्ने निर्णय भएको उनले बताए। सरकारले संसद् बन्द गरे विपक्षी दल सडकमा पनि मिलेर जाने शाहीले बताए।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार संसदीय मूल्य–मान्यताको खिलाफमा गएको बताए। विपक्षीको अवरोधबीच प्रधानमन्त्रीले जबर्जस्ती संसद्मा विश्वासको मत लिएलगत्तै बसेको संसदीय दलको बैठकपछि लेखकले भने, ‘संसदीय मान्यतामा पनि संसद् विपक्षको हुन्छ भन्ने मान्यता स्थापित छ।

    आज (सोमबार) सभामुखले विपक्षीलाई बोल्न दिनुभएन।’ बहुमतको आडमा सत्तापक्षले दम्भ देखाएको भन्दै उनले थपे, ‘सत्तापक्ष असहिष्णु भयो, संसदीय मूल्यमान्यताको खिलाफमा उभियो।’

    प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलले पटकपटक बोल्न माग गरे पनि सभामुखले नदिएको लेखकले बताए। ‘सदनमा बोल्न विपक्षी दलले प्राथमिकता पाउँछ, यो संसारभरिको चलन हो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘संसद् विपक्षीको हुन्छ भन्ने मान्यता पनि स्थापित छ तर आज (सोमबार) सभामुखजीले विपक्षी दललाई पनि बोल्न दिनुभएन।’

    सभामुखलाई पदको गरिमा राख्न र पार्टी विशेषको कार्यकर्ताका रूपमा संसद्मा प्रस्तुत नहुन कांग्रेसले सचेत गराएको छ। साथै कांग्रेसले आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो दलमाथि लगाएको लाञ्छना प्रमाणित गर्न चुनौतीसमेत दिएको छ। ‘हामी चुनौतीपूर्वक भन्न चाहन्छौं– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस्,’ उनले भने, ‘तपाईंले जुन गम्भीर लाञ्छना लगाउनुभएको छ, भोलिका दिनमा त्यो प्रमाणित गर्न सक्नुभएन भने के हुन्छ, बेहोर्नुपर्ला।’

    लामिछानेले सहकारीको बचत हिनामिनाको आरोपको खण्डन गर्दै आइतबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस नेताहरूमाथि विभिन्न लाञ्छना लगाएका थिए। तथ्य र प्रमाणका आधारमा भन्दा पनि ‘अन्य दलका नेताहरू पनि उस्तै हुन्’ भन्ने प्रमाणित गर्ने प्रयास उनले गरेपछि समाधान उन्मुख भएको भनिएको संसद् गतिरोध थप पेचिलो बन्ने पुगेको छ।

    विपक्षीलाई पेलेरै अघि बढ्ने बाटोमा सत्तारूढ राजनीतिक दलसहित प्रधानमन्त्री पुगेका छन्। विपक्षीको अवरोधबीच संसद्मा विश्वासको मत लिने क्रममा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको अभिव्यक्तिले सरकार र विपक्षी दलहरूबीचको दुरी अझ बढ्ने देखिएको छ।

    फागुन २० गतेसम्म कांग्रेससँग सत्ता साझेदारी गरेका दाहालले आगामी दिनमा कांग्रेसले ठुलो मूल्य चुकाउनुपर्ने दाबी गरेका छन्। कांग्रेससहितका राजनीतिक दलसँग चुनावी तालमेल गरेका दाहालले सोमबार भने, ‘तपाईंहरू (नेपाली कांग्रेस) ले आज गलत गर्नुभयो, नेपाली कांग्रेसका लागि यो धेरै मूल्य चर्को पर्नेछ।’

    कांग्रेसको सोमबारको गतिविधि नेपालको इतिहासमा कलंकका रूपमा स्थापित हुने जनाउँदै उनले थपे, ‘संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो।’ जवाफमा कांग्रेसले जंगलबाट शान्तिपूर्ण राजनीतिमा ल्याएको नभुल्न दाहाललाई आग्रह गरेको छ। ‘नेपाली कांग्रेसविरुद्ध गैरजिम्मेवारपूर्ण ढंगबाट लाञ्छना लगाउने कुरा बोल्न बन्द गर्नुस्,’ लेखकले भने, ‘धेरै धम्क्याएर र तर्साएर कांग्रेस धम्किने पार्टी होइन।’ यसले कांग्रेस र माओवादी केन्द्रबीच बढ्दै गएको दुरी थप बढ्ने संकेत गरेको छ।

    २०७४ सालको निर्वाचनअघि चुनावी तालमेल गर्दै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। तर एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहालका साथै माधवकुमार नेपालसहितका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए।

    उनीहरूको आग्रहअनुसार संविधानको धारा ७६ (५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गरे। तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबीलाई अस्वीकार गरेर सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध उनीहरू सर्वोच्च अदालत पुगेका थिए।

    सर्वोच्चको आदेशमा देउवा प्रधानमन्त्री बन्नुका साथै सोही सरकारले २०७९ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराएको थियो। निर्वाचनमा सरकारमा रहेका दलहरूले चुनावी तालमेल गरे।

    निर्वाचनपछि दाहाल एमाले, राप्रपासहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बने पनि तत्कालै निर्वाचनअघिको गठबन्धनमा फिर्ता भए। तर फागुनमा फेरि कांग्रेससँग अलग भएर दाहाल एमालेसँग मिल्न पुगेका हुन्।

    त्यसबेलादेखि नै सरकारको विकल्पको खोज्ने प्रयास भएपछि एमालेले रास्वपालाई आफ्नो साथमा राख्ने, कांग्रेस र माओवादी केन्द्रलाई मिल्न नदिने रणनीति अख्तियार गर्दै आएको छ। सोमबारसम्म आइपुग्दा एमाले आफ्नो रणनीतिमा सफल भएको विश्लेषण गर्न थालिएको छ। माओवादी केन्द्र र कांग्रेसको दुरी बढ्दा वैकल्पिक सरकार गठनको विषय कमजोर बन्नेछ।

    कांग्रेस बैठक बुधबार

    नेपाली कांग्रेसले पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

    सत्तारूढ दल र सरकार विपक्षी दललाई पेलेर संसद् सञ्चालन गर्न थालेपछि कांग्रेसले बुधबारका लागि संयुक्त बैठक बोलाएको हो।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ। फागुन २ गतेपछि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको छैन।

  • शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति: एक सेट हीराको हार र ११ तोला सुन

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसंग एक सेट हीराको हार र ११ तोला सुन रहेको उल्लेख गरेकी छिन्।

    उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरण अनुसार उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको उल्लेख गरिएको छ।

    यस्तो छ विवरण:

  • श्रममन्त्री अर्यालको सम्पत्ति: सुन १५० तोला, १२ ठाउँमा जग्गा

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले आफूसंग १५० तोला सुन रहेको उल्लेख गरेका छन्।

    उनले सार्वजनिक गरेको विवरण अनुसार १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ। २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको उनले बताएका छन्।

    विभिन्न १२ ठाउँमा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेका छन्। त्यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा गरेको पनि उनले उल्लेख गरेका छन्।

    यस्तो छ विवरण:

  • नतिजा प्रकाशनअगावै उत्तरपुस्तिका टुक्राटुक्रा पार्नेलाई कारबाही हुने

    नतिजा प्रकाशनअगावै उत्तरपुस्तिका टुक्राटुक्रा पार्नेलाई कारबाही हुने

    परीक्षा दिएर एक वर्षदेखि नतिजा कुरिरहेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको नतिजा प्रकाशन हुनु अगावै उत्तरपुस्तिका टुक्राटुक्रा बनाएको रहस्य फेला परेको छ । मानविकी र शिक्षाशास्त्र संकायका ३४२ विद्यार्थीले परीक्षा दिएर नतिजा कुरिरहेको समयमा त्रिविको परीक्षा नियन्त्रक कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो ।

    समस्याबारे छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिले तीन साताअघि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराललाई बुझाएको प्रतिवेदनमा परीक्षा नियन्त्रकसहित सात जनाले विद्यार्थीको भविष्यसँग खेलवाड हुने हदैसम्मको लापरवाही गरेकोले पदबाट हटाउनु पर्ने पर्याप्त आधारसहित कारवाहीको सिफारिस गरेको छ ।

    त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको संयोजकत्वमा गठित तीन सदस्य उच्चस्तरीय समितिले गत वर्ष वैशाख पहिलो साता परीक्षा दिएर नतिजा कुरिरहेका मानविकीतर्फका हेल्थ एन्ड पपुलेशन स्नातक तहका १५६ र शिक्षा शास्त्र संकायमा फाउन्डेशन अफ इजुशेकनतर्फका १८६ गरी कुल ३४२ विद्यार्थीको उत्तरपुस्तिका धुल्याउन पठाएको निष्कर्षसहित परीक्षा नियन्त्रकसहित ७ जनालाई दोषी ठहर गर्दै सबैलाई पदबाट हटाउने कारवाही सिफारिस गरेको हो ।

    समीति संयोजक प्रा.डा. पौडेलले बुझाएको छानविन प्रतिवेदनले परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासनिक सम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र परिच्छेद ५७ को आधारमा पदबाट बर्खास्त गर्नु पर्ने सिफारिस गरेको छ । यसैगरी मानविकी तर्फका सहनियन्त्रक पवन बराल र शिक्षाशास्त्र तर्फको सहनियन्त्रक सुरेशजंग शाही, शाखा अधिकृत शम्भु दाहाल, मानविकी तर्फका शाखा प्रमुख दीपक पाण्डे, कर्मचारी चन्द्रप्रसाद जोशी र नारायणप्रसाद न्यौपानेलाई त्रिवि कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद ८२ अनुसार पदबाट हटाउने सिफारिस गरेको छ ।

    अनुसन्धानमा उत्तरपुस्तिका हराएको नभएर टुक्राटुक्रा पारेर चरम लापारवाही गरेको फेला परेको स्रोतले बतायो । ‘हामीले अध्ययन अनुसन्धान गर्दा दोषी ठहर भएका नियन्त्रक, सहनियन्त्रक तथा कर्मचारीहरुले कति सहजरुपमा पुराना उत्तरपुस्तिका धुल्याउन पठाउनेसँगै विद्यार्थीको उत्तरपुस्तिका पनि मजदुरले उठाएर लगेछ भन्नुभयो,’ स्रोतले भन्यो, ‘यता एक वर्षदेखि नतिजा कुरेर बसिरहेका विद्यार्थीको नतिजा अगावै उत्तरपुस्तिका धुल्याउनेसम्मको अपराध गोप्य शाखाबाट भएको रहेछ । तर जिम्मेवार पदाधिकारीले कति सहजरुपमा लिनु भएको रहेछ ।’

    स्रोत भन्छ, ‘दोष परिक्षा नियन्त्रण कार्यालयको भए पनि विद्यार्थीले पुनः परीक्षा दिनु पर्यो । कति चरम लापारवाही भएको पाइयो । समितिले दोषी ठहर भएकाहरुलाई पर्याप्त आधार खडा गरेर पदबाट हटाउन सिफारिस गरी प्रतिवेदन बुझाएको छ ।’

    गत वर्ष वैशाख पहिलो साता भएको परीक्षा पनिकाले उत्तरपुस्तिका नतिजा अगावै धुल्याइदिएपछि ती पीडित विद्यार्थीले ०८१ सालको चैत्र २१ गते पुनः परिक्षा दिनु परेको थियो ।

    एकातिर समितिले पर्याप्त आधारसहितको कारवाहीको प्रतिवेदन उपकुलपतिलाई बुझाए पनि दोषि ठहरिएकाहरुलाई त्रिविले अझै कारवाही गर्न सकेको छैन भने अर्को तिर मुख्य दोषी ठहरिएका परीक्षा नियन्त्रक पुष्पराज जोशी काग्रेस सभापति शेरबहादुर देउवा निकट भएकोले उनलाई जोगाउन त्रिविमा चलखेल समेत सुरु भएको स्रोतको दाबी छ ।

    प्रतिवेदन बुझाएको तीन सातापछि आइतबार राजिष्ट्रार कार्यालयमा परीक्षा नियन्त्रकसहित दोषी ठहर भएका सातै जनालाई बोलाएर स्पष्टीकरण सोधिएको शिक्षाध्यक्ष प्राडा खड्ग केशीले बताए । छलफलमा उपकुलपति प्राडा केशरजंग बराल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालको उपस्थितीमा साढे दुइ घन्टा छलफल भएको थियो ।

    ‘नतिजा अगावै उत्तरपुस्तिका धुल्याउनु गैर कानूनी काम पनिकाबाट भएको देखियो,’ शिक्षाध्यक्ष प्राडा केसीले नागरिकसँग भने, ‘समितिले कारावहीका लागि सिफारिस गरिएका व्यक्तिहरुलाई पदबाट हटाउन त्रिविले पहिले सूचना नबाहिरीयोस् भन्नलाई पनिकामा कर्मचारीको नयाँ सेट तयारी गर्नमा जुटेको छ । पुर्व तयारी सकिए लगत्तै समितिले सिफारिस गरे अनुसारको कारवाही गर्न कानूनी छलफल सुरु हुन्छ,’ उनले थपे, ‘त्यसपछि कार्यकारी परिषदको बैठकले कारावही गर्ने निर्णय गरी पदबाट हटाउने कारावही हुन्छ ।’

  • खेलकुदमन्त्री विराजभक्तले बुबासँग लिएका छन् २० लाख ऋण

    खेलकुदमन्त्री विराजभक्तले बुबासँग लिएका छन् २० लाख ऋण

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको २० लाख ऋण रहेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खेलकुदमन्त्री श्रेष्ठले बुबासँग २० लाख ऋण लिएको उल्लेख गरेका छन्।

    उनको सेयर मार्केटमा भने एक करोड बढी लगानी रहेको छ। उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ। जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन्।

    यस्तो छ विवरण :

  • सिरोहियाले भने: समाचार रोकाउन ‘ब्ल्याकमेलिङ’ !, अनुसन्धानमा तयार छु

    सिरोहियाले भने: समाचार रोकाउन ‘ब्ल्याकमेलिङ’ !, अनुसन्धानमा तयार छु

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले समाचार रोकाउन ब्ल्याकमेलिङ गरी मूल कुरा विषयान्तर गर्न आफू विरुद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय, धनुषाले नागरिकता विवाद प्रकरणमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि सिरोहियाले विज्ञप्ति जारी गर्दै उक्त टिप्पणी गरेका हुन्।

    सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी रहेको सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    ‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल कुरा विषयान्तर गर्न मेराविरुद्ध आफै उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ विज्ञप्तिमा भनिएको छ,‘यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक वैधितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन।’

    अध्यक्ष सिरोहियाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएको आरोप लगाएका छन्।

    उनले विज्ञप्तिमा ‘प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने ‘पदाधिकारी’ दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको’ आरोप पनि थपेका छन्। उक्त विषयमा ‘कहिले अनुसन्धान हुने हो ?’ भन्ने सिरोहियाको प्रश्न छ ।

    ‘अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?’ सिरोहियाले थप अर्को प्रश्न विज्ञप्तिमा उल्लेख गरेका छन्।

    सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको सिरोहियाले उल्लेख गरेका छन्।

    उनले विज्ञप्तिमा अगाडि लेखेका छन्, ‘राज्य शक्ति र श्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ। कान्तिपुरको पहिचान र विरासत यही हो।’

    यस्तै, विज्ञप्तिमा कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको अध्यक्ष सिरोहियाले उल्लेख गरेका छन्। तर राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू र कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने सिरोहियाले भनेका छन्।

    ‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफै पनि जेल गएको हुँ। निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो,’ सिरोहियाले अगाडि लेखेका छन्, ‘तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ।’

    सिरोहियाले अहिले पनि आफू व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको तर कान्तिपुरले आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता नगर्न दाबी गरेका छन्।