Blog

  • युद्ध मैदानबाट नेपालीको याचना– रुसी सैनिकले नै मलाई मार्दैछन्, बचाउनुस् !

    युद्ध मैदानबाट नेपालीको याचना– रुसी सैनिकले नै मलाई मार्दैछन्, बचाउनुस् !

    शुक्रबार अबेर साँझ रुसी सेनामा रहेका ‘नेपाली नागरिकको जीवनरक्षाको अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीले एउटा वाट्सएप म्यासेज ग्रुपमा जोडिन्। जहाँ तीनचारजनाको समूहमा अडिओ संवाद चलिरहेको थियो।

    एकजना युवा रुँदै भनिरहेका थिए, ‘हिजोसम्म त मारे नि मार्लान् केही छैन; मरे पनि मरुँला भनेर यहाँ आएको हुँ भन्ने सोचिरहेको थिएँ। आज बिहानै छोरीले परीक्षा दिएको कुरा सुनाइन्। त्यसपछि झसंग भएँ। मेरो त परिवार छ, मरे भने त उनीहरू बिचल्ली हुन्छ!’

    उनी एकोहोरो अनुनय गरिरहेका थिए, ‘मलाई त निश्चित मार्छन्। तपाईंहरूले सके बचाइदिनुुस्। मारिहाले भने मेरो शव नेपाल पुगोस्, मेरा परिवारले राहत र क्षतिपूर्ति पाऊन्।’

    उनी खोटाङका हरिकुमार राई रहेछन्। काठमाडौंमा ‘राइडर’ सेवा दिएर परिवार धानिरहेका राई साथी र दलालको लहलहैमा लागेर २०८० भदौ १९ रुस गएका रहेछन्। आफूलाई खोटाङकै शैलेन्द्र राईले सात लाख रुपैयाँ लिएर रुस पठाएको उनी बताउँछन्। हरिका अनुसार शैलेन्द्रले उनीसँगै नेपाली एयरपोर्टबाटै आठजना पठाएका थिए।

    रुस पुगेको दोस्रो दिन नै उनी रुसी सेनामा भर्ती भए। भर्तीको भएको केही दिनमै युद्ध मैदानमा खटिएर युक्रेन पुगे। उनीसँगै १५ जना नेपालीको टोली पठाइरहेको रहेछ, जसमध्ये दुईजनाको मृत्यु भएको उनले सुनेका छन्। बाँकीमध्ये केही घाइते भएका छन्।

    ‘युद्ध निकै भयानक रहेछ। पाइला–पाइलामा मृत्यु सम्भव छ’, हरिले सुनाए, ‘आकाशमा सत्रुको ड्रोन घुमिरहेको हुन्छ। टाउको बाहिर निकाल्नेबितिक्कै लखेट्न आइपुग्छ। कतिबेला शरीरमा बम खस्छ थाहा हुन्न।’

    त्यो देखेपछि आत्तिएका उनको समूहका नेपाली भाग्ने कोसिसमा लागे। ६ जना भाग्ने कोसिस गर्दागर्दै समातिए। थुनामा राखेर नराम्ररी यातना दिइयो। ‘उनीहरूले भाग्ने कोसिस गरेपछि सबैलाई असर प¥यो। सगोलमा रहेका नेपालीहरू रुसी नागरिक रहेका समूहमा बाँडियौं। त्यसपछि एक÷एक गरी राखिएको छ’, हरि भन्छन्।

    समूहका सबै मारिए, भाषा नजान्दा फसे

    त्यसपछि हरि पाँचजना रुसी नागरिकसँगको समूहमा परे। युक्रेनका ड्रोनले ती पाँचजनामध्ये चारजनालाई एकपछि अर्को गर्दै निशाना बनाउँदै लग्यो।

    ‘मसँग अन्तिममा एकजना साथी मात्रै बच्यो। ऊ ड्रोन अपरेटर थियो। निकै मिलनसार हामी निकै घुलमिल भइसकेका थियौं’, हरिले भने। उनीहरू दुईजनाले मात्रै धेरै दिन युद्ध मैदान र सेल्टरमा सँगै बिताए। उनी भन्छन्, ‘ऊ धेरै राम्ररी ड्रोन चलाउँथ्यो। सँगै अपरेसनमा जान्थ्यौं। एकअर्कालाई जोगाउन हरसम्भव प्रयास गथ्र्यौं। धेरै दिनसम्म जोगिएर बसेका थियौं।’

    केही दिनअघि युक्रेनको ड्रोनले उसलाई झन्डै भेट्यो। ‘युक्रेनको ड्रोन हामीलाई देखेपछि लखेट्न थाल्यो। हामी केहीसमय भाग्यौं। म छलिएर जोगिएँ’, हरि भन्छन्, ‘तर उसलाई निशाना बनाएर ड्रोनले बम खसाल्यो।’ उसले बम छलेर शरीरमा बाहिरी चोट लाग्नबाट जोगियो। ‘शरीरमा चोट लागेन, तर ऊ शिथिल भएको थियो। शरीर हलचलसमेत गर्न सक्दैनथ्यो। मैले भित्री चोट लागेको अनुमान लगाएँ’, हरि भन्छन्।

    युक्रेनको ड्रोन हिँडेपछि हरिले उसको अवस्था ‘प्लाटुन कमान्डर’ लाई जानकारी दिए। अचेत अवस्थामा उसलाई बोकेर सेल्टरतर्फ अघि बढे। आधा बाटोसम्म अरु सघाउन आएका थिए।

    सेल्टरमा पुगेपछि कमान्डरले घाइतेको अवस्था हरिसँग सोधे। त्यही जबाफमा सिर्जना भएको गलत बुझाइको समस्याले अहिले आफूलाई ‘मार्ने’ अवस्थामा पुर्‍याएको हरिको दुखेसो छ।

    ‘बाहिरी चोट थिएन। यसैले कमान्डरले ऊ ‘नर्मल’ (सामान्य) छ ? भनेर सोधेको थियो। मैले ‘अब्नर्मल’ (असामान्य) भनेको थिएँ। मलाई रसियन नआउने ! सायद मैले अब्नर्मल भनेकोलाई नर्मल मान्यो कि !’, आफ्नो अनुभव सुनाउँदै हरिले भने, ‘त्यसपछि कमान्डरले ऊ होसमा नआउँदासम्म १०-१० मिनेटमा हेरिराख्नु भन्यो। उपचारमा लगेन।’

    केही दिनअघि ऊ अकस्मात मृत फेला पर्‍यो। ‘मैले हेरिरहेको थिएँ। बाहिर निस्केका बेला कतिबेला श्वास छाडेछ थाहा पाइनँ’, हरि भन्छन्। उसको मृत्युपछि कमान्डर हरिसँग बम्कियो। ‘तैले नर्मल भनेको थिइस्, कसरी म¥यो ? भनेर कमान्डर रिसायो। त्यसदेखि उसले मसँग राम्रो व्यवहार गर्न छाड्यो। खाना, पैसा केही पनि दिएको छैन,’ हरिले दुखेसो पोख्दै भने, ‘जंगलमा जे भेट्यो त्यही खान्छु। कति दिन भोकै बसेको छु।’

    यसैक्रममा रुसी सेनाले आफूलाई धम्क्याउन थालेको हरि बताउँछन्। ‘आपसमा रसियन भाषामा उनीहरू मलाई मार्ने कुरा गर्छन्। म बोल्न पो सक्दिनँ, बुझ्ने त भएको छु’, उनले भने, ‘पाँच दिनयता त मलाई सिधै भन्छन्, तेरो हात काट्छौं, खुट्टामा गोली हान्छौं अनि मारेर फाल्छौं।’

    आफूले कमान्डरलाई भेट्न खोज्दा भेट्न नदिएको उनी बताउँछन्। ‘दिनभर सुतिरहन्छ, तर भेट दिँदैन। सेटमा सिध्याइदेऊ भन्छ’, हरि भन्छन्। त्यो सुनेदेखि पाँच दिनयता आफू सुत्न नसकेको उनी बताउँछन्।

    अहिले आफूसँग रहेका हतियार, ड्रेस खोसेर लगेको उनले सुनाए। उनले भने, ‘मेरो पासपोर्ट पनि जलाइसके। धन्न मोबाइल बाँकी राखेका छन्।’

    आफूलाई बेलाबेला आएर धम्क्याउने गरेको उनी सुनिन्छन्। वाट्सएपमा बोलिरहँदा बेलाबेला रसियन भाषामा आवाज सुनिन्छ। केही बेरपछि उनले त्यो पनि धम्की रहेको जानकारी दिन्छन्।

    ‘यो सम्पर्क जतिबेला पनि टुट्न सक्छ। मलाई जतिबेला पनि मार्न सक्छन्। मलाई मारे पनि मेरो सन्देश सबैलाई सुनाइदिनुहोला। मेरो शव नेपाल ल्याउने प्रबन्ध मिलाइदिनुहोला’, याचना गर्दै हरिले भने, ‘म नहुँदा मेरो परिवार बेसाहारा बन्छ, राहत र क्षतिपूर्ति दिलाइदिन पहल गरिदिनुहोला।’

    राज्यले सुन्नै चाहेन !

    सात समुद्रपारि युद्ध मैदानमा पुगेका हरि आफू आबद्ध फौजले मार्ने अवस्थामा पुग्दा विछिप्त छन्। उनले आफ्नो विडम्बना वाट्सएपको सहाराले अभियन्ता भण्डारीलाई सुनाएका थिए।

    अभियन्ता भण्डारीले उनको गुनासो मस्कोस्थित नेपाली राजदुत मिलन तुलाधर, परराष्ट्र मन्त्रालय, मन्त्रालयमातहतको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालका जनसम्पर्क सल्लाहकार बुद्धि जिसीलगायतलाई वाट्सएपबाटै जोडेर सुनाउन चाहेकी थिइन्, तर जिसीबाहेक कसैले सुनिदिएनन्।

    ‘हामी कस्तो विडम्बनापूर्ण स्थितिमा छौं। एकातिर बेरोजगारीले तड्पिएर युवा मृत्युको भुंग्रोमा पस्न बाध्य बनाएका छौं’, अभियन्ता भण्डारी भन्छिन्, ‘अर्कातिर मर्नै लागेका ती नागरिकको चीत्कार सुन्नेसम्मको संवेदना पनि हाम्रो राज्यसँग छैन, उद्धारको त परको कुरा!’

  • मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    मकवानपुरको बकैया गाउँपालिका– १२ चौतारास्थित कान्ति लोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका– १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो।

    ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा बाराको निजगढ नगरपालिका– ६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन्।

    उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

  • विदेशमा ठगिएका नेपालीका समस्या हल गर्न देउवाकाे आग्रह

    विदेशमा ठगिएका नेपालीका समस्या हल गर्न देउवाकाे आग्रह

    नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन्।

    शनिवार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताएका हुन्।

    विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न उनले आग्रह गरेका छन्।

    उनले भने, ‘नेपालमा वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो। एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन्। एउटा कुरा सुनेँ मैले, त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ।

    साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ। त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरु रोजगारीमा गएका साथीहरु ठगिनुभएन। दुःख पाउनुभएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन्। यो वैदेशिक रोजगार एशोसिएशनले लिड रोल लिनुपर्छ।’

    यस्तै,सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए।

  • कोरियाबाट फर्केर माछापालनमा लागे पुन

    कोरियाबाट फर्केर माछापालनमा लागे पुन

    बागलुङ नगरपालिका ४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ। बागलुङको काठेखोला गाउँपालिका ८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत ६ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन्।

    उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन्। तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन्।

    ‘श्रमिकका रूपमा कोरिया पुगेको थिएँ। कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ’, उनले भने, ‘कोभिड– १९ सुरु हुनुअघि एकैपटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो। त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ।’

    पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ। कोरियामा जस्तै नेपालमै काम गर्न सके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उनको भनाइ छ। ५० लाख लगानी गरकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताए।

    उनले छोरा अमृतलाई समेत माछापालनमा लगाएका छन्। माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिएका छन्। ‘कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु’, उनले भने।

    चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उनको भनाइ छ। १४ रोपनी जग्गाको वार्षिक एक लाख ५० हजार भाडा तिर्नुपर्छ। उनले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारीखेती लगाएका छन्।

    पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उनले बताए। उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिए। तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२/१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा पाँच–छ लाखमै सीमित हुने उनको भनाइ छ। -रासस

  • भक्तजन चढेको बस आगलागी हुँदा १० जनाको मृ्त्यु, २५ घाइते

    भक्तजन चढेको बस आगलागी हुँदा १० जनाको मृ्त्यु, २५ घाइते

    भारतको हरियाणामा भक्तजन चढेको बसमा आगलागी हुँदा १० जनाको मृ्त्यु र २५ घाइते भएका छन्।

    कुण्डली–मानेसर–पलवल द्रुतमार्गको नुहको तावडुमा श्रद्धालुहरुले भरिएको बसमा आगजनी भएको हो। शुक्रबार राती करिब १:३० बजेकाे समयमा आगलागी भएको हो।

    दुर्घटनामा ८ भक्तजनको घटनास्थलमै मृत्यु भएको थियो। अन्य २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ।

    त्यस्तै २५ जनाभन्दा बढी मानिस जलेर घाइते भएका छन्। मथुरा(वृन्दावनबाट भक्तहरू फर्किरहेका थिए।

    घाइतेहरुका अनुसार बसमा ६० जना सवार थिए। उनीहरु सबै पञ्जाब–चण्डीगढका मानिसका आफन्त र बासिन्दा हुन्।

    उनीहरु दर्शन गरेर मथुरा-वृन्दावनबाट फर्कंदै थिए। गुडिरहेको बसमा आगो देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए। घाइतेहरुलाई हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

  • ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्रे

    ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्रे

    गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्रे गर्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेको करिब २६ वर्षपछि उक्त सडकखण्ड कालोपत्रे गरिएको हो।

    गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले चार करोड ११ लाख ५६ हजार रुपैयाँ लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए। गत वैशाखमा सडक कालोपत्रे थालिएको हो।

    गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो।-रासस

  • ललितपुरमा चोरी गर्ने ६ जना पक्राउ

    ललितपुरमा चोरी गर्ने ६ जना पक्राउ

    ललितपुरमा सुनचाँदीका गहना र नगद चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरमा चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

    गत वैशाख ७ देखि ९ गतेको बिचमा नवराज गुरुङको घरमा कोही पनि नभएको समयमा सुन–चाँदीका गरगहनाहरू तथा आईफोन लगायतका धनमाल चोरी भएको थियो।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गर्दा चोरीमा संलग्न रहेका ६ जनाबाट चोरीका सामानसहित पक्राउ गरेको बताइएको छ।

    पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका-३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा-१४ का मोहम्मद समिर रहेका छन्।

    पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन्। उनले चोरी भएको बोबाइल किनबेच गरेक प्रहरीको भनाइ छ। समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन्।

    उनीहरूलाई फरक-फरक दिन फरक-फरक ठाउँबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। यसबारे थप आवश्यक अनुसन्धान भैइरहेको छ।

  • ‘चुनौतीपूर्ण र खर्चिलो विधा हो नियात्रा’

    ‘चुनौतीपूर्ण र खर्चिलो विधा हो नियात्रा’

    डायस्पोराका सक्रिय साहित्यकार कृष्ण बजगाईं सपरिवार बेलायतमा बसोबास गर्छन्। बजगाईंका रचनाहरू विसं २०४१ देखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। नियात्रा, कथा, लघुकथा, बालकथा, हाइकुलगायत विधामा उनका १८ वटा कृति प्रकाशित छन्। भर्खरै उनको पाँचौं नियात्रासङ्ग्रह ‘युङफ्राउ’ प्रकाशित भएको छ। दिलीप ढकालले नियात्रामा केन्द्रित रहेर गरेको पुस्तक संवाद:

    भर्खर प्रकाशित तपाईंको नियात्रासङ्ग्रह ‘युङफ्राउ’को अर्थ के हो? के छ यस नियात्रासङ्ग्रहमा?

    जर्मन शब्द युङफ्राउको नेपाली अनुवाद हुन्छ कुमारी। स्विजरल्यान्डमा पर्यटकको मुख्य आकर्षण, एउटा हिमालको नाम हो युङफ्राउ। त्यस हिमालसम्म म बस, केबलकार र रेलको यात्रा गरेर पुगेको थिएँ।

    कुमारी हिमालले मोहनी लगायो। त्यसले नेपाल सम्झायो अनि नियात्रासङ्ग्रहको नाम युङफ्राउ राखें। यस नियात्रासङ्ग्रहमा स्विजरल्यान्ड, ग्रिस, पोर्चुगल र बेलायतका सत्ताइस यात्रानुभूति छन्। ती देशका भाषा, साहित्य, संस्कृति, इतिहास आदिबारे साहित्यिक वर्णनहरू छन्। ग्रिसमा भएका देवताका मन्दिर, सुकरातलाई थुनेको जेल, एरिस्टोटलले खोलेको स्कुललगायत रोचक नियात्रा छन्।

    स्विजरल्यान्डको हिमालदेखि महान् वैज्ञानिक आइन्सटाइन बसेको घर र म्युजियमका रोमाञ्चकारी यात्रा वर्णन छन्। पोर्चुगलका भास्को दा गामादेखि त्यहाँको कला, संस्कृति र इतिहासका चाखलाग्दा बेलीविस्तार छन्। युङफ्राउ पढिरहँदा पाठकहरू मसँगसँगै यात्रा गर्नुहुनेछ। आफैं पुगेजस्तो र आफैंले देखेजस्तो अनुभूति गर्नुहुनेछ।

    तपाईंलाई अनुसन्धानमूलक, बौद्धिक र अलिक फरक धारको नियात्रा लेख्ने नियात्राकार भन्छन्। किन त्यस्ता नियात्रा लेख्नुहुन्छ?

    लामो समयदेखि विदेशमा बसेको हुनाले यताका इतिहास, कला, साहित्य र संस्कृतिप्रति आकर्षित भएको छु। यात्रा गर्दा देखेभोगेका रोचक कुरा, सूचना र आधिकारिक तथ्यहरू नियात्रामार्फत नेपाली साहित्यका पाठकलाई दिने गर्छु। त्यसका लागि म विशेष अध्ययन र अनुसन्धान गर्छु।

    नियात्राका नाममा भावनामा बगेका उडन्ते गफ लेख्नुभन्दा शब्दले समेत धरती टेकेका साहित्यिक वर्णन लेख्छु। शब्दहरू जोडजाड गरेर शाब्दिक मायाजालमा पाठकलाई अल्मलाउनुभन्दा ज्ञानको सागरमा पाठकले डुबुल्की लगाउन सकून् भनेर नियात्रामा मेहनत गर्छु।

    नियात्रा लेख्न यात्रा गर्नुहुन्छ कि अनायसै भएको यात्रामा नियात्रा तयार हुन्छ?

    म यात्राप्रिय व्यक्ति हुँ। नयाँ कुरा थाहा पाउन खोज्नु र नयाँ ठाउँ घुम्नु मेरो रुचिको विषय हो। परिवार, साथीहरूसँगको घुमघाम वा कुनै कार्यक्रमको अवसरमा पुगेको स्थानको भ्रमणपश्चात् मेरो मन र मस्तिष्कलाई स्पर्श ग¥यो भने म तरंगित हुन पुग्छु। अनि त्यहाँका अनुभूतिलाई लिपिबद्ध गर्न थाल्छु। अन्ततः नियात्रा तयार हुन्छ।

    नियात्रा लेखनका सजिला र अप्ठ्यारा पक्षहरू केही छन् कि?

    नियात्रा लेख्न चुनौतिपूर्ण हुन्छ। साहित्यका अरू विधा एउटा कोठामा बसेर लेख्न सकिन्छ। तर, नियात्रा लेख्नका लागि लेखकले सम्बन्धित ठाउँको यात्रा गर्नै पर्छ। त्यस्ता यात्रा दुरीका हिसाबले टाढा, भौगोलिक अवस्थाका हिसाबले कठिन तथा चुनौतीपूर्ण र खर्चका हिसाबले महँगो हुन सक्छ। अनि नियात्रा लेख्न शिल्प, शैली र प्रस्तुतिका हिसाबले दुरुह पनि हुन सक्छ। यसर्थ नियात्रा लेख्न त्यति सजिलो छैन।

    तपाईंको विचारमा नियात्रा के हो?

    मेरो विचारमा यात्राका क्रममा देखेभोगेका विभिन्न दृश्य, प्रसङ्ग, घटना, अनुभव आदिलाई निजात्मकताको रङ भरेर साहित्यको जलप लगाएको वर्णनयुक्त गद्य नै नियात्रा हो।

    नियात्रा लेखनतिर कसरी आकर्षित हुनुभयो?

    २०५१ सालमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको निमन्त्रणामा दुई साताको चीन भ्रमण गर्ने अवसर प्राप्त भएको थियो। चीनमा आमन्त्रित जर्मन नागरिक र मेरो लागि एक एक जना दोभाषे पनि उपलब्ध गराइएको थियो। मेरो दोभाषे चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली विभागका पूर्व प्रमुख तथा पत्रकार यु फुङ हुनुहुन्थ्यो।

    दुई साता बेइजिङ, छन्दु, सिगात्से र ल्हासा सहरका यात्रामा हामी सँगै थियौं। उहाँले मलाई बारम्बार भन्ने गर्नुहुन्थ्यो -‘बजगाईंजी, चीन यात्राको अनुभव लेख्नुपर्छ है।’

    बेइजिङमा दुई दिन सँगै घुमेका प्रसिद्ध भाषाशास्त्री प्राडा बल्लभमणि दाहालले पनि चीनको नियात्रा लेख्नुहोला कृष्णजी भन्नुभएको थियो। उहाँहरूले भनेका कारणले गर्दा लेखेको ‘ग्रेटवाल नचढेको व्यक्ति बहादुर भनिँदैन’ भन्ने यात्रासंस्मरण २०५५ सालको कान्तिपुर दैनिकको कोसेलीमा प्रकाशित भयो। कविता र कथामा रमाइरहेको मलाई त्यस यात्रासंस्मरणबाट पाएको प्रतिक्रियाले ऊर्जा थप्यो। त्यहींबाट मेरो नियात्रालेखन सुरु भएको हो।

    तपाईं र तपाईंका कृतिबारे गरिएको मूल्यांकनबाट कतिको सन्तुष्ट हुनुहुन्छ?

    पुरस्कार र सम्मान व्यक्ति र कृतिको मूल्यांकनका आधार हो भने मेरो खासै मूल्यांकन भएको छैन। किनकि जन्मभूमिबाट मैले पाउनुपर्ने राम्रा पुरस्कारहरू पाएको छैन। यदि कृतिको मूल्यांकनको आधार मेरो लेखनशक्तिलाई मान्ने हो भने पाठकहरूबाट राम्रो मूल्यांकन भएको छ। मेरा कृतिहरू पाठकले खोजीखोजी पढ्नुहुन्छ।

    मेरो कृतिबारे समालोचकहरूबाट प्रशस्त समालोचना भएका छन्। पाठ्यक्रम निर्माण गर्ने विद्वान्हरूले मेरा चार ओटा नियात्राहरूको उचित मूल्यांकन गर्दै त्रिभुवन विश्वविद्यालय, लुिम्बनी विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा समावेश गर्नुभएको छ।

    मेरो एक लघुकथा नेपाल सरकारको कक्षा १२ को पाठ्यक्रममा राखिएको छ भने अर्को लघुकथा म्यानमारको नेपाली पाठशालाको कक्षा ९ पाठ्यक्रममा परेको छ। मेरो एक बालकथा सरकारी स्कुलको कक्षा ५ को पाठ्यक्रममा छ भने अरू २१ वटा बालकथा निजी क्षेत्रका विद्यालयको कक्षा ४, ५, ६ र ७ मा पढाइ भइरहेका छन्।

    दुई जना विद्वान्हरूले मलगायत डायोस्पोराका कविहरूका कवितामा पिएचडी सम्पन्न गर्नुभएको छ। यी सबै उपलब्धीहरू विचार गर्दा मेरो र मेरा कृतिको मूल्यांकन भएको ठानेको छु। म एकदम सन्तुष्ट छु।

    तपाईं कस्तो परिवेशमा लेख्ने गर्नुहुन्छ?

    डायस्पोराका अधिकांश सर्जकहरूलाई लेखनको परिवेश सहजै हुँदैन। मलाई कामको व्यस्तता, थकाइ, पारिवारिक जिम्मेवारी, सामाजिक सम्पर्क र आफू अध्यक्ष रहेको साहित्यिक संस्थाको काम, वेबपत्रिका र जर्नल प्रकाशन जस्ता विविध कार्यले गर्दा सधैं समयको अभाव हुने गरेको छ।

    लेखनको पहिलो ड्राफ्ट वा लेखनका लागि आएका विचारहरूको टिपोट ट्रेनको यात्रा, अफिसको टी वा लन्च ब्रेकको समय, बिहानी पख, मध्य रात कुनै पनि बेला हुन सक्छ। सप्ताहन्तको छुट्टीमा त्यसलाई सम्पादन गर्ने गर्छु।

  • पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

    पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

    विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो।

    कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिए। म्याद सकिए पनि निर्माण कम्पनीले सडक विस्तार कार्य नरोकेपछि गत वैशाखदेखि लागू हुने गरी म्याद थप गरिएको उनले बताए। थप गरिएको समयावधि २०८१ भदौ मसान्तमा सकिने छ।

    ‘सम्झौता सकिए पनि सडक विस्तार कार्य गरिरहेको पायौँ’, प्रमुख इन्जिनियर यादवले भने, ‘त्यसैले पाँच महिनाको समय थप गरेका हौँ।’

    जामुनेदेखि आँबुखैरेनीसम्मको करिब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करिब सात सय मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ। पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको आयोजनाले जनाएको छ।

    विसं २०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको थियो। सो खण्ड विस्तार गर्न निर्माण कम्पनीले मादि नदीको पुलबाहेक ६ अर्ब २१ करोडमा ठेक्का पाएको हो।

    मादी नदीमा तीन सय १५ मिटर लम्बाइको पुल निर्माण गर्न एक अर्ब २१ करोड लागतमा छुट्टै ठेक्का लगाइएको छ। यस खण्डमा भत्काउनुपर्ने पाँच सय पाँच घरमध्ये अधिकांश भत्काइ सकिएको आयोजनाले जनाएको छ।

    पश्चिम खण्डअन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब २० किलोमिटर खण्डमा ६ लेन रहने गरी ४६ मिटर फराकिलो, जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडकखण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए।

    सात अर्ब ४० करोड ४६ लाखको लागतमा निर्माण गर्न २०७८ जेठमा पश्चिम खण्डको ठेक्का सम्झौता चिनियाँ ठेकेदार कम्पनी एनहुइ केयुनन हाइवे एण्ड ब्रिजसँग भएको हो।

    एसियाली विकास बैंक (एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो। अधिकांश क्षेत्रमा सडक दुईतर्फी २५ मिटरको हुनेछ। बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ भने तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा ४१ मिटर फराकिलो हुनेछ।

    अति जनघनत्व रहेका क्षेत्र दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ। -रासस

  • कस्तो रहला शनिवारको मौसम!

    कस्तो रहला शनिवारको मौसम!

    हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।