Blog

  • परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्ति एक लाख मौज्दात मात्र

    उपप्रधान एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठको सम्पत्ति १ लाख २२ हजार ९ सय १८ रुपैयाँ मौज्दात मात्र भएको पाइएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रेष्ठको सम्पत्ति १ लाख २२ हजार ९ सय १८ रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ। उक्त मौज्दात सेवा सुविधा वापतको रहेको उल्लेख गरिएको छ।

    यस्तो छ विवरण:

  • प्रतिपक्षलाई पेलेकाे छैन्, २/३ दिन भित्रै सहमति जुट्छ: कानूनमन्त्री गिरी

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले प्रतिपक्ष दलहरुलाई पेलेर अघि बढ्न नचाहेको बताएका छन्।

    संसद्मा जुनसुकै मूल्यमा पनि पेश गर्नैपर्ने विषय बाध्य भएर अघि बढाउनुपर्ने भएकाले मात्रै सरकारले कांग्रेसको अवरोधका बीच केही कार्यसूचिहरु अघि बढाउनु परेको उनको स्पष्टीकरण थियो।

    मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कानूनमन्त्री गिरीले सरकारले कुनै प्रतिपक्षलाई बलमिच्याई गर्ने, पेलेर जाने भन्ने कुरा सत्य नभएको बताएका हुन्।

    संसद्मा अहिले अनिवार्य गर्नुपर्ने केही जिम्मेवारीहरु सरकार सामु रहेकाले संसद्मा ती कुराहरु अघि बढेको मन्त्री गिरीको भनाई थियो।

    संसदीय छानबिन समितिको कार्यादेशको विषयमा पनि दलहरु सहमतिको नजिक पुगेको उल्लेख गर्दै २/३ दिन भित्रै सहमति जुट्ने विश्वास व्यक्त गरे।

    सहकारी संसदीय छानबिन समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलको संयोजक समेत रहेका मन्त्री गिरीले प्रतिपक्ष कांग्रेसँग छलफल निरन्तर भइरहेकाले त्यसमा सहमति जुट्ने कुरामा ढिलाई नहुने दाबी गरे।

  • गृहमन्त्री लामिछानेको सम्पत्ति: करिब ८० तोला सुन, १ रोपनी ६ आना जग्गा

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक विवरणमा गृहमन्त्री लामिछानेको १ रोपनी ६ आना जग्गा र करिब ८० तोला सुन रहेको उल्लेख गरिएको छ।

    उनको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ। उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ।

    रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको पनि उल्लेख गरिएको छ। यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ।

    त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी ९संगोलमा० जग्गा पनि रहेको उल्लेख गरिएको छ।

    सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन्। यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन्।

    यस्तो छ विवरण:

  • कांग्रेसको आरोप: ‘संसद्लाई ब्यारेक बनाइयो’

    सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएका हुन्।

    मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेसका सांसदहरुले सत्ताले संसदलाई ब्यारेक बनाइएको बताए। उनीहरुले संसदलाई ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा बैठक सञ्चालन गरेको पनि जिकिर गरे।

    सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदमा बल प्रयोग गरेर लोकतन्त्रका मुलभुत मुल्य र मान्यतामाथि प्रहार गरिएको सुनाए।

    उनले सत्तापक्षबाट संविधान र संघीय शासन प्रणालीमाथि नै धावा बोल्ने काम भएको जिकिर गरे। प्रतिपक्ष दलको अवरोध भइरहँदा संसद बैठक सञ्चालन हुनु भत्र्सनायोग्य भएको भन्दै सरकारको यस कदमको प्रतिरोध गरिने उनकाे भनाइ थियाे।

    उनले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन भएको प्रस्ताव संसदमा नआएसम्म आफूहरुको अवरोध जारी रहने पनि उल्लेख गरे।

    सांसद पाण्डेले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० संसदबाट फिर्ता लिनुको आशय दलहरु फुटाउनलाई सहजता प्रदान गर्नु रहेको बताए।

    नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सभामुखले संसदलाई ब्यारेकजस्तो बनाएर आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती बैठक सञ्चालन गरेको बताए।

    उनले संसदीय छानविन समिति बनाउने कुरामा अलमल गरेर एमाले अध्यक्ष केपी ओलीले खेल खेलिरहेकाे टिप्पणी गरे। अवरोधका बीच संसद बैठक चलाउनुले संसदीय परम्परामाथि कालो धब्बा लागेको उनकाे भनाइ थियाे।

    नेपाली कांग्रेसकै सांसद रामहरी खतिवडाले संसद बैठकमा सभामुखको कामप्रति नेपाली कांग्रेसको विरोध रहेको जनाए। उनले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिएर अध्यादेश ल्याइ पार्टीहरु फुटाउनेतिर लाग्न लागेको आरोप लगाए।

    नेपाली कांग्रेसकी सांसद कल्पना चौधरीले संसद बैठकस्थलमा मर्यादापालकहरुले सांसदहरुलाई अमर्यादित व्यवहार गरेका बताइन्। उनले मर्यादापालकहरुको संख्या बढाएर कांग्रेसका सांसदहरुमाथि आक्रमण गर्न लगाइएको बताइन्। उनले प्रधानमन्त्री स्वयं आफूहरुमाथि जाइलाग्न खोजेको आरोप पनि लगाइन्।

    नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने बताएका छन्।

  • प्रधानमन्त्री दाहालको सम्पत्ति: १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात

    प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पति १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात रहेको देखिएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री दाहालको सम्पति चितवनमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात रहेको उल्लेख गरिएको छ।

    सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार दाहालसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठा जमिन रहेको उल्लेख गरिएको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।

    त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ।

    प्रधानमन्त्री दाहालसंग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ।

    प्रधानमन्त्री दाहालको एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ।

    यस्तो छ विवरण:

  • मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ: माधव नेपाल

    नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुने प्रष्ट पारेका छन्।

    उनले देशको बदलिँदो राजनीति परिस्थितिअनुसार मधेस प्रदेशको सत्ता समीकरण पनि बदलिने बताएका हुन्।

    मंगलबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले संघीय सरकारको स्वरूपमा भएको परिवर्तन मधेस प्रदेश सरकारमा पनि लागु हुने उल्लेख गरे।

    मुलुक संघीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बनाउनुपर्ने बाध्यता रहेको उनकाे भनाइ थियाे।

    ‘प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार छिट्टै परिवर्तन हुन्छ।’ अध्यक्ष नेपालले भने।

    नेपाल दलित मुक्ति संगठनको कार्यक्रममा सहभागी हुन नेपाल जनकपुरधाम आएका हुन्। मधेस सरकार गठनमा नेकपा एसको सिट संख्या निर्णायक छ।

    मधेस प्रदेशमा नेकपा एसको ७ प्रदेश सभा सदस्य छन्।

  • सहकारीको रकम अपचलनविरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली

    राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ।

    मंगलबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित सहकारीको रकम अपचलन विरुद्ध विरोध जनाएको हो।

    संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए।

    राज्य सत्तामा बस्नेहरुबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग रहेको बताए।

  • भारतको कर्नाटकमा दाजुबहिनीको शंकास्पद मृत्यु

    भारतको कर्नाटकमा दाजुबहिनीको शंकास्पद मृत्यु

    बैतडीको पुच्र्यौडी नगरपालिका ४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ।

    बुबा–आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजदुरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए।

    ‘दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्’, धामीले भने, ‘दुवैको शरीर चोटपटक देखिन्छ।’

    बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब ६ महिनाअघि मात्रै भारत गएका थिए। मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ। घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ।

    ‘सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो’, धामीले भने, ‘तर अझै शव अस्पतालमै छ।’ मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन्। –रासस

  • आफ्ना नेतामाथि लगाएको आरोप निराधार भए गृहमन्त्रीलाई संसद्‍बाट गलहत्याउने कांग्रेसको चुनौती

    आफ्ना नेतामाथि लगाएको आरोप निराधार भए गृहमन्त्रीलाई संसद्‍बाट गलहत्याउने कांग्रेसको चुनौती

    नेपाली कांगेसले संसद्‍मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने (Rabi Lamichhane)ले गत आइतबार दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांगेसका सहमहामन्त्री बद्री पाण्डे (Badri Pande) ले उक्त माग गरेका हुन् । सहकारी ठगी प्रकरणमा आफूमाथि लागेको आरोपबारे संसद्‍लाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले लगाएका सम्पूर्ण आरोप निराधार रहेकाले उक्त अभिव्यक्ति संसदको रेकर्डमा रहन नहुने पाण्डेको धारणा थियो । यदि आरोप सत्य हुन् भने प्रमाणित गरेर देखाउन रुलिङ गर्न सभामुखलाई पाण्डेको आग्रह थियो ।

    पार्टीका उपसभापति र महामन्त्रीमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै सांसद पाण्डेले सम्पूर्ण नेतामाथि छानबिन गर्न गृहमन्त्रीलाई चुनौती दिए ।

    राष्ट्रिय सूचना बेच्ने एजेन्टहरु संसदमा छन् भन्ने गृहमन्त्री लामिछानेको आरोपलाई चुनौती दिँदै पाण्डेले भने, ‘गृहमन्त्री ज्यू को हो त्यो एजेन्ट देखाउनुहोस् । उसलाई यो सदनबाट गलहत्याउन हामी तपाईंको साथमा लाग्ने छौं । हैन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने हामी तपाईंलाई गलहत्याउन पनि तयार छौं ।’

  • धुलिखेल–खावा सडक : आज र भोलि चार-चार घन्टा राजमार्ग बन्द

    धुलिखेल–खावा सडक : आज र भोलि चार-चार घन्टा राजमार्ग बन्द

    अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक विस्तार कार्यका लागि खण्ड बन्द गरिएको छ। जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिसहित सोमबार भएको बैठकले निर्माणाधीन उक्त खण्डमा आज र भोलि दिउँसो चारचार घन्टा बन्द गरेर विस्तार गर्ने निर्णय गरेको थियो।

    निर्णयअनुसार आज र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार किलोमिटर सडक खण्ड पूर्णरुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो।

    कार्यालयले सार्वजनिक अपिल गर्दै त्यस खण्डमा सबै किसिमका यातायात (दमकल, एम्बुलेन्स, शवबाहन र सुरक्षा निकायका सवारी साधनबाहेक) चार घन्टासम्म सञ्चालनमा पूर्ण रोक लगाइएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। काठमाडौँ–बनेपा हुँदै पाँचखालतर्फ जाने साना सवारीसाधन होराइजन होटल–आगन्तुक होटल (गोसाइँस्थान मार्ग)–रविओपी हुँदै पाँचखाल पुग्न सक्नेछन्।

    यस्तै बनेपाको चार दोबाटो–रविओपी हुँदै पाँचखाल र बिपी राजमार्ग–तीन पिप्ले–पाँचखाल पुग्ने वैकल्पिक बाटो रहेकाले साना सवारीसाधनलाई सोही बाटो प्रयोग गर्न अनुरोध गरिएको छ। यसका अतिरिक्त साना सवारी साधनले नगरकोट–कुन्ताबेंसी–जिरोकिलो सडक पनि प्रयोग गर्न सक्नेछन् भने दोलालघाट–पाँचखाल हुँदै काठमाडौँतर्फ आउने सबै प्रकारका सवारीसाधनले जिरोकिलोबाट कुन्ताबेसी नगरकोट सडक प्रयोग गर्न सक्ने छन्।

    निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो। केही महिना समय थपेर पुनर्निर्माण थालिएकाले छिटो सम्पन्न गर्न राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

    उक्त सडक खण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिना अर्थात् २०८० चैत १९ गतेको समय तोएिको थियो। उक्त खण्डका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय बजेट विनियोजन गरिएको छ।

    समयसीमासम्म २० प्रतिशत काम मात्र भएकाले बाँकी काम चाँडै सम्पन्न गर्न ताकेता गरिएको सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले बताए।

    नेपालको उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ। सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न ठाउँबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरिएको छ। –रासस