Blog

  • भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

    भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

    भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ। भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो।

    महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेल सेवा प्रारम्भ भएको हो।

    नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गतेसम्म रेल सेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो।

    सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ देखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो। –रासस

  • संसद बैठक आज पनि बस्दै

    संसद बैठक आज पनि बस्दै

    प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

    सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाए लगतै सभामुख देवराज घिमिरेले संसद बैठक आज बस्ने गरी स्थगित गरेका थिए।

    आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने छन्।

    यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ।

    त्यस्तै आजको बैठकमा राष्ट्रपतिलाई सभामुखले धन्यवाद दिने पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने छन्।

    त्यस्तै आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    यता, प्रतिपक्षी नेपाली कांग्रेसले आजको बैठकमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने हेर्न बाँकी छ। सोमवार प्रतिपक्षी कांग्रेससहितका दलहरूको विरोधका बाबजुद प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए।

  • राखेपद्वारा विशेष प्रशिक्षणमा पाँच खेल थप

    राखेपद्वारा विशेष प्रशिक्षणमा पाँच खेल थप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा ५ खेल थप गरेको छ। मिसन– २०२६ अन्तर्गत दोस्रो चरणमा ५ खेल थप गरिएको हो। पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए।

    मिसन– २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार लाजिम्पाटमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दोस्रो चरणमा पनि ५ खेल थप गरिएको घोषणा गरे। थप गरिएका खेलहरूमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स छन्।

    ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ। कबड्डी र भलिबलमा समान १२/१२ खेलाडीले स्थान पाएका छन्। भारोत्तोलन र कुस्तीमा समान ५/५ तथा एथलेटिक्समा समान ४/४ पुरुष/महिला खेलाडीलाई समावेश गरिएको छ। पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन्।

    जापानमा हुने २०औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यसअगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा ५ खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीका लागि विशेष प्रशिक्षणको सुरुआत गरेको थियो। एसियाली खेलकुदपछि अर्को संस्करणका लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो।

    सदस्य–सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९औं एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेर राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षण सुरु गरिएको बताए।

    अभिनेता राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्यसचिव घिसिङले भने, ‘आजको कार्यक्रम महानायक राजेश हमालको उपस्थितिमा भइरहेको छ। हामी पनि एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायकहरू खोजिरहेका छौं। तपाईं खेलाडीमध्येबाट नै हामीले खेलकुदको नायक पाउनेछौं भन्ने मलाई पूर्ण विश्वास छ।’

    उत्प्रेरणा कार्यक्रममा नायक हमालले विगतका कमीकमजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नुपर्ने बताउँदै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्ने धारणा व्यक्त गरे।

    राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतको भन्दा राम्रो उपलब्धि हासिल गर्न सदस्य–सचिवले चाल्नुभएको कदमको प्रशंसा गर्दै एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गरे।

    उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो। डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङसम्बन्धी विविध पक्षबारे जानकारी गराएका थिए।

  • कोशी, मधेश र लुम्बिनीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

    कोशी, मधेश र लुम्बिनीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

    आज देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ।

    महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तथा देशका भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

    २०८१ जेठ ०९ गते (बुधवार)

    दिउँसोः कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिः कोशी र मधेस प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भु–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भुभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०८१ जेठ १० गते (बिहीवार)

    दिउँसोः देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भु–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • बारको माग-संविधान संशोधन

    बारको माग-संविधान संशोधन

    न्यायपालिका पुनःसंरचनाको विषय उठाएको कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संविधान संशोधनको माग उठाएको छ। अखिल नेपाल कानुन व्यवसायीको १६औं राष्ट्रिय सम्मेलनमा पारित ३८ बुँदे घोषणापत्रमा संविधान संशोधनको विषय उठाइएको हो।

    नेपाल बारले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश रहने व्यवस्था हटाउन, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश नियुक्तिका क्रममा हुने संसदीय सुनुवाइको व्यवस्था हटाउन, सर्वोच्च अदालतको क्षेत्राधिकार पुनरवलोकन गर्न, सर्वोच्च अदालतमा न्यायाधीशको संख्या २५ जना हुने व्यवस्था गर्नलगायत माग राख्दै संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको हो।

    बारले संविधानको धारा १३७ को उपधारा २ को खण्ड (क) मा रहेको प्रदेशसभा, स्थानीय तहको निर्वाचनसम्बन्धी विवाद प्रदेशमा रहेको उच्च अदालतलाई अधिकार दिनेगरी संविधानको व्यवस्था संशोधन गर्न माग गरेको छ।

    संविधानको धारा २८४ को उपधारा १ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्थाअन्तर्गत प्रधानन्यायाधीश रहने भन्ने व्यवस्था छ। सम्मेलनले ‘भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नबाहेक अन्य संवैधानिक निकायका प्रमुख र पदाधिकारीको सिफारिसमा कुनै भूमिका नरहने गरी संविधान संशोधन’ गर्न माग गरेको हो।

    संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति हुने सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीशहरूको संसदीय सुनुवाइको व्यवस्था संविधानबाट हटाउन माग गरिएको हो। ‘प्रधानन्यायाधीशको हकमा संवैधानिक परिषद् र न्यायाधीशको हकमा न्याय परिषद्ले योग्यताको परीक्षणका लागि सार्वजनिक सूचना जारी गरी सम्भावित व्यक्तिविरुद्ध कुनै कैफियत भए सोबारे जानकारी गराउन सार्वजनिक सूचना प्रकाशन गरी नियुक्ति गर्ने व्यवस्था मिलाउन र सोबाहेक अन्य संवैधानिक पदमा नियुक्त हुनेको संसदीय सुनुवाइ यथावत् राख्न सम्मेलन माग गर्छ,’ घोषणापत्रमा भनिएको छ।

    न्याय परिषद् गठन सम्बन्धमा संविधानमा नेपाल बारको प्रतिनिधित्व गराउने व्यवस्था छ। त्यसलाई परिषद्मा कार्यसम्पादनका क्रममा केन्द्रबिन्दुमा राखेर कार्य गर्न जिम्मेवार बनाउन माग छ। ‘परिषद्मा प्रधानमन्त्रीबाट हुने सिफारिस, बारबाट सिफारिस हुनेले न्यायाधीशमा नियुक्त हुन र अवकाशपछि नियमित अदालतमा बहस पैरवी गर्न नपाउने व्यवस्थाका लागि आवश्यक पहल गर्न यो सम्मेलन बारलाई निर्देश गर्छ,’ घोषणापत्रमा उल्लेख छ।

    घोषणापत्रमा भनिएको छ, ‘सबै तहका न्यायाधीश, न्याय परिषद्का सदस्य एवं निजहरूको एकासगोलको परिवारका सदस्यको सम्पत्ति विवरण वार्षिक रूपमा दाखिल एवं सार्वजनिक गर्नुपर्ने र त्यसरी दाखिल गर्नुपर्ने कुनै विवरण लुकाएमा फौजदारी दायित्वको सिर्जना हुने कानुनी व्यवस्था गर्न र परिषद्ले समेत त्यस्तो विवरण सार्वजनिक रूपमा प्रकाशन गर्ने व्यवस्था गर्न यो सम्मेलन आह्वान गर्छ।’

    सर्वोच्च अदालतको क्षेत्राधिकार पुनरवलोकन गरी संवैधानिक तथा मौलिक हकका विषयवस्तु, संघीय कानुनसँग सम्बन्धित विषयवस्तु, देवानी र फौजदारी विषयका गम्भीर प्रकृतिका मुद्दाको क्षेत्राधिकार पुनः परिभाषित गर्न सम्मेलनले माग गरेको छ।

    सर्वोच्च अदालतमा रहेको संवैधानिक इजलास एक स्थायी इजलासका रूपमा नियमित सञ्चालनमा ल्याउन थप चार न्यायाधीश नियुक्त गरी सर्वोच्चमा न्यायाधीशको कुल संख्या २५ जना हुनुपर्ने माग छ। हाल सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश मात्र रहने व्यवस्था छ।

    ‘प्रधानन्यायाधीशसहित वरिष्ठतम चारजना न्यायाधीशहरू संवैधानिक इजलासमा निरन्तर रहने व्यवस्था गर्न, संवैधानिक इजलासमा मुद्दाको चाप नभए ती न्यायाधीशहरूबाट अन्य मुद्दा हेर्ने व्यवस्था मिलाउन यो सम्मेलन सम्बद्ध निकायहरूको ध्यानाकर्षण गराउँछ,’ घोषणापत्रमा उल्लेख छ, ‘संघ र प्रदेशबीचको अधिकारको विवाद, संघीय संसदको निर्वाचन विवाद सर्वोच्च अदालतबाट हेरिनुपर्ने, प्रदेशसभा निर्वाचन एवं स्थानीय तहको निर्वाचनसम्बन्धी विवाद प्रदेशको उच्च अदालतलाई अधिकार प्रदान गर्ने गरी संविधानको धारा १३७ को उपधारा २ को खण्ड (क) मा संशोधन गर्न यो सम्मेलन माग गर्छ।’

    सर्वोच्च अदालत र उच्च अदालतको पुनरावेदकीय अधिकार क्षेत्र, बिगो र जरिवानालाई आधार मानी पुनरावेदन गर्ने अधिकारलाई संकुचन गरेको भन्दै सुरु अदालतले गरेको फैसलामा तात्त्विक भिन्नता देखिए सबै मुद्दामा पुनरावेदन गर्ने व्यवस्था गर्न माग गरिएको छ। दोहोर्‍याउने अनुमति नदिने गरी आदेश गर्दा आधार र कारण अनिवार्य रूपमा लेख्नुपर्ने गरी नियमावलीमा व्यवस्था गर्न भनिएको छ। अदालतबाट सजाय निर्धारण गरिएको बिगो, जरिवाना, क्षतिपूर्तिबापतको रकम धरौटी नराखी सहज रूपमा पुनरावेदन गर्न पाउने व्यवस्थाको माग गरिएको छ।

    उच्च अदालतका निर्णय, नजिर प्रकाशन गरी अभिलेख अदालत बनाउन पनि सम्मेलनले माग गरेको छ। ‘संविधानको धारा १४९ को उपधारा २ को (ग) को जिल्ला न्यायाधीशमा कानुन व्यवसायीहरूबाट मात्र नियुक्ति गर्ने व्यवस्था गर्न यो सम्मेलन आह्वान गर्छ।’ उच्चका न्यायाधीशहरूको निवृत्तिभरण अवधि सर्वोच्च अदालतका न्यायाधीशसरह हुने गरी कानुन संशोधन गर्न माग गरिएको छ।

    उच्च अदालतको न्यायाधीश पदमा नियुक्ति सिफारिस हुनेहरूलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमार्फत कम्तीमा तीन महिनाको अनिवार्य तालिम दिने व्यवस्था गर्न माग गरिएको छ। ‘जिल्ला न्यायाधीशका हकमा परीक्षा लिँदा फैसला गर्ने क्षमता, मुद्दामा रहेका विवादित विषयको पहिचान, कानुनको ज्ञान, फैसला लेखनजस्ता विषयको परीक्षण गरी मिसिल अध्ययनमा आधारित परीक्षा प्रणालीको विकास गर्न’ पनि सम्मेलनले माग गरेको छ।

    विशेष अदालत, प्रशासकीय अदालत, श्रम अदालत, राजस्व न्यायाधीकरण, वैदेशिक रोजगार न्यायाधीकरण र ऋण असुली न्यायाधीकरणलाई एकीकृत गर्न भनिएको छ। साथै हरेक प्रदेशका उच्च अदालतको एकीकृत प्रशासनमा रहनेगरी विकेन्द्रीकरण गर्न एकीकृत अदालतमा गाभी सातै प्रदेशमा गठन गर्ने व्यवस्था गर्न सम्मेलनले माग गरेको छ।

    सर्वोच्च अदालतका न्यायाधीशको पदावधि संविधानमा सुनिश्चित नहुँदा न्यायपालिकाको स्वच्छता, निर्भीकता र स्वतन्त्रतामा ह्रास आएको बारद्वारा गठित न्यायपालिकाको पुनःसंरचना अध्ययन तथा सुझाव समितिले पेस गरेको प्रतिवेदनमा उल्लेख गरिसकिएको छ।

    न्यायापालिकामा रहेका विकृति, विसंगति र भ्रष्टाचार निर्मूल गर्न सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको ‘न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं बिचौलियाको रोकथाम एवं नियन्त्रण’ गर्न प्रकाशित प्रतिवेदन सर्वोच्च अदालतको फुल कोर्टबाट यथाशीघ्र निर्णय गरी लागु गर्न सर्वोच्च अदालतलाई सम्मेलनले आह्वान गरेको छ। साथै पूर्ण स्वचालित पेसी प्रणाली अविलम्ब लागु गर्नसमेत माग गरिएको छ।

    स्थानीय तहका न्यायिक समितिलाई मेलमिलाप गर्ने भूमिकामा सीमित गर्दै संविधानमा उल्लेख भएअनुसार स्थानीय अदालत गठन गरी मेलमिलापबाट समाधान हुन नसकेका मुद्दा न्यायिक समितिले स्थानीय अदालतमा पठाउने विषयमा ‘हरेक स्थानीय तहमा आवश्यकताअनुसार स्थानीय अदालत स्थापना गरी स्थानीय अदालतसम्बन्धी व्यवस्था गर्न र स्थानीय अदालतका न्यायाधीशको नियुक्ति, कार्य क्षेत्र र सेवाको सर्त तर्जुमा गर्ने कानुन निर्माणसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिन’ माग गरेको छ।

    संविधानबमोजिम प्रारम्भ गरिने महाभियोग प्रस्तावका सम्बन्धमा आरोपित तथ्यको छानबिन गरी समितिले काम प्रारम्भ गरेको मितिले ६ महिनाभित्र टुंगो लगाउने गरी बाध्यात्मक कानुनी व्यवस्था गर्नलगायत सम्मेलनको माग छ।

  • पहाडको काफल, तराईमा कोसेली

    पहाडको काफल, तराईमा कोसेली

    अहिले काफलको सिजन हो। चैतको अन्तिम सातादेखि जेठको अन्तिम सातासम्म काफल पाइन्छ। गाउँघरका जंगल यतिबेला काफल पाकेर राताम्मे छन्। यहाँका काफल अहिले सुपादेउराली आउने भारतीय पर्यटकले समेत झोलाभरि राखेर भारत पुर्‍याउँछन्। पहाडबाट तराई झर्नेका लागि अहिले काफल अनिवार्य कोसेलीजस्तै भएको छ।

    सन्धिखर्कदेखि बुटवल, काठमाडौं, दाङलगायत क्षेत्रतर्फ लागेका यात्रुका लागि घुम्ती, नरपानी, सुपादेउरालीलगायत क्षेत्र काफल पाइने ठाउँका रूपमा परिचित छन्। सवारी रोकेरै थैलाका थैला काफल कोसेलीका रूपमा तराईमा रहेका आफन्त, छरछिमेकीलाई लगिदिने प्रचलन नै बनेको छ। भूमिकास्थान– ९ का सुशील घिमिरे प्रत्येक साताको शुक्रबार तराई बस्ने आमाबुवा तथा पत्नीलाई भेट्न जान्छन्।

    केही न केही कोसेली बोकेर जाने उनी आजकल काफल नै बोकेर जाने गरेका छन्। भूमिकास्थान नगरपालिकाको भेटेरिनरी शाखामा कार्यरत उनी काफल उत्तम कोसेली रहेको बताउँछन्। ‘फलफूल र अन्य कुरा लिएर जान्थें,’ उनले भने, ‘काफल सबैले रुचाउँछन्, अहिले यही लिएर जाने गरेको छु।’

    गाउँघरमा अर्गानिक रूपमै फल्ने काफल नुनखुर्सानीसँग साँधेर सुकाएपछि मोलेर वा यसै पनि खाने गरिन्छ। पहाडको ताजा काफल खान पाउँदा तराई बस्नेहरू खुसी हुन्छन्। यो दुई महिना काफल बेच्ने, काफल किन्ने र काफल खानेलगायत खुसी हुने समय हो।

    यो सिजनमा किसानले दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन्। अरू समयमा खेती-किसानी गर्ने कृषक यतिबेला अन्य काम छाडेर काफल बेच्नमै व्यस्त छन्। सन्धिखर्क–६ जगतका धनबहादुर नेपाली बिहानभर रुखमा चढेर काफल टिप्छन् र दिनभर ओहोरदोहोर गर्ने सवारीसाधनका यात्रुलाई बेच्छन्।

    ‘बिहान घरको कामधन्दा सकेर काफल टिप्छु। दिनभर घुम्ती र नरपानीमा काफल बेच्छु। राम्रै आम्दानी भएको छ, यो सिजनमा दुई लाख रुपैयाँ जति कमाउँछु,’ धनबहादुरले भने। आफ्नो निजी जंगलमा भएको काफल टिपेर बेच्दा राम्रै आम्दानी हुने भएपछि सन्धिखर्क ६ र ७ का किसानको दैनिकी काफल टिप्न, छाँट्न र बेच्नमै बितेको छ।

    स्थानीय गोपाल नेपाली काफल बेच्न सुपादेउराली मन्दिरसम्म पुग्छन्। एकै दिन ६ हजारको काफल बेचेको स्मरण गर्दै उनले भने, ‘सुपादेउरालीमा निकै भिड थियो। भारतबाट पर्यटकको घुँइचो नै थियो। त्यस दिन मैले ६ हजारको काफल बेचेको थिएँ। सधैं त्यस्तो त हुँदैन। कहिलेकाँही एक हजार रूपैयाँको पनि बिक्न मुस्किल पर्छ।’

    यहाँका पुरुष मात्र होइन महिला दिदीबहिनी, बालबालिका सबैले काफल बेचिरहेका हुन्छन्। जंगलमा फल्ने भएकाले स्याहारसुसार गर्नु नपर्ने, धेरै मेहनत गर्नु नपर्ने र लागत पनि शून्य जस्तै पर्ने भएकाले काफल बेचेको पैसा सबै मुनाफा जस्तै हो। खर्च कटाउनु नपर्ने, ज्याला दिनु नपर्ने भएपछि किसानले काफल बेचेको सबै पैसा पूर्ण आम्दानीमा जोड्छन्।

    सिजनमा नजिकको बजार सडकछेउमा बसेर बिक्री गरेको काफलको पैसाले किसानले दैनिक उपभोग्य सामग्री खरिद गर्ने, बालबच्चाको पढाइमा खर्च गर्ने, केही रकम बचत गरेर पछिका लागि राख्ने गर्दछन्।

    सन्धिखर्क–गोरुसिंगे सडकमा ओहोरदोहोर गर्ने बस, जिप, मोटसाइकलका यात्रुलाई उनीहरूले काफल बिक्री गर्ने गरेका छन्। यस्तै सुपादेउराली मन्दिर र नरपानी आएका पर्यटकलाई उनीहरूले सानो गिलासको पचास रूपैयाँमा काफल बेच्ने गरेका छन्।

  • कस्तो छ तपाईंको आजको राशिफल ?

    कस्तो छ तपाईंको आजको राशिफल ?

    मेष राशिः कार्यमा अर्थ लाभ हुने दिन छ। परिवारमा सामान्य रोग देखा पर्न सक्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। व्यापार व्यवसायमा लाभ देखिन्छ।

    वृष राशिः व्यापार गर्नेलाई दिन राम्रो छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। नयाँ कार्य सिद्धीमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु उत्तम हुनेछ।

    मिथुन राशिः वाणी सफल हुने दिन छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। रोजगारीको अवसर मिल्ने समय छ।

    कर्कट राशिः विद्यार्थीका लागि पढाई मध्यम छ। आँखामा सामान्य समस्या देखिन सक्छ। उन्नति प्रगतिमा थोरै बाधा हुने दिन छ। केही व्यक्तिले सामान्य मतान्तर सृजना गर्न सक्ने छन्। व्यापारमा फल प्राप्त हुने छ।

    सिंह राशिः प्रेमिल जोडीका लागि दिन राम्रो छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा सुख शान्ति र उत्साहित हुने दिन छ।

    कन्या राशिः धन लाभमा केही बाधा हुने समय छ। आफ्नो कार्यक्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातुसम्वन्धी व्यवसायमा लगानीबाट कम लाभ प्राप्त हुने छ। अध्यापनमा सफलता मिल्ने योग छ।

    तुला राशिः शुभयात्राको योग छ। परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ। स्वकार्य गर्दा बिचारपूर्वक गर्नुहोला। लेखन, अध्ययन कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारमा लगानी गर्दा सोचेअनुसारको लाभ प्राप्त हुने योग छ।

    वृश्चिक राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। धन आर्जन हुने योग देखिन्छ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्नेछ। कार्यसिद्धि योग रहेको छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

    धनु राशिः बिलासी कार्य र यात्रामा विचार पुर्‍याउनु होला। सामान्य नेत्र रोग देखिन सक्छ। व्यापार व्यवसायमा सोचेअनुसारको फल प्राप्त नहुन सक्छ। पढाईमा सामान्य बाधा देखिन्छ।

    मकर राशिः छोटो यात्रा गर्नु राम्रो होला। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। मीठो भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। भाइहरुबीच प्रेम सद्भाव रहनेछ।

    कुम्भ राशि: बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

    मीन राशि: साथीभाइसँगको रमाईलो भेटघाट हुनेछ। वैदेशिक यात्राको समय देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापार व्यवसायमा हल्का बाधाको योग छ। पढाईमा सफलता मिल्नेछ।

  • रूस-युक्रेनमा दुई ध्रुवीय विश्व

    रूस-युक्रेनमा दुई ध्रुवीय विश्व

    रुस र युक्रेनको युद्ध तेस्रो वर्षमा चलिरहेको छ। रुसले युद्ध नभनी विशेष सैनिक कार्बाही भनी गरेको आक्रमणको सुरुवातमा युक्रेनले दुई तीन हप्ताभन्दा बढी रुसको सामना गर्न नसक्ने धेरैको आकलन थियो। अमेरिकाले युक्रेनी राष्ट्रपतिलाई देशबाट भाग्न साधन उपलब्ध गराइदिने सन्देश पठाएको थियो। युक्रेनी राष्ट्रपतिले मलाई हतियार देऊ, भाग्ने साधन चाहिँदैन भनी अमेरिकाको सल्लाह अस्वीकार गरे । युक्रेनी जनताको प्रतिरोध क्षमता र राष्ट्रवादी भावनाको कदर गर्नै पर्दछ कि केही हप्तामै सिद्धिने आकलन गरिएको युद्धमा पुटिन नराम्रोसँग फसेका छन् र युद्धबाट फिर्ता हुने कुनै युक्ति पाउन सकेका छैनन्।

    किन रुसले युक्रेनमाथि आक्रमण गर्‍यो? यसमा मतैक्य हुन सक्दैन। रुसले युक्रेनमा रहेका रुसीभाषीमाथि युक्रेनीले दमन गरेको, नाटोको विस्तार गरी रुसको सुरक्षामा खतरा उत्पन्न गरेको देखाउँछ भने युक्रेन तथा पश्चिमले पुटिनको रुसी साम्राज्य विस्तार गर्ने महत्त्वाकांक्षालाई जिम्मेवार मान्दछ। रुसको सिमानामा नै नाटो आइपुग्नाले रुसको सुरक्षा तर्क पनि ठीकै हो कि जस्तो देखिन्छ।

    रुसले आफ्ना पूर्व गणराज्यहरूलाई गरिरहेको दोस्रो दर्जाको व्यवहार र स्वतन्त्र राष्ट्र तथा त्यहाँका जनताको चाहनालाई अनादरगरी भूराजनीतिको कुरा गर्नु देशको सार्वभौम स्वतन्त्रताको विपरित देखिन्छ। युद्धरत पक्षका तर्क जे जस्ता भए तापनि यो युद्धको सैनिक समाधान हुने सम्भावना अत्यन्त झिनो छ। युक्रेनले रुसलाई पूर्णतः पराजित गर्न असम्भव जस्तै छ। पश्चिमको विशेषगरी अमेरिकाको सहयोग रहँदासम्म रुसले युक्रेनलाई कब्जा गर्ने सम्भावना पनि छैन। युद्धको समाधान वार्ता र सम्झौता नै हो, सम्झौतामा कुन पक्षको हात माथि पर्दछ भन्ने मात्र हो।

    युद्ध युरोपको पूर्वमा भए तापनि त्यसको असर विश्वका हरेक कुनामा परेको छ। युद्धको सुरुवातमा नै रुसले युक्रेनको खाद्यान्न भण्डारलाई निशानामा राख्यो। लाखौं टन युक्रेनको खाद्यान्न आफ्नो नियन्त्रणमा लियो र युक्रेनको खाद्यान्न निर्यातमा अवरोध सिर्जना गर्‍यो। यसबाट तत्काल खाद्यान्नको मूल्य अत्यधिक वृद्धि भयो।

    अहिले मूल्य सामान्य अवस्थामा आएको छ। तर विश्वका विशेषगरी अफ्रिका र एशियाका गरीब जनतालाई भोकको कारण मृत्युको मुखमा पुर्‍याइदिएको छ। समग्र विश्वको कुल उत्पादनको करिब २० प्रतिशत गहुँ, १० प्रतिशत मकै र ४५ प्रतिशत सूर्यमुखी तेलको उत्पादनकर्ता र प्रमुख निर्यातकर्ता युक्रेन हो। युक्रेनको निर्यात अवरोध हुँदा संयुक्त राष्ट्रसंघका खाद्यान्न सहायता कार्यक्रम प्रभावित भएका छन्। यसको मार गरीब देशका भोका जनताले सहनुपरेको छ।

    खाद्यान्न उत्पादनको प्रचुरताका कारण युक्रेनलाई युरोपको ‘रोटीको भण्डार’ पनि भनिन्छ। खाद्यान्नबाहेक युक्रेन खनिज पदार्थमा पनि युरोपको धनी देश हो। खनिज तेल र कच्चा फलामको भण्डारणमा युक्रेन युरोपको दोस्रो धनी देश हो यसका साथै मेग्निज, टिटानियम जस्ता बहुमूल्य धातुमा पनि युक्रेन सम्पन्न छ। युक्रेनको पूर्वी भाग खाद्यान्नमा धनि छ भने दक्षिणी भाग खनिज पदार्थमा धनी छ। रुसले युक्रेनमाथि आक्रमण गर्नुको कारण पुरानो रुसी साम्राज्य मोह र भूराजनीतिबाहेक युक्रेनको प्राकृतिक सम्पदामाथि नियन्त्रण गर्ने लालसा पनि मानिन्छ।

    प्राकृतिक ग्यास र तेलमा रुस युरोपको प्रमुख आपूर्तिकर्ता थियो। युक्रेनमाथि आक्रमण गरेपछि युरोपले रुसमाथिको ग्यास र तेलको निर्भरता करिब अन्त्य नै गरेको छ। पश्चिमा देशहरूले रुसको ग्यास र तेलमा प्रतिबन्ध लगाउनाले धेरै देशसँग रुसले तेल व्यापार गर्न पाएको छैन। यद्यपि चीन र भारतले अत्यधिक खरिद गरेकाले रुसलाई केही राहत मिलेको छ।

    तेल आपूर्तिको उतारचढावले यसको मूल्यमा समेत उतारचढाव आएको छ। जसका कारण उत्पादन लागतमा प्रभाव पारेको छ। युक्रेन युद्धका कारण अर्थशास्त्रीहरूले अमेरिका र युरोपमा सन् २०२३ मा आर्थिक मन्दी आउन सक्ने अनुमान गरेका थिए। युरोप आर्थिक मन्दीलाई टार्न सफल भएको देखिन्छ। इयुको २०२३ को आर्थिक वृद्धि ०.४ प्रतिशत बताइएको छ। जबकि यो नकारात्मक हुने अनुमान थियो। तर एक प्रतिशतभन्दा तलको आर्थिक वृद्धिले २०२४ मा मन्दी आउन सक्ने सम्भावना बाँकी नै रहन्छ। अमेरिकाको पनि २.८ प्रतिशतको आर्थिक वृद्धि देखिएको छ। तर २०२४ को प्रथम चौमासिकमा १.०६ प्रतिशतको मात्र वृद्धि देखिनुलाई अर्थशास्त्रीहरूले चिन्ताको विषय मानेका छन्।

    रुस–युक्रेन युद्धले विश्वलाई दुई धुरीमा विभाजन गर्न लागेको देखिँदैछ। २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गर्नुअघि सि चिनफिङसँगको मन्त्रणापछि बेइजिङ ओलम्पिकको समय पारेर पुटिन चीन पुगे। दुवै राष्ट्रपतिले रुस र चीनको मित्रता पुरानो र हार्दिकतापूर्ण रहेको र यो मित्रता सीमारहित व्यापक भएको घोषणा गरे।

    ओलम्पिक समापनलगत्तै २४ फेब्रुअरीमा युक्रेनमाथि रुसको आक्रमण सुरु भयो। विश्वका अधिकांश देशले पुटिनको युक्रेनमाथिको आक्रमणको निन्दा गरे। चीनले गरेन। यदि चीनले पनि निन्दा गरेको भए पुटिन सम्पूर्ण विश्व समुदायबाट एक्लिने थिए। चीन आफूलाई तटस्थ रहेको बताउँछ। तर चिनियाँ हतियार उद्योगहरूले रुसलाई सहयोग गरेको भेटिएको छ।

    प्रत्यक्ष सहयोग गरेको नदेखिएको भए तापनि परोक्षरूपमा चीनले रुसलाई सहयोग गरिरहेको छ। चीनको हरियो झण्डा नपाएको भए पुटिन यसरी आक्रमणका लागि अगाडि आउने थिएनन्। मित्रताको ७५ वर्षको अवसरमा रुस र चीनले रणनीतिक साझेदारी गर्ने मे १६ को सि चिनफिङ र पुटिनको सहमतिले पनि चीन रुसको पक्षमा उभिएको देखिन्छ।

    पुटिनलाई इरान र उत्तर कोरियाको पनि साथ रहँदै आएको छ। रुसले प्रयोग गर्ने ड्रोनहरूको प्रमुख स्रोत तेहरान हो। सुरुमा इरानले ढाकछोप गर्न खोजे पनि युक्रेनमाथिको आक्रमणमा इरान निर्मित कामिकाजे ड्रोनको निरन्तर र व्यापक प्रयोगले इरानको संलग्नता लुक्न सकेन।

    उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले भोस्टोच्नी स्पेसपोर्टमा पुटिनसँग भेट गरी ब्यालेस्टिक मिसाइल र गोला बारुद उपलब्ध गराइरहेका छन्। यसरी चार राष्ट्रको एउटा धुरी र अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान र युरोपियन युनियनको अर्को धुरीमा विश्व विभाजित भएको देखिँदैछ।

    चीन, इरान, उत्तर कोरियाले रुसको साथ दिनुमा यी राष्ट्रका आआफ्नै कारण छन्। चीन युक्रेन युद्धमा पश्चिमा जगत्को शक्ति र एकता परीक्षण गर्न चाहन्छ। युक्रेनको रक्षामा पश्चिमा एकता सुदृढ भएन भने ताइवानमाथि आक्रमण गर्दा पनि एकता हुने छैन भन्ने चीनको विचार हो। यद्यपि लामो समयको युक्रेन युद्धले अमेरिका र युरोपसँगको आफ्नो व्यापार प्रभावित हुन्छ कि भन्ने चिन्ता चीनलाई पर्न लागेको छ।

    इरान इजरायललाई प्रमुख दुश्मन मान्छ भने उत्तर कोरिया दक्षिण कोरियालाई समाप्त गर्न चाहन्छ। इजरायल र दक्षिण कोरियालाई अमेरिकाको बलियो सहयोग छ। तसर्थ तेलअभिभ र सिउलको सत्ताको संरक्षकसँग लड्ने रुसलाई सहयोग गर्नु तेहरान र प्याङयोङका लागि उपयुक्त अवसर हो। त्यसको बदलामा इरानले रुसको सैनिक प्रविधि प्राप्त गर्ने र उत्तर कोरियालाई रुसले स्याटेलाइट प्रक्षेपण गर्न सहयोग गर्ने सम्झौताले यी दुवै देशलाई प्रत्यक्ष लाभ पनि प्राप्त भएको छ।

    चीन विश्वको पहिलो शक्ति बन्न चाहन्छ। कतिपय अर्थशास्त्रीहरूले सन् २०३० सम्ममा चीनको अर्थतन्त्रले अमेरिकालाई उछिन्ने प्रक्षेपण पनि गरेका छन्। चीनले प्रविधि विकासमा पनि आश्चर्यजनक प्रगति गरेको छ। तर पनि विश्वभर अमेरिकाको आर्थिक प्रभुत्व कायम छ। अमेरिकाको आर्थिक प्रभुत्व कमजोर नबनाउँदासम्म चीनले अमेरिकालाई उछिन्न सक्दैन। अमेरिकाको आर्थिक प्रभुत्व कमजोर बनाउन चीनलाई रुसको अलावा इरान र उत्तर कोरियाको पनि साथ रहन्छ।

    यही कुरा बुझेर अमेरिकी कांग्रेसका रिपब्लिकन सभामुख माइक जोन्सनले चीन–रुस–इरान–उत्तर कोरियालाई ‘एक्सिस अफ इभिल’ नामकरण गर्दै ९१ अर्ब डलरको विदेशी सहायता विधेयक पारित गराए। यसले पनि अमेरिकी नेतृत्वको पश्चिमा शक्ति र चीन नेतृत्वको रुस, इरान, उत्तर कोरिया सम्मिलित शक्तिमा धुरी विभाजन भएको देखिन्छ।

    तत्काल सम्भव देखिँदैन तथापि पश्चिममा प्रतिबन्धबाट मुक्त हुन चीन, रुसलगायतले छुट्टै अन्तर्राष्ट्रिय विनिमय पद्धति स्थापना गर्ने सम्भावना रहेको आर्थिक विज्ञहरूले बताउन थालेका छन्। गत मे १६ मा चीन भ्रमणमा रहेका पुटिन र राष्ट्रपति सिले रणनीतिक साझेदारीसम्बन्धी सहमतिमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय जगत्लाई नयाँ ढंगले चलाउन चीन र रुसको मित्रता विशेष रहेको पुटिनको भनाइले पनि रुस र चीन नयाँ वैकल्पिक विश्व व्यवस्थाको पक्षमा रहेको देखिन्छ।

    हालै मे ९ मा ताइवानका विदेश मन्त्री जोसी जोसेफ ऊको लेख अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिसम्बन्धी थिंक ट्यांक मानिने फरेन अफेयर्स म्यागेजिनमा प्रकाशित भएको छ। लेखमा उनको भनाइ छ– युक्रेनलाई प्रजातान्त्रिक विश्वले सहयोग गर्नु ताइवानको पनि रक्षा गर्नु हो।

    आजको युक्रेन र रुसको युद्ध युक्रेनको सार्वभौम सत्ता र भूमि रक्षाको विषय मात्र होइन, यो सर्वसत्तावादी शासन र प्रजातान्त्रिक शासनबीचको लडाइँ पनि हो। रुसले युद्धमा सफलता प्राप्त गरेमा विश्वका प्रजातन्त्रहरू पनि कमजोर हुनेछन्। त्यो अवस्थामा चीनको सर्वसत्तावादी शासनले ताइवानलाइ कब्जा गर्ने प्रयास गर्नेछ। तसर्थ युक्रेनको रक्षा गर्नु ताइवानको पनि रक्षा गर्नु हो।

    ताइवानी विदेश मन्त्रीको विचार जस्तै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले मे १४ मा किभका जनता र सैनिकलाई भनेका छन् कि तपाईंहरू युक्रेनको स्वतन्त्रताका लागि मात्र लड्नुभएको छैन, तपाईंहरूको लडाइँ र तपाईंहरूले पाउनुभएको दुःख स्वतन्त्र विश्वका लागि हो र तपाईंहरूले जान्नुपर्दछ कि स्वतन्त्र विश्व तपाईंहरूको साथमा छ।

    अमेरिकाले मानवाधिकार हननको विषयमा चीन, रुसलगायतका देशमाथि प्रश्न उठाउँदै आएको छ। लन्डनमा प्रधान कार्यालय रहेको द इकोनोमिस्ट ग्रुपले प्रकाशित गर्ने ग्लोबल डेमोक्रेसी इन्डेक्समा पनि चीन र रुसलाई सर्वसत्तावादी भनिएको छ। मानवाधिकारको क्षेत्रमा काम गर्ने एमनेस्टी इन्टरनेसनलले पनि चीन र रुसलगायत सर्वसत्तावादी शासन भएका मुलुकमा मानवाधिकारको उच्च हनन भएको प्रतिवेदन प्रकाशित गर्दै आएको छ। चीन–रुसको भनाइ छ– लोकतन्त्र पश्चिमी मोडेलको मात्र हुँदैन। आफ्नो देशको परिस्थितिअनुसार प्रत्येक देशले शासन प्रणाली रोज्न पाउँछन्।

    लोकतन्त्र, मानवाधिकारको हनन् भयो भन्नु हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हो।चीन, रुस, इरान, उत्तर कोरिया प्रजातन्त्र हुन् कि होइनन्, त्यसको विश्लेषण गर्ने यो आलेखको मनसाय होइन। चीनलाई एकताबद्ध राख्न कठोर शासनको आवश्यकता पनि होला। यो चिनियाँ जनताले निर्णय गर्ने कुरा हो। तर कसरी रुस–युक्रेन युद्धले विश्वका शासन प्रणालीलाई पनि दुई ध्रुवमा बाँड्दैछ भन्नु यो लेखको आशय हो।

    नेपालले बहुलवादमा आधारित बहुदलीय संसदीय प्रणाली अवलम्बन गरेको छ। सर्वमान्य मानवाधिकार नभएको समाजमा बस्न नेपालीले पटक–पटक अस्वीकार गरेका छन्। यसै प्रणालीमा आवश्यकताअनुसार परिमार्जन गर्दै समृद्धि प्राप्त गर्ने नेपालीको चाहना हो। चीन र भारतवेष्टित नेपाललाई रुस–युक्रेन युद्धका बाछिटाले पार्न सक्ने दुष्प्रभावबाट बच्न नेताहरूले सत्ताका लागि कूटनीतिको प्रयोग गर्न छाड्नुपर्छ।

  • के मान्छेको मस्तिष्क खुम्चिँदैछ?

    के मान्छेको मस्तिष्क खुम्चिँदैछ?

    आधुनिक मानवको दिमाग एक लाख वर्षअघिका पुर्खाको भन्दा लगभग १३ प्रतिशतले खुम्चिएको छ। त्यतिबेलाको होमो सेपियन्सको तुलनामा दिमागको आकार घट्नुमा बदलिँदो जलवायु अथवा मानिस स्वयंले हासिल गरेका सिप कारक छन् अथवा यसका लागि अन्य कारण जिम्मेवार छन् भन्ने प्रश्न अझै अनुत्तरित छ।

    परम्परागत रूपमा ठुलो दिमागका कारण मानिस अन्य जीवभन्दा फरक मानिन्छ। सोच र नवीनताको खोजी गर्ने क्षमताका कारण चन्द्रमामा अवतरण गर्नसमेत मानिस सफल भैसकेको छ। उद्विकासको क्रममा ६० लाख वर्षभन्दा अघि चिम्पान्जीसँग साझा पुर्खा रहेको अवस्थाको तुलनामा मानिसको दिमागको आकार चार गुणाले बढेको छ। तर पछिल्ला अध्ययनले विगत एक लाख वर्षमा मानिसको दिमागको सरदर आकार खुम्चिँदै गएको देखाएका छन्।

    विभिन्न कालखण्डमा एसिया, युरोप र अफ्रिकामा विचरण गर्ने अस्ट्रेलोपिथेकस अफेरेन्सिस, होमो इरेक्टस, होमो हाइडेलवर्गेन्सिस र होमो नियन्डरथलेन्सिस लगायतका मानव पुर्खाका विभिन्न प्रजातिको दिमागको आकार तीव्र विस्तार भएको थियो। यसरी दिमागमा भैरहेको आश्चर्यजनक संकुचनलाई कसरी व्याख्या गर्ने भन्नेमा वैज्ञानिकले अध्ययन जारी राखेका छन्।

    टाटरेसलका अनुसार मानिसले एक लाख वर्षअघि आफ्नो वरपरको वातावरणलाई प्रस्ट बुझ्न सक्ने क्षमता र प्रतिकात्मक सूचना प्रशोधन (सिम्बोलिक इन्फर्मेसन प्रोसेसिङ) गर्ने क्षमता हासिल गरेयता दिमागको आकार क्रमश घट्न थालेको हो। सानो तथा सही हिसाबले संगठित दिमागले जटिल कार्य गर्न सक्ने अवस्थामा तुलनात्मक रूपमा धेरै ऊर्जा खपत गर्ने ठुलो आकारको दिमागको आवश्यकता घटेको वैज्ञानिक तर्क छ।

    ‘त्यो त्यही समय थियो, जतिबेला मानिसले प्रतीकात्मक कलाकृति तथा अर्थपूर्ण ज्यामितीय चित्रहरूलाई आत्मसात् गर्न थालेका थिए,’ टाटरेसल भन्छन्। टाटरेसलका अनुसार यो परिवर्तनका लागि भाषाको आविष्कार पनि एक कारण थियो। भाषाको विकासले मस्तिष्कका तन्त्रिकालाई प्रभावकारी रूपमा सगठित हुन मद्दत गर्नुका साथै कम ऊर्जा खपत गरेर पनि कुशलतापूर्वक र किफायती हिसाबले कार्य गर्न सक्ने पारेको थियो। अर्थात् संगठित दिमाग जटिल गणना (कम्युटेसनल) गर्न सक्षम भएपछि ऊर्जा खपतको हिसाबले ठुलो दिमागको आवश्यकता कम हुन गएको थियो।

    मानव पुर्खाले ठुलो दिमागले ठुलै कार्य गर्न सक्ने हिसाबले सूचना प्रशोधन गर्थे तर अहिले हामीले विश्वलाई अमूर्त प्रतीक (सिम्बोल) का शब्दावलीमा परिणत गरेका छौं र यदि त्यसो नभएमा के होला भन्ने प्रश्न गर्छाै। ‘यस प्रकारको प्रतीकात्मक सोचका लागि दिमागभित्र त्यसअघिको भन्दा जटिल सञ्जाल आवश्यक रहन्छ। यसैले दिमागले ऊर्जामैत्री हिसाबले काम गर्न सहज पारेको हुनसक्छ,’ उनी भन्छन्।

    तर जीवाश्म अध्ययनका आधारमा अन्य वैज्ञानिकहरू टाटरेसलले आकलन गरेभन्दा धेरै पछि मात्र दिमागको आकारमा शंकुचन आएको तर्क गर्छन्। उनीहरू यसलाई भाषासँग मात्र जोड्न नहुने ठान्छन्। भाषाको सुरुवात एक लाख वर्षअघि भएको भन्ने टाटरेसलको आकलन पनि विवादास्पद छ।

    ‘मलाई यो सिद्धान्त मन पर्छ र यो साँच्चै राम्रो छ,’ क्यालिफोर्नियास्थित नेचुरल हिस्ट्री म्युजियमका संज्ञानात्मक वैज्ञानिक जेफ मोर्गन स्टाबेल भन्छन्। तर भाषा नभई जलवायुमा भइरहेको परिवर्तन दिमागको संकुचनका लागि कारक रहेको उनी ठान्छन्। एक लाख वर्षअघि मस्तिष्कको आकारमा संकुचन सुरु भएको भए सो आकार फेरि बढेको तथ्यांकले पुष्टि नगर्ने तर्क गर्दै उनले मस्तिष्कको आकारमा उतारचढाव भएको तथ्यसँग सो सिद्धान्तले मेल नखाने बताए।

    स्टाबेलका अनुसार सानो आकारको दिमागका लागि परिवर्तित जलवायुले प्रमुख भूमिका निर्वाह गरेको हुन सक्छ। सन् २०२३ मा स्टाबेलले ५० हजार वर्षयताका होमो सेपियन्सका २९८ खप्परको समीक्षात्मक अध्ययन गरेका थिए। उनको अध्ययनले विगत १७ हजार वर्षयता मात्र मानव दिमागको आकारमा संकुचन आएको देखाएको थियो र त्यो अवधि हिमयुग (आइस एज) को अन्त्यताकाको थियो। मौसमका अभिलेखसँग यी नतिजाको तुलना गर्दा जलवायु तातो हुँदै जाँदा दिमागको आकार घट्दै गएको उनको निष्कर्ष छ। पोषण तत्वको अभावले पनि दिमागको आकारमा कमी आएको हुन सक्ने कतिपयको तर्क छ।

    मानवशास्त्री जेरेमी डि सिल्भाका अनुसार जटिल समाज र साम्राज्यको अभ्युदयसँगै ज्ञान र मानव कार्यको प्रसार गतिले तीव्रता पाएको हो। ‘जब मानिसले सबै कुरा जान्न आवश्यक रहेन र बाँच्नका लागि अत्यधिक सोच्न नपर्ने भयो, त्यही क्रममा दिमागको आकार पनि घट्दै गएको हो,’ उनको भनाइ छ। इजरायलको तेलअभिभ विश्वविद्यालयकी प्राध्यापक इभा जाब्लोन्का भने जटिल समाजसँगै सानो आकारको दिमाग बनेको मान्न नसकिने तर्क गर्छिन्। गरिबी र कुपोषणले दिमागको आकार घटेको हुन सक्ने उनको धारणा छ।

    क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गतको लेभर हुल्मे सेन्टर फर ह्युमन इभोलुसनरी स्टडीजकी मार्टा लाहर पनि पोषण तत्वको कमीले मानव खप्पर खुम्चिएको हुन सक्ने बताउँछिन्। उनले सन् २०१३ मा युरोप, अफ्रिका र एसियाबाट संकलन गरिएका मानव अस्थिपन्जर र मस्तिष्कको अध्ययन गरेकी थिइन्। कृषि युग सुरु भएपछि भिटामिन र खनिज पदार्थको अभावमा मानव मस्तिष्क सानो हुँदै गएको उनको तर्क छ।

    यदि मस्तिष्क संकुचन भइरहेको छ भने, यसले मानव बुद्धिका लागि के अर्थ राख्छ? सानो आकारको दिमागले हामीलाई चलाख अथवा मूर्ख बनाउन सक्छ अथवा बुद्धिमत्तामा कुनै असर नगर्न पनि सक्छ। यो हामीले विश्वास गर्ने सिद्धान्तका आधारमा निर्धारित हुन्छ।

    यो सत्य हो कि मस्तिष्कको आकार सबै कुरा होइन। शरीरको ठुलो आकारका कारण पुरुषको मस्तिष्क महिलाको भन्दा करिब ११ प्रतिशत ठुलो हुन्छ। तैपनि अनुसन्धानले के देखाउँछ भने महिला र पुरुषमा समान संज्ञानात्मक क्षमता हुन्छ। यो समग्र सन्दर्भमा केही विवादास्पद प्रमाणहरू पनि छन्। अत्यन्त सानो मस्तिष्क भएका होमो फ्लोरेसिएन्सिस र होमो नालेदीजस्ता होमिनिन प्रजातिहरू पनि जटिल व्यवहार गर्न सक्षम थिए।

    सामान्यतया शरीरको आकारको तुलनामा ठुलो दिमाग हुनु बुद्धिमत्तासँग सम्बन्धित मानिन्छ। तर स्टाबेलका अनुसार दिमागको आकार घट्दै जाँदा हाम्रो बृहत्तर बुद्धिमत्ता या त संकुचित हुँदैछ या बढेको छैन। स्टाबेल थप्छन्, ‘हामीले विगत १० हजार वर्षमा सिर्जना गरेका उपकरण र प्रविधि, सूचनालाई कम्युटरमा भण्डारण गर्न सक्ने क्षमता तथा गणना गर्न सक्ने मेसिनको क्षमता विस्तारका कारणले बुद्धिमत्ता र दिमागी शक्तिको हिसाबले दिमागले कम गर्नु स्थिति सिर्जना भएको छ तर यसको अर्थ प्रजातिको हिसाबले हामी कम स्मार्ट हुँदै गएका छौं भन्न मिल्दैन।’

    –बिबिसीबाट भावानुवाद/ जस्मिन फक्स-केली

  • यार्सा उत्सव

    यार्सा उत्सव

    यतिबेला कुनै चाडपर्व छैन, न गाउँमा बिहे, व्रतबन्ध न त पूजाआजाकै मेसो। तर पनि दार्चुलाको धौली ओडार सिंगारिएको छ। पालका रंगीचंगी कटेराले धैरैलाई आकर्षित गरिरहेको छ। क्रिकेट र देउडाका पारखी आआफ्नै तालमा छन्। लाग्छ, गाउँमा ठूलै महोत्सव आयोजना हुँदैछ र यसको पूर्वसन्ध्यामा मानिस हर्षोल्लास मनाइरहेका छन्। तर वास्तविकता भने पृथक छ– धौली ओडारदेखि सुदूरपश्चिमकै सबैभन्दा अग्लो चुचुरो अपी हिमालको आधार शिविरसम्म यार्सागुम्बा टिप्न जानेहरूका कारण यहाँको रौनक ह्वात्तै बढेको हो यसरी।

    शिरतिरको अङ्ग झारझैँ र पाउतिरको अङ्ग कीराको झैँ हुने एक हिमाली वा तिब्बती डुलन्ते झार हो यार्सागुम्बा। जसले एकदमै तागत दिने विश्वास गरिन्छ। यो झारको सुकुटी बनाएर लामो समय राख्न सकिने भएकाले सधैँ उत्तिकै माग हुन्छ यसको। अनि निकै महँगो पनि हुने भएकाले यो कमाइको राम्रै स्रोतसमेत हुने गरेको छ। विशेषगरी हिमाली पाटनहरूमा पाइने भएकाले यार्सागुम्बा संकलन गर्न लामै यात्रा तय गर्नुपर्ने मात्र हैन, हिमाली क्षेत्रमा हुने वातावरण र चुनौतीहरू सामना गर्ने क्षमतासमेत चाहिन्छ। अहिले यस्तै समस्या सामना गर्दै यार्सागुम्बाको खोजीमा जानेहरूकै कारण धौली रंगीन बन्न सकेको हो।

    यार्सागुम्बा एकदमै थोरै पाइन्छ र यो खोज्न निकै चाहार्नुपर्छ । तर यसको मूल्य निकै आकर्षक भएका कारण थोरै पाउँदा पनि मेहनत र लगानी भने खेर जान पाउँदैन। थोरै मात्र जुक्ति लगाउनेले यो कहाँ र कस्तो ठाउँमा पाइन्छ भन्ने पत्तो लगाउन सक्छ। त्यसैले मेहनत र जुक्ति लगाउने हो भने राम्रै आर्जन गर्ने सम्भावना पनि उत्तिकै रहन्छ। विशेषगरी सुदूर र मध्यपश्चिमका पहाडी क्षेत्रका धेरै बासिन्दाको गतिलो आयस्रोत बन्दै आएको छ यार्सागुम्बा। सुदूरपश्चिमको कञ्चनपुर र कैलालीका ऊर्वर फाँटहरूमा ठडिएका हजारौँ घरमा यिनै यार्सागुम्बाको योगदान छ भन्न हिच्किचाउनु पर्दैन। दार्चुला, बैतडी, डडेलधुरा, बझाङ आदि जिल्लाका बासिन्दा केही वर्षको यार्साको आम्दानीबाट जमिन किन्ने र त्यसपछिका केही वर्षको आम्दानी जोगाड गरेर घर बनाउनु सामान्य जस्तै हो। त्यति मात्र हैन, छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्योपचार र अन्य दैनिकी चलाउन पनि यार्सा गतिलै माध्यम बन्ने गरेको छ।

    सुदूरपश्चिममा धेरै यस्ता गाउँ छन् जुन यार्सागुम्बा पाइने मौसममा रित्तिन्छन्। सबैजना घरमा भोटेताला ठोकेर उतै हानिन्छन्। विद्यार्थी मात्र हैन, शिक्षकसमेत उतै लागेपछि विद्यालयमा पनि ताला लाग्ने गरेका दृश्य सामान्य मानिन्छन्। तराईमा ‘मानो रोपेर मुरी उब्जाउने’ समय भनेझैँ हिमाली क्षेत्रका पठारहरू वैशाखदेखि असारसम्म ‘कमाउने’ समय र थलोका रूपमा गणना हुने गरेको छ। त्यही कारण जुम्ला, डोटी जस्ता पहाडी क्षेत्रबाट मात्र हैन, कैलाली र कञ्चनपुर जस्ता समथर क्षेत्रकै बासिन्दा पनि त्यहाँ पुग्ने गर्छन्। धादिङ, मकवानपुर, चितवन आदि ठाउँबाट समेत यार्सागुम्बा टिप्न जानेहरू रमाइलो गरिरहेका हुन्छन्।

    एकातिर औषधिजन्य गुण अर्कोतिर तागत पनि उस्तै। तुरुन्तै अर्थात् टिप्ने थलोमै पनि बिक्री गर्न सकिने। नभए घरमा ल्याएर सुकाएर पछि आफूलाई पैसा चाहिएका बेला पनि बिक्री गर्न सकिने जस्ता बहुआयामिक गुणले भरिपूर्ण छ यो झारकीरा। त्यसैले यार्सागुम्बा संकलन गर्नेहरू मात्र नभई किन्ने व्यापारीसमेत त्यहीँ पुगेका हुन्छन्। कम्तीमा एकजनाले २५–३० हजारदेखि डेढ, दुई लाख रुपियाँसम्म कमाउने भएपछि धौली ओडारहरूको रौनक बढ्ने नै भयो।

    पानी धेरै नपर्दा यार्सागुम्बा कम पाइने प्रक्षेपण संकलकहरूले पहिले नै गरिसकेका छन्। त्यसैले पोहोर/परार जस्तो आम्दानी हुन्न कि भन्ने शंकाले धेरैको मनमा बास गरेको छ। अर्कोतर्फ हिउँ परेका बेला न त्यहाँ जान सकिन्छ न त यार्सा नै देखिन्छ। यस्तो बेला पाले कटारोमा आएर मीठो मीठो खाने, गफ गर्ने, खेल्ने जस्ता क्रियाकलाप हुने गर्छन्। धेरै जिल्लाबाट आएका मानिसबीच हुने विविधताले सबैलाई जिज्ञासु बनाइरहेको हुन्छ। महिलाहरू भने बुनाइ, पकाइतुल्याइ जस्ता कार्य गरिरहेका हुन्छन्। आफन्त र चिनेजानेकाहरूको चुलोमा पाक्ने फरक स्वादको मज्जा पनि सम्भव हुनेले लिइरहेका हुन्छन्। यसरी यार्सा टिप्ने मौसम आर्जनको समय मात्र नभएर देशकै विविधताकै स्वाद चाख्ने अवसरसमेत बन्न पुगेको छ। समग्रमा यो जीवनबुटी खोज्ने जीवनचक्रजस्तो लाग्छ।

    समुद्र सतहबाट करिब ३५ सयदेखि ५५ सय मिटरसम्मको उचाइमा पाइने यार्सागुम्बा उच्च पहाडी र हिमाली क्षेत्रको हिउँ पर्ने घाँसे मैदानमा पाइन्छ। त्यसैले सोचे जस्तो यो जहाँतहीँ पाइने र निकै पाइने अनि बेचेर धेरै पैसा कमाइहाल्ने चिज पनि हैन। यार्सा संकलकबाट कतिपय पालिकालगायत सरकारी निकायले निश्चित करसमेत लिने गरेका छन्। तर कर लिएपछि संकलकका लागि स्वास्थ्योपचार, बसोबासको व्यवस्था तथा सुरक्षा प्रबन्ध जस्ता कुरामा भने ध्यान दिइएको पाइन्न। मुख्य कुरा निकै ठूलो आम्दानीको स्रोत हुन सक्ने भएकाले यार्सागुम्बाको व्यावसायिक खेतीबारे सोच्न सके त्यसले आर्थिक पक्षमा राम्रै योगदान गर्नेमा शंका छैन किनकि यार्साका लागि ऊर्वर मानिने सयौँ चौँरीखर्कमा हाम्रा दिदीबहिनी÷दाजुभाइ यसै पनि बसिरहेकै छन्।