Blog

  • कांग्रेस-प्रधानमन्त्री छलफलः संसदीय समिति बनाउन सहमत, ‘टिओआर’मा छलफल भएन

    कांग्रेस-प्रधानमन्त्री छलफलः संसदीय समिति बनाउन सहमत, ‘टिओआर’मा छलफल भएन

    सहकारी ठगी प्रकरणले बन्धक बनेको संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेससँगवीचको वार्तामा संसदीय छानबिन समिति बनाउन पुनः सहमती जुटेको छ। वार्तामा प्रधानमन्त्री दाहाल संसदीय समिति बनाउन सहमत भएको कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले बताए।

    ‘उहाँ (प्रधानमन्त्री) ले निकासका लागि संसदीय छानबिन समिति बनाएर जाने कुरामा प्रतिबद्धता जनाउनुभएको छ,’ बैठकपछि नागरिकसँग कुरा गर्दै लेखकले भने,‘सत्तापक्षका नेताहरूसँग छलफल गरेर कांग्रेससँग फेरि बस्ने कुरा छ।’

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग्दै संघीय संसद्का दुबै सदन अवरुद्ध गर्दैआएको छ।

    संसद् खुलाउन प्रधानमन्त्री दाहालले यसअघि पनि संसदीय छानबिन समिति गठन गर्नसकिने कुरा बताएका थिए। तर, समितिको कार्यादेश (टिओआर) मा सहमती नजुट्दा स्थिती भाँडिएको थियो।

    कांग्रेसले गृहमन्त्री लामिछानेको नामसमेत सामेल गरेर छानबिन समितिलाई टिओआर दिनुपर्ने अडान राखिरहेको छ। उक्त कुरामा सत्तापक्ष भने हालसम्म तयार भएको छैन्। जसले प्रतिनिधिसभामा मुठभेडको स्थिती देखा परिरहेको छ।

    प्रधानमन्त्री–कांग्रेसको आजको बैठकमा संसदीय छानबिन समिति बनाउने कुरामा सहमती भएपनि टिओआरका विषयमा छलफल नभएको लेखकले बताए।

    ‘टिओआरमा प्रवेश भएको छैन। संसद् खुलाउन प्रधानमन्त्रीजी सकारात्मक देखिनुभयो। त्यसका लागि संसदीय समिति बनाउने भन्नेमा उहाँ पुग्नुभएको छ। सत्तापक्षका साथीहरूसँग बसेर आएपछि टिम बनेर टिओआरमा काम होला,’ उनले भने।

    यसअघि टिओआरमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपाध्यक्ष स्वर्णिम वाग्ले र कांग्रेस सहमहामन्त्री जीवन परियार बसेर गृहकार्य गरेका थिए। उक्त गृहकार्यमा गृहमन्त्रीको नाम राख्ने/नराख्ने विषयमा सहमती नजुट्दा स्थिती भाँडिएको थियो।

    प्रधानमन्त्री दाहालसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

  • कारले मोटरसाइकललाई ठक्कर दिँदा  पत्रकारको मृत्यु

    कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको मृत्यु

    जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजना पत्रकारको मृत्यु भएको छ। जनकपुरधामको थापा चोकमा बा २१ च ३३४३ नम्बरको कारले मधेश प्रदेश २ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिताको घटनास्थलमै मृत्यु भएको हो।

    आज बिहान करिब ३ बजेतिर उक्त घटना भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएको छ। मृतक पत्रकार रोहिता धनुषाको शहीदनगर नगरपालिका-८ का स्थानीय बासिन्दा हुन्।

    प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन्। उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ।

    कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

  • अर्गानिक पदमार्गको सम्पूर्ण कथा

    अर्गानिक पदमार्गको सम्पूर्ण कथा

    मध्यमार्ग लोकमार्गमा नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएको छ। यो पूर्वी पहाडी जिल्लाहरू भोजपुर, सोलुखुम्बु, खोटाङ र संखुवासभाको सीमावरिपरि पर्ने पदमार्ग जसको पहिचान गरेको हो मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रले।

    यही पर्यटकीय ट्रेलको नाम हो मुन्दुम ट्रेल। यही नाममा श्याम सामसोहाङ राईले पर्यटन विकास र प्रवर्धनको थालनीमा गरिएका सामूहिक प्रयासको स्मरण गर्दै त्यसलाई जीवन्तता दिएर संस्मरण लेखेका छन्। यसमा मुन्दुम ट्रेलको परिकल्पनाको कथादेखि विकास गर्दाका कुराहरूको चर्चा गरिएको छ।

    उनी लन्डन बस्छन्। तर जहिल्यै आफू जन्मेको ठाउँमा केही गर्ने हुटहुटी पाल्छन्। सन् २०१८ को जुलाई १२ मा एउटा अर्गानिक गन्तव्यस्थलका रूपमा पहिचान गरी सबै पर्यटकका लागि खुला गरिएको हो मुन्दुम ट्रेल।

    लेखकले त्यहाँको प्राकृतिक सौन्दर्य, अर्गानिक खाना, पर्यावरणीय विविधता, धार्मिक तथा सांस्कृतिक विशेषताबारे जानकारी दिने प्रयास गरेका छन्। त्यहाँको इतिहास, किंवदन्ती, रिसिया, हाकपारे र गोठाले भाकाहरू, यात्राको क्रममा भेटिने विभिन्न प्रजातिका चराचुरुङ्गीहरू र तिनका मन्त्रमुग्ध पार्ने कोकिल स्वरलहरीहरूबारे चर्चा गर्दै उक्त पदमार्गमा पाइने होमस्टे र गोठस्टेको समेत जानकारी दिएका छन्।

    विभिन्न शीर्षकमा विभाजित प्रस्तुत पुस्तकको मुन्दुम ट्रेलको यात्रामा बच्चामा देखेसुनेका कुराहरूको मिठासयुक्त वर्णन छ। त्यहाँ बुढापाकाहरूले भूतप्रेतका कथा सुनाएको प्रसङ्गदेखि बलौटेबाट हेकुले हुँदै लौरेको बिचउकालो यात्राको वर्णन छ।

    मालिङ्गोका झाडीका टुसामा रेड पान्डा र भालुहरू प्रशस्तै भएको रोचक र जानकारीमूलक तथ्यहरू छन्। उनी मैयुङ पुग्दा चीनको ग्रेटवालसँग पार गरेका पहाडलाई तुलना गर्छन्।

    हाँडीपोखरी, साल्पापोखरी जो किरातीहरूको पवित्र अमृत मानिन्छ, तिनको सुन्दर वर्णन पनि छ यहाँ। मुन्दुममा तीन चुल्हाको आविष्कार कसरी भयो भन्ने किस्सा दिन पनि लेखक पछि परेका छैनन्। रक्सीको आविष्कार किरातीहरूका आदिम पुर्खा सुम्निमाले गरेको किराती मिथक छ। उनको मैयुङमा गरिएको म्युजिक भिडियो सुटिङका क्रममा भएका रमाइला प्रसङ्गहरू पनि यहाँ अटेका छन्।

    मैयुङ हाँसपोखरी महोत्सव २०७४ मा पिखुवा खोलाको शिर मैयुङडाँडामा लेखकले व्यतीत गरेका बाल्यकालका सम्झनासहित पिखुवा एन एक्स्पेडिसन नामक वृत्तचित्र निर्माणमा पिखुवाको जनजीवन र किराती सभ्यताको विकासक्रमलाई खोतल्ने प्रयास गरिएको दाबी गरिएको छ।

    भोजपुरको तिम्मा, तिम्मा सरोकार समाज, तिनका गतिविधिहरू, महोत्सवको प्रचारका लागि छपाई गरिएको क्यालेन्डर र तिनमा समावेश गरिएका मैयुङ क्षेत्रका सुन्दर तस्बिरहरूले सबैको ध्यान खिचेको कुरा त्यहाँ छ।

    स्थानीय अर्गानिक कुराहरूको प्रदर्शनी, साहित्य, कला, संगीत, खेलकुदजस्ता कार्यक्रमको आयोजना गरी महोत्सव सफल पार्न धेरै मिहिनेत गरिएको कुरा छ। लेखक किराती मुन्दुमबाट प्रभावित भए पनि सबै धर्म, समुदायप्रति उनको सद्भाव भएको कुरालाई उनले महत्त्वका साथ उल्लेख गरेका छन्।

    मैयुङ टेम्के साल्पासिलिङ पर्यटन प्रवर्धन केन्द्रको स्थापनामा कसरी संस्थाको जन्म भयो भन्ने बारेमा पाठकहरूलाई जानकारी दिइएको छ। मुन्दुम ट्रेलको नामकरण र ग्रेटर मुन्दुम ट्रेलको अवधारणामा टेम्केदेखि मैयुङ हुँदै साल्पासिलिचुङसम्मको पर्यटकीय पदमार्ग कसरी बनाउन सकिन्छ भनी बृहत् छलफल, नामकरण, यस क्रममा गरिएका विभिन्न विषयविज्ञहरूसँगका मिटिङ, आर्थिक स्रोत व्यवस्थापन, प्रचारप्रसारजस्ता कुराहरू मिठासपूर्ण ढंगले जानकारी गराइएको छ।

    सम्बद्ध साथीहरूसहित लेखक उक्त ट्रेलको यात्रामा निस्कँदाका अनुभूतिहरूको सुन्दर वर्णन छ। आठ हजारमाथिका विभिन्न हिमशृंखलाहरू एउटै स्थानबाट देखिने यो ट्रेल मात्र भएको लेखकले दाबी गरेका छन्। यसमा मुन्दुममा घर बनाउने परम्परा छेत्छाकुप्पाबाट सुरु गरेको किराती रोचक कथा लेखकले यहाँ उद्धृत गरेका छन्।

    औपचारिक रूपमा कसरी सार्वजनिक गरियो मुन्दुम ट्रेलको अवधारणा भनेर जानकारी पनि प्रस्तुत कृतिले गरेको छ। पूर्वाधार निर्माण, प्रचारप्रसार, स्थानीय जनतालाई अभिमूखीकरण गर्नेजस्ता कार्यहरू गरी यसको विकासका लागि टेम्के मयुङको अन्नपूर्ण क्षेत्रलाई स्थान छनौट गरी अन्नपूर्ण सम्मेलन गर्न गरिएका सुन्दर प्रयासहरूको रोचक वर्णन यहाँ पढ्न पाइन्छ। मुन्दुम ट्रेलको रुटमा पर्ने सबै स्थानहरू अर्गानिक छन्। मनै लोभ्याउने छन्। यहाँ विशेषतः सावाखोलाको सावालृङ झरना र टेम्केको छातीमा रहेको महभिर झरनाको यहाँ रोचक वर्णन गरिएको छ।

    साँवा गाउँमा होमस्टे सञ्चालनका लागि प्रशिक्षण दिइएर २०७५ सालदेखि किराँती संस्कार, संस्कृति, भाषा, रहनसहनयुक्त किराती संस्कृतिलाई पर्यटनसँग जोड्ने हिसाबले होमस्टे सञ्चालन गरेको कुरा लेखकले उल्लेख गरेका छन्। नेपाल सरकारले बजेट भाषणमा मुन्दुम ट्रेलका लागि रकम छुट्याएको कुराले लेखक पुलकित बनेका छन्।

    मुन्दुम ट्रेलको प्रारम्भिक पूर्वाधार विकासको काम सक्दा लेखकलाई सयौं किलोको भारी बिसाएको महसुस भएको थियो। स्थानीयहरूको साथ सहयोगमा भने लेखक खुसी थिए। त्यसपछि उनी बेलायत गएको कुरा उल्लेख गरेका छन्।

    यात्रा गरिरहन मन पराउने यात्री हुन लेखक। उनलाई बेलायत आएपछि पनि यात्राको हुटहुटीले छोडेन। तसर्थ स्कटल्यान्डका समथर फाँटहरूसहित थ्री पिक, वेल्सको इस्नोडोनिया लगायतका डाँडाकाँडाहरू घुमे उनी। तर उनको मन यहाँको ती ठाउँहरूले पटक्कै छोएनन्। स्विस सरकारले मुन्दुम ट्रेलका लागि पूर्वाधार विकासमा अनुदान दियो। समिति बनी काम सुरु भयो।

    भोजपुरको साम्पाङ चोकबाट थालनी भएको निर्माण कार्यले सुन्तले डाँडा हुँदै पखुवा भन्ज्याङसम्म पुग्यो। यता साल्पासिलिछोसम्म पनि काम सकियो। साल्पापोखरी वरपर अनेक संरचना बनाइए। ट्रेलको धेरै ठाउँमा बस्न घर नभएकाले गोठलाई पर्यटक बस्न सक्ने ठाउँका रूपमा विकास गरियो।

    आमालाई क्यान्सर हुँदा पनि भारी बोकेर गर्नुपरेको दुःखका पलहरू उल्लेख गरेर आमाप्रति अनुगृहित देखिएका छन् लेखक। यही यात्रामा लेखकले अबको मुन्दुम ट्रेलबारे के गर्ने भनेर योजना बनाएका छन्।

    आर्थिक समुन्नतिका लागि पर्यटन भित्र्याउनै पर्ने कुरामा जोड दिएका छन्। फेरि फरक ढंगले महोत्सव गर्ने त्यसमा मुन्दुम ट्रेल दौड, सांगीतिक प्रस्तुति गर्ने परिकल्पना छ उनको। पुस्तकलाई मुन्दुम ट्रेलबारे उनले गीत रचेका छन् र पुस्तकको बिट मारेका छन्।

    भौगोलिक विविधताले भरिएको छ मुन्दुम क्षेत्र। प्रचुर पर्यटकीय सम्भावना क्षेत्रका सुन्दर दृश्यहरूको चित्राङ्कनले पाठकको मन खिच्छ। यसरी नै विभिन्न महत्त्वपूर्ण स्थानहरूबारे रंगीन तस्बिरहरू पनि राखिएका छन्।

    किराती संस्कृति अत्यन्तै धनी र वैभवशाली छ। उनीहरूका फरक फरक समुदाय विशेषमा फरकफरक मिथकहरू पनि छन्। तसर्थ प्रस्तुत पुस्तकमा भएको मिथक कुन समुदायको हो भन्ने कुराले पाठक भ्रममा पर्न सक्छन्।

    यसरी नै समुदायपिच्छे भाषा पनि फरक छ। यो समेत लेखकले जानकारी दिन सकेको भए सुनमा सुगन्ध हुने थियो। जे होस्, संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्न सकिने कुराको सार्थक प्रस्तुति लाग्छ पुस्तक।

  • चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

    चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

    गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    डिआइजी बढुवा सिफारिसमा पर्नेमा कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा.मनोजकुमार केसी र राजन अधिकारी छन्।

  • जुम्लाको गोठीज्यूलामा “करनालीका आँसु“ नाटक प्रर्दशन

    जुम्लाको गोठीज्यूलामा “करनालीका आँसु“ नाटक प्रर्दशन

    कर्णालीको कथा बोकेको नाटक खश भाषा उत्पत्ति भएको एतिहासिक सिंजा उपत्यकामा प्रर्दशनी भईरहेको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका –५ गोठीज्यूलामा रहेको कसम नाटक घरमा नाटक ’करनालीका आँसु’ प्रदर्शन भइरहेको हो।

    कर्णाली जस्तो विकट स्थानमा नाटक घर स्थापान गरी कर्णाली खस सस्कृतिक संरक्षण मंन्च (कसम) जुम्लाका कलाकारले विगत एक वर्ष देखि उक्त नाटक घरमा नाटक प्रदर्शन गर्दै आएका छन्।

    बुधबारदेखि नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आर्थिक सहयोग तथा कर्णाली खस संस्कृति संरक्षण मञ्च (कसंम) जुम्लाको सहजिकरणमा २०८१ बैशाख २१ गते देखि जेष्ठ ४ गते सम्म संचालन हुने ध्वनी, प्रकाश तथा निर्देशन सम्बन्धि कार्यशाला संचालन गरि सो कार्याशालाबाट नाटक निर्माण गरि प्रर्दशन गरिएको हो।

    नेपाल संगित तथा नाट्य प्रज्ञाप्रतिष्ठान नेपालले कुना कन्दरामा लुकिछिपि रहेका कला संकृतिलाई उजार गर्ने उद्देश्यले नेपाली भाषाको उंगम थलो कला संस्कृतिले भरिपूर्ण स्थानमा आफ्नै लगानीमा नाटक घर स्थापना गरेका कलाकार माँझ कार्यशाला संचालन गरिएको नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निसा शर्मा पोखरेलले बताइन्।

    ’कसम नाटक घरका कलाकारले एक रुपता गरी दुःख, सुख नभनि काम गरी रहनु भएको छ। त्यो कुराले मलाई छोएकोले हाम्रो भाषा पुर्वले पश्चिमको र पश्चिमले पुर्वको सबैले हेरौं है हाम्रौ नेपाल भित्र पनि कति कला सस्कृति लुकेर बसेको छन्,’ उनफे भनिन्, ’त्यो कुरालाई जन मानस अगाडि ल्याएर आउने काम हो।’

    त्यसैले कसम नाटक घरका कलाकारलाई प्रशिक्षण दिएको कुलपति शर्माले बताइन्। प्रशिक्षण पनि कलाकारको क्षमतामा बृद्धि हुने खेदिएको छ।

    जिल्ला बाहिर र विदेशमा नाटक प्रर्दशन गर्न पुराना र नयाँ आउने कलाकारलाई सहज हुने देखिन्छ। लामो समय देखि सिंजाको कला संकृति र विभिन्न विषय वस्तुमा नाकट प्रर्दशन गर्दै आएका छौ। सडक नाटक लघु चलचित्र पनि खेल्दै आएका छौंँ। तर संयोग बस नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान कुलपति र गुरुकुलमा संचालक सुनिल पोखरेलको उपस्थितिमा ध्वनी, प्रकाश तथा निर्देशनको प्रशिक्षण लिन पाउदा धेरै कुरा सिकिएको कर्णाली खस संकृति संरक्षण मन्चका अध्यक्ष भानुभक्त उपाध्यायले बताए।

    प्रशिक्षण पछि प्रर्दशन गरिएको नाटक करनालीका आँसुले उपस्थित दर्शकको मन जितेको देखिन्छ। नाटकमा कर्णालीलाई राज्यले हेर्न व्यवहारको चित्रण गरिएको छ राज्यले कर्णालीको नाममा आएको बजेट समेत पूर्णरुपमा कर्णालीलाई नदिई चाउचाउ बाँड्ने कार्यक्रम मात्र गरेको र यस क्षेत्रका कला संकृतिलाई उजार नगरेको भन्ने विषयबस्तु झल्काएको छ। बिभिन्न कला संकृतिको प्रर्दशन गरिएको छ।

    ’यसरी हराउँदै गएको कला संकृतिलाई संरक्षण गर्नु कसम नाटक घरका कलाकारको कामलाई सह्रानीय मानिन्छ,’ उनले भने, ’विकसित देशमा समेत रुचाउदै गएको रंगमञ्तको नाटकलाई दुर्गममा सुरुवात गरेर प्रर्दशन गर्नु एक महत्पूर्ण काम मानिएको छ।’

  • बाग्मती युवा क्लब शीर्षमा

    बाग्मती युवा क्लब शीर्षमा

    सर्लाहीको बाग्मती युवा क्लब शुक्रबार जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा खालीबारी युवा क्लबसँग गोलरहित बराबरीको नतिजा पनि बाग्मतीलाई शीर्ष स्थानमा उक्लिन पर्याप्त बन्यो।

    बाग्मतीले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा अंक बाँडेको हो। खालीबारीले पनि केही अवसर सिर्जना गरेको थियो। तर, सदुपयोग गर्न भने सकेन। बराबरीसँगै बाग्मतीले आठ खेलबाट १७ अंक जोड्यो। समान खेलबाट खालीबारीको ९ अंक छ। खालीबारी दशौं स्थानमा छ। खेलको पहिलो हाफमा भन्दा दोस्रो हाफ केही अवसर सिर्जना भए। बाग्मतीले ५९औं मिनेटमा अग्रता लिने अवसर गुमायो।

    बाग्मतीका सिर्जनराज गौतमले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार बारनजिकैबाट बाहिरिन पुग्यो। बाग्मतीका गोलकिपर अनिश महतोले ६४औं मिनेटमा आफ्नो टोलीको संकट टारे। उनले अरूण लामाको प्रहारलाई बचाउ गरे। एक मिनेटपछि नै सिर्जनराजको प्रहार फेरि बारनजिकैबाट बाहिरियो।

    शुक्रबारकै पहिलो खेलमा महावीर र सानेपा क्लब गोलरहित बराबरीमा रोकिए। एन्फा मुख्यालय मैदानमा नै दुवै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् र अंक बाँडे। बराबरीपछि पनि सानेपा आठौं स्थानमा यथावत् छ।

    सानेपाले आठ खेलबाट ११ अंक जोडेको छ। समान खेलबाट महावीरको ९ अंक छ। खालीबारीसँग समान अंक भए पनि गोलअन्तरमा पछि पर्दै महावीर दशौं स्थानमा छ। खेलको दोस्रो हाफमा महावीरले आक्रमणमा सनेपामा गोलकिपर रुबिन बोगटी बाधक भए।

    उनले ५९औं मिनेटमा समीरकुमार चौधरीको प्रहार पन्च गर्दै विफल पारेका हुन्। त्यसको दुई मिनेटपछि नै महावीरले पनि सानेपाको आक्रमण सफल हुन दिएनन्। अनिष घर्तीको प्रहारलाई महावीरका गोलकिपर नीर चौधरीले रोके।

    ६४औं मिनेटमा नै सौगात लामाको प्रहारलाई विफल पार्दै नीरले महावीरको संकट टारे। त्यसपछि पनि दुवैतर्फबाट गोल हुन सकेन र खेल गोलरहित बराबरीमा नै सकियो। शुक्रबार लिगमा समान आठौं चरणको खेल सकिँदा पुलचोक र आरसी ३२ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

    पुलचोक र आरसी ३२ को समान १६ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। लिगमा समान खेलबाट समान पाँच अंकसहित गोलबजार र स्वयम्भू रेलिगेसन क्षेत्रमा छन्।

  • शालीन विद्रोह

    शालीन विद्रोह

    ‘डोरम्याट’ हालै प्रकाशित कविताकृति। कृतिकार कवि छविरमण सिलवाल। साहित्यको नाममा छविले तीन दशक लामो यात्रा तय गरिसकेका छन्।

    बितेका तीन दशकमा उनले साहित्यिक वृत्त र पाठकवृत्तमा जानपहिचान अनि लोकप्रियता बनाएका छन्। सरल मिजासका छवि स्रष्टा मात्रै नभईकन साहित्यिक अभियानकर्ता पनि हुन्। उनी दर्जन बढी साहित्यिक संघसंस्थामा आबद्ध भएर साहित्यको श्रीवृद्धिमा लागिपरेका छन्।

    बितेको यही तीन दशकमा उनले समीक्षक, निबन्धकार, लघुकथाकार, नियात्राकार, बालसाहित्यकार, रेडियो प्रस्तोताजस्ता अनेकानेक परिचय बनाउन सफल पनि भएका छन्। यो सफलता प्राप्त गर्न छविले कस्तो दुःखकष्ट झेल्नुपरेको थियो होला? कस्ताकस्ता पीडा खेप्नुपरे होला? सफलताले छरेको हाँसोको सुगन्धबीच उभिएर सायदै छविले पनि दुःखको विगतलाई भुलेका छन् होला।

    छवि कवितामा धेरै जटिल बन्न नखोज्नु नै उनको आफ्नै कवि परिचय हो। छविले कवितालेखनमा भिन्न अर्थात् आफ्नै शिल्प तयार गरेका छन्। उनले मनबाट जनजनका कविता लेख्ने गरेका छन्।

    उनले आफ्ना कविताहरूको आयतन नाप्न कसैको सहारा लिएका रहेनछन्। अर्थात्, कृतिमा कसैको भूमिका छैन। कविले आफ्ना मातापितामा कृति समर्पण गरेर कवितालाई लामबद्ध गराएका छन्। कविता–लेखनमा कविको छोटो बकपत्र भने यसै कृतिको अन्त्यमा पढ्न पाइन्छ।

    कवितामाथिको समीक्षात्मक भूमिका अथवा समालोचना पढ्न नपर्नुले पाठकले स्वतन्त्र बनेर आफ्नै मनमस्तिष्कबाट छविका कविता पढ्न सक्नेछन्, जुन अवसर मैले पनि प्राप्त गरेँ।

    पुस्तकको अन्त्यमा विनयीभावमा छोटकरीमा कविले आफ्नो कवितायात्राका बारेमा लेखेको स्वीकारोक्ति पढेपछि ९६ पृष्ठको ‘डोरम्याट’ सकिन्छ। कवितामाथिको आनन्द र मजा लिँदै पढ्दा पनि एक घण्टामा यो कृति पढिसकिन्छ। एक घण्टाको समयमा किताब पढे पनि त्यसको स्वादको अनुभव भने जीवनभर लिन सकिन्छ।

    ३० वटा मझौला कदका कविताले ‘डोरम्याट’ कृतिको आकार बनाएको छ। कृतिभित्रको पहिलो कविताबाटै पुस्तकको नामकरण गरिएको छ। ढोकाअगाडि खुट्टा पुछ्न राखिने डोरम्याटलाई कविले मानवीकरण गरेका छन्। उनले डोरम्याटलाई बिम्ब बनाएर मानवतावादको वकालत गरेका छन्। म्याटमा खुट्टा पुछ्नेलाई शासकका रूपमा उभ्याएर कविले क्रूरताको प्रतीक बनाएका छन्।

    ‘महाराज!

    सदियौंदेखि मैले

    खाइरहेको छु हजुरको लात

    भन्नुस् न-अब कतिन्जेलसम्म चल्नेछ

    मेरो छातीमाथि हजुरको क्रीडा?’

    -डोरम्याट, पृ. ९

    यो पङ्क्ति पढेपछि नै छविको कवित्व प्रस्ट हुन्छ। उनी व्यावहारिक जीवनमा जति विनयी र सादगी छन्, लेखनमा पनि त्यति नै विनयी देखिन्छन् तर उनको विनयितामा खरानीभित्र लुकेर बसेको आगोजस्तो विद्रोह लुकेको छ।

    राज्यसत्ताप्रति खरो प्रतिपक्षी र सामान्य नागरिकप्रति दह्रो पक्षता बोकेका उनका कविताहरू बदमासका लागि चुनौती हुन सक्छन्।

    ‘थाहा छ नि सिंहदरबारलाई

    ऊ आफैं पनि कसैको अपुताली हो

    अनि अपुताली खानेहरूलाई

    सम्पत्तिको महत्त्व के थाहा!’

    –सिंहदरबार भद्दा मजाक गरिरहेछ, पृ. १३

    छविका कविता सरल लाग्छन् तर त्यही सरलताले गम्भीर चिन्तन अनि सत्य बोकेको हुन्छ।

    ‘मान्छे मान्छेकै

    हुलबाट फुत्त निस्किन्छ

    नाङ्गै, भुतुङ्गै!’

    -मान्छे, मान्छे र मान्छेहरू, पृ.२२

    यो पङ्क्ति पढ्दा अत्यन्तै सरल लाग्न सक्छ तर यसको गहिराइ खोज्दै जाँदा मानिस आफैं हराउन सक्छ।

    छविका अधिकांश कविता विद्रोहभावले भरिएका छन्। उनी अन्याय घरबाटै समाप्त गर्नुपर्छ भन्ने मान्यतामा रहेका छन् भन्ने दृष्टान्त यो कवितांशले प्रस्तुत गर्छ।

    ‘आमा !

    बुबाको त्यो जुठो थालमा

    तपाईं किन खाना खानुहुन्छ?

    मैले बालाई अर्को प्रश्न गरें

    त्यसोभए तपाईंले चाहिँ

    आमाको जुठो थालमा

    किन खाना नखाएको त?’

    –जुठो थाल, पृ. ५३

    कवि समतामा विश्वास गर्छन्। सम्मानमा आस्था राख्छन्। ठुलो हुनुको कारण अर्कालाई अपमान गर्नु होइन भन्ने तर्कमा छविका कविता अडेका छन्।

    छविले मानवजीवनका उपयोगी ससाना कुरालाई कविताका माध्यमबाट उजागर गरेका छन्। मान्छेले बाँच्नुको लोभमा आफैंमाथि कसरी घात गरिरहेको छ, छविले कवितामार्फत औंल्याएका छन्।

    ‘रुख काटेर

    धन जोड्नेहरूलाई

    भन्दै थियो रुखले–

    म बोल्न नसकेरै

    हेप्छन्, काट्छन्

    मेरो हत्या गर्छन्।

    थाहा छैन तिनलाई

    मैले नै

    अन्तिममा खरानी बनाउनुपर्छ।

    –रुख, पृ. ५५

    यो एउटा पूर्ण कविता हो। लामो लेखेर कविता हुन्छ भन्ने छैन। थोरै शब्दमा बलियो कविता लेख्न सक्नु सामान्य कुरा होइन। यो कवितामा छविले त्यस्तै प्रतिभा उद्घाटन गरेका छन्।

    यस कृतिभित्र ‘काम नलाग्ने सामान’, ‘फूल नहाँसे हुन्न र’, ‘आँसुहरू’ जस्ता छोटा तर मार्मिक कविता समाविष्ट गरिएको छ।

    अरूका लागि चिन्ता र चिन्तन गर्नेसँग मनभरि आगो हुन्छ। अर्थात्, मन विद्रोहले भरिएको हुन्छ, भलै अनुहार फूलजस्तो कोमल किन नहोस् ! ‘डोरम्याट’ पढेपछि कविको मनभरिको आगो र विद्रोह उनको अनुहारभरि देख्न सकिने रहेछ।

    ‘तिमीलाई उज्यालो दिएर

    मैनबत्तीजस्तै

    पग्लिरहेका छौं हामी।’ (पृ. ७७)

    सावधान!

    हामी जल्नुको अर्थ

    हाम्रो कमजोरी नसम्झनू

    सानै झिल्काले पनि

    एकै छिनमा

    तिम्रो साम्राज्यलाई

    खरानी बनाउन पनि सक्छ।’

    -सावधान, पृ. ७९

    समकालीन नेपाली कविताका प्रभावशाली कविहरू आरएम डंगोल, गोविन्द नेपाल, डा. टङ्क उप्रेती, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय, मणि लोहनीसँग एकसाथ अँगालोमा बेरिएर सात कविहरूको समूह अर्थात् ‘पी सेभेन’मार्फत कविताको सौन्दर्य निर्माणमा जुटिरहेका कवि छविरमण सिलवालमा लेखक बन्नुको कुनै अतिरिक्त अभिमान छैन। बिनाअभिमान उनी जनका कुरा लेख्छन्, मनको आगो ओकल्छन् अनि समाज उज्यालो पार्ने प्रयास गर्छन्। छविका कविता छविजस्तै छन्, छवि उनकै कविताजस्ता लाग्छन्।

  • पोखरामा राष्ट्रिय साइकल दौड

    पोखरामा राष्ट्रिय साइकल दौड

    पोखरामा आज राष्ट्रिय साइकल दौड हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगरपालिका– १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजनामा पोखरामा राष्ट्रिय साइकल दौड प्रतियोगिता आयोजना हुने भएको हो।

    साईक्लिङ खेलको माध्यमबाट खेल पर्यटनको विकास र खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले हुने साइकल दौड प्रतियोगिता पुरुषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरको हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए।

    प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, नेपालगन्ज, नेपाल आर्मी, सशस्त्र प्रहरी, प्रहरीलगायतबाट एक सयभन्दा बढी साइक्लिस्टहरूको सहभागिता रहने उनले बताए। उनका अनुसार प्रतियोगितामा ७० जना प्रतिस्पर्धी र ३० जना रन फर फनका रूपमा सहभागी हुनेछन्। प्रतियोगितामा सहभागीलाई ५ लाख बराबरको विमा गरिएको उनले बताए।

    प्रतियोगिता पोखरा– १७ फेवा पावरहाउसबाट दौड सुरु भई दम्सादी, मुसेटुँडा, महतगाैंडा, फेदीपाटन, खस्र्याङ, निर्मलपोखरी हुँदै पुनः फेदीपाटन भएर पावरहाउसमै पुगेर समापन हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए।

    पोखरा महानगरपालिका खेलकुद विकास समितिले वार्षिक रूपमा तालिका बनाएर विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको छ। जसमध्ये मुआथाई र ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भइसकेको छ भने फेन्सिङ, रग्बीलगायतका खेलको तयारी भइरहेको समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए।

    प्रतियोगिताले खेलकुदको विकाससँगै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीले बताइन्। उनले भनिन्, ‘खेल पर्यटनका लागि प्रतियोगिता कोसेढुंगा साबि।त हुनेछ।’

    प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार, चौथो हुनेले १० हजार र पाचौंले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ।

  • गर्मीका सुरक्षित खाना के कसरी खाने?

    गर्मीका सुरक्षित खाना के कसरी खाने?

    गर्मी महिनामा बढी तापक्रमका कारण हाम्रो शरीरबाट पसिना बगेर बाहिर जान्छ। पसिना बगेपछि शरीरलाई पानीको आवश्यकता पर्छ र प्यास लाग्छ। पानीको कमी भयो भने शरीरमा जलवियोजन पनि हुन सक्छ।

    जाडो महिनाको तुलनामा गर्मी महिनामा खाना छोटो समयमै सड्ने, गल्ने या बिग्रिने हुन्छ। त्यसैगरी पानी पनि दूषित बन्छ। सफा पानी र ताजा खानेकुरा गर्मी मौसममा स्वस्थ र सुरक्षित खाना मानिन्छ। यसरी खाना खाएमा हाम्रो शरिरमा विभिन्न संक्रमित रोेगबाट बच्न सकिन्छ।

    यो मौसममा दूषित खाना या पानीको प्रयोग भएमा झाडापखाला, हैजा, आउँ, टाइफाइड, हेपाटाइटिस एजस्ता रोग लाग्न सक्छ। तसर्थ यो मौसममा स्वस्थ रहनका लागि नियमित ताजा, स्वस्थ खानाको प्रयोग गर्नुपर्ने पोषणविद् नानीशोभा शाक्य बताउँछिन्।

    उनका अनुसार यो सन्तुलित खानाका साथै विभिन्न पोेषणयुक्त र हल्का प्रकारका खाना खानाले पाचन प्रक्रियामा समेत फाइदा पुग्ने उनको सुझाव छ। यसका लागि घरबाहिर, खुला रूपमा राखिएको खानेकुरा नखाने, उमालेको या शुद्धीकरण गरेको पानी पिउने गर्नुपर्छ।

    गर्मीमा शरीरलाई बढी पानीको आवश्यकता पर्ने भएकाले सकेसम्म उमालेर चिसो पारिएको पानीमा कागती, अलिकति नुन, पदिनाको जुस बनाएर पिउन सकिन्छ।

  • चकाचौध राजधानीका ‘बालिका वधू’

    चकाचौध राजधानीका ‘बालिका वधू’

    शिक्षित र सभ्य बस्ने भनिएको संघीय राजधानी खाल्डो बालबालिकाका निम्ति नर्क साबित हुँदै छ। यी असहाय किशोरीलाई दुरूपयोग गरी यौन व्यापारको दलदलमा फसाउने गरिएका कैयन् घटना सामुन्ने आएका छन्।

    सन्तानको सद्गुणका लागि आमा एक शिक्षक हुन्। सन्तानका निम्ति सधैं सफलता चाहने आमा एक शुभचिन्तक पनि हुन्। आमाबिनाको घर नर्कसमान हुन्छ। आमाबिनाको सन्तान घरबारविहीन हुन्छन्। त्यसैले आमाको महत्ता कहिल्यै कम छैन।

    आमा नहुँदाको विषम स्थितिमा मकवानपुरकी एक बालिका छिन्। आधा बाटोमै आमाले सन्तानलाई छोडेर गएपछि नारकीय जीवन बिताइरहेकी १३ वर्षीय बालिका ‘अ’ आफ्नो भविष्य खोजिरहेकी थिइन्। आमाले घर छोड्नु पहिले नै कमाउन बाबु पनि विदेश लागेका थिए।

    बाबु वैदेशिक रोजगारीमा गएपछि पहिलो काख खोसियो। केही दिनमै कहिल्यै नखोसिनुपर्ने आमाको काख पनि खोसियो। बालिकाका बाबु परदेशमा पसिना चुहाउँदै थिए स्वदेशमा आमाले अर्कै पुरुषसँग लगनगाठो कसिन्।

    बाल्यकालमा चाहिने नै आमाबुबाको लाडप्यार हो। उनको जीवनमा न आमा भइन् न बुबा। बालिकाको सहारा बनिन् ठुली आमा। केही दिनमै बुबाले पनि लगनगाँठो कसे। कक्षा ८ मा पढ्दै गरेकी उनको जीवन समस्यामा प¥यो। केही समयपछि सम्पर्कमा आएकी जन्मदिने आमासँग काठमाडौंस्थित कीर्तिपुर डेरामा माइली दिदी र उनी पनि बस्न थाले।

    काठमाडौं आएपछि दोस्रो बुबाबाट जन्मिएका भाइलाई स्कुल पु¥याउने, ल्याउने र खाना बनाउने बालिका ‘अ’ को दैनिकी बन्यो। चाँडै आफ्नै आमाले सौतेनी व्यवहार गर्न थालेपछि माइली दिदीसँगै उनी पनि घर छाड्न बाध्य भइन्।

    उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीअनुसार एक दिन घर छोडेर हिँडेकी दिदीसँगै उनी कलंकी गइन्। दिदीले उनको साथ मागेकी थिइन्। दिदीलाई छाडेर घर पुग्दा रात परिसकेको थियो।

    बालिका ‘अ’ अबेर गरी घर फर्केको देखी रिसाएर आमाले गाली गर्दै भनिन्, ‘तँ कहाँ गएकी थिइस्? तँ पनि तेरी कान्छी ममीसँग गएर बस्। अबदेखि तँलाई एक पैसा पनि दिन्नँ। यहाँ बस्नुपर्दैन। कहाँ जाने हो, गइहाल्।’

    बालिका आमाको नमिठो वचन सहन नसकेर भोलिपल्ट बिहान डेरा छोडेर कलंकी आसपास काम खोज्नतिर लागिन्। यो संसारमा राम्रा पक्ष मात्र छैनन्। आफ्नै आमा त आमा हुन सक्दिनन् भने अरूको के कुरा भयो र?

    उनी कामको खोजीमा भौंतारिदा काठमाडौंकै माछापोखरीस्थित लुम्बिनी तन्दुरी ढावामा मासिक आठ हजार पाउने गरी काममा लागिन्। काम गरेको एक महिना नपुग्दै सोही होटलमा अपरिचित महिला रुवी परियारसँग उनको भेट हुन्छ। ‘अ’ भन्छिन्, ‘उहाँले मेरो परिवार, तलब र कामबारे सबै सोध्नुभयो। केही दिन लगातार कुरा हुँदै गर्दा उहाँले यहाँभन्दा राम्रो सुर्खेत खाजाघरमा तलबसँगै खान बस्नको भरपुर सुविधा छ। तिमीले कमाएको सबै तलब बच्छ र त्यसले केही गर्न हुन्छ। त्यहाँको सञ्चालक दाइसँग धेरै राम्रो चिनजान छ। उतै काम गर्न हिँड। यहाँभन्दा सजिलो छ भन्दै प्रस्ताव राख्नुभयो।’

    बालिका सुखद बसाइ र राम्रो आम्दानी आश्वासनमा परेर सुर्खेत खाजाघरमा काम गर्न थालिन्। खाजाघरमा सरसफाइ गर्ने, भाँडा माझ्ने र ग्राहकसँग बसेसँगै बिल धेरै बनाउनुपर्ने उनीमाथि खाजाघरको प्रस्ताव थियो।

    ‘सुरुसुरुमा केही बुझेकी थिइनँ। काम गर्दै जाँदा बुझ्छु होला भन्ने भयो,’ बालिका ‘अ’ ले नागरिकसँग भनिन्, ‘बिस्तारै खाजाघरका सञ्चालकले आएका ग्राहकसँग सुत्नपर्ने नयाँ प्रस्ताव राख्दा मैले सहजै अस्वीकार गरेँ। ग्राहकसँग सुतेपछि धेरै पैसा आउँछ। तिम्रो पनि राम्रो व्यवस्था हुन्छ भन्दै यावत कुरामा फकाए।’

    खाजाघर सञ्चालकले ग्राहकलाई रमाइलो गर्ने भए हामीसँग थुप्रै राम्रा केटी छन् भन्ने गरेको ‘अ’ ले प्रहरीलाई जानकारी दिइन्। यस्ता ग्राहकसँग शारीरिक सम्पर्क गराउन उनीहरूले जबर्जस्ती गर्ने गरेका थिए।

    प्रहरी ब्युरोलाई दिएको जानकारीअनुसार खाजाघर सञ्चालक कान्छीमाया घिसिङ र लोकेन्द्र बडु हुन्। ‘शारीरिक सम्पर्क राखेपछि प्रतिग्राहकको हजार रूपैयाँ आउँथ्यो भने मलाई साहुले पाँच सय रूपैयाँ दिने गरेको थियो,’ बालिका ‘अ’ ले भनिन्, ‘मासिक तलबमा राखेको मलाई काम गरेबमोजिम पैसै दिएनन्।’

    हुँदाहुँदा विभिन्न होटलबाट केटी पाइन्छ भनेर खाजाघरमा फोन आउँथ्यो। होटलमा पूरै रातका लागि राम्री केटी चाहिएको भनेपछि होटल साहुनीले आफैंलाई पठाउने गरेको उनले प्रहरीलाई जानकारी दिइन्।

    पूरै रातका लागि होटल गए प्रतिव्यक्ति पाँच हजारदेखि आठ हजार रूपैयाँसम्म उक्त खाजाघर सञ्चालक कान्छीमाया र लोकेन्द्रले पाउने गरेका थिए। ‘मेरो इच्छा विपरीत दैनिक पाँचदेखि ६ जना ग्राहकसँग सम्बन्ध राख्न बाध्य बनाउँथे,’ बालिका ‘अ’ ले भनिन्, ‘शनिबार १० जनाभन्दा बढी ग्राहकसँग सम्पर्कमा बस्नुपथ्र्यो। आज धेरै गाह्रो भएको छ भनेर अस्वीकार गर्दा पनि सुख पाइन्नथ्यो। कान्छीमाया र लोकेन्द्र दुवैले यति काम पनि गर्न सक्दैन र भर्खरको मान्छेले भनेर यावत खालका गाली गर्ने, करकापसँगै डरत्रास देखाउने र शारीरिक एवं मानसिक रूपमा निकै पीडा दिने गर्थे।’

    बालिका ‘अ’का अनुसार खाजाघर सञ्चालकले महिनावारीका बेलामा समेत नाटक गरेको हो भनी जबरजस्ती ग्राहककहाँ पठाए। शारीरिक सम्पर्कमा अनिच्छा जाहेर गर्दा तलब नपाउने मात्र होइन, घर जान नपाउने अवस्था रह्यो। खाजाघर सञ्चालकले ६ महिनासम्म जबरजस्ती धन्दामा लगाए।

    गत वैशाख १८ गते मानव बेचबिखन अनुसन्धान ब्युरोद्वारा परिचालित प्रहरी टोलीले विभिन्न खाजाघरहरूमा छापा मार्ने क्रममा बालिका ‘अ’ को उद्धार भएको थियो। ती पीडितले आफूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको जाहेरी दिएसँगै अनाहत नेपाल र नेप्लिज होमले सुरक्षित आवासमा राखी परामर्श दिइरहेका छन्।

    होटल सञ्चालक दार्चुलाको व्यास गाउँपालिका–६ घर भई टोखा बस्ने २९ वर्षीय लोकेन्द्र बडु र सर्लाहीको हरिवन नगरपालिका– २ की ३७ वर्षीय कान्छीमाया घिसिङलाई ब्युरोले पक्राउ गरी हाल हिरासतमा राखेको छ। उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

    बालिका ‘अ’ जस्तै धादिङकी अर्की किशोरी ‘आ’ पनि परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण धन्दामा लाग्न बाध्य भएकी छिन्। आफ्नो अध्ययन पूरा गर्न उनी कामको खोजीमा थिइन्। आमा र दाइसँग बस्दै आएकी आठ कक्षामा अध्ययनरत १४ वर्षीय किशोरीका बुबा मलेसिया रोजगारीका निम्ति गएका थिए।

    कामको खोजी गरिरहेका बेला गत वर्ष असोजमा सँगै स्कुल पढ्ने साथी सञ्जु लामाको कोठामा पुगेकी थिइन्। घर छोडेर आएको कथाव्यथा सञ्जुकी आमालाई सुनाउँदा प्रतिउत्तरमा नवलपरासी रजहर चोकस्थित होलीडे रेस्टुरेन्ट एन्ड कटेजमा काम गरेबापत १८ देखि १९ हजार रूपैयाँसम्म मासिक तलब पाइने जानकारी दिइन्। १८ वर्ष पुगेको खुलाउनुपर्ने र त्यहाँ काम गरेबापत पढ्न पनि पाइने भन्दै सञ्जुकी आमाले सिकाएर नयाँ बसपार्क पु¥याइ रात्रीबसमा हालिदिएकी थिइन्।

    ‘गत वर्ष असोजको अन्तिम साता थियो,’ उनी भन्छिन्, ‘म गाडीबाट झर्नेबित्तिकै विनिता पुन भन्ने विमला थापा लिन आउनुभयो। त्यसपछि उहाँकै रेस्टुरेन्टमा पुगें।’

    संवादका क्रममा रेस्टुरेन्ट सञ्चालक विनिताको भनाइ उद्धृत गर्दै ती नाबालिकाले भनिन्, ‘काठमाडौंकी दिदीले तिमीलाई के सिकाएर पठाउनुभएको छ? त्यो मलाई थाहा छैन। तर, यस रेस्टुरेन्टमा आउने पुरुषहरूसँग शारीरिक सम्पर्क राख्नुपर्छ। राम्रो काम गर्दै गएमा मासिक एक लाख रूपैयाँसम्म आम्दानी हुन्छ।’

    यसरी कामको बयान फेरिएपछि आश्चर्यमा पर्दै विनिताले राखेको प्रस्तावमा उनी छाँगाबाट खसेजस्तो भइन्। ‘यो काम गर्न सक्दिनँ,’ उनले भनेकी थिइन्, ‘म सानै छु। पढ्न पाउँछु भन्ने लोभमा यहाँ आएकी हुँ।’

    त्यहाँ पुगेपछि काम गर्नैपर्ने बाध्यतामा पारियो। ‘काम नगरेर सुख पाउँछौ भनी विनिता दिदीले भनेकै दिनदेखि रेस्टुरेन्टमा आएका पुरुषहरूसँग जबरजस्ती शारीरिक सम्पर्कमा सहभागी गराइयो,’ किशोरी ‘आ’ भनिन्, ‘भोलिपल्टदेखि बिरामी भएर यस्तो काम गर्दिनँ भनें। मलाई धेरै गाह्रो भएको थियो। म काठमाडौं जान्छु भनेर निस्कँदा रेस्टुरेन्टकै कोठामा थुनी बाहिरबाट चुकुल लगाइदिए। त्यसरी थुनामा राखेको केही समयमै रेस्टुरेन्टमा आएका पुरुषहरूलाई मेरो कोठामा पठाउने गर्थे। ती केटाहरू पनि साह्रै पापी थिए। म बिरामी छु, जबरजस्ती यस्तो काम गर्न लगाएका छन् भन्दा हामीले पनि पैसा नै तिरेर आएको हो भन्थे अनि एकपछि अर्को आएर मेरो शरीरलाई निचोरेर जान्थे।’

    ती किशोरीका अनुसार केही समय आएर शारीरिक सम्बन्ध राखेर जाने पुरुषले १५ सय रूपैयाँ तिर्ने गरेका थिए भने रातभरि बसेको पाँच हजार रूपैयाँसम्म दिने गरेका थिए। दिन बितेसँगै असह्य भएकाले पीडित किशोरीले सधैं काठमाडौं पठाइदिनुस् भनेर रेस्टुरेन्ट सञ्चालकसँग रुने गरेको बताइन्। धेरै समयपछि उनको चित्कार रेस्टुरेन्ट सञ्चालक विनिताले सुनिन्।

    दुई महिनाको बसाइपछि काठमाडौं फर्केको क्षण सम्झँदै उनले भनिन्, ‘काठमाडौं आउनेबित्तिकै नवलपरासी पठाउने साथीको आमालाई घरमै भेट्न पुगें। उहाँलाई धेरै कराएँ। तपाईंले मलाई कस्तो काममा पठाएर फसाउनुभयो? ममाथि त्यहाँ सबैले शारीरिक सम्पर्क राखे भन्दा अब तिमीलाई मेरो साथीले चाबहिलमा फ्रेन्डसिप ब्युटी एन्ड स्पा चलाएर बसेको छ, त्यहाँ काम गर्न जाऊँ उताको जस्तो केही नराम्रो हुन्न भनेर फकाउन थाले।’

    साथीकी आमाले चाबहिलमा पूजा लोवाले सञ्चालन गरेको उक्त स्पामा पु¥याएरसँगै दुईचार दिन त राम्रै काम भयो तर पछि त्यहाँ पुरुषहरूसँग शारीरीक सम्पर्क राख्ने काम सुरु भयो। यो काम गर्दिन भन्दा गाली गर्ने र मानसिक तनाव दिने उनले सुनाइन्।

    ‘पुरुषहरूसँग सम्पर्क राखेपछि सञ्चालक पूजाले नै पैसा बुझ्ने र प्रतिव्यक्ति बराबर आठ सय दिने गरेकी थिइन्। पछिपछि पठाओ बुक गरी शारीरिक सम्पर्कका लागि होटल, ग्राहकको घरसम्म पुग्नुपथ्र्यो। महिनावारीको समयमा पेट दुखेर मर्नुहुँदासमेत सुख पाइन्नथ्यो,’ पीडित ‘आ’ले भनिन्।

    यसरी ती किशोरीको दिनचर्या बित्दैगर्दा कसैले सुराकी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको उनले सुनाइन्। श्रमशोषणका साथ जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषणमा परेकाले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कार्य भएको हुँदा उनको जाहेरी ब्युरोमा परेको छ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार आर्थिक लाभकै कारण उपत्यकाभित्र रहेका ससाना खाजाघर, क्याफे, गेस्टहाउस, स्पा सेन्टरजस्ता विभिन्न ठाउँमा बालिकाको दुरूपयोग बढेको छ। होटल व्यवसायीले सिधै ससाना खाजाघरहरूसँग सम्पर्कमा रहेर बालिकाहरूको होटल होटलमा माग गर्ने गरेको उनले बताए।

    ब्युरोको अनुसन्धानअनुसार बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरिएको छ। यस्ता बालिकाले ग्राहकसँग थोरै रकम मात्र पाउने गर्छन्। किशोरीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको गोप्य सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले पीडकलाई पक्राउ र पीडित महिला तथा बालिकालाई उद्धार गर्दै आएको छ।

    घरको आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरूलाई क्याफे तथा गेस्टहाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभन दिई बोलाउने गरेको ब्युरोका प्रवक्ता मिश्रले बताए। धेरै बालिकालाई उद्धार गरेर ल्याए पनि जाहेरी दिन नमानेका कारण कानुनी कारबाही गर्न नसकिएको प्रवक्ता मिश्रले बताए।

    ‘गाउँगाउँमा यस्ता अवैध काम र मानव बेचबिखनबारे जनचेतना फैलाउनु आवश्यक छ,’ उनले नागरिकसँग भने, ‘यस्तो स्थितिमा सबैलाई कानुनी जानकारी दिने, स्कुलको पाठ्यक्रममा मानव बेचबिखनसम्बन्धी जानकारी समावेश गराउने, स्थानीय तहमै यसबारे ज्ञान फैलाउने काम गर्नुपर्छ।’

    उनका अनुसार बसपार्क क्षेत्रमा यस्तो काम अत्यधिक बढेको छ, जहाँ मानिसको भिड लाग्छ। सबै सत्यतथ्य बाहिर आउँदैनन्। यस्ता धेरै अनैतिक कार्य भित्रभित्रै लुकेका छन्। जो अप्ठेरोमा परेका छन्, त्यस्ता पीडितहरू प्रहरीसम्म पुग्छन्। कतिपय भद्रभलादमी स्थानीयले गर्दा पनि पक्राउ तथा उद्धार हुने गरेको उनले बताए।

    मुलुकी कानुनअनुसार देह व्यापार गर्नगराउन पाइँदैन। त्यसमा पनि नाबालिग किशोरीलाई कानुनले संरक्षण गरेको छ। यति हुँदाहुँदै पनि तिनको आर्थिक अवस्था र असहायपनबाट फाइदा उठाई दुरूपयोग गरिँदै आएको छ।

    देशभरिबाट गत वर्ष मात्रै पीडित महिला तथा बालिका करिब एक हजार २२८ जना माइती नेपालको संरक्षण तथा परामर्शमा रहेका छन्। पछिल्ला दुई महिनामा करिब १५५ जना बालिकालाई माइती नेपालले संरक्षणमा राखेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोमा हालसम्म २७७ मुद्दा दर्ता भएका छन्।

    अन्यायपूर्वक बालिकाहरूलाई अनौपचारिक ‘धन्दा’ केन्द्रमा पु¥याएर भइरहेको शोषणको लामो कथा छ। यसको निराकरणका निम्ति घरपरिवार, समाज र मुलुकी व्यवस्थाले सशक्त अभियान चलाउनुको विकल्प देखिएको छैन।