Blog

  • पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी

    पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी

    कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथि अहिले सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ भइरहेको छ ।

    न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा उनीविरुद्धको मुद्दामा सुनुवाइ जारी रहेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि सर्वोच्चमा जोशीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो ।

    अख्तियारले २०६० सालको पुस १८ गते पूर्वमन्त्री जोशीविरुद्ध ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतबाट यो मुद्दा २०७० सालको साउन १५ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो । दर्ता भएको ११ वर्षपछि बल्ल सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

    पूर्वमन्त्री जोशीको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।

  • असोजभित्र काबेलीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा

    असोजभित्र काबेलीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा

    जलविद्युतको ‘हव’बन्दै आएको ताप्लेजुङमा एकपछि अर्को आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने संकेत देखिएको छ।

    ७३ मेगावाट क्षमताको सानिमा मध्य तमोर जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको केहीँ महिना पछि काबेली नदीमा निर्माणाधिन झण्डै ४८ मेगावाट क्षमताका तीन जलविद्युत आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जडान हुने भएको छ।

    यस्तै,ताप्लेजुङको काबेली बेसिनमा निर्माणाधीन ४७.४३ मेगावाटका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत आउँदा असोज भित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।

    छुट्टै तीन प्रवर्द्धक कम्पनीमार्फत एउटै समूहले काबेली नदीमा तीनवटा जलविद्युत आयोजनाको निर्माण गरिरहेका छन्।

    आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार तीनवटै आयोजनाको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

    बाँकी निर्माणका काममा कुनै व्यवधान सृजना नभए आगामी असोज महिनाभित्रमा तीनवटै जलविद्युत आयोजनाद्धारा उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने ढुङ्गानाले जानकारी दिए।

    काबेली नदीको पानी उपयोग गरी बनाईदैं आएको १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’, १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड र २१.९३ मेगावाटको काबेली–३ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

    ढुङ्गानाका अनुसार सुपर काबेली खोला आयोजना स्नोरिभर्स लिमिटेड, सुपर काबेली खोला क्यासकेड हिल्टन हाइड्रो इनर्जी र काबेली–३ आयोजना काबेली हाइड्रोपावर कम्पनीमार्फत निर्माण भइरहेका छन्।

    अघिल्लो बर्षको बाढी र पहिरोले आयोजनाका केहि संरचना तथा उपकरणहरु बगाएको र क्षतिग्रस्त बनाएको थियो। अघिल्लो सालको असार पहिलो साता काबेली नदीमा उर्लिएको बाढीले आयोजना प्रभावित क्षेत्र याम्फुदिन,खेवाङ,पेदाङ,तेल्लोक र मामाङ्खे सहितका क्षेत्रमा नराम्रो प्रभाव पारेको थियो।

    बाढी,पहिरो र अन्य व्यवधान सृजना नभए असोज महिना भित्रमा निर्माण कार्य पूरा भई असोज महिना भित्रै व्यवसायिक उत्पादनमा लैजान सकिने निर्माण कम्पनीहरुको बुझाई रहेको छ।

    आयोजना स्थल मुख्य सडकदेखि ५४ किलोमिटरको दुरीमा पर्छ। आयोजनाको ५४ किलामिटर पहुँच सडक मध्ये २५ किलोमिटर प्रवर्द्धक कम्पनीहरूमार्फत निर्माण गरिएको हो। यी तीनवटै जलविद्युत आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी काबेली करिडोर प्रसारण लाइनको पाँचथर अमरपुर सबस्टेसनमा लगेर जोडिनेछ।

    यी आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको ३१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको छ। १३२ केभी प्रसारण लाइनको ९६ वटा टावर निर्माण गरी तार तान्ने काम भइरहेको छ।

  • गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

    गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

    चितवन राष्ट्रिय निकुञ्जले एकसिंगे गैँडाको खाग खरिद–बिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ। सोही घटनाका एक आरोपित फरार रहेका छन्।

    निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका ६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो।

    पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका १६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका १५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका ४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका १ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन्।

    उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैंडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए। उक्त खाग विसं २०७२ साल चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ।

    पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका–१५ का भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिंगे गैँडा मरी सडिगलेको अवस्थामा देखेपछि दुईजना मिलेर मृत गैँडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ। निजमध्ये थापाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

    खाग खरिद–बिक्रीमा संलग्न रहेको खुलेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएका अर्का एक व्यक्ति भनेर फरार रहेका छन्।

    पक्राउ परेका र फरार रहेका गरी सातजनालाई प्रतिवादी बनाई संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग (आखेटोपहार) खरिद तथा बिक्री मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) ऐन, २०२९ को दफा ५(१) को (क) र दफा २६(१) को विरुद्धको कसुर गरेको निकुञ्जको ठहर छ।

    उनीहरूलाई सोही ऐनको दफा २६(१) बमोजिम सजाय माग गरी जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको निकुञ्जका संरक्षण अधिकृत पुर्जा पुनले जानकारी दिए। –रासस

  • छानबिन समितिको कार्यादेशमा कार्यदल सहमति नजिक

    छानबिन समितिको कार्यादेशमा कार्यदल सहमति नजिक

    सहकारी ठगी प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा दलहरु सहमति नजिक पुगेका छन् ।

    कार्यादेशमा नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने (Rabi Lamichhane) का नाम उल्लेख हुनु पर्ने नेपाली कांग्रेसको मागका कारण बारम्बार बसेपनि सहमति जुटाउन नसकेको कार्यदलको मंगलबारको बैठक भने सहमति उन्मुख भएको हो । सिंहरदबारस्थित कानुन मन्त्रालयमा बिहान बसेको बैठक टीओआरबारे सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।

    बैठकपछि नेताहरुले बीचको बाटोबाट सहमति खोज्ने विकल्पमा बैठकमा गम्भीररुपमा छलफल भएको बताए । आन्तरिक छलफल गरेर आगामी बैठकमा सहमति जुटाउने र टीओआरलाई अन्तिम रुप दिने उनीहरुको भनाइ छ ।

    एमाले प्रमुख सचेतक महेश बर्तौला (Mahesh Bartaula) ले अधिकांश विषय सकारात्मक ढंगले अघि बढेकाले चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।

    नेपाली कांग्रेसका जीवन परियार (Jiwan Pariyar) ले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता छ छैन भन्नेबारे साझा सहमति कसरी जुटाउन सकिन्छ भन्नेमा मंगलबारको छलफल केन्द्रित रहेको जानकारी दिए ।

    रास्वपाका शिशिर खनाल (Shishir Khanal) ले समस्या समाधानका लागि लचक हुन आफ्नो पार्टी सकारात्मक रहेको बताउँदै सभापति लामिछानेको विषय समेट्न आफूहरूलाई कुनै आपत्ति नभएको उल्लेख गरे ।

    सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति गर्दै दलहरुले त्यसको कार्यादेश टुङ्गो लगाउन कार्यदल गठन गरेका हुन् । तर कार्यादेशमा गृहमन्त्रीको नामै किटान गर्नुपर्ने कांग्रेसको अडान र नाम उल्लेख गर्न नहुने सत्तापक्षको भनाइले टुंगो लाग्न भने सकेको छैन।

    कानुनमन्त्री पदम गिरी (Padam Giri) को नेतृत्वमा गठित कार्यदलमा कांग्रेसका परियार, एमालेका बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल सदस्य छन् ।

  • एक हजार दुई सय रूपैयाँले घट्यो सुनको मूल्य

    एक हजार दुई सय रूपैयाँले घट्यो सुनको मूल्य

    स्थानीय बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला नौ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ८५ रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • नक्कली विवाह गराई पाँच लाखमा महिलाकाे बिक्री

    नक्कली विवाह गराई पाँच लाखमा महिलाकाे बिक्री

    एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई पाँच लाखमा बिक्री गरेको पाइएको छ।

    प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो।

    पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा चिनियाँ नागरिकसँग बिहे गरेपछि ग्रीनकार्ड बनाउन मिल्छ, त्यसपछि नेपाल आउनजान पाइन्छ अनि भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा लगेर विवाहसमेत गराएर बेचबिखन गरेको पाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

    अनुसन्धानका क्रममा आरोपी घलेले आर्थिक अवस्था कमजोर भएकी महिलालाई यसरी बेचबिखन गर्ने गरेको पाइएको छ।

    आरोपी घले २०७९ चैत १३ गते अदालतमा चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई पीडित महिलालाई २०८० वैशाख १ गते चीनमा पुर्याएर आफू नेपाल फर्किएकी थिइन्।

    त्यसपछि चिनियाँ नागरिकले जबर्जस्ती वेश्यावृत्तिमा लगाएको पीडितले बयान दिएकी ब्यूरोले जनाएको छ।

    जबर्जस्ती वेश्यावृत्तिमा लगाइराखेको अवस्थामा पीडित महिलाले आफन्तलाई जानकारी गराएपछि बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा २०८० असार १ गते उनको उद्धार गरिएको थियो।

    खोजतलासका क्रममा ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको ठमेलबाट घलेलाई पक्राउ गरी अहिले अनुसन्धान जारी राखिएको छ।

    उक्त घटनामा संलग्न चिनियाँ नागरिक र अन्य प्रतिवादीको खोजी जारी रहेको प्रहरीले जनाएको छ। -रासस

  • गण्डकी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै परेको रिटमा आज सुनुवाइ हुँदै

    गण्डकी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै परेको रिटमा आज सुनुवाइ हुँदै

    गण्डकी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

    न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलाशमा परेको उक्त मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको हो।

    मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतमाथि वैधानिकताको प्रश्न उठाउँदै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २५ वैशाखमा रिट दायर गरेका थिए।

    यसअघि उक्त रिट उपर न्यायाधीश अब्दुल अजिज मुसलमानले प्रारम्भिक सुनाइ गर्दै अर्को सुनुवाइ नभएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न आदेश जारी गरेको थियो। साथै, मङ्गलवार पेशी तोकिएको थियो।

    ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ। तर, सभामुख कृष्णप्रसाद धितालले ३० सिट नै बहुमतको आधिकारिकता दिएको भन्दै कांग्रेस सर्वोच्च पुगेको हो।

  • अभिनेता पल भन्छन्: फिल्म ‘पुजार सार्की’ मेरो करिअरको महत्त्वपूर्ण साबित हुनेछ

    अभिनेता पल भन्छन्: फिल्म ‘पुजार सार्की’ मेरो करिअरको महत्त्वपूर्ण साबित हुनेछ

    अभिनेता पल शाहले प्रहरीसँगको मुठभेडको दुई फोटो सामाजिक संजालको फेसबुकमा पोष्ट गरेका छन्।

    मंगलवार पलले बिहानै फेसबुकमा फोटो सार्वजनिक गरेका हुन्। फोटोमा उनी बुढो देखिएका छन्। उनको यो तस्बिर हो फिल्म ‘पुजार सार्की’ को।

    ‘मेरो करियरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा म ढुक्क छु। मैले केही दिन अगाडी पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन’, उनले अगाडि भनेका छन् ‘मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरुले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु।’

    उनले फिल्मको छायांकनको कारण संचार माध्यममा प्रत्यक्ष उपस्थित भएर समाचारको बिषय बन्न नसक्नुको बाध्यता बुझिदिन समेत अनुरोध गरेका छन्।

    ‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यो तस्बिरबाट तपाईले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ’ उनले थपे।

    फिल्म ‘पुजार सार्की’ यहि जेठ १० गते बिहिबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ। दिनेश राउत निर्देशित फिल्म सुवाष भुषालले निर्माण गरेका हुन्। फिल्ममा पलको अलवा प्रदीप खड्का र आर्यन सिग्देलको समेत अभिनय छ।

  • लिकर संघका अध्यक्ष राजन केसीको लिकर ग्यालरीमा छापा मारी सिलबन्दी

    लिकर संघका अध्यक्ष राजन केसीको लिकर ग्यालरीमा छापा मारी सिलबन्दी

    राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको टोलीले के के एण्ड के लिकर ग्यालरी, गोदाममा छापा मारी सिलबन्दी गरेको छ।

    लिकर संघका अध्यक्ष राजन केसी तथा दाजु अनिल केसीले सञ्चालन गर्दै आएको बुढानिलकण्ठ नगरपालिका १३ स्थित चुनिखेलमा रहेको के के एण्ड के लिकर ग्यालरी, गोदाम, अफिस र काठमाडौँ महानगरपालिका वडा नं. ३ बसुन्धरामा टोलीले छापा मारेको हो।

    सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले राजश्व अनुसन्धान विभागलाई उपलब्ध गराएको सूचनाको आधारमा राजश्वको विषेश प्रहरीले सो स्थानमा छापा मारेको थियो। स्रोतका अनुसार कार्यलयमा रहेको लेखा र स्टोर सम्बन्धी कागजहरू नियन्त्रणमा लिई कार्यालय अफिस, स्टोर र पसल सिल गरेको छ।

    अवैध रुपमा करौडौंको विभिन्न ब्राण्डका विदेशी तथा स्वदेशी रक्सीहरू कर छली भण्डार गरेको भन्ने सूचनाका आधारमा सिलबन्दी गरेको हो।

    छापा मारी बरामद गरिएका सामानहरू ल्याटप १ थान, कम्पुटर २ थान, पेनड्राइभ ४ थान, महत्त्वपूर्ण कागजात ६ र ७ बोरा रहेका छन्।

  • संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

    संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

    सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ। बैठक केहीबेर अघि मात्रै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो।

    बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानबाटै आजको बैठकमा छलफल सुरु भएको बताइएको छ। कांग्रेसको उक्त मागमा एमाले र रास्वपाले विरोध जनाउँदै आएका छन्।

    आइतवार पटक–पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भएपनि सहमति जुट्न नसकेपछि सोमवारका लागि बैठक बस्ने बताइएको थियो। तर, सोमवार बैठक बस्न नसकेपछि आज बसेको हो।

    गत शनिवार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो।

    कार्यदलको संयोजकमा कानुन मन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् भने सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन्।