Blog

  • बेलायती प्रधानमन्त्री सुनकले भनेः नेपालको हरेक क्षेत्रमा सहकार्य गर्न बेलायत तयार

    बेलायती प्रधानमन्त्री सुनकले भनेः नेपालको हरेक क्षेत्रमा सहकार्य गर्न बेलायत तयार

    बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन सहकार्यका लागि सँधै तयार रहेको बताएका छन्।

    नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको सय वर्ष पूरा भएको अवसरमा सोमवार बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ्ग स्ट्रिटमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र बेलायतबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताए।

    उनले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरूले द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरूको योगदानको प्रशंसा गर्दै बेलायती राजा चाल्र्सको विगतको नेपाल भ्रमणको स्मरण गरे।

    प्रधानमन्त्री सुनकले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धीबाट आफू प्रेरित भएको बताए।

    बेलायतका लागि नेपाली राजदू ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा सम्पन्न मैत्री सन्धीको महत्वको बारेमा जानकारी दिंदै उक्त सन्धिपश्चात अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे।

    नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका बारेमा जानकारी दिंदै उनले बेलायतले नेपालको विकासमा पुर्याएको सहयोगको लागि धन्यवाद दिए।

    साथै, आगामी १०० वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

    बेलायतकी परराष्ट्र राज्य मन्त्री आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्धको बारेमा बताउँदै बेलायतले नेपालको विकास प्रयासहरुमा गरिरहेको सहयोग जारी रहने र आर्थिक सम्बन्धलाई थप बिस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्याउने बताइन्।

    कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने, कलाकार मनिषा कोइराला, संघका उपाध्यक्ष डा. हेम राज शर्मा, रामशरण सिमखडा, प्रोफेशर सूर्य सुवेदी, डा. पदम सिमखडा, पर्वतारोही हरि बुढा बेलायतमा विभिन्न पेशा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरू, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरू एवं नेपालका बेलायती मित्रहरूको उपस्थिति रहेको थियो।

  • के गृहमन्त्री लामिछानेको जवाफमा कांग्रेसले चित्त नबुझाएकै हो त?

    के गृहमन्त्री लामिछानेको जवाफमा कांग्रेसले चित्त नबुझाएकै हो त?

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधि सभामा गरेको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस झनै आक्रामक बनेको छ। सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।

    आइतवार दिनभरीको छलफल पश्चात साझ मात्र गृहमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा लामिछानेले कांग्रेसलाई आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिएका थिए।

    लिखित सम्बोधन तयार पारेर रोष्ट्रममा उभिएका गृहमन्त्री लामिछानेले बढीजसो समय प्रतिपक्ष कांग्रेसका नेताहरूप्रति लक्षित गर्दै खर्चेका थिए।

    उनले कांग्रेस सभापति शेरबहादुर देउवा, आरजु राणा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहितका नेताहरूलक्षित सार्वजनिक समाचार उल्लेख गर्दै छानबिन समिति बनाउन तयार हुने कि नहुने भन्दै प्रश्न गरेका थिए।

    उनले संसद्मा सम्बोधनको क्रममा भनेका थिए, ‘सहकारी ठगी गर्नेलाई मात्र होइन्, कुषी अनुदान हिनामिना गरेर कुखुरा हाँस, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाउ। दुई तीन वटा नागरिकता बोक्नेलाई होइन्, नागरिकता एउटै बोकेर देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई पनि हटाउ। त्यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री।

    मिडियामा आएर पुग्ने भए सदनमा भएका कतिपय सांसदलाई यौन दुर्व्यवहार, कुषि अनुदानमा दुरुपयोग, आफ्नै सन्तानलाई अर्काको सन्तान बनाएर जापान पठाएको आरोपहरू पनि उनले लगाए।

    उनले २०५५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति भएका बेला गगन थापाले भ्रष्टाचार गरेको पनि उल्लेख गरे।

    व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टबाट सुनखानी एकीकृत कषि केन्द्रको नाममा १५ करोड रुपैयाँ लिएर नुवाकोटमा बाख्रा फार्म र काठमाडौंको गोल्फुटारमा मासु पसल खोलेको, २०६८ सालमा अनुदान लिएको र बन्द गरेको पनि उल्लेख गरे।

    त्यस्तै स्वास्थ्य मन्त्री भएका बेला १४ करोड रुपैयाँ लिएर कसैले राजकुमार रौनियारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति बनाउन खोजिएको सन्दर्भ पनि उनले उठाए।

    लामिछानेले रातो पासपोर्टको कुरा पनि उठाए। सांसदले नै बेचे रातो पासपोर्ट शीर्षकको समाचारमा, रातो पासपोर्टमा सजिलै भिसा लाग्ने भएकाले सभासदको पासपोर्टमा अन्य व्यक्तिको फोटो टाँसेर मानव तस्करी गर्ने गिरोह सक्रिय भएको भन्ने कुरा उनले उल्लेख गरे।

    वाइडबडी घोटाला प्रकरणको पनि चर्चा उनले गरे। वाइडबडी घोटाला प्रकरणमा तत्कालीन पर्यटनमन्त्री अर्बौंको घोटालामा मुछिएको कुरा पनि उनले निकाले।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेताहरूको अडियो नै बाहिर आएको, छ्याप्छ्याप्ती भएको विषयमा पनि संसदीय छानबिन समितिको विषय बनाउने हो भन्दै उनले प्रश्न गरेका थिए।

    उनले कैलालीको टीकापुर क्षेत्र वरपरको झन्डै ३० बिघा सरकारी जग्गा, दलका नेता, आफन्त र कार्यकर्तालाई वितरण गरेको भनेर अख्तियारको प्रतिवेदनलाई उद्धृत गर्दै धेरै समाचार आएको पनि उल्लेख गरेका थिए।

    २०७३ सालमा पूर्वसेनापति छत्रमानसिंह गुरूङको छोराको रोलेक्स घडी चोरी भएको प्रसंग पनि लामिछानेले उठाएका थिए।

    लामिछानेले उठाएका धेरै प्रकरणहरु कांग्रेस नेताहरुसंग जोडिएका छन्। उनले नेकपा एमाले र माओवादी केन्द्रसंग जोडिएका प्रकरणहरु भने उठाएका छैनन्।

    त्यसको जवाफमा कांग्रेस महामन्त्री गगन थापाले आफूमाथि लागेको आरोपमाथि पनि संसदीय छानबिन समिति बनाउन भनेका छन्। उनले गृहमन्त्रीले फाइल खोलौं भनेर धम्काउने नभएर खोल्नका लागि आग्रह गरे।

    उनले भने, ‘गृहमन्त्री ज्यू फाइल खोलौं भनेर धम्काउने होइन। तपाइ गृहमन्त्री हुनुहुन्छ। शक्तिशाली हुनुहुन्छ। हयातको फाइल खोल्नुहोस्। बाल मन्दिरको खोल्नुभएको छ। सबै खोल्नुहोस्। नधम्काउनुहोस् । नतर्साउनुहोस् र नअल्मलाउनुहोस्।’

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

    सोमवार बसेको संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लेखकले भने, ‘उहाँ (रवि लामिछाने) ले हिजो जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस्। तपाईंले जुन गम्भरी लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, व्यहोर्नुपर्ला।’

    रातो पासपोर्टमा मुछिएका कांग्रेसका उपसभापति धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न मागसहित सभामुखसमक्ष निवेदन समेत दिएका छन्।

    उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन्।

  • वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

    वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

    वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ।

    महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो। महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो।

    वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए। ‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ’ उनले भने।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकोमा त्यो प्राप्त गर्न कठिन हुने बताए।

    ‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार मात्रै सम्पत्ति कर (मालपोत) कर उठेको छ’, उनले भने, ‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ।’

    महानगरले २४ शीर्षकमा आन्तरिक राजस्ववापत आम्दानी गर्दै आइरहेको छ। महानगरले यस वर्ष घर बहाल करवापत चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने करवापत भने दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ।

    महानगरले बहाल करतर्फ तीन करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत दुई करोड ४१ लख ४३ हजार, नक्सा पास दस्तुर दुई करोड ९२ लाख ४ हजार उठाएको छ। गत आवमा ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन भएको थियो। –रासस

  • संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति?

    संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति?

    सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ९ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने छ।

    यसअघि आइतवार बसेको कार्यदलको बैठकमा सहमति जुट्न सकेको थिएन। बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा राखेपछि सहमति हुन सकेको थिएन।

    आइतवार पटक–पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भएपनि सहमति जुट्न नसकेपछि सोमवारका लागि बैठक बस्ने बताइएको थियो। तर, सोमवार बैठक बस्न नसकेपछि आज बस्न लागेको हो।

    गत शनिवार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो।

    कार्यदलको संयोजकमा कानुन मन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् भने सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन्।

  • पारामाउन्ट्सद्वारा नेपालमा वुलिङ इभी बिक्री वितरण

    पारामाउन्ट्सद्वारा नेपालमा वुलिङ इभी बिक्री वितरण

    पारामाउन्ट्सले बहुप्रतिक्षित वुलिङ ईभी नेपालमा भित्र्याएको छ। यससँगै नेपालमा अत्याधुनिक एवम् पर्यावरण-मैत्री विद्युतीय सवारी क्षेत्रमा यस गाडीले नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ।

    कम्पनीका अनुसार बिंगुओ इभीमा ३१.९ किलोवाटको लिथियम-आयनफस्फेट ब्याट्री जडान गरिएको छ। जसले एक पटक चार्ज गर्दा ३३३ किलोमिटरसम्मको सहज एवम् आरामदायी यात्रा गराउँछ।

    यस्तै ७९० लिटर क्षमताको बुट स्पेस भएको बिंगुओ इभी छोटो तथा लामो दूरीको यात्राको लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार ३१ लाख ९९ हजार रूपैयाँ सुरुवाती मूल्य पर्ने यस गाडीको क्षमता, बनोट, सुविधा एवम् प्राविधिक पक्ष अनुसार प्रतिस्पर्धी माझ मूल्य पनि आकर्षक रहेको छ। यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लु र मुस ग्रीन गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।

  • एमएडब्लु हायर पर्चेजको एमएचपिएल एप

    एमएडब्लु हायर पर्चेजको एमएचपिएल एप

    एमएडब्लु हायर पर्चेजले ग्राहकका लागि ट्रेन्डसेटिङ ‘एमएचपिएल एप’ ल्याएको छ। कम्पनीले ‘एमएचपिएल एप’ को सुरुवात ग्राहकको सेवामा सहजता प्रदान गर्नका लागि कोसेढुंगा भएको बताएको छ।

    ‘एमएचपिएल एप’ को सुरूवातसँगै ग्राहकका लागि कर्जा भुक्तानीको करोबार डिजिटल रूपमा गर्न सुविधाजनक विकल्प हुने कम्पनीले बताएको छ।

    ‘एमएचपिएल एप’ मा कर्जा विवरणका जानकारी र बाँकी सावाँ रकमको भुक्तानी तालिका, सुरक्षित र सुविधाजनक इएमआई भुक्तानीका विद्युतीय विकल्प सम्बन्धी जानकारी उपलब्ध छन्। साथै रियल टायम सूचना, युजर–फ्रेन्डली इन्टरफेस आदिको सुविधाहरू रहेको छ।

    एमएडडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपिएल एप’ को सुरुवात गरेका हुन्।

  • चाँगेमा व्यावसायिक मौरीपालन सुरु

    चाँगेमा व्यावसायिक मौरीपालन सुरु

    ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ४ चाँगेमा व्यावसायिक मौरी पालन सुरु भएको छ। सो क्षेत्र मौरी पालनका लागि सम्भावनायुक्त स्थल हो। आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा त्यहाँ करिब एक सय वटा आधुनिक मौरी घार वितरण गरिएको छ।

    घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको प्राविधिक सहयोगमा सुरु भएको मौरी पालनबाट व्यावसायिक रूपमा मह उत्पादन सुरु हुने संकेत देखिएको जानकारी कार्यालयका निमित्त प्रमुख युवराज घोर्साईले दिए। ‘मौरीका लागि उपयुक्त चरन क्षेत्र रहेकाले पनि मह उत्पादनमा गुणात्मक नतिजा प्राप्त हुने देखिएको छ’, घोर्साईले भने।

    आठराई त्रिवेणी गाउँपालिका ४ चाँगेका वडाध्यक्ष अर्जुन लिम्बूले महको व्यावसायिक उत्पादनको सम्भावना देखेरै वडापालिकाको तर्फबाट व्यावसायिक मौरीपालनका लागि सहयोग गरिएको बताए।

    उनले गुणस्तरीय र गुणात्मक दुबै प्रकृतिमा महको उत्पादन हुनेमा विश्वास लिएका छन्। महको बजार अभाव नहुने र बजारीकरणका लागि सहयोग गर्ने वचन आफूहरूले किसानलाई दिएको घोर्साईले जानकारी दिए।

    मौरी एक किसिमको किरा हो। यसले विभिन्न फूलको रस संकलन गरी मह जम्मा गर्ने गर्दछ। मौरीलाई मेहनती जीवको रूपमा चिनिन्छ। यिनीहरूले पहेँलो मैन प्रयोग गरी गुँड अर्थात् (चाका) बनाउँछन् भने त्यहीँ महसमेत उत्पादन गर्छ।

  • जसपाले पार्टी छाडेका ७ सांसदविरुद्ध दिएको रिटमाथि आज सुनुवाई

    जसपाले पार्टी छाडेका ७ सांसदविरुद्ध दिएको रिटमाथि आज सुनुवाई

    ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन जनता समाजवादी पार्टी, नेपालले दिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

    यसअघि सोमवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखेपछि सुनुवाइ हुन सकेको थिएन।

    पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए।

    यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए। तर, सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए।

  • जिम्नीको ‘अ राइड विथ अ कज’ सम्पन्न

    जिम्नीको ‘अ राइड विथ अ कज’ सम्पन्न

    सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्ट जेनले जिम्नी रारा एड्भेन्चर ‘अ राइड विथ अ कज’ सम्पन्न गरेको छ। जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन् भन्ने उद्देश्यका साथ सो राइड गरिएको कम्पनीले बताएको छ।

    वैशाख २३ देखि २९ गतेसम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा समापन भएको थियो। कम्पनीका अनुसार जिम्नी एउटा लाइफ स्टाइल एसयुभीको रूपमा निकै लोकप्रिय भएको उल्लेख गर्दै ९० भन्दा धेरै देशमा लन्च भएको जिम्नी ३० हजार बढी युनिट बिक्री भइसकेका छन्। कम्पनीले राइडलाई अझै अर्थपूर्ण बनाउन कालिकोटको सरस्वती आधारभूत विद्यालयलाई दुई लाख रूपैयाँ सहयोग गरेको थियो।

  • चेसमा पुरुषोत्तमको अग्रता

    चेसमा पुरुषोत्तमको अग्रता

    नेपाल बुद्धिचाल महासंघको आयोजनामा २४औं खुला तथा नवौं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप छनोट प्रतियोगिताको दोस्रो दिन तेस्रो चरणका खेल सम्पन्न भएका छन्। राष्ट्रिय ‘बी’ चेस छनोट प्रतियोगितामा जम्मा ६० पुरुष र १८ महिला राष्ट्रिय शीर्ष खेलाडीबीच चौथो चरणको खेल चलिरहेको छ।

    भक्तपुर जिल्ला बुद्धिचाल संघको सह आयोजना एवं स्थानीय व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामार्फत दुवै समूहका ९/९ जना खेलाडी जेठ १९ देखि काठमाडौंमा सुरु हुने राष्ट्रिय प्रतियोगितामाका लागि छनोट हुनेछन्।

    सूर्य विनायक रिसोर्ट गपली भक्तपुरमा सम्पन्न तेस्रो चरणको खेलपश्चात् यु १५ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवाल, नेपालका पूर्वच्याम्पियन केशव श्रेष्ठ र उदीयमान खेलाडी सिएम मिलन लामा ३/३ अंक जोडेर अग्रस्थानमा उभिएका छन्।

    पुरुषोत्तमले जनकराज जोशी, नवीन तण्डुकार र राजन सुवेदी माथि विजय हासिल गरेका छन्। सिएम केशव श्रेष्ठले आशानारायण लवट, सुदीप तामाङ र सोम आलेमाथि जित दर्ता गरेका छन् भने सिएम लामाले अविक शाह, गणेश दुवाल र सजिन महर्जनलाई पराजित गरेका छन्।

    सूर्यविनायक नगरपालिकाको प्रायोजन रहेको प्रतियोगितामा एआइएम सुश्रुत दाहाल, प्रेमकृष्ण महर्जन, सिएम पुरुषोत्तम चौलागाईं, राजीव कार्की, आशिष फुँयाल, निकेन कुसाथा, सिएम कृष्ण थापा र प्रकाशचन्द्र नेपाल २ जित र एक बराबरी खेलबाट २.५ अंक प्राप्त गर्दै संयुक्त दोस्रो स्थानमा सुरक्षित छन्।

    प्रतियोगिताको चौथो चरणमा मिलन र केशव, पुरुषोत्तम र निकेन, आशिष र सुश्रुत, प्रेम र प्रकाश, गणेश र राजीव प्रतिस्पर्धा गरिरहेका छन्। महिलातर्फ कोसी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी र पोखराकी पूजा भण्डारी शतप्रतिशत जित निकाल्दै ३ /३ अंकका साथ पहिलो स्थानमा रहन सफल भएका छन्।

    कृतिसराले नमन सेढाई, लक्ष्मी कँडेल र सिन्दिरा जोशीमाथि जित निकालेकी थिइन भने पूजाले एन्जेल महर्जन, पुनम प्रसाईं र विनीता कपालीलाई पराजित गरेकी थिइन्। चौथो चरणको खेल कृतिसरा र पूजाको बीचमा चलिरहेको छ।

    प्रतियोगिताका संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिले ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ट क्लासिकल खेलमा डाइरेक्ट इन्काउन्टर, बुचोल्स वान टु , मोस्ट विन नियम लागू रहने जानाए। उनले पुरुषतर्फ ९ चरण र महिलातर्फ ७ चरणको खेल हुने बताए।