Blog

  • माइक्रो बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

    माइक्रो बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

    माइक्रोबस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्।

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा ३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना ४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन्।

    घाइते दुईजनाको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

    माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ।

    –रासस

  • थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

    थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

    काठमाडौंको थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ।

    मृतक भक्तपुरको छालिङ-७ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिए।

    नगरकोटी आज बिहान साढे पाँच बजे मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार कपडाले शवको मुख ढाकिएको थियो। अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • अवकाश

    अवकाश

    “ल अर्का वर्ष त सकिंदैन।’’ मकै गोडेको कोदालो छेउमा राखेर टोपीले पसीना पुछ्दै धिरप्रसाद बाले भन्नुभयो।

    “के गर्नु ठूलादाइ छोराछोरी विदेशमा भए पछि।’’ तल्ला घर कान्छाले आफ्नै बारीबाट भन्यो।

    धिरप्रसादबाले सोध्नुभयो, “कति मेटिस् मेलो कान्छा?’’

    “भोलि बिहानलाई एक धर्को रहने भो दाइ।’’ उसको जवाफ थियो।

    “कान्छा अर्को साल त म सक्दिन क्यारे। मेरो बारी पनि कमाइदेलास् नि है?’’ धिरप्रसादबाले कान्छालाई आग्रह गर्दै हुनुहुन्थ्यो। पल्लो गाउँबाट नरेश आइपुग्यो।

    उसले आउँदा आउँदै भन्यो, “के कुरा हुँदै छ? हामी पनि सुनौ न।’’

    “के हुन उमेर बढ्यो। पहिला जसरी काम गर्न सकिएन। कान्छासँग दुःख पोखेको नि।’’ धिरप्रसादबाले भन्नुभयो।

    नरेशले भन्यो, “के कुरा गर्नुहुन्छ? उता राजधानीमा नेताहरू बुढा भएर पनि मरिहत्ते गरेका छ्न्। हजूर अहिले नै बूढो भएँ भन्नुहुन्छ।’’

    “उनीहरूको जस्तो सजिलो काम भए पो।’’ धिरप्रसादबाले भन्नुभयो।

  • मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम पठनपाठन सुरु

    मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम पठनपाठन सुरु

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ। चालु शैक्षिक सत्र २०८१ देखि नगरभित्रका कक्षा १ देखि ८ कक्षासम्मका सबै विद्यालयमा ‘हाम्रो खुसी पाठ्यक्रम’ पठनपाठन सुरु गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए।

    ‘विद्यार्थीमा आत्मीय भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोसेढुंगा सावित हुने हामीले विश्वास लिएका छौं’, उनले भने। स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीका साथ विद्यालय हाताभित्र प्रवेश गर्ने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम देशमै पहिलोपटक सुरु गरिएको नगर प्रमुख अधिकारीले बताए।

    ‘जीवन, सम्बन्ध, संस्कार, व्यवहार, कर्तव्यनिष्ठता, राष्ट्रप्रेमको भावनादेखि पारिवारिक र सामाजिक सम्बन्धसँग सम्बन्धित विषय पाठ्यक्रमका समावेश छन्’, उनले भने। विभिन्न चरणमा गरिएको अध्ययन, छलफल र अनुसन्धानपछि पाठ्यक्रम तयार गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए।

    ‘विज्ञ समूहबाट नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ’, उनले भने, ‘हाम्रो खुसी पाठ्यक्रम सबै विद्यालयमा एकसाथ सुरु गर्न शिक्षकलाई सक्षम बनाइएको छ।’

    चोरमारास्थित नवजागरण नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटाको संयोजकत्वमा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र गठन गरी हाम्रो खुसी पाठ्यक्रम तयार गरिएको हो।

    नेपालमा अहिलेसम्म प्रयोग भएका पाठ्यक्रमभन्दा यो भिन्न र व्यावहारिक रहेकाले उपलब्धिपूर्ण हुने पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटाले बताए।

    ‘कथा र गतिविधिका माध्यमबाट बालबालिकामा विचारशीलता तथा जीवन मूल्य र सम्बन्ध बोध गराउने हेतुले पाठ्यक्रम तयार पारिएको छ’, उनले भने, ‘विद्यार्थीका आनिबानी, संस्कार, बौद्धिक एकाग्रता, सोचको दायराका क्षेत्रमा यस पाठ्यक्रमले सकारात्मक परिवर्तन ल्याउने छ।’

    मध्यविन्दु नगरपालिकाभित्रका सबै शिक्षकलाई पाठ्यक्रमसम्बन्धी तालिम सञ्चालन, खुसी संयोजक तोक्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई अभिमुखीकरण तालिमलगायतका काम सम्पन्न गरिएको संयोजक देवकोटाले बताए।

    मध्यविन्दुमा सामुदायिक र संस्थागत गरी ६४ विद्यालय छन्। ‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्न गण्डकी प्रदेश सरकारले नवपर्वतक कार्यक्रमअन्तर्गत ७६ लाख रुपैयाँ र नगरपालिकाले ४५ लाख रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए। –रासस

  • बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

    बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

    बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ।

    खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो। जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको जनाएको छ।

    विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन तीन सय ३९ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए।

    कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यसहित तीन सय ३९ जना स्वास्थ्यकर्मी, ६ सय ८९ जना स्वयंसेवक खटाइने प्रमख आचार्यले जानकारी दिए।

    खोप व्यवस्थापन तथा अनुगमनका लागि ९५ जनालाई खटाइने प्रमुख आचार्यले बताए। स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा बालबालिकालाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाइने उनले बताए।

    खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिने उनले जानकारी दिए।

    उनले भने, ‘विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो। नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी छ।

    सोहीअनुसार बागलुङमा पनि यो अभियान सञ्चालन गर्न थालेका हौं, सबै ठाउँका बालबालिकालाई यो खोप लगाउने गरी योजना बनाएका छौं।’ –रासस

  • ऐना

    ऐना

    १) ऐना

    “तेरा छाउरालाई एकै गाँस पारिदिन्छु।”, छेवैको स्याललाई ब्वाँसाले भन्यो।

    मृगलाई पनि ऊ धम्क्याउँदै थियो, “खै कहाँ छस्, तँ? बाहिर निस्की। तेरो ढाड सेकाउँछु।”

    जङ्गलमा उसको एकछत्र राज थियो। दिनहुँ निमुखा प्राणीमाथि गर्जिने र आतङ्क मच्चाउने कार्यमा ऊ माहिर थियो। त्यहाँका जनावरहरू उससँग थुरथुर हुन्थे। जङ्गलको हितमा बोल्ने प्राणीलाई मृत्युको मुखमा पुर्‍याउन ऊ कत्ति ढिला गर्दैनथ्यो। कुन्नि केलाई चलाए गन्ध भनेझैं उसको विरोध कोही गर्दैनथे।

    ‘विचरा! रानीवनका जनावर तैं चुप मै चुप भई बसेका थिए।’

    एकपटक म जङ्गलको बाटो जाँदै थिएँ। ठुलो आवाजमा कोही कराएको सुनें। पाइला आवाजतिरै मोडिए। ब्वाँसो रहेछ। ऊ आदेश दिंदै थियो, “जङ्गलमा राजा छान्ने कार्यक्रम छ। सबै जना हाजिर हुनू। हेर, साथी हो! राजा हुन धेरै गुण चाहिन्छ। सबैसँग मिल्ने शक्ति चाहिन्छ। धैर्य चाहिन्छ। सबैको मन जित्ने हुनुपर्दछ। यस जङ्गलमा मबाहेक कुनै प्राणी नैतिकवान् र चरित्रवान् नभएकाले सबैले मलाई राजा छान्नू।”

    पशुहरूबिच केही बेर खुसुरपुसुर चल्यो। अनि एक्कासि सबै पशुहरूले सामूहिक स्वरमा कराए, “ए! ब्वाँसा, पहिला आफ्नो छवि एकपटक ऐनामा त हेर्।”

    २) इच्छाशक्ति

    सुदरको गाउँ र बस्तीबाट जनलहर उठेको देखिन्थ्यो। नजिकिंदै आएको चुनावको जोस र ताप सबैका मुहारमा देखिन्थे। के नेता के जनता सबैका लागि वातावरण चुनावमय बनेको थियो।

    नेता र कार्यकर्ताहरू बग्रेल्ती घरघरै पुगेर प्रचारमा लागेका थिए। म बिहान सबेरै बाहिर घुम्न निस्किएको थिएँ। मैले अचम्मका दृश्यहरू देखें। उम्मेदवारहरू भोट माग्ने निहुँमा कोही जाँतोमा हातो समाउँदै, कोही ढिकीमा त कोही करौंती लिएर धानबारीमा देखिन्थे। सुदूरबासीहरू पनि गाउँमा सिंहदरबार पुगेको देखेर दङदास देखिन्थे।

    लाग्यो, मान्छेले चाह्यो भने चुड्कीको भरमा काम फत्ते हुन सक्दो रहेछ। अब भने देशको मुहार पक्कै फेरिने छ।’

    मभित्र झिनो आशा पलायो। घडीले नौ बजायो। खाना खाएँ र मनभरि विकासको आशाका किरण जगाउँदै म कार्यालयतर्फ लागें। बाटामा एक हुल स्कुले विद्यार्थीसँग भेट भयो। सबैका हातमा सूर्य, हँसिया, हथौडा, रुख अनि हलो यस्तैयस्तै चुनावी पर्चाहरू थिए। चित्रको तल आश्वासनका सुनौला अक्षरहरू लेखिएका थिए। म हेर्दै र हिंड्दै थिएँ।

    एउटा खिरिलो आवाज सुनियो, “बाफ्रे बाफ हामीले पढ्ने किताब आजसम्म आएको छैन, पर्चाचाहिँ यति छिटो।”

    ३) छड्के

    “म एउटीले भित्रबाहिर सबै कसरी भ्याउनु? दिनभरिको भागदौड र थकानले टाउको दुख्न थालेको छ। कैयन् दिनदेखि निद्रा परेको छैन।”, उनले श्रीमानसमक्ष बिन्ती बिसाइन्। उनले भने, “सहयोगी खोज्नु नि। लुगा धुने, भाँडा माझ्ने मान्छे पाइँदैनन् र?”

    श्रीमानको कुरा सुनी मैले काम सघाउने मान्छेको खोजी गरेँ। एउटी अधबैंसे महिला पाएँ। बिहान दश बजेदेखि साँझ पाँच बजेको समय उसलाई घरधन्दाको काम र दाम तोकिदिएँ। ऊ खुसी भई। म घर आएपछि मात्र ऊ बाटो लाग्थी। अब मैले पूर्णतः राहत महसुस गरेँ।

    एक दिन मेरी छिमेकीले मलाई सतर्क गराइन्, “तिम्रो काम गर्ने मान्छे त हिजोआज ढिलो आउँछे नि। ठग्न थाली कि कसो? याद गर है।”

    उनको कुराले मनमा चिसो पस्यो। मैले उसको छड्के लिने योजना बनाएँ र अफिस ढिला जाने निधो गरें। छिमेकीको कुरा सही निस्क्यो। ढिलो गरेर ढल्केकी उसलाई देख्नासाथ मैले झम्टिएँ, “जागिर खान मन छैन, महारानीलाई? यही हो, काममा आउने समय?”

    म तथानाम गाली गर्दै थिएँ। मोबाइलको घण्टी बज्यो। मैले फोन उठाएँ। करेन्टको झड्का लाग्यो। उताबाट हाकिम साप कुर्लँदै थिए, “के हो? घडी हेर्नुभएको छैन? कि काम गर्न मन छैन?”

    ४) प्रमाण

    सबै शिक्षकहरू मुखामुख गर्न थाले, “आखिर मामला के हो? किन अचानक बैठक बोलाइयो?”

    विकसित मुलुकको एउटा स्कुलका प्रधानाध्यापकले बैठक बोलाए। सबै शिक्षकहरू जिज्ञासा बोकेर बैठकमा उपस्थित भए। तोकिएको समयमा बैठक बस्यो। प्रधानाध्यापकले समस्या राख्दै भने, “हाम्रो देशमा नक्कली शरणार्थीको संख्या ह्वात्तै बढ्नाले समस्या थपिएको छ। तिनको पहिचान गरी उनीहरूकै देश फिर्ता गर्नू भनेर माथिल्लो निकायबाट आदेश आएको छ।”

    एक जना शिक्षकले तर्क गरे, “यो सरकारको जिम्मेवारी होइन रस्कुलमा केको समस्या?”

    प्रधानाध्यापकले अथ्र्याए, “पहिचानका लागि विद्यार्थीबाट उसको परिवारसम्म पुग्न सकिन्छ भन्ने आशय हो।”

    छलफल सुरु भयो। एक जना शिक्षकले उपाय सुझाउँदै प्रस्ताव अघि सारे। उनको प्रस्ताव अनुरूप तुरुन्तै विद्यार्थीहरूबिच वक्तृत्वकला कार्यव्रmमको आयोजना भयो। विषय थियो, ‘देशप्रेम!’

    कार्यव्रmम जब सकियो, अधिकांश शिक्षकहरू छक्क परिरहेका थिए किनभने धेरैजसो वक्ताहरू आफूलाई सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउँदै थिए।

    ५) कथा

    सानो झुप्राले नजिकैको पोथ्रोसँग भन्यो, “मसँग सुनाउनै पर्ने धेरै कथाहरू थिए। खै, कसलाई सुनाऊँ?”

    पोथ्राले भन्यो, “तिमी कथा भन्दै जाऊ। म सुन्छु। वरिपरि ढुङ्गामाटो र झारहरू छन्। तिनीहरू सुन्छन्। पातहरू हल्लाएर हावालाई डाक्छु। रातिका जून र तारा तथा दिउँसोको घामलाई पनि भनम्ला।”

    पोथ्राको कुरा सुनेपछि झुप्रो खुसी भएको देखेर फेरि भन्दै गयो, “मौसमअनुसार जाडो, गर्मी, कुहिरो, तुवाँलो, बादल, वर्षा आँधीबेहरी पनि त यतै हिंड्छन्। सबैलाई डाकम्ला। बरु तिम्रो झुप्रोअगाडि सानो आँगन बनाऊ। मेरा पहेंला पातहरू त्यहीं ओछ्याइदिउँला। आउनेहरू बसेर तिम्रा कथा सुन्ने छन्।”

    एकाएक झुप्रो मलीन देखियो। “के भयो? मेरा कुरामा विश्वास भएन र?”

    “सबै कुरा भयो। तर, तिमी मान्छेलाई बोलाउन्नौ र? तिमीले मान्छेको नाम नै लिएनौ त?”

    पोथ्राले भन्यो, “भो, कुरै नगर यो मान्छे जातको! यिनीहरूलाई आफ्नोबाहेक अर्काको कुरा सुन्ने धैर्य कहाँ छ र।”

  • लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

    लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

    गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ।

    बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ। पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए।

    नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ६ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले हस्तान्तरण चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएको बताए।

    दुई सय दुई किमि बेनी–जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप ६ वटा स्थानमा पुल निर्माण भएका छन्। बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको छ।

    नाम्डोक, लोमान्थाङ, किम्लिङ र भर्मा खोलाको पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो। बीस मिटर लामो लोमान्थाङ खोलाको पुलको लागत चार करोड ६८ लाख दुई हजार ६ सय ३८, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ हो।

    कालिका–गजुरमुखी जेभीले २०७६ साल चैतमा सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङ खोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण पूरा भएको छ।

    सडक विभागले बिओकेआई-हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको रघुगङ्गा गाउँपालिका १ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल पनि सम्पन्न भएको छ।

    बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएका छन्। म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो।

    विभागको पुल महाशाखाका अनुसार म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ। छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो।

    अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ। थासाङ गाउँपालिकाको सेतो खोलामा मोटरेबल पुल निर्माण थालिएको छ। सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्। थप पाँच ठाउँमा पुल निर्माण प्रस्ताव गरिएको छ।

    पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन २०७३-७४ देखि सुरु भएको योजनाको हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए। ६ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा विभक्त २२ किलोमिटरमा कालोपत्र भएको छ। –रासस

  • मानव जातिकै कल्याणका लागि बुद्ध दर्शन

    मानव जातिकै कल्याणका लागि बुद्ध दर्शन

    विश्वभर बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गएको तथा त्यो सर्वदा रहने बौद्ध विद्वान्हरूले बताएका छन्।

    त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६८औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमाका अवसरमा सोमबार आयोजना गरेको ‘कार्यक्रमका वक्ताले बुद्ध दर्शनको सान्दर्भिकता नेपालसहित विश्वभर बढ्दै गएको तथा त्यो सर्वदा रहने बताएका हुन्।

    त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईले बुद्धका उपदेश कार्यान्वयन हुन सकेमा समग्र मानव जातिको कल्याण हुने बताए।

    उनले बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गइरहेकाले मानवका असीमित चाहना नै दुःखको प्रमुख रहेको बताए। गौतमबुद्धको दर्शन, उपदेश र जीवन विज्ञानका बारेमा प्राज्ञिक निकायले थप अनुसन्धान गर्नुपर्ने उनले बताए।

    गुम्बा विकास समितिका अध्यक्ष थुप्तेन जिग्डोलले बौद्ध अध्ययन जीवन जिउने कला भएकाले मनको शान्तिका लागि बुद्धका उपदेश उपयोगी हुने बताए।

    त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डा. चन्द्रकला घिमिरेले बौद्ध अध्ययन केन्द्रीय विभागलाई समयानुकूल रुपान्तरण गर्दै बौद्ध अध्ययनलाई प्रचार–प्रसार गर्दै अनुसन्धानका गतिविधिमा केन्द्रित गरिएको बताए।

    बुद्ध प्रकाश फाउनडेसनका सदस्य खेन्पो पेमा ओजेर, त्रिविका स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्यामराज ओझा र त्रिवि कर्मचारी संघ विश्वविद्यालय क्याम्पसका सभापति अनन्त पौडेललगायत वक्ताले बुद्ध जन्मिएको देश नेपालको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न आवश्यक भएको बताए। सोही अवसरमा त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागबाट प्रकाशित जर्नलको विमोचन गरिएको थियो। –रासस

  • वित्तीय साक्षरता तथा अन्तरक्रिया

    वित्तीय साक्षरता तथा अन्तरक्रिया

    स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेलेको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    यसै क्रममा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रहरूमध्ये उत्कृष्ट तीन केन्द्रलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो।

    त्यस्तै, शाखा कार्यालय अन्तर्गत शैक्षिक सत्र २०७९ मा एसइई परीक्षामा ग्राहक सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र नं. ७५ समूह चारमा आवद्ध सदस्य साइँलीमायाँ लामाकी छोरी लक्ष्मी लामालाई १० हजार रूपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।

  • राष्ट्रिय सभाको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पेश हुने

    राष्ट्रिय सभाको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पेश हुने

    राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजे बस्ने छ।

    आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन्।

    साथै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने पनि आजको कार्यसूचीमा तय गरिएको छ।

    अध्यक्ष दहालले विषयगत समितिमा माननीय सदस्यको नाम मनोनयन गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहालले संवत २०८१ साल जेठ १ गते राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ।

    यस्तै, अध्यक्ष दहालले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने छन् भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेश गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेश गर्ने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले “सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूचि रहेको छ।